
असाधारण, अद्भुत र विस्मयकारी । पाठकका रुपमा म प्रायः यस्तै खालका कथा, पात्र र बयान खोज्दो रहेछु । आफूसँग त्यस्ता लेखोट लेख्ने खुबी नभए पनि कसैले लेखिदेओस् भन्ने सदिच्छा राख्दो रहेछु । खोज्दै जाँदा त्यस्तो ‘ड्रिम बुक’ भेटियो, दुई वर्षअगाडि । ठ्याक्कै मैले लेख्न खोजेजस्तै किताब । किताबः अद्भुत तिवारी । विधाः संस्मरण । लेखकः भुवनहरि सिग्देल ।
कसै कसैको जीवन कहानी विचित्र बनाउनै पर्दैन, आफैँ बन्दो रहेछ । समाजका अनौठा यथार्थलाई पत्याउनु, नपत्याउनु पाठककै मर्जी ।
दाङको भालुवाङ, गंगापरस्तपुर, सौतयाका मानबहादुर तिवारीबारे सुराकी दियो कसैले भुवनहरिलाई । ‘दिनमै १६ बोत्तलसम्म लोकल रक्सी पिउँछन् । दिनको चार किलो मासु खान्छन् । घाउ भयो भने अगुल्टाले पोलेर ठीक पार्छन् ।’
काठमाडौँबाट मोटरसाइकलमा २०६८ कात्तिकमा उनको घर पुग्छन् । र, पस्कन्छन्, ‘आँखो देखो हाल’ । रिटायर्ड इन्डियन आर्मी तिवारी त्यतिबेला ८३ वर्षका थिए, अहिले ९२ पुगे । लेखककै सामुन्ने तिवारी त्यही मात्रामा पिउँछन् । तिवारी कति जब्बर भने तीन दशकअघि देखा परेको चिनी रोग ओखती खाएर होइन, निमको पातको तरकारी खाएरै ठीक पारे । लेखक सोध्छन्, ‘अहिले छैन त्यो रोग ?’
‘अहँ छैन । यो हरिपसँग सकिन्न भन्ने ठान्यो होला, आजको दिनसम्म फर्केर आएको छैन ।’
‘फेरि आयो भने नि ?’
‘आउँदैन । रुख त्यहीँ छ । म यहीँ छु ।’
२०७५ मंसिर २५ मा फेरि तिवारीकहाँ पुग्छन्, लेखक । ९० वर्षको उमेरमा बुढ्यौलीको असरकसर केही छैन । समस्या भनेकै उही १६ बोत्तल हो । लोकल कुखुराको हड्डी पनि मर्याङमर्याङ चपाउँछन् ।
मानबहादुर आफैँलाई रहस्यमय मान्छन्, सपनाजस्तो । उनी लेखकका बारेमा सोच्छन्, ‘मेरो घरसम्म आए कसरी ? मेरो बारेमा किन चासो राखे ? फेरि लेखे किन ?’
दोस्रो संस्मरण छ, ‘असाधारण भीमबहादुर’ । सुन्दरीजल, आलापोटका भीमबहादुर थापा जन्मेको छ वर्षसम्म सामान्य थिए । पछि असामान्य रुपमा अग्लिँदै गए । उनका अगाडि जो कोही मानिस बामपुड्केजस्तो लाग्थ्यो । उनलाई एक हात बराबरको जुत्ता चाहिन्थ्यो । धन्न बाँसबारी छालाजुत्ता कारखानाले उनका लागि १३ नम्बरको जुत्ता बनाइदिएको थियो ।

राजकुमार बानियाँ
मानिसहरु भन्थे रे, ‘भीमेजस्तो शरीर पाउनु पनि पापै हो । बिचरा बसको सिटमा कहिल्यै बस्न पाउँदैन ।’ उनले बसको ढोका छेउमा कुप्रिने मात्र छुट पाउँथे । उनी कति बलिया भने मंसिरको काँचो धान खलाबाट दुईतिर काँधमा राखेर नबिसाईकन घर पुर्याउँथे । गाउँमा घर बनाउने निदाल बोक्ने उनै हुन्थे ।
१६ लागेपछि उनी पेटभरि खान पाइने आशामा सेनामा जागिर खान पुगेछन् । तर, बिहानबेलुकीको एक-एक ट्वाक भात उनका लागि हात्तीको मुखमा जिराजस्तो हुन्थ्यो । उनी दुब्लाएर हाडछालामात्र रह्यो । राजदल गण निरीक्षणमा गएका राजा महेन्द्रलाई उनले बिन्ती बिसाएछन्, ‘सर्कार, पेटभरि भात खान पाऊँ । राजाले हुकुम दिएछन्, सबै सिपाहीलाई पेटभरि दुई छाक खान दिनू । यो विलक्षण सिपाहीलाई एक तह बढुवा गरिदिनू ।’
रौँसे भीमबहादुर जात्रा हेर्न हेर्न ब्यारेकबाट भाग्दा रहेछन् । सजाय पाएछन्, १० वटा इँटा बोकेर फुटबल मैदान दस चक्कर लगाउने । भीमबहादुरले चारवटा बोरा बिगारेर एउटै बनाएछन् र सात सय इँटा काँधमा हालेर एक चक्कर लगाएछन् ।
यस्ता अनेकौँ किस्सा छन् किताबमा । भीमबहादुरसित भुवनहरिको व्यक्तिगत सम्बन्ध पनि थियो । लाग्छ, खान्कीमा एकदमै रुचि छ लेखकको । ‘भोक र भुँडी’ त्यस्तै अध्याय हो । उनले पृथ्वीनारायण शाहका दाहिने हात मानिने सरदार कालु पाण्डेको किंवदन्ती पनि समेटेका छन् । कालु पाण्डेको ज्यान कति भीमकाय थियो भने तोरीका दाना मुठीमा राखेर तर्रै तेल निचोरिदिन्थे रे । आरामले खान पाए भने सिंगै बोकाको मासु पोलेर खाइसक्थे रे । दसै औँलामा राखेर पुतली नचाउने कुस्ले, पाँच मानाको भात खाने फुले बूढा, काँचो चामल र साग काँचै खाने चित्लाङको भरियाको साँचो कहानी पनि किताबमा छन् ।
भुवनहरिलाई विलक्षण पात्रको के दुःख ! एउटा संस्मरण आफ्नै अफिस राष्ट्रिय कम्प्युटर केन्द्रका प्रोग्रामर कल्याणनाथ उपाध्यायको अद्भुत्याइँबारे छ भने अर्को संस्मरण बेपत्ता अधिकृत हरिचरण शर्माका नाममा । कालु पाण्डेबाहेकका सबैजसो पात्र उनले आफैँले देखे, जाने र बेहोरेका यथार्थ पात्र हुन् । तैपनि लाग्छ, कसैको जीवन यति अद्भुत होला र ? कति स्मृति हुन्, कति विस्मृति ? तैपनि यी भला मानुसको भावना इमानदार छ ।

भुवनहरि सिग्देल
‘अद्भुत तिवारी’ का लेखकको व्यक्तित्व आफैँमा अद्भुत होला कि नहोला ? मलाई लामो समयसम्म त्यस्तै लागिरह्यो । जीवन स्वयंमा विस्मयकारी आख्यान हुँदा रहेछ । कम्तीमा भुवनहरिका हकमा त्यस्तै लाग्छ । ५० वर्षको उमेरसम्म उनले कलम उठाएकै थिएनन् । यसको कथा लामो छ । साहित्य पोस्टका पाठकलाई झिँजो नलाग्ला ।
उनको जन्म पनि अद्भुतै लाग्छ । अद्भुत कुन अर्थमा भने आमा १३ र बा ५० वर्षको हुँदा विवाह भएको रहेछ । जेठी आमा बितेपछि बाले दोस्रो बिहे गरेका रहेछन् । बा ५५ वर्षको हुँदा अर्थात् २००७ सालमा जन्मिएका जेठो छोरा रहेछन् भुवनहरि । बुढेसकालमा जन्मिएको छोरा लाडप्यार र स्नेहपात्र हुने नै भए । त्यसैले उनलाई सडकमा गाडी हिँड्ने ठाउँमा पढ्न जानै दिएनन् ।
बा उनलाई घरमै रुद्री-चण्डी मात्र पढाउने, उनी त्यो पढ्नै नचाहने । त्यसैले १३ वर्षको वयमा एक दिन भागेर स्कुल पुगे । भुवन अन्तर्वार्ताबाट तीन कक्षामा भर्ना भए । वरिपरिका साथी सबै चिचिला सिँगाने थिए भने उनी जुँगाको रेखीसमेत बसिसकेका लबिदरे । केटाकेटीले उनलाई खूब गिज्जाए । त्यही झोँकमा बल्खु खोलामा रुद्री, चण्डीका किताब बगाएर घर फर्किए ।
उनको पुख्र्यौली थलो हो, थानकोटपारि दहचोक । काँठको टुप्पोमा थियो घर । आर्थिक अवस्था पनि दह्रो थिएन । स्कुल थियो फेदी थानकोटमा । १३ वर्षमा स्कुल प्रवेश गरेका भुवन १६ वर्ष अर्थात् २०२४ सालमा एसएलसी गरीवरी बाहिरिसकेका थिए । यस अर्थमा उनको पढाइ पनि अद्भुत नै ठहरियो ।
भीमढुंगाकी मरहट्ठाकी छोरीसँग मामाले कुरा छिनेर आएका रहेछन् । उनले चाहिँ हेरेकै थिएनन् ।
उनी कस्ता पढन्ता भने रातभरि पनि पढ्ने, बाटोमा पनि पढ्ने । तीनमा पढ्दा कक्षा ५ र ६ का किताब पढ्थे र ‘मलाई ६ को जाँच लिइदेऊ न’ भनेर गुरुलाई धुरुक्कै बनाउँथे । जाँच लिएपछि कक्षा फड्किहाल्थे । कक्षा ९ र १० बाहेक कुनै पनि कक्षा उनले एकाध महिनाभन्दा बढी पढेनन् ।
एसएलसी सक्दा नसक्दै उनका पिताजी बिते । आमा ३२ वर्षकी सुत्केरी थिइन् भने कान्छो भाइ नौ दिनको । उनीपछि तीन भाइ, दुई बहिनी जन्मेका थिए । उनका पिता राणाकालको सेनामा रहेछन् । १४ वर्ष हवल्दारी पदमा रहेर १९८४ सालमै जागिर छाडेछन् । पिताजीको बरखी सकिएको दोस्रो महिनामै काकी (आमोइ) को बलले १२ वर्षकी फुच्चीसँग उनको बिहे भयो ।
भीमढुंगाकी मरहट्ठाकी छोरीसँग मामाले कुरा छिनेर आएका रहेछन् । उनले चाहिँ हेरेकै थिएनन् । दुलही ल्याएपछि पढ्न सकिन्न भन्ठानेर उनले सुहागरात समेत नमनाई दुलहीको बिस्तरा छुट्याए । पाँच वर्ष बोलचालै भएन । १६ नाघेपछि मात्र पत्नी मिलन गरे । दुई छोरा र एक छोरी जन्मिए ।
रोचक के भने, काकी (आमोइ) भन्दा १३ वर्ष कान्छी थिइन् भुवनहरिकी आमा । आमोइका पति (कान्छा बा) ले १२ वर्षमै आत्महत्या गरेका रहेछन् । घरमा एकल महिला आफू र एकल पुरुष जेठाजु मात्र भए । आमोइले आफ्नै साख्खे बहिनी जेठाजुका लागि मागेकी रहेछन् । यसरी उनकी आमा नातामा साख्खे दिदीकी जेठानी हुन पुगिन् ।
आमोइ र आमा, भाइबहिनीका लागि उनले जागिर नखाई धरै पाएनन् । त्रिचन्द्र कलेजमा भूगोल विषय लिएर आईए पढ्दापढ्दै प्रेसमा जागिर सुरु गरे । त्यहाँ उनको काम थियो, छपाइको काम आएपछि कुन कागज, कति रिम, कति ताउ हो गनेर मेसिन अपरेटरलाई दिने अनि बालाजु या पाटनढोका गएर सिसाका मसिना अक्षर किनेर ल्याउने ।
वसन्तपुरको एसियन प्रिन्टिङ प्रेसमा काम गर्दाका प्रसंग पनि अद्भुतै छन् । त्यसका सञ्चालक अमरकाजी र मोतीकाजी तुलाधर मामाचेला र फुपूचेला थिए । उनीहरुबीच १२ वर्षदेखि बोलचालै रहेनछ । उनीहरुको मेच र टेबल भने एउटै थियो । बिहान आठ बजेदेखि प्रेस खोल्न आउने अमरकाजी ठीक एघार बजे मोतीकाजी ढोकामा देखा परेपछि बसेको कुर्सीबाट झटपट उठ्थे । बेलुकी पाँच बजे अमरकाजी फेरि आउँथे र मोतीकाजी त्यसरी नै जुरुक्क उठेर हिँड्थे ।
आपसमा नबोले पनि उनीहरु कति आज कति काम भयो ? को कसका थप काम लिइयो ? कुन सर्तमा लिइयो ? गर्नुपर्ने काम केके छन् आदि कुरा एकाध पाना लेखेर टेबलमा छाडिदिन्थे । कहिलेकाहीँ दुवै जना भुवनहरिलाई प्रतिपक्षीजस्तो मानेर धूम्रकटाक्ष गर्थे । अमरकाजीको छोराको बिहेको लपट्या भ्वयःमा भने दुवै जना खरानी रंगको सुट सेतो कमिज र रातो टाई लगाएर पाहुनाको स्वागत गरेको देख्दा भने उनले पनि पत्याउनै सकेनन् । यी दुई सञ्चालकले एक वर्षको अन्तरालमा मृत्युसँग सहमति गरेछन् ।
प्रेसपछि थानकोट र कालीमाटीका स्कुलमा पढाए भुवनहरिले । २०२९ सालमा शिक्षा निरीक्षकको जागिर खाएर पाँचथर पुगे । एक वर्षमै छाडिदिए । इतिहास विषय लिएर बीए पढे । आफ्ना दुई भाइलाई पढाए । एउटाले पीएचडी गरे, अर्को भेटेनरी डाक्टर भए । बहिनीहरुका बिहेदान गरे । घरव्यवहार सम्हाले ।
२०५५ सम्म राष्ट्रिय कम्प्युटर केन्द्र (पहिले यान्त्रिक सारिणीकरण केन्द्र) मा प्रशासनिक अधिकृत थिए भुवनहरि । तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानले कम्प्युटरलाई नेपालीकरण गरिदिएको थियो, ‘सुसाङ्ख्य’ । हिन्दीमा टर्चलाइटलाई ‘ज्योतिर्मय फुचिका’ भनेजस्तो । रोचक के भने केन्द्रमा आएको पहिलो पुस्ताको कम्प्युटर आईबीएम कम्पनीको थियो । जम्मा टू एमबी ¥यामवाला कम्प्युटर कति विशाल थियो भने राष्ट्रिय तथ्यांक विभागको भुइँतलाभरि त्यसका शाखा-प्रशाखा छरिएका थिए ।
त्यो एकल कम्प्युटरका लागि २ सय ८३ जना कर्मचारी थिए भने प्रोग्रामिङका लागि १२ जना अधिकृत । त्यसले जिरो र वनबाहेक केही चिन्थेन । न एकदुईतीनचार आउँथ्यो, न कखगघ, न एबीसीडी । जिरो वन हेलमेट, जिरो फोर टेलिफोन आदि इत्यादि भनेर चिनाउनुपर्थ्र्यो उसलाई । त्यो पनि टाइप गरेर होइन, कार्ड पन्चले कागजमा प्वाल पारेर बुझाउनुपर्ने । ६४ जना अपरेटरले दिनभरि कागजमा प्वाल पारेर डाटा इन्ट्री गर्थे । त्यसको दर्शन गर्न जानेले बाहिरै जुत्ता खोल्थे, बाहिरी गदालो (एप्रोन) भिरेर जानुपर्थ्र्यो ।
पहिले त्यो कम्प्युटर खासमा जनगणनाका लागि भारतले भाडामा ल्याएको रहेछ । भारतमा २०१८ सालको जनगणना त्यसले सात महिनामै फत्ते गरेको रहेछ । मानिसले काम गर्दा नेपालको अवस्था के भने २०१८ सालको जनगणना २०२४ मा मात्रै सकिएछ । त्यो कालजमाना भने क्यालकुलेटर समेत थिएन ।
२०२८ सालमा फेरि जनगणना हुने भयो । भारतको त्यही पुरानो भाँडो नेपालले एक लाख भारुमा भाडामा ल्याएपछि नै राष्ट्रिय कम्प्युटर केन्द्र खुलेको रहेछ, २०३१ सालमा । त्यो अड्डा २०५५ सालमा गिरिजाप्रसाद कोइरालाको सरकारले खारेज गरिदियो ।
राति सात बजेतिर सबै उठेर गएछन्, उनी मात्रै कुनामा बाँकी रहेछन् । बूढाले ठाड्ठाडै सोधे, ‘ए तिमी को हौ ? के काम गर्छौ ?’
जागिर खोसुवा हुँदा जम्मा ५० वर्षका थिए भुवनहरि । अब जागिर खाने उमेर पनि थिएन । सडक आन्दोलन गरे, अनसन बसे । प्रहरी लगाएर लखेटिएपछि उनी विचलित भए । ‘त्यतिन्जेल मैले जागिर सिवाय केही सोचेको थिइनँ । जागिरेलाई दुनियाँ केही थाहा नहुने रहेछ । सोझै घरबाट अफिस गयो, चिठी र टिप्पणी लेख्न आउँछ, प्रतिवेदन बनाउन आउँछ,’ उनी भन्छन्, ‘म त्यस्तो गोरु भएछु २४ वर्षसम्म ।’
त्यही बेला बासुदेव लुइटेल भूतको भिनाजूको घर ढुंगाअड्डा पुगे । खेसका दौरा लगाएका चिन्डे लुइटेल २०-२५ जनाको बीचमा अविरल प्रवचन दिँदै रहेछन् । उनको जागिर थिएन, काम थिएन, त्यसैले दिनहुँ त्यहाँ जान थाले । राति सात बजेतिर सबै उठेर गएछन्, उनी मात्रै कुनामा बाँकी रहेछन् । बूढाले ठाड्ठाडै सोधे, ‘ए तिमी को हौ ? के काम गर्छौ ?’
उनले भने, ‘जागिर छैन हजुर, यसो कविता लेख्न थालेको छु ।’
बूढाले भने, ‘मर्छस् ।’ उनले भने, ‘म के गरौँ त हजुर ?’
‘जागिर खा । उमेरै देख्छु । भोलि बिहान १० बजे फलानो ठाउँमा जा । मेरो नाम लिइस् भने तँलाई जागिर दिन्छ । त्यो मान्छेलाई मेरो ढोकामा भने प्रवेश छैन,’ पागल कुरा गरे लुइटेलले ।
त्यो रहेछ, ट्राभल्स एजेन्सी । उनी ‘हस् हजुर’ भनेर उठ्नै लाग्दा बूढा बस् भनेर झट्कारे । उनले सोधे, ‘तँसित इमानदारी छ ? तँसित सद्चरित्र छ ? पुरानो अड्डाको हाकिम रहेछस्, त्यसमा गर्व छ ? छ भने ती सबै लोग्ने मरेकी स्वास्नीले सबै गहना फुकालेजस्तो निकाल् र पाकेट रुमाल भुइँमा फिँजा र मुर्दालाई जसरी गाँठो पार र घरको खोपोमा फ्याँकिदे ।’
उनी सोचमग्न भए । अर्को अड्डामा गएँ, लुइटेल मार्काकै अर्को पागल बसेका रहेछन् । उनले दुई कप चिया मगाएर भने, ‘ए बासुदेवको मान्छे अघि आएको थियो । दस बजे एउटा मानिस आउँछ, त्यसलाई जागिर दिनू भनेको छ, त्यो तपाईं हो ?’
‘तेरो घर कता फर्किएको छ ?’ ……
‘आँगनको पानी कता बग्छ ?’ ….।
‘भत्काइदे । तुरुन्त खन्दे । घरवरिपरि के फल्छ ?’
‘निबुवा, कागती ।’
‘काँडा हुन्छ, काट्दे आगो लगाई दे ।’
त्यस्तै १५– २० वटा जति सवाल गरे ।
‘तपाईं कुन जागिर खाने, तलब कति लिने ?’
उनले केही भन्नै सकेनन् । काम दिए, दराजभरिको फाइल दुई महिनामा पढेर त्यसको सारांश निकाल्ने । अद्भुत बूढाहरुले उनको दिमाग खाए ।
ट्राभल एजेन्सीको जागिर थियो, उनलाई खटाइयो धादिङको जवाङखोला नामक चेपाङबस्ती नजिकको चुनढुंगा खानीमा । साहुकै अर्को कम्पनी । माओवादी द्वन्द्वको बेला थियो । भोक लाग्दा लक्ष्मण बुटीनामको आधा मुठी घाँस खाएर पनि काम गरे ।
२४ वर्ष काम गर्दा उनले जम्मा ३ लाख ७० हजार उपदान पाएका थिए । ट्राभल एजेन्सीमा सुरुको महिना साढे छ हजार तलब थियो, अर्को महिना १० हजार पुर्याए । खानीमा जाँदा २० हजार पुर्याए । निस्कँदा एक लाख तलब र १० हजार फिल्ड भत्ता थियो । नयाँ मोटरसाइकल पनि किनिदिएका थिए ।
१० वर्षमा उनले के काम गरेँ भन्ने नै थाहा पाएनन् । साहुजीले ७० लाखमा त्यो खानी बेच्न लागेका रहेछन्, भुवनहरिले सम्हालेपछि साढे १२ करोड दिन आए ।
२०६३ सालको एक दिन साहुजीले भने, ‘अब तपाईं पनि कति दिन ढुंगामुढाको काम गर्नुहुन्छ र ? म पनि बूढो भएँ । बेचिदिऊँ है । डेढ सय रुपियाँमा दर्ता गरेको खानी हो ।’
साहुजीले कम्पनी बेचेपछि पनि ढाक्रे भएनन् भुवनहरि । फिल्ड भत्तासमेत जोडेर तलब पाइरहे । काम चाहिँ दिनभरि साहुसित गफ गर्ने, चिया खाने, भात खाने र फर्कने । बिहान ८ बजे खुल्ने अफिस राति आठ बजे मात्र बन्द हुन्थ्यो । नेपाल बन्दमा समेत कहिल्यै बन्द नहुने । कतिसम्म भने शनिबार पनि बन्द नहुने १२ घन्टे अफिस । यसरी कति दिनसम्म तलब खाने ? उनलाई दिक्क लाग्यो ।
उल्टै साहुजी भन्थे, ‘भुवन दाइ मलाई पाप लागेको छ । मेरो ७० लाखको खानी तपाईंले साढे १२ करोडमा बेचिदिनुभयो । त्यसको अंश मैले दिएको छैन । तपाईंको घर अलि टाढा भयो । वास्तु मिलेको घर खोजेको छु, भेटेको छैन ।’ भुवनहरिलाई धेरैपछि थाहा भयो, खासमा वास्तुविद् रहेछन् साहुजी ।
भुवनहरि सरसापटी खोजखाजमा लागेका थिए । साहुजीले बैंक उनको खातामा ३० लाख खुसुक्क हालिसकेछन् ।
अन्ततः सानेपामा घर भेटियो । घरधनी राणाले दलाललाई भन्यो, ‘म दुई लाख तँलाई दिने हो । ५९ लाख पनि लिन्नँ, ६३ पनि लिन्नँ ।’
भुवनहरि सरसापटी खोजखाजमा लागेका थिए । साहुजीले बैंक उनको खातामा ३० लाख खुसुक्क हालिसकेछन् । त्यो पैसा कसरी तिर्ने भन्ने त्यही तनावमा उनले दर्जनौँ किताब लेखे । तर साहुजीले पैसा लिनै मानेनन् । त्यसपछि भुवनहरिले भनेछन्, ‘म अब यसरी जागिर खान्नँ ।’
हुन त उनले नानाभाँती गरेका थिए साहुजीका लागि । ७० वर्षको उमेरमा साहुजीको बिहे गराइदिए, एक्लो जन्ती गएर । साहुजी १५ वर्ष जेठा थिए तर दाइ भन्थे उनलाई । साहुजीलाई पैसा फिर्ताउनु नपरेपछि उनले जेठो छोरालाई घर किनिदिए ।
२०५४ सालमा ‘आर्तनाद’ खण्डकाव्य निकालेका थिए भुवनहरिले । छन्दको उतिसारो ज्ञान थिएन । आफैँ लेखे, आफैँ छापे । कसैलाई देखाएनन् । यस्तो पनि लेख्ने भनेर रमेश खकुरेलले किताबको झट्टी हानेपछि उनको आत्मसम्मानमा ठेस लाग्यो । उनलाई लाग्यो, ‘खकुरेल लेख्न सक्छ भने म किन लेख्न सक्दिनँ ? कोसिस गरे किन सकिँदैन ?’
२०६६ सम्म उनले दनादन डेढ दर्जन काव्य लेखे । चार वटा महाकाव्य र १२ वटा खण्डकाव्य छापुन्जेल उनले कोही प्रकाशक चिनेका थिएनन् । त्यसपछि उनमा आख्यान लेख्ने भूत सवार भयो । घरेलु आख्यान ‘आमोइ’ त्यसकै परिणाम हो । छन्दमा लेख्ने साथीहरुले गाली गरे । गद्य पढ्नेले तारिफ गरे । उनले दुवैतिर समानान्तर कलम चलाए । २०७७ सम्म उनले नौ वटा उपन्यास छापिसकेका छन् । नवीनतम उपन्यास ‘लालस’ उनको पैतिसौँ कृति हो । नछापिएका पनि थुप्रै पाण्डुलिपि छन् । उनका संस्मरण र यात्रा निबन्धका किताब पनि थुप्रै छन् ।
अद्भुत कथा ‘आमोइ’ लाई उनले जीवनी इतिवृत्त भनेका छन् । त्यो आफैँले छापेर छन्द अभियानका सारथि कमलमणि दीक्षितलाई दिएका थिए । दीक्षित पढेर फोन गरे र मदन पुरस्कार गुठीमा तीन कपी ल्याएर दर्ता गर भने । त्यसअघि उनले कुनै किताब गुठीमा दर्ता गरेका थिएनन् । पछि त मदन पुरस्कारको श्रेष्ठ सूचीमै पर्यो । आम पाठकबीच चिनिए । प्रकाशकले खोजी गरे । शिखा बुक्सका पुष्पराज पौडेलले किताबमात्र लिएर गएका थिए, फिनिक्स बुक्सले किताब छाप्छु भन्यो । फिनिक्समा हिँडेका भुवनहरिलाई रेशम विरहीले शिखा बुक्समै पुर्याइदिए । त्यसपछि उनले आफ्नो किताब आफैँ छाप्नु परेको छैन ।
शब्दको पहुँचबाहिरको यथार्थ लेख्ने खुबी छ उनमा । समाज र जीवनका कुनै पाटो पानी भरिएको गबुवा ढलेर पोखेजस्तो रित्तिएर लेख्छन् उनी । ‘शब्दले भाव मात्र सम्प्रेषण गर्छ । बोध शब्दातीत छ,’ उनी भन्छन्, ‘हामीले लेख्ने पढ्ने गरेको साहित्य त्यो अनुभूतिको नक्कल या स्पर्श मात्र हो ।’
राजा ज्ञानेन्द्र २०६५ मा राजगद्दी छाडेर नारायणहिटीबाट बाहिरिँदा ४२ जना नानी (यौनदासी) को दरबार र दुनियाँको पर्खाल भत्कियो । सरला महर्जन नामकी बूढीनानी मात्रै रानी रत्नसँग भित्रै बसिन् । उनलाई नानीको संसार जान्ने हुटहुटी भयो । जेलभन्दा महाजेल रहेछ, दरबार । बाहिरी संसार थाहै छैन । सिर्फ भोग्या । आमा बन्न नपाउने । गर्भिणी भए बाँसको झ्याङनेर खाडल खनेर जिउँदै पुरिने । बच्चा फ्याँक्न नमाने घोडाले कुल्चेर मारिदिनेसम्मका घटना थाहा पाए । दरबारभित्रको अद्भुत आख्यानात्मक चित्र दिए, ‘रमिलानानी’ । भलै के तारतम्य नमिलेर हो, त्यो किताबको त्यतिसारो चर्चा भएन ।
भुवनहरिको विशेषता के भने एउटा कथाको बीज कसैले बताइदियो भने त्यसको उद्गम खोज्दै पुगिहाल्छन् । त्यसलाई टिपेर ल्याएपछि मोबाइल पल्लो कोठामा फालिदिन्छन् अनि आफू ढोका थुनेर लेख्न बस्छन् र दुनियाँदारीको मतलबै नगरी एक महिनामै तयार पार्छन् । बिहान पाँच बजे लेख्न बसेपछि बेलुकी नौ बजे मात्रै उठ्छन् । १४ घन्टा एकै थलोमा बसेर लेख्ने उनलाई ज्याद्रो लेखक भने पनि हुन्छ ।
राजापुरमा १० दिन बसेर वादीको कथा लेखे, ‘जदौ मालिक’ । पोखरा, बाटुलेचौरमा सात दिन बसेर गन्धर्व संस्कृतिको कथा खिपे, ‘सारंगी’ । एक समय भाँड जाति खोज्दै हिँडेका थिए । भाँड त वादीमा मिसिसकेछन् । जनगणनामा पनि भाँड भेटिएनन् । कसैले बाहिरको अद्भुत कुरा गरे भने उनी हेलमेट लगाएर निस्किहाल्छन् । उनको मोटरसाइकलबाटै मुलुक यात्रा गरेका छन् ।
उनी लेख्दैनन् मात्र, सम्पादन पनि गर्छन् । कतिपय लेखकलाई त कति दिन घरमै राखेर पनि सम्पादन गरिदिएका छन् । छन्दका त उनी उस्ताद मानिन्छन् । ५०–६० वटा शास्त्रीय छन्दको ज्ञान छ उनलाई । नेपाली भाषामा निस्कने महाकाव्य, खण्डकाव्य जाँच्ने उनैकहाँ पुग्छन् । पीएचडीवाला, प्राध्यापक र छन्दखेतीलाला सबै छन्दको माम्लोमा उनैलाई सम्झिन्छन् । कहिलेकाहीँ यस्ता काममा दिक्क लाग्दा स्वलेखनमै केन्द्रित हुन्छन् ।
संस्कृतका ग्रन्थ पढ्ने लालसाका कारण बुढेसकालमा बाल्मीकि विद्यापीठमा संस्कृत भाषा कक्षा लिन पाउँदा उनको हृदयमा उमंग मडारियो ।
जगजाहेर छ, भुवनहरि सिग्देल अद्भुत लेख्छन् । मुख्य प्रश्न हो, उनका पाठक अद्भुत छन् कि छैनन् ? उनको अद्भुत्याइँ पाठकले पत्याउँछन् कि पत्याउँदैनन् ? अद्भुत रसका हिमायती यी लेखकलाई ‘धनञ्जय’ लेख्दा त्यस्तै भयो । ‘मैले समीक्षकको सातो लिएँ । तिमीहरु काठमाडौँ बाहिर गएका छौ ? पात्र कसरी चिन्छौँ ? उनी भन्छन्, ‘नयाँ उपन्यास लालस त धनञ्जयको पनि हजुरबाउ छ ।’
भुवनहरि अद्भुत किन लेख्छन् भने अत्यन्त जिज्ञासु छन् । संस्कृतका ग्रन्थ पढ्ने लालसाका कारण बुढेसकालमा बाल्मीकि विद्यापीठमा संस्कृत भाषा कक्षा लिन पाउँदा उनको हृदयमा उमंग मडारियो । सात वर्षमा काका जगन्नाथले रटाउन खोजेका १४ सूत्र उनले ७० वर्षमा कण्ठ गरे । अहिले उनी कालिदास, माघ, वाणभट्टका कृतिमा पस्न सक्ने भएका छन् ।
‘लेखकका लागि अध्ययन जरुरी हुँदो रहेछ । त्यसले मलाई विश्वविद्यालयमा पढेर नपाउने फराकिलो आयतन दिएको छ,’ उनी भन्छन्, ‘हामीले लेख्ने नयाँ विषय नै छैनन्, पूर्वजले लेखिसकेका छन् तर पढ्ने मान्छे पो छैनन् । हामीले फेदलाई भुलेछौँ र हाँगातिर मच्चिन थालेछौँ ।’
काठमाडौँको रैथाने भुवनहरिका दर्ता नभएको ५६ रोपनी जग्गा फेला पर्यो केही वर्षअघि । मालपोतको हाकिमले १२ लाख घुस माग्यो । त्यसरी पाएको केही जग्गा मोहीलाई दिएपछि तीन भाइको सगोलमा ३०–३२ रोपनी बँचेको छ ।
दुई दिनमा एक बट्टा चुरोट अम्मल गर्ने ७१ वर्षे भुवनहरिमा लेखकमा अद्भुत ऊर्जा छ । स्मृति घटेको छैन । बुढेसकालको अनुभूति छैन । युवाहरुसित संगत गर्छन् ज्यादा । उनमा थकान छैन । एक दिन हस्पिटल सुतेका छैनन् । ज्वरो पनि आएको छैन । न ट्याब्लेट लिन्छन्, न सुई ।
आयुर्वेदका पनि ज्ञाता छन् उनी । जलनेतीले पिनासको विनास गराइदिन्छन् । घरभित्र पस्दा मनतातो नुनपानीले जलनेतीले गर्दा कोरोना लाग्नै पाउँदैन भन्ने उनको अटल विश्वास छ । बूढी हलेदोको बेसार उनको जवानीको स्रोत हो । अपरेसन गर्न ठिक्क परेका प्रोस्टेटपीडित कवि कोशराज न्यौपानेलाई उनले अस्पतालबाट भगाए । छुरा लिएर बस्नै लागेका थिए डाक्टर । उनी गाउन फुकालेर भागे । उनले सिप्लकानको बोक्रा सिफारिस गरे । दोषराज भनिने कोषराजले मानेनन् । आखिरमा कविराजले पनि त्यही रामवाण बताइदिए । तब न औतारी भुवनहरि !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

