​हिंसा सधैँ रगतको टाटा बनेर आउँदैन । कहिलेकाहीँ यो सरस्वती पूजाको धूप र फूलहरूको सुगन्धसँगै ‘संस्कार’ को आवरणमा देखा पर्छ । कञ्चनपुरको एउटा विद्यालयमा जब गजीराम सार्की धर्धरी रोए, त्यो केवल एउटा मान्छेको अपमान थिएन । त्यो त यो देशको कथित ‘आधुनिक सभ्यता’ को भग्नावशेषबाट निस्किएको एउटा भयानक चीत्कार थियो ।

विद्यालयको त्यो भव्य भवन, जसलाई हामी ‘ज्ञानको मन्दिर’ भन्छौँ, त्यो वास्तवमा एउटा ‘बौद्धिक वधशाला’ सावित भयो, जहाँ एउटा शिक्षकको योग्यतालाई उसको जातको कसिमा राखेर सार्वजनिक रूपमा रेटियो ।

हामी एउटा यस्तो समयमा छौँ, जहाँ उपग्रहहरूले आकाश नापिरहेका छन्, तर हाम्रो चेतना भने अझै पनि एउटा ‘जुठो कचौरा’ र ‘चोखो भान्सा’ को साँगुरो घेरामा कैद छ । गजीरामको आँशुले यो देशको लोकतन्त्रको त्यो मुकुण्डो उप्काइदिएको छ, जसको पछाडि एउटा मध्ययुगीन ‘मनुस्मृति’ अझै पनि आफ्नो शासन चलाइरहेको छ ।

भान्सा: विभेदको हेडक्वार्टर

जातव्यवस्थाको सबैभन्दा ठूलो किल्ला संसद् होइन, हाम्रा भान्साहरू हुन् । नेपाली भान्सा खाना पाक्ने ठाउँ मात्र नभएर ‘विभेदको डिएनए’ उत्पादन गर्ने प्रयोगशाला हो । जहाँ एउटा बच्चाले अक्षर चिन्नुअघि नै ‘छोइछिटो’ को व्याकरण सिक्छ । जब एउटी आमाले आफ्नो सन्तानलाई “त्यो मान्छेलाई नछोऊ, अपवित्र भइन्छ” भनेर पहिलो गाँस खुवाउँछिन्, त्यहीँबाट गजीरामहरूलाई रुवाउने ‘सागरकुमार’ हरूको जन्म हुन्छ ।

हाम्रो भान्सामा लगाइएको त्यो ‘अदृश्य लक्ष्मण-रेखा’ नै पछि गएर विद्यालयको गेट, गाउँको कुलो र सरकारी अड्डाहरूको ‘कास्ट-कोड’ बन्न पुग्छ । भान्साले सिकाएको त्यो ‘पवित्रताको पाखण्ड’ नै पछि गएर एउटा शिक्षकको अपमानमा रूपान्तरित हुन्छ । हामीले घरभित्र पालेको त्यो सूक्ष्म घृणा नै सडकमा पुग्दा ‘नवराज विक’ हरूको लास बन्छ र विद्यालय पुग्दा ‘गजीराम’ हरूको आँशु बन्छ ।

पवित्रताको भ्रम र मनोवैज्ञानिक हत्या

जातव्यवस्थाले सिर्जना गरेको सबैभन्दा क्रूर मिथक हो- ‘पवित्रता’ र ‘शुद्धता’ । यो कस्तो अचम्मको गणित हो, जहाँ पसिना बगाउने हातहरू ‘अपवित्र’ हुन्छन्, तर ती हातले उब्जाएको अन्न र बनाएको औजार भने ‘पवित्र’ ठहरिन्छन्? गजीराम सरले विद्यालयमा आफ्नो ज्ञानको पसिना बगाए, तर यो समाजले उनको ज्ञानमा होइन, उनको रगतमा ‘अशुद्धता’ खोज्यो ।

यो एक प्रकारको ‘सांस्कृतिक आतंकवाद’ हो । भौतिक हत्याले शरीर सिध्याउँछ, तर यो ‘मानसिक हत्या’ ले मान्छेको आत्मविश्वास र अस्तित्वको जग नै हल्लाइदिन्छ । जब एउटा विद्वान शिक्षकले “म त बोल्न पनि सकिनँ” भन्छ, त्यतिबेला एउटा व्यक्तिको स्वर मात्र दबिएको हुँदैन, बरु यो देशको संविधानले दिएको ‘बराबरीको ग्यारेन्टी’ नै कोमामा पुग्छ ।

उजुरी नदिनु: राज्यको अन्त्येष्टि

गजीरामले “म उजुरी दिन्नँ” भन्नु यो व्यवस्थाप्रतिको सबैभन्दा ठूलो ‘अभियोग पत्र’ हो । उजुरी नदिनुको अर्थ अपराधीलाई माफी दिनु होइन, बरु राज्यका संयन्त्रहरूमाथिको चरम घृणा र अविश्वास हो । जब पीडितलाई थाहा हुन्छ कि- उजुरी लिने प्रहरी, फाइल अघि बढाउने वकिल र फैसला सुनाउने न्यायाधीश सबैको मस्तिष्कमा त्यही ‘भान्साको सफ्टवेयर’ चलिरहेको छ, तब उसले न्यायको ढोका ढक्ढकाउनुको सट्टा ‘मौनता’ रोज्छ । गजीरामले उजुरी नदिनुको पछाडि उनी कमजोर हुनु होइन, बरु यो समाजले उनलाई ‘कमजोर बनाइएको’ हो । उनीसँग डिग्री छ, योग्यता छ, तर उनीसँग त्यो ‘जात’ छैन जसले यो देशको सत्ता र शक्तिसँग सिधा आँखा जुधाउन सकोस् ।”

यो देशको न्याय प्रणालीमा अझै पनि एउटा ‘जातको सिन्डिकेट’ कायम छ । प्रहरी चौकीमा अपराधीलाई ‘चिया-नास्ता’ र पीडितलाई ‘हप्कीदप्की’ दिइने जुन संस्कृति छ, त्यसैले गजीरामहरूलाई रुन त दिन्छ, तर बोल्न दिँदैन । उहाँको आँशुले भनिरहेको छ- “जहाँ मेरो मान्छे हुनुको अस्तित्व नै स्वीकारिन्न, त्यहाँ तिम्रो कागजी कानुनको के काम?”

आधुनिकताको आवरणमा मध्ययुगीन बर्बरता

हामीले व्यवस्था बदल्यौँ, पात्रो बदल्यौँ, तर ‘मनोविज्ञान’ बदल्न बिर्सियौँ । गजीराम रोइरहँदा विद्यालय व्यवस्थापन समिति र शिक्षक संगठनहरूको ‘अपराधी मौनता’ ले यो विभेदलाई व्यक्तिगत होइन, ‘संस्थागत’ बनाएको छ । आजको ‘नाति पुस्ता’ का सागरकुमारहरू हिजोका बाजेहरूभन्दा बढी खतरनाक छन् । उनीहरूले आधुनिकताको कोट त लगाएका छन्, तर उनीहरूको भित्र मनुस्मृतिको विषालु वृक्ष झन् झाँगिएको छ । उनीहरू ‘योग्यता’ र ‘पद्धति’ को नाममा विभेदलाई नयाँ परिभाषा दिन्छन् ।

​शिक्षकलाई अपमान गर्नुलाई उनीहरू आफ्नो ‘अधिकार’ सम्झन्छन् । यो ‘इन्टेलेक्चुअल कास्टिज्म’ झन् भयानक छ, किनकि यसले विभेदलाई तर्कको जलप लगाएर वैधता दिन खोज्छ ।

विद्यालय, जुन ठाउँमा मान्छे बन्ने प्रक्रिया सुरु हुनुपर्ने हो, त्यहीँ विभेदको ‘डिग्री’ वितरण गरिँदैछ । जब एउटा विद्यार्थीले आफ्नो गुरुलाई जातकै कारण रोएको देख्छ, उसले त्यही दिनदेखि समानताको पाठ होइन, घृणाको विरासत बोक्न सुरु गर्छ । के हामीले यस्तो पुस्ता तयार गर्दैछौँ, जसले चन्द्रमामा पाइला त राख्न सक्छ तर आफ्नो छिमेकीलाई ‘मान्छे’ भनेर अँगालो हाल्न सक्दैन?

निष्कर्ष: एउटा नयाँ युद्धको घोषणा

गजीराम सार्कीको त्यो रोदन एउटा व्यक्तिगत दु:ख होइन, यो त यो देशको ‘जातीय सत्ता’ को विरुद्धको एउटा ठूलो ‘चार्जशीट’ हो । अबको लडाइँ संसद्का धाराहरूमा मात्र होइन, प्रत्येक घरको भान्सामा हुनुपर्छ । जबसम्म भान्सामा रहेको त्यो ‘जुठो र चोखो’ को पर्खाल भत्किँदैन, तबसम्म सडकमा जतिसुकै नारा लगाए पनि समानता आउँदैन ।

जातव्यवस्था, जसको बीउ हिन्दु धर्मका पुराना शास्त्रहरूले ‘पवित्रता’ को जलप लगाएर रोपेका थिए, त्यो आज हाम्रो आधुनिक भनिने गणतन्त्रको मेरुदण्डमा सरेर यसलाई कुप्रो बनाउँदैछ । धर्मले त यसलाई परम्पराको नाममा बचायो, तर यो गणतन्त्रले यसलाई आफ्नो न्याय प्रणाली, प्रहरी प्रशासन र राजनीतिक सिन्डिकेटको ‘लाइफ-सपोर्ट’ दिएर अझै हिंस्रक बनाइदिएको  छ ।

अबको यो क्रूर समयमा अपमानित गजीरामले राज्यका ती लाचार मेसिनरीहरूसँग न्यायको भिक्षा माग्ने होइन, बरु यो समाजले आफैँले आफैँ विरुद्ध, आफ्नै भान्साको ‘शास्त्रोक्त पाखण्ड’ विरुद्ध र आफ्ना पुस्ताले विरासतमा छोडेको त्यो ‘रगतको श्रेष्ठता’ को भ्रम विरुद्ध आफ्नै चेतनाको इजलासमा उजुरी हाल्नुपर्छ । किनभने, ती सरकारी अदालतहरूले अपराधीलाई केही दिनको जेल त पुरस्कार देलान् तर हाम्रो नसा-नसामा दौडिरहेको त्यो सूक्ष्म ‘मनुस्मृति’ लाई फाँसी दिन सक्दैनन् । त्यसैले, वास्तविक न्याय कानुनका ती मृत दफाहरूमा होइन, बरु हाम्रो चेतनाको त्यो विष्फोटमा लुकेको छ जसले मान्छेलाई उसको ‘जात’ को साँगुरो जेलबाट मुक्त गरेर ‘मानवता’ को खुला आकाशमा पहिलोपटक उभ्याउने साहस गरोस् । हाम्रो विवेकले विभेद गर्नेलाई होइन, विभेदलाई प्रश्रय दिने संस्था र मौन बस्ने नेतृत्वलाई निर्मम प्रश्न गरोस्  ।

जबसम्म एउटा गजीराम विद्यालयको गेटमा अपमानित भएर रुनुपर्छ, तबसम्म सम्झनुस्- हामीले ल्याएको यो राज्य-व्यवस्था एउटा ‘भ्रम’ मात्र हो । वास्तविक स्वतन्त्रता त त्यो दिन आउनेछ, जब कुनै पनि मान्छेले आफ्नो जातको कारणले होइन, आफ्नो कर्मको कारणले शिर उठाएर बाँच्न पाउनेछ ।

गजीरामको आँशु अहिले शान्त देखिन सक्छ, तर नबिर्सनुहोस्- यही आँशु भोलि एउटा यस्तो आगो बन्नेछ, जसले विभेदको यो सिन्डिकेटलाई खरानी बनाउनेछ ।