बौद्धनाथ स्तूपाको शान्त परिक्रमा पथमा भिक्षुहरूको मौन यात्रा, जपमाला, प्रार्थनाका मन्त्र र धुन उच्चारणको मधुर स्वर मिसिँदा जस्तो एक प्रकारको आध्यात्मिक कम्पन सर्छ । त्यही कम्पनको छेउमा महाङ्कालतिर जाँदा एउटा घर थियो– जहाँ कला भित्तामा टाँसिएको चित्र थिएन, त्यो श्वास थियो, बोली थियो, जीवन थियो । त्यही घर थियो– नेपाली चित्रकला र कला लेखनका अग्रणी व्यक्तित्व मनुजबाबु मिश्रको निवास स्थल ! मेरा लागि त्यो घर एउटा घर थिएन, एउटा ‘हर्मिताज’ थियो, कला साधनाको एकान्त कुटी थियो । त्यहीँ थियो– एकजना समर्पित कलासाधकको साधनालय !
म त्यहाँ धेरैपटक पुगेको छु । कहिले कलाकारको समूहमा, कहिले कुनै कार्यक्रमको अवसरमा, कहिले आफ्नै जिज्ञासाको चौचौले तानिएर । तिनैमध्ये केही घटना मुख्य लाग्छन् । अन्य भेट र भलाकुसारीका बेलिविस्तार धेरै छन् । पछि गरौँला । २०६२ साल मंसिर महिनामा हर्मिताजको प्राङ्गणमा अरनिकोको पूर्णकद्को मूर्ति उद्घाटन समारोहको क्षण । २०६९ साल वैशाख २४ गते आइतबार कलाकार मनुजबाबु मिश्रको हर्मिताजमा अनौठो एकल कलाप्रदर्शनी भएको थियो । आफ्नो निवासस्थलमा रहेको बगैँचाका बोटमा क्यानभास चित्र झुण्ड्याइएका थिए ।
बौद्ध घुम्दै जाँदा स्तूपाको शान्त छायाँले मन निथ्रुक्क पाथ्र्यो, तर मेरो पाइला भने सधैँ उहाँको दैलोतिर मोडिन्थ्यो । ढकढक्याउँदा भित्रबाट आउने गहिरो, आत्मीय स्वर– “आउनुस्, आउनुस् !” आज पनि कानमा गुञ्जिरहेझैँ लाग्छ । त्यो दैलो पार गर्दा म अतिथि होइन, शिष्यझैँ महसुस गर्थें ।

उहाँको बैठक कोठा आफैँमा एउटा जीवित संग्रहालय थियो । भित्ताभरि टाँसिएका चित्रहरू, दराजमा कला, साहित्यका किताबका ठेली, टेबुलमा छरिएका रङ, ब्रस र पुस्तकहरू, कतै नोटबुकका पानामा अधुरा विचारहरू ! सबैले एउटै कथा भन्थे– “कला जीवन हो ।” उहाँ बोल्न थाल्नुभयो भने समयले घडी हेर्न छोड्थ्यो । विश्वकलाको इतिहास उहाँको जिब्रोमा यस्तो बग्थ्यो, जस्तो हिमनदीबाट निस्किएको स्वच्छ धारा । इटालीको पुनर्जागरणदेखि पेरिसको आधुनिकतावादसम्म, नेपाली परम्परागत पौभा चित्रदेखि समकालीन प्रयोगशील क्यानभाससम्म सबै उहाँका स्मृतिमा उज्यालो भएर बसिरहेका हुन्थे ।
“कलाले समयलाई बोलाउँछ ।” उहाँ भन्नुहुन्थ्योे– “समयले कलाकारलाई परीक्षा लिन्छ ।”
त्यसरी बोल्दा उहाँको आँखामा अनुभवको, आत्मविश्वासको र समर्पणको एउटा अनौठो चमक देखिन्थ्यो । उहाँ चित्रकार मात्र हुनुहुन्नथ्यो– उहाँ एक गहिरो अध्येता र लेखक पनि हुनुहुन्थ्यो । ललितकला क्याम्पसमा लामो समय विश्वकला इतिहास पढाउँदा उहाँले सैयौँ विद्यार्थीहरूलाई पाठ्यक्रम होइन, दृष्टि दिनुभयो । उहाँका गहकिला कृतिहरूले नेपाली कला चिन्तनलाई एउटा ठोस आधार दिएका छन् । शब्द र रङ दुवैमा उहाँको समान अधिकार थियो । क्यानभासमा उहाँको ब्रस जति स्वच्छन्द हुन्थ्यो, कागजमा उहाँको कलम उति नै विश्लेषणात्मक र सुस्पष्ट ।
म उहाँसँग बस्दा कहिलेकाहीँ समयले फड्को मारेको पत्तै हुँदैनथ्यो । चिया चिसिँदै जान्थ्यो, तर कुरा तातिँदै जान्थ्यो । उहाँले आफूले देखेको, भोगेको र लेखेको कुरा सुनाउँदा त्यो जानकारी हुँदैनथ्यो– त्यो अनुभवको हस्तान्तरण हुन्थ्यो । युरोपका संग्रहालयहरूमा उभिएर महसुस गरेका क्षणहरू, नेपाली कला आन्दोलनका उतारचढाव, आफ्नै सिर्जनात्मक संघर्ष– सबै उहाँको कथनमा जीवित भएर आउँथे ।
कहिलेकाहीँ म चुपचाप उहाँका कुरा सुनिरहन्थेँ । उहाँ बोलिरहनुहुन्थ्यो । त्यो संवाद पनि मलाई एकाग्र भई बसिरहेको ध्यान जस्तै लाग्थ्यो । मभित्र प्रश्नहरू जन्मिन्थे, उहाँका उत्तरहरू तिनलाई आकार दिन्थे । त्यतिबेला मलाई लाग्थ्यो– कला सिक्नु भनेको रेखा र रङ सिक्नु होइन, जीवनलाई फराकिलो आँखाले हेर्न सिक्नु हो ।
बौद्धनाथ स्तूपाको पछाडि रहेको उहाँको घर साँच्चै एउटा ‘हर्मिताज’ थियो– जहाँ एक साधकले जीवनभर कला साधना गर्नुभयो । बाहिर संसारको कोलाहल थियो, भित्र चिन्तनको निस्तब्धता । त्यो निस्तब्धताभित्रैबाट उहाँका विचार, क्यानभास चित्र र पुस्तकहरू जन्मिए ।
आज ती भेटहरू सम्झँदा मन कृतज्ञताले भरिन्छ । उहाँसँग बिताएका ती क्षणहरू संस्मरण होइनन्, मेरो आफ्नै कलायात्राका आधारस्तम्भ पनि हुन् । उहाँले सिकाउनुभएको कुरा सायद कुनै पाठ्यपुस्तकमा नलेखिएला, तर जीवनको पानामा गहिरो अक्षरले कुँदिएको छ– कला भनेको बाहिरको दृश्य मात्र होइन, भित्रको दृष्टि पनि हो ।
हर्मिताजका मिश्र सर– एक गुरु, एक चिन्तक, एक कलाकार– जसको घरले मलाई कला मात्र होइन, विनम्रता, अनुशासन र समर्पण पनि सिकायो । उहाँको दैलो ढकढक्याएका ती क्षणहरू मेरा लागि सधैँ उज्याला रहने छन् । हर्मिताजका मिश्र सरसँग बिताएका ती असंख्य घडीमध्ये एउटा घडी यस्तो पनि छ, जसले मलाई आजसम्म छोडेको छैन– एउटा अपूरो स्केचको स्मृति ।
उहाँलाई म धेरैपटक स्केच बुक बोकेर बसेको देख्थें। दिउँसोको उज्यालो होस् वा रातको निस्तब्धता, उहाँको हातमा कलम चलिरहन्थ्यो । कहिले आफ्नै अनुहारलाई अनेक जीवजन्तुसँग तुलना गर्दै, कहिले मानवीय संवेदनालाई डरलाग्दो आकृतिमा रूपान्तरण गर्दै– रेखाहरूमा उहाँको अन्तर्मन बोल्थ्यो । ती रेखाचित्रहरू आकृति थिएनन्, ती मनुष्य र प्रकृतिबिचको गहिरो संवाद थिए ।
उहाँका ती रेखाचित्रहरूमा मानवीय संवेदनाको अपेक्षा राक्षसी प्रवृत्तिको छायाँ–छवि दृष्टिगोचर हुन्थ्यो ।
उहाँको निवासमा आउने धेरै आगन्तुकहरूलाई उहाँले आफ्नै ‘स्केच बुक’ मा कैद गर्नुभएको थियो । कतिपय अनुहार त क्यानभासमा समेत अमर भइसकेका थिए । म भित्रभित्रै सोच्थेँ– कुन दिन मेरो अनुहार पनि उहाँका रेखाहरूमा बस्ला ? नभन्दै एक दिन अवसर आयो जस्तो लाग्यो ।
उहाँले मलाई नियालेर भन्नुभयो– “ल आज तपाईंलाई उतारौँ । नचलिकन बस्नु होला । मचाहिँ चलिरहन्छु । यसरी मैले यही कोठामा, तपाईँ बसेकै स्थानमा राखेर सत्यमोहन जोशी, माधव घिमिरे, मदनमणि दीक्षित, जनकलाल शर्मा, तारानाथ शर्माकुमारबहादुर जोशी, रोचक घिमिरे आदि धेरैलाई मेरो स्केच र कहिले त क्यानभासमा ‘अन द स्पट’ चित्र उतारेको थाहा छ नि ?”
मेरो मन अनौठो उत्साहले भरिन्थ्यो । उहाँले स्केच बुक खोलेर कलम उठाउनुभयो । त्यत्तिकैमा ढोकाको घन्टी ‘टिङ्रिङटिङ्टिङ्’ गर्दै बज्यो ।
“ए रमोला, लौन बाहिर को आयो हेर त !” उहाँको आवाज बाहिर बगैँचामा बसिरहनुभएकी श्रीमती रमोला मिश्रतिर लक्षित हुन्थ्यो ।
रमोला गुरुआमा भित्र आएर भन्नुहुन्थ्यो– “फलानो आउनुभएको रहेछ, बोलाइदिउँ कि ?”
उहाँ मतिर हेर्दै हल्का मुस्कुराउँदै भन्नुहुन्थ्यो– “ए अब यहाँसम्म आएको मान्छेलाई कसरी फर्काउँ, ल हुन्छ बोलाउ !”
त्यसपछि मतिर फर्केर उहाँको त्यो परिचित मुस्कान– “ज्ञानु बाबु, आज तपाईंको अनुहार बनाउन सक्छु होला जस्तो छैन ।”
नभन्दै त्यस्तै हुन्थ्यो । कसैले साहित्यको कुरा ल्याउँथ्यो, कसैले संस्कृतिको, कसैले राजनीति र समाजको । उहाँको कला स्टुडियो फेरि एकपटक गफगाफले भरिन्थ्यो । म चुपचाप सुन्थेँ । रेखाचित्रको त्यो सम्भावना फेरि अर्को दिनको प्रतीक्षामा सर्दै जान्थ्यो । परन्तु, त्यो ‘अर्को दिन’ फेरि कहिल्यै आएन ।
अर्को हप्ता, अर्को महिना म पुग्थेँ । कुराकानी फेरि उस्तै गहिरो हुन्थ्यो । उहाँले फेरि स्केच बुक समाउनुहुन्थ्यो । तर त्यहीबेला फोनको घण्टी, पाहुनाको आगमन, वा कुनै आकस्मिक व्यस्तता– जसले गर्दा मेरो अनुहार उहाँको कलमबाट कहिल्यै आकृतिबद्ध हुन पाएन ।
उहाँ भन्नुहुन्थ्यो– “अस्ति फलानोको, हिजो फलानोको, अब आज पालो तपाईंको अनुहार मेरो स्केच बुकमा उतार्ने !’
तर त्यो पालो फेरि कहिल्यै आएन । घन्टौँ म उहाँको अगाडि बसेँ । उहाँले मेरो अनुहार हेर्नुभयो, मैले उहाँको कुरा सुनेँ । तर पोट्रेटमा मेरा अग्रज गुरु मनुजबाबु मिश्रको कलमबाट म चित्रित हुन पाइनँ ।
पहिले–पहिले मलाई अलिक खिन्नता लाग्थ्यो । तर समयसँगै मैले बुझ्न थालेँ– सायद त्यो अपूरोपन नै पूर्णता थियो । उहाँले मेरो अनुहार कागजमा उतार्नुभएन, तर उहाँले मेरो भित्रको दृष्टि उतारिदिनुभयो । उहाँका शब्दहरूले, विचारहरूले र जीवनदर्शनले मलाई यसरी कोरिदिए कि त्यो कुनै स्केचभन्दा कम थिएन ।
आज सोच्दा लाग्छ– यदि उहाँले मेरो चित्र बनाइदिनुभएको भए, त्यो एउटा आकृतिमा मात्रै सीमित रहन्थ्यो । तर नबनाइदिँदा उहाँले मलाई एउटा प्रतीक्षा दिनुभयो, एउटा अपूरो स्मृति दिनुभयो, जसले सधैँ उहाँको सम्झना ताजा राख्छ ।
कहिलेकाहीँ जीवनमा सबै कुरा पूरा हुन आवश्यक हुँदैन रहेछ । अधुरै, अपुरै र अस्पष्टै कुराहरू पनि समयको कालखण्डमा आफैँ अर्थपूर्ण हुँदारहेछन् ।
हर्मिताजका मिश्र सरले मेरो अनुहार कागजमा कोर्नुभएन, तर उहाँले मेरो चेतनामा एउटा अमिट रेखा कोर्नुभयो । त्यो रेखा आज पनि मेटिएको छैन । बरु समयसँगै अझ गहिरिँदै गएको छ ।
केही अधुरा रेखाहरू नै हाम्रा लागि सबैभन्दा गहिरा संस्मरण बन्छन् । त्यसैले आज म भन्छु– मेरो ‘अपूरो चित्र’ नै उहाँको ‘पूर्ण स्मृति’ हो ।
२०७५ साल श्रावण २३ गते बिहानको राति ८३ वर्ष लाग्दो उमेरमा उहाँको हृदयाघातले निधन भयो । भाद्रमा उहाँ ८३ औँ जन्मोत्सवको चित्र उहाँले आफूले आफैँलाई बधाई दिएर बनाइसक्नुभएको थियो । हरेक वर्ष उहाँ आफ्नो अनुहार ऐनामा हेर्दै यसरी बनाउने गर्नुहुन्थ्यो ।
आदरणीय अग्रज कलाशिल्पी, कलाचिन्तक, कला इतिहासविद् लेखक मनुजबाबु मिश्रप्रति यिनै श्रद्धाका शब्द अर्पण गर्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ फाल्गुन २०८२, शनिबार 










