हामी बस्ने घर त्यतिबेलाको नैकाप मूलसडकको ठूलै घर थियो । तल पसल थियो, माथि बसोबास । उबेलाको घर बनाउने र कोठा बार्ने शैली अहिलेको भन्दा नितान्त फरक थियो । माटो र ईंटाको जोडाइ, त्यसमा पनि बाहिर पाको ईंटा, भित्र काँचो ईंटा । भुइँ तल्लामा २४ इन्ची मोटो भित्ता र माथिल्लो तल्ला हुँदै जाँदा १८ इन्ची, १२ इन्ची को चौडाइ । काठको दलिन, काठकै भर्याङ् । परिवार पनि ठूलो । तेल पेल्ने कोल, राइस मिल, पसल र खेती थियो पारिवारिक पेसा । त्यसैले चार जना जति घरकै भान्सामा खाने कामदार पनि हुन्थे । भान्सामा महिलाहरू, अन्य काममा पुरुषहरू । पसलमा चाहिँ पुरुषहरू ।

मैले यसपटक घरको सम्झना गर्न चाहेको होइन । त्यो घरमा भएको रेडियोको सम्झना गर्न चाहेको हुँ । सायद म १० वर्ष जतिको थिएँ । पसलमा एउटा रेडियो थियो । मैले जीवनमा देखेको पहिलो रेडियो । त्यो सम्भवतः डेढ फिट लामो एक फिट अग्लो, दूई इन्च मोटो, ६ वटा इभरेडी ब्याट्री लाग्ने नेसनल प्यानासोनिक रेडियो थियो । त्यो रेडियो पसलमा झुण्ड्याइएको हुन्थ्यो । कुनै स्टेसन त सजिलै टिप्थ्यो , कुनै भने खोज्नै गाह्रो हुन्थ्यो । रेडियो नेपाल, आकाशवाणी आदि सुनिन्थ्यो । गाउँका कतिपय मानिस रेडियो सुन्न पनि पसलमा झुम्मिएका हुन्थे । रेडियोलाई स्टेसन टिप्ने बनाउन त्यसमा भएको लामो एरियल तान्नु पथ्र्यो । म पनि सानैदेखि पसलमा बसेर सघाउँथें । बा–काकाहरु बाहिर जानु पर्यो भने, “आइज पसलमा बस” भन्नु हुन्थ्यो । आएर बसिन्थ्यो । मेरा लागि पसलमा दुई आकर्षण थियो । पिपलाँमेट र रेडियो ।

एक दिन म एक्लै पसलमा बसिरहेको थिएँ र रेडियोको स्टेसनको खोजी पनि गरिरहेँ । एरियल लामो पारें तर खोई आकाशवाणी त टिप्दै टिपेन । धेरैबेर चल्दा पनि नटिपेपछि मैले एरियल हतारमा दबाएर झार्न खोजेको त पटक्क दोब्रियो । अब भाँच्नमात्र बाँकी रहने भयो । मैले विस्तारै मिलाएर झार्न त झारें । तर त्यो अपराध गरेकोमा डर भइरह्यो । विशेषतः मेरा बाको रिसाएको रौद्र रुप कल्पना गरें । तर त्यो कुरो पछि उठ्दै उठेन ।

त्यसपछि बाले फेरि नयाँ र ठूलो बाकस जस्तो रेडियो किनेर ल्याउनु भयो । यो सम्भवतः बुश नामक कम्पनीको थियो । रेडियो ठूलो, आवाज पनि ठूलो । सायद प्रविधि पनि नयाँ थियो कि ! स्टेसन पनि फटाफट टिप्ने थियो । रेडियो सुन्नु परेमा सबै पसलमा जाने चलन थियो । छिमेकी घरकाहरु पनि रेडियो सुन्नेगरी नै जम्मा हुन्थे । एकपटक रेडियो नेपालको कुनै विशेष कार्यक्रममा मैले एउटा लेख पठाएँ र त्यो लेख रेडियोमा वाचन सुन्दा बडो खुसी लागेको थियो । साथै पछि पारिश्रमिक पनि प्राप्त भएको थियो ।

स्नेह सायमि

त्यसपछि हाम्रो घरमा एउटा रेडियो कम टेप रेकर्डर भित्रियो । त्यसमा सबै अक्षर नबुझिने थिए । त्यो जापानको स्थानीय रुपमा प्रयोग हुने हुनाले सबै जापानी भाषामा लेखिएको थियो । तर पिकनिकमा बोकेर लान मिल्ने, कोठामा पनि राख्न मिल्ने, छरितो थियो । त्यो रेडियो कम टेप रेकर्ड खुबै सुनियो । पछि त्यो टेप २०४६ सालको आन्दोलनताका खुबै प्रयोग भयो । त्यसमा भएको सर्ट वेभकै रेन्जमा प्रहरीको वाकीटकी चल्ने रहेछ । जुन नेपालमा पाइने रेडियोमा त्यो सुविधा थिएन । प्रहरीका सबै कुरा सुनेर आन्दोलनकारीले योजना बनाउँथे । म आफैंले तत्कालीन गृहमन्त्रीले आत्तिएर कुरा गरेको सुनेको छु । अच्युत खरेलजीको तीखो स्वर त सुनिरहनु पथ्र्यो । आन्दोलनपछि त्यो रेडियो अलि कुच्चिएको हालतमा फिर्ता आयो । तर न धन्यवाद न कुच्चिएकोमा कुनै नोट ! मलाई चाहिँ माया लागिरह्यो ।

पछि सन १९९७ मा जर्मनी जाँदा फ्रांकफर्टमा एउटा रेडियो कम टेप किनें । त्यसले पनि लामो समय सेवा गर्यो । नैकाप घरको बैठक कोठामा राखिएको त्यो टेप र रेडियो जो आए पनि एकपटक थिचिहाल्थे । पछि प्रविधिले यति फड्को मार्यो कि नेपाली बजारमा हत्केलामा अटाउने सानो सानो रेडियो अति सस्तो मूल्यमा प्राप्त हुने भयो । त्यहीबेला एफएम खोल्ने लहर चलेको थियो । धेरै रेडियो स्टेसन र सस्तो रेडियोका बट्टाहरु ।

त्यो रेडियो क्रान्ति नै थियो नेपालमा । सायद यी कुरा अबका पुस्तालाई कथामात्र हुने हुन कि ?