एक समय थियो पर्यटकीय क्षेत्र पोखरा र ठमेलका ग्यालरीहरुमा नारायण लामिछानेका पेन्टिङले भरिभराउ हुन्थ्यो। पर्यटकीय सिजनमा त उनलाई पेन्टिङ बनाउन भ्याई नभ्याई हुने। नेपाल घुम्न आउने पर्यटकहरु उनको पेन्टिङ देख्यो कि किनिहाल्ने। दिनमै १२-१५ वटासम्म पेन्टिङ उनले बनाउँथे ।

व्यस्तताको यो क्रम धेरै वर्षसम्म रहिरह्यो। त्यही पेन्टिङ बेचेरै काठमाडौँमा घर घडेरी किने उनले । पछिल्लो समय भने कलामा देखिएको अस्वस्थ्य प्रतिपर्धा र अरुको नक्कल गर्ने प्रवृत्तिले उनीजस्ता धेरै स्थापित एवं व्यावसायिक रुपमा सफल कलाकारलाई असर पुर्याएको छ।

उनी भन्छन्, ‘खासगरी सिकारु कलाकारले अरुको नक्कल गर्ने र प्रचलित मूल्यभन्दा कयौँ गुणा सस्तोमा कलाकृति बेचिदिने भएकाले यस्तो समस्या आइपरेको हो।’

त्यसो त स्थापित कलाकारबीच एकले अर्काको व्यापार खोस्ने होडबाजीले गर्दा कलाको मूल्यमा ह्रास आएको सत्य पनि हो।
यद्यपि यी बजारका कुरा भए। एउटा कलाकार सफल हुने भन्ने कुरा बजारले मात्र निर्धारण गर्दैन र गर्नु पनि हुँदैन। सफल कलाकार त त्यो हो, जो बाहिरी संसारको पर्वाह नगरी दत्तचित्त भएर कला सृजना गरिरहन्छ।

पछिल्ला दिनहरुमा कलाका गतिविधिहरु न्यून भएका छन। अझ झन् कोरोना महामारीको असरले अरु क्षेत्र जस्तै यो क्षेत्र तहसनहस भएको छ। यसबीच कति कलाकार त विस्थापित पनि भैसकेका छन् तर यसका बाबजुद पनि समाजमा केही यस्ता कलाकार छन् जो कला सृजनामा व्यस्त छन्।

कोभिडको महामारी सुरु भए यता कलाकार लामिछानेका घरैभरि कलाकृतिका चाङ लागेको छ। ती चित्रकलाकृति बिक्री नभएको धेरै भयो तर ती कलाकृतिहरुले एक न एक दिन कला दर्शकबीच साक्षात्कार गर्ने पर्खाईमा उनी छन् ।

महामारीपछि कलाले पुरानै लय समात्ने कुरामा उनी विश्वस्त छन्।

लामिछानेले कलाकारितामा जीवन व्यतित गरेको पनि तीन दशक बढी भैसकेको छ। कलामै स्नातकोत्तर, एमएफए गरेका उनले दर्जनौँ पटक सामूहिक कला प्रदर्शनी र कला कार्यशालामा भाग लिइसकेका छन्।

चित्रकला सृजनाको अलावा कला अध्यापन उनको रुचिको विषय पनि हो। विगत २३ वर्षदेखि विभिन्न विद्यालयमा कला विषय पढाइरहेका छन् उनले।

कलाकार लामिछानेले कलाका विभिन्न विषय र शैलीमा काम गर्छन् । माध्यमका रुपमा जलरङ र गाउँले परिवेशका विषयवस्तु उनको रोजाईमा पर्छन्। जलरङमा उनले आफ्नैखाले मौलिक शैली स्थापित गर्न सफल भएका छन् ।

हिमालमुनि चौरीहरु हिँडिरहेका, गाउँले परिवेशका सुन्दर दृश्यहरु, गाउँले जनजीवन एवं काठमाडौँका साँगुरा गल्ली उनका चित्रकलाका विषयवस्तुहरु हुन्।

त्यसो त उनले एक्रेलिक माध्यममा चित्रहरु पनि रचना गरेका छन । विषेशगरी आधुनिक शैलीका अमूर्तकला उनलाई मन पर्छ। विश्वविद्यालयमा पढ्दा उनले अमूर्त शैलीकै कला सेरोफेरोमा विशिष्टता हासिल गरेका थिए।

उनले प्रयोग गर्ने रङको मिठास र तिनको संरचनागत बुनोटको कला सौन्दर्यले जोकोहीको ध्यान सजिलै आकर्षण गर्दछ। उनका आधुनिक शैलीका कलाकृति बुझ्न केही अप्ठ्यारो लागे तापनि ती चित्रहरुले मानवजीवनका विभिन्न आयाम र वर्तमान अवस्थाको वर्णन गरेको हुन्छ।

तिनै कलाकार लामिछानेका केही कलाकृतिहरु अवलोकन गरौँ न त, हुन्न ?