साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

राजिनामासँगै बुझाइएको एउटा चर्चित कविता

हरेक रचनाको इतिहासमा एक श्रमिकको कथा लुकेर बसेको पाइन्छ । यस पृथ्वीमा श्रमिक नहुने भए यो पृथ्वी कस्तो बन्ने थियो अनुमान लगाउन सकिँदैन । र, जहाँ श्रमिक हुन्छ त्यहाँ मालिक हुन्छ । श्रमिक र मालिकको सम्बन्धको अन्तर खोज्ने हो भने त्यहाँ एक नदीको दुई किनारजस्तो भेटिन्छ, चाहेर पनि जोडिन नसकेको । म मालिक भन्ने अहं हर कोही मालिकमा भेटिन्छ ।

नेपालमा जब हरेक वर्षको मे १ तारिख आउँछ, रमेश सायनको “जागिर” शीर्षकको कविता सबैले पढ्न खोज्छन् । के छ र त्यो कवितामा? किन खोजिन्छ ? कविता लेखेर श्रमिकको हित हुन्छ र ? प्रश्न उठ्ला । मजदुर दिवसको दिन यो कविता खोजिनु सामान्य नै मानिन्छ तर किन खोजिन्छ?

श्रमिकको हकहितको कुरा उठ्नु, थाँति रहनु र सधैँ उठिरहनु एउटा नियति बनिरहेको परिप्रेक्ष्यमा यो कविताको सान्दर्भिकता सधैँ उत्तिकै देखिन्छ तर श्रमिकको हितमा के के भए र के के भइरहेका छन् ? मुख्य प्रश्न नै यही हो ।

bahulako diary small and inside post

कविताले कसरी आफ्नो मालिकलाई आफ्नो जागिरसँग जोडेको छ भन्ने कुरा कवि रमेश सायनको यो ‘जागिर’ कविताबाट पुष्टि भएको पाइन्छ । किन खोजिन्छ उनकै कविता मे एकमा, यो कविता सिर्जनाका पछाडि कुनै कथा छ कि? त्यसअघि पढौँ उनको यो बहुचर्चित कविताः

जागिर

रमेश सायन

म एक निजी कम्पनीको कारिन्दा हुँ
यो शहरको थुप्रै
भोक र अभावको ईश्वर हो, मेरो मालिक ।

एकदिन मालिकसँग भनेँ —
मालिक, तपाईँ मेरो भोकको ईश्वर हो
तपाईंकै वरदान हो यो जीवन
यसपालि जन्मदिन धुमधामले मनाउँछु
कामबाट बिदा दिनुस् ।

मालिकले भन्यो —
मेरो कृपाले तिमी धेरै वर्ष बाँच्छौ
यो पल्ट थुप्रै काम छ
अर्को वर्ष मनाउला जन्मदिन

मैलै हुन्छ भनेँ ।

फेरि एकदिन मालिकसँग बिन्ती गरेँ —
मालिक, तपाईँ भोकको ईश्वरको पनि ईश्वर हुनुहुन्छ
तपाईंकै दयामा सजियोस् एउटा घर
प्रेमिकासँग बिहे गर्नु छ
मलाई बिदा दिनुस् ।

मालिकले भन्यो –
लगनहरू अझै आउँछन्
यो पल्ट थुप्रै काम छ
कुनै अर्को लगनमा बिहे गर

मैले फेरि हुन्छ भनेँ ।

एकदिन म जिन्दगीसँग औधि थाकेँ
र भनेँ —
मालिक, तपाईँले मेरा भोक र अभावहरू टारिदिनुभयो
धन्य छ तपाईँलाई
अब मलाई मर्न दिनुस्

मालिकले भन्यो —
ठीक छ
आज थुप्रै काम छ
सप्पै सक
र भोलि मर ।

ओहो, कति सशक्त कविता भन्ने तपाईंलाई लागेन? यो त हरेक शहरिया कामदारहरूको नियति हो भन्ने तपाईंलाई लागेन?

प्रस्तुत कविता लेख्दा कवि कुनै एक निजी कम्पनीमा काम गर्थे । कविलाई लाग्छ, जागिर खानु भनेको आफ्नो निजी जीवन बाँच्नलाई हो । वास्तवमा नै निजी जीवनमा आफ्नो मात्र हक रहेको हुन्छ तर अधिकांश श्रमिकको जीवन भने सास आफ्नो, जीवन मालिकको झैँ रहेको हुन्छ ।

विंस २०७० सालमा लेखिएको यस कवितामा कविले आफ्नो गुनासो पोख्दै मालिक कस्ता हुन्छन् भन्ने कुरालाई व्याख्या गरेका छन् । उनी आफ्नो मिहिनेत र स्वतन्त्रतामा विश्वास राख्ने भएकाले नै यो कविता जन्मिएको कवि रमेश सायन बताउँछन् ।

कवितामा पोखिएका पीडा सत्य हुन् । कविले आफ्नो निजी जीवन चलाउनको लागि जागिर खाएका थिए । माघमा बिहे गर्छु भन्दा पनि “यो महिना काम छ, तिमी फागुनमा बिहे गर,” भन्ने उत्तर पाएपछि उनले काम छाड्ने निर्णय गरेका थिए । राजिनामा लेख्दै गर्दा फुरेको यो कविता उनले राजिनामा बुझाउँदा पेश गरेका थिए। उनले राजिनामा सँगै आफ्ना मालिकलाई “यो तपाईँका लागि लेखिएको कविता हो” भन्दै राजिनामाको अन्तिम फाइलमा हालेर बुझाएका थिए ।

आफ्नो मालिकका लागि लेखिएको कविता पछि सबै किसिमका मालिकका लागि लेखिएको बुझिएला भन्ने कविले सोचेका थिएनन् ।

श्रमिक भनेको ज्याला लिएर मात्र श्रम गर्ने होइन । तलब लिएर जागिर खाने पनि श्रमिक नै हुन् भन्ने सोच राखेका कविले कुनै म्यानेजर र तल्लो स्तरको जागिरेलाई पनि एकै नजरले हेर्ने गरेको बताउँछन् । हामीले श्रमिक कसलाई भनिरहेका छौँ भन्ने कुरा मुख्य हो । उनी थप्छन्, “चिल्लो गाडीमा हिँड्ने म्यानेजर पनि त श्रमिक हो नि, उसको पनि त मालिक छ !”

कवि नवराज पराजुलीलाई घत परेको कवितामध्ये ‘जागिर’ पनि एक हो। कवि पराजुली भन्छन्, “म कविता एकदम प्रेडिक्ट गरेर पढ्छु तर रमेशको कविता पढ्दा मैले जे प्रेडिक्ट गरेको थिएँ, त्यो मैले सोचेको र कविताले कहेको खुराकमा निकै अन्तर भेटेँ। यो कविता पढिसके पछि मैले के सोचेँ भने ‘जसले अहिले यो कविता पढे तर जागिर खाएका छैनन् र जुन दिन जागिर खानेछन् र आफ्नो मालिक पहिले कतै पढेको कवितामा झैँ भेट्नेछन् तब उनीहरूले यो कवितालाई सम्झनेछन् ।’”

कवि रमेश सायनले आफ्नो जीवनमा धेरै मालिकसँग काम गरे । उनले कोरियामा लामो समय काम गरेका छन् । कोरियामा उनले नेपालमा जसलाई राजिनामा दिएका थिए, त्यस्तै मालिकसँग उनले करिब पाँच महिना दैनिक १८ घण्टाको दरले काम गरेको अनुभव रहेको बताउँछन् । कविले नेपालमा जागिर खाँदा पाएको मालिक र कोरियामा पाएको मालिक एउटै स्वाभावको भने नरहेको बताउँछन् । उनको भनाइ छ, “यदि नियममा रहेर मालिक उपस्थित भयो भने संसारका कुनै पनि श्रमिक आफ्नो मालिकसँग दिक्क हुँदैनन्।”

रमेश सायनको यो ‘जागिर’ कविता उनको कविता सङ्ग्रह ‘भागेर भूगोलभरि’मा सङ्ग्रहित छ । साथै, ‘छुटेका अनुहार’ संस्मरणका लागि उनले पद्यश्री पुरस्कार पनि प्राप्त गरेका छन् ।

प्रतिक्रिया
Loading...