केही समयअगाडि डाक्टर गोविन्दराज भट्टराईद्वारा अनूदित सलील ज्ञवालीको कृति ‘ग्रेट माइन्डस अब इण्डिया’ पढ्ने सुअवसर प्राप्त भएको थियो । हामी को हौँ ? हाम्रो संस्कृति के हो ? सनातन धर्म के हो ? यस्ता प्रश्नहरू हृदयभरि थिए पुस्तक पढ्नु अगाडि । जब मैले पुस्तक पढेँ, मेरो धारणा फराकिलो हुँदै गयो । मैले आफैँलाई नै चिन्ने अवसर प्राप्त गरेँ । हामी कति महान् संस्कृतिको छत्रछायामा हुर्किएका रहेछौँ भन्ने कुराले हर्षित तुल्यायो । धन्य रहेछ हाम्रो सनातन संस्कृति भन्ने लाग्दै गयो। हाम्रो सनातन घर्म, संस्कृति र सभ्यतामाथि विश्वका महान् हस्तीहरूले कति विशाल धारणा राखेका रहेछन् भन्ने कुरा थाहा पाउँदा म सनातनी भएकोमा गौरवान्वित भएँ ।
जुलिअस रोबर्ट ओवन्हाइमर, आर्थर सोपनहावर, अलबर्ट आइन्सटाइन, विलियम वर्डस्वर्थ, जर्ज बर्नाड शा, ह्युस्टनस्मिथ लगायत ११९ जना विश्वविख्यात दार्शनिक, वैज्ञानिकहरूको पूर्वीयवाङ्मयप्रतिको विराट दृष्टिकोण पढेपछि मेरो मनमा एउटा अर्को प्रश्न उब्जिएको थियो । आखिर हामी यो सम्पन्नशाली सभ्यतामा उभिएर पनि फेरि किन यो सनातन धर्म परिवर्तन गर्न चाहन्छौँ ? इसाई धर्मको गहिराइलाई बुझेका विश्वविख्यात व्यक्तित्वहरूले सनातन धर्मको खुलेर प्रशंसा गरेका छन् । अनि कुन अवस्थाका इसाईहरूले धर्मको राजनीति गर्दैछन् ? उनीहरू किन चाहन्छन् सबै मान्छे इसाई नै बनून् अनि सबैले बाइबल नै पढून् ? वास्तवमा कुन रहस्य लुकेको छ यो धर्म परिवर्तनको खेलमा ?
हामीले आफैँलाई विश्वास गरेनौँ । वास्तवमा हामी त हीराको खानीमाथि झुपडी बनाएर अरूसँग आधारभूत आवश्यताको लागि हात फैलाउन विवश भिखारी पो रहेछौँ । फेरि मैले शशी थरूरूको ‘मै हिन्दु क्यूँ हुँ ?’ भन्ने पुस्तक पढ्दा धन्य भएँ । अहो ! म त हिन्दु भएका कारण पो यति उदार रहेछु । म हिन्दु हुँ त्यसैले त म अरू धर्मलाई पनि सजिलै विश्वास गर्छु । म सनातनी हुँ, म मेरो धर्मलाई मात्र होइन अरू धर्मलाई पनि उत्तिकै आदर र सम्मान गर्छु । हो म हिन्दु हुँ, त्यसैले गिर्जाघर पनि जान सक्छु । म हिन्दु हुँ त्यसैले, म गुरुद्वारभित्र पनि ईश्वरलाई स्मरण गर्न सक्छु । म जडतालाई त्याज्य ठान्छु किनकि म हिन्दु हुँ । म परिवर्तनशील छु । म प्रकृति पुजक हूँ । सनातन धर्मको विशालता, लचकता, व्यापकता र उदारता जानेर म यतिखेर मखलेल भएकी छु।
यसै सन्दर्भमा भर्खरै बजारमा आएको अर्को महत्त्वपूर्ण उपन्यास मेरो हातमा आयो । मैले अरू पुस्तक फेरि थाँती राखेर ‘चरैवेति’ पढ्न आरम्भ गरेँ । कवि, समालोचक तथा पाटन क्याम्पसका सह-प्राध्यापक डाक्टर जीवन जीवन्तको ‘चरैवेति’ निकै पठनीय लाग्दै गयो । सरल भाषामा लेखिएको यो उपन्यास हाम्रो परम्परा, संस्कृतिका सबल पक्ष, दुर्बल पक्षदेखि इसाई धर्मको प्रचारप्रसार, राजनीति बाइबलको यथार्थ अध्ययन, बाइबलको विरोधाभासी व्याख्या, वैचारिक दृष्टिकोणबाट भौतिकवादी विवेचना, बाइबलको यथार्थ समालोचनाका साथै हाम्रो परम्परागत मूल्यमान्यता र सामाजिक व्यवस्थामा भएका कुरीति, विकृतिहरू यस उपन्यासका विषय भएर आएका छन् । हाम्रो समाजको यथार्थ अनुहार उपन्यासमा मज्जाले हेर्न सकिन्छ । अतियथार्थको धरातलमा यो उपन्यास समेटिएको छ ।
घर्म परिवर्तनसँग सम्बन्धित विषय मलाई नवीन लाग्यो । आख्यानको माध्यमबाट सनातन धर्म, संस्कृति, वेद, पुराण र बाइबलका जटिल कुराहरूलाई यहाँ उजागर गरिएको छ । मानवीय मन, परिवर्तित समाज, सामाजिक मनोविज्ञान, धर्मको आडमा गरिएको पाखण्ड, विभेद, छुवाछुत, गलत संस्कार र संस्कृति, अन्धो रीतिरिवाज, परम्परा । नवीन आस्था, भरोसा र विश्वासको सेरोफेरोमा उपन्यास फैलिएको छ ।
उपन्यास यसरी आरम्भ हुन्छ, ‘बुबाको दाहिने खोकिलामा मैलो तन्नाको कुम्लो झुण्डिएको थियो । त्यस कुम्लोभित्र भोलिको आवश्यकता मात्र थिएन हिजोका दुःखपीडाहरू गुटुमुटिएका थिए । हिजोको आर्जन र भोलिको आवश्यकतालाई आमाको भारी र बुबाको कुम्लोभित्र अटाइएको थियो (पृष्ठ ११) । उपन्यासको आरम्भले नै मेरो हृदय छोयो । जब मान्छे कुनै गल्तीबिना आफन्तहरूबाटै तिरस्कृत हुन्छ, आफ्नै समाजबाट बहिष्कृत हुन्छ । जब आफ्नो भूगोल जबरजस्ती छोडेर गाँस, बास र आवासको लागि अज्ञात भूगोलतिर भौतारिनुपर्छ तब मान्छे बिरक्तिन्छ । पीडामाथि जब पीडा थपिन्छ, मान्छेले के गर्ने के नगर्ने भन्ने कुरा पनि बिर्सिन्छ ।
‘दु;खीको घरमा तेरो बास हुने भए हे ईश्वर मलाई अझ दुःख दे (बालकृष्ण सम)।’ म पात्रका पिताजीको जीवन पढ्दै गर्दा मलाई बालकृष्ण समको यो भनाइ बारम्बार स्मरण भयो । सरल, सहयोगी र संवेदनशील मान्छेलाई नै नियतिले लछारपछार पारेको छ । आफ्नै परिवार, रगत र समाजले गाउँमा बस्न नसक्ने पार्छ तब त्यो मान्छेको हृदयमा विद्रोह बाहेक अरू कुरा के आउँछ होला र ? तर यहाँ म पात्रका पिताजीको जीवन संघर्ष असाधारण छ । क्षमाका पक्षधर बारम्बार परिवारमा मेलमिलापको हात लिएर जान्छन् । तर पनि इसाई धर्म अपनाएको आरोप लागेर समाजबाटै लखेटिन्छन् । हृदयभरि पहाड बोकेर तराईका खोरिया फाँड्दै संघर्षका अनेकौँ महाभारत पहाड छिचोल्न थाल्छन् । कूलको पूजा गर्ने एक आस्तिक व्यक्ति एक महिनाको अन्तरालमा आफ्ना फूल जस्ता छोरीहरूको मृत्यु देखेपछि अशान्त हुन्छन् र हृदयले पूजा गर्दै आएको आस्थाको देउता आँगनमा फालेर व्याकुल हुँदा पनि आफन्तले धर्मको आडमा स्वार्थको युद्ध छेड्न पछि पर्देनन् । अल्प ज्ञानको भुङ्ग्रोमा पिल्सिएका सनातनी हुँ भन्नेहरूको कुटिल मस्तिष्कबाट स्वार्थको गन्ध आउँछ । म पात्रको हृदयमा पनि प्रश्नहरू जुर्मुराएर उठेका छन् । पहाडको पुरानो घरमा त देउता कोठा थियो तर तराईको घरमा किन माथिको कोठा खाली छ ? यसरी आफ्नै रूखबाट काटिएर आएको हाँगा नौलो परिवेशमा शान्ति, आनन्द र ढुक्कको जीवन खोज्दैछ । वरिपरि धर्म परिवर्तन गरेर आएका विश्वासीहरू बढ्दै छन् । ती पनि हाम्रै समाजका गलत व्यवहारको शिकार भएर आएका छन् । म पात्रका पिताजीलाई पनि जिज्ञासा उत्पन्न हुँदै जान्छ इसाई धर्मप्रति । आखिर के हो इसाई धर्म, किन हाम्रा मान्छे यो धर्म अपनाउन विवश छन् भन्ने जिज्ञासाले म पात्रको पिताजी इसाई धर्मको पछि लाग्छन् तर हृदयमा आफ्नो परम्परा कहाँ भुल्न सक्दा रहेछन् र !
ठूले राई इसाई धर्मप्रति विश्वासी भएर हिँडेको छ । म पात्रका पिताका छिमेकीहरू माहिला विश्वकर्मा, घिमिरे भाइ भेटिँदै जान्छन् । म पात्रका पिताको सङ्गत विश्वासीहरूसँग हुन्छ । तर दशैँ तिहारको रमझममा सबैको हृदय तड्पिन्छ । धर्म परिवर्तन गर्न सहज नहुने समय छ उपन्यासमा । इसाई हुँदा प्रशासनले गर्ने नियन्त्रण गर्ने बर्बर युग छ । स्वार्थले भरिएका मान्छेहरू पनि उत्तिकै छन् समाजमा । हुन त सहयोगी हृदय भएका छिमेकीहरूको पनि कमी छैन । विश्वासी भएको कारण अनेकौँ पल्ट जेल जान्छन् पात्रहरू । विश्वासी भएर आफ्नो जात छलेको आरोपमा आफ्नै समाजले घिमिरे परिवारलाई तहसनहस पारेको देख्दा म पात्रका पिता ज्ञानको खोजीमा लाग्छन् । पादरीको छद्म व्यवहारबाट छक्क पर्छन् । जब ज्ञानको भोक जाग्छ तब मान्छे सत्यको खोजीमा लाग्छ, यहाँ मुख्य पात्र पढ्ने हुटहुटीले अक्षरको फराकिलो संसारमा पुग्छन् । गुरु भएर आउँछन् मास्टर काइँला । जब मुख्य पात्रका पिता स्वअध्ययनमा लाग्छन् तब बाइबलभित्र लेखिएका विरोधाभासपूर्ण कुराहरूलाई मनन गर्न थाल्छन् । गुरुबिना ज्ञान हुँदैन भनेझैँ मास्टर काइँलाले उचित मार्ग देखाइदिन्छन् । जब मुख्य पात्र अध्ययन र अनुभवले बाइबललाई बुझ्छन् तब चेतनाको आकाश छ्याङ्ग हुन्छ । बोधभन्दा विशाल कुरा केही रहेनछ, अध्ययन नै ज्ञानको फराकिलो मार्ग रहेछ भन्ने कुरा यहाँ पात्रले बुझ्छन् । ठूले राईलाई पनि सत्यको मार्ग स्पस्ट हुन्छ । वैज्ञानिक र तार्किक उत्तरहरूले ठूले राई पनि मुन्धुमतिर फर्कन्छन् । मुख्य पात्रको जीवन संघर्षले उनलाई अझ सत्यको नजिक जान प्रेरित गरेर उपन्यास समाप्त भएको छ ।
समाजमा व्याप्त कुरीति र कुसंस्कारले आफ्नै मान्छेलाई हामीले नै बाध्य पारेका रहेछौँ धर्म परिवर्तन गर्न । अशिक्षा, गरिबी, अभाव र अन्यायको मारमा मान्छे भौँतारिएको छ । जब मान्छेको पहिचान गुम्छ, जब समाज र परिवारमा असमान व्यवहार हुन्छ, जब हरेक क्षेत्रमा विभेदको भयंकर पहाड ठडिन्छ तब अस्तित्वको खोजिमा हिँडेको छ मान्छे निरन्तर । म पात्रका पिता उच्च जातिमा जन्मिए तापनि आफ्नै घर र परिवारबाट अछुत बनाइएका छन् । घिमिरे भाइ र म पात्रको अवस्था एउटै छ । यहाँ जातको कुनै कुरा होइन गलत सामाजिक व्यवहार निर्माण भएको छ हाम्रो समाजमा । कतै लिङ्गको आधारमा, कतै रङको आधारमा, कतै भूगोलको आधारमा, कतै जातको आधारमा, कतै धर्मको आधारमा समाजमा विभेदको ठूलो खाडल निर्माण गरेर शान्तिको परेवा उडाउन अभ्यस्त छ आजको मान्छे ।
जसलाई सनातन धर्मको ज्ञान छ ऊ धर्म परिवर्तन गर्दैन । उसले बुझेको छ सनातन धर्मको मर्म । सनातन ज्ञानको धरातलमा ऊ शान्त छ । अर्कोतिर जो साँचो इसाई छ, ऊ पनि अरूलाई धर्म परिवर्तन गर्न जोड गर्दैन । जो न वास्तवमा सनातन धर्मलाई बुझेको छ, न यथार्थमा इसाई घर्मको गहिराइलाई बुझेको छ हो त्यो समूह लागेको छ यो घृणित खेलमा जस्तो लाग्यो । जहाँ भातको लागि संघर्ष गर्नुपर्छ त्यहाँ धर्म परिवर्तन गर्न सजिलो छ । जहाँ आफ्नै घरमा अपमानित हुनुपरेको छ उसलाई सजिलै परिवर्तन गर्न सकिन्छ । कमजोर मनस्थितिका विवश मान्छेहरूलाई सजिलै मोड्न सक्ने रणनीतिलाई अगाडि ल्याएर धर्मका नाममा मञ्चन भएको यो नाटक आखिर कहिलेसम्म चल्छ ? धर्मको नाममा गरिएका तमाम अपराधहरू कसरी निर्मूल गर्ने ? आकाश जस्तो विशाल, समुद्र जस्तो शान्त हाम्रो धर्म र संस्कृतिमा कसरी उत्पति भयो अनेकौँ छलपूर्ण व्यवहारहरू ?
पण्डितहरूले आफ्नो स्वार्थ सिद्ध गर्दै आएको तर्कहरू भिन्न भिन्न पात्रहरूले अभिव्यक्त गरेका छन् । छुवाछुत, जात व्यवस्था, तल्लो र मात्थलो जात विभाजन । आफ्नै विराट संस्कृतिबाट अलग्याएर आफ्नै मान्छेलाई बहिस्कृत गरिएका कारण मान्छे आ-आफ्नै भाइबन्धुलाई पनि धर्मको आडमा तिरस्कार गर्छन् । सन्त हृदय भएका पात्रले दु;ख पाएको देख्दा पनि मलाई दिक्क लाग्छ । आफ्नै भाइ र बाको कर्तुत जोगाउँदा जोगाउँदै पनि म पात्रका पिता प्रतिशोधको कारण बन्छ । भनिन्छ नि, दुःख एक्लै आउँदैन, दुःखले आफ्ना दरसन्तानहरू लिँदै आउँछ । म पात्र आफ्ना पिताजीका साथमा पहाडबाट बसाइँ सरेर मधेस झर्दै गरेको दृश्यबाट मलाई पूर्ण विश्वास भयो यो भनाइप्रति । पहाडको जनजीवन त्यागेर नवीनताको खोजीमा आएका पात्रको अतीत निकै पीडादायी छ । परम्परागत मूल्यमान्यतालाई स्वीकार्दै आएका पात्र नियतिको भुमरीमा नराम्रोसँग फस्छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










