देशभरि विद्यालयका गेटहरू बिहानै खुल्छन् । घण्टी बज्छ । कापी, किताब, झोला, टिफिन- सबै ठिक ठाउँमा हुन्छन् । एउटा कुरा भने सधैँ अदृश्य रहन्छ- बालकको मन । त्यो मन, जसलाई हामी अनुशासनको नाममा लघार्छौँ, नियमको नाममा थिच्छौँ अनि राज्यको भविष्यको नाममा चुप गराइदिन्छौँ ।

आज ‘गृहकार्य दिनु पनि यातना’, ‘कपाल काट् भन्नु पनि यातना’, ‘अनुशासनमा बस् भन्नु पनि यातना’, ‘मोबाइलको लतले बिग्रिएको बच्चालाई छोराछोरी सम्झेर एक-दुई लपेटा लगाउनु पनि यातना’ भन्दै उठेको शिक्षक-अभिभावक बहस सामान्य फेसबुके रोइलो मात्र होइन । यो हाम्रो शिक्षा प्रणाली, पारिवारिक संस्कार, सामाजिक जिम्मेवारी र राज्यको असफलतामाथि लागेको ठूलो प्रश्नचिह्न हो ।

एकछिन घोत्लिऔँ त, के बालबालिका साँच्चै  अभिभावकको निजी सम्पत्ति मात्र हुन् ? के राज्यको दायित्व केवल जन्मदर्ता गरिदिने र भत्केका भवनमा शिक्षाको नाटक मञ्चन गरिदिनेमा सीमित हुनुपर्छ ?

​आज हाम्रा शहरहरू, हाम्रा गाउँहरू, हाम्रा घरहरू र हाम्रा विद्यालयहरू, बालबालिकाको मनोविज्ञानलाई क्रूरतापूर्वक विच्छेदन गर्ने अघोषित वधशालामा परिणत भएका छन्  । यदि हामीले हरेक गल्लीमा भेटिने डरलाई, हरेक कोठाभित्र लुकेका त्रासलाई महसुस गर्‍यौँ भने बुझ्नेछौँ: बालबालिका वर्तमानका कैदीहरू हुन् र हामी सबै त्यो जेलका सह-निर्माता हौँ ।

​​हामीले बिर्सनु हुँदैन- बालबालिकाको शारीरिक र मनोवैज्ञानिक जगमा गरिने हिंसा कुनै पनि हालतमा ‘अनुशासन’ होइन । यो त एउटा आत्मघाती राष्ट्रिय क्षेप्यास्त्र हो, जसले हाम्रो भविष्यको क्षितिजमा प्रहार गर्दै छ ।

​घरभित्रको अदृश्य कारागार: ‘संस्कार’ को नाममा थोपरिएको ट्रमा

हामीले ‘संस्कार’ र ‘अनुशासन’ को नाममा आफ्ना कलिला नानीहरूलाई एउटा अदृश्य कारागारभित्र कैद गरिरहेका छौँ । यो कारागारको पर्खाल इँट र सिमेन्टले नभएर अपेक्षा, दबाब र भावनात्मक ब्ल्याकमेलले बनेको हुन्छ । हाम्रो पुरानो पुस्ताले ‘पिटाइ’ लाई प्रेमको एउटा कठोर अभिव्यक्तिको रूपमा बुझ्यो । यो एउटा सत्ता हस्तान्तरणको कार्य थियो- जसरी पुस्ताले पुस्तालाई उत्पीडनको डोरी समात्न सिकाउँछ ।मनोविज्ञानको स्पष्ट परिभाषाले भन्छ- कुनै पनि प्रकारको शारीरिक वा भावनात्मक हिंसाले बाल मस्तिष्कमा ‘ट्रमा’ (Trauma) सिर्जना गर्छ, अनुशासन होइन । यो ट्रमा एउटा यस्तो घाउ हो जसको पीडा समयसँगै निको हुँदैन, बरु त्यसले ‘विद्रूप व्यक्तित्व’ (Grotesquely Warped Personality) को रूप लिन्छ-  या त एक हिंस्रक सत्तावादी या एक डरपोक र निष्क्रिय नागरिकको ।

​कल्पना गर्नुहोस्: एउटी छ वर्षीय बालिका, जो गरिबीले च्यापिएको घरमा चित्रकलामा रमाउँछिन् तर गणितमा कमजोर छिन् । उनका बुबा भन्नुहुन्छ, “तिम्रो पढाइ बेकार छ । तिम्रो कारण हाम्रो शिर निहुरिएको छ ।” यो एक वाक्य तीखो चक्कु बनेर हरेक दिन उनको आत्मसम्मानको घाँटी रेट्छ । यसले उनलाई गणित सिक्न प्रेरित गर्नुको सट्टा ‘म पर्याप्त छैन’ भन्ने पाठ सिकाउँछ । परिणामतः उनको चित्रकलामा पनि रुचि हराउँदै जान्छ  । यो नै भावनात्मक ब्ल्याकमेल हो जसले सशर्त प्रेमको आधारशिला खडा गरिदिन्छ ।

​जब कुनै बच्चालाई “तिमीले यो गर्न सकेनौँ भने म तिमीलाई माया गर्दिनँ” भनिन्छ, तब उनीहरूले सिक्छन् कि प्रेम र अस्तित्व भनेको राज्यले दिएको नागरिकता जस्तै सशर्त हुन्छ । उनीहरूका भावना र असफलतालाई तिरस्कार गरिँदा, उनीहरूले आफैँलाई अस्वीकार गर्न सिक्छन् । यो आत्म-अस्वीकारले भविष्यमा कम आत्मसम्मान (Low Self-esteem) भएका तथा उदासीन र द्वन्द्वित व्यक्तित्व (An Apathetic and Internally Conflicted personality) निर्माण गर्दछ ।

“साना कुराहरूमा ठूला सत्य लुकेका हुन्छन् ।” भनेझैँ घरभित्रको एक सानो हिंसाले भविष्यमा ठूलो राष्ट्रिय मनोसामाजिक समस्या जन्माउँछ- जसले लोकतन्त्रलाई होइन बरु निरङ्कुशतालाई बलियो बनाउँछ ।

​विद्यालय: चिन्तनको चौतारो कि डरको प्रयोगशाला  ? 

​यदि घरले बाल मनोविज्ञानको जग खलबल्याउँछ भने, विद्यालयले त्यो जगलाई राज्यको स्वीकृतिसहित थप कमजोर बनाउँछ । दुर्भाग्यवश, हाम्रा धेरैजसो विद्यालयहरू अहिले ‘चिन्तन-चौतारो’ भन्दा बढी ‘डरको प्रयोगशाला’ बनेका छन् । ​कक्षाकोठाभित्र शिक्षकले ‘डन’ वा ‘जज’ को भूमिका खेल्दा, बच्चाभित्र प्रश्न सोध्ने उत्सुकता मारिन्छ । अपमानजनक शब्दहरू, सार्वजनिक रूपमा गरिने गाली र तुलनात्मक रूपमा पढाइमा ‘कमजोर’ देखिएको विद्यार्थीलाई गरिने भेदभावले बालबालिकामा, सफलताको परिभाषा कठोर र सङ्कीर्ण छ, र असफलता दण्डनीय छ भन्ने मानसिकता विकास गर्दछ ।

​जस्तै: एक सरकारी विद्यालयको कक्षामा, शिक्षकले गृहकार्य गर्न बिर्सेको विद्यार्थीलाई उभ्याएर भन्छन्, “तिमी त मोबाइलको लत लागेको ‘बिमारी’ हौ । तिमीलाई गाई चराउन पठाउनुपर्छ ।” कक्षाका ३० जना विद्यार्थीको अगाडि गरिएको यो सार्वजनिक अपमानले उनको मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पार्छ- यसले उनको मनमा विद्यालयप्रति घृणा र शिक्षण प्रक्रियाप्रति नै अविश्वास सिर्जना गर्छ । यसरी अपमानित भएको बच्चाले फेरि कहिल्यै शिक्षकसँग प्रश्न सोध्ने हिम्मत गर्दैन, र यसले सृजनशीलताको ढोकालाई सदाको लागि बन्द गर्छ । ​यसको सबैभन्दा क्रूर स्वरूप हो बुलिङ (Bullying) मा विद्यालयको मौनता । जब विद्यालयले साथी-साथीबीच हुने दुर्व्यवहारलाई ‘सामान्य झगडा’ ठानेर बेवास्ता गर्छ, तब त्यसले हिंसा र शक्तिको दुरुपयोगलाई संस्थागत वैधता प्रदान गर्छ । यसले सिकार हुनेलाई एक्लो महसुस गराउँछ र आक्रमणकारीलाई प्रोत्साहन दिन्छ ।

​हामीले आफ्ना शिक्षकहरूलाई भौतिकशास्त्र वा गणित सिकाउने तालिम दियौँ, तर उनीहरूलाई बाल मनोविज्ञान (Child Psychology), भावनात्मक बुद्धिमत्ता (Emotional Intelligence) र सकारात्मक अनुशासन (Positive Discipline) को तालिम दिन बिर्सियौँ । फलस्वरूप, हाम्रा शिक्षकहरू ज्ञान बाँड्न सक्छन्- मानसिक घाउ निको पार्न सक्दैनन् । विद्यालयहरूको यो कठोर प्रणालीले अन्ततः विद्यार्थीको सृजनशीलता (Creativity) र समालोचनात्मक चेत (Critical Thinking) लाई मार्छ । एउटा डरले भरिएको मनले कहिल्यै पनि स्वतन्त्र रूपमा सोच्न सक्दैन ।

​राष्ट्र र समाजको ‘टाउको दुखेको’ बेवास्ता (The Numb Neglect)

​बालबालिकाको विषयमा राष्ट्रको भूमिका विरोधाभासी (Contradictory) छ । राष्ट्रले एकातर्फ बाल अधिकारसम्बन्धी सन्धिहरूमा हस्ताक्षर गर्छ । अर्कोतर्फ, जब घर वा विद्यालयभित्र हिंसा हुन्छ, तब राष्ट्र ‘निजी मामिला’ भन्दै पन्छिन्छ । यो बेवास्ता,  निष्क्रियता नभएर एक प्रकारको सक्रिय उदासीनता (Active Indifference) हो ।

​सार्वजनिक उदासीनताको एउटा उदाहरण हेरौंं: एउटा विपन्न परिवारमा, बुबाले रक्सीको नशामा आफ्ना १० वर्षीय छोरालाई नियमित पिट्छन् । छिमेकीलाई यो थाहा छ । शिक्षकलाई पनि ती बालकको शरीरमा नीलडाम देखेर शङ्का लाग्छ । यद्यपि, छिमेकी भन्छन्, “पारिवारिक कुरा हो, किन मुख खोल्नु ?” शिक्षकले पनि ‘अभिभावकको कमजोरी’ भन्दै फाइल बन्द गर्छन् । सर्वविदितै छ, राष्ट्रको कानुन तबसम्म अस्तित्वमा आउँदैन जबसम्म यो मुद्दा प्रहरीसम्म पुग्दैन । यसरी, राष्ट्रले ‘कसैले उजुरी नगरेसम्म म हस्तक्षेप गर्दिनँ’ भन्ने नीति अपनाउँछ, जबकि हिंसाका सिकार भएका बालबालिका आफैँ उजुरी गर्न सक्दैनन् । राष्ट्रको यो बेवास्ता बाल हिंसालाई दुरुत्साहन गर्ने एक सशक्त इन्धन बन्छ ।

​हामीसँग बाल-संरक्षण ऐनहरू छन् । तथापि, तिनीहरूको कार्यान्वयन कागजमा मात्र सीमित छ । अभिभावक वा शिक्षकले हिंसा गर्दा कानुनी कारबाहीको डर लगभग शून्य हुन्छ । राष्ट्रले जबसम्म ‘सकारात्मक अभिभावकत्व’ (Positive Parenting) र ‘बालमैत्री शिक्षण’ (Child-Centered Teaching) लाई अनिवार्य राष्ट्रिय एजेन्डा बनाउँदैन, तबसम्म स्थिति बदलिँदैन ।

​राष्ट्रले गर्नुपर्ने लगानी भौतिक संरचनामा मात्र होइन, मनोसामाजिक पूर्वाधार (Psychosocial Infrastructure) मा पनि हो । देशको हरेक स्थानीय निकायमा बालबालिका र अभिभावकका लागि निःशुल्क मनोवैज्ञानिक परामर्श केन्द्र (Counseling Centers) स्थापना गरिनु पर्छ । जबसम्म हामी मानसिक स्वास्थ्यलाई ‘विलासिता’ (Luxury) मानिरहन्छौँ, तबसम्म हाम्रो समाजले हिंसाको उत्पादन गरिरहनेछ ।

​अन्तिम आह्वान: सत्ताको क्रूरतालाई चुनौती

हामी एउटा यस्तो दोबाटोमा उभिएका छौँ जहाँ हामीले विगतको कठोर, हिंस्रक तथा अमानवीय शिक्षण तथा अभिभावकत्वको पद्धतिलाई अस्वीकार गर्नै पर्छ । हाम्रो सबैभन्दा ठूलो विफलता यो हो कि हामीले बालबालिकालाई व्यक्ति (Individual) को रूपमा हेर्न सकेनौँ- हामीले उनीहरूलाई आफ्नो अपेक्षा पूरा गर्ने साधन (Means to an End) मात्र मान्दै आयौँ । यही बोझले उनीहरूको मनोवैज्ञानिक जगलाई कमजोर बनायो ।

हाम्रो सबैभन्दा ठूलो नैतिक परीक्षा यहीँनेर छ ।

अभिभावकलाई – ‘अनुशासन’को परिभाषा फेरौँ । डर होइन, समझदारी र सम्मानमा आधारित पारिवारिक सम्बन्ध निर्माण गरौँ ।

शिक्षकलाई – तपाईं परीक्षक मात्र होइन, मार्गदर्शक हुनुहुन्छ । कक्षाकोठालाई नियन्त्रणको कोठरी होइन, स्वतन्त्रताको वासस्थान बनाऔँ ।

राष्ट्रलाई – बाल मनोविज्ञानलाई सामाजिक परियोजना होइन, राष्ट्रिय सुरक्षाको मुद्दाका रूपमा हेरियोस् ।मनोसामाजिक लगानी प्राथमिकता बनोस्, र कानून कार्यान्वयन कागजमा होइन, व्यवहारमा कठोर बनोस् ।

समाजलाई – अब मौनता तोड्नै पर्छ । हिंसालाई ‘घरायसी मामिला’ भन्दै बेवास्ता गर्ने हाम्रो सामूहिक संस्कृतिलाई प्रश्न गर्ने साहस जुटाऔँ ।

बाल शरीर तथा बाल मनोविज्ञानमा बारम्बार दोहोरिइरहने हमला, नैतिकता वा मानवीयताको यक्ष प्रश्न मात्र होइन- यो सत्ताको निर्लज्ज नग्नता हो ।

जबसम्म राज्यले सडकमा भोकै निदाएका बालक, जुनसुकै युद्धका साक्षी बनेका बालक, जान-अन्जान डिजिटल (मोबाइल फोन) या लागूऔषधको कुलतमा फसेका बालक , बालहिंसा, बुलिङ र गरिबीको जाडोले काँपिरहेको स्कुले बालक तथा घरेलु हिंसाको झ्यालखानामा कैद बालकलाई सुरक्षित आवरण दिन सक्दैन, तबसम्म “बालबालिका राष्ट्रका भविष्य हुन्” भनिनु एक सुन्दर झुट मात्र हो ।

आज हामीले बाल शरीरमा खोपेको नीलडाम, साना पेटमा हानेको लात, बाल दुर्व्यसनप्रति देखाएको उदासीनता तथा बालमनमा रोपिरहेको भय, भोलि यही राष्ट्रको जग भत्काउने सबैभन्दा खतरनाक अणुबममा रूपान्तरण हुनेछन् – जसले विकासको ‘हिरोसिमा-नागासाकी’ ध्वस्त बनाउने ल्याकत राख्नेछन् ।