(जब खस सम्राट क्र्राचल्लदेवले दश हजार दासहरुलाई मुक्त गरे, त्यसले सिंजा दरबार र सम्पुर्ण साम्राज्यमा निकैठुलो उथलपुथल ल्यायो । मुक्त दासहरु मध्ये नौ हजार आफ्नो अलग एक स्वतन्त्र नगर बनाउने उद्घोषगर्दै लामो यात्रामा निस्किए भने दास मुक्तिका कट्टर विरोधी राजगुरु आर्यदेव आर्यखस जातीय श्रेष्ठताको वकालत गर्दै अगाडि बढे । सिंजा दरबार र समस्त खस साम्राज्यमा आर्यखस जातीय श्रेष्ठता कि मानव श्रेष्ठता भन्ने महाविवाद सुरु भयो । यहाँ प्रस्तुत कथांश त्यही महाविवादको एक अंश हो । जसमा गुरु आर्यदेवले आयोजना गरेको धर्मसभाको सन्दर्भ प्रस्तुत गरिएको छ । त्यो धर्मसभाले सनातन वैदिक धर्मलाई हिन्दुकृत गर्ने र राजधर्म बनाउने संकल्प गरेको देखिन्छ । तर मोक्षभूमि उपन्यासमा मुक्त दासहरुको अर्को संकल्प पनि छ– मानवश्रेष्ठताको संकल्प । यो कथांशमा कृष्णदेव र भार्गदेवको जुन प्रसंग छ, उनीहरु मुक्त दाषहरु हुन् र आर्यखस जातीय श्रेष्ठतालाई उनीहरु इन्कार गर्दछन् । मोक्षभूमिः आर्यखस जातीय श्रेष्ठता कि मानव श्रेष्ठता भन्ने महाविवादको मध्ययुगिन कथा हो ।)
….
त्यो दिन पुण्यधाममा मान्छेहरुको आवतजावत र स्वर तरङ निकै धेरै थियो । धाम क्षेत्र, गाउँ, बाटो र समस्त पाखा पर्वत ध्वजापताकाले झकिझकाउ थिए । वातावरणमा फूल र प्रसादको सुगन्ध मगमगाउँदै थियो । यज्ञमण्डपबाट उठेको धूवाँको मुस्लोले आकाश घुर्मैलो देखिन्थ्यो । शंख, घण्ट बज्दै थिए । सहजै अनुमान गर्न सकिन्थ्यो कि त्यो दिन पुण्यधाममा कुनै विशेष अनुष्ठान भइरहेको छ । पानी बोकेर उकालो जाँदै गरेका महिलाहरुलाई कृष्णदेवले सोधेपछि त्यसको रहस्य खुल्यो । त्यहाँ धर्मसभाको आयोजना भइरहेको थियो । कृष्णदेव र भार्गदेवलाई बुझ्न कठिन थिएन कि त्यो श्रेष्ठमार्गीहरुको सभा हो ।
आर्यदेव विगत एक वर्षदेखि धर्मसभाको तयारीमा थिए । त्यसैका लागि उनले अनेक राज्य, संघ र नगरहरुको भ्रमण गरेका थिए । उनी हठी थिए र आर्य–खस जातीय श्रेष्ठताका प्रखर संस्थापक । आर्यदेव नै त्यो धर्मसभाका मुख्य कर्ता र आयोजक थिए । उनकै निमन्त्रणमा त्यहाँ कट्टर सनातन वैदिक सम्प्रदाय र आर्य–खस जातिका प्रकाण्ड विद्वान्, सामन्त र मन्त्रीहरुको उपस्थिति थियो । सिंजाबाट आर्यदेव, उनका सात भाइ चेला, एकरुद्रबालेश्वर महादेव मन्दिरका पुजारी देवदत्त, गुरू काम्पिल्य, पण्डित सुदत्त, साथमा पैँतीस जना अग्रज आचार्य र पण्डितहरु उपस्थित थिए । साथमा सहभागी थिए, भारत वर्षका विभिन्न मठाधीश, शंकराचार्य र आचार्यहरु ।
धर्मसभाका केही खास प्रयोजनहरु थिए । मुख्यतः आर्यदेव सनातन वैदिक धर्म–व्यवस्थालाई हिन्दु वर्ण–व्यवस्थाका रुपमा आर्यावर्तमा स्थापित गर्न चाहन्थे । हिन्दु धर्मले नै आर्य–खस सत्तालाई बलियो बनाउँछ भन्ने उनको विश्वास थियो । यसका लागि वैदिक हिन्दु धर्म र मनुसंहितालाई सुदृढ गर्नु आवश्यक थियो । यस अर्थमा धर्मनीति, धर्मविधान र धर्मसंहितालाई अझ प्रभावकारी बनाउन सो धर्मसभा आयोजना गरिएको थियो ।
त्यसैगरी आर्यदेव सम्राट् क्राचल्लदेवसँग बदला लिन चाहन्थे । उनी मानव श्रेष्ठतालाई तिरस्कार गर्दै आर्य–खस श्रेष्ठतालाई सिंजामा स्थापित गर्न चाहन्थे । उनी धर्मपरम्पराका नाममा दास–व्यवस्थालाई पुनःस्थापित गर्न र सत्यदेवहरुलाई एक्ल्याउन चाहन्थे ।
धर्मसभाको अर्को प्रयोजन थियो आर्य–खसहरुको द्वन्द्व समायोजन गर्नु । कतिपय स्थानमा ब्राह्मण, पुरोहित, धर्मगुरू तथा राजा, महाराजा र सम्राट्बीच वैमनस्यता बढ्दै थियो । धर्मनीतिका माध्यमबाट त्यसलाई टुंग्याउनु आवश्यक देखिन्थ्यो ।
अतः धर्मसभालाई शासकहरुले समेत अर्थपूर्ण रुपमा हेरेका थिए ।
वेदो खिलो धर्ममूलं स्मृतिशीले च तद्विदाम् । आचारश्चैव साधूनामात्मनस्तुष्टिरेव च ।।
वेदः स्मृतिः सदाचारः स्वस्य च प्रियमात्मनः । एतच्चतुर्विधं प्राहुः साक्षाद् धर्मस्य लक्षणम् ।।
सभास्थलको बीचमा सुन्दर मण्डप बनाइएको थियो, जसको केन्द्रमा थियो– अग्निकुण्ड । ईशान कोणमा एक दर्जन गेरू रङका झन्डाहरु फरफराउँदै थिए । झन्डामुनि गुरूहरुका लागि उच्चासन थियो, जहाँ शंकरादेव, उपाध्याय, आचार्य र ज्ञानीहरु विराजमान थिए । त्यसको सामुन्ने बसेका थिए– पुरोहित, सामन्त र मन्त्री । गुरूहरु विशेषतः विभिन्न पौराणिक सन्दर्भ, वेद, उपनिषद्, पुराण, नीतिशास्त्रका सूत्रहरु केलाउँदै थिए । कुनैबेला उनीहरु एकआपसमा प्रश्नोत्तर गर्थे । कुनैबेला राज्यविधान र धर्मपरम्परामाथि वादविवादहरु गर्थे । छलफलबाट जे निष्कर्ष निस्कन्थ्यो, त्यसलाई आर्यदेव सबैले सुन्ने गरी व्याख्या गर्थे र त्यसलाई टिपोट गरिन्थ्यो ।
ब्राह्मणको धर्म के हो ? धर्मको स्थापना ।
राजाको धर्म के हो ? धर्मको रक्षा ।
श्रेष्ठ जाति को हो ? त्यो जसको जन्म श्रेष्ठ कुलमा हुन्छ ।
दास को हो ? जो नीच कुलमा जन्मन्छ र अनेक श्रापहरुले अभिशप्त छ ।
दासहरुको धर्म के हो ? श्रम र सेवा ।
शूद्र को हो ? धर्म, जन्म र कर्मले हीन मान्छे ।
दिनभरि गरिएका छलफलहरुको निष्कर्ष आर्यदेवले प्रस्तुत गरे । त्यसलाई अनुमोदन गरियो ।
के जन्मको आधारमा मान्छेको श्रेष्ठता निर्धारण हुन्छ, गुरूवर ? एउटा युवा ब्राह्मण उठ्यो । उसको नाम सुरनन्दन थियो, जसको अनुहार पातलो थियो र नाक निकै चुच्चो । ऊ बोल्दा संस्कृतमा बोल्थ्यो र स्वर निकै सुरिलो थियो । उसको प्रश्न सुनेर सभा शान्त भयो । सबैको ध्यान सुरनन्दनतिरै मोडियो । तर आर्यदेवले भने केही क्षण उसलाई तिरस्कार गरे । सानो विलम्बपछि उनले प्रश्नकर्ता युवालाई उल्टै प्रतिप्रश्न गरे– सुरनन्दन, के श्रेष्ठ रगत, कुल, वंश–परम्परा र संस्कारको कुनै अर्थ हुँदैन ? हामीले श्रेष्ठतालाई अंशमा बुझ्न हुँदैन । यो समग्र विचार हो, जसले हाम्रो धर्मलाई नेतृत्व गर्छ । श्रेष्ठता वीर्य र रक्तकणको मात्र कुरा होइन, यो पूर्वजन्मको समेत फल हो ।
सायद सुरनन्दनलाई आर्यदेवको जवाफ मन परेन । त्यसैले उसले अर्को प्रश्न गर्यो, ‘त्यसो भए कर्म के हो, मान्यवर ? कुनै नीच कुलमा जन्म भएको मान्छे कर्मले श्रेष्ठ हुन सक्दैन ?’
‘हुन सक्छ ।’ आर्यदेवले अलिक कडा स्वरमा भने– ‘तर त्यसका लागि उसले श्रेष्ठ धर्मको पालन गर्नुपर्छ । धर्म र परम्पराको साधनाबिना कुनै नीच जातिले आफूलाई श्रेष्ठ बनाउनै सक्दैन ।’
‘के आगत युगले तपाईँको श्रेष्ठ विधानलाई स्वीकार गर्ला गुरूवर ?’ सुरनन्दन प्रश्नमाथि प्रश्न गर्दै थियो ।
‘निःसन्देह । जुन बेलासम्म यो धरती र आकाशमा ईश्वर रहन्छन्, त्यो बेलासम्म हाम्रो धर्मविधान कायम रहन्छ ।’ यति भनेर आर्यदेव सुरनन्दनलाई तिरस्कार गर्दै अर्कोतिर फर्कियो ।
आर्यदेवको उत्तरसँग युवा ब्राह्मण सन्तुष्ट भएन । अतः आफ्नो असन्तुष्टिलाई उजागर गर्दै उसले भन्यो– ‘तर आउने युगले तपाईंको विधानलाई तिरस्कार गर्यो भने के होला ? भोलि त्यसको रक्षा गर्न कसले झन्डा उठाउला ?’ ‘गुरूवर, कृपया यति धेरै असहिष्णु पनि नबनौँ कि इतिहासले हाम्रो श्रेष्ठतामाथि नै प्रतिरोध गरोस् ।’ यति भनेर युवा ब्राह्मण उठ्यो र सभाको दक्षिणतिर लाग्यो । सभाले उसको बहिर्गमनलाई बेवास्ता गर्यो र फेरि छलफल सुरू भयो ।
धर्म–व्यवस्थाका सम्बन्धमा आर्यहरुका आआफ्नै अनुभवहरु थिए । मुुख्यतः काञ्ची, कोशल, सौराष्ट्र, सौविर, अंग, बंग, कलिंग, मगध, काशीजस्ता सम्पन्न आर्य सभ्यताका लागि हिन्दु धर्म सत्ता सञ्चालनको विधान थियो । उनीहरु मनुवंशीहरुले निर्माण गरेको हिन्दुसंहितालाई हिमवत्खण्डमा अझ सुदृढ बनाउन चाहन्थे । तर सँगै त्यसको विरोधमा महिला, शूद्र र दासहरुको असन्तुष्टि पनि चर्को थियो । पछिल्लो समय देवगुरू बृहस्पतिको चार्वाक धर्म दर्शन र सूत्रहरुको खुबै चर्चा सुनिन्थ्यो । कतिपय हिन्दु राजाहरु बौद्ध धर्मको प्रभावमा जाँदै थिए ।
त्यसो त बौद्ध, वैष्णवी, शैव, मष्ट र प्रकृति पूजकहरु बीचमा पनि अनेक बेमेलहरु थिए । क्षत्री र ब्राह्मणहरुमा शासकीय शक्ति बाँडफाँटका विषयमा समेत विभिन्न मतभिन्नताहरु थिए । परापूर्वकालमा ऋषि जमदग्नि र रेणुका पुत्र गुरू परशुरामले यस्तै मतभिन्नताका कारण क्षत्रीयहरुको नास गरेको कथा सुन्न पाइन्थ्यो । र, सो कथा पुनः जागृत हुँदै थियो । समस्या त्यति मात्र थिएन । सिंजाले दास विमोचन गरेर अर्को उपद्रो गरेको थियो । मुक्त दासहरु मानव श्रेष्ठताको कुरा गर्दै श्रेष्ठ आर्यहरुलाई चुनौती दिइरहेका थिए । साथै, सिन्धु उपत्यकामा मोहनजोदडो र हडप्पाजस्ता सभ्यताहरुको उत्खनन हुँदै थियो । यावत् अनेकतालाई हिन्दु धर्मसंहिताका माध्यमबाट एकीकृत गर्नु अनिवार्य थियो र धर्मसभामा त्यसमाथि घनघोर छलफल चलिरहेको थियो ।
आर्यदेवले प्रस्ताव गरे– ‘आर्य–खसहरुको एकता आजको आवश्यकता हो । हिन्दु धर्मनीति यसरी तयार गरौँ कि ब्राह्मणहरुले नीतिशास्त्रको कुरा गरुन् । राजकाज क्षत्रीहरुले सम्हालून् । दास विधानलाई अझ कडा बनाऔँ । वर्ण–व्यवस्था र मनु धर्मलाई अवमूल्यन गर्नेहरुमाथि प्राणदण्डको व्यवस्था गरौँ ।’
एक जना लंक नाम गरेको ब्राह्मण उठ्यो । आर्यदेवको सहयोगी । ऊ केही होचो, भद्दा जीउडाल गरेको अधबैँसे पुरूष थियो । उसले गेरू रङको कमिज र धोती धारण गरेको थियो । बोल्दा उसको टाउको दायाँबायाँ हल्लिन्थ्यो र त्योसँगै लामो टुप्पी पनि दायाँबायाँ गथ्र्यो । उसले सभालाई सोध्यो– ‘स्वयं धर्मको रक्षा गर्न नसक्ने राजालाई के गर्ने ?’
उसको प्रश्न सम्राट् क्राचल्लदेवतिर लक्षित थियो ।
प्रश्न भुइँमा खस्न नपाउँदै विभिन्न प्रतिक्रियाहरु आए । कल्याङमल्याङ भयो । गुरू देवदत्तले भन्यो– ‘राजालाई विष्णुको अवतार मानेपछि उनको निर्णय स्वीकार गर्ने ।’ प्रतिउत्तरमा अर्कोले भन्यो– ‘राजालाई पनि धर्ममाथि आघात गर्ने अधिकार किञ्चित दिनु हुँदैन । यदि राजाले धर्ममाथि घात गर्छन् भने उनलाई गद्दीच्युत गर्ने अधिकार धर्मसभामा राख्नुपर्छ ।’
लंकले जोड दिँदै भन्यो– ‘ब्राह्मणहरुलाई राजाभन्दा माथि राख्नुपर्छ । अन्यथा धर्मशक्ति नास हुन्छ ।’
अर्कोले भन्यो– ‘त्यसो भए राजालाई विष्णुको अवतार नभनौँ ।’
अर्कोले प्रतिप्रश्न गर्यो– ‘अन्यथा अलौकिक त्रासको नेतृत्व कसले गर्छ ? राजालाई विष्णुको अवतार मान्नुपर्छ ।’
यो विषयमा थप छलफल भयो । अन्त्यमा राजाले धर्मको अपहेलना गरे, धर्मच्युत भए र हिन्दु वैदिक धर्मलाई घात गरे, उसलाई धर्मसभाले गद्दीच्युत गर्न सक्ने निर्णय गरियो । विष्णुभन्दा माथि ब्रह्मालाई स्थापित गरियो । गुरू, ब्राह्मण र आचार्यलाई राजाभन्दा माथि राखियो ।
गुरू आर्यदेवले भने– ‘हामी आर्य हौँ र हाम्रो भूमि आर्यभूमि हो । आर्य शब्द वैदिक शब्द हो । यसको अर्थ हुन्छ– श्रेष्ठ वा सभ्य जन । अतः हाम्रो श्रेष्ठ भूमिमा राज गर्ने सम्राट् पनि श्रेष्ठ चरित्रको हुन आवश्यक छ । हामी चाहन्छाैँ, आफ्नो जातीय गौरव र श्रेष्ठताको रक्षा गर्नु सम्राट्को धर्म हो । अन्यथा आर्यसभ्यता, धर्म, संस्कृति र गरिमाको रक्षा गर्न नसक्ने सम्राट्को के काम ? हुतीहारा सम्राट्लाई आर्यभूमिमा राज्य गर्ने अधिकार रहँदैन । अरु सभ्यताहरु कीटपतंग बराबर हुन् र आर्य सभ्यता स्वर्गलोकबाट निर्धारित महान् धर्म सभ्यता हो । यसलाई तिरस्कार गर्ने सम्राट्हरुलाई पनि दण्ड दिनैपर्छ ।’
एवं एवंको स्वर गुन्जियो । प्रस्ताव पारित भयो ।
कसैले प्रश्न गर्यो– ‘पशुमा सबैभन्दा पुज्य के हो ?’
गाई ।
‘भूमिमा पुण्यभूमि कुन हो ?’
आर्यभूमि ।
‘नदीमा श्रेष्ठ कुन हो ?’
गंगा ।
गाईलाई माताको दर्जा दिने, गोमूत्र पान गर्ने र गोमांस निषेध गर्ने शास्त्रविधान लेखियो । गंगाजललाई पवित्र जल मानियो । आर्यभूमिको रक्षा गर्ने संकल्प गरियो ।
‘परिवारमा श्रेष्ठ को हो ?’ अर्को विषयमा छलफल सुरू भयो ।
कसैले भन्यो– ‘आमाले गर्भधारण गर्दछिन् । नौ महिना बच्चालाई गर्भमा हुर्काउँछिन् । अमृतसमान दूध खुवाउँछिन् र शिशुलाई ममताले सिञ्चन गर्दछिन् । त्यसैले आमा सर्वश्रेष्ठ हुन् ।’ अर्कोले खण्डन गर्यो– ‘कुल, गोत्र र परिवारको मुख्य कर्ता आमा होइनन् । बाबु हुन् । आमा धरती हुन् । धरतीमा कुन बीउ रोपियो, त्यसले अन्नको परिचय निर्धारण गर्छ, न कि जमिनले । त्यसैले परिवार र वंश परम्परामा पिताको स्थान सबैभन्दा माथि हुनुपर्छ । पिता परिचय हो । पिता रचनाकार हो ।’ यो विषयमा बोल्नका लागि त्यहाँ कुनै आमाहरु थिएनन् । यद्यपि छलफल निकै बेर चल्यो । कसैले आमा र बाबुमा बराबरी श्रेष्ठता निर्धारण हुनुपर्ने प्रस्ताव गर्यो । कसैले भन्यो– ‘पुरूष पति हो । पति भनेको स्वामी हो । त्यसैले उसको स्थान उच्च हुुन्छ ।’ अर्कोले भन्यो– ‘आमा जननी हो । सृष्टिकर्ता हो । सिर्जना हो । ऊ परिवारमा मात्र होइन, ब्रह्माण्डमै सबैभन्दा माथि हुनुपर्छ ।’ अनेक तर्कहरु गरिए । अन्त्यमा पुरूषले जित्यो र पितृसत्ताको जगलाई अझ सुदृढ बनाइयो ।
‘त्यसो भए स्त्री र पुरूषको सम्बन्ध कस्तो हुनुपर्छ ?’ अर्को प्रश्न उठ्यो ।
शंकराचार्यले भन्यो– ‘स्त्री धरती हो । धरतीमाथि जसरी राजाको अधिकार हुन्छ त्यसरी नै स्त्रीमाथि पुरूषको अधिकार हुनुपर्छ । के एउटै खेतले सम्राट्को ख्याति निर्धारण हुन्छ ? हुँदैन । त्यसैले श्रेष्ठ पुरूषले अनेक स्त्रीहरु राख्न सक्छन् । त्यो पुरूषोचित धर्म हो ।’
‘पुरूषत्व कहाँ छ ? स्त्री भोगमा ।’ यसलाई नीतिसूत्र बनाइयो ।
‘पुरूषले कसरी महिलाहरु प्राप्त गर्ने ?’ पुरूषले महिलालाई प्राप्त गर्ने पाँच विधि तय भयो । दान गर्ने र लिने । युद्धमा जित्ने । प्रेमले पगाल्ने । विवाह गर्ने । हरण गर्ने ।
धर्मसभाले वर्ण–व्यवस्थालाई अझ बलियो बनाउने निर्णय गर्यो । यसका लागि वर्ण–व्यवस्थाका चार वर्ण ब्राह्मण, क्षत्री, वैश्य र शूद्रहरुको वर्गीकरणलाई अझ सुस्पष्ट गरियो । राज धर्म, गृहस्थ धर्म, संन्यास धर्मका सूत्रहरु लेखिए । श्रेष्ठ जाति, श्रेष्ठ पुरूष, श्रेष्ठ स्त्री, श्रेष्ठ सम्राट् र श्रेष्ठ ब्राह्मणका आधारभूत चरित्रहरुको व्याख्या गरियो । सभाले स्त्री, दास र शूद्रहरुले पालना गर्नुपर्ने नियमहरु बनाए । उनीहरुलाई नीच योनीमा राखियो । दासका सन्तानहरु दासै हुने व्यवस्थाको विपक्षमा पनि केही मत आए । कसैले नारद आफैँ दासी पुत्र भएर पनि देवर्षि बनेको प्रसंग निकाल्यो । कसैले महाभारतका विदुरको कथा भन्यो । तर अन्त्यमा दास किनबेच गर्ने, दास पुत्रपुत्रीहरु दासै हुने, ऋण तिर्न नसक्नेका सन्तानहरु दास हुने, जुवामा हार्नेहरु पनि दास हुनेजस्ता विषयलाई धर्म प्रथाको रुपमा स्थापित गरियो ।
सभाले सम्राट् क्राचल्लदेवको दास विमोचनलाई अस्वीकार गर्यो । सम्राट् क्राचल्लदेवलाई धर्मच्युत सम्राट् घोषणा गरियो । सत्यदेवलाई भ्रष्ट र पतित दास भनियो । मोक्षभूमिलाई एक्ल्याउने नीति पारित भयो ।
सभामा जन्म, नामकरण, व्रतबन्ध, विवाह र मृत्युलाई जीवनका अहम् पाँच कर्मका रुपमा परिभाषित गरियो । यी सबै कर्महरुलाई हिन्दु धर्मको आलोकमा सम्पादन गर्न कर्मसूत्र तयार भयो । कर्मपत्रहरु लेख्न उपाध्यायहरुलाई जिम्मेवारी दिइयो, जसको नेतृत्व देवदत्तलाई दिइयो । यसैगरी सभाले खानपानको समेत विधि बनायो । श्रेष्ठ जातिले के खान हुन्छ, के खान हुँदैन ? दास र शूद्रहरुले के खान हुन्छ, के खान हुँदैन ? यस्ता प्रश्नमा सविस्तार विमर्शहरु भए । ब्राह्मण र क्षत्रीलाई मद्यपान निषेध गरियो । गौमांसमाथि प्रतिबन्ध लगाइयो । सुंगुर र कुखुरा ब्राह्मण र क्षत्रीहरुको भोजनमा वर्जित भए । भोजनलाई राजसी, तामसी र साङ्खिवक भोजनको रुपमा वर्गीकरण गरियो । उपाध्यायहरुका लागि तामसी भोजन निषेध भयो ।
अन्त्यमा, सभाले आफ्नो निष्कर्षसहित एउटा धर्मपत्र जारी गर्यो, जसलाई स्वयं आर्यदेवले लेखेका थिए ।
सर्वश्री भगवान् ब्रह्मा, विष्णु र महेश्वरको सृष्टि, पालन र संहार चक्रबाट यो चराचर जगत् सञ्चालित छ भन्ने कुरामा हामी विश्वस्त छौँ । संसारको हरेक पल ईश्वरको नियन्त्रणमा छ । हामी ईश्वरका सन्तान हौँ र ईश्वरको आदेश पालन गर्नु हाम्रो धर्म हो । ईश्वरले हामीलाई श्रेष्ठ जातिको रुपमा यो संसारमा स्थापित गर्नुभएको छ । ईश्वरकै आज्ञाले हामीलाई आफ्नो जातीय गौरव, प्रतिष्ठा, मर्यादा र भोगका लागि अनेक सुविधाहरु प्राप्त छन् । यावत् कुरालाई हामी भगवान्को प्रसादको रुपमा ग्रहण गर्दछौँ । यसलाई हामी सदैव संरक्षण गर्नेछौँ । साथै श्रेष्ठ आर्य–खस जातिको गौरवगाथा बचाउन हामी निरन्तर प्रयत्नशील रहनेछौँ ।
जो–जो आज दास वा नीच जातिमा छन्, उनीहरुले भगवान्को आदेशलाई पालना गरी आफ्नो कर्तव्य निर्वाह गरुन् । आज उनीहरुले जे कर्तव्य निर्वाह गर्नुपर्नेछ, त्यो उनीहरुको धर्म हो । त्यही धर्मले भोलि उनीहरुलाई महान् श्रेष्ठ जातिमा जन्म मिल्नेछ । आज पाप गर्नेहरु भोलि नीच जातिमा जन्म लिनेछन् । यो चक्र भगवान्को कृपाले चलिरहनेछ ।
दास, स्त्री, सर्वसाधारण प्रजाजन र शासकहरुले आआफ्नो जात, कुल र परम्पराअनुसार पालना गर्नुपर्ने धर्म, संस्कार र श्रम–व्यवस्थाको पालना गरुन् । यसका लागि ईश्वरबाट हामीलाई यथोचित धर्म–व्यवस्थाको रचना गर्न आदेश भएको छ । त्यही आदेशअनुसार हामीले श्रेष्ठ जातीय गौरव र श्रम–व्यवस्थालाई अक्षुण्ण बनाउन नियमहरु बनाएका छौँ । हामीले बनाएका नियमहरुलाई भगवान्को आदेशको रुपमा पालना गर्न गराउन समस्त सामन्त, मन्त्री, महामन्त्री, राजा, महाराजा र सम्राट्लाई यो धर्मसभामार्फत आदेश गर्दछौँ ।
अस्तु । संवत् १२८१, पौष ।
त्यो दिन, धर्मसभाको प्रत्यक्ष साक्षी बन्नपुगे कृष्णदेव र भार्गदेव । सभाको निष्कर्षलाई तिरस्कार गर्दै कृष्णदेवले भन्यो– मानव श्रेष्ठताको नारा समयको त्यो गीत हो मित्र, जो प्रत्येक दिन अझ मधुर, लयबद्ध र व्यापक बन्दै जानेछ । भार्गदेव मानवश्रेष्ठताको संकल्पमा बिश्वस्त थियो । त्यसैले आफ्नो मित्रको भनाईसँग सहमत हुँदै मुस्कुरायो ।
मोक्षभूमिको कथा अगाडि बढ्दैगयो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।