साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

बृहत्तर महाकाव्य के हो र कसरी लेखिन्छ ?

सिर्जना पाठशाला भाग १२

Chovar Blues Mobile Size

१. विषय प्रवेश

ललित वा कलात्मक महाकाव्यभन्दा ठुलो महाकाव्यात्मक संरचनालाई बृहत्तर महाकाव्य भनिन्छ । कविताका विविध रूपहरूमध्येमा बृहत् रूपका बृहत् र बृहत्तर गरी दुई रूप हुन्छन् । बृहत् रूपअन्तर्गत ललित महाकाव्यहरू पर्दछन् जसको चर्चा अघिल्लो शृङ्खलामा गरिसकिएको छ । जब कविताले एउटा सिङ्गो युगको, एउटा सिङ्गो सभ्यताको र सिङ्गो ब्रह्माण्डको चित्रण गर्न थाल्दछ तब त्यो कविताको बृहत्तर रूप बन्दछ । यसलाई पनि ‘सर्गबन्ध’कै विराट् रूप मान्ने गरिन्छ र यसलाई विकसनशील वा आर्ष महाकाव्य भन्ने गरिन्छ । पूर्वीय आचार्यहरूले महाकाव्यका बारेमा गरेका परिभाषाहरू बृहत्तर महाकाव्यका लागि पनि लागु हुन्छन् । नायकत्वमा आदर्श रूप, विषयवस्तुमा युगीन व्यापकता, परिवेशमा विराट् स्वरूप, कथानकमा उपजीव्य अवस्था र सन्देशमा अनेकता बृहत्तर महाकाव्यका चिनारीहरू हुन् । विश्वसाहित्यको इतिहासलाई हेर्दा आजसम्म पनि बृहत्तर महाकाव्य भनेर चिनिएका चारओटा कृतिहरू मात्र फेला पर्दछन् । पूर्वीय परम्पराका ‘रामायण’ र ‘महाभारत’ अनि पाश्चात्य परम्पराका ‘इलियड’ र ‘ओडिसी’ बृहत्तर महाकाव्यका उदाहरणहरू हुन् । यीबाहेक विभिन्न भाषा साहित्यमा महाकाव्यात्मक प्रयासहरू भए तर तिनले यिनको समकक्षता प्राप्त गर्न सकेका छैनन् । नेपाली महाकाव्य परम्परामा पनि बृहत्तर महाकाव्य लेखनको प्रयास भएको देखिन्छ तर पनि उल्लिखित महाकाव्यको उचाइ प्राप्त हुन सकेको छैन । यस लेखमा त्यही बृहत्तर महाकाव्यको विधागत चिनारीका साथै रचनाविधानका बारेमा विशेष जानकारी प्रस्तुत गरिएको छ ।

२. बृहत्तर महाकाव्यको परिचय

‘महत्’ र ‘काव्य’ दुईओटा शब्दको मिलनबाट ‘महाकाव्य’ शब्दको निर्माण भएको हो । ‘महत्’को अर्थ ठुलो, उच्च, महान् वा विशाल भन्ने हुन्छ भने कविको कर्मलाई ‘काव्य’ भनिन्छ । अर्थात् कविको महान् कार्य नै महाकाव्य हो । ठुलो अर्थ दिने ‘बृहत्’ शब्दमा ‘तर’ प्रत्यय लागेर ‘बृहत्तर’ शब्द बन्दछ भने ‘तम’ प्रत्यय लागेर ‘बृहत्तम’ शब्द बन्दछ । यी दुवैको अर्थ झन् ठुलो वा सबैभन्दा ठुलो भन्ने हुन्छ । त्यसैले ‘बृहत्तर महाकाव्य’ भनेको भीमकाय महाकाव्य हो । यसलाई ‘बृहत्तम महाकाव्य’ पनि भन्न सकिन्छ । कवितामा अभिव्यक्त आख्यानले जब एउटा युगको प्रतिनिधित्व गर्न थाल्छ, तब त्यो बृहत्तर महाकाव्य बन्दछ । यसले सिङ्गो मानवसभ्यता र संस्कृतिको मात्र प्रतिनिधित्व नगरेर एउटा सिङ्गो युगलाई नै बोकेको हुन्छ । सर्गबन्धकै अतिविकसित रूप कविताको बृहत्तर रूप हो । बृहत्तर महाकाव्यका बारेमा पूर्वीय तथा पाश्चात्य विद्वान्हरूले छुट्टै चर्चा गरेका छैनन् तर महाकाव्यकै चर्चा गर्ने क्रममा यसको भीमकाय स्वरूपप्रति पनि सङ्केत गरेका छन् ।
आचार्य भामहले महाकाव्यमा महान् घटना र महान् चरित्रको प्रयोग हुनुपर्ने सन्दर्भको उल्लेख गरेबाट यसको व्यापकता अभिव्यञ्जित भएको छ भने आचार्य दण्डीले महाकाव्यमा चतुर्वर्ग (धर्म, अर्थ, काम, मोक्ष) फल प्राप्तिको उद्देश्य, नायकको आरोह–अवरोह आदिको चर्चा, पञ्चसन्धियुक्त र युगौँयुगसम्मको स्थायित्व वा अमरताको चर्चा गरेबाट पनि त्यही कुरा अभिलक्षित हुन्छ । यसरी नै आचार्य विश्वनाथले ‘साहित्यदर्पण’मा उल्लेख गरेका सन्दर्भबाट महाकाव्यको बृहत्तर रूपका बारेमा यी कुराहरू ध्वनित भएको पाइन्छ—
— महाकाव्य सर्गमा बाँधिएको हुनुपर्छ (बृहत्तर महाकाव्यमा सर्गहरू काण्ड, पर्व आदिमा समाहित हुनुपर्ने हुन्छ ।)
— बृहत्तर महाकाव्यमा चाहिँ सद्वंशमा जन्मिएको, क्षत्रिय कुलको, शूरवीर एउटा नायक हुन सक्छ वा बहुनायक पनि हुन सक्छन् ।
— यसमा एउटै कुल, वंश र परम्पराको लामो शृङ्खला पनि आउन सक्छ र बहुकुल वा वंश परम्पराको चित्रण हुन पनि सक्छ ।
— बहुरस प्रयोग, बहुकथा प्रयोग, बहुपरिवेश प्रयोग यसको चिनारी हो र यो बहुशिक्षा वा सन्देशमा आधारित हुनुपर्छ ।
— चतुर्वर्ग (धर्म, अर्थ, काम र मोक्ष) फलप्राप्ति, पञ्चसन्धि (मुख, प्रतिमुख, गर्भ, विमर्श र निर्वहण), पञ्चअर्थप्रकृति (बीज, विन्दु, पताका, प्रकरी र कार्य) तथा पञ्चकार्यावस्था (आरम्भ, यत्न, प्राप्त्याशा, नियताप्ति र फलागम) सबैको उच्चतम प्रयोग हुनुपर्छ ।

स्पष्ट रूपमा नभने पनि पूर्वीय काव्यशास्त्रीय परम्पराका उल्लिखित विद्वान्हरूले सङ्केत गरेका कुराहरूलाई हेर्दा बृहत्तर महाकाव्यको कुनै सीमा नरहने देखिन्छ ।

sagarmani mobile size

यसरी नै पाश्चात्य साहित्यका विद्वान् एरिस्टोटलले महाकाव्यमा कथानकको आदि, मध्य र अन्त्ययुक्त जीवनविकास देखाइएको हुनुपर्ने कुराले युगीन यथार्थको सर्वाङ्ग चित्रणको अपेक्षा गरेको देखिन्छ । क्रिस वाइल्ड र मार्टिन ग्रेले भव्य र सौजन्यपूर्ण शैलीमा लेखिएको लामो वर्णनात्मक कविता भनेबाट पनि यसको बृहत्तर रूपकै सङ्केत पाइन्छ ।
नेपाली सन्दर्भमा भने वासुदेव त्रिपाठीले आख्यानीकृत कथनपद्धतिमा आधारित विकसनशील वा आर्ष महाकाव्यलाई बृहत्तर वा बृहत्तम महाकाव्य मानेका छन् । उनले प्राचीन युग, जिन्दगानी र मानवताका संस्कृति, संस्कार तथा पूराकथात्मक (मिथिकीय) विस्तृत तथा विशाल स्मारकतुल्य यी महाकाव्यहरू मान्छेले विशिष्ट लयबद्ध भाषाले, कवितात्मक अनुभूतिविस्तारले, आख्यानात्मक कवित्वले र कविताको आख्यानीकरणले प्राप्त गरेका सर्वाधिक विकसित र विशिष्ट बृहत् संरचनाका उपज हुन् भनी चिनाएका छन् । यसरी पूर्वीय र पाश्चात्य दुवैतिर स्पष्ट रूपमा बृहत्तर रूपको उल्लेख नभए पनि उल्लिखित कृतिहरूलाई स्विकारेको र तदनुकूल व्यञ्जनात्मक रूपमा सङ्केत पनि गरेको पाइन्छ ।

३. विश्वसाहित्यमा बृहत्तर महाकाव्यको सिर्जना
कविताको बृहत्तर रूपले समग्र युगको प्रतिनिधित्व गर्ने हुनाले यस्ता महाकाव्यहरू धेरै सिर्जना हुनु सम्भव छैन । अहिलेसम्ममा विश्वमा पूर्वीय साहित्यमा ‘रामायण’ र ‘महाभारत’ दुईओटा र पाश्चात्य साहित्यमा ‘इलियड’ र ‘ओडिसी’ दुईओटा गरी जम्मा चारओटा मात्र महाकाव्यहरू सिर्जना भएका छन् । यी मात्र कविताको बृहत्तर रूपका उदाहरण मानिन्छन् ।
‘रामायण’ विश्वकै प्राचीन महाकाव्य मानिन्छ । यसको रचना इसापूर्व आठ सयभन्दा अगाडि भएको मानिन्छ । आदिकवि वाल्मीकि यसका स्रष्टा हुन् । यो रामचन्द्रको आदर्शमय जीवनलाई विषयवस्तु बनाएर लेखिएको छ र यसले सिङ्गो त्रेतायुगको प्रतिनिधित्व गरेको छ । यसमा बाल काण्ड, अयोध्या काण्ड, अरण्य काण्ड, किष्किन्धा काण्ड, सुन्दर काण्ड, युद्ध काण्ड र उत्तर काण्ड गरी सातओटा काण्ड छन्, ती काण्डहरूभित्र ६५० ओटा सर्ग छन् र समग्रमा २४००० श्लोकहरू छन् । ‘रामायण’लाई चतुर्विंशति साहस्री संहिता भनिन्छ र यसको सम्बन्ध गायत्री मन्त्रसँग पनि देखाइन्छ । गायन्त्री मन्त्रमा रहेका चौबिस अक्षरहरू रामायणको प्रत्येक हजार श्लोकपछि एक एक गरी आएका छन् भनी पूर्वीय अध्ययनले देखाएको छ । रामायणको कथावस्तुबाट पूर्वीय जगत्मा सयौँ कृतिहरू सिर्जना भएका छन् । त्यसैले यो बृहत्तर महाकाव्य हो ।

‘महाभारत’ विश्वको सबैभन्दा ठुलो महाकाव्य हो । यसको रचना इसापूर्व आठ सयदेखि पाँच सयका बिचमा भएको मानिन्छ । यसका रचनाकार महाकवि वेदव्यास हुन् । व्यासलाई एउटा व्यक्तिका रूपमा भन्दा पनि परम्पराका रूपमा हेर्ने गरिन्छ । यसका आधारमा महाभारत एउटा व्यक्तिले एउटै जीवनकालमा लेखेको नभएर विभिन्न व्यक्तिले विभिन्न कालखण्डमा लेख्दै गएर पूर्णता दिइएको भन्ने मान्यता पनि पाइन्छ । महाभारतले सिङ्गो द्वापरयुगकै प्रतिनिधित्व गरेको छ । यसमा कौरव र पाण्डवको विशाल युद्धको वर्णन र कृष्णका लौकिक र अलौकिक सबैखाले कार्यको चर्चा गरिएको छ । यसमा १८ पर्व र १९४८ अध्यायहरू छन् । ‘प्राच्य महाकाव्य’ नामक कृतिमा कृष्ण गौतमले महाभारतमा ८२,१४६ श्लोक छन् भनी उल्लेख गरेका छन् तर पूर्वीय जगत्मा महाभारतलाई लक्षसंहिता वा शतसाहस्री संहिता भनिन्छ । यसले एक लाख श्लोकसङ्ख्यालाई सङ्केत गरेको छ । यसलाई पूर्वीय जगत्को प्रमुख उपजीव्य ग्रन्थ मानिन्छ । यसका आधारमा हजारौँ नवीन कृतिहरू जन्मिएका छन् । यसका प्रत्येक पात्र, प्रत्येक घटना र प्रत्येक सन्दर्भबाट नयाँ नयाँ काव्य तथा आख्यानात्मक कृतिहरू लेखिएका छन् त्यसैले यो उल्लिखित चारमध्येमा पनि सबैभन्दा ठुलो महाकाव्य मानिन्छ ।

होमरलाई पाश्चात्य साहित्यमा कविताका पिता मानिन्छ । उनका ‘इलियड’ र ‘ओडिसी’ दुई कृतिहरू पाश्चात्य जगत्मा लेखिएका बृहत्तर महाकाव्यका उदाहरण हुन् । होमरको समय इसापूर्व नौ सयदेखि छ सयसम्मका बिचको अनुमान गरिएको छ । त्यसैले यी कृतिहरूको रचना पनि त्यति बेलै भएको अनुमान गरिएको छ । तर ‘पश्चिमका केही महान् साहित्यकार’ नामक कृतिमा तारानाथ शर्माले यी कृतिहरू पनि एउटा व्यक्तिका सिर्जना नभएर लामो परम्पराको समष्टि रूपबाट तयार भएका हुन सक्ने अनुमान लगाएका छन् । ग्रिसमा ट्रयेली लडाइँ दश वर्षसम्म चलेको थियो । त्यसपछि देखि ग्रिसभरि नै यससम्बन्धी साना साना टुक्रा कथाहरू सुनाइने गरिन्थ्यो, पछि तिनै टुक्रा कथाहरूलाई होमर नामका कविले जोडेर इलियड र ओडिसी तयार भएका हुन् कि भन्ने अनुमान गरिएको छ । यसमा ट्रइको राजधानी इलिअनमाथि ग्रिसेली सेनाले गरेको आक्रमण, नियन्त्रण र महान् युद्धको कथालाई प्रस्तुत गरिएको छ । अकाइआली सेनाधिपति यागमेम्ननका भाइ मेनिलेअसकी पत्नी हेलिनलाई ट्रयेली राजा प्रायामका छोरा प्यारिसले भगाएकाले हेलिनलाई फर्काउनका लागि उक्त युद्ध भएको थियो ।

यसरी नै होमरको दोस्रो कृति ‘ओडिसी’मा युद्धपछिको विराट् परिवेशको चित्रण पाइन्छ । यसमा ट्रयेली लडाइँको समाप्तिपछि बाँचेका ग्रिसेली वीरहरूमध्येका अडिस्युसको जीवन चरित्र र देवताहरूका विविध क्रियाकलापहरूको चित्रण गरिएको छ । यी दुई महाकाव्यहरू पाश्चात्य जगत्का अनेकौँ लोकगीत र पुराणहरूका कथास्रोत मानिन्छन् । यिनलाई आधार बनाएर पाश्चात्य साहित्यमा अनगिन्ती काव्य तथा आख्यानहरू सिर्जना भएका छन् । त्यसैले यी कृतिहरू बृहत्तर महाकाव्यका उदाहरणहरू हुन् ।

प्रस्तुत चारओटै महाकाव्यमा दैवीशक्तिको प्रबलता छ र यी सबैले युगीन व्यापकतालाई अँगालेका छन् । यी चारैओटाको कथावस्तुको अन्तर्यमा नारीको उपस्थिति देखिन्छ र सबैमा लडाइँ प्रमुख बनेर आएको छ तर लडाइँको कारण नारीलाई नै बनाइएको छ । रामायणमा सीता, महाभारतमा द्रौपदी र इलियड र ओडिसीमा हेलिनलाई युद्धको कारण बनाउनु र सत्यमा आधारित आदर्शमा पुगेर समापन हुनु यी सबैको साझा विशेषता देखिन्छ ।

४. नेपाली साहित्यमा बृहत्तर महाकाव्य लेखनको प्रयास

नेपाली साहित्यमा प्रशस्त महाकाव्यहरू लेखिएका छन् तर ती बृहत् रूपअन्तर्गत नै पर्दछन् । नेपालीमा कविताको बृहत्तर रूप भनेरै लेखिएका वा तिनको सैद्धान्तिक मान्यताभित्र पर्न सक्ने महाकाव्यहरू लेखिएका छैनन् । बाह्य आयाम वा श्लोकसङ्ख्यालाई हेर्ने हो भने बृहत्तर रूपको समकक्षी मान्न सकिने केही कृतिहरू नेपालीमा पनि पाइन्छन् । नेपालीमा दश हजार श्लोकभन्दा माथिको संरचना भएका आठओटा महाकाव्यहरू भएको तथ्याङ्क कवि चन्द्रप्रसाद न्यौपानेको अध्ययनबाट फेला परेको छ । श्लोकसङ्ख्याका आधारमा हेर्दा नेपालीमा महाभारतको समकक्षी कुनै पनि कृति नदेखिए पनि रामायणभन्दा ठुला कृतिहरूचाहिँ लेखिएका पाइन्छन् ।

नेपालीमा लेखिएको हालसम्मको सबैभन्दा ठुलो महाकाव्य कवि चन्द्रप्रसाद न्यौपानेको ‘चन्द्रयुग’ हो । यस महाकाव्यमा ५५,००० श्लोकहरू छन् । यसरी नै दोस्रोमा कवि कृष्णप्रसाद घिमिरेको ‘श्रीमद्वाल्मीकि रामायण’मा ४४,१२१ श्लोकहरू छन् । यिनले संस्कृतको वाल्मीकि रामायणको नेपाली अनुवाद गरेका हुन् । यिनले अधिकांश एक श्लोक संस्कृतलाई अनुष्टुप् छन्दका दुई श्लोकमा अनुवाद गरेका छन् । तेस्रोमा कवि रमेशचन्द्र अधिकारीको ‘सीतायन’ आउँछ तर यो एउटै कृति नभएर सीताको एउटै कथामा आधारित चौध भागहरू हुन् । सीतायनका चौध भागमा ३४,२८७ श्लोकहरू छन् । यसै गरी चौथो नम्बरमा आरडी प्रभास चटौतको ‘प्रभासगीता’ आउँछ । यसमा २४,९६५ श्लोकहरू छन् भने पाँचौँ नम्बरमा मोदनाथ शास्त्रीको ‘रामायण’ आउँछ । यसमा लोकलयका १५,३११ श्लोकहरू छन् । यसरी नै गुणराज उपाध्याय खनालको १२,१४१ श्लोक भएको ‘भरतमिलन’ महाकाव्य छैटौँ, पूर्णप्रकाश नेपाल यात्रीको १०,८९४ श्लोक भएको ‘सिजापतीबाला’ महाकाव्य सातौँ र जनार्दनशरण त्रिपाठीको १०,७८३ श्लोक भएको ‘नेपालश्री’ महाकाव्य आठौँ नम्बरमा आउँछ । यी महाकाव्यहरूमा पौराणिक र मौलिक दुवैखाले विषयवस्तुको प्रयोग पाइन्छ । न्यौपाने, यात्री र त्रिपाठीका महाकाव्यहरूमा मौलिकताको मात्रा बढी पाइन्छ भने अन्यमा पौराणिक विषयवस्तुको बाहुल्य देखिन्छ ।

यसरी आकारका दृष्टिले नेपाली महाकाव्यले बृहत्तर रूपको मार्ग पहिल्याउन थालेको देखिए पनि युगीन विषयको प्रतिनिधित्वका दृष्टिले यी महाकाव्यहरू अझै पनि उल्लिखित बृहत्तर महाकाव्यको कोटिमा पुग्न सकेका देखिँदैनन् । यिनमा सिङ्गो सभ्यता, संस्कृति र परम्पराको प्रतिनिधित्व गर्ने विषयवस्तु, एउटा युगलाई नै दिशानिर्देश गर्ने भावसंयोजन र भीमकाय बाह्य संरचना अपेक्षित छ ।

५. बृहत्तर महाकाव्य कसरी लेखिन्छ ?
उल्लिखित सन्दर्भहरूबाट नै बृहत्तर महाकाव्यको स्वरूप निर्धारण भइसकेपछि र पूर्ववर्ती रामायण, महाभारत, इलियड र ओडिसी पनि एउटै व्यक्तिका सिर्जना नभएर युगौँयुगदेखिका कथाहरूको संयोजन भएको अनुमान गरिएबाट पनि यो कार्य असम्भवप्रायः छ भन्न सकिन्छ तर धर्तीमा असम्भव भन्ने कुरा केही पनि हुँदैन । यदि कुनै कविले बृहत्तर महाकाव्यको सिर्जना गर्न चाहेमा निम्नलिखित चरणहरूमा ध्यान दिनुपर्ने हुन्छ—

पहिलो चरणः मूल कथावस्तु, पताका कथा, प्रकरी कथा आदिको चयन
सुरुमा महाकाव्यकारले एउटा युगको प्रतिनिधित्व गर्ने कथावस्तुको चयन गर्नुपर्छ । त्यसको आद्योपान्त देखिने मूलकथा, बिच बिचमा जोडिने उपकथाहरू र ठाउँ ठाउँमा प्रभाव पार्ने प्रकरी कथाहरू सबैको संयोजन यसमा आवश्यक हुन्छ । वाल्मीकिको ‘रामायण’मा त्रेतायुगको कथा छ, व्यासको ‘महाभारत’मा द्वापरयुगको कथा छ, होमरको ‘इलियड’मा ट्रयेली युद्धकालीन इतिहास छ भने ‘ओडिसी’मा त्यसपछिको जीवनपद्धतिको चित्रण छ । यी कृतिहरूले एकातिर त्यस युगको चित्र प्रस्तुत गरेका छन् भने अर्कातिर उत्तरवर्ती हजारौँ काव्य तथा आख्यानहरूका लागि कथाको स्रोत निर्माण गरिदिएका छन् ।

दोस्रो चरणः घटना तथा उपघटनामा आधारित अनुभूतिको विस्तार
यस चरणमा बृहत् महाकाव्यको स्वरूपमा केन्द्रित रहेर अनुभूतिको विस्तार गर्न थाल्नुपर्छ । यसका लागि मूल घटनाअनुकूल उपघटनाहरूका बिचमा तारतम्य मिलाउँदै, उपयुक्त पात्र, परिवेश, उद्देश्य आदिको निर्धारण गर्नुपर्छ । त्यसका लागि आवश्यक आदि, मध्य र अन्त्यको व्यवस्थापन, घटनाअनुकूल पर्व, काण्ड, खण्ड, अध्याय वा सर्गको योजनाबद्ध विकास गर्दै गएर बृहत्तर महाकाव्यको पहिलो खेस्रा रूप तयार गर्नुपर्दछ ।

तेस्रो चरणः आवश्यक परिमार्जन गरी साफी लेखन
यस चरणमा लेखन सम्पन्न बृहत्तर महाकाव्यको खेस्रा रूपलाई पटक पटक सत्यता र शुद्धताको परीक्षण गरी आवश्यक परिमार्जन गर्नुपर्छ । यस चरणमा कुनै पनि कुरामा केही दोषहरू भए तिनलाई हटाउनुपर्छ । साथै भावपक्ष र शिल्पपक्ष दुवै पक्षको निष्पक्ष समीक्षा गरी अन्तिम लेखन वा साफी लेखन गर्नुपर्छ ।

६. निष्कर्ष
नेपाली महाकाव्य परम्परामा प्रशस्त महाकाव्यहरू सिर्जना भएका छन् । थालनीदेखि हालसम्मको २४० वर्षको इतिहासमा सङ्ख्यात्मक दृष्टिले लामाछोटा गरी २२५ भन्दा बढी महाकाव्यहरू प्रकाशन भइसकेका छन् तर तिनमा उल्लिखित आठओटा महाकाव्यहरू १०,००० श्लोकभन्दा माथिका देखिन्छन् भने २०,००० श्लोकभन्दा माथिका महाकाव्यहरू चारओटा मात्र देखिन्छन् । ती पनि बाह्य आकारका दृष्टिले मात्र बृहत्तर महाकाव्यका समकक्षी बन्न पुगेका हुन् तर ती अधिकांश महाकाव्यहरूको कथाको स्रोत रामायण र महाभारत नै देखिन्छ । पूर्ण मौलिकता र युगीन प्रतिनिधित्व नभएसम्म आकारले मात्र बृहत्तर महाकाव्य बन्न नसक्ने हुनाले नेपाली महाकाव्यकारहरूको ध्यान मौलिकता, गुणात्मकता र युगीन प्रतिनिधित्वमा जानुपर्ने देखिन्छ । आजका दिनसम्म पनि नेपाली महाकाव्यको बजारमा साँच्चै बृहत्तर महाकाव्यको ठाउँ खाली छ । त्यसलाई पूर्ति गर्नका लागि जो आउँछ त्यो वाल्मीकि, व्यास र होमर जत्तिकै अजर र अमर बन्ने सम्भावना छ । उक्त खाली ठाउँको ऐतिहासिक परिपूर्तिका लागि नेपाली कविहरूलाई हार्दिक शुभकामना ।

क्रमशः अर्को हप्ता….

प्रतिक्रिया
Loading...