कलाकार: भीम शर्मा
शीर्षक: ध्यान
आकार: २४x३० इञ्च
माध्यम: एक्रेलिक

भीम शर्मा

वरिष्ठ कलाकार भीम शर्मा नेपाली कलाक्षेत्रको एक सुपरिचित नाम हो। नवलपुर, गैँडाकोट निवासी शर्मा लामो समयदेखि कला साधना र कलाका गतिविधिमा संलग्न हुनुहुन्छ। उहाँले देशविदेशमा दर्जनौँ पटक एकल कला प्रदर्शनी एवं सामूहिक कला प्रदर्शनीमा भाग लिइसक्नु भएको छ। मूलत: प्रकृति, बुद्ध र चराचुरुङ्गीको स्वतन्त्र जीवन उहाँको क्यानभासमा अटाउने गरेको छ ।

प्रस्तुत चित्रमा भगवान् बुद्धलाई शान्त ध्यान मुद्रामा देखाइएको छ । एकातिर उनको हातमा सिङिङ वोउल देखिन्छ भने अर्को कुनोमा उज्यालो प्रकाशसहित धुप बलिरहेको देखिन्छ ।

त्यसैगरी चित्रको केन्द्रविन्दुमा बुद्धको टाउको फ्रेमको चौघेरोमा कैद भएको छ । यस चित्रकृतिले दुई कुरालाई प्रस्ट इङ्गित गरेका छन्- पहिलो, बुद्ध र शान्तिको अनेन्याश्रित सम्बन्ध र यसको विश्वव्यापी चाहना र दोस्रो, संसारमा दिनप्रतिदिन साँघुरो चौघेरोमा सीमित भइरहेको शान्तिको अवस्था।

यतिबेला युक्रेन र रूसबीच चलिरहेको द्वन्द्वले यो चित्रको सान्दर्भिकता अझ बढी मुखर भएर आएको छ ।