अयोध्याका राजा ऋतुपर्ण आइपुगेको खबर पाउनासाथ विदर्भनरेश भीमले राजकीय सम्मानका साथ उनको स्वागत गरे । ऋतुपर्णका सारथि बनेर आएका बाहुकरूपधारी पुण्यश्लोक नलले हाँकेका रथको गडगडाउँदो तीव्र ध्वनिले समस्त दिशा–विदिशा प्रतिध्वनित तुल्याउँदै उनीहरू कुण्डिनपुरमा प्रवेश गरे ।

राजा नलका घोडाहरू त्यहीं ‌थिए । रथध्वनि सुनेर तिनीहरूका कान ठाडा भए । आफ्नो प्यारो मालिकका आगमनको आभास पाएर ती प्रसन्नता व्यक्त गर्दै हिनहिनाउन थाले । उता दमयन्तीले पनि वर्षाकालका मेघको जस्तो चिरपरिचित गम्भीर गडगडाहटमय रथध्वनि सुनिन् र मनमनै भन्न थालिन् : आहा, यो रथध्वनिले जसरी मेरो मन आह्लादित हुँदैछ यसैबाट मेरो हृदय बोल्दछ यिनी मेरा प्रियतम नल नै हुन् ।

उनका मनमा यसरी भावलहरी खेल्न थाले :

आज यदि असंख्य गुणगणविभूषित चन्द्रमुख वीरवर प्रियतम नललाई देख्न पाइँन भने म यस तुच्छ जीवनकै निःसन्देह अन्त गरिदिनेछु । आज यदि म वीरशिरोमणि नलका दुवै भुजाहरूका मध्य विशाल वक्षमा लीन हुन पाइँन भने म अवश्यै जीवित रहनेछैन । यदि आज जलद–गम्भीर रथ–निर्घोष गर्ने निषधनरेश मेरा समीपमा आएनन् भने लप्का छुटीरहेका अग्निमा प्रवेश गरेर म पक्कै प्राणाहुति दिनेछु ।

मैले आजसम्म ख्याल ठट्टा गर्दा पनि झूठ बोलेको याद छैन, भुलेर पनि मबाट कसैको अपकार भएको छैन, आजसम्म आफूले गरेको कुनै पनि प्रतिज्ञा भंग गरेकी छैन । मेरा प्रियतम निषधनरेश नल शक्तिशाली, क्षमाशील, वीरवर, दानशील, सबै राजाहरूमा सर्वश्रेष्ठ, एकान्तमा पनि नीचकर्मबाट टाढा रहने अनि परस्त्रीका लागि नपुंसकतुल्य छन् । म सदा उनका गुणको स्मरण गर्दै निशिदिन उनकै चिन्तन ध्यानमा रहेकी छु । उनी बिना मेरो हृदय विरहानलले जलिरहेको छ ।

मनमनै यस्तै विलाप गर्दै दमयन्ती विचेत जस्ती भइन् । उनी आफ्ना प्रियतम नललाई हेर्न भनेर महलको अट्टालिकामा चढिन् । त्यहाँबाट उनले वार्ष्णेय र बाहुकका साथ अयोध्यानरेश ऋतुपर्णलाई देखिन् । हेर्दाहेर्दै उनीहरू महलमा आए । महाराज भीमले तिनीहरुको भव्य स्वागत सत्कार गरे ।

राजा ऋतुपर्णले देखे : त्यहाँ स्वयंवरसभा जस्तो कुनै छनक थिएन । महाराज भीमलाई भेटेर पनि यो कुरा बुझ्न सकेनन् कि यो केवल दमयन्तीले रचेको खेल थियो । वास्तवमा न त राजा भीमलाई नै यो रहस्य थाहा थियो । केवल दमयन्ती र राजमाताको गोप्य मन्त्रणामा यो खेल रचिएको थियो ।

अनि, विदर्भनरेश भीमले स्वागत सत्कारपछि अयोध्यानरेश ऋतुपर्णलाई सोधे : हजुर यहाँ आउनुको केही विशेष कारण थियो कि ?

प्रश्न सुनेर ऋतुपर्ण परमविस्मयमा परे । तर उनी विदग्ध थिए, आफ्नो मनोभावलाई सफलतापूर्वक दबाएर मनमनै केही विचार गरेर भने :

तेस्तो खास त केही होइन, म केवल हजुरलाई अभिवादन गर्न भनेर मात्र आएको हुँ ।

यता, राजा भीमले पनि मुसुक्क हाँस्दै मनमनै सोचे :

यिनी धेरै नगर र गाउँहरूलाई पार गरेर सय योजनभन्दा पनि टाढाको दूरीलाई तय गरेर आएका छन्, तर आउनुको कारण एकदमै साधारण बताइरहेका छन् । वास्तवमा यिनी आउनुको कुनै न कुनै गहिरो कारण अवश्य हुनुपर्छ । जे होस्, कारण त म पत्ता लगाएरै छोडुँला ।

मनमनै यति सोचेर उनले आफ्ना राजकीय अतिथिलाई भोजन र आवास आदिको उत्तम प्रबन्ध मिलाएर रात्रिविश्रामका लागि विदा गरे । ऋतुपर्ण राजसेवकका साथ अतिथिगृह गए ।

यता बाहुकरूपी राजा नल पनि आफ्नो कर्मअनुसार रथशालातिर लागे । त्यहाँ घोडाहरूलाई रथबाट फुकाएर तिनलाई अश्वशास्त्रानुमोदित विधिले सुम्सुम्याएर पुच्कार्दै विश्राम गर्न दिएर आफू स्वयं पनि रथका पछिल्तिर गएर बसे ।

उता दमयन्ती नललाई नदेखेर शोकातुर हुँदै मनमनै चिन्तित भएर सोच्न लागिन् :

यदि यी सारथि नल होइनन् भने त्यो गम्भीर रथनिर्घोष मैले कसरी सुनें त ? कि यो वार्ष्णेयले पनि नलले झैं अश्वविद्या जानेको पो छ कि ? वा राजा ऋतुपर्ण नै यस विद्यामा नलसरह निष्णात पो छन् कि ?

यसको असली रहस्य के होला त ? भन्ने उत्सुकताले आखिर उनले मनमनै एउटा निर्णय गरिन् र सबै कुरा बुझ्न भनेर आफ्नी विश्वस्त दूती केशिनीलाई  बोलाएर भनिन् :

ए केशिनी, तिमी जाऊ र पत्तो लाऊ त, त्यो छोटा छोटा हात भएको, कुरूप जस्तो देखिने रथचालक को रहेछ ? जो अहिले रथका पछिल्तिर चूपचाप बसेको छ । हे भद्रे, तिमी उसका निकट गएर सावधानीका साथ मीठो बोली गर्दै उसको कुशल क्षेमका बारेमा सोध त । अनि त्यसको सबै चालढाल राम्ररी विचार गरेर आउ त । त्यसका बारेमा मेरो मनमा ठूलो शंका छ , हो न हो त्यस वेषमा उनी राजा नल नै हुन्, मेरो मनमा अहिले जस्तो शान्ति सन्तोष र आनन्दको सञ्चार भइरहेको छ त्यसले पनि मेरो धारणालाई पुष्टि गरिरहेछ । तिमीले उसका अगाडि गएर पर्णाद ब्राह्मणलाई सिकाएका सबै कुरा भन्नु, अनि उसले जे उत्तर देला त्यो राम्ररी याद गरेर मलाई आएर भन है । हे मेरी प्यारी केशिनी, अब तिमी जाऊ ।

केशिनी गइन्, बाहुक र केशिनीका बीच यस्तो संवाद चल्यो :

केशिनी : हजुरलाई आराम त छ ? विदर्भराजकुमारी दमयन्तीले सोधी पठाउनुभएको छ : हजुरहरू अयोध्याबाट कहिले हिंड्नुभएको हो यहाँसम्म के कति कामले पाल्नुभएको हो ?

बाहुक : महात्मा कोशलराजले एक जना ब्राह्मणका मुखबाट भोलि दमयन्तीको दोस्रो स्वयंवर हुन लाग्दैछ भन्ने कुरा सुन्नुभएको थियो । त्यसैका लागि वायुसमान वेग भएका सय योजनसम्म दौडन सक्ने घोडाहरू जोतिएको उत्तम रथमा चढेर आज बिहानै त्यहाँबाट प्रस्थान गरिएको हो । म सारथि हुँ ।

केशिनी : अनि तपाईंहरूसँग आएका ती अर्काचाहिं को हुन् नि ?

बाहुक : हे भद्रे, तिनी वार्ष्णेय हुन्, पहिले पुण्यश्लोक राजा नलका सारथि थिए, नल वन पसेपछि उनी ऋतुपर्णका दरबारमा जागिर खान आएका हुन् । म पनि अश्वविद्यामा कुशल छु, त्यसैले राजाले राम्रो वेतन दिएर मलाई सारथिको पदमा नियुक्त गर्नुभएको हो ।

केशिनी : हे बाहुक, के वार्ष्णेयलाई थाहा छ दरबारबाट निस्किएर नल कहाँ गए ?

बाहुक : राजा नलका दुवै छोराछोरीलाई यहाँ छोडेर उनी स्वेच्छया अयोध्या गएका थिए । उनलाई नलका बारेमा केही थाहा छैन । अरु कसैलाई पनि नलका बारेमा केही थाहा छैन । राजा नलको पहिलो रूप अदृश्य भएको छ र आजकल उनी यस जगत्मा गूढभावले विचरण गर्दछन् । परमात्माले मात्र नललाई जान्दछन्, अनि स्वयं नलका अन्तरात्मालाई मात्र यो कुरा थाहा होला, अरुलाई थाहा हुने सम्भावना पनि छैन किनभने राजा नल आफ्ना लक्षण वा चिह्नहरुका सामू कहिल्यै प्रकट गर्दैनन् ।

केशिनी : एक जना ब्राह्मण पहिले अयोध्या गएका थिए । उनी बारम्बार यस्ता वाक्य बोल्दथे

ए जुवाडे प्रियतम, हजुर वनमा सुतिरहेकी, आफ्ना प्रियतम पतिदेवमा अनन्य अनुरागवती, प्यारी पत्नीलाई छोडेर, मेरो आधा वस्त्र च्यातेर कहाँ जानुभयो ? उसलाई हजुरले जुन अवस्थामा छोडेर जानुभयो आज पनि ऊ त्यसै अवस्थामा हजुरको आगमनको प्रतीक्षा गरिरहिछे । आधावस्त्रले आफ्नो शरीर ढाकेर त्यो युवती हजुरकै विरहाग्निमा अनवरत जलिरहेकी छे । हे वीर भूपाल, सदा हजुरकै शोकमा रोइरहेकी आफ्नी प्यारी पत्नीमाथि कृपा गर्नुहोस् र उसका प्रश्नको उत्तर दिनुहोस् । हे प्राणनाथ, पतिले सदा आफ्नी पत्नीको भरणपोषण र संरक्षण गर्नु उचित हो । हजुर स्वयं धर्मज्ञ सज्जन पुरुष हुनुहुन्छ, यी दुवै कर्तव्य आज सहसा कसरी विनष्ट भए ? हजुर विख्यात विद्वान्, कुलीन र सदा सबैप्रति दयालु हुनुहुन्छ, तर मेरो हृदयमा अब सन्देह पैदा हुन लागेको छ कि मेरो दुर्भाग्यले गर्दा कतै हजुर मप्रति निर्दय त हुनुभएको हैन ?

हे महामति, यसका उत्तरमा अयोध्यामा तपाईंले पहिले के भन्नुभएको थियो, त्यो अहिले पनि भन्नुहोस् त, दमयन्ती तपाईंकै मुखबाट त्यो फेरि सुन्न चाहनुहुन्छ ।

बाहुक :

उत्तम कुलका स्त्रीहरू ठूलै संकटमा परेका बेला पनि आफ्नो रक्षा स्वयं गर्न सक्षम हुन्छन् । यसरी उनीहरुले सत्य र स्वर्ग दुवै पक्षमा विजय हासिल गर्दछन् । श्रेष्ठ नारीहरू पति–परित्यक्ता भएर पनि पतिमाथि कदापि क्रोध गर्दैनन् । ती सदाचाररूपी कवचले ढाकेर सदा आफ्नो प्राणको रक्षा गर्दछन् ।

त्यो पुरुष अत्यन्त संकटमा परेको थियो, सुखसाधनबाट पूर्णतः वञ्चित भएकाले किंकर्तव्यविमूढ भएको थियो । त्यस्तो परिस्थितिमा यदि उसले आफ्नी पत्नीलाई छोडिहालेछ भने पनि तिनीले उसका उपर क्रोध गर्नुहुँदैन । प्राणरक्षाका लागि भोजन जुटाउने चेष्टामा त्यस विचराले लगाएको एउटो वस्त्र पनि पक्षीहरूले खोसेर लगिदिएका थिए अनि जो अनेक मानसिक चिन्ताहरूले दग्ध हुन पुगेको थियो त्यस्ता दैवाहत पुरुषसँग तिनी श्यामाले क्रोध गर्नुहुन्न । राज्य र राजलक्ष्मी दुवैबाट वञ्चित, भोक–प्यासले पीडित, अथाह विपदाको महासागरमा निमग्न आफ्ना पतिलाई ती मनस्विनीले अवश्य क्षमा गर्नुपर्छ ।

यति भन्दाभन्दै नलको मन अत्यन्त उदास भयो । उनले आफ्ना नेत्रयुगलमा डबडबाइरहेका आँशु थाम्न पनि सकेनन् र धुरुधुरु रुन लागे ।

केशिनीले गएर दमयन्तीलाई यो समस्त घटना बेलिविस्तार लगाएर सुनाइन् ।

सबै कुरा सुनेर दमयन्ती शोकमग्न भइन्, बाहुक पक्कै पनि नल नै हुन् भन्ने उनका मनमा बलवती आशा पलायो । अनि फेरि केशिनीलाई भनिन् :

हे केशिनी, तिमी फेरि जाऊ र बाहुकको परीक्षा गर । यस पटक तिमी केही नबोल्नू । नजिकैबाट उसको चाल–चलन र चेष्टामात्र ध्यान दिएर विचार गर्नू । उसले आगो माग्यो भने आगो पनि नदिनू, पानी माग्यो भने पानी पनि नदिनू । उसमा कुनै दिव्य वा मानवोचित कुनै विशेष लक्षण देख्यौ भने तुरुन्त मलाई आएर भन्नू, है ?

दमयन्तीको आज्ञा शिरोपर गर्दै केशिनी पुनः बाहुकका छेउमा गइन् र केही बेरमा फर्किएर आएर भनिन् :

हे दमयन्ती, उसको प्रत्येक व्यवहार अत्यन्त पवित्र छ । यस्तो असल मानिस त मैले न पहिले देखेकी थिएँ, न सुनेकी थिएँ । कुनै होचो भन्दा होचो ढोकामा छिर्दा पनि त्यो मानिस झुक्दैन, ऊ अगाडि परिसकेपछि ढोका नै यसरी अग्लिन्छ कि उसको टाउको न ठोकियोस् । साँगुरो ठाउँ पनि उ बस्न लाग्दा फराकिलो भइदिन्छ । महाराज भीमले ऋतुपर्णका निम्ति अनेक भोज्य पदार्थ पठाइबक्सेको थियो तिनमा प्रचुर मात्रामा केरा र फलको गुदी पनि थियो, पखाल्नलाई पानी थिएन, खाली घडाहरू मात्र थिए । तर बाहुकले हेर्नासाथ ती सबै घडा पानीले भरिएका थिए । त्यसै पानीले धोएर त्यो खाद्य पदार्थ बाहुकले चुह्लामाथि राखिदिए । अनि एक मुठी झिंजाहरु बटुलेर उनले सूर्यको किरणमा यसो के देखाएका थिए त्यहाँ त आफैं आगो पो सल्कियो । यो अद्भुत घटना देखेर छक्क पर्दै म यहाँ आएकी हुँ । अनि फेरि बाहुकका एउटा अर्को पनि आश्चर्यको कुरा देखें मैले । त्यस मान्छेलाई आगाले पनि पोल्दै रहेनछ अनि भाँडामा भएको अलिकति पानी पनि उसका इच्छानुसार ह्वालह्वाल्ती पोखिन पो थाल्दो रहेछ । अनि फेरि अर्को कुरो । त्यस मान्छेले हातमा फक्रिएको फूल लिएर माड्दो रहेछ तैपनि ती फूल माडिँदा रहेनछन् । जस्ताको तस्तै फक्रिएका फक्रिएकै रहँदा रहेछन् ।

यस्ता कुरा सुनेपछि दमयन्तीले मनमनै निश्चय गरिन् कि बाहुक स्वयं मेरा पति पुण्यश्लोक राजा नल नै हुन् । अनि फेरि केशिनीलाई भनिन् :

मेरी प्यारी सखी, फेरि एकपटक जाऊ न । बाहुकले थाहा नपाउने गरी उनले पकाएको फलको अलिकति परिकार खुसुक्क लिएर आऊ त ।

नभन्दै केशिनीले फेरि गएर काम फत्ते गरेर आइन् । दमयन्तीले त्यो स्वादिष्ट परिकार चाखिन् र स्पष्ट थाहा पाइन् त्यसको स्वाद नलले बनाएको स्वादिष्ट परिकारसँग ठ्याक्कै मिल्दथ्यो । अनि अब त उनलाई पूर्ण निश्चय भयो अयोध्यानरेश ऋतुपर्णका सारथि बनेर आएका बाहुक अरु कोही होइनन्, राजा नल नै हुन् । उनको व्याकुलता अझ घनीभूत हुँदै गयो । आँखाभरि आँशु डब्डबाउन लागे । उनले आफूलाई जसैतसै सम्हालेर, हात मुख धोएर, प्रकृतिस्थ भएर आफ्ना दुवै सन्तान इन्द्रसेन र इन्द्रसेनालाई बाहुकका छेउमा पठाइदिइन् ।

बाहुकले अत्यन्त व्यग्रताका साथ दुवै बाल–बालिकालाई आफ्ना काखमा लिएर छातीमा टाँसे । दुवै सन्तानलाई काखमा लियेपछि उनको धैर्यको बाँध टुट्यो र बाहुकरूपी राजा नल घुँक्क घुँक्क गरेर रुन पो थाले । तर, केशिनीले देखिन् भन्ने थाहा पाएपछि भने :

हे भद्रे, यी दुवै बालबालिका मेरै छोराछोरीजस्ता रहेछन्, यिनलाई देख्नासाथ मैले आँशु रोक्नै सकिनँ । अनि हे भद्रे, तिमी यसरी यहाँ बारम्बार आइजाइ गरीरहँदा अरुले अन्यथा शंका गर्लान् । हामी यस देशमा अतिथि हौं । अतः अब तिमी सुखपूर्वक आफ्ना महलमा जाऊ ।

केशिनी चूपचाप फर्किइन् ।

क्रमशः बाँकी अर्को हप्ता…

…………..

महाभारत, वनपर्व, अध्याय : ७३ देखि ७५ मा आधृत,

२०८२ साल फागुन २२ गते शुक्रवार, ॐअक्षरालयः ।