पुरातात्त्विक महत्त्वका सामग्रीहरूको उच्च सम्मान
लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह
१. प्रवेशद्वार
विशिष्ट अन्वेषक भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ कृतिले २०७७ सालको मदन पुरस्कार प्राप्त ग-यो । केही महिना अगाडि नै उत्कृष्ट दश कृतिहरू सार्वजनिक गर्ने मदन पुरस्कार गुठीको परम्पराअनुसार विभिन्न कृतिहरू सार्वजनिक हुनासाथ पाठकहरूले आआफ्नै तरिकाले अनुमान त लगाएकै थिए । प्रस्तुत कृति पनि उत्कृष्ट दशमा परेको हुनाले अनुमानको घेराभित्र त यो पनि प¥यो नै तापनि नेपाली साहित्यको आख्यान विधालाई मात्र बढी महत्त्वका साथ हेरिने नेपाली मानसिकताका कारण यसले त्यति धेरै महत्त्व पाउन सकेको थिएन । यति हुँदाहुँदै पनि पुरातात्त्विक सामग्रीहरूको महत्त्व बुझेका र अनुसन्धानको गरिमालाई पर्गेल्न सक्ने केही बौद्धिक पाठकहरूले चाहिँ यस कृतिका बारेमा पनि अनुमान लगाएका थिए ।
मदन पुरस्कार गुठीमा बुझाइएका र उत्कृष्ट छनोट भएकामध्येबाट नै कुनै एउटा कृतिले मदन पुरस्कार पाउने हो तर पूर्वअनुमान र परिणामका बिचमा मेल खाएन भने अनेकौँ क्रिया प्रतिक्रियाहरू बाहिर ल्याउने प्रवृत्ति नेपाली समाजको चिनारी नै बनेको देखिन्छ । प्रस्तृत कृतिले मदन पुरस्कार पाउने घोषणा भइसकेपछि सामाजिक सञ्जालमा, केही समाचारमा र केही अभिव्यक्तिहरूमा यस्ता प्रतिक्रियाहरू पनि आएका थिए—
— यो वर्ष मदन पुरस्कार पाउन योग्य कुनै पनि साहित्यिक कृति लेखिएनछन् ?
— भाषा, साहित्यसँग सम्बन्धित त्यत्रा महत्त्वपूर्ण कृतिहरू हुँदाहुँदै पुराना थोत्रा कागजातहरू भेला पारेर तयार पारिएको एउटा कृतिले पो मदन पुरस्कार पाएछ !
— किरात क्षेत्रका स्रष्टाहरू पहिचानवादी छन् र तिनले बारम्बार पुरस्कारमा बाहुनवाद लागु भयो भन्ने गर्दछन् त्यसैले मदन पुरस्कार गुठीले बेला बेलामा किरात क्षेत्रका स्रष्टाहरूलाई मदन पुरस्कार दिएर फकाउने गरेको छ, यसपटक पनि त्यही भएको मात्र हो ।
— ‘मैले त यो पुस्तक मदन पुरस्कार पाउनका लागि लेखेको हुँ नि, यो पटक त मेरो पक्का छ’ भन्दै हिँड्ने स्रष्टाहरूले हावा खाएछन् नि ?
— विगतमा आख्यानलाई मदन पुरस्कार गुठीले महत्त्व दिन्थ्यो त्यसैले धेरै आख्यानकारहरू आशावादी थिए तर तमसुकहरूको सङ्ग्रहले सबैलाई हेरेको हे¥यै पारेछ !
— बल्ल मदन पुरस्कार गुठीले पुरातात्त्विक महत्त्वको सामग्री चिनेछ ! यस कृतिले मदन पुरस्कार पाउनु अतीतप्रतिको सम्मान हो ।
यी र यस्तै प्रकारका कतै सकारात्मक र कतै नकारात्मक टीकाटिप्पणीहरू हरेक वर्ष बाहिर आउने गर्छन् । यी त शिष्ट टिप्पणीहरू हुन् । कतिपय टिप्पणीहरू त भन्न र लेख्न पनि सकिँदैन । यस्ता टिप्पणीहरूमा केही सत्यता पनि होला, कतिपय व्यक्तिहरूले त केही रहस्य थाहा पाएर नै भनेका पनि होलान् तापनि कृतिको भित्र प्रवेश नगरी, विषयको गहिराइ नबुझी, कृतिको गुणात्मक मूल्यबोध नगरी हल्लाका भरमा केही न केही टिप्पणी गर्नै पर्छ भन्ने मनोविज्ञानले चाहिँ नेपाली समाजमा बढी नै प्राथमिकता पाउँदै आएको देखिन्छ । यिनै कुरालाई ध्यानमा राखेर कृति पढ्न नभ्याउनुहुने पाठकहरूले पनि केही जानकारी प्राप्त गर्न सक्नुहोस् भन्ने उद्देश्यले ‘मदन पुरस्कार विजेता’ स्तम्भमार्फत मदन पुरस्कार प्राप्त कृतिहरूको समीक्षात्मक परिचय प्रस्तुत गर्ने जमर्को गरिएको हो । यस शृङ्खलामा २०७७ सालको मदन पुरस्कार विजेता कृति ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’का बारेमा समीक्षात्मक परिचय प्रस्तुत गरिएको छ ।
२. कृति र कृतिकारका सम्बन्धमा
पूर्वी नेपालको तेह्रथुम जिल्ला आठराई, इवा स्थायी घर भई हाल अनामनगर काठमाडौँमा बसोबास गर्ने भगिराज इङ्नाम इतिहासविद्, पुरातत्त्वविद्, संस्कृतिविद् तथा पूर्व प्रकाशक पनि हुन् । आफ्नो माटो, आफ्नोपन, आफ्नो जाति, संस्कृति र जीवनपद्धतिसँग जोडिएका महत्त्वपूर्ण सामग्रीहरूका बारेमा खोज तथा अनुसन्धान गरी बाहिर ल्याउने कार्यमा उनको विशिष्ट योगदान रहँदै आएको देखिन्छ । एमपीए र एमएसम्मको उच्च शिक्षा हासिल गरेका इङ्नामका यसभन्दा अगाडि नै ‘तेह्रथुम जिल्लाको सुब्बाङ्गी प्रथा’ (२०७०, सहलेखन), ‘लिम्बू जातिको इतिहास’ (२०७५) र लिम्बू जाति, संस्कृति र इतिहाससँग सम्बन्धित विभिन्न लेखरचनाहरू प्रकाशित भइसकेका छन् । साथै उनका लिम्बू जातिको संस्कृति झल्किने गीत र म्युजिक भिडियोहरू पनि प्रशस्त प्रकाशित देखिन्छन् । ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ अन्वेषक इङ्नामको पुस्तकाकार रूपमा तेस्रो कृति हो ।
३. कृतिको बाह्य संरचना वा स्वरूप
‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’को बाह्य स्वरूप १८ह्२४ साइजको ९१६ भित्री पृष्ठ र हार्डकभरमा तयार भएको छ । बाहिरी पृष्ठमा नै संबत् १७१९—२०२० को स्पष्ट उल्लेख गरिएको हुनाले यस कृतिभित्र ३०१ वर्षका ऐतिहासिक महत्त्वका दस्तावेजहरू छन् भन्ने थाहा हुन्छ । ऐतिहासिक दस्तावेज सुरक्षित राख्ने सम्पूर्ण अग्रजमा समर्पण गरिएको प्रस्तुत ग्रन्थको सुरुमा नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र मुन्धुमविद् वैरागी काइँलाका हस्तलिखित शुभकामनाहरू समावेश गरिएका छन् । यसपछि कृतिका प्रकाशक अतीत इङ्नाम र शान्तकला मुदेनसङ् साँवाको भनाइ राखिएको छ । त्यसपछि कृतिका सम्बन्धमा सबै कुरा स्पष्ट हुने गरीको १२ पृष्ठको भूमिका र दुई पृष्ठको कृतज्ञता ज्ञापन राखिएको छ । यसपछि प्रस्तुत कृतिमा समाविष्ट पुरातात्त्विक महत्त्वका सामग्रीहरूको प्रकाशनका लागि राष्ट्रिय अभिलेखालयले दिएको प्रकाशन अनुमति पत्र समावेश गरिएको छ जसले कृतिको वैधानिकता र आधिकारिकतालाई समेत प्रमाणित गरिदिएको छ ।
प्रस्तुत कृति तीन भागमा विभाजित छ । यसको पहिलो भागमा ७९ ओटा सक्कल स्याहामोहर, लालमोहर र रुक्काहरू समावेश गरिएका छन् । यहाँ तिनको सक्कल रूपको प्रतिलिपि, त्यसको भाषिक रूपान्तरण र सङ्क्षिप्त टिप्पणीहरू राखिएका छन् । दोस्रो भागमा १५३ ओटा स्याहामोहर, लालमोहर र रुक्काका नक्कलहरू समावेश गरिएका छन् । तिनको रखाइ र व्याख्या पहिलो भागअनुसार नै रहेको छ भने तेस्रो भागमा १६३ ओटा सामग्रीहरू समाविष्ट छन् । तिनलाई तीन खण्डमा विभाजन गरिएको छ । त्यसको पहिलो खण्डमा १०६ ओटा राणा तथा अन्यका रुक्का, कस्यपत्र र अर्जीपत्रहरू समावेश गरिएका छन्, दोस्रो खण्डमा ३८ ओटा इस्तिहारहरू राखिएका छन् भने तेस्रो खण्डमा १९ ओटा गैरसरकारी स्तरबाट जारी भएका दस्तावेजहरू राखिएका छन् ।
यसरी हेर्दा प्रस्तुत ग्रन्थमा २०२० भन्दा अगाडिका विगत ३०१ वर्षका ३९५ ओटा पुरातात्त्विक महत्त्वका कागजातहरू एकै ठाउँमा समावेश भएको पाइन्छ । ती सामग्रीहरू कुनै काल्पनिक नभएर वास्तविक हुन् भन्ने कुरालाई तिनका प्रतिलिपिहरूको वास्तविक स्वरूपले प्रमाणित गरिदिएका छन् । ग्रन्थको अन्त्यमा दस्तावेजहरूमा प्रयोग भएका जटिल शब्दहरूको अर्थसमेत दिइएको हुनाले प्राचीन भाषा र सन्दर्भसँग अपरिचित पाठकलाई पनि निकै सजिलो भएको देखिन्छ ।
४. कृतिको अन्तर्वस्तु र गुणात्मक महत्त्व
प्रस्तुत ग्रन्थको भूमिकामा लेखक स्वयम्ले भनेका छन्– “यो पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य पाएसम्म सक्कल स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, इस्तिहार र अन्य कागजात जस्ता ऐतिहासिक, पुरातात्त्विक दस्तावेजहरूको सङ्कलन गर्नु हो । त्यसमा ऐतिहासिक दस्तावेजको मौलिकतालाई यथावत् राखी त्यसबारे पाठकहरूलाई जानकारी दिनु हो । त्यस्तै यी दस्तावेजहरूको संरक्षण गरी यसलाई भावी पुस्तासम्म सम्पत्तिका रूपमा हस्तान्तरण गर्नु पनि यो पुस्तकको लक्ष्य हो ।”
प्रस्तुत लेखकीय अभिव्यक्तिले नै यस ग्रन्थको गुणात्मक महत्त्वका बारेमा सङ्केत गरेको छ । इतिहास हाम्रो विगत हो जसमा पुर्खाका गौरवशाली पदचापहरू भेटिन्छन् । अतीतले हामीलाई युगीन ज्ञान सम्प्रेषण गरी कर्मशील बन्न प्रेरित गर्छ । हेर्दा अति सामान्य थोत्रा कागजहरू देखिए पनि तिनको गुणात्मक मूल्यको लेखाजोखा गर्नै सकिँदैन । ३०० वर्षअगाडिका सामग्रीहरूको खोजी आफैँमा चुनौतीपूर्ण छ । तिनको सुरक्षा गर्नु, तिनका बारेमा सूचना प्राप्त गर्नु, जोसँग त्यो सामग्री छ त्यस व्यक्तिलाई पत्ता लगाउनु, त्यस व्यक्तिले उक्त सामग्री दिनु, त्यसको लिपि र भाषा बुझ्नु, त्यसको रूपान्तरण गर्नु र अहिलेको प्रविधिमा ढालेर प्रकाशन गर्नु यी सबै चूनौतीपूर्ण कार्यहरू हुन् । ती सामग्रीहरू एकै ठाउँमा र एउटै समयमा प्राप्त हुने कुरै भएन, यसका लागि महिनौँ पैदलयात्रा गर्नुपर्ने हुन्छ र वर्षौंको लगाली हुन सक्छ । अनुसन्धान रहरको कार्य होइन र आजको भोलि फलप्राप्ति हुने विषय पनि होइन । यसका लागि दीर्घ साधना, अकल्पनीय धैर्य, अथक मिहिनेत र दृढ सङ्कल्प चाहिन्छ । प्रस्तुत ग्रन्थ यिनै कुराको प्राप्ति हो ।
प्रदेश नं १ किरात बाहुल्य क्षेत्र हो । यस क्षेत्रमा लिम्बूहरूको बाक्लो बसोबास पाइन्छ । यसमा पनि पल्लो किरात क्षेत्र ऐतिहासिक महत्त्वका दृष्टिले उल्लेखनीय मानिन्छ । एक समयमा शासन सत्ताका सञ्चालकसमेत रहेका लिम्बूहरूसँग अनमोल पुरातात्त्विक सम्पत्तिहरू अझै पनि छन् भन्ने कुरालाई यस कृतिले प्रमाणित गरिदिएको छ । यस कृतिका लेखकले लिम्बूहरूको मूल बसोबास वा थुमहरू भएका पूर्व क्षेत्रका तमोर खोला, ताप्लेजुङ, याङरूप, पाँचथर, आठराई, फेदाप, छथर, चौबिस र मिक्लाजुङ तथा झापा र मोरङका विभिन्न स्थलहरू र काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूको स्थलगत भ्रमण गरी त्यहाँ बसोबास गर्ने लिम्बूहरूसँग रहेका प्राचीन सामग्रीहरूको खोजी गरेका छन् । कतिपय प्राचीन सामग्रीहरू घरमा आगलागी हुँदा जलेर नष्ट हुनु र कतिपय कागजातहरूचाहिँ बन्दुकको लत्ता र छुसी केफमा प्रयोग भएर नष्ट हुनु दुःख लाग्दो कुरा हो । अझै पनि कतिपय सामग्रीहरू कुनै अँध्यारा कुनामा लुकेर बसेका हुन सक्छन् र कतिपय सामग्रीहरूको महत्त्वबोध नहुँदा नष्टोन्मुख रहेका पनि हुन सक्छन् । यस कृतिले सम्बन्धित विषय र क्षेत्रका सबैलाई आफ्ना प्राचीन सम्पत्तिहरूको सुरक्षार्थ निकै सचेत गराएको हुनाले यस कृतिको अन्तर्वस्तु र सन्देश दुवैको गुणात्मक मूल्य देखिन्छ ।
यस कृतिमा समाविष्ट सामग्रीहरू पुरातात्त्विक महत्त्वका छन् । यहाँ प्राचीन स्याहामोहर र लालमोहरहरू छन् । कुनै दस्तावेजमा कालो छाप लगाइएको छ भने त्यसलाई स्याहामोहर भनिँदो रहेछ र रातो छाप लगाइएको छ भने त्यसलाई लालमोहर भनिँदो रहेछ । यसरी नै कुनै छोटा छोटा बेहोरा लेखी कुनै विषयमा जारी गरिएका कागजातहरूलाई कस्यरुक्का भनिँदो रहेछ । कुनै लालमोहर वा कस्यरुक्कामा खड्गको छाप छ भने त्यसलाई खड्ग पनि भनिँदो रहेछ । यहाँ प्राचीन कालमा सुब्बाङ्गी दिने प्रचलनको उल्लेख पाइन्छ । पल्लो किरात लिम्बुवानका किपटियाहरूलाई सुब्बा वा सुब्बाङ्गी दिने प्रचलन रहेछ । योचाहिँ लिम्बू र गैह्रलिम्बू दुवैलाई दिइन्थ्यो रे ! यहाँ समाविष्ट सुब्बाङ्गीसम्बन्धी दस्तावेजहरूचाहिँ लिम्बू जातिमा केन्द्रित मात्र छन् ।
यसरी नै यस ग्रन्थमा राजनीतिक इतिहासका अमूल्य दस्तावेजहरू पनि समाविष्ट छन् । जति बेला नेपालमा कर्णाली क्षेत्रमा बाइसी, गण्डकी क्षेत्रमा चौबिसी, उपत्यकामा कान्तिपुर, भादगाउँ र पाटन राज्यहरू थिए । सेन राज्यतर्फ मकवानपुर, चौदण्डी र विजयपुर गरी तीन राज्यहरू थिए । वि.सं. १८३० मा गोर्खाली सेनाले माझकिरातमा पर्ने चौदण्डी राज्यमा फौजी हमला गरी कैयौँ जनताको बीभत्स हत्या गरेको इतिहास उल्लेख भएको हड्सन पाण्डुलिपि पनि यस कृतिमा समाविष्ट छ । यसपछि १८३१ देखि १८८३ सम्म लिम्बूसेनाहरूले आफ्नो भूमिको अस्तित्व बचाउनका लागि गर्नुपरेको छापामार युद्धको ऐतिहासिकतालाई प्रमाणित गर्ने विभिन्न दस्तावेजहरू यस ग्रन्थमा समावेश गरिएका छन् । यसपछि पनि १९५३ सम्म पल्लोकिरातका लिम्बू सेनाहरूले आफ्नो भूमिलाई बचाउनका लागि गोर्खाली सेनाहरूसँग कैयौँ पटक गरेका युद्धको इतिहास उल्लेख भएका प्रामाणिक कागजातहरू यस ग्रन्थमा भेटिन्छन् ।
यस्ता सामग्रीहरू एकै ठाउँमा पढ्न पाउनु अहिलेको पुस्ताका लागि गौरवको कुरा हो । बाटोघाटो, यातायात, सूचना, सञ्चार र प्रविधि जस्ता कुनै पनि कुराको पूर्ण अभाव भएका समयमा पनि हाम्रा पुर्खाहरूले आफ्नोपन बचाउनका लागि के के गरेका रहेछन् ? हाम्रो बौद्धिक, प्राज्ञिक अनि ऐतिहासिक सामग्री बचाउनका लागि कत्रो त्याग गरेका रहेछन् ? ३०० वर्ष अगाडिदेखिका सामग्रीहरूलाई झरी, वर्षा, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोपबाट समेत बचाएर आजको पुस्तासम्म सुरक्षित ल्याइदिने व्यक्तिहरू कति महान् होलान् ? हाम्रै लोकजीवनमा यस्ता ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सामग्रीहरू लुकेर बसेका छन्, तिनलाई बाहिर ल्याएर नयाँ पुस्तासमक्ष हाम्रा पुर्खाको नासो सुम्पनै पर्छ भन्ने सोच लेखकमा कसरी पलायो होला ? यस्ता प्रश्नहरूको उत्तर खोज्न थाल्ने हो भने यस ग्रन्थका पाना पानामा गौरवको उज्यालो झन् झन् चम्केको भेटिन्छ । प्रस्तुत कृतिको गुणात्मक महत्त्वलाई पुष्टि गर्ने साक्ष्यहरू यिनै हुन् ।
५. मूल्याङ्कन तथा निष्कर्ष
सिर्जना हार्दिक विषय हो भने अनुसन्धान बौद्धिक विषय हो । सर्जकको हृदय छलाछुल्ल हुनुपर्छ भने अनुसन्धाताको मस्तिष्क सबल हुनुपर्छ । व्यक्तिमा प्रतिभा छ भने उसले कुनै पनि समयमा, कुनै पनि विधामा सशक्त सिर्जना गर्न सक्छ तर खोज वा अनुसन्धानका लागि भने उसले वर्षौंसम्म अथक साधना गर्नुपर्छ । अनुसन्धान कार्य सरस हुँदैन र अनुसन्धानबाट प्राप्त कृति पनि सरस हुँदैन । यही कारणले अनुसन्धानमूलक कृतिहरू तत्कालका लागि ‘आहा !’ भन्ने खालका हुँदैनन् तर तिनको महत्त्व युगौँयुगसम्म हुने गर्दछ । अन्वेषक भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ त्यही प्रकृतिको कृति हो । सपाट रूपमा हेर्दा यसभित्र केही पनि भेटिँदैन । पुराना कागजका चित्र छन्, तिनमा लेखिएका कुराहरू लिपिमा उतारिएका छन् र हरेक सामग्रीका अन्त्यमा सङ्क्षिप्त विषयसार र टिप्पणी दिइएको छ । सबै पृष्ठ उस्तै छन् र उही प्रकृतिका सामग्रीहरू राखिएका छन् । पढौँ पढौँ लाग्ने र यसपछि के आउला भन्ने उत्सुकता जाग्ने खालको एउटा पनि सामग्री यहाँ छैन । यस्ता कुरा सिर्जनामा हुने गर्दछन्, अनुसन्धानात्मक कृतिमा होइन । यस्ता भावनात्मक एवम् मनोरञ्जनात्मक सामग्रीहरू नहुनु नै यस प्रकृतिका कृतिको विशेषता हो ।
अन्वेषक भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ ग्रन्थले २०७७ सालको मदन पुरस्कार नपाएको भए यस ग्रन्थको यस्तो एतिहासिक गरिमाका बारेमा धेरैलाई थाहा हुने थिएन । सिर्जनात्मक सन्दर्भमा हेर्ने हो भने त्यही स्रष्टाले अर्को वर्ष त्योभन्दा महत्त्वपूर्ण कृति लेख्न पनि सक्छ तर साँच्चै गम्भीर प्रकृतिको अनुसन्धान एक जुगमा एकदुईओटा मात्र हुने गर्दछन् । त्यो वर्ष त्यस कृतिका बारेमा दृष्टि पुगेन भने उक्त कृति पुरानो भइसक्छ । यस कारण पनि प्रस्तुत ग्रन्थलाई मदन पुरस्कार प्रदान गर्नु अत्यन्त न्यायोचित देखिन्छ । यसले इतिहासका अध्येताहरू, पुरातत्त्वका अन्वेषकहरू, गम्भीर अनुसन्धाताहरू र अतीतका उत्खननकर्ताहरूप्रति सम्मान गर्दै थप दायित्वबोध गराएको देखिन्छ । यस कार्यले सबै अनुसन्धाताहरूमा उत्प्रेरणा प्रदान गर्दै युगीन जिम्मेवारी पनि सुम्पिएको देखिन्छ ।
नेपाली माटो रामापिथेकस, प्रेमापिथेकसहरूको गौरवशाली अवशेष छातीमा बोकेर बसेको छ । यहाँ उत्खनन हुनुपर्ने हजारौँ लाखौँ सामग्रीहरू छन् । साँच्चै खोजी गरेर बाहिर ल्याउन सक्ने हो भने हजारौँ हजार वर्षसम्म विश्वलाई पढाउन पुग्ने ऐतिहासिक महत्त्वका सामग्रीहरू हाम्रै माटोमा र हाम्रै लोकजीवनमा लुकेर बसेका छन् । तिनको अन्वेषण, उत्खनन र प्रकाशन आजको युगीन आवश्यकता हो । यस सन्दर्भमा केही कामहरू अगाडि पनि भएका छन् । प्रस्तुत ग्रन्थ त्यसको एउटा गौरवशाली निरन्तरता हो । यस्तो गौरवशाली विषयलाई मदन पुरस्कारले सम्बोधन गर्नु स्तुत्य कर्म हो । यति हुँदाहुँदै पनि मदन पुरस्कार गुठीलगायतका भाषा, साहित्य, कला, संस्कृति, दर्शन, समाजशास्त्र जस्ता विषयका क्षेत्रमा कुनै न कुनै प्रकारले विशिष्ट योगदान दिँदै आएका संस्थाहरूले आफ्नै नेतृत्वमा यस प्रकृतिका अनुसन्धानहरू गर्नु र गराउनु पनि पर्दछ ।
इतिहास हाम्रो विगतलाई वर्तमानबाट चियाउने ऐना हो त्यसैले बरु पचास वर्ष लागोस् तर एउटा हाम्रो गर्विलो इतिहासको उत्खनन भयो र त्यसलाई ग्रन्थमा ल्याउन सकियो भने बाँकी हजारौँ वर्षसम्म हामी जीवित रहन सक्छौँ । अन्वेषक भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह’ ग्रन्थले नेपालका हरेक जातिलाई, हरेक भूगोलबासीलाई, हरेक संस्कृतिकर्मीलाई र हरेक अन्वेषकलाई आफ्नो गरिमापूर्ण विगतको खोजी गर्नका लागि उत्प्रेरणा प्रदान गर्न सक्ने छ भन्ने कुराको बोध प्रस्तुत ग्रन्थ पढिसक्दा हरेक पाठकलाई अवश्य पनि हुने छ । यस्ता ग्रन्थहरू धेरैभन्दा धेरै पाठकहरूसम्म पुग्नु जरुरी छ । यसका लागि लेखक र प्रकाशक दुवैमा थोरै आर्थिक उदारता देखिनु आवश्यक छ । एउटा कृतिलाई रु. २५०००÷— हालेर किन्न सक्ने पाठकहरू कति होलान् ? गौरवको कुनै मूल्य पनि हुँदैन र गौरवलाई विक्री गरेर सम्पत्ति कमाउनुलाई पनि राम्रो मानिँदैन । त्यसैले यस्ता सामग्रीहरू श्रम र कागजको न्यूनतम शुल्क लिएर सर्वसाधारणसम्म पु-याउने व्यवस्था भयो भने सबैमा थप आत्मगौरवको अनुभूति हुने कुरा निश्चित छ ।
क्रमशः अर्को हप्ता, अर्को कृति…
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।