विषय प्रवेश
नेपालको पूर्वी जिल्ला सङ्खुवासभाको खाँदबारीमा जन्मिएर पछिल्लो समय काठमाडौँलाई कर्मक्षेत्र बनाएका एक स्रष्टा हुन दिनेश थपलिया । नेपालको प्रशासन संयन्त्रमा सचिव जस्तो उच्च पदमा रहेर निष्ठापूर्वक जिम्मेवारी सम्हालेका र ६ वर्षसम्म प्रमुख निर्वाचन आयुक्तको भूमिका सफलतापूर्वक निर्वाह गरेका उनी केवल एक कुशल प्रशासक मात्र नभई सिद्धहस्त साहित्यकार (गीतकार/कवि) पनि हुन् । हालै ५२२ पृष्ठको विशाल प्राज्ञिक कृति ‘निर्वाचन ज्ञानको कोष’ (इलेक्सन इनसाइक्लोपेडिया २०८२) सार्वजनिक गरेलगत्तै उनले आफ्नो छैटौं कृतिका रूपमा “विचित्रको लोकतन्त्रः गजबको निर्वाचन (२०८२)” पाठकमाझ ल्याएका छन् ।
लेखकका अनुसार यो पुस्तक उनले लोकतन्त्र र निर्वाचनका सम्बन्धमा देखेका, जानेका, बुझेका र भोगेका विषयहरूको समग्र अभिलेख हो । यो पुस्तक बहुआयामिक विधाको रूपमा आएको छ । पुस्तकमा कुनै निश्चित विधा उल्लेख नगरिए तापनि यो संस्मरणत्मक नियात्रा, ऐतिहासिक तथ्य र खोजमूलक सामग्रीहरूको समिश्रणसहितको अनुसन्धानमूलक गैरआख्यान पुस्तक हो । लेखकले यो कृति “लोकतन्त्रको आत्मा र निर्वाचनको निष्ठा जोगाउने अथक अभियन्ताहरूको सम्मानमा” समर्पित गरेका छन् ।
विषयवस्तु र संरचना
सांग्रिला मिडिया ग्रुपले प्रकाशन गरेको यस पुस्तकलाई लेखकले आफ्नो व्यक्तिगत र संस्थागत अनुभूतिको महत्त्वपूर्ण दस्ताबेजका रूपमा चित्रण गरेका छन् । प्रस्तुत पुस्तक विचित्रको लोकतन्त्रः गजबको निर्वाचन मुख्य १५ वटा शीर्षकमा विनियोजित छ । ३४६ पृष्ठ लामो यो पुस्तकमा लेखकले अमेरिकी निर्वाचनको सूक्ष्म नालीबेलीदेखि बहुदलीय प्रणालीभित्रको दुई दलीय प्रभुत्वसम्मका विषयलाई उधिनेका छन् । पुस्तकमा सक्षम निर्वाचन व्यवस्थापन, निर्वाचनमा प्रविधिको प्रयोग र त्यसका आशङ्का एवं उपलब्धि, ‘स्विङ स्टेट’ को सामरिक अवधारणा र मतदाता मनोविज्ञान जस्ता गहन पक्षहरूलाई सरल र बोधगम्य शैलीमा समेटिएको छ ।
लेखकले अमेरिकी राष्ट्रपतीय निर्वाचनको विशिष्ट दिन ‘नोभेम्बरको पहिलो मङ्गलबार’ हुने चुनावी सरगर्मी, नतिजाको वारपार र त्यसपछिको फेरिएको राजनीतिक परिदृश्यलाई अत्यन्तै रोचक ढङ्गले प्रस्तुत गरेका छन् । विशेष गरी सन् २०२४ को अमेरिकी निर्वाचन पर्यवेक्षणको प्रत्यक्ष अनुभवलाई आधार बनाउँदै उनले लोकतन्त्रको संरचना, निर्वाचन व्यवस्थापनमा प्रविधिको भूमिका, राजनीतिक प्रचारबाजी, मतदाताको मनस्थिति र शक्ति–साधनको प्रभावलाई बहुआयामिक दृष्टिले विश्लेषण गरेका छन् ।
पुस्तक केवल अमेरिकी सन्दर्भमा मात्र सीमित छैन । भुटान, थाइल्याण्ड, र सिङ्गापुर लगायतका देशका निर्वाचनसम्बन्धी आफ्ना अनुभव, विभिन्न विद्वान्हरूका भनाइ र शोधमूलक लेखहरूलाई सन्दर्भका रूपमा प्रस्तुत गर्दै यसलाई विश्वसनीय बनाएका छन् । नियात्रामा प्रायः सन्दर्भ सामाग्री राखिँदैन तर यो पुस्तकमा ७० भन्दा बढी सन्दर्भ सामग्री र अनुसन्धानमूलक स्वरूपले यो पुस्तकलाई केवल संस्मरणमा मात्र सीमित नराखी निर्वाचनको गहिरो अध्ययनयोग्य कृति बनाएको छ । यसका साथै, विश्वका अन्य देशको तुलनामा नेपालको निर्वाचन प्रणालीका अनेक आयामहरूसँग गरिएको तुलनात्मक अध्ययनले नेपाली पाठकका लागि पुस्तकलाई थप सान्दर्भिक बनाएको छ । अतः यो पुस्तक केवल एउटा यात्रा–संस्मरण वा प्रशासनिक अनुभवको दस्ताबेज मात्र नभई लोकतन्त्रको व्यावहारिक दर्शन र निर्वाचन पद्धतिको जीवन्त विमर्श पनि हो ।
पुस्तकका मुख्य आकर्षण र विश्लेषण
यस पुस्तकमा लेखक दिनेश थपलियाले अमेरिकी निर्वाचन पर्यवेक्षणको अनुभवलाई बौद्धिक र रोचक ढंगले प्रस्तुत गरेका छन् । उनका लागि यो भ्रमण केवल अवसर नभई लोकतन्त्रको विशाल प्रयोगशाला बुझ्ने माध्यम थियो । निर्वाचनलाई उनले ‘वास्तविकतामा आधारित जीवन्त आख्यान’ र समाजको सामूहिक मनोविज्ञानको अभिव्यक्तिका रूपमा चित्रण गरेका छन् ।
पूर्व प्रमुख निर्वाचन आयुक्तका रूपमा थपलियाले आईएफइएस जस्ता संस्थाहरूसँगको सहकार्य र गहन अध्ययनपछि अमेरिकी निर्वाचन प्रणालीको सूक्ष्म विश्लेषण गरेका छन् । २३५ वर्ष पुरानो अमेरिकी प्रणालीको सान्दर्भिकता र नेपालमा छोटो समयमै व्यवस्थाप्रति देखिने असन्तुष्टिबीचको भिन्नतालाई लेखकले गम्भीर प्रश्नका रूपमा उठाएका छन् । अमेरिकाको ‘मोटर भोटर एक्ट’ (लाइसेन्स लिँदा नै मतदाता दर्ता हुने) र हुलाकबाट मतदान गर्न सकिने व्यवस्थाले त्यहाँको प्रणालीलाई जनमैत्री बनाएको देखिन्छ ।
सन् २०२० को तथ्याङ्क अनुसार त्यहाँ ४३% हुलाकबाट, २६% अग्रिम र २८% मात्र निर्वाचनको दिन मतदान भएको थियो प्रतिशत (पृ.३०) । नामावलीमा नाम नभए पनि परिचयपत्रका आधारमा मत हाल्न पाउने र पछि योग्यता पुष्टि भएपछि गणना गरिने व्यवस्थालाई लेखकले अमेरिकी प्रणालीको सबैभन्दा सबल पक्ष मानेका छन् ।
हारमा देखिने विनम्रता र जितमा देखिने कर्तव्यबोध नै अमेरिकी लोकतन्त्रलाई जीवित राख्ने कडी भएको लेखकको ठम्याइ छ । “म स्वतन्त्र विचार राख्न सक्छु र सुसूचित निर्णय लिन सक्छु” भन्ने मतदाताको उच्च आत्मविश्वास नै त्यहाँको लोकतन्त्रको मेरुदण्ड मानेका छन् । इलेक्टोरल कलेज र प्रत्येक राज्यका छुट्टाछुट्टै कानुनी ढाँचाले प्रणालीमा केही जटिलता थपे पनि यसले अमेरिकाको विविधतालाई सम्मान गरेको देखिन्छ ।
विश्वका धेरै देशमा बहुदलीय व्यवस्था भए तापनि व्यवहारतः दुई दलकै वर्चस्व रहेको पाइन्छ । लेखकले नेपालमा दर्जनौँ दलहरू अस्तित्वमा हुनु र त्यसले निम्त्याएको राजनीतिक ‘भद्रगोल’ प्रति चिन्ता व्यक्त गरेका छन् । उनले वि.सं. २०६७ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहसचिव हुँदा प्रस्तुत गरेको कार्यपत्रको स्मरण गर्दै नेपालमा पनि राजनीतिक स्थायित्वका लागि ‘दुई–दलीय प्रभुत्व’ वा वैचारिक ध्रुवीकरणको आवश्यकता औँल्याएका छन् । अमेरिकी लोकतन्त्रको प्रारम्भिक चरणमा राजनीतिक दलहरूको कुनै औपचारिक स्वरूप थिएन । स्वतन्त्र निर्वाचित भएका प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले सन् (१७९३–१७९७) को आफ्नो बिदाइ सम्बोधनमा कुनै बेला राजनीतिक दलहरू राष्ट्रको एकताका लागि घातक हुने चेतावनी दिँदै यसले विभाजन, अस्थिरता, भ्रष्टाचार र गुटबन्दी मात्र निम्त्याउने बताएका थिए । आजको विश्व राजनीतिमा बढ्दो अस्थिरतालाई हेर्दा वासिङ्टन कति दूरदर्शी थिए भन्ने स्पष्ट हुन्छ । अमेरिकामा सन् १८४० देखि डेमोक्याटिक र रिपब्लिकन पार्टीहरूले अहिलेसम्म वर्चस्व राखिरहेको कुरा उल्लेख गरेका छन् ।
लेखकका अनुसार अमेरिकामा दुई दलको वर्चस्व रहनुका मुख्य कारणहरूमा विशाल आर्थिक स्रोत, संस्थागत संरचना र स्वतन्त्र उम्मेदवारका लागि रहेको जटिल कानूनी प्रक्रिया हुन् । उनले वैचारिक रूपमा यी दुई धारलाई यसरी व्याख्या गरेका छन्, डेमोक्रेटिक विचारधारा, जसले शासनमा जनताको सहभागिता र सामाजिक न्यायमा जोड दिन्छ । रिपब्लिकन (कन्जर्भेटिभ) विचारधारा, जसले शक्तिशाली केन्द्रीय सरकार, बजार अर्थतन्त्र र परम्परागत मूल्यमान्यतालाई प्राथमिकता दिन्छ ।
लेखकको निष्कर्ष छ कि अमेरिकी दुई–दलीय एकाधिकार लोकतन्त्रको सुदृढीकरण मात्र नभएर नयाँ सम्भावनाहरूको सङ्कुचन पनि हो । उनले यसलाई एउटा ‘स्थायी नाटक’को संज्ञा दिएका छन् जहाँ पात्र फेरिए पनि प्रवृत्ति उस्तै रहन्छ (पृ. ५३) । अर्कोतिर, अमेरिकामा संसदीय ‘ह्विप’ को औपचारिक व्यवस्था नहुनु र नेपालमा सांसदहरू ह्विपको त्रासले दलीय बन्धक बन्नुपर्ने अवस्थाबीचको तुलनाले नेपालको संसदीय सुधारका लागि नयाँ बहस छेड्ने काम गरेको छ । इलेक्टोरल कलेजको मतदान गोप्य नभई खुल्ला हुनु र लोकप्रिय मत बढी ल्याएर पनि गणितमा पछि पर्दा चुनाव हारिने विचित्र पक्षबारे पुस्तकले विस्तृत जानकारी दिएको छ ।
कुनै पनि लोकतन्त्रमा निर्वाचनको विश्वसनीयता कायम राख्न निर्वाचन व्यवस्थापन निकायको स्वायत्तता र क्षमता अत्यन्त महत्त्वपूर्ण हुन्छ । अमेरिकामा कतै राज्य सरकार, कतै स्थानीय निकाय त कतै स्वतन्त्र निकायले निर्वाचन व्यवस्थापन गर्छन् । लेखकले सन् १९०२ मा स्थापित अस्ट्रेलियाको ‘अस्ट्रेलियन इलेक्सन कमिसन’ देखि सन् १९२० मा स्थापित ‘इलेक्सन क्यानडा’ सम्मको ऐतिहासिक विकासक्रमलाई रोचक ढंगले प्रस्तुत गरेका छन् । पुस्तकको पृ.६७ मा लेखकले एउटा शक्तिशाली निष्कर्ष निकालेका छन् “निर्वाचनको स्वच्छता संविधान र कानुनका काला अक्षरमा मात्र सीमित हुँदैन, यसका लागि सरोकारवालाहरूको सफेद व्यवहार (इमानदार आचरण)” अपरिहार्य हुन्छ ।
पुस्तकमा समेटिएको महत्त्वपूर्ण शीर्षक “निर्वाचनमा प्रविधि र आशंका–उपलब्धि” विशेष उल्लेखनीय छ । लेखक अत्यन्त प्रभावशाली रूपमा भन्छन् “मतपत्र कागज मात्र हो, तर त्यसमा अंकित उम्मेदवारको चिह्न र त्यहाँ लगाइने मतसंकेत जनताको आत्मा हो (पृ.७२) ।” उनले भोटिङ मेसिनबारे सन्तुलित दृष्टिकोण प्रस्तुत गर्दै भनेका छन् “भोटिङ मेसिन निष्पक्ष हुन्छ तर त्यो मानिसले बनाउँछन् र मानिसले नै चलाउँछन् । जहाँ मानिस हुन्छ, त्यहाँ स्वार्थ र चालबाजीको सम्भावना पनि हुन्छ (पृ.७२)।” उनले सन् १८९२ मा न्युयोर्कको मेकानिकल लिभर मेसिनदेखि पछिल्लो समयको टच–स्क्रिन प्रणालीसम्मको इतिहास र थाइल्याण्ड तथा भुटान जस्ता देशको सफल प्रयोगका उदाहरण दिएका छन् । सन् २००० को अमेरिकी निर्वाचनमा फ्लोरिडाको पञ्चकार मेसिन विवादको उदाहरण दिँदै उनले प्रविधि कुनै जादुई समाधान नभएको बरु यसका लागि राजनीतिक इच्छाशक्ति र मतदाताको विश्वास आवश्यक हुने बताएका छन् ।
लेखकले अमेरिकी निर्वाचन प्रणालीको रोचक पक्ष ‘सेफ स्टेट्स’ र ‘स्विङ स्टेट्स’ को अवधारणालाई मिहिन ढंगले केलाएका छन् । धेरैजसो अमेरिकी राज्यहरू कुनै न कुनै दलका ‘सुरक्षित किल्ला’ हुन्, जहाँ चुनावी नतिजा पहिल्यै अनुमानित हुन्छ । त्यसैले उम्मेदवारहरूले त्यहाँ शक्ति खर्च गर्नुभन्दा रणनीतिक रूपमा ‘स्विङ स्टेट्स’ जित्न बढी ध्यान दिन्छन् । थपलियाको विश्लेषणले अमेरिकी राष्ट्रपति बन्न देशभर लोकप्रिय हुनुभन्दा यो रणनीतिक र गणितको खेल जित्नु बढी महत्त्वपूर्ण भएको पुष्टि गर्छ । नेपालको पछिल्लो निर्वाचनले भने कुनै दलको ‘प्रभाव क्षेत्र’ भन्ने भाष्यलाई खण्डित गर्दै मतदाता सबै ‘स्विङ’ हुन्छन् भन्ने तथ्य स्थापित गरेको छ ।
निर्वाचन अनुसन्धानका क्रममा एक सहरबाट अर्को सहर जाँदा अमेरिकाका नेपालीहरू र आफन्तहरूको प्रेमिल आतिथ्यको उनले मुक्तकण्ठले प्रशंसा गरेका छन् । कतिपय ठाउँमा उनी कवि र गीतकारको रूपमा प्रस्तुत हुँदै यात्रा विवरणलाई कवितात्मक शैलीमा प्रस्तुत गरेर पाठकलाई रोचकता थपेका छन् । निर्वाचन प्रचार अभियान र मतदाता मनोविज्ञानको खण्डमा लेखकले निर्वाचनलाई ‘मनोवैज्ञानिक युद्ध’ र ‘शक्ति, सञ्जाल, सम्पत्ति र संसाधनको भीषण प्रतिस्पर्धा’ को रूपमा चित्रण गरेका छन् । अरबौँ डलर खर्च हुने अभियान, अपारदर्शी चन्दा र सामाजिक सञ्जालमा हुने बहसले मतदाताको मनोविज्ञानमा द्वन्द्व सिर्जना गर्छ । मिथ्या सूचनाले जनमतलाई नै प्रभावित पार्ने जोखिम बढाएको छ भन्ने बारे चिन्ता ब्यक्त गरेका छन् । उम्मेदवारहरूले निर्वाचन आफ्ना पक्षमा पार्न मतदाताको ‘सपना, वेदना र सङ्घर्ष’ का कथाहरू बुनेर उनीहरूको विवेकलाई प्रभावित पार्ने रणनीति अख्तियार गर्ने गर्छन् ।
जनमत सर्वेक्षणलाई लेखकले ‘अनुमान र भद्रगोल’ को संज्ञा दिएका छन् । ब्रेक्जिट (२०१६), बेलायत आम निर्वाचन (२०१५) र २०१६ को अमेरिकी निर्वाचनको उदाहरण दिँदै उनले सर्वेक्षणहरू कसरी “पानीका फोका” सावित हुन्छन् भन्ने विश्लेषण गरेका छन् । सर्वेक्षण असफल हुनुको मुख्य कारण ’मतदाताको मौनता’ हो । उनले मार्मिक ढङ्गले लेखेका छन् “निर्वाचन सर्वेक्षणको चम्किलो चस्माले जनताको मौन अनुहार नदेख्दा सर्वेक्षणको महल तासको घरजस्तै ढल्छ (पृ.१९६)।”
डिजिटल युगमा निर्वाचन सुरक्षाबारे पनि पुस्तकमा मिहिन विश्लेषण गरेका छन् । निर्वाचन प्रणालीमा हुने ह्याकिङ, डाटा चोरी र साइबर सुरक्षाका चुनौतीले जनमत प्रभावित हुन सक्ने जोखिम औँल्याइएका छन् । डिजिटल साक्षरताको अभावमा प्रविधिले लोकतन्त्रलाई बलियो बनाउनुको साटो उल्टै कमजोर पार्न सक्ने चेतावनी दिँदै लेखक भन्छन् “प्रविधिले निर्वाचनलाई छिटो र छरितो त बनाउँछ तर यदि यसले मतदाताको विश्वास जित्न सकेन भने लोकतन्त्रको मर्म नै मर्दछ ।” सन् २०२३ को थाइल्याण्डको चुनाव प्रसङ्ग र भारतमा निर्वाचनका समयमा मिथ्या सुचनाले मतदातालाई दिगभ्रमित पारेको कुरा उल्लेख गर्दै उनी भन्छन् “अल्गोरिदममा आधारित सामाग्रले वैचारिक ध्रुविकरण बढाएको, सार्थक, जायज तथा सहिष्णु बहस कमजोर बनाएको थियो । पृ.२३३)” अल्गोरिदमको प्रभाव नेपालको पछिल्लो निर्वाचनमा निकै भएको कुरा प्रशस्त बहस भएका छन् । समयक्रमले यो कुरा पुष्ठि गर्ने नै छ ।
सन् २०२४ को अन्तर्राष्ट्रिय सेमिनारमा सहभागी हुँदा लेखकले अमेरिकी निर्वाचन कार्यक्रमको छोटो र व्यवस्थित उद्घाटन सत्रबाट प्रभावित भएको उल्लेख गरेका छन् । नेपालको भड्किलो परम्परा (खादा, माला, लामो मन्तव्य) को अभाव त्यहाँ देखिन्थ्यो । उनले लेखेका छन् “न प्रमुख अतिथि, न त कुनै अध्यक्षता, न आसन ग्रहण, न फूलमाला, न खादा, न ब्याच वितरण, न त लामो स्वागत मन्तव्य र धन्यवाद” (पृष्ठ २५०)। लेखकले कार्यक्रमको एक ‘तितो यथार्थ’ लाई पनि चित्रण गरेका छन् । सेमिनारको अन्त्यतिर हलमा धेरैजसो कुर्सीहरू खाली हुनु र उपस्थित सहभागीहरू पनि मोबाइलमा व्यस्त रहनुले, भौतिक रूपमा हलमा भए पनि मानिसको मन अन्तै घुमिरहेको सहजै अनुमान गर्न सकिन्थ्यो (पृष्ठ २६२)। कार्यक्रमको मुख्य निष्कर्षका रूपमा लेखकले ‘द कार्टर सेन्टर’ को एउटा मर्मलाई उद्धृत गरेका छन् । “निर्वाचनको निष्ठा मेसिनले होइन, मानिसको मस्तिष्क र संस्कारले मापन गरिन्छ ।”
लेखकले “नोभेम्बरको पहिलो मङ्गलबार” को ऐतिहासिक पृष्ठभूमिदेखि लिएर अमेरिकामा एउटै मतपत्रमा २८ वटासम्म मत संकेत गर्नुपर्ने (६ पृष्ठ लामो मतपत्र) जटिलतासम्मलाई घतलाग्दो गरी वर्णन गरेका छन् । सन् १८४५ मा बनेको एउटा ऐतिहासिक कानुन छ । तत्कालीन कृषिप्रधान समाजमा किसानहरूलाई फुर्सद होस्, चर्च जान बाधा नपरोस् र यात्रा गर्न सहज होस् भन्ने उद्देश्यले यो दिन तय गरिएको थियो । १८० वर्षअघिको यो नियम आजको आधुनिक प्रविधिको युगमा पनि उत्तिकै दृढताका साथ लागू भइरहनु आफैँमा रोचक पक्ष हो ।
निर्वाचन सकिएपछि शुरु हुने ‘इलेक्सन वाच पार्टी’को अनुभव अर्को रोचक पाटोको पनि समीक्षा गरिएको छ । खानपिन र रमाइलो माहोलका बीच एक्जिट पोलहरूले देखाउने उतारचढाव र नतिजाको प्रतिक्षाले चुनावी माहोललाई उत्सवमय बनाएको र नतिजा हेर्दै रमाइलो गरेको अनुभव साटेका छन् ।
पुस्तकको अन्तिम निष्कर्षमा विश्व निर्वाचनको सन्दर्भः उन्नत लोकतान्त्रिक माथि विमर्श गर्दै “वन–साइज फिट अल” को ढाँचामा हेर्न नहुने तर्क गरेका छन् । फरक देशका फरक समस्या र सन्दर्भ हुने हुनाले लोकतन्त्रलाई जनताको आवाज नीति बन्ने क्षमता र जनताको विश्वास जित्ने आधारका रूपमा परिभाषित गर्नुपर्छ भन्ने कुरा विश्लेषण समेत गरेका छन् ।
पुस्तकका सबल पक्ष तथा केही गुनासा
प्रस्तुत पुस्तकमा अन्तर्राष्ट्रिय निर्वाचन प्रणालीको अत्यन्तै गहिरो र तुलनात्मक अध्ययन गरिएको छ । संयुक्त राज्य अमेरिकाका साथै भुटान, भारत, थाइल्याण्ड र सिंगापुर जस्ता मुलुकहरूको निर्वाचन पद्धतिलाई ऐतिहासिक तथ्यसहित प्रस्तुत गरिनु यसको प्रमुख सबल पक्ष हो । नेपालको निर्वाचन प्रणालीका हरेक पक्षलाई अन्तर्राष्ट्रिय अभ्याससँग तुलना गर्दै लेखकले मिहिन ढङ्गले विश्लेषण गरेका छन् । यो कृति केवल कल्पना वा स्मृतिमा मात्र आधारित नभई लेखकको प्रत्यक्ष अनुभव र गहन सन्दर्भ सामग्रीको खोजीमा आधारित छ, जसले यसलाई एउटा उत्कृष्ट अनुसन्धानात्मक कृतिको गरिमा प्रदान गरेको छ । लेखक स्वयं गीतकार र कवि भएकाले लेखनमा विशिष्ट मिठास र साहित्यिक शैलीको रसास्वादन गर्न पाइन्छ । भाषा सरल, स्पष्ट र रूचिपूर्ण भएकाले समग्रमा यो पुस्तक लोकतन्त्र र निर्वाचन प्रणालीको अध्ययनका लागि एउटा महत्त्वपूर्ण र सान्दर्भिक दस्तावेजका रूपमा स्थापित छ ।
पुस्तकमा गुनासो गर्ने ठाउँ खासै छैन । यति हुँदाहुँदै, केही गुनासा पनि राख्न मन लाग्यो । अमेरिकी निर्वाचन प्रणालीको विवरण कतिपय स्थानमा आवश्यकताभन्दा बढी विस्तृत भएकाले सामान्य पाठकका लागि यो केही जटिल र बोझिलो हुन सक्छ कि ? भाषा सरल भए तापनि कतिपय ठाउँमा अङ्ग्रेजी शब्दहरूलाई ‘रोमन’ लिपिमा र कतिपय ठाउँमा अङ्ग्रेजीमै राखिएको छ । नेपाली भाषा धेरै आगन्तुक शब्दहरूको मिश्रण नै हो । कतिपय अंग्रेजी शब्दलाई नेपालीमा बुझाउन सकिँदैन । तैपनि सम्भव भएसम्म नेपालीकरण वा रोमन गरिएको भए हुन्थ्यो कि भन्ने माग मात्रै गरेको । सामान्य न्यून गुनासाबाहेक यो पुस्तक निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रक्रिया बुझ्न चाहने जोकोहीका लागि एक उदाहरणीय र सङ्ग्रह्रणीय कृति हो ।
निष्कर्ष
दिनेश थपलियाको यो पुस्तक केवल एउटा यात्रा संस्मरण वा पर्यवेक्षण प्रतिवेदन मात्र नभएर निर्वाचन विज्ञानको एक सान्दर्भिक दस्ताबेज पनि हो । निर्वाचनमा प्रविधिको प्रयोग, सुरक्षा चुनौती र लोकतन्त्रको अग्निपरीक्षाका बारेमा जिज्ञासा राख्ने जोकोहीका लागि यो पुस्तक ‘नेत्रञ्जन’ (आँखा खोल्ने माध्यम) साबित हुने देखिन्छ । विदेशी अनुभवलाई नेपाली परिवेशसँग जोडेर गरिएको यो वस्तुपरक विश्लेषणले नेपालको निर्वाचन प्रणाली र लोकतन्त्रलाई परिष्कृत बनाउन नीतिगत मार्गदर्शन प्रदान गर्नेछ ।
यस अर्थमा, यो पुस्तक लोकतन्त्रका अध्येता, नीति–निर्माता र सचेत नागरिक सबैका लागि उपयोगी मार्गदर्शक बन्न सक्छ । नेपालजस्ता विकासशील लोकतन्त्र भएका देशहरूका लागि यसले एउटा महत्त्वपूर्ण पाठ सिकाउँछ । लोकतन्त्रलाई बलियो बनाउन केवल निर्वाचन गराउनु पर्याप्त हुँदैन; त्यसका लागि विश्वास, पारदर्शिता र नागरिक सहभागिता अनिवार्य हुन्छ ।
अन्त्यमा, निर्वाचन केवल मतपत्रको गणित मात्र होइन, बरु नागरिक चेतनाको प्रतिविम्ब पनि हो । पुस्तकले एउटा स्पष्ट सन्देश दिएको छः लोकतन्त्र केवल मतपत्रमा सीमित हुँदैन, यो त नागरिकको चेतना, सहभागिता र उत्तरदायित्वबाट मात्र जीवित रहन्छ । लेखक दिनेश थपलियाको यो कृतिले लोकतन्त्रको संरचना मात्र होइन, यसको आत्माबारे समेत मन्थन गर्न बाध्य बनाउँछ । त्यसैले, “विचित्रको लोकतन्त्र: गज्जबको निर्वाचन (२०८२)” केवल अमेरिकी निर्वाचनको कथा र यात्रा विवरण मात्र नभएर लोकतन्त्रलाई बुझ्ने एउटा ऐना (दर्पण) पनि हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










