नीलम कार्की निहारिकाका कृतिहरू पढ्न रोचक लाग्छ उनले प्रयोग गर्ने शैली – संवाद – पात्र सन्तुलन, कथानक प्रस्तुतिकरण शैली, अनि इतिहास र वर्तमानसँग सामन्जस्य राख्दै पाठकहरूलाई घटना- परिवेश र पात्रसँग सम्बन्ध जोड्न सक्ने गराउने शक्तिका कारण । उनका कृतिहरूमा समसामयिक सान्दर्भिकताका साथै ऐतिहासिक घटनाको पुनर्कथन उम्दा तवरले आउने गर्दछ । उनले लेखेका किताबहरूमा ‘राजमाता’ आकार, शैली, गाम्भिर्यता अनि पाना संख्यामा बृहत् छ, त्यसैले यसलाई महाख्यान भन्नु उचित हुन्छ । किताब पढ्दै जाँदा, डकुमेन्ट्री हेरेझैँ एउटा छुट्टै समय – परिवेश – समाज अनि राज्य शासनको तस्वीर आउँछ । उनको पहिलो कृति ‘मौन जीवन’सँग दाँज्दा यो कृति पक्का महा-आख्यान नै भन्न मिल्छ — दुई तीनवटा किताब अर्थात् (duology – trilogy) एउटै बन्डलमा पढ्न पाउँदा । तसर्थ समय, धैर्यता अनि पठन राम्रोसँग चाहिने छ यो सकाउनका निम्ति । थोरै कमजोरीका बाबजुद वजनदार छ कृति ।
किताबको शुरुवातमा अन्य ऋषिमुनिहरू, भिक्षु, र आम पुर्खाहरूसँगै नेपालमा शासन गरेका गोपाल, महिष्पाल, किराँत, मल्ल, लिच्छवि, शाह, सेन लगायत बाइसे चौबीसे राज्य जस्तै सिंजा, सिम्रौनगढ आदिमा शासन गरेकाहरू आदि सबै वंशका शासकहरू आफ्ना परिजन खलकसँग आएर आरती विसर्जनपछि पशुपतिनाथ मन्दिरमा जम्मा भएर कुराकानी गर्दछन् । संकेत गरेको स्थानमा सबैलाई निश्चित लहरमा बस्ने भनेर राखिएकाले शासन परम्पराको कालक्रमिक सन्दर्भ पनि राम्रोसँग तस्वीरझैँ बताउँछ । एक अनजान वृद्ध उमेरकी नारी (गुरुआमा) ले बोकेको पुरानो किताबले इतिहासमा कमै लेखिएका माताहरूको महात्म्य डकुमेन्ट गर्दछ । यस महाख्यानको आरम्भमा आएको अध्यायले नेपालमा विविध कालमा शासन गरेका राजाहरूको विवरणले ऐतिहासिक दस्तावेज खोतलेको अनुभव गरायो । काठमाडौं उपत्यकाका तीन शहर : भक्तपुर, ललितपुर र काठमाडौंका प्राचीन नामको जानकारीका साथ यी इतिहासका पानामा सिमित शासक प्रशासक पुनः जीवित हुँदै आम नागरिक सरह पशुपति दर्शन गर्ने, बागमतिको धमिलो पानी हेरेर दु:ख महसुस गर्ने, ब्रह्ममुहूर्तमा पञ्चस्नान गर्ने, आदि गर्दछन् ।
यी फरकफरक शासकहरूका आनीबानी, कौशलता, शुरवीरता आदिको बयानका साथ आफ्ना पिता पुर्खा देख्दा शिर झुकाइ दण्डवत् गर्ने र आफू भन्दा अगाडि शासन गरेका सामु झुकेर सम्मान साथ दण्डवत् गर्ने दृश्य छ । नेपालको वर्तमान अवस्था देखेर हाम्रा पू्र्खाले के कस्तो अनुभव गर्दा होलान् र उनीहरूका मानसपटलमा कस्तो प्रभाव पर्यो होला भन्नेसँग आफ्नो विचार धेरैथोर मेल खाने रहेछ ।
बितेर गएका इतिहासविद्हरू जस्तैः विलियम कर्क- पेट्रीक, डेनियल राइट, राहुल सांकृत्यायन, अम्बिकाप्रसाद उपाध्याय, सेसिल बेन्डाल, बाबुराम आचार्य, सिल्भा लेभी, नयनराज पन्त, ज्ञानमणि नेपाल, सत्यमोहन जोशी, आदिले पुनर्जीवन पाएर प्रकट हुँदै आफ्नो ज्ञान साझा गर्दछन् । हामीले इतिहासका किताबमा छुटाएका केही नामहरू अनि इतिहासका पानामा रहेका तर अस्तित्वमा विलय भएका मानगृह, युथुनिमम् दरबार, आदि राजाप्रसाद, भवन , विभिन्न समयकालमा चले- चलाइएका मुद्रा, वंशगत विरासत / राजवंशीय विरासत अनि राजाका साटो राज्यमा नायबी शासन चलाएका नारीहरू जस्तैः रुद्र मल्लकी बहिनी, भुवनलक्ष्मी, पति राजासहित जिउँदै अग्निमा सती जान बाध्य पारिएका सतीहरूका कथा पनि आउँछ । कुन समयमा के कस्तो शासन विधि प्रणाली थियो, एक अर्काको जमिन हडप्न राज्यहरूबीच हुने टकराव, खिचातानी, एक राजाको देहावसानपछि कसरी उनको राज्य टुक्रा टुक्रा पारेर फरक फरक सन्तानलाई राजा बनाइएको हुन्थ्यो, राज्यको स्थापना र विस्थापनाको कथा पनि आएको छ ।
बस् गुनासो चाहिँ के भने यस किताबमा पनि रजहार किताबमाझैँ नेवारी भाषाका शब्दको अर्थ नभएर पढाइमा ब्रेक लाग्यो । किताबको पहिलो अध्यायमा प्रयुक्त मैथिली नेवारी शब्दका अर्थ पनि ब्राकेटमा दिइएको भए उम्दा हुने थियो । पुरानो समयकालमा विभिन्न ओहदामा बसेकाहरू, दरबारमा रहेकाहरू जस्तैः धाइ ,सुसारे, रानी, पटरानी, राजा, मन्त्री, फौज आदिका र आम सर्वसाधारणहरूले लगाउने पहिरनका चर्चाले त्यो समयमा लैजान्छ पाठकलाई । केही शब्द, वाक्यांशहरूको अर्थ उक्त अनुच्छेदमा नै कोष्ठकमा समावेश गर्दै राखेको भए पढ्ने काममा पक्कै रोकावट आउने थिएन । फोटो खिच्दै एकाध नेवार मित्रलाई यार यसको अर्थ के होला भन्दै इन्बक्स् गर्नुपरेको थियो । तर जे होस् – एउटा महाख्यान तयार गर्न के कस्तो समय लाग्ने हो, के कस्ता सन्दर्भ सामग्री खोज्न पर्ने हो र कतिको धैर्यता चाहिन्छ भन्ने कुराको सरस प्रतिबिम्ब भए रहेको प्रष्ट बुझिन्छ यो किताब सकाउँदासम्म । सन् २०१९ देखि काम थालिएको भए तापनि कहिले कोभिड महामारी र कहिले व्यक्तिगत समस्या यथार्थका कारण रोकिने र ढिलाइ हुने गरेको र उपन्यासको गर्भ-कथा (origin) बारे भनिएको छ भूमिकामा ।
इतिहासमा महत्त्वपूर्ण काल समयमा नायबी शासक भएर आफ्नो राज्य जोगाएका, अर्थ, प्रशासन, सीमा विस्तार, सीमा रक्षा लगायत राज्यका यावत् पक्षमा योगदान गरेका वीर नारी, माताहरूको महात्म्य बताउने सर्वोत्तम प्रयास हो – राजमाता । राजमाता, अर्थात् संरक्षक रानी / उपरानी (queen regent) नै रहेछन्, जसका गाथा र उदयबारे जानकारी कमै बाहिर आएका हुन्छन् । कतिपय लाइनहरू मुख्य जोड दिन हाइलाइट, टिकाटिप्पणी तथा चिह्न लगाई पढ्न मज्जा आउने रहेछ । अनि विभिन्न संस्कार, सांस्कृतिक प्रथा, विवाह गर्दा राज्य-राज्यबीच चल्ने डोला / डोलाजी प्रथा, माता हुनुको दायित्व र आकांक्षा, युद्धमा सरिक हुँदा बखत राजदरबारबाट जाने र फिर्ती आउने बेला हुने बिदाइ – स्वागत, ज्योतिष पण्डितले खुट्याउने साइत जोखना बमोजिम चल्ने परिपाटी, आदिको दृश्य आउँदछ । नारीवादी सोच र चिन्तन, राज्य चलाउन पर्दा अगाडि र पछाडि देन दिने पात्रहरू, अपराध गर्दा जनाना र मर्दानालाई दिइने फरकफरक दण्ड- सजाय, जातका आधारमा हुने न्यायिक छानबिन र राज- कचहरीबाट हुने मृत्यु-दण्ड, शिर-छेदन, सर्वस्व-हरण आदि दण्ड, राज्यको हितका खातिर अर्को राज्यमा बिहे भएर जाने, आफ्नो सत्ता शक्ति वर्चस्व राख्न आफ्नै राज्यबाट रानी भित्र्याउने नायबदेवीको सन्दर्भ छ ।
राज्य संचालनका क्रममा आइपर्ने चुनौती, आर्थिक – सामाजिक – सांस्कृतिक व्यवस्थापन, सत्ता अर्थात् गादी प्राप्त गर्ना खातिर भाइ -भाइ बीच हुने मतभेद, विवाद र रक्तपात, दरबारका खर्च धान्न साहुखलकसँग ऋण लिनुपर्ने बाध्यता, प्रजासँग उठाइने कुत अथवा राजस्वबारे बिस्तारमा थप कुरा बुझिन्छ । भारतबाट आएका शासक र सेनाले विभिन्न राज्यमा आक्रमण गर्ने, लुटपाट मच्चाउने, आत्मसमर्पण गर्ने राज्यलाई भारी तिरो तिराउने, आदि इतिहासमा पढेसुनेका कुराहरू मीठो सान्दर्भिक तवरले प्रस्तुत गरिएको छ । पात्रहरूका स्वभाव, मनोभाव, भावना, पहिरन, सपना, डर, आकांक्षा, आनीबानी मज्जाले प्रस्तुत गरिएको छ । राजदरबारभित्र दैनिक धाइ सुसारे, भारदार, गारद आदिमार्फत् हुने सुराकी गुप्तचरी, भाइ – भारदारबीच सत्ता र शक्तिका लागि पछि हुने विवाद, मतभेद र द्वन्द्व, राजा- रजौटाका उच्च यौनेच्छा, एक भन्दा बढी प्रेमरस साझेदार अनि उत्तराधिकारी पुत्र प्राप्तिका खातिर बहु-पत्नी ल्याउने प्रथा, रानी पटरानीको रोल / वरियता क्रम निर्धारण, बाल-विवाहको सन्दर्भ पढ्दा आफ्ना अग्रजबाट जाने-सुनेका कुराहरूमा विस्तारित ज्ञान मिल्छ । गादीकै निम्ति सगोत्री (एकै आमाबाट जन्म भएका) एवम् विमात्री (सौतेनी आमा जन्म भएका) दाजुभाइ बीच हुने द्वन्द्व्व – संघर्ष, उत्तराधिकारी जन्माउन सके रानीबाट पटरानीमा बढुवा गर्ने चलन अनि कहिलेकाहीँ युद्ध द्वन्द्व्व र राज्यहरणका कारण विस्थापित भइ अन्यत्र शरणार्थी बन्नुपर्ने राजखलकमा जन्मेकाको अर्को सन्दर्भ पनि आउँछ ।
महाख्यानको पहिलो अध्यायको शुरुवात १३८२ को कुनै एक दिन लावालस्कर सहित देवलदेवी तिरहुतबाट छोरा जगतसिंह अनि सेनाका नेता चण्डेश्वर ठाकुरसाथ माइत भक्तपुर फिर्दै गरेको सन्दर्भबाट छ । सिम्रौनगढ राज्यबाट परिस्थितिले भागेर माइती राज्यमा शरण लिन बाध्य देवलदेवीको भक्तपुरस्थित युथुनिमम् लायकु दरबारबाट १०-११ को उमेरमा भएको डोला प्रथाबाट भएको बिहाको सन्दर्भ पनि आउँछ । उनका पिता अबु जयतुङ, माता पदुमलदेवी, दाजु रुद्र मल्लसँगको पारिवारिक गतिशीलता र सम्बन्धका आयाम, अभिभावकीय हैसियतमा काज गर्नु, कुशल नेतृत्व लिएर राज्य शासन गर्नु, डोला ल्याउनु लानुको कारण, प्रक्रिया, संस्कार, अतिथि ग्रहण र सत्कार, र राज्य राज्यका बीच हुने सैनिक परिचालन,शक्ति खेल र गुप्तचर तैनाथ नीति आदि बारे प्रकाश पारिएको छ ।
जबर्जस्तीको बाल-विवाह भए रहे पनि बिस्तारै बस्दै जाने प्रेम, सान्निध्य र त्यस बखत हुने एकल वा द्वैत शासन प्रणाली, प्रजा – राजा – दरबार बीचको सम्बन्ध, राज्य संचालन र सन्ततिको कल्याणका लागि खर्चिने नारी शक्ति, माइती राज्य र ससुराली राज्यबीच बाँडफाँड हुने नारी हृदय र जिम्मेवारी वहनको प्रसङ्ग सटिक छ । घटनाक्रम बढ्दै जाँदा तुगलकवंशी गया सुद्दिनको फौजको आक्रमणका राज्यबाट च्युत भएर ज्यान जोगाउन भाग्न बाध्य राजा हरसिंहदेवको मृत्यु र दु:खद पलायनले ल्याउने संकट आउँछ कथानकमा ।
वैरी राज्यहरूका बीच वैवाहिक सम्बन्धको अर्को कारण आफ्नो सीमा रक्षा गर्नुका साथै चाहिने बेला सैन्य र आर्थिक सहयोग प्राप्त गर्ने सेतु अनि ससुराली सम्बन्ध गाँस्दा घात प्रतिघात नहुने विचार हो । दुर्दशा, युद्ध नियति, त्रासदी र घातबाट जोगिन भरपर्दो तौरतरिका नै सावित भएको हो त्यो बेला बाल-विवाह र बहु-पत्नी प्रथा । यद्यपि कतै कुनै बेला अपर्झट आक्रमणमा पर्ने र सत्ता खोसिने भन्ने डर, शंका व्याप्त हुन्थ्यो । बाल-विवाह गर्दा डोलामा बिदाइ गरिने व्यक्तिलाई कुनै खबर संकेत नै दिइँदैनथ्यो । पुरानो राज्य व्यवस्था हुँदाताका काठमाडौं उपत्यकाका प्राचीन टोल-बस्ती, रहनसहन, शासन प्रशासनको दृश्यावलोकन गर्न सहज हुने गरी फिल्म फुटेजझैँ तस्वीर तयार हुन्छ पाठकका दिमागमा । राजदरबारमा न्याय सम्पादन, मुद्दाको मूल्याङ्कन र दण्ड के कसरी राजाको उपस्थितिमा दिइने गरिन्थ्यो त्यस बखत भन्ने कुरा पढ्दा वर्तमान समयमा गाउँ भेलामा बसेर, छलफल गरेर गाउँका प्रधानले नियम कानुन अनुसार गर्ने याद आयो । महाभारत, गीता आदि धर्म-शास्त्रमा दिइएका ज्ञानगुणका कुराका साथै वर्तमान पुस्ताले कमै सुनेका र विरलै प्रयोग गर्ने वाक्य, शब्द छन् । पुरानो नेपालमा शासन, भाषण र प्रशासनका काममा होस् वा युद्धमा सामेल हुन् जाँदा वा राजाप्रासादमा आवतजावत गर्दा ज्योतिष- पुरोहितले बताए बमोजिम कामकाज हुने गर्दथ्यो ।
यस किताबको अर्को रोचक लागेको पक्ष चाहिँ विवाहपछि बदलिने नारीको परिचय बारे विस्तार गर्नुका साथै, वैवाहिक सम्बन्धमा जोडिएपछि पत्नीको नयाँ नाम पति राजाले दिने र विवाहिताको फेरिएका जिम्मेवारी र कर्तव्य बारे सुन्दर शब्दमा बयान गरिनु हो । कतै पढ्दै जाँदा ओठमा मुस्कान आउँछ त कतै भावुक भइन्छ अनि कति खेर सोचाइको गम्भीर पोखरीमा डुबिन्छ । मुख्यतः यो किताबमा ऐतिहासिक आख्यान र गैर- आख्यानको दोहोरो उपहार वा सौगात पाइन्छ । किताब तयार गर्दा लेखिकाले गरेको गम्भीर अध्ययन अनुसन्धान अनि शताब्दीऔँ अगाडिको राज्य राज्यमा विभक्त रहेका एवम् एक अर्काको भूमिमा अतिक्रमण आक्रमण गर्ने सानातिना राज्यको बारे सुन्दर आख्यान बनेको छ ।
राज्यहरण, सीमा बढाउन नसक्दा एवम् रोग र चिन्ताले थला परेपछि राजाको देहावसान हुने, जति जना रानी विवाहित छन् उनीसँग सती जान बाध्य पारिने ( यसलाई पुण्य काम गरेको र आफ्नो पत्नी – धर्म निभाएको मानिने) र नाबालक बाल-बच्चा भए तिनका खातिर सती जानबाट जोगिने दृश्य पढ्दा चिन्तन-मननमा व्यस्त भइन्छ । धन्न; राणा प्र.म. चन्द्र शमशेरले यो प्रथा अन्त्य गरेका कारण धेरै धेरै धन्यवाद भन्न मन लाग्ने रहेछ । मामा र भान्जा, आमा र छोरा, आमा र छोरी अनि हजुरबा र नाति सम्बन्धमा बहु-आयाम, शक्ति सम्बन्ध र विचलन आएको छ ।
राज-परिवार र खानदानमा हुने भित्री र बाहिरी द्वन्द्व, शक्ति र सत्ताका लागि हुने खिचातानी, रचिने जालझेल र संहारक चक्रव्यूहबारे लेखिएको छ । नायबी शासन चलाउने मुख्य पात्रहरूमा पदुमलदेवी, देवलदेवी, मल्लिकावती, चन्द्रप्रभावती आदि आउँछन् फरकफरक समय परिवेशमा । उनीहरूले आफ्नो नायबीकालमा के कसरी आफ्नो रणनीतिक प्रशासनिक कौशल, परिवर्तनशील सोच-विचार र सहकार्य गर्ने सहयोगीहरूका कारण आफ्नो दबदबा सफलताका साथ कायम गर्न र नायबी शासन र शक्ति आर्जन र उदयको किस्सा कुनै डकुमेन्ट्री हेरेझैँ लाग्छ ।
अध्याय दुईतिर चाहिँ गोरखा र तनहुँ राज्यका बीचको द्वन्द्व, गोरखाका राजा पृथ्वीपतिको सन्दर्भ, उनको देहावसानपछि गोरखा राज्यका राजा नरभूपाल शाह हुने र उनी अस्वस्थ हुँदा र मृत्युु पछि नायबी भएर राज्य चलाउने काम मल्लिकावतीले गर्ने घटना छ । बिहापछि नरभूपालकी रानी चन्द्रप्रभावतीसँगै आउने धाइ सुसारेले बिस्तारै उनलाई चाल्नुपर्ने कदम, राजालाई खुशी पार्ने तौरतरिका, जेठा महारानी हुनाको काम- कर्तव्य बुझाउने सिकाउने आदि काम गर्दछन् । नरभूपाल राजा भएपछि धेरै रानी र सुसारेसँगको सहवास र मतभेद अनि झगडा वैमनस्यताका कारण उत्पन्न हुने गृह- कलह, एक अर्का विरुद्ध खेलिने दाउपेचका सन्दर्भ, पेटमा रहेको बच्चालाई अर्की रानीले धाइ – सुसारे मार्फत् हानी नोक्सानी पुर्याउन सक्ने रिस्क, पहिले जन्मिने पुत्र नै गादीमा राजा बनाइने परिपाटी, रानीहरूबीच आ-आफ्ना पुत्रलाई गादीमा राखेर आफू पटरानी हुने सपना देख्ने सन्दर्भ इतिहासमा पढेसुनेको हो । दरबारभित्र र बाहिर हुने दैनिक जालझेल, छलकपट अनि जालझेलको शृङ्खला, पिताको देहावसानपछि पृथ्वीनारायण शाह गादीमा पुगेपछि पिताले जित्न नसकेको राज्य भूमि आफूले जितेर मिलाउने गाभ्ने विचार राख्ने, विवाह प्रसङ्ग, पहिलो विवाह हुँदा डोलीमा पत्नी नपठाउने ससुरालीको धोका, दोस्रो विवाह प्रसङ्ग अनि विभिन्न युद्धको बयान मजेदार छ । यस अध्यायमा नरभूपाल शाहका आमा र जेठी रानीका रूपमा चिनारी भए गरिएका माता रानी मल्लिकावती र चन्द्रप्रभावतीका बारेमा विस्तृत पढ्न पाइन्छ ।
सबै युद्धमा जित हुँदैन तर हारले पनि केही न केही सिकाउँछ नै । जन-धन र सैन्यको संहार हुने र दुवै पक्षमा जो बुद्धि र बल उत्तिकै लाउन सक्छ, विजयी बन्छ भन्ने पाठ सिकिन्छ । राजाको अहंकारी प्रवृत्ति, बेला कुबेला मनस्थितिमा आउने उतारचढाव, अरुलाई हेप्न खोज्ने उच्चस्तरको अधिकार-सम्पन्न शक्ति, थप सेना, अर्थ आर्जन र भूमि कब्जा गरेर आफ्नो राज्य-सीमा बढाउने लोभ लालसा राम्रोसँग प्रतिनिधित्व भएको छ उपन्यासमा । अझ रोचक कुरा, युद्धका बेला सेना परिचालन, प्रजासँग कटुवाल डाकेर सेना भर्ती गर्ने, ज्यान गए केही रकम जग्गा दिने उनको परिवारलाई र सेनामा आउन जान नमाने दण्ड दिने डर भयबारे बाजेसँग सुनेको स्मरण आउँछ – कसरी उनका पिता बाजेका पालामा राजाले भनेको मान्नपर्ने थियो, नत्र जे पनि हुनसक्ने डर हुन्थ्यो । युद्धमा सरिक आफ्ना सन्तान वा बाबु वा परिजनबारे परिवारका सदस्यमा उब्जने दु:ख, जिउँदै आउने नआउने शंका, सत्ता र शक्ति भएकाले जे पनि गर्न सक्ने डर अनि मनोवैज्ञानिक यथार्थ आएको छ ।
यी बाहेक अरु थुप्रै सन्दर्भहरू र घटनाक्रम कालक्रम र परिवेश अनुसार आउँछन् यस किताबमा — जसले लामै समय पाठकहरूलाई व्यस्त अभ्यस्त र मोहित गराउन सक्छ । अत: लामै समयको ब्रेक, अनुसन्धान, बहु-आयामिक सम्पादन, पुनर्लेखन र कथात्मक प्रस्तुति निखार्दै तिखार्दै पाण्डुलिपिमा गरिएको मेहनत पक्का खेर गएको छैन । लेखिकाको अघिल्ला कृतिहरू (मुख्यतः पहिलो कृति) सँग दाँज्दा उनको कथा वर्णन वा कथानक शैली, पात्र चित्रण, घटनाको संयोजन, संवाद समावेश र परिवेश सटिक चित्रण गर्ने तीक्ष्ण बहुआयामिक कथानक प्रस्तुत गर्ने र न्याय दिने विशेष शैली- शिल्प निकै उम्दा र बलियो लाग्दछ । उपन्यासमा प्रयुक्त कतिपय संवादमा मैले पाठकका रूपमा दार्शनिक, राष्ट्र निर्माण तथा शासन सिद्धान्तहरू समाविष्ट गरेको बोध पाएँ – मुख्य गरी दोस्रो र तेस्रो अध्यायमा ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










