नागरिकता कुनै अबोध बालकको आँखामा, मात्र एक कागज हुनसक्छ । कुनै नौजवानलाई परदेशको बाटो बन्न सक्छ । कुनै प्रौढलाई भत्ताको एक आशा हुनसक्छ । कुनै विदेशीलाई सत्तासँगको लेनदेन बन्न सक्छ । तर समग्रमा हेर्ने हो भने नागरिकता एक चिनारी हो । राज्यसँगको सोझो सम्पर्क नै नागरिकता हो । नेपालको सन्दर्भमा नागरिकताको विषय एक अन्तरहृदयको घाउ पनि रहेको छ । जुन घाउ पुरानो खत बनेर हृदयमा बिझाइरहन्छ । संसदमा होस् या सञ्जालमा, नागरिकताको विषय कहिले केजीमा उठ्छ, त कहिले नोटमा। संविधानमा लेखिएको मापदण्डबाहिर रहेर कयौँ नागरिकता बनेका छन्, जसको लेखाजोखा अत्यन्तै कम भएको छ । तर प्रश्न भने उठिरहन्छन्।
एउटा नागरिकताले भोको पेटलाई पनि धावा बोल्न सक्छ भन्ने उदारहण कोरोना महामारीमा कीर्तिपुरमा गरिएको राहत वितरण कार्यक्रमबाट पनि पुष्टि भएको छ । नागरिकता नै नभएपछि अति विपन्न वर्गका समुदायले राहत नपाउँदा सामाजिक सञ्जालमा ठूलै होहल्ला भयो।
एउटा नागरिकताले देशको इतिहासमा नै उथलपुथल गराउन सक्छ । राज्य व्यवस्थालाई नै प्रश्न गर्न सक्ने हैसियत राख्दछ ।
एउटा सचेत कविले त्यही विषयलाई कसरी प्रस्तुत गर्न सक्छ भन्ने उदाहरण कवि बद्री भिखारीको ‘नागरिकता’ कविताबाट बुझ्न सकिन्छ । कविता ‘नागरिकता’ जब-जब देशमा नागरिकताको प्रश्न उठ्छ, तबतब उनको यस कविताले मानिसको हृदयलाई झङ्कृत पार्छ। वा, भनौँ जब कुनै पाठक काठमाडौँमा रहेको संसद् भवन अगाडि पुग्छ, उसले यस कवितालाई आफ्नो मस्तिष्कको पाना पल्टाएर पढ्न सुरु गर्छ ।
एकातिर एउटा रैथाने समुदाय छ, जसले पुस्तौँ संघर्ष गर्दा पनि नागरिकता पाएको छैन र देशभित्रै उपेक्षित व्यवहार भोगिरहेको छ। अर्कोतिर यस्तो समुदाय छ, जसले साम, दान, दण्ड, भेद प्रयोग गरी चाहेको समयमा चाहेजसरी थोकको भाउमा नागरिकता हासिल गर्न सक्छ। यिनै निराशा र तनावका बीच कवि बद्री भिखारीले रचेको ‘नागरिकता’ संविधानसभाबाट संविधान बनाउने क्रममा भएका विभिन्न आन्दोलनका समयमा निकै चर्चा बटुलेको कविता हो, यो।
किन भिखारीको कविता यत्तिका चर्चित भयो ? लेखिनुको कारण के थियो ? यो कुरा खोतल्नुअघि उनको उही बहुचर्चित कविता ‘नागरिकता’ शीर्षकको कविता पढौँ:
नागरिकता
दिनुस् प्लिज !
मात्र, नागरिकता दिनुस्
मेरो मान्छेको नागरिकता दिनुस् ।
के लिनुहुन्छ ?
छानीछानी लिनुस्
ग्वालियरको सर्ट पेन्टको कपडा
बाटा कम्पनीका जुत्ता चप्पल
चौधरी ब्रान्डको छाता
इम्पोर्टेड लेदर ज्याकेट
तपाईंको इच्छा जे छ, लिनुस् ।
मानिलिनुस् यो चाँदमलको गोदाम तपाईंकै हो
मलाई थाहा छ, तपाईंको सगरमाथाले जाडो छेक्दैन
लिनुस्, ओड्ने सिरक पनि लिनुस्
ओछ्याउने सतरन्जा तन्ना जो छ
लिनुस, अरू लानुस् तपाईं हिँड्न सक्नुहुन्न
यो गाडी लानुस्, गाडी चलाउन सजिलो हुन्छ
यो मोबिल, तेल लानुस् ।
तपाईं हिँड्नुहुन्छ जो पिच हामीले बनाएको हो
तपाईंका नानी पढ्नुहुन्छ जो स्कुल
हामीले बनाएको हो
तपाईंको श्रीमतीलाई अस्पताल पुर्याउने एम्बुलेन्स हामीले दिएको हो
तपाईंको भलो चाहने पुरानो दोस्त हुँ म
प्लिज, मेरो मान्छेको नागरिकता दिनुस् ।
म तपाईंसँग और केही माग्दिनँ
तपाईंको जमिन जो छ, तपाईं नै राख्नुस्
तपाईंको घर जो छ
तपाईं नै राख्नुस्, तपाईंलाई नै काम दिन्छ हिमाल राख्नुस्
खोला नदी जो छ, तपाईं नै राख्नुस्।
तपाईंसँग धन दौलत केही माग्दिनँ
सिर्फ, मेरो मान्छेको नागरिकता दिनुस्
तपाईं कुनै काम नगर्नुस्, तपाईंको लुगा हाम्रो मान्छेले सिलाउँछ!
तपाईंको पाइखाना हाम्रो मान्छेले सफा गर्छ!
तपाईंको दाह्री केश हाम्रो मान्छेले बनाउँछ!
तपाईंको देश हाम्रो मान्छेले चलाउँछ,
प्लिज ! मात्र मेरो मान्छेको नागरिकता दिनुस् ।
बस् ! तपाईंको सुरक्षाको लागि लाठी लानुस्
बन्दुक लानुस्, तपाईं कुनै चिन्ता नलिनुस् मात्र आराम गर्नुस्
तपाईंका खोला र नदीबाट हामी बिजुली निकालिदिन्छु
तपाईं बिजुली ताप्नुस् र हावा खानुस्
मामुली एउटा कागज न हो
कागज हामी दिन्छु
मसी हामी दिन्छु
सिर्फ मेरो मान्छेको नागरिकता दिनुस्।
बद्री भिखारीले यस कवितामा तराईको लवज मिसाएकाले नागरिकता कवितालाई अझ धेरै न्याय गरेको छ । खुल्ला सीमा भएकाले वर्षेनी यहाँ दक्षिणी छिमेकीले लिएको कानुनी रूपमा वा कानुन विपरीत नागरिकताहरू कौडीको भाउमा बिक्री भइरहेका छन् ।
कवि भिखारी बताउँछन्, “कवितामा लेखिएका सबै कुरा सत्य हुन् केहीलाई छाडेर ।” जिल्ला प्रशासन कार्यलयमा जागिर खाइरहेका कविलाई यस्तो दृश्यले हृदय भक्कानिन्थ्यो । देखेको दृश्यलाई उनले कवितामा उतारे र नागरिकता कविताको जन्म भयो ।
विसं २०६० सालमा बिराटनगर र सिरहामा बसेर लेखिएको यस कविताले जब जब देशमा नागरिकताको कुरा उठ्छ, यो कविता प्रतिनिधि बनेर संसद् भवन अगाडि उभिएर प्रश्न सोध्ने हैसियत राख्दछ ।
कविले जिल्ला प्रशासन कार्यलयमा जागिर खाँदा कुनै एक समुदाय (समुदायको नाम नखोल्ने शर्तमा ) जब उनीहरू कार्यलय आउँथे, त्यहाँ कर्मचारीले ठाउँ वा कुर्सी नै छाड्ने चलन जत्तिकै थियो । यो दृश्यले कविको हृदयलाई प्रश्न गथ्र्यो र उनी के गरौँ र कसो गरौँ भन्ने पीडामा नागरिकता कविता लेखे । बिराटनगर र सिरहामा बसेर पूरा गरेको यस कविता छापामा भने २०७४ सालमा अन्नपूर्ण पोष्टमार्फत आएको हो । यस कवितालाई कविले आफ्नो ‘समुद्र साउती’ कविता सङ्ग्रहमा पनि समावेश गरेका छन् ।
सरकारको नुन खाएर सरकारकै नीतिलाई व्यङ्ग गर्दा कविलाई आफ्नो कलमले साथ दिएको थियो ।
कविता लेखिसकेर पहिलोपल्ट कवि बद्री भिखारीले आफ्नै क्षेत्रका मिल्ने कवि साथी मनु मञ्जिल र देवान किराँतीलाई देखाएका थिए । कविता लेखेको समयमा नागरिकताको हाल प्रशासनले मात्र देखेको भएकाले अन्य कविले यस कवितालाई खासै वास्ता गरेनन् तर जब नागरिकता विधेयकको कुराहरू उठ्न थाले, उनको यस कविताले एकाएक चर्चा पायो ।
कवि भन्छन्, “मैले लेखेको यस कवितामा कल्पना छैन, जे देखेँ त्यसैलाई उतारेँ । यदि केही थपेको छु भने सामानका लिस्टहरू मात्र हुन् ।”
कविलाई नागरिकताको प्रश्न उठ्दा खासै सरकारको दोष छ जस्तो पनि लाग्दैन उनलाई। यसरी नागरिकता बाँडिनुमा राजनीतिक दलको अदूरदृष्टि व्यक्तिको परिणाम हो जस्तो लाग्छ । किनकि बिराटनगर र सिरहामा जागिर खाँदा उनले राजनीतिज्ञले नागरिकताको लागि गरेको ठेलमठेल आफ्नै आँखाले देखेका छन् ।
नागरिकतालाई देशले गम्भीर रूपमा लिनुपर्छ भन्ने मान्यता बोकेका कविको आमाको लय कृति प्रकाशोन्मुख छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।