उद्धार

रवीन्द्रनाथ टैगोर

रवीन्द्रनाथ टैगोरको जन्म मे ७ १८६१ मा कलकत्ताको एउटा धनी ब्राह्मण परिवारमा भएको थियो । रवीन्द्रनाथ टैगोर विश्वकै महानतम्‌ साहित्यकारका रूपमा गनिन्छन्‌ । बहुमुखी प्रतिभाका धनी टैगोर कवि मात्र नभएर एक सशक्त कथाकार, उपन्यासकार, नाटककार, निबन्धकार एवम्‌ समीक्षक सबै थिए । १७ वर्षको उमेरदेखि नै कविता लेख्न थालेका टैगोरको सर्वश्रेष्ठ काव्यकृति चाहिँ गीताञ्जली हो । पूर्वीय सभ्यता र संस्कृतिको छवि पश्चिमी मुलुकमा पुस्याउने टैगोरलाई सन्‌ १९१३ को नोबेल पुरस्कार प्रदान गरियो । उनको मृत्यु ७ अगस्ट १९४१ मा भयो । मानसी (१८९० ) द गोल्डेन बोट (१८९४) गीताञ्जली (१९०१,) गोरा (१९१०), कलेक्टेड पोइम्ज एन्ड प्लेज (१९१६) आदि उनका महत्त्वपूर्ण कृतिहरू हुन्‌ ।

 

गौरी पुरानो धनाढ्य परिवारको बडो लाडप्यारमा हुर्के बढेकी केटी थिइन्‌ । उनका पति परेशको आर्थिक अवस्था पहिला निकै नाजुक थियो, तर
अब आफ्नै कमाइको बलबुतामा उनले आर्थिक उन्नति हासिल गरेका छन्‌ । जबसम्म उनी गरिब थिए, तबसम्म छोरीले दुःख पाउली भनेर सासु-ससुराले लोग्नेका घरमा पठाएनन्‌ । गौरी अलि उमेर ढल्केपछि मात्रै पतिको घर आइन्‌ ।

यही कारणले होला परेशले आफ्नी सुन्दर युवती पत्नीलाई सम्पूर्णतः आफ्नो हातको चिज ठानेनन्‌ । उनको स्वभाव पनि खालि पत्नीमाथि शङ्का गर्ने खालको बन्दै गयो । परेश पश्चिमको एउटा सानो सहरमा वकालत गर्थे । घरमा आफ्नो भन्नु उनको कोही थिएन । एक्ली पत्नीको विषयलाई लिएर उनको चित्त सधैँ उद्दीग्न रहन्थ्यो । बिच बिचमा उनी अचानक कृबेलामै अदालतबाट घर फर्किन्थे । सुरु-सुरुमा त पतिको त्यस्तो आकस्मिक आगमनको कारण उनले बुझ्न सकिनन्‌, पछि पछि उनले के बुझिन्‌ उनै जानून ।

कहिलेकाहीँ त परेश बिनाकारण घरका नोकरलाई पनि, निकालिदिन्थे । कुनै पनि नोकर धेरै दिनसम्म बस्न खोजे उनलाई स्य हुँदैनथ्यो । खास गरी कामका लागि गौरीले जुन नोकरलाई राख्न ज्यादा आग्रह“गर्थिन्‌ उसलाई त झन्‌ तुरुन्तै घरबाट निकालिदिन्थे । तेजस्विनी गौरीलाई यसबाट जित चोट पुग्थ्यो, उनको पति उति नै चन्चल भएर कहिलेकाहीँ त यस्तो विचित्र व्यवहार देखाउन थाल्थे जसको ठेगानै हुँदैनथ्यो ।

अन्त्यमा जब उनले आफूलाई सम्हाल्न सकेनन्‌, नोकर्नीलाई एकान्तमा बोलाएर पत्नीका वारेमा शङ्का गर्दै विभिन्न प्रश्नहरू सोध्न थालेपछि गौरीले पनि थाहा पाइन्‌ । अभिमानी, मृदुभाषी नारी अपमानित भएर सिंहिनीजस्तै भित्रभित्रै मुर्मुरिन थालिन्‌ अनि त्यस्तो उन्मत्त सन्देहले दम्पतिको बिचमा परेर खुकुरीले चट्ट छिनालेजस्तो दुवैलाई अलग गरिदियो ।

गौरीसामु आफ्नो गहिरो सन्देह प्रकट गरेपछि परेशको लाज सरम जब बिलकूलै हट्न थाल्यो, तब हरेक दिन पाइला पाइला खुल्लमखुल्ला सन्देह प्रकट गर्दै पत्नीसित झगडा गर्न थाल्यो । अनि गौरी जति जति वास्तै नगरी मौन बस्थिन्‌ उति उति अवज्ञा र फलामको काँटी जस्तो तिखो नजरले माथिदेखि तलसम्म परेशको सम्पूर्ण छातीलाई रगताम्य पार्न थाल्यो उसको सन्देहको पागलपन झन्‌ झन्‌ बढ्दै गयो । यसरी दाम्पत्य सुखबाट वन्चित भएकी ती पुत्रहीन रमणीले आफ्नो सम्पूर्ण अन्त:स्करण धर्मको चर्चा गर्नमा लगाइन्‌ । हरिभजन सभाको नवीन प्रचारक ब्रहमचारी परमानन्द स्वामीलाई बोलाएर गौरीले उनीबाट दीक्षा मन्त्र लिइन्‌ अनि भागवतको व्याख्या सुन्न थालिन्‌ । नारीहृदयको सम्पूर्ण व्यर्थ स्नेह एकमात्र भक्तिका रूपमा जम्मा भएर गुरुदेवको चरणमा समर्पित भयो ।

परमानन्दको साधुचरित्रको सम्बन्धमा कसैलाई पनि कुनै सन्देह थिएन ।
सबै उनको पूजा गर्थे, किन्तु परेश उनका सम्बन्धमा मुख खोलेर सन्दैह प्रकट गर्न नसकेको कारण अत्यन्त व्याकुल भए, अनि अदृश्य पिलोले जस्तो क्रमशः
उनको आफ्नै मर्मस्थललाई भित्रभित्रै कुटुकुटु खान थाल्यो ।

एक दिन सानो कुरालाई लिएर विष बाहिर निस्क्यो । पत्नीको सामुन्ने परेश्चले परमानन्दलाई दुष्चरित्र पाखन्डी भन्दै गाली गर्न थाले अनि कराउँदा कराउँदै उनले भने “तँ आफ्नो शालिग्राम छोएर धर्म भाक्‌ त, आफूलाई तथाकथित साधु ठान्ने त्यो कपटीलाई तँ भित्रभित्रै प्रम गर्छैस्‌ कि गर्दिनस्‌ ?”

कुल्चिएको सर्पले जस्तै एकैछिनमा उग्र रूप धारण गर्दै बडो तितो व्यङ्ग्यात्मक शब्दमा गला अवरुद्ध पार्दै आवेशमा आएर भनिन्‌ “हो म
उनीसित प्रेम गर्छु तपाईं जे गर्न सक्नुहुन्छ गर्नुस्‌ ।” परेशले उत्ति नै खेर घरमा ताल्चा लगाएर पत्नीलाई घरभित्र थुने अनि अदालततिर लागे । असह्य आवेशमा आएर गौरीले जसोतसो ढोका खोलिन्‌ अनि तत्काल उनी घरबाहिर निस्किन्‌ ।

परमानन्द आफ्नो एकान्त कोठामा बसेर शास्त्र पढिरहेका थिए त्यहाँ अरू कोही थिएन उनीबाहेक । बादलरहित आकाशमा मेघ गर्जनसहित बिजुली चम्केझैँ गौरी अकस्मात्‌ ब्रह्मचारीको शास्त्राध्ययनको बिच ठिङ्ग उभिन पुगिन्‌ ।

गुरुले सोधे- “तिमी यहाँ, के भो हँ ?”

शिष्याले भनिन्‌- “गुरुदेव यो अपमानै अपमानले भरिएको यो पापी संसारबाट उद्धार गरेर मलाई अन्तै कतै लैजानुस्‌ । अबदेखि म तपाईंकै सेवामा आफ्नो जीवन समर्पित गर्न चाहन्छु ।” परमानन्दले निकै हप्काइ-दप्काइ गरेर गौरीलाई घर फर्काइदिए, तर है गुरुदेव त्यो दिन तपाईंको अकस्मात्‌ भङ्ग भएको त्यो अध्ययन सूत्र फेरि पहिलेजस्तै जोडियो ।

परेश घर आइपुग्दा ढोका खुल्लै देखे । पत्नीलाई सोधे- “को आएको थियो यहाँ हँ ?” गौरीले भनिन्‌- “कोही आएको थिएन म आफैँ गुरुदैवको घर गएकी थिएँ।” परेशको अनुहार रातोपिरो भो । उनले फेरि सोधे- “किन गएकी थिइस्‌ ?”

गौरीले भनिन्‌, “मेरो खुसीले जहाँ गएपनि तपाईंलाई के मतलब ?” त्यो दिनदेखि घरमा पालेपहरा राखेर पत्नीलाई कोठामा थुने परेशले यस्तो उपद्रो सुरु गरिदिए कि सारा सहरमा बदनामी भो ।

यी सब घृणित अपमान र अत्याचारको खबर पाएर परमानन्दको हरिभजन बिथोलियो । सहर छोडेर अन्यत्र कतै जाने वारेमा सोच्न थाले, तर बिचरी गौरीलाई त्यस्तो हालतमा छाडेर अन्त कतै जान पनि सकेनन्‌ उनी । संन्यासीको यी दिनरातको इतिहास अन्तर्यामी भगवानूबाहेक अरू कसैलाई थाहा थिएन । अन्तमा, कोठाभित्र थुनिएकै अवस्थामा गौरीले एउटा चिठी पाइन्‌ । त्यसमा लेखिएको थियो “बालिके मैले धेरै विचार गरेँ । पहिला अनेक साध्वी-साधक रमणीहरूले कृष्णप्रेममा परेर आफ्नो सारा घरव्यवहार त्यागिसकेका छन्‌ । यदि संसारको अत्याचारले गर्दा तिम्रो चित्त भगवानको चरण कमलको लागि व्यग्र भएको भए मलाई खबर गर्नू । भगवानको सहायताबाट सेविकाको उद्धार गरेर उसलाई प्रभुको चरणकमलमा न्यौछावर गर्ने प्रयास गरौँला । फाल्गुण शुक्ल पक्षको त्रयोदशी तिथि बुधवारका दिन दुई बजे तिमी चाहन्छयौ भने आफ्नो तलाउको किनारमा मलाई भेट्न सक्नेछयौ ।”

गौरीले चिठी आफ्नो कपालको जुरोभित्र लुकाइन्‌ । भोलिपल्ट दिउँसो नुहाउनुअघि जुरो फुकाउन लाग्दा उनले थाहा पाइन्‌ चिठी गायब, उनलाई सहजै शङ्का भो कि सायद चिठी ओछ्यानमा कुनै बेला खसेको हुनुपर्छ र पतिको हात परेको हुनुपर्छ । त्यो चिठी पढेर उनको पति ईर्ष्याले भित्रभित्रै जलेर खरानी भइसके होलान्‌ । यस्तो सोच्दै गर्दा उनी अलि खुसी भइन्‌ तर यसको साथसाथै उनको शिरको आभूषण त्यो चिठी कतै पाखन्डीको हात परेको भए उनलाई सह्य हुने कुरै थिएन ।

उनी तीव्र गतिमा पतिको कोठामा पुगिन्‌ । कोठामा पुगेर देख्छिन्‌ त उनको पति भुइँमा लडिबडी गर्दै नराम्रोसित तड्पिरहेकाले मुखबाट गज्‌गज्‌ फिँज निस्किरहेको अनि आँखा पर्लक्क पल्टेको पतिको दाहिने हातको मुठ्ठी खोलेर उनले चिठी आफ्ना हातमा लिइन्‌ अनि तत्काल डाक्टरलाई बोलाउन पठाइन्‌ ।

डाक्टरले भने- “छारेरोग रहेछ ।”

रोगी कहिले न कहिले मरिसकेको ।

त्यो दिन परेशलाई कुनै जरुरी मुद्दाको बहसका लागि बाहिर जानुपर्ने थियो । उता संन्यासी यहाँसम्म पतन भएका थिए कि समाचार पाउनासाथ गौरीलाई भेट्ने तयारी गर्दैथिए ।

बिधुवा गौरीले भ्यालबाट देखिन्‌ । उनका गुरुदेव घरपछाडिको तलाउको किनारमा चोर लुकेजस्तो लुकिबसेका । अचानक उनीमाथि बज्रपात भो । उनले आँखा झुकाइन्‌, उनको गुरु भनाउँदो कहाँबाट कहाँ आइपुग्यो एकै छिनमा । उसको बीभत्स चित्र उनको आँखा अगाडि नाच्न थाल्यो ।

गुरुले बोलाए- “गौरी”

गौरीले जबाफ फर्काइन्‌- “आएँ गुरुदेव आएँ ।”

परेशको मृत्युको खबर सुनेर परेशका आफन्तहरू जब घरभित्र पस्छन्‌ त गौरी पनि पतिकै छेउमा मरिसकेकी । उनले विष सेवन गरेकी थिइन्‌ । आधुनिक समयमा यस्तो आश्चर्यजनक सहमरणको दृष्टान्त देखेर सबै दङ्ग परे ।