काठमाडौं । नेतृत्व र व्यक्तित्व विकासको अभियान बोकेको जेसीआई सिद्धार्थ नेपालले आफ्नो ५१औँ पदस्थापन समारोहको अवसरमा साहित्यकार तथा बैंकर मधुसूदन पोखरेललाई ‘संस्थापक सदस्य अवार्ड–२०२५’ प्रदान गरी सम्मान गरेको छ।
विश्व शान्तिको परिकल्पनासहित स्थापित जेसीआईको अन्तर्राष्ट्रिय अभियानलाई सबल, सक्षम र विकासोन्मुख बनाउने उद्देश्यअनुसार संस्थाले समाजमा विभिन्न रचनात्मक तथा मानवतामूलक कार्य गर्दै आइरहेको जनाएको छ। व्यक्तिगत तथा नेतृत्व विकास, समाजसेवा र साहित्यका माध्यमबाट समाजमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप मोहनलाल शारदा मेमोरियल ट्रस्ट अन्तर्गत जेसीआईतर्फको प्रतिष्ठित संस्थापक अवार्ड–२०२५ पोखरेललाई प्रदान गरिएको हो।
रुपन्देहीको सिद्धार्थनगर–८ निवासी पोखरेल लामो समयदेखि सामाजिक, शैक्षिक, साहित्यिक तथा वित्तीय क्षेत्रमा सक्रिय रहँदै विचार, लेखन र संस्थागत नेतृत्वमार्फत समाजमा सचेतना तथा युवाहरूको व्यक्तित्व र नेतृत्व विकासमा योगदान पुर्याउँदै आउनुभएकाे छ ।
प्रखर विचारक अरुणकुमार सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा जेसीआई सिद्धार्थ नेपाल वर्ष २०२५ का अध्यक्ष सिनेटर अर्जुन कुँवर, वर्ष २०२६ का अध्यक्ष जेसी शार्दुल मयूर कसौधन, पूर्वअध्यक्ष जेसीआई सिनेटर दीपक काफ्ले तथा जेसीआई सिनेटर ओमकुमार श्रेष्ठलगायतले मन्तव्य व्यक्त गर्दै युवामाझ नेतृत्व विकास र सामाजिक चेतना अभिवृद्धिमा संस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयाे ।
सम्मान ग्रहण गर्दै पोखरेलले उक्त अवार्डले आफूलाई अझ जिम्मेवार र प्रतिबद्ध बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि समाज र संस्थाको हितमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सन् १९७५ मा स्थापना भएको जेसीआई सिद्धार्थ नेपाल युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको एक सक्रिय सामाजिक संस्था हो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 




