१. विषय प्रवेश
अरबीमा जन्मिएर, फारसीमा हुर्किएर, हिन्दी, नेपाली आदि भाषाहरूमा समेत आफ्नो अस्तित्व देखाउन सफल गजल एउटा लोकप्रिय काव्यविधा हो । संरचनात्मक रूपमा केही आफ्नै फरक तत्त्वहरू भए पनि आकारका दृष्टिले गजल कविताको लघु रूपअन्तर्गत पर्दछ । अरबी भाषा–साहित्यमा महफिलहरूमा गाइने राजा महाराजाहरूको स्तुतिगान वा प्रशस्तिगानलाई ‘कसिदा’ भन्ने गरिन्थ्यो । यसका थालनीमा दुई वा चारहरफे प्रयणप्रसङ्गमा आधारित मुक्तकीय रचना प्रस्तुत गर्ने गरिन्थ्यो । त्यसलाई ‘तस्बिब’ भनिन्छ । ‘कसिदा’ र ‘तस्बिब’ एउटै रचनाजस्ता बनेर उपस्थित हुन्थे तर ती दुईका उद्देश्यहरू फरक फरक थिए । प्रेम वा प्रणयप्रसङ्गले श्रोताहरूलाई तत्काल आकर्षित गर्न सक्ने हुनाले ‘तस्बिब’ ‘कसिदा’ भन्दा लोकप्रिय बन्यो । बिस्तारै श्रोताले ‘तस्बिब’ मात्रै सुन्ने चाहना गर्न थालेपछि यो ‘कसिदा’बाट अलग्गियो र यसले आफ्नो छुट्टै स्वरूप निर्माण ग¥यो । यही ‘तस्बिब’ विकसित हु“दै जा“दा ‘गजल’मा परिणत भएको हो । इसाको सातौ“ शताब्दीको अन्त्यतिर यसले विधागत स्वरूप धारण गरेको र औपचारिक रूपमा गजलको जन्म भएको हो भन्ने मान्यता पाइन्छ । यसरी अरबीमा गजलको औपचारिक जन्म भएको लगभग तेह्र सय वर्ष भए पनि यसले फारसी साहित्यको निकै लामो यात्रा पार गरेर सत्रौ“ शताब्दीको सुरुमा मात्र भारतीय साहित्यमा पदार्पण ग¥यो । नेपाली साहित्यमा भने बिसौ“ शताब्दी अर्थात् नेपाली कविताको माध्यमिक कालमा मोतीराम भट्टका माध्यमबाट प्रवेश पाएको हो । यस लेखमा त्यही लोकप्रिय विधाका विषयमा सैद्धान्तिक एवं प्रयोगात्मक सन्दर्भको चर्चा गरिएको छ ।
२. गजलको परिचय
‘गजल’ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको अर्थ ‘प्रेमिकास“गको वार्तालाप’ वा ‘प्रेमपूर्ण संवाद’ हो भन्ने गरिन्छ । मनु ब्राजाकीले ‘ग+ज+अल’ गरी यसको व्युत्यत्तिलभ्य अर्थको खोजी गरेका छन् । अरबीमा ‘ग’को अर्थ ‘वाणी’, ‘ज’को अर्थ ‘नारी’ र ‘अल’को अर्थ ‘स“ग’ हुन्छ । त्यसैले गजलको अर्थ ‘नारीस“गको बोलचाल’ हुन्छ भन्ने विचार मनु ब्राजाकीको पाइन्छ । यसरी नै ‘गजाला’ शब्दले अरबीमा हरिणको बच्चालाई बुझाउ“छ, यही शब्दबाट गजलको व्युत्पत्ति भएको हो भन्ने अर्को मान्यता पनि पाइन्छ । सिकारीले तीर हानेर घायल बनाएको मृगशावकको चीत्कारजस्तै संवेदनशील वा हृदयविदारक भावविन्यास पनि गजलमा हुन सक्ने हुनाले यसलाई ‘गजाला’ शब्दस“ग जोडिएको हुन सक्छ । यसरी नै एक थरीको भनाइ प्राचीन कालमा अरबमा मरिदापान र प्रेम वा विलासितामा जीवन समर्पित गर्ने एक जना सायर थिए, तिनको नाम नै ‘गजल’ थियो । तिनैको सम्झनास्वरूप यस विधाको नामकरण पनि ‘गजल’ नै गरिएको हो भन्ने छ भने अर्का थरीको भनाइ संस्कृतको ‘कज्जल’ (गाजल) शब्द अपभ्रंश भएर ‘गजल’ बनेको हो भन्ने प्रकारका विभिन्न सन्दर्भको चर्चा डा. घनश्याम परिश्रमीले गरेका छन् । यसै गरी केहीको मान्यता अफ्रिका वा एसियामा पाइने एकप्रकारको हरिणलाई अङ्ग्रेजीमा Gazelle भनिन्छ र त्यही शब्दबाट अपभ्रंश भएर ‘गजल’ शब्द बनेको हुन सक्छ भन्ने मान्यता देवी पन्थीको पाइन्छ । जे भए पनि गजल साहित्यको एउटा अत्यन्त लोकप्रिय रचनाका रूपमा विभिन्न भाषा र साहित्यमा स्थापित भइसकेको छ ।
जन्मकालदेखि हालसम्ममा गजललाई अनेकौ“ शब्दकोशहरूले र गजलविज्ञहरूले आ–आफ्नै तरिकाले परिभाषित गरेका छन् । गजललाई ‘अक्सफोर्ड डिक्सनरी’ले विशेषतः प्रेमसम्बन्धी वा रत्यात्मक पुरानो लयात्मक कविताको एक प्रकार, सीमित श्लोक र अनुप्रासको आवृत्तिले पश्चिमी पद्यभन्दा फरक बन्न पुगेको रचनाका रूपमा चिनाएको छ, ‘बृहत् हिन्दी–उर्दू–हिन्दी कोश’ले स्वतन्त्र सेरहरूले बनेको फारसी–उर्दू भाषाको एकप्रकारको कविताका रूपमा चर्चा गरेको छ भने ‘नेपाली बृहत् शब्दकोश’ले शृङ्गारिक रसका कविता लेखिने एक प्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिएका कविताका रूपमा चिनाएको छ । यसरी नै भारतीय विद्वान् डा. नगेन्द्रले स्थायीभाव प्रेम भए पनि गजलमा रहस्यानुभूति, मस्ती, मदिरापानको मजा, धार्मिक विद्रोह आदि भावनाहरू सञ्चारी रूपमा आउने विचार अघि सारेका छन् भने चानन गोविन्द पुरीले ‘गजल उर्दू कविताको सशक्त र सर्वश्रेष्ठ काव्यको रूप हो’ भनेका छन् । यसरी नै नेपाली गजलविज्ञहरूमा मनु ब्राजाकीले गजललाई प्रणय, कामना र आन्तरिक पीडाका हार्दिक भावहरूको सन्तुलित अभिव्यक्ति मानेका छन् भने ललिजन रावलले यसलाई कोमल र हार्दिक भावको सशक्त र सङ्क्षिप्त अभिव्यक्तिका रूपमा स्विकारेका छन् । यसरी नै बू“द रानाले विचार, भाव र लयको सन्तुलित अभिव्यक्तिका रूपमा, डा. धनश्याम परिश्रमीले एउटा प्राविधिक र शास्त्रीय काव्य, कविता र गीतको अविभाज्य विलयन एवम् जीवन र जगत्का हरेक पक्षको प्रतिबिम्ब देखाउने ऐनाका रूपमा, डा. कृष्णहरि बरालले भाव, कल्पना, बिम्ब तथा प्रतीक आदिको प्रयोग गरिने काव्यका रूपमा र रवि प्राञ्जलले भावको पूर्णता, कोमलता, हार्दिकता, सङ्क्षिप्तता, अभिव्यक्ति कुशलताजस्ता तत्त्वहरूले युक्त निश्चित संरचना, लय र सङ्गीतको जगमा अडिएको काव्यविधाका रूपमा गजललाई चिनाएका छन् ।
गजलको आफ्नै संरचना छ, विषयका क्षेत्रहरू छन्, प्रस्तुतिका अनेकौ“ ढा“चाहरू छन्, स्वतन्त्र र स्पष्ट लयविधान छ र श्रोता वा पाठकलाई आकर्षण गर्ने आन्तरिक शक्ति पनि छ । त्यसैले यसको आन्तरिक र बाह्य दुवै संरचना र प्रभावकारिताका आधारमा ‘गजल’को व्युत्पत्तिबाट यस्तो व्यञ्जनात्मक अर्थ पनि निकाल्न सकिन्छ—
ग– गम्भीरता, गेयात्मकता वा गतिशीलता
ज– जीवन्तता, जयप्रिय वा जादूपूर्ण
ल– लयात्मकता, लाक्षणिकता वा ललितता
यसरी हेर्दा गजलले आफूभित्र गम्भीर भावविन्यास, जीवन्त वैचारिक धरातल र ललित एवम् कोमल पदावलीबाट सिर्जित प्रभावकारी लयविधानको अपेक्षा गरेको देखिन्छ ।
३. गजलका लागि आवश्यक घटकहरू
अन्य विधाका तुलनामा गजल अनुशासित र सैद्धान्तिक काव्यविधा मानिन्छ । उर्दू महाकवि गालिबले गजलका लागि ‘इबारत’ (सारतत्त्व), ‘इसारत’ (बिम्ब, प्रतीक वा सङ्केत) र ‘अदा’ (शिल्प वा कला) तीनओटा कुरालाई आन्तरिक शक्तिका रूपमा प्रस्तुत गरेका छन् । यिनले नै गजललाई कविता र गीतभन्दा फरक बनाउने काम गर्दछन् भन्ने उनको मान्यता रहेको छ । गजलको आन्तरिक शक्तिस“ग सम्बन्धित सङ्क्षिप्तता, सरलता, भावगाम्भीर्य, प्रभावकारिता, नवीनताजस्ता कुराहरू पनि उपर्युक्त तीनओटा तत्त्वमा नै आश्रित हुन्छन् भने बाह्य संरचनात्मक सुगठन गजलको अर्को महŒवपूर्ण पक्ष हो । मोतीराम भट्टको यस गजलबाट त्यसलाई सहजै बुझ्न सकिन्छ—
(७) इ सानै उमेरर्देखि मन् हर्न (१) लागे (२)
(८) इनै सुन्दरीले जुलुम् गर्न लागे । (३)
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे ।
सुनिस् मन् मुनीयाँ बडा होस राखेस् (६)
बिछाएर जाल कागुनो छर्न लागे ।
बिराना र आफ्ना नराम्रा र राम्रा
सबै सुन्दरीका अघी सर्न लागे ।
अघी पर्न सक्दीनँ मैले हरीका
नजर्देखि ‘मोती’(४) पनी झर्न लागे । (५)
माथिका अङ्कहरूले १. काफिया, २. रदिफ, ३. मतला, ४. मकता, ५. तखल्लुस, ६. मिसरा, ७. मिसरा–ए–उला, ८. मिसरा–ए–सानी, ९. सेर र १०. बहरलाई सङ्केत गरेका छन् । यिनको अतिसङ्क्षिप्त चर्चा यहाँ गरिएको छ—
काफिया
अरबी भाषाको पुलिङ्गबोधक ‘काफिया’ शब्दको अर्थ ‘बारम्बार आउने’ भन्ने हुन्छ । यो गजलको अनिवार्य तŒव हो । काफियाको अभावमा गजल, गजल नै बन्न सक्दैन । माथिको गजलका सुरुका दुवै हरफमा र पछिका प्रत्येक दोस्रो हरफमा आएका हर्न, गर्न, तर्न, डर्न, छर्न, सर्न र झर्नजस्ता तुकबन्दीयुक्त शब्दहरू नै ‘काफिया’ हुन् । काफिया गजलको मुटु मानिन्छ । पूर्ण, आंशिक, एकाक्षरी र अन्य (मिलित र मिश्रित) गरी काफिया विभिन्न प्रकारका हुन्छन् ।
पूर्ण काफियाः स्वर र व्यञ्जनको समरूपता भएका काफियाहरू पूर्ण काफिया हुन् । जस्तैः हर्न, गर्न, छर्न, तर्न, मर्न, झर्न/ बल्दा, चल्दा, ढल्दा, छल्दा, गल्दा/ तारा, सारा, पारा, धारा, नारा आदि ।
आंशिक काफिया: स्वर र व्यञ्जनमध्ये एउटालाई मात्र ख्याल गरेर निर्माण गरिएको काफियालाई आंशिक काफिया भनिन्छ । जस्तैः पाएर, राखेर, पोखेर, बोकेर, बाँधेर, आएर/ बोल्ने, सोच्ने, खेल्ने, हाँस्ने, बाँच्ने आदि ।
एकाक्षरी काफिया: शब्दको अन्तिम एक अक्षरलाई मात्र ख्याल गरिएको वा एकाक्षरी शब्दबाट मात्र निर्माण भएका काफियाहरूलाई एकाक्षरी काफिया भनिन्छ । जस्तै: खुसी, नदी, चरी, मसी, जिन्दगी, रवि÷ भो, हो, यो, को, दुब्लो, सेतो आदि ।
अन्य काफिया: ‘जलन, भन न’ वा ‘अब त, रगत’ जस्ता काफियामा उच्चारणले एकरूपता भएकाले ‘मिश्रित काफिया’ र ‘भन्छ’ र ‘वन छ’ जस्तो प्रयोगलाई ‘मिलित काफिया’ भनेको पाइन्छ ।
रदिफ
‘काफिया’भन्दा पछि आउने पद वा पदावलीलाई ‘रदिफ’ भनिन्छ । ‘रदिफ’ अरबी शब्द हो र यसको अर्थ ‘पछि लाग्ने’ भन्ने हुन्छ । उदाहरणमा दिइएको मोतीराम भट्टको गजलमा हर्न, गर्न, तर्नजस्ता काफियाभन्दा पछाडि आउने ‘लागे’ शब्द ‘रदिफ’ हो । रदिफ पनि विभिन्न प्रकारका हुन्छन्—
पदमूलक रदिफ: एउटा शब्द वा पदलाई मात्र रदिफका रूपमा प्रयोग गरिएको छ भने त्यो पदमूलक रदिफ हो । जस्तैः लागे ।
पदावलीमूलक रदिफ: दुई वा सोभन्दा बढी पदहरू रदिफका रूपमा आएका छन् भने ती पदावलीमूलक रदिफ हुन् । जस्तै ः उता गाउँतिर ।
वाक्यात्मक रदिफ: एउटा सिङ्गो वाक्य नै रदिफका रूपमा आएको छ भने त्यसलाई वाक्यात्मक रदिफ भनिन्छ । जस्तैः बुझेको छु मैले ।
मतला
गजलको थालनीमा आउने दुई हरफ वा एक सेरलाई ‘मतला’ भनिन्छ । यो अरबी शब्द हो र यसको अर्थ ‘प्रारम्भ’ वा ‘सुरुआत’ भन्ने हुन्छ । गजलको मतला प्रभावकारी छ भने त्यसले सिङ्गो गजललाई उचाइमा पु¥याइदिन्छ ।
मकता
गजलको अन्तिम सेरलाई ‘मकता’ वा ‘मक्ता’ भनिन्छ । यो पनि अरबी शब्द हो र यसको अर्थ समापन, समाप्ति, काटिएको वा अन्त्य भन्ने हुन्छ । गजलको यस खण्डलाई भावको विश्राम वा विषयवस्तुको समापनका रूपमा लिने गरिन्छ ।
तखल्लुस
गजलमा प्रयोग गरिने स्रष्टाको नाम वा उपनामलाई ‘तखल्लुस’ भनिन्छ । माथिको गजलमा आएको ‘मोती’ पद तखल्लुस हो । यसले स्रष्टा मोतीराम र आँसु दुई अर्थ दिएको छ । गजलमा तखल्लुुसको प्रयोग हुनै पर्छ भन्ने छैन । यदि त्यो नाम द्व्यर्थक बन्न सक्छ र त्यसले लाक्षणिक रूपमा अर्को अर्थ दिन सक्छ भने मात्र तखल्लुसको प्रयोग गर्नु राम्रो मानिन्छ ।
मिसरा (मिसरा ए उला र मिसरा ए सानी)
गजलमा प्रयोग भएका हरेक पङ्क्तिहरूलाई ‘मिसरा’ भनिन्छ । त्यसमा पनि हरेक सेरहरूको पहिलो पङ्क्तिलाई ‘मिसरा ए उला’ र दोस्रो पङ्क्तिलाई ‘मिसरा ए सानी’ भनिन्छ । उलाले भावको उठान गर्छ भने सानीले समापन गर्छ ।
सेर
गजलका हरेक दुई हरफको समूहलाई ‘सेर’ भनिन्छ । ‘सेर’ अरबी शब्द हो र यसको अर्थ ‘कपाल’ भन्ने हुन्छ ।
बहर
गजलमा प्रयोग हुने शास्त्रीय लयलाई ‘बहर’ भनिन्छ । संस्कृत काव्यपरम्परामा ‘छन्द’ भनेजस्तै फारसी गजलपरम्परामा ‘बहर’ शब्दले लयव्यवस्थाभित्रको अनुशासित रूपलाई सङ्केत गरेको हुन्छ । लय, छन्द वा बहर सबैले रचनाभित्रको सङ्गीतचेतनालाई सङ्केत गर्दछन् । नेपाली गजल परम्परामा फारसी शास्त्रीय बहर, लोकछन्द, समाक्षरिक लय र स्वतन्त्र लय सबैको प्रयोग भएको पाइन्छ ।
यी गजलका प्रमुख घटकहरू हुन् । यिनको रखाइ ‘ए, ए, बी, ए, सी, ए, डी, ए, ई, ए’ को संरचनामा हुनुपर्दछ । यहाँ ‘ए’ को आशय अनुप्रास वा काफिया हो भने ‘बी, सी, डी, ई’ को आशय स्वतन्त्र हरफ हो । उक्त संरचनालाई यसरी बुझ्न सकिन्छ—
ए = अनुप्रासयुक्त पहिलो हरफ (भावको प्रभावकारी थालनी)
ए = अनुप्रासयुक्त दोस्रो हरफ (भावको सूक्तीकरण)
बी = स्वतन्त्र तेस्रो हरफ (भावको उठान)
ए = अनुप्रासयुक्त चौथो हरफ (भावको समापन)
सी = स्वतन्त्र पाँचौँ हरफ (भावको उठान)
ए = अनुप्रासयुक्त छैटौँ हरफ (भावको समापन)
डी = स्वतन्त्र सातौँ हरफ (भावको उठान)
ए = अनुप्रासयुक्त आठौँ हरफ (भावको समापन)
सी = स्वतन्त्र नवौँ हरफ (भावको उठान)
ए = अनुप्रासयुक्त दसौँ हरफ (भावको समापन)
यसरी गजलमा भावको उठान र समापनको निरन्तरता हुनुपर्छ । यसमा एउटै भावको निरन्तरता हुन पनि सक्छ र हरेक सेरहरू स्वतन्त्र हुन पनि सक्छन् । गजलमा प्रत्येक हरफहरू फरक फरक हुने व्यवस्था पनि पाइन्छ । एउटा गजलका सम्पूर्ण सेरहरू एउटै भावको सूत्रमा बा“धिएका छन् र तिनको कथ्य वा वण्र्य विषय एउटै छ भने त्यस्ता गजललाई ‘गजल मुसलसल’ भनिन्छ भने एउटा गजलका प्रत्येक सेरहरू भावगत रूपमा स्वतन्त्र छन् र तिनले फरक फरक विषयलाई सङ्केत गरेका छन् भने त्यस्तो गजललाई ‘गजल गैरमुसलसल’ भनिन्छ । नेपालीमा यी दुवै प्रकारका गजलहरू लेखिएका छन् ।
४. नेपालीमा गजल लेखन
नेपाली साहित्यमा गजल लेखनको थालनी नेपाली कविताको माध्यमिक कालमा भएको हो । मोतीराम भट्ट प्रथम नेपाली गजलकार हुन् । वि.सं. १९४० को सेरोफेरोमा नेपाली साहित्यमा प्रवेश गरेको गजल त्यही समयमा निकै लोकप्रिय विधाका रूपमा देखाप¥यो । मोतीराम भट्टले उर्दू, फारसी र हिन्दी परम्पराअनुसार नै शृङ्गारिक र बहरबद्ध गजलहरूको सिर्जना गरे । बनारस र काठमाडौँ दुवैतिर बनेका मोतीमण्डलीमार्फत सामूहिक सिर्जनाको पनि अभ्यास गरियो । मोतीमण्डलीका लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, नरदेव पाण्डे आदिले मोतीरामलाई गजल लेखनमा बलियो साथ दिए । मोतीरामपछि शम्भुप्रसाद ढुङ्गेलको आगमन नेपाली गजलका लागि उल्लेखनीय रह्यो । यसपछि भीमनिधि तिवारी र उपेन्द्रबहादुर जिगरले नेपाली गजललाई उचाइमा पु¥याउने काम गरे । यसरी १९४० देखि २००० सम्मको छ दशकको अवधिमा नेपाली गजलमा प्रशस्त सिर्जनाहरू भए ।
वि.सं २००० को दशकदेखि नेपाली गजल पूर्ण रूपमा निष्क्रिय बन्यो । लगभग ३५ वर्षको लामो निद्रा सुतेको नेपाली गजललाई ज्ञानुवाकर पौडेलले जगाउने काम गरे । मुक्तक भनेर छापिएको भए पनि २०३५ को मधुपर्कमा छापिएको पौडेलको गजल नै नेपाली गजलको पुनर्जागरणको आधारविन्दु बन्यो । यसरी २०३५ पछिको डेढ दशकमा ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, ललिजन रावल, धर्मोगत शर्मा तुफान, रवि प्राञ्जल, बूँद राना, घनश्याम परिश्रमी आदिले नेपाली गजललाई पुनर्जीवन प्रदान गर्न निकै ठुलो भूमिका खेले । जसको फलस्वरूप २०५० को दशकदेखि नेपाली गजल जुरुक्क उठ्यो र २०६० को दशकदेखि त गजल नेपाली साहित्यकै सर्वाधिक लोकप्रिय विधा बन्न पुग्यो । नेपाली गजलको पछिल्लो एक दशकलाई हेर्ने हो भने गजल नेपाली साहित्यमा नै सबैभन्दा बढी लेखिएको काव्यविधाअन्तर्गत पर्दछ । सङ्ख्यात्मक दृष्टिले हेर्दा यस दशकमा सम्भवतः उर्दू, फारसी र हिन्दीमा समेत यस रफ्तारमा गजलहरू लेखिएका छैनन् । अहिले नेपाली साहित्यमा गजल सबै पुस्ताका लागि प्रिय बनेको देखिन्छ । अहिले गजलका सयौँ मात्र होइन, हजारौँको सङ्ख्यामा कृतिहरू प्रकाशन भइसकेका छन् भने गायनमा पनि यसले प्रभावकारी हस्तक्षेप गर्दै आएको देखिन्छ ।
५. गजल कसरी लेखिन्छ ?
उल्लिखित संरचनाका बारेमा जानकारी प्राप्त भइसकेपछि गजल लेख्न सजिलो छ । सुरुमा कुनै एउटा विषयवस्तु सोचेपछि त्यसलाई ‘ए, ए, बी, ए, सी, ए, डी, ए, ई, ए’ को संरचनामा ढाल्नका लागि शब्दहरूको छनोट गर्नुपर्छ । यसको रचना गर्दा सुरु सुरुमा तीनओटा चरण पूरा गर्नुपर्छ । जस्तैः
विषयवस्तु: आत्मविश्वास वा स्वाभिमान
काफिया: गर्न, चर्न, छर्न, तर्न, पर्न, भर्न, मर्न, सर्न, हर्न आदि ।
रदिफ: सक्छौँ हामी ।
लयविधान: ४x४x४x२ = १४ अक्षर सवाई छन्द
पहिलो चरण: शब्दसंयोजन— यस चरणमा गजलका लागि सोचेको विषयवस्तुलाई वहन गर्न सक्ने कम्तीमा चारओटा अनुप्रासमूलक शब्द (काफिया) हरूको चयन गर्नुपर्छ र ती शब्दहरूसँग मिल्ने रदिफको छनोट गर्नुपर्छ । जस्तैः गर्न, चर्न, छर्न, तर्न, पर्न, भर्न, मर्न, सर्न, हर्न (काफिया) र सक्छौँ हामी (रदिफ) आदि ।
अब यी शब्दसँग पूर्वापर प्रसङ्ग मिल्ने गरी अगाडि र पछाडि राख्न मिल्ने अन्य शब्दहरूको चयन गर्नुपर्छ । ती शब्दहरूले विषयवस्तुलाई समेटेको हुनुपर्छ । ती शब्दहरूलाई गजलको विषयवस्तु र अर्थसँग जोड्न दोस्रो चरणमा जानुपर्छ ।
दोस्रो चरण: अर्थसंयोजन— यस चरणमा गजलका लागि आवश्यक सिद्धान्तमा सचेत रहेर निर्धारित विषयवस्तुको विस्तार गरी पूर्वनिर्धारित लयमा कम्तीमा तीन सेर लेख्नुपर्छ । जस्तैः
साँझबिहान सबै काम गर्न सक्छौँ हामी
खेतबारीमा बिउ पनि छर्न सक्छौँ हामी
कतै कतै बाटो हिँड्दा खोलो आयो भने
नडराई सानो खोलो तर्न सक्छौँ हामी
बिहान बिहान कुवा अनि पधेरामा गई
गाग्रीभरि पानी पनि भर्न सक्छौँ हामी
कोही साथी एक्लै भई उभिएको देखे
मिली बस्न अलि पर सर्न सक्छौँ हामी
पहिले हामी साना थियौँ अहिले ठुला भयौँ
जन्मेपछि एकदिन पक्कै मर्न सक्छौँ हामी ।
यत्तिको रचनालाई हामीले गजल नै मान्ने गरेका छौँ । यस अभिव्यक्तिमा ‘ए, ए, बी, ए, सी, ए, डी, ए, ई, ए’ को संरचना र नियम पनि मिलेको छ, सवाई छन्दको लयविधान पनि मिलेको छ, विषयप्रति सचेतता र निरन्तरता पनि छ र स्रष्टाको आशय पनि अभिव्यक्त हुन थालेको छ । यहाँ प्रयोग भएका काफिया र रदिफको अन्तःसम्बन्ध तथा शब्द र अर्थका बिचमा तालमेल मिलेकै छ तर यहाँ कवित्व छैन, सरासर वर्णन मात्र छ । विषयवस्तुको सपाट वर्णनले गजल सुन्दर हुँदैन । बाहिरी अस्थिपञ्जर चाहिँ निर्माण हुन्छ तर भित्र प्राण भरिएको हुँदैन । अब यसमा सशक्त भावसंयोजन गर्नका लागि तेस्रो चरणमा जानुपर्छ ।
तेस्रो चरण: भावसंयोजन— यस चरणमा गजलका लागि आवश्यक सिद्धान्त, विषयवस्तुको विस्तार र लयविधानमा सचेत भएर विभिन्न विम्ब र प्रतीकहरूको प्रवेश गराई शब्द, अर्थ र भावको संयोजन गर्नुपर्छ । जस्तैः
शिरमा हिमाल बोकी गर्व गर्न सक्छौँ हामी
नाङ्गो धर्ती सिर्जनाले भर्न सक्छौँ हामी
प्रमिथस भई आगो चोर्न स्वर्गतिर लाग्दा
व्यवधानको समुद्र नै तर्न सक्छौँ हामी
दृष्टिहीन भए भने हाम्रा चन्द्रसूर्य
आँखा दिन सधैँ अघि सर्न सक्छौँ हामी
परेवाको जोडीलाई बन्दुक नदेखाऊ
बुद्ध बनी शान्ति सन्देश छर्न सक्छौँ हामी
माटोलाई मुटु ठानी बाँच्दा गर्व लाग्छ
माटोनिम्ति खुसीसाथ मर्न सक्छौँ हामी ।
यस अभिव्यक्तिमा ‘ए, ए, बी, ए, सी, ए, डी, ए, ई, ए’ को संरचना पनि मिलेको छ, अर्थको निरन्तरता पनि छ, हरेक सेरमा कुनै न कुनै विम्ब एवं प्रतीकहरूको प्रयोग गरिएको छ र आत्मविश्वास तथा स्वाभिमान र देशभक्तिको गम्भीर भावसंयोजन पनि भएको छ । यहाँ आएका शिरको हिमाल, नाङ्गो धर्ती, प्रमिथस, व्यवधानको समुद्र, दृष्टिहीन चन्द्रसूर्य, परेवाको जोडी, बुद्ध, माटो र मुटु आदि पद तथा पदावलीभित्र लुकेको अर्थको गहिराइलाई जति पनि व्याख्या र विश्लेषण गर्न सकिन्छ । स्वाभिमानको सर्वोच्चतालाई स्थापित गर्नका लागि यहाँ छनोट गरिएका प्राकृतिक, सांस्कृतिक, सामाजिक, लोककथात्मक एवं संवेगात्मक विम्ब तथा प्रतीकहरूको विशेष महत्त्व छ । यसरी भन्नुपर्ने कुरालाई कुनै विम्ब, प्रतीक वा मिथकहरूका माध्यमबाट घुमाउरो तरिकाले व्यक्त गर्न सकियो भने त्यसले दिने अर्थ पनि अभिधामा नभएर लक्षणामा अथवा व्यञ्जनामा आउने गर्छ ।
यो गजलको न्यूनतम फ्रेम मात्र हो । यसभित्र अभिव्यक्त हुने कवित्वचाहिँ प्रत्येक स्रष्टामा अलग अलग हुने गर्छ, जुन कुरा कसैले कसैलाई दिन सकिँदैन । त्यो प्रतिभा हो, प्रतिभा स्रष्टाको नितान्त निजी सम्पत्ति हो । गजल लेख्न सिक्दै गरेकाहरूका लागि यी चरणहरू सिर्जनाका आधार बन्न सक्छन् तर अभ्यस्त बन्दै गएपछि यी कुनै पनि कुराको आवश्यकता पर्दैन । स्रष्टाको हृदयमा एउटा शक्तिशाली भाव सिर्जना भएपछि त्यसका लागि आवश्यक शब्दछनोट, विम्बछनोट र लयछनोट आफैँ भइहाल्छ । मोतीरामदेखि आजसम्मको पुस्ताले लेखेका गजलहरूलाई हेर्दा लेख्न बाँकी कुनै कुरा छ जस्तो लाग्दैन । कुनै पनि सिर्जनामा नयाँ कुरा भन्ने होइन, नयाँ तरिकाले भन्ने हो । अगाडि उल्लेख भएकै विषयमा पनि नयाँ चमत्कार निर्माण गरी अर्को सिर्जना गर्न सकिन्छ । जति धेरै सिर्जना भयो त्यति धैरै नयाँपनको खोजी हुन्छ र सिर्जनामा पनि निरन्तर निखार आउँदै जान्छ । त्यसैले सिकाउने पुस्ताले भन्दा सिक्ने पुस्ताले शक्तिशाली गजल लेख्न सक्छ । नयाँ पुस्तामा नयाँ चेतना, नयाँ दृष्टिकोण र नयाँ शैली देखिन सक्छ । यिनै कुराका साक्ष्य अहिलेका सुन्दर गजलहरू हुन् । पुराना स्रष्टाहरूका गजलमा भावगाम्भीर्य र शास्त्रीयताको सचेत प्रयोग पाइन्छ भने अहिलेका गजलमा हरेक कुरामा नयाँपनको खोजी पाइन्छ । जस्तैः
— लोकजीवनबाट टिपिएका विम्बहरूको नयाँ तरिकाले प्रस्तुति,
— प्रत्येक सेरमा एउटा झड्का निर्माण र लामो समयसम्म पाठकका मनमा रहिरहने विद्युतीय तरङ्गको सिर्जना,
— अति सामान्य कुराको अति विशिष्ट कलात्मकतापूर्ण प्रस्तुति,
— भाषिक चमत्कार, शब्दविन्यासमा कलाकारिता, काफिया प्रयोगमा कलाकारिता र जीवन र जगत्प्रतिको नवीन दृष्टि आदि ।
५. निष्कर्ष
गजल अन्य विधाका तुलनामा अलि बढी नै शास्त्रीय र बढी नै अनुशासित काव्यविधा हो । यसको आन्तरिक बुनोटमा नयाँपन अपेक्षित छ तर बाह्य बनोटलाई चलाउन मिल्दैन । गजल गेय विधा हो त्यसैले यसमा लयविधान अनिवार्य छ । चाहे शास्त्रीय बहरमा होस्, चाहे लोकलयमा होस् अथवा समाक्षरिक लयमा होस् गजलमा कुनै न कुनै प्रकारको लयविधान आवश्यक हुन्छ । गद्यमा चाहिँ गजल हुँदैन । शास्त्रीय नियमको पूर्ण पालना गर्ने हो भने गजल बहरमा नै लेखिनुपर्छ तर हरेक विधाले आफूलाई युगीन परिमार्जन गर्दै लाने हुनाले न्यूनतम शास्त्रीयतालाई नभत्काई युगानुकूल सिर्जनाहरू हुन सक्छन् । लयविधानकै विषयमा पनि अरबीमा भन्दा फारसीमा, फारसीमा भन्दा उर्दूमा, उर्दूमा भन्दा हिन्दीमा र हिन्दीमा भन्दा नेपालीमा केही न केही नयाँपनहरू थपिँदै आएका छन् तर ती सबैमा काफिया र रदिफको अन्तःसम्बन्धबाट शक्तिशाली सेर निर्माण गर्ने न्यूनतम परिपाटीको पालना भने भएकै देखिन्छ । गजल, गजल नै हो । यसलाई पाठ्य गजल, गेय गजल र वाच्य गजल भनेर वर्गीकरण गरिँदैन । जुन गजल लेखिन्छ, त्यो छापिएपछि पाठकले पढ्दा आनन्द आउनुपर्छ, गायकले गाएपछि श्रोताले सुन्दा आनन्द आउनुपर्छ र गजलकारले वाचन गरेर सुनाउँदा भावकले आनन्द लिन सक्ने हुनुपर्छ । गजल बाह्य तथा आन्तरिक दुवै रूपमा गजल नै भयो भने गजलले आफ्नो शक्ति आफैँ निर्माण गर्दछ ।
क्रमशः अर्को हप्ता….
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।