
कहालिलाग्दो समयमा गरिएको साहित्यिक यात्रामा ज्यान जोखिममा मोलेर हिँडेका छन् देशका सम्मानित साहित्यकार र शिक्षाप्रेमीहरू । यसरी हिँडेका यात्रीहरूको हृदयभरि अपार प्रेम छ साहित्यको । शिक्षा र साहित्यको चिन्तामा डुबेका छन् स्रष्टा रातोदिन ।
…
जब काठमाडौं मोफसल पुग्छ काठमाडौंको प्रेममा अभिभूत भएर आनन्दमा झुम्दै मोफसल काठमाडौंलाई खुसुक्क कानमा भन्छः
सँगै बसौँ यो रात अन्तिम बन्न सक्छ,
छुटेपछि यो साथ अन्तिम बन्न सक्छ ।‘
हामीले बिताएको हरेक दिन, हरेक रात अन्तिम बन्न सक्छ। त्यसैले वर्तमानमा प्राप्त समयलाई पूर्णरूपमा सदुपयो गरौँ । साँच्चै हामी निश्चित समयका लागि मात्र यो धरामा आएका छौँ । थाहा छ, जुन दिन हामी यो धरामा आयौँ उही दिन हामी सबैले फर्कने टिकट पनि साथै ल्याएका छौँ । जीवन अनिश्चित छ तर मुत्यु निश्चित छ । जीवन जति नै लामो भए पनि थाहा छ त्यो एक दिन पूरा हुन्छ । सँगसँगै हिँडेका साथी आज छन् भोलि हामी माझ नहुन सक्छन् । हामीबीचको यो साथ साँच्चै अन्तिम बन्न सक्छ ।
जीवनमा घट्ने दैनिक घटनाहरू उही हुन् जस्तो लाग्छ तर हिजो र आज किमार्थ एउटै होइन । हिजो बितिसक्यो आज बित्दैछ । भोलि आउँछ/आउँदैन निश्चित छैन । घटनाहरूको पुनरावृति भएको भ्रम मात्र हो जीवन । समय आफ्नै गतिमा बगिरहन्छ । उही समय पनि सदैव रूप बदलेर आउँछ । घडी निरन्तर बग्दो छ । समयसँगै जीवन पनि बिस्तारै बिस्तारै हिँडिरहेको छ । हरघडी हाम्रो उमेर पनि पूर्णाङ्कमा उक्लिँदै दौडमा छ । अङ्कको भारी बोकेर उमेर नित्य उक्लिएको छ । पलपल आठै पहरमा उमेर बूढो हुँदैछ। हामी रोक्किए पनि समय रोकिंदैन ।
मानवको बुद्धिमताले वर्तमान समयमा पनि अतीतको सुन्दर बगैँचामा विचरण गर्न हामी सक्षम भएका छौँ । साहित्य, सम्झना र स्मृतिको चमत्कारी संसारमा हेर्न सकिँदो रहेछ अतीतको अमूल्य समय । जीवनको देउरालीबाट देखिन्छ आफूले भोगेर आएका जीवनका अनेकौँ फाँटहरू। समय हरेक पल परिवर्तन बोकेर हिँड्छ । यस्तो परिवर्तित समयलाई जोगाएर राख्न साहित्यको संसारमा डुब्नै पर्ने रहेछ । समयलाई लेख्नै पर्ने रहेछ । आफूले भोगेका महत्त्वपूर्ण दिनहरूलाई शब्द, साहित्य र अक्षरको कठघरामा उभ्याउनै पर्ने रहेछ । बाँध्नै पर्ने रहेछ शब्द शब्दमा भावनाहरूको वैजयन्ती माला ।
यसै सन्दर्भमा प्रा. गोविन्दराज भट्टराईले करिव १९ वर्षअगाडि हिँडेको समयको चौतारीमा अहिले म विचरण गर्दैछु । त्यो समयको सुनौलो संसारलाई पुस्तकको आँखीझ्यालबाट चिहाउँदैछु । साँच्चै अतीतमा बगेको समयलाई साहित्यको दर्पणबाट हेर्दा बडो आनन्द आउँदो रहेछ । तात्कालीन समयको बुलन्द आवाज छ भट्टराई सरको लेखनीमा । स्रष्टासँग म पनि हिँड्दैछु साहित्य र कलाको मार्गमा । उही समयमा उही समयको साक्षी बनेर ।
प्रा. भट्टराईको साहित्य यात्रा सँगै बसौँ यो रातको विषयमा म चर्चा गर्दैछु । साझा प्रकाशनले २०६४ सालमा प्रकाशन गरेको यो कृतिमा १७ वटा यात्रा निबन्धलाई १२३ पृष्ठमा विस्तारित गरिएको छ । १९ वर्ष अगाडिको समसामयीक विषय, सन्दर्भ र समयलाई नजिकबाट छाम्दै छु । मलाई त्यो समयमा डोर्याउँदै हुनुहुन्छ नियात्राकार डाक्टर भट्टराई ।
बहुआयामिक व्यक्तित्वका धनी भट्टराई सरका साहित्यिक विधाहरूबाट म चिरपरिचित हुँदैछु । उपन्यास, निबन्ध, संस्मरण, कथा, कविता, समालोचना, नियात्रा र भर्खरै चिठी पत्रको आस्वादन लिँर्दै आएकी म यतिखेर काठमाडौं बाहिरका विभिन्न ठाउँमा भएका साहित्यिक सभा, सम्मेलन, साहित्यिक कृति विमोचन, साहित्यिक सम्मान, साहित्यिक भेटघाट, स्मृतिसभा, कवितावाचन, साहित्यिक अन्तर्क्रिया, अन्य गोष्ठीहरूमा अग्रज साहित्यकारहरूसँगै सजिलै घुम्न पुगेकी छु ।
साहित्यिक यात्राका भावभूमिमा मात्र म विचरण गरिरहेकी छैन । हेम्जा, स्याङ्जाबाट आरम्भ भएको साहित्यिक यात्रा घुमेको छ पश्चिम र पूर्व हुँदै सिक्किमको गेजिङसम्म । विविध विषयमा गरिएका यात्रा आज पनि निकै पठनीय छन् । उस्तै रोमाञ्चकारी र कौतूकमय छन् । यहाँ यात्राको मात्र विषय छैन । अतीतका समसामयिक विषयमाथि विचार र व्यङ्ग्यको तिखो वाण पनि छोडिएको छ । हुरीबतास झैँ उड्दाउड्दै समयको आकाशमा (२०६१ पुष ३ गते) कान्तिपुरमा प्रकाशित यो लेखले आज पनि मस्तिष्क तरङ्गीत पार्छ । त्यस्तै गाउँको डाले घाँस र राजधानीका साँढे शीर्षकको निबन्धले पनि तीतो यथार्थलाई व्यङ्ग्यको तीरले तात्कालीन समयको राज्यसत्ता, प्रहरी प्रशासनको बेथितिलाई आच्छेदन गर्न खोजेको छ ।
दुईवटा निबन्ध वैचारिक छन् भने पन्ध्रवटा निबन्धहरू तात्कालीन समय सन्त्रास, साहित्यिक यात्राभित्र भूगोल, प्राकृतिक सौन्दर्य, सम्पदा, संस्कृति, कला, सम्बन्ध, आतिथ्य र सत्कार आदिको भावभूमिमा निर्माण भएका छन् । यात्राका क्रममा भएका सभा, सम्मेलनमा स्रष्टाको हृदयमा उठेका भावनाहरू यात्रा साहित्य भएर आएका छन् । जुन समय र सन्दर्भ अब मात्र इतिहास बनेको छ ।
स्याङ्जामा देखिएको साहित्यिक चिन्तन, प्राकृतिक सुन्दरतादेखि चहराई रहेको युद्धको घाउबाट आरम्भ भएका लेखहरू अन्तिम यात्रा अघि लागेर हिँडिरहेको चितवनप्रति गएर थामिएको छ । पुस्तक पढिसके पनि यो मन डुबिरहहेको छ ती ऐतिहासिक यात्राको स्वादमा । ती घटनाहरूको कलात्मक र सुन्दर वर्णनमा ।
कहालिलाग्दो समयमा गरिएको साहित्यिक यात्रामा ज्यान जोखिममा मोलेर हिँडेका छन् देशका सम्मानित साहित्यकार र शिक्षाप्रेमीहरू । यसरी हिँडेका यात्रीहरूको हृदयभरि अपार प्रेम छ साहित्यको । शिक्षा र साहित्यको चिन्तामा डुबेका छन् स्रष्टा रातोदिन ।
रातको त के कुरा दिनमै अँध्यारो छाएको युग छ । मान्छेको मृत्यु मूल्यहीन भएको प्रहर छ। रक्षक नै भक्षक भएको त्रासदीपूर्ण समय छ । पानी बरु महङ्गो होला तर मान्छेको रगत खोलासरि बगेको युग छ ।
भौतिक संरचनाको विनाश उस्तै छ । बम र बारुदले सार्वजनीक यातायात उडाएको घटना बाक्लै सुन्नु परेको छ । मान्छेको लास ट्रकमा बोकेर हिँडेको दृश्य हेर्नु परेको छ । सार्वजनीक संरचना तासको घरसरि भत्किँदै छ । बाटोघाटो, खोलीखोल्सा, नदीनाला, पहाड हिमाल, खोँच आदिमा नेपाल आमाका सन्तानहरू कुहिरहेको घृणित दृश्य छन् । यत्रतत्र रगतका आला टाटा स्पष्ट देखिन्छन्।
अहिले छक्क लाग्छ कस्तो कस्तो समयमा बगिएछ । खुँडा, खुकुरी र गोली हानेर मान्छेको रगतले उत्सव मनाउने युग पनि हामीले बेहोरेकै हो । अहिले ती दिन सम्झिँदा पनि भाउन्न हुन्छ । मान्छेले दिनदहाडै मान्छे मार्ने समयमा कसरी ज्यानको बाजी थापेर हिँड्न सकेको होला यस्ता साहित्यिक यात्रामा । जीवनको कुनै टुङ्गो छैन । बाटोको कुनै सुरक्षा छैन । निमेषभरमा जीवन लीला खतम हुने समय छ । प्रकृतिलाई युद्धको धूवाँले धूमिल बनाएको छ । जीवन त्रासदीमा डुबेको छ ।
यसै सन्दर्भमा गोविन्दराज भट्टराई लेख्छन् एउटा त्रासदीयात्राको सम्झना । युद्धको आगो सल्केको समयको यात्रा हो यो जुन निकै मार्मिक छ । स्याङ्जाको हरियाली र सौन्दर्यमा त्रासदीको कालीमा पोतिएको वेला छ । भय, चिन्ता र सन्त्रास बोकेको समय चित्रलाई यो लेखले बडो जीवन्त तरिकाले उद्घाटित गरेको छ । यात्राकै क्रममा स्थानीयहरू सुनाउँछन् युद्धका विकराल कथा र व्यथा । नियात्राकार युद्धले खेपेको सन्त्रासको कथा सुन्न नसकेर भन्छन्, ‘ भो पर्दैन, हामीलाई यी त्रासद घटना नसुनाऊ गुरुजी, हामी काठमाडौंबाट आएका निकै ठूला मान्छे हौँ।‘ त्यसपछि गुरु चुप लागे र टाउकाको इसाराले उता देखाए – डाँडाछेउमा एउटा भग्नावशेषजस्तो भवन थियो। ‘सत्य’, ‘सेवा’ उत्तानो परेका थिए, ‘सुरक्षणम्’मा प्वालैप्वाल थिए, कालीझार पलाएर बरन्डा छोपिएको थियो । भुइँमा तीनवटा दुब्ला कुकुर र एउटा गाई मिलेर बसिरहेका थिए । गाई आँखा चिम्लेर उग्राइरहेको थियो, कुकुरहरू आँखा चिम्लेर घुरिरहेका थिए … (पृष्ठ ३)। ‘ युद्धको आँखा, कान, नाक र विवेक केही हुँदैन रहेछ । आफैंले आफैंलाई सिद्ध्याउने यो कस्तो खेल खेल्दै थियो देश … ?
नियात्राका गतिशील कलाले हरेक यात्रा जीवन्त बनेको छ । पठनीय बनेका छ । ठेट भाषाको प्रयोगले नियात्रा लेखन बडो कलात्मक बनेको छ । गजबको प्रस्तुतिले लेखहरू सुस्वादु बनेका छन्। सरल र बोधगम्य भाषाले पठनलाई सहज पारेको छ। सबै लेखमा घटना, समय, सन्दर्भ, संस्कृति र भूगोलको वर्णन मलाई बडो उत्कृष्ट लाग्यो यस्तै एउटा लेख चिन्ता र ग्लानिले जेलिएर वीरगन्जमा शीर्षक रचना अन्तर्गत नियात्राकार रक्सौलको वर्णन यसरी गर्छन्, ‘‘ चुइँचुइँ खिरिखिरि घण्टी बजाउँदै । रिक्सैरिक्सा, साइकलको घुइँचो, ट्याम्पो, ट्रक, बयलगाडा, टाँगा, पैदल, ठेलावाल। चारैतिर घण्टी र हर्न, घोडाको टाप बजेका टकटक, हातमा कोर्रा हल्लिएका, बाटो छेकुवा ट्रक र कुइरीमण्डल परिवेश- धूलो, फोहोर,प्लास्टिक, कागज, चोइटा, थाङ्ना, झुम्रा र सिसी । रक्सौल बजार पुग्ने बेलादेखि बाटावरिपरि अनेक प्रकारका दुःख- मूर्तिहरू फोहोरको डङ्गुरमा, नालीका छेउमा दुर्गन्धले ढाकिएर, धूलोले पुरिएर बाटाका दुवैतिर ससाना खाटमाथि चढेर कोही, कोही भुइँमा बसेर, पसल थापेका, पकाउन बसेका, खान थालेका, ग्राहक डाक्नेहरू, पैसा साट्नेहरू, अलि पर्तिर फोहरका डुङ्गुरमाथि कागहरू चुच्चाले खन्दै गरेका, कुकुरहरू भोकले गलेर पल्टिएका, बाटैबाटा टाँगाहरूको टकटक यो विचित्रको भूमिमा हामी निस्सासियौँ … (पृष्ठ ७ )।” हुबहु यी शब्दचित्र मार्फत मैले वीरगन्जको सिमानामा फैलिएको भूगोल देखेँ । त्यहाँको जनजीवन झर्लङग देखेँ । यति जीवन्त किसिमले शब्दद्वारा भूगोलको व्याख्या गर्न सकिने रहेछ भनेर म त छक्क पर्दै दोहोर्याएर पढेँ । अनि आँखा चिम्म गरेर शब्दचित्रमा रक्सौल र वीरगन्ज पुनः घुमेँ ।
यसरी १५ वटा साहित्यिक यात्रामा घरी वीरगन्जमा हराइन्छ घरी अधुरा इच्छा लिएर पुनः वीरजन्जबाटै काठमाडौं फिर्किनुपर्ने अवस्था सिर्जना हुन्छ । समय कति सन्तप्त छ । कति अनिश्चित छ । कस्तो संस्कारको भुङ्ग्रोमा हामी नेपालीहरू पिल्सिएका थियौँ भन्ने यथार्थले ती दिनको सम्झना गराउँछ र हृदय अत्तालिन्छ ।
नेपाल बन्द त एक संस्कृति नै बनिसकेको थियो । कति खेर बन्द हुन्छ कुनै टुङ्गो थिएन । यो यात्रामा वरिष्ठ साहित्यकारहरूको उपस्थिति छ मदनमणि दीक्षित पनि सँगै हुनुहुन्छ । निर्मोही व्यासको घर आँगनमा बडो सुन्दर सत्कार भएको छ । जनकपुरबाट राजेन्द्र विमल आउनुभएको छ । अरू अरू धैरै साहित्यकरहरूको उपस्थिति बडो नमनीय छ । साहित्यले जोडेको नाता कति दीगो लाग्छ । अखण् साहित्यिक आह्वान छ । साहित्यिक एकताको शङ्खघोष छ । साहित्यमा विकार मिसिएको छैन। साहित्यको सभा, सम्मेलनले साहित्यको विशाल आकाशमा सबैलाई समेट्दैछ।
कस्तो विरोधाभाषी समय भोग्नुपरेको छ स्रष्टाले उज्यालो मात्र छैन यात्रामा अँध्यारो रातमा खुकुरीको प्रहार पनि भोग्नुपरेको छ । मान्छे काट्ने मान्छेको हातमा खुकुरी पर्दा बोध क्षमता गुम्छ । मस्तिष्कमा अँध्यारो रोपेर हिँडेपछि मान्छेको विवेक मर्दो रहेछ । अनि देख्दैन रहेछ मान्छेले उज्यालाका बीउ । अनि मास्दा रहेछन् अन्धकारमै ज्योतिको झिल्को । संवेदनशील स्रष्टाहरू विवश छन् महाकविको शालिकमाथि प्रहार गरिएको खुकुरीको चोट सहन । डरलाग्दो आतङ्क खेपेर रात कटाएको घटना पढ्दा दिक्किन्छ मन ।
विविधतामा एकता साहित्यिक यात्राको विशेषता कति तृप्तिकर लाग्छ । हरेक भूगोलले प्यास मेटोस् साहित्यको । हरेक वर्ग, जात र समुदायले उपभोग गरोस् ज्ञानको, शिक्षाको र कलाको । साहित्य, कला र शिक्षा सहजै सबैलाई प्राप्त होस् । सबैतिर साहित्यको ज्योति चम्कियोस् । यही छ यी यात्राको चाहना । साहित्यमा सबै बर्ग, जात, घर्म, भाषाभाषीहरूको सहभागिता स्वीकार्य छ । सम्माननीय छ र निकै महत्त्वपूर्ण छ । तर कति ठाउँमा युद्ध, दम्भ, अहंकार, अज्ञानले घेरेको छ । नेपाल बन्दको संस्कृतिमा साहित्यिक यात्रा नराम्रोसँग गुम्सिएको छ ।
कतै यात्रा रोमाञ्चकारी छ । प्रकृतिको न्यानो गर्भमा निसासिँदा निबन्धमा सौराहको यात्रा पाठकहरूका लागि आज पनि अविस्मरणीय बन्ने पक्का छ । यही यात्रामा चितवन पनि म पटक पटक पुग्छु। चितवनको यात्रा साँच्चै मैले आफैले गरेको यात्राभन्दा आनन्ददायी लाग्यो। पुस्तकबाट गरेको यात्रा पनि कति जीवन्त । कति गतिशील। लेखन कलाले नै साहित्यलाई यो स्तरमा पुर्याउने रहेछ । प्रकृतिको वर्णन कति विमुधकारी छ कति रोमाञ्चकारी छ। स्रष्टा यात्राको वर्णन यसरी गर्छन्, ‘’बिहान चराको कलवरले ब्यूँझायो । लज अघि, पछि, उता,पर, तल होचा पोथ्रामा लुकेर आकाशमा उड्दै डरलाग्दा रूखका टुप्पामा अडिएर चराहरू गाइरहेका थिए । एउटा हतारले ब्यूँझाएजस्तै, कामकाममा जान तम्तयार भएजस्तै-साथीभाइ हूल बाँधेर ठूलो जात्राबजारतिर सँगसँगै मैले सम्झेँ – केवल चराको गानले र सिरसिरे बतासले पात हल्लाउँदा मात्रै यहाँको शान्ति भङ्ग हुन्छ। अरूबेला नभन्दै भयावह नीरवता र डरलाग्दो ऐकान्तिकताले छोपिरहन्छ। सूर्य नदेखिने कालो पातालभित्र छतछिमेकी छैन, बस्तुभाउ छैन, दोकान, पसल, बजार कुनै कुराको कल्पना गर्न सकिँदैन ।कौसौँ टाढाको वन्यजन्तुले घेरिएको जङ्गलको मुटुमा एउटा निसासजस्तो ऐकान्तिकताको एडवेन्चर । ती पन्छीहरू कति थरी, कति थान अनुमान गर्न पनि सकिएन। बाहिर हेर्दा रातभरिको पानी वरिपरि सुकिसकेको थियो। भल बगेको निसान थियो, पातपतिङ्गर बगेर परपर पुगेर थुप्रिएको थियो, तर पानी कतै पनि थोपै जमेको थिएन। पातहरू पखालिएका थिए, फूलहरू धोइएका थिए। हिजोका लालटिन झुण्डिरहेका थिए, वनभित्रबाट गम्म परेको विचित्रको बास्ना आउन थालेको थियो … (पृष्ठ ८०)।” शब्द शब्दमा प्रकृतिको वर्णन कति जीवन्त छ ।
गेजिङ यात्राको एउटा मादक सम्झनामा सत्य बोल्दा बौद्धिक स्रष्टाहरूले खेप्नु परेको संकट कति दुखलाग्दो छ । नेपालबाट आएका हामी भनेर इमान्दार भएर सिक्किम पस्न खोज्दा भोगेको सास्ती कति नमीठो छ, ‘’हामी सिलिगुडीबाट आएका भन्नेहरू एक गाडी चेकपोष्ट नाघेर जान पाए, बैरागी काँइलाको नेतृत्वमा । तर हामी नेपालबाट आएका भन्नेहरू तीन गाडी त्यही रोक्कियौँ । रोक्ने नेपाली नै थिए । हामी एउटै भाषा-साहित्यले जोडिएको पुल तर्दै थियौँ, एउटै संस्कृतिको सङ्गीत सुन्न अगाडि बढ्दै थियौँ, तर भूगोल र राजनीतिले हामीलाई वारिपारि बनाएको थियो । भन्थे- माओवादी आन्दोलनका आधारक्षेत्रहरू विस्तार हुँदाहुँदै पूर्वी पहाडदेखि परपरका क्षेत्रसम्म पुगेको कारण अब यता नेपाली नागरिकताको प्रवेशमा पास चाहिने भएको छ । सिक्किम नेपालको पूर्वी पहाडसँग सिमाना जोडिएको छ …( पृष्ठ १२ ) ।” मान्छेले निर्माण गरेको समय पनि लाचार छ । विवश छ । साँझका पाहुना देवता मान्ने संस्कार भिरेको मुलुकमा पहेँला घाम देखिनेबित्तिकै मूलढोकामा गजबार हाल्न दगुर्नु पर्ने मनस्थिति बन्दै छ । गेजिङको उकालोमा भेटिएकी तरुनी र ड्राइभरको मादक लीला हेर्दै घरि चकित हुन्छु घरि लाजले मुख छोप्छु । विवशता र आवश्यताले मान्छेलाई कता कता डोर्याउँछ छक्क पर्छु । स्रष्टाकै भावनामा म पनि केहीबेर घोरिन्छु, ‘‘यो बाध्यता थियो कि, विवशता थियो कि, अभ्यास थियो कि कुनै षड्यन्त्र ? हामीले केही बुझेनौँ । साथीहरूले भने- ‘यो भुटानको पीडा हुनसक्छ, माओवादी इन्सर्जेन्सी हुन सक्छ, यो एक रहस्य हुनसक्छ। कहिले नखुल्ने पहेली, नभुल्ने दुर्घटनाको पूर्वाभास… (पृष्ठ १६ )।‘’
मैले पनि धेरै टाढा काली सुसाइरह्यो सुनेँ । गुफाभित्रको यात्रा । आस्था, विश्वास र बयान पढ्न लायक छ । आ-आफ्नो दृष्टिकोण बडो रोचक छ । आफ्नो संस्कार अनुसारको व्याख्या पनि उस्तै रमाइलो छ । स्रष्टासँग एक्यबद्धता जाहेर गर्दै मैले पनि भनें, ‘‘यो संसार आफ्नै मनको प्रतिविम्ब रहेछ, भावनाको, विश्वासको र जीवनयात्राको छायाँ । मैले त्यसबेला झलझली सम्झिएँ डेरिडालाई- कुनै व्याख्या अन्तिम होइन, हरेक व्याख्या आफ्नो हेराइ हो । आफ्नै जीउ नापेर सिलाएको कपडा त्यो अरूकोमा मिल्दैन । तर मैले केही भनिनँ । हरेक गुफा आफ्नै चेतनाको प्रतिविम्ब हो … (पृष्ठ ३८ ) ।‘’
यात्रामा बडो विविधता छ । कतै रमाइलो छ कतै डर र कतै त्रास छ । कतै जोखिमपूर्ण छ । कतै बारुदको गन्ध छ । कतै डल्ले खुर्सानीको राग छ । कतै पेनी फुपूसँगको हिमाली यात्रा छ । कतै भूटानी शरणार्थीहरूको त्यो विशाल सभामा आँशु झार्दै गरेका शरणार्थीहरूसँग साक्षात्कार हुनपुगिन्छ । ती व्याकुल शरणार्थीहरूलाई हेर्न विवश सष्टासँग म पनि निसासिन्छु । आँसु झरेको हेरिरह्यौँ शीर्षकमा स्रष्टा व्यङ्ग्य वाण यसरी छोड्नु हुन्छ जुन पढ्दा मात्रै मुटुमै लाग्छ । हुन त हास्य र व्यङ्ग्यमा स्रष्टाको कलम बडो मिहीन तवरले चलेको चाल पनि पाउँदैछु । म नतमस्तक छु यस्तो कलापूर्ण लेखनीबाट । आँशु झार्दै गरेका विवश शरणार्थीहरूलाई देखेर डाक्टर भट्टराई भन्नुहुन्छ, ‘‘प्रजातन्त्र ल्याउनेहरू चुटिएको देखेर पनि हाँसिरहने सरकार, प्रजातन्त्र गुमाउनेहरू चुटिएको देखेर पनि हाँसिरहने सरकार, पवित्र धर्मगुरु दलाई लामालाई बुद्धको जन्मभूमिभित्र पस्न नदिँदा पनि रमाइरहने सरकार, प्रजातन्त्रका लागि मरिरहेका रिजाललाई बुद्धको भूमिबाट बाहिर निस्कन नदिँदा पनि रमाइरहने सरकार- गीतामा भनिएकै छ मान वा अपमानमा, गर्मी अथवा जाडामा, सुख वा दुःखमा एउटा ज्ञानीले समभाव राख्तछ । के हाम्रो सरकार साँच्चै ज्ञानी भएको हो त … ( पृष्ठ४८ ) ?” निकैबेर म पनि टोलाइरहेँ । त्योबेला यो लेख पढेर कस्तो कस्तो प्रतिक्रियाहरू आए होलान् म सोच्न बाध्य भएँ ।
अन्त्यमा कतै म भेट्छु बाटैमा इलाम हिँडेका १२ वर्षिय गोविन्दराज भट्टराईलाई । त्यो बाल्यकालमा पहिलो यात्रा त्यो पनि कहिले नहिँडेको नौडाँडापारिको इलाम शहरको। कस्तो आँट होला अनि मैले पनि उत्सुकताले त्यो अद्भुत यात्रामा सँगसँगै पैताला घिसारेँ । घरी हात्तीमा सवार गर्दै चितवनको झोडीतिर लागेँ । पशुहरूप्रति मानवले गरेका अमानवीय व्यवहार पढ्दा कति पटक अमिल्लिएँ । जनावरको प्रजननमा पनि मानवले हस्तक्षप गर्दे आएको कथा र व्यथाले भक्कानिएँ । कतै घोडाको बिलौना सुनेँ त कतै हात्तीको । बाघका पाइला देखेर सिताङ्ग भएँ। त्यो सुनसान जङ्गलको यात्रामा म पनि डराउँदै हिँडिरहेँ । साना साना छाप्रामा रात बिताएका साहित्यकारहरूको मनको सारङ्गी मज्जाले सुनेँ ।
अचम्म लाग्यो मलाई पनि गाउँमा डालेघाँस र राजधानीमा साँडेको कथा व्यथा पढ्दै गर्दा । शाब्दिक व्यङ्ग्य वाणको शक्तिशाली तीर यी निबन्धमा निकै गहिरिएर छाम्छु र नतमस्तक हुन्छु पुनः लेखकप्रति । अचम्म लाग्छ मलाई पनि कागज खाएर दूध दिने गाई र साँडेको कथा सुन्दा । कहिले हुरीबतास झैं उड्दै गरेका शिक्षकहरूसँग नराम्रोसँग ठोकिन्छु । जीवनको रस सुकाएर जीवन बाँच्दै गरेका कथित गुरुहरूको नालायकीपन देखेर । झट्ट याद आउँछ छन्द कवि गोविन्दराज विनोदीको यो कविता, ‘‘चक डस्टरको धुलो गालामा पोतिएपछि गुरु गोरु हुँदो रहेछ कक्षामा जोतिएपछि ।” साँच्चै हेल्मेट शिक्षकहरू गोरु नै भएको अवस्थालाई बडो चोटिलो रूपमा यहाँ प्रस्तुत गरिएको छ । पैसा मात्र कमाउन पल्किएका गुरु याने गोरुहरूले गीत गाएको आवाज नियात्राकार यसरी सुनाउनुहुन्छ –
म बिहान बेचिदिन्छु।
म साँझ बेचिदिन्छु
को किन्छ मेरो
मध्यरात बेचिदिन्छु।
त्यसैबेला हुर्मतले कसैसँग बोलेको जस्तो झझल्को सुनेँ- ‘’म रातभरि तिम्रो कोचिङमा पढाइदिन्छु, महीनाको कति दिन्छौँ… (पृष्ठ २५) ?”
यी यात्रामा म कतै प्राकृतिक सौन्दर्यमा मधुरिएकी छु त कतै जनयुद्धले निम्त्याएका कहालीलाग्दा आवाजहरूलाई सुनेकी छु । कतै नौलो वातावरणमा घुम्दा घुम्दै युद्धको नाङ्गो तस्वीर हेरेकी छु । पुस्तक पढ्दै गर्दा कतिठाउँमा टक्क अडिएर अतीतको डरलाग्दो छायाबाट तर्सिएकी छु । युद्धले ध्वस्त पारेका संरचनाहरूलाई नजिकै गएर छामेकी छु ।
युद्धको मानसिकतामा ज्यानको बाजी लगाएर गरिएको यात्रा सम्झिएर निकै गम्भीर भएकी छु । अहो, कस्तो थियो समय भनेर आज आएर शान्तिको श्वास फेर्दै पुनः पुस्तकमा घोरिएकी छु । अन्त्यमा यी सबै यात्रा साहित्यको रसस्वादन गर्न त एकपटक पूर्ण पाठ पढ्नै पर्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
