समाज सेवक तोलमुले त्यो पुरानो हुन खोजेको समाचार पत्र ध्यान दिएर पढ्दै गरेकोबाट टाउको घुमाएर आँखा झिमिक्‌-झिमिक्‌ गर्दै धेरै बेर केही सोचे । एउटा बिंडी सल्काएर लामो घुँवा छोडे। उनले पढ्दै गरेको समाचारको भाग फेरि राम्ररी हेरे। यसो आफै टाउको निहुराएर केही निर्णय लिए। पर कुनामा कम्मरमा पहाडी लुगा बाँधेकी-बेरेकी आफ्नी पत्नीलाई भने,

– ए ! चाउबीरै भात बसाउ। इम्फाल जाजु पर्यो।
_ अब फेरि के थाल्ने हो ?
_ मन्त्री भेट्नु प॒र्यो। ठूलो पैसा आउने बाटो देखियो ।

चाउबीरै केही मुस्कुराइन। मनमा सोचिन- अब पाथबीको छरूवा धान छर्ने ठूलो खेत यस पाला गयो, मुखमा केहि आवाज निकालिनन्‌। आफ्नो पतिको अत्याई र फुर्क्याई उनलाई सबै थाहा छ। भात बसालिन्‌। तीन दिन इम्फाल बसेर चक्कर काटेका तोलमु बिहानै फर्स्ट बसमा घर फर्के। गाडीबाट ओर्लेर सिधै घर पसेनन्‌, करिम खानका तिर गए।

– करिम दाई हुनुहुन्छ ?
– अपुई, तोलमु के हो सपना जस्तो ?
– ए ! करिम दाई यस पाली हाम्रा तीन गाउँको उठ्ने मौका छ। हाम्रा प्रत्येक

व्यक्तिको पर केपिटा आय मज्जाले बढाउन सकिनेछ। सरकारले पैसा खन्याउने छ। मन्त्री अति खुशी भएका छन्‌। निकोर्सि एक मानिस पठाएर सबैसँग सल्लाह गराउने छन् । अनी सबै गहिरो विचार गरौं । करिम दा तपाईँ कहाँ कुखुरा कति छन् ?

गाउँलेहरू सबै भेला भएको दिन मन्त्रीले अफिसबाट पठाउने मानिस आफ्नो व्यस्तताले आउन सकेनन्‌। स्पष्टसँग समाचार पठाएका पनि थिएनन्‌। लामो प्रतीक्षा पछि समाज सेवक तोलमुले सबै माझ संदेश सुनाए। खाना खाने समय अघि विदाईको घडीको उपयोग गर्दै उनले भने,

– कुरो के भने बडिबा, भेना धोजो, दाई मेरा, हजुरबा चाउबा, साथी लुखोई आबेरहरू पनि सुन्नु होस । कुखुराका १००० पोथी पाल्नु पर्छ। यिनीलाई चारो हाम्रा आफ्ना घरबाट निकाल्नु भनेको थोरै हुन्छ के त, होइन र करिम दाई।

मुहम्मद करिमले जवाफ दिन भ्याएनन्‌, मासु काट्ने धमाधम छ। उनीहरू दुई तीन जना भएर अघिबाटै काट्न लागेका हुन। किन्ने पैसा तोलमुमे दिएका हुन। करिमले यसो टाउको हल्लाए, उ शिकार बनाउँदै छन्‌। तोलमु भन्दै गए-

– १००० माउ कुखुराले, हजार पूरै न भनौ; ८०० पनि छोडौं ५००-५०० सयले एक दिनमा ५००-५०० अण्डा। हिजो आज हाम्रा गाउँमा एउटा डिम्बालाई ६०-७० पैसा पर्छ। अम्मुई। इम्फालमा त ढाँटो भन्नु हुँदो हो, तीनोटालाई दुई रूपियाँ गरी दस पैसा घटिन्छ। तीनै पनि स-साना फिस्टाका डिम्बा जस्ता । त्यो बजारको खुल्ला बिक्री हो। हामीले एकको ५० पैसाका हिसाबले एकै मुष्ठ बेचे पनि हेरौं त ५०-५० त ५००; टू हण्ट्रेड फिप्टी; एक दिनमा २५०-२५० दुई दिनमा ५००; चार दिनमा १०००; एक महिनामा पूरा ७५००; १०००० मा २५०० मात्र कम। यो हामीले खोल्न लागेका फार्ममा आउने पैसा हो। हाम्रो तीन गाउँको पैसा । एक वर्षमा ९० हजार रूपियाँ आफूसँग आए हामी गाउँका किसानहरूले इम्फालका महाजनहरूबाट किन ऋण लिनू पर्दथियो। अर्काको खेत अधियाँ कुतमा किन गर्नु पर्थ्यो। छोरा-छोरीको सम्पूर्ण खर्च हाम्रा यहीँ आयबाट चलाउन सकिन्छ। हाम्रो वित्थाका कुदी कुदाईको काम गर्नु पर्दैन। अर्को वर्ष सबै  गाउँको एउटा ट्रेक्टर किन्ने । एक दुई वर्षमा बिजुलीले गाउँ झलमल्ल बनाइन्छ, नलको पानी ल्याइन्छ।

‘सबैका माझका बली रहेको लाल्टेन, हावा पसेझैं गरी दुई धप-धप गर्दै केही । क्षणमा निभ्यो। अँध्यारो रातको त्यो साँझ एक अर्कामा बिडी सल्काई-सल्काई । गरेको उज्यालो माझ, त्यो पहिलो मिटिङ सिद्धियो। धेरै लामो चलेन।

पछि पाँच दिन गर्दै दुइ तीन खेप जम्मा भए । एक पछि अर्कोमा मानिसको संख्या घट्दै गयो । प्रस्ताव भने अझ असल राम्रा लिइयो । यस मास सबैका सेवक तोलमु बराबर इम्फाल गई रहे । प्रफुल्ल अनुहारसँग फर्कन्थे । चाउबीरैलाई विश्वासिला कुराहरू सुनाउँथे । ताउथबी खेती उनको पेवा पनि होइन । सुत्ने बेलामा उ विस्तारै केही कुरा भन्दै थिए-उद्घाटनमा मन्त्री आइ दिए त केही रूपियाँ
त झर्ने थिए। पहिलो इण्स्टलमेण्ट पाइए त क्या मज्जा हुन्थ्यो; जय गुरूदेव।

भवानी अधिकारी

– सबैको एक मत र तोलमुले ख्वाएका चिया-पानीका कारण करैले गाउँका केही युवा, बुढा-पाकाहरूले आफ्ना-आफ्ना घरबाट काठ-बाँस भेला गरी बिहानको खाना अघि उएटा स्यानो कटेरो बनाइयो। अलि-अलि खर, पराल छेउछाउमा माँग जुँग गरी त्यसलाई छापियो। वरी-परी बाँसका, भाटाले बेरा लगाइयो । काँटी ठोक्न न मिल्ने हुँदा कलिलो बाँसका चोया काटेर बाँधियो। घुँडा अलिक माथिसम्म माँगी ल्याएका चित्रा-सित्राले बारियो। तोलमुका भनाई अनुसार भुस, पराल, घाँसको सोत्तर भुँइमा छरियो। चारो दिन पुराना आरी, चुठुवाहरू राखियो। ओथारा बस्न भनी लता-कपड्डाको बींडा बनाई कुना काप्चामा राखियो । टक्कै दूरूस्तै तयारी भई सके पछि उनको च्याट्ट परेको घडी हेरेर भने,

– लहै! कुखुरा त खै ! मुख्य अतिथि आउने समय भई सक्यो ! ओहो…करिम दाई, जलाल, तोम्बा, मैनो इम्फालबाट त मान्छे आई पुग्छन्‌; कुखुरा पनि राख्नु पर्छ, छिटो गरौं न। मैले सबैलाई भनी राखेको छु, सबैले दिने छन्‌।

करिम दुगुरे। जलाल, तोम्बा मैनोहरूले छेउछाउबाट एक दुई खोजी ल्याए। त्यस ठूला कटेरामा थुनिए। भित्र हुल्दै गरेको एउटा भागेर उम्कियो। टेड्रो हुँदै खेततिर कुद्रयो। केटा-केटीहरू धेरै भएर पकडने हुँदा एउटा खुट्ठो भाँचियो। भाँचिए पनि फार्मको हो, संख्या कम हुनु भएन; ठूलो खातामा संख्या लेखिएको छ। ठूलो खातामा विभिन्न रंगका स्याहीले आजसम्मका हिसापमा पोथी, भाले चल्ला गरी एक हजार भन्दा कम छैनन्‌। तोलमुले ‘फिजीकल भेरिफिकेशन’ गर्दा बुढा पोथी-पाँच; भाले दुई, एउटा खुट्टा भाँचिएकासँग तीन; भुत्ला झरेर फेरि पलाउन नसकेका बीरामी आठ, त्यस मध्य तीन टाउको निहुराई रहने, केही खान नसक्ने छन्‌। एउटालाई तोलमुले पसेर समाई हेर्दा लडेको उठनै सकेन । दस वटा जति चल्ला कुनै चुचो टेडा जस्ता भएका, केही बीरामी जस्ता भए पनि, दर्बिला बलिया देखिन्थे। डिम्बासँगै राखिएको थियो।

निश्चित समय भन्दा चार घण्टा पछि उद्घाटन समारोह शुरू भयो। मुख्य अतिथिले रातो रिबोन काट्नु भो। अँध्यारो हुन लाग्नाले कार्यक्रम धमाधम गरियो । आफ्ना भाषणमा कुखुरा एवम्‌ डिम्बाले देशका आर्थिक स्थितिमा कसरी सुधार ल्याउनु सक्छ भन्ने कुरा एक-एक गरी राख्नु भो। यसका साथ साथ्रै डिम्बा, दूध अनि केराले शरीरमा (स्वस्थ्यमा) हुने लाभको पनि विवरण प्रस्तुत भयो। अन्तमा यस क्षेत्रका किसानको मेहनत, विकास तर्फको ज्ञान, एकताको बखानसँगै सहारना गरियो । चुनाव नजिक आए झैं छास-छुस पार्टीका एक दुई कुराहरू पनि मिसाइए; अन्य अरू कुरो धेरै केही गरिएन। यहाँ प्राप्त हुने अनुदानको कुरोले भाषण टुङग्याइयो। फार्मका तर्फबाट आफ्नै उत्पादनको एउटा सानो भोजको इच्छा रहँदा रहँदै पनि, समयका अभावले निकै दामी उपहार लिएर मुख्य अथिति गए। चाउबीरैले बनेको राम्रो कपड्डा उपहारमा थियो।

जुनेलीमा त्यो कुखुराको खोर बनाएको कटेरो भत्काइयो। आफू-आफूले ल्याएका बाँस, काठ-पात बाँसका भाटा सबै आफू-आफूले लगे। आफ्ना-आफ्ना कुखुरा समातेर लगियो। पाँच छ दिन पछि खनेको डोबसम्म पनि नामो निशान भएर पुरिए। स्टोक रजिस्टर तोलमुकहाँ छ। दिनै हिसाब हुन्छ। कैशबुक चाहिँ करिम कहाँ छ; सब्वैँ हिसाब गरिन्छ।