मणिपुर, भारतको उत्तरपूर्वमा अवस्थित म्यान्मारसँग जोडिएको एक सुन्दर प्रदेश हो । भारतमा प्रत्येक प्रान्त भाषाका आधारमा छुट्याइएको हुँदा भाषा, साहित्य र संस्कृतिले अलग्गै महत्व राख्दछ ।

नेपालबाट कसैले सोध्नुभएको थियो , “सायद यहाँहरू यात्रा कम गर्नु हुन्छ !” हो, यहाँका शासन प्रणालीले यस्तो भएको हो । राज्यका सबै कार्य त्यहीँ हुन्छन् । जनसाधरणको केन्द्रसँग काम कमै पर्छ ।

उहाँको अर्को जिज्ञासा थियो, “यहाँ एक राज्यबाट अर्को राज्यमा जाँदा आफ्नै देशको मानिस पनि नयाँजस्तो अनौठो लाग्ने !” हो, यो पनि भाषाकै कारण हो । प्रान्तीय भाषा नजान्नाले केही नयाँपन अवश्य महसुस हुन्छ । तापनि राष्ट्र भाषा हिन्दी अथवा अंग्रेजीले कुराको आदानप्रदान हुन्छ । यसरी नै यस विशाल देशमा अनेक भाषा संस्कृति संरक्षित छन् ।

यहाँ भाषा र प्रशासनका कारण प्रत्येक प्रान्तको आफ्नै महत्व छ । एक प्रान्तको व्यक्तिले अन्य प्रान्तको पूर्ण जानकारी राख्न सक्दैन । विशाल जनसंख्या, विविध चालचलनले यस्तो भएको हो । तापनि अखण्डतामा एकता अवश्य छ ।

२०११ मा मणिपुरको जनसंख्या २८ लाख हुँदा नेपालीभाषी ६३ हजार देखाएको छ । २०२१ मा हाम्रो जनसंख्या बढ्ला भन्न मुस्किल छ । किनकि १९८० का दशकपछि यहाँ लामो अशान्तिको वातावरण थियो । हाल शान्ति कायम छ । तर हाम्रो मानिस धेरै राज्यबाहिर पलायन भइसकेको छन् ।

भवानी अधिकारी

भौगोलिक दृष्टिले पहाड र मैदानमा मणिपुर विभाजित छ । मैदानमा मूल मणिपुरी भाषी र मणिपुरी मुसलमानको बसोसबासो छ । पहाडी भेगमा मणिपुरी नागा र कुकी जनजातिको बसोबासो छ । नेपाली पहाड मैदान दुवैतिर छन् । यसबाहेक मैदान राजधानी इम्फालतिर मारवाडी, बंगाली ,बिहारी, पञ्जाबी आदि जाति छन् ।

मणिपुरी (मीतै) यहाँको मुख्य जाति । अन्य मूल मणिपुरी नागा, कुकी दुई जनजातीमाझ चालीस जति जाति छन् । यसबाहेक मणिपुरी मुसलमान स्थानीय नाम पाङ्गल हो । नेपाली भाषीहरू प्राय: आफ्नो गाउँ गाउँ बसेका छन् भने मणिपुरी मुसलमानबाहेक अन्य मारवाडी आदि जाति सहर केन्द्रित व्यापारमा संलग्न छन् ।

नेपालीहरूको मणिपुर आगमनको मिति सन् १८२६ बाट भएको अनुमान लगाइएको छ। त्योबेला मणिपुर एक अलग देश थियो । यहाँको राजपरिवारमा सत्ताका निम्ति विरोधाभास चलिरहन्थ्यो । जसमा बर्माले हस्तक्षेप गरिरहन्थ्यो । आक्रमण गर्थ्यो । सन् १८१९ मा बर्माको आक्रमणबाट बाँच्नका निम्ति मणिपुरका प्रायः मानिस प्रदेश छाडी असमको कछाड त्रिपुरा र हालको बङलादेशसम्म शरण लिन पुगेका थिए । यो प्रक्रिया सात वर्ष चल्यो । यसलाई यहाँको इतिहासमा “चही तरेत खुनताकपा” अर्थात् सात वर्ष सम्मको शून्यता भनिन्छ ।

त्यो समय गाउँघर सबै शून्य थियो । मणिपुरका महाराज गम्भीर सिंहले अंग्रेजको सहयोग लिनु पर्यो । सन् १८२६ मा अंग्रेज सिपाही आएर मणिपुरलाई बर्माबाट मुक्त गराए । त्यसपश्चात् यहाँ पुनः शान्ति स्थापनाका साथ राज्यको कार्यभार सुचारू रुपले चल्न थाल्यो ।

अंग्रेज सिपाहीहरूमा गोर्खाली पनि थिए । त्यसैलाई पहिलो गोर्खालीको मणिपुर आगमन भनी मान्न सकिन्छ । हुन त त्यसअघि गोतीमयुम मणिपुरी थर भएका मानिस नेपाली मूलका हुन भनिन्छ। तर आज पक्कै पनि उनीहरूले यो स्वीकार नगर्लान् ।

सन् १८९१ मा पहिले बर्मा भगाउन सहयोग गरेको अंग्रेजले नै मणिपुरमा राजनीतिक हस्तक्षेपका साथ आक्रमण गर्यो । थोरै सैनिक रहे तापनि मणिपुरले अंग्रेजसँग कडा युद्ध गर्यो । मणिपुरी सैनिकले पाँच ब्रिटिस अफसरको हत्यासमेत गरे । त्यस घटनापछि अंग्रेजहरू मणिपुरसँग रूष्ट बने । सन् १८९१, अप्रिल २७ मा मणिपुरलाई तीनतर्फबाट आक्रमण गरी आफ्नो अधीनमा लिए । मणिपुरी वीर योद्धाहरूलाई फाँसी दिए । युवराज वीर टिकेन्द्रजीत र थाङगल जेनरललाई १३ अगस्त, पुख्रम्बम काजाउ, निरञ्जन सुबेदार र चिराई नागालाई क्रमशः २५ मई, ८ जुन र १३ अक्टुबरमा अंग्रेजद्वारा फाँसी चढाइयो ।

निरञ्जन सिंह हरदोई हिन्दुस्तानका दरिया सिंह छेत्रीका छोरा गोर्खा थिए । उनी प्रथम भारतीय गोर्खा सहिद हुन् ।

ब्रिटिस फौजमा गोर्खा सिपाही प्रसस्त थिए । मणिपुर आक्रमणमा ब्रिटिस फौजका लेसनायक रहेका तुलचन आलेले यस युद्धको वर्णन गरी सन् १८९३ मा “मणिपुरको लडाइँको सवाई” नामक पुस्तक लेखेका छन् । उनले भारतमा पहिलो नेपाली भाषाको पुस्तक प्रकाशक वा लेखक हुने गौरवता पाएका छन् ।

यसरी गोर्खाबाट एक प्रथम सहिद र अर्का प्रथम साहित्यकार मणिपुरले पाउने सौभाग्य पाएको छ। यही प्रथम सहिद र सहित्यकारको स्तुतिबाट मणिपुरमा नेपालीहरुको बसोबासको इतिहास सुरु हुन्छ ।

…………..

१८९१ बाट मणिपुर ब्रिटिस राजभित्र परेर पनि यहाँ राजतन्त्र नै रहेको थियो । अपरोक्ष अंग्रेजी शासन थियो भने परोक्ष राजतन्त्र भनेर जानिन्थ्यो । १८२६ बाट यहाँ आएको गोर्खाली फौजको रिटायर्ड हुन थालेको थियो । यी फौजीहरूका परिवारले यतै बस्ने विचार गरे । यस अघिबाटै पशुपालन, कृषि कार्यमा ठाउँ ठाउँ यो जातिले व्यवसाय सुरु गरेको थियो । दूध उत्पादनमा प्रवीण नेपालीहरू इम्फाल तथा अन्य क्षेत्रमा दूध सप्लाईमा लागेका थिए । अंग्रेज तथा मणिपुर महाराजले गोर्खाहरूमाथि धेरै विश्वास गर्ने । हुन त १८९१ मा महाराज चुडाचान्दलाई बाल्यकालमा राजगद्दीमा राख्नाले शासनमा पूर्ण अंग्रेजको हस्तक्षेप थियो । बीसौं शताब्दीका सुरुबाट गोर्खालीहरू इम्फाल तथा यसका उत्तरतर्फको बसोबास राम्ररी भइसकेको थियो । चिङ्मैरोङ्ग, मन्त्रीपुख्री , पाङ्गै आदि क्षेत्रमा भने आजसम्म पनि इम्फाल क्षेत्रमा ठूलै आवादी भेटिन्छ । आज चिरिक, निलकुथी आदि आदि उस समयको हाम्रो बसोबासको स्थानमा हामी थोरै अथवा उसबेलासँगको सम्पर्क नभई अन्य सम्पर्कले बसेका छौँ । उत्तर बीओसी र देउलालैण्ड यसमा अपवाद हुन जालान् ।

गोर्खा सिपाहीबाट सन् १९१० यता खडा गरेको असम राइफल्समा प्रायः गोर्खा सिपाहीहरू थिए । सन् १९१७ मा चौथो असम राइफल्स मणिपुरमा आयो । गोर्खा बाहुल्यता हुनका कारण हुनुपर्छ, आज पनि यसको चिन्ह खुकुरी यथावत् छ । असम राइफल्स मणिपुरमा गोर्खाहरूका इतिहासमा विशेष स्थान राख्दछ । हामी इम्फालका वरिपरि मात्र घुम्दैछौँ । यो त राजदरबार र सैनिक छावनीवरिपरिको कुरो भयो । हाम्रा अवकाश प्राप्त सैनिकहरू उत्तरतर्फ कङलातोङ्बीदेखि मणिपुर सीमाकै छेउ मारामसम्म बसोबासो गर्ने सरकारी आदेशसँगै बसेका छन । यस क्षेत्रतिर हाम्रो बाहुल्यता तबबाटै रहिआएको हो । कङ्लातोंबी, चारहजारे, मोतबुङ्ग नेपाली, कौब्रुलैखा, तोप्पा, परसाईं सन्तोलाबारी, सम्पूर्ण कालापहाड, काङ्पोक्पी तोरीबारी, सोङपेजाङ, माओहिङ, सात आठ माइल उता इराङ्ग पार्ट एक र दुईका विभिन्न गाउँ । केही नामहरू पाठकहरूका निमित्त यसरी भन्न सकिन्छ, पौडेल बस्ती, बाह्र माइल, चुचेखोप, मानेडाँडा,टारबस्ती, स्कूल परगण्डा, रिजाल टार हाँस पोखरी, तिम्सिना , थल डाँडा, नैवेद , मकुई नेपाली, बाँजागरा , गोर्खा हरूप, गोर्खा तपन, हरुप खोपी, गोर्खा झील, कोलघारी, ठूलो चौर आफ्नै भाषामा रहेका नाम । यता कालापहाडका वरिपरि पसपति, सन्तोलाबारी, सेतीखोला र गोपीबुङ्ग हाम्रो जनसंख्या पातलिएर भए पनि अस्तित्वसँग रहेका गाउँ हुन् । चन्द्रमान, मुकुली, खारखोला, नुनपानी, लैमखोङ, द्वारिका आदि हाम्रा अस्तित्व बोकेका गाउँ हुन् ।

आज अनेक जिल्लामा विभाजित छ मणिपुर । इम्फालपूर्व, पश्चिम काङपोक्पीका वरिपरि हामी घुम्दैछौँ । इम्फालपश्चिम हाम्रो बहुल्यता रहेको कङ्लातोंबीभित्र ठूल्ठुला गाउँका नामहरू पनि उल्लेख गर्न ठीक होला । मन्दिर, पाण्डव बस्ती, विजय नगर, शान्तिपुर, एआर कोलोनी, हाथीखोवा, तीसपरी, बजार बोर्ड र हाल नयाँ बस्ती, ड्राइभर कोलोनी आदि आदि छन् । सेनापति जिल्लामा माराम राई बस्ती, गुरुंग खुट्टी, मकै पाते, उदिन ढुङ्गा कति नाम आफ्ना छन् र अरू अनेक बस्तीतिर हाम्रो बाक्लो बसोबास छ । इम्फालपूर्वकै कोपाक, सदु, इकौ, मकेङ, दोलाइथाबी, मोलकोन, हङङगोईपात आदि तिर बाक्लो बसोबासो आज पातलिँदै आएको छ। ककचिङ जिल्ला मणिपुर मैदानको दक्षिणतर्फ सेरौ गाउँमा हामी प्रसस्त छौँ । उता दक्षिण नै तेङनौपाल जिल्ला बर्मा (म्यान्मार) सँग सिमाना जोडिएको भारतको एक मुख्य व्यापारिक केन्द्रमा हाम्रो राम्रो व्यवसायी वर्ग बसेको छ । यहाँ “मोरे नेपाली बस्ती” ले हाम्रो शिर ठाडो राख्न सकेको छ ।

चुराचान्दपुर, उख्रुल जिल्ला पहिले गोठ पाल्ने बाजे बराजुका सन्तान आज व्यापारमा प्रवीण भएका छन । “पहिलो खेती दोस्रो गोठ, व्यापारीका फुस्रा ओठ” आज यहाँ लागु छैन । राज्यका अनेक क्षेत्रमा हाम्रो मानिस व्यापारमा कुशलतासँग अघि बढदैछन् ।

मणिपुर