साइतका नाममा जिन्दगीको सपना पटक-पटक बलिदान दिँदैछु । के यो परम्परा साँच्चै भाग्य बनाउने उपाय हो कि बन्धनका नाममा थोपरिएको भय ?
===
गाउँको पूर्वपट्टि रहेको एउटा सानो मन्दिरछेउको पुरानो घर – साधारण देखिने तर असाधारण प्रभाव बोकेको थियो । त्यो घर केवल भौतिक संरचना मात्रै थिएन, त्यो त गाउँको सामाजिक नियतिको एक निर्णायक थलो थियो । त्यहीँ तय हुन्थ्यो-कुन घरकी छोरी कहाँ जाने ? विवाहका लागि कुन दिन शुभ छ ? कुन नामले शुभ-अशुभ फल ल्याउँछ ? यिनै प्रश्नहरूको उत्तरले गाउँका मानिसको भविष्य कोर्ने गर्थे । भाग्य यहाँ तार्किक सोचभन्दा बलियो थियो ।
गुरुदत्त कुइँकेल – साठी काटिसकेका तर अनुहारमा अझै धार्मिक तेज झल्किने एक व्यक्तित्व थिए । निधारको केसरीको टीका, आँखामा सुनको फ्रेम भएको चस्मा, गलामा रुद्राक्षको माला र श्रीराम लेखेको गलबन्दी उनको पहिचान थियो । उनी गाउँका ब्राह्मण मात्र होइनन्, सामाजिक संस्कारका संरक्षक, विवाहका निर्णायक र धर्मशास्त्रका अन्तिम व्याख्याकार मानिन्थे ।
यिनै गुरुदत्तका छोरा, दयाराम, काठमाडौँको प्रसिद्ध विश्वविद्यालयबाट आधुनिक शिक्षामा दीक्षित थिए । विज्ञान पढेर फर्किएका उनी न्यूटन, डार्विन र हँकिङ्सका तर्कहरूमा विश्वास गर्थे । तर घर फर्केपछि उनलाई पुनः एउटै पर्खालले घेरिन थाल्यो-कुण्डली, ग्रहदशा, नाम दोष र साइतको कठोर संरचना । यहाँ उनका तर्क गुम्थे, तिनको ठाउँमा अनिर्णय र मौनताको बोझ थियो ।
दयाराम ३१ वर्षका भइसकेका थिए । गुरुदत्तले छोराको विवाह चाँडै गरिदिनुपर्छ भन्ने चिन्ताले कुण्डली पल्टाउन थाले । पण्डितहरू भन्छन्, “यदि शरदसम्ममा विवाह भएन भने तीन वर्षसम्म विवाहको कुनै योग छैन ।” अर्थात्, यदि साइत चुकियो भने मान्छे केवल एक्लोपन मात्र होइन, पितृको क्रोध पनि भाग्यमा भोग्न बाध्य हुन्छ ! उनी त्यही चिन्ताले छोराका लागि कन्या खोज्न जुर्मुराए ।
पहिलो प्रस्ताव- जानकी अधिकारी
गैरीगाँउका षडान्दकी छोरी जानकी अधिकारी- नाम मात्रले होइन, उनको व्यक्तित्व नै फरक थियो । गाउँकी, तर व्यवहारमा सहरभन्दा अघि । सामूहिक विवाह कार्यक्रममा देखिएकी थिइन् उनी, जहाँ उनले बालविवाहविरुद्ध मञ्चबाट खुलेर बोलेकी थिइन् । महिलाको निर्णय क्षमतालाई लिएर उनको आत्मविश्वासपूर्ण मन्तव्यले दयारामको ध्यान तानेको थियो ।
दयारामले सोचे, “यस्ती स्त्रीसँग जीवन बाँड्न पाए कस्तो हुन्थ्यो होला ?”
ऊ आधुनिक शिक्षाले घचघच्याइएको थियो तर उसको सपना केवल पेशागत उन्नति थिएन- ऊ यस्तो जीवनसाथी खोजिरहेको थियो, जससँग विचार बाँड्न सकियोस्, दृष्टिकोण बटुल्न सकियोस् ।
जानकीले पढाइ पूरा गरेकी थिइन्, एक सामाजिक संस्थासँग आबद्ध थिइन्, आत्मनिर्भर थिइन् । विवाहप्रति उनको दृष्टिकोण स्पष्ट थियो- “समानता र सम्मान नभएको सम्बन्ध केवल सौन्दर्यको खामो मात्रै हो, आत्माको होइन ।”
दयारामको मन एक प्रकारको आश्वस्तिमा थियो- “यो मिल्छ होला !”
तर निर्णय गर्ने अधिकार दयारामसँग थिएन । प्रस्ताव जब पण्डितसम्म पुग्यो, कुण्डलीको थाङन खोलियो । एउटा छोटो विश्लेषणपछि पण्डित बोले –
“कालसर्प दोष छ । यस्ती स्त्रीसँग विवाह गर्दा सन्तान हुन सक्दैन ।”
गुरुदत्तको अनुहार झन् गम्भीर भयो । समाजमा ब्राह्मण छोराको वंशविस्तार नहुनु कल्पनातीत थियो ।
दयारामले शंका प्रकट गर्न खोज्यो- “के साँच्चै कुनै रेखाले भविष्य निर्धारण गर्छ ?”
तर ऊ चुप बस्यो ।
उसले थाहा पायो- यहाँ प्रश्न उठाउनु नै अपराध ठहरिन्छ ।
दोस्रो प्रस्ताव : सरस्वती मिश्र
पिपलटारबाट आएको प्रस्तावले गाउँको हिउँदमा हल्का तातो ल्याएको थियो । सधैँजसो चिसो हावामा चुपचाप घाम तापिरहेका वृद्धहरू पनि त्यही हल्लाबारे कुरा काट्न थालेका थिए-
“सुन्या छौ ? गुरुदत्तले पिपलटारको बाबुराम मिश्रकी भतिजीलाई हेर्ने रे !”
“नर्स पढिरहेकी छ रे… जागिरे केटी त मिल्नु पर्यो नि अब !”
गुरुदत्तले छोरोको चाहना अनुसार व्यवहारिक र शिक्षित केटी खोजिरहेका थिए । विज्ञान पढेको दयाराम अब केटीको स्वभाव, सोच र आत्मनिर्भरतामा बढी ध्यान दिन्थ्यो ।
सरस्वती मिश्र- बाबुराम मिश्रकी भतिजी, बी.एन. अध्ययनरत्, आत्मविश्वासी, नरम स्वभावकी, साथीसँग हाँस्न जान्ने, मान्छेको आँखामा हेरेर बोल्न सक्ने । केटी हेर्न गएपछि दयारामले भनेको थियो-
“ऊ बोल्दा लाग्थ्यो, मान्छेलाई औपचारिकताभन्दा आत्मीयता चाहिएको हो ।”
उनी दयारामसँग विवाह भए पनि आफ्नो अध्ययन, काम र पहिचान नछोड्ने अडानमा थिइन् ।
“मेरो सपना छ- गाउँमै स्वास्थ्य केन्द्र खोल्ने । नर्स भनेको अस्पतालमा मात्र सीमित हुँदैन, सन्देश पनि दिन सक्नुपर्छ,” उनी हाँस्याउलो पारामा भन्थिन् ।
दयाराम गहिरोसंग प्रभावित भएको थियो । उसले मनमनै सोच्यो-
“शिक्षा र आत्मनिर्भरता यसरी अभिव्यक्त हुन्छ भने, म तयार छु यति स्वाभिमानी जीवनसाथीका लागि ।”
तर यो सब मनभित्रको लड्डु मात्र थियो । व्यवहारको ढोका खोल्न अझै पण्डितको स्वीकृति आवश्यक थियो ।
पण्डित आउनु अघि गुरुदत्तले छोरोलाई सोधे-
“केटी पढेकी छ, बिउँझेकी छ तर हाम्रो परिवारमा त सधैँ परम्परा पालिन्छ । उसलाई हाम्रो चालचलन मिल्ला त ?”
दयारामले संयमतासाथ भने-
“पिताजी, मिलाउनुपर्छ भने हामीले पनि सिक्नुपर्छ । घर एकातिर, उसको जीवन अर्कोतिर छुट्ट्याउनु अन्याय हुन्छ ।”
पण्डित आए । अक्षता थालीमा झर्यो, पात्रो पल्टियो, जन्ममिति गनियो ।
त्यसपछि सानो सास फेरेर उनले गम्भीरता प्रदर्शन गर्दै भने-
“केटीको जन्म औँसीको दिन परेको रहेछ । यस्तो दिनमा विवाह गरे कुलमा अशुभ हुने शास्त्रको मत छ ।”
गुरुदत्त चुप लागे । पण्डितका वाक्यहरू शिलालेख जस्तै उनका मानसमा कुँदिए ।
दयाराम असहज भयो । उसका आँखा एकछिन पात्रोमा अडिए, अनि पण्डिततिर फर्किएर प्रश्न गर्यो-
“पण्डितजी, यो मिति औंसीको दिन किन अशुभ ? यसको वैज्ञानिक आधार के हो ?”
पण्डितको अनुहार अलिक असहज भयो ।
“शास्त्रमा यस्तै लेखिएको छ । शास्त्र परम सत्य हो, तर्कको विषय होइन ।”
दयाराम अब झस्किनु भन्दा झन दिक्क हुन थालिसकेको थियो । उसको स्वर धीमा भयो, तर दृढ-
“म ३१ वर्ष भइसकेँ । हरेक प्रस्तावमा साइत, दोष, मिति जाँच्दा जाँच्दै जिन्दगी बगिरहेको छ । हामी जिन्दगी बाँच्न चाहन्छौँ कि साइतको पर्खाइमा बालुवामा घर बनाउँदै बस्न ?”
तर यो विद्रोह केवल शब्दमै सीमित रह्यो ।
गुरुदत्तको एकै उत्तरले यो अध्याय बन्द भयो-
“साइत बिना विवाह ? कुलको नाश ! हामीले देखेको संसार हो, तिमीले पढेको होइन ।”
दयाराम पुनः मौन रह्यो ।
सरस्वतीजस्तो सशक्त, सरल र सजीव सम्बन्ध पनि अब पण्डितको थालीमा बगेको अक्षताको निर्णयमा परिणत भयो ।
तेस्रो प्रस्ताव : विवेकशीला भट्टराई
दयारामले सरस्वतीसँगको प्रस्ताव पनि गुमायो । मनमा हल्का विरक्तिएको बादल जम्दै थियो तर परिवार भने आशावादी थियो- “अर्को राम्रो केटी पाइन्छ,” भन्दै । त्यसैबीच अर्को प्रस्ताव आयो- विवेकशीला भट्टराई ।
केटी स्नातक पढिरहेकी । शान्त, आत्मसंयमी स्वभावकी । बाबु सामाजसेवी, आमा परम्परागत गृहिणी ।
दयारामसँग भएको पहिलो भेटमा उनले सिधा आँखा मिलाएर भनेकी थिइन्-
“साझा सपना बनाउन सक्ने साथी चाहिन्छ, मालिक वा सेविका होइन ।”
दयाराम मुस्कायो । त्यही वाक्यले उसलाई आकर्षित गर्यो ।
“मलाई विवेकशीला नाम मात्र होइन, विचार पनि मन पर्यो,” उसले बुबासँग भन्यो ।
गुरुदत्त पनि प्रभावित भए ।
“केटी शालीन छ । परिवार राम्रै छ । जात पनि हाम्रो जस्तै- सबै मिलेको देखिन्छ ।”
सबैले सहजताको आभास गरे । प्रस्ताव अघि बढाउने निर्णय भयो ।
तर गाउँमा भने कानेखुसी शुरु भइसकेको थियो-
“भट्टराई भन्ने नाम, तर सुनेको त हो, उनीहरू कहिल्यै ब्राह्मणमात्र होइनन् रे । पहिल्यै दमाईसँगै बस्ने गर्थे भन्ने पनि सुनिएको छ ।”
गुरुदत्तका कानमा यी कुरा पसे । एक साँझ उनले दयारामलाई सोधे-
“के थाहा छ तँलाई ? भट्टराई त भनिन्छ, तर कस्तो खानदान हो ? हामी त शुद्ध ब्राह्मण, कुल खानदान ।”
दयाराम केहीबेर चुप लाग्यो ।
“पिताजी, उनीहरू पनि पूजा गर्छन्, व्रत बस्छन्, वेद सुन्छन् । समाजसेवामा लागेका छन् । तपाईंलाई के चाहिएको हो- व्यवहार कि पहिचान ?”
गुरुदत्त तर्कमा अडिने स्वभावका थिएनन् । उनले सिधा बोले-
“हामी कुलघाती बन्न सक्दैनौँ । बाहिरी व्यवहारले शुद्धता नापिन्न ।”
दयाराम झस्कियो ।
उहाँले विचार गरिरहनु हुँदैन भन्ने नै थियो, तर ऊ भित्रैदेखि तर्क गर्न थालेको थियो-
“के जात नामको थैलीमा राखिएको धर्म हो ? कि मान्छेको व्यवहारमा देखिने मूल्य ?”
पण्डित त आउनु भएकै थिएन । कुरा यत्तिकै बन्द भयो-
जातले गाल्यो, विचार थन्कियो ।
दयाराम अब स्पष्ट बन्दै गइरहेको थियो ।
ऊ बुझ्दै थियो- “साइत मात्र हैन, नाम, जात, मिति, पात्रो, थर- यी सबै एक प्रकारको अदृश्य पासो हुन सक्छन्, जसले जिन्दगीको स्वतन्त्रता बन्धनमा पार्छ ।”
तर ऊ एक्लो थियो । समाज सामु प्रश्न उठाउने, वा पण्डित सामु शास्त्रको पाना खोल्ने उसको सामर्थ्य थिएन । त्यसैले विवेकशीला पनि उसका जीवनबाट विवेकसहित बिदा भइन् ।
चौथो प्रस्ताव : झुमा पोखरेल
दयारामको अनुहारमा यति बेला वैराग्यको छाया देखिन थालिसकेको थियो । शहरको तर्कशास्त्र र विज्ञान पढेर आएको युवक, अब गाउँको पात्रो र पण्डितको सल्लाहले असहाय बनिरहेको थियो ।
विवेकशीलासँगको प्रस्ताव जातको जेलमा चुँडिएपछि, गुरुदत्तको मनमा एउटा डर पनि थियो- “कहीँ दयारामले अब बिहे नै छाड्ने हो कि ?”
त्यसैबिच अर्को प्रस्ताव आयो- झुमा पोखरेल, कोइलीबासकी ।
शालीन, आत्मीय, बोलिचालि मिठो । मध्यम परिवारकी तर व्यवहारिक रूपमा एकदमै सन्तुलित । गुरुदत्तले आफैँ भने-
“यो चोटि चाहिँ सब थोक मिल्ने जस्तो देखिन्छ । केटी घर समाल्ने किसिमकी छ, परिवार पनि हाम्रो संस्कार बुझ्ने । नाम झुमा हो रे !”
सुनिसकेपछि दयाराम मौन भयो । नाम झुमा । थोरै अनौठो लाग्यो ।
तर नामको के अर्थ ? व्यवहार त असल चाहियो । उसले भन्यो-
“नाम त पहिचानको एउटा संकेत मात्र हो । व्यक्तित्व नामले होइन, कर्मले बोल्छ ।”
गुरुदत्त पनि सहमत देखिन्थे । कुरा टुङ्गिन लाग्दै थियो ।
विवाहको साइत हेराउने दिन आयो-
पण्डितले कुण्डली हेर्दै, पात्रो पल्टाउँदै भने-
“यो वर्ष ‘झ’ अक्षर अशुभ ग्रहमा परेको छ । नामको प्रारम्भै दोषपूर्ण छ । विवाह भयो भने द्वन्द्व बढ्ने, सन्तानको कष्ट हुने शास्त्रले बताउँछ ।”
गुरुदत्त झस्किए ।
“झ’ अक्षर ? के त्यस्तो हुन्थ्यो र ?”
दयाराम भने निराश हुँदाहुँदै पनि मुस्कायो- त्यो थकित मुस्कान, जसमा प्रश्न थिए, तर उत्तर पाइन्नथ्यो ।
उसले एकपटक मात्रै भने-
“पण्डितज्यू, अक्षरले भाग्य बनाउँछ भन्ने विज्ञान कुन हो ?”
पण्डितले शान्त स्वरमा जवाफ दिए-
“शास्त्र हो यो, विज्ञान होइन । प्रश्न गर्नु हुँदैन, स्वीकार गर्नुपर्छ ।”
गुरुदत्त चर्किए-
“हामीले त संसार देखेका छौँ, तिमीले त किताब मात्रै पढ्यौ । यो विद्या बुझ्नलाई अनुभव चाहिन्छ ।”
दयाराम चुप लाग्यो । फेरि उसले एउटा सम्भावित सम्बन्ध गुमायो-
केवल नामको पहिलो अक्षरका कारण ।
झुमा एक शिक्षित र सभ्य व्यक्ति थिइन्, बुझ्ने, मिल्ने, सहज ।
तर उनी दयारामको जीवनमा एक संक्षिप्त सम्भावना बनेर मात्र आइन् र गइन्-
नामको नियतिले नियति तय गरिदियो ।
दयारामले मनमनै सोचे-
“के यस्ता अक्षरहरू वास्तवमै दुर्भाग्य बोकेर आउँछन् ? कि हामी नै भाग्यलाई परिभाषित गर्न अक्षरलाई दोष दिने गर्छौँ ?”
पाँचौ प्रस्ताव : सुशीला पौडेल
झुमा पोखरेलको प्रस्ताव असफल भएपछि दयारामका मनमा निराशा स्थायी बन्दै गएको थियो । अब ऊ केही नबोल्ने, चुपचाप सुनिरहने भएको थियो । त्यो चुप्पीलाई गुरुदत्तले स्वीकृतिका रूपमा बुझिरहेका थिए तर वास्तवमा त्यो चुप्पी असहमतिको मौन प्रतिरोध थियो ।
त्यसैबिच अर्को प्रस्ताव आयो-
सुशीला पौडेल, गैरीखेतकी । आत्मनिर्भर महिला । सहरमै सिलाइ-कढाइको राम्रो तालिम लिएकी । आफैँ सिलाइ डिजाइन गर्ने, स्थानीय महिलाहरूलाई पनि सशक्त बनाउने अभियानमा संलग्न ।
गुरुदत्तका आँखा चम्किए –
“हेर्नु त, केटी कति व्यवहारिक छ ! बुहारी भनेर ल्याएपछि घरको नाम चलाउने केटी चाहियो, यस्तै !”
दयारामको पनि चित्त बुझ्यो । उसले आफूभित्रको सहरिया विवेक र गाउँको यथार्थबिच मेल खोज्ने कोसिस गरिरहेको थियो । सुशीलाको आत्मनिर्भरता र व्यवहार उसलाई मन परेको थियो । उसले सोच्यो-
“सायद अब त मिल्ला…!”
दुई परिवारबिच भेटघाट, कुरा, शिष्टाचार सबै राम्ररी भयो ।
अब चाहिएको थियो- साइत ।
पण्डित फेरि उपस्थित भए । कुण्डली, पात्रो, ग्रह, नक्षत्र हेरे ।
हातमा भएको अक्षता फेरि झरे । केही बेर मौन भएपछि भने-
“गृहप्रवेश परेको छ ।”
गुरुदत्तले सोधे-
“अनि के भयो ?”
पण्डित गम्भीर भए-
“उही दिन घरमा नयाँ कोठा प्रवेश गर्न लगन परेको छ । एउटै दिन दुई शुभकार्य गर्नु शास्त्रअनुसार उचित होइन ।
शुभकार्यको दोहोरो प्रभावले नकारात्मक ऊर्जा जन्मिन्छ । विवाह र गृहप्रवेश एउटै दिन भए दुर्भाग्य निम्तिन सक्छ ।”
दयारामको भित्री चित्कार उठ्यो-
“यो पनि ? एउटै दिन शुभ भएकाले विवाह हुन नहुने ?
जिन्दगीभरका निर्णय पण्डितको पात्रोमा भर पर्नुपर्ने ?”
उसले यसपटक पण्डितको अगाडि प्रतिरोध गर्यो-
“कहिलेसम्म हामी निर्णय लिने अधिकार अरूलाई सुम्पिरहन्छौँ ? विवाह म गर्छु तर साइत नपरेर जिन्दगीका निर्णय टर्ने हो भने त्यो ज्ञान होइन, अन्धविश्वास हो ।”
गुरुदत्त बेस्सरी रिसाए-
“बोल्ने भाषा सिक ! तिमीले पढेको किताब र शहरले तिमीलाई सिकाएको संस्कार धेरै फरक छ ।”
त्यसपछि कुनै पनि बहस चलेन । प्रस्ताव फेरि टुंगियो ।
दयाराम फेरि मौन भयो ।
तर अबको मौनता बुझ्ने होइन, थकित हो ।
उसले सोच्यो-
“साइतका नाममा जिन्दगीको सपना पटक-पटक बलिदान दिँदैछु । के यो परम्परा साँच्चै भाग्य बनाउने उपाय हो कि बन्धनका नाममा थोपरिएको भय ?”
छैटौँ प्रस्ताव : शान्ति सुवेदी
सुशीला पौडेलको प्रस्ताव पनि पण्डितको “एकै दिन दुई शुभकार्य अशुभ” भन्ने निषेधमा रद्द भएपछि, दयारामको आँखा झनै मलिन हुँदै थियो । आशा भनेको उसका लागि अब पराजयको अर्को नाम बनिरहेको थियो । ऊ बिस्तारै बुझ्दै गइरहेको थियो- उसले जसलाई “सहजीविका” को सपना बनाएको थियो, त्यो सपना हरेकपटक पण्डितको अक्षता झर्ने थालबाट भासिन्थ्यो ।
त्यसैबिच, गुरुदत्तको सानो हाँसो फेरि देखा पर्न थाल्यो । गाउँका एक प्रतिष्ठित व्यक्तिले प्रस्ताव पठाएका थिए-
धनपति सुवेदीकी छोरी – शान्ति ।
नाममै शान्ति थियो ।
ऊ सहरमै पढेकी, बुझकी, धनी परिवारकी संस्कारी तर घमण्डशून्य ।
दाइ, काठमाडौँमा इन्जिनियर, बुबा गाउँकै समाजसेवी । उनले एनजीओमा काम गर्थिन्, बालबालिकालाई निःशुल्क ट्युसन दिन्थिन्, गाउँका महिलाहरूलाई संस्कार सचेतनाका कार्यक्रमहरू चलाउने गर्थिन् ।
दयारामसँग कुराकानी भयो ।
शान्तिको आँखामा दृढता थियो, बोलीमा आत्मबल ।
उसले भनेकी थिई-
“घर भनेको जात, कुल, साइतसहितको, विश्वास र सम्मानले टिक्छ । म साथी मात्रै होइन, आत्मीय स्वामी खोजी रहेको छु ।”
दयाराम चकित भयो । यति स्पष्ट सोच ! यति गहिरो मान्यता !
ऊ सोच्दै थियो,
“यसपटक पण्डितका अक्षताले पनि कस्सो फैसला नदेला…”
साइत आउँदै थियो, पण्डित फेरि बोलाइए ।
गुरुदत्त अब थाकिसकेका देखिन्थे- छोराको उमेर ३२ लागिसकेको थियो ।
उनी आफैँ पनि चाहन्थे- अब विवाहको टुङ्गो लागोस् ।
पण्डितले पात्रो पल्टाए, कुण्डली जोड्न थाले, ग्रह मिलाए, नक्षत्र हेरे ।
अन्ततः मुस्कुराए-
“यो वर्षको उत्तम साइत यही हो- मंसिर २५ गते, बिहान ११:४७ मा । सबै ग्रह अनुकूल छन् । कन्या लग्न, पुष्य नक्षत्र । दीर्घायु, समृद्ध र सन्तानको योग देखिन्छ ।”
गुरुदत्तको अनुहार बिहानैको घामझैँ उज्यालो भयो ।
उनको मुटुमा जमिरहेको चिसो झरी एक्कासी हटेको अनुभव भयो ।
दयाराम मौन थियो तर अबको मौनता सन्देहले होइन – सहमतिको मौनता थियो ।
ऊ सोच्दैथ्यो-
“शान्ति… नाम जस्तै शान्त छे, विचारमा बलियो छे । यो विवेकले कि साइत टेको दिएको सम्बन्ध हो, ऊ दोधारमा पर्यो । तर यदि साइत मिलेर पनि विवेक मिलेको छ भने, सायद समय फेरिनेछ ।”
गाउँमा बाजा बज्यो । भोज भयो । उत्सव मनाइयो ।
गुरुदत्तले गाउँलेलाई भने-
“साइत मिलेको विवाह भयो । कुलको नाम राखियो । छोराको अब भाग्य चम्कनेछ ।”
तर दयाराम भित्रभित्रै सोचिरहेको थियो-
“मैले रोजेको विवेक थियो, साइत त केवल सहमतिमा आएको छ ।”
विवाह एउटा उत्सव हो, जहाँ दुई शरीर मात्र होइन, दुई आत्मा एकाकार हुने प्रयासमा हुन्छन् । दयाराम र शान्तिको विवाह पनि त्यस्तै शुभ साइतको घडीमा सम्पन्न भएको थियो- गाउँभर बाजा घन्क्यो, भोज भयो, मान्यजनका आशिष वर्षिए । दयारामलाई लागिरहेको थियो- “शायद यिनै हुन् ती साथी, जससँग म बाँकी जीवन यात्रा तय गर्नेछु ।”
विवाहपछिका महिना शान्त र रमणीय थिए । शान्तिको सरलता, आत्मीयता, अनि परिवारप्रतिको समर्पणले दयारामको मन जितेको थियो । उनी दोधारमा पर्न थालेका थिए- “भाग्य मिल्ने रहेछ भने साइत मिल्नै पर्छ कि जस्तो भान हुन थालेको छ ।”
शान्ति बिहान उठेर दयारामका लागि चिया बनाउँथिन्, कहिले साग टिप्दै गुनगुनाउँथिन्, कहिले दयारामका कपालमा औँलाले मसाज गर्दै- “थकित देखिनुभएको छ” भन्थिन् । घरभित्रको काम, पूजापाठ, परिवारसँगको व्यवहार, बुबाआमा र सासूससुराप्रतिको श्रद्धाभाव- सबै उनी आत्मसात् गर्थिन् ।
दयाराम पढ्न मन पराउँथे, विज्ञान, दर्शन र साहित्यका किताबहरूमा हराउँथे । विवाहअघि उनी काठमाडौँमै अध्ययनरत थिए- स्नातकोत्तरको अन्तिम वर्ष बाँकी थियो । विवाहपछि तीन महिना गृहस्थ जीवनको अनुभव लिएपछि उनी पढाइको बाँकी हिस्सा पूरा गर्न फेरि काठमाडौँ फर्किए ।
शान्ति भने गाउँमै रहिन्- घरको काम, परिवारको सेवा, अनि सधैँभरि चलिरहने धार्मिक अनुष्ठानमा व्यस्त हुन्थिन् । उनले धार्मिक अभियानमा जोडिएपछि पढाइ छोडेकी थिइन्- “अब मेरो धर्म तपाईंहरूप्रति समर्पण हो,” उनले एकदिन सासूआमाको अञ्जुलीमा प्रसाद राख्दै भनेकी थिइन् ।
दयाराम काठमाडौँ पुग्दा शान्तिको बोलीमा माया थियो, फोनमा मिठास थियो । हरेक साँझ उनी फोनमा सोध्ने गर्थिन्-
“आज कलेज कस्तो रह्यो ?”
“पढ्नुअघि गंगाजल छर्किनु भयो ?”
“आज बुधवार हो- हरितालिका व्रत पनि लिइराखेको छु तपाईंको दीर्घायुसँग जोडिएकाले यसको महत्त्व उच्च छ । तपाईंले केही चिज मनमा नराख्नु होला है !”
दयाराम मुस्कुराउँथे । उनलाई शान्तिको भक्ति, समर्पण अनि प्रेम देखेर खुशी लाग्थ्यो । तर ती प्रश्नहरू क्रमशः दैनिक अनिवार्य जस्ता लाग्न थाले । अध्ययनको व्यस्तता, जीवनका लक्ष्यहरू, अनि तीक्ष्ण वैज्ञानिक दृष्टिकोणकाबिच यी धर्मिक विधिहरू केही विरोधाभासी लाग्न थाले ।
एकदिन उनी पुस्तक खोल्दै लास्की नामक जीववैज्ञानिकको अध्ययनमा आधारित एउटा लेख पढ्दै थिए । त्यहाँ भनिएको थियो-
“धार्मिक अभ्यासहरू सामाजिक नियन्त्रणका उपकरण हुन्, जसले स्वायत्त सोचमा अवरोध पैदा गर्न सक्छन् ।”
त्यो वाक्य पढेपछि उनी केही बेर स्थिर भए । उनले सम्झिए – बिहे भएको एक महिनामात्रै भएको थियो, शान्तिले एकदिन बिहान उनलाई तुलसीको पात र अक्षता दिएर भनेकी थिइन्-
“यो आज पूजा गरेर ल्याएकी हुँ । तपाईंको मस्तिष्क तेज रहोस् भनेर ।”
त्यो बेला दयारामले धन्यवाद दिँदै मुस्कुराएका थिए तर अहिले उनलाई लाग्न थाल्यो-
“के मस्तिष्क तुलसीको पातले तेज हुन्छ ? कि गहिरो अध्ययन, प्रश्न गर्ने साहस, र अवलोकन गर्ने विवेकले ?”
तर उनी शान्तिलाई प्रश्न गर्दैनथे । किनभने त्यो प्रेममा चोट लाग्ला भन्ने डर हुन्थ्यो । उनीहरूको सम्बन्धमा गहिरो स्नेह थियो, तर दृष्टिकोणमा एक किसिमको धुवाँ देखा पर्न थालेको थियो ।
शान्तिले एकदिन फोनमा भनिन्-
“शुक्रबार फर्कने साइत छैन, शनिबार मन्दिरमा विवाह वर्षगाँठको पूजाको योजना बनाएकी छु ।”
दयारामले सम्झाए- “शुक्रबार फर्केर म बिहान पूजा गरिदिन्छु तर मेरो शनिबार विशेष कार्यक्रम छ ।”
शान्ति केही क्षण मौन भइन् । त्यसपछि मात्र भनिन् –
“तपाईंलाई साइत र पूजाको महत्व छैन, तर यिनै कुरा त परिवार जोड्ने सूत्र हुन् ।”
दयाराम मौन रहे। त्यो मौनतामा तिक्तता थिएन, तर सोचाइको भिन्नता थियो । उनी सोचिरहेका थिए –
“परिवार जोड्ने सूत्र प्रेम हो, बुझाइ हो, न कि साइतको समय ।”
समय बित्दै गयो । दयारामको अनुपस्थितमा शान्ति गाउँमै भक्ति र परम्परामा गहिरिँदै थिइन्, दयाराम काठमाडौँमा विज्ञान, अनुसन्धान र विचारको बाटोमा गहिरो अध्ययनमा डुबेको थियो । दुवै एकअर्कालाई माया गर्थे ।
दयारामको काठमाडौँ बसाइ सकिएको थियो । स्नातकोत्तरको डिग्री हात पारेर उनी उत्साहित थिए- ज्ञानको संसारमा केही गर्न सकिन्छ भन्ने आत्मविश्वासले भरिएको अनुहार लिएर उनी गाउँ फर्किए ।
शान्ति उनी आउने दिनदेखि नै झनै व्यस्त थिइन्- घर लिपपोत, पूजा कोठा सिंगार, नयाँ ओढनी र तेलले चम्किएको निधार । तर त्यो तयारी प्रेमको चाहना थियो कि धार्मिक सत्कार्यको निरन्तरता- दयारामले छुट्याउन सकेनन् ।
पहिलो साँझ, उनीसँगै बसेर सामान्य कुरा गर्न खोज्दा शान्तिले भनिन्-
“आज साँझ पूजा छ, ‘शिव-पार्वती संवाद’ पाठ सक्नुपर्नेछ । तपाईं पर्खनुहोस् है !”
दयाराम मुस्कुराए, तर त्यो मुस्कानमा थकाइ थियो । उनले मनमनै भने-
“शिव-पार्वती संवाद सायद हाम्रो संवादभन्दा महत्वपूर्ण भयो ।”
समयसँगै ती संवाद झन् टुट्दै गए । शान्तिका लागि दिनको प्रारम्भ तुलसी पूजा, व्रत, कथा, भजन र प्रवचनबाट हुन्थ्यो । दयाराम बिहान ब्रस गर्दा पनि शान्तिको आवाज प्रार्थनामा हराइरहेको हुन्थ्यो ।
एक साँझ, दयारामले उनलाई भने-
“आज डार्विनको विकासवादबारे एउटा लेख पढ्दै थिएँ । मानव सभ्यता प्रकृतिसँग लड्दै अघि बढेको रहेछ ।”
शान्तिले निधार खुम्च्याउँदै भनिन्-
“तपाईं यस्ता कुरा किन पढ्नुहुन्छ ? भगवानलाई चुनौती दिनुहुन्छ ?”
“ वैज्ञानिक भएँ भनेर घरको संस्कार भुल्न मिल्छ ?”
दयाराम मौन भए । उनी सोच्न थाले-
“म भगवानलाई चुनौती दिँदैछु, कि केवल सम्झाउन खोज्दैछु ?”
“प्रश्न गर्नु अपराध हो ?”
दयारामले सम्झाउन नसक्ने सोचे, साथै उनले सम्बन्धलाई बचाउने कोसिस गरे- सँगै हिँड्न, खेतबारी घुम्न, साँझमा रमाइलो गर्न थाले तर शान्तिले दिनको धेरै समय पूजा, कथा वाचन, र चेलीहरूको सल्लाहमा बिताउँथिन् । कहिले चेलीहरू उनलाई भन्थे-
“पतिको विचार बिग्रन लागेको छ, सायदै ऊ अरुसँग नजिकिएको हुनसक्छ, व्रत बस । ग्रहदोष पर्न लागेको जस्तो छ।”
दयाराम यो सबै सुन्दा मनैबाट गल्थे। उनी प्रेम खोजिरहेका थिए, शान्तिले मुक्ति।
उनी संवाद खोजिरहेका थिए, शान्तिले साधना ।
एक साँझ, अन्ततः उनीहरूबिच कुरा उत्कर्षमा पुग्यो ।
दयारामले शान्तिको पूजा टोकरी हटाउँदै भने-
“हेर शान्ति, म तिमीलाई माया गर्छु । म तिमीलाई बुझ्न चाहन्छु तर यो सम्बन्ध एकपक्षीय भएन ? तिमी भगवानप्रति समर्पित छ्यौ, म त तिमीलाई खोजिरहेछु ।”
शान्तिले आँखा रसाउँदै भनिन्-
“तपाईं त मबाट टाढा हुँदै जानुभयो । तपाईंको विज्ञानले म जस्तै भक्ति गर्नेहरूलाई मूर्ख भन्छ । म तपाईंको कुरा बुझ्न खोजेँ, तर तपाईंले मेरो आस्था कहिल्यै बुझ्नुभएन ।”
दयारामको मनमा चिसो पस्यो-
“सायद म उसलाई प्रेम गर्थें, तर उसले मलाई मुक्ति चाहने यज्ञको पात्र देखिन् ।
उसको संसार धर्म र कर्तव्यको थियो, मेरो संसार विचार र प्रश्नहरूको ।
के प्रेमले यी दुई ध्रुव जोड्न सक्छ ?”
त्यस रात उनीहरू एकै ओछ्यानमा भए पनि आ-आफ्नो मौनतामा निदाए-
एकले प्रार्थना गरिरहेकै थियो, अर्कोले मनमनै प्रश्न दोहोर्याइरहेकै थियो-
“के साइत मिलेर विवाह भए पनि, सोच मिलेन भने साथ चल्छ ?”
कहिलेकाहीँ सम्बन्धहरू चुपचाप टुट्छन्- न क्रोध हुन्छ, न चिच्याहट । केवल मौनताको धुलो जम्दै जान्छ । दयाराम र शान्तिको सम्बन्ध पनि अब त्यस्तै अवस्थामा गुज्रँदै गएको आभास हुँदै थियो ।
काठमाडौँबाट घर फर्किएको तीन महिना नपुग्दै, दयारामको नाम जलस्रोत मन्त्रालयमा अधिकृत पदका लागि सिफारिसमा आयो ।
गाउँभरि हर्षको लहर चल्यो- “गाउँको छोराले केही गर्यो !”
गुरुदत्त गर्वले फुले-
“हेर्, साइत हेरेर बुहारी ल्याउँदा यस्तो हुन्छ !”
तर घरभित्र त्यो हर्षको छाया थिएन ।
शान्ति अब पनि बिहानदेखि साँझसम्म भजन, व्रत, पूजा, कथा प्रवचनमा डुबिरहन्थिन् ।
दयाराम राजधानी जानका लागि कागजात मिलाइरहेका थिए, अझै पनि शान्तिसँगको सम्बन्ध मिलाउने कोसिस जारी राखेका थिए ।
शान्तिको व्यवहारले दुई जनाबीच अब औपचारिकता मात्र बाँकी रहेको अनुभूत दिलाउँथ्यो ।
एक साँझ, दयारामले उनीसँग भने-
“शान्ति, के हामी फेरि सँगै हाँस्न सक्दैनौँ ?”
शान्तिले ओठ हल्लाइन्, तर शब्द आएनन् ।
त्यो मौनता नै उत्तर थियो-
हुन त उनीहरू विवाहित थिए तर जीवनमा उनीहरूबीच अब अतिथि जस्तै व्यवहार हुँदै गएको थियो ।
अब दयारामको काठमाडौँ जाने समय आइसकेको थियो । देशकै राजधानी, नयाँ ठाउँ, सरकारी सेवा जीवनको शुरुवात- यो अवसर उनका लागि केवल जागिरको शुरुवात मात्र थिएन, उनीभित्रका विचार र चेतनाको नयाँ युगको ढोका पनि थियो । उनले झोला प्याक गर्दा एक किसिमको उत्साहसँगै मनको कुनामा अलिकति आशंका पनि उब्जिएको थियो ।
शान्तिसँगको सम्बन्ध सुरुमा निकै आत्मीय र प्रेमपुर्ण थियो । सादा जीवनशैली, पारिवारिक न्यानोपन र धार्मिक संस्कारले उनीहरुको बन्धनलाई बाँधेर राखेको थियो तर समयको पाना बिस्तारै फेरिँदै गयो ।
दयाराम काठमाडौँ पुगेपछि प्रारम्भिक दिनहरूमा बेलुकाको संवाद एउटा परम्परा जस्तै थियो । उनी कामपछि फुर्सद निकालेर फोन गर्थे, शान्तिको आवाज सुनिन्थ्यो- कहिले हर्षित, कहिले थाकेको । तर समय बित्दै जाँदा त्यो संवाद क्रमशः क्षीणहुँदै गयो ।
दयारामको तर्फबाट प्रयास कायमै रह्यो तर शान्तिको स्वरमा अब ताजगी थिएन । धर्मकर्ममा उनी अझै गहिरो डुब्न थालिन्- बिहान पूजापाठ, दिउँसो भागवत कथा, साँझ आरती ।
साथीहरू उनलाई तिम्रो श्रीमानले तिमीलाई चिनेन, अब तिमी पनि उसलाई बिर्स भनेर सल्लाह दिइरहन्थे ।
उता काठमाडौँमा दयारामको जीवन भने फरक गतिमा बग्न थाल्यो । जलस्रोत मन्त्रालयको वातावरण, सहकर्मीहरू, जिम्मेवारी- सबैले उसलाई नयाँ अनुभूतिको संसारमा ल्याइपुर्यायो ।
उता शान्ति भने दयारामको भन्दा साथीहरूको विश्वासमा भर पर्न थालेकी थिइन् । दयारामको फोन आउँदा पनि उनले खासै वास्ता गर्दिनथिन् । उनको जीवन क्रमशः धार्मिक पूजापाठ, भजन र आरतीमै सीमित हुँदै गइरहेको थियो । उता दयाराम भने विगतका प्रेमिल दिनहरू सम्झँदै समय काटिरहेका थिए ।
कार्यालय प्रवेश गरेको दुई महिना पुग्दै थियो । कार्यालयको वातावरणमा उनी अझै नयाँ नै थिए । केही दिनदेखि दयाराम सरको अनुहारमा देखिएको बेचैनी उनकै कार्यालयकी स्टाफ सविताले केही दिनदेखि नियालिरहेकी थिइन् । एक दिन उनले सोधिन्- “सर, सञ्चो छैन कि क्या हो ?” दयारामले हल्का मुस्कानसहित जवाफ दिए- “खासै केही होइन, सामान्य थकान मात्र ।”
सविता एक आत्मविश्वासी, व्यवहारिक र स्पष्टवक्ता महिला थिइन् । उनी तराईकी दलित समुदायबाट आएकी थिइन् । सामन्ती मानसिकतासँग दिनदिनै जुध्दै उनले शिक्षा हासिल गरिन् र अहिले प्रशासनिक भूमिकामा सेवा दिइरहेकी थिइन् । उनको हाँसोमा आत्मीयता थियो, कुराकानीमा तर्क । दयाराम पहिलो दिनदेखि नै उनको दृढ आत्मविश्वासबाट प्रभावित थिए- पहिले व्यवहारले, पछि विचारले; जसले उनीहरूलाई क्रमशः नजिक्याउँदै थियो ।
एक दिन सविताले खुलेर भनिन्- “हामी दलित महिला पूजा गर्न पाउँदैनौँ । मन्दिरका ढोकाहरू आज पनि हाम्रा लागि बन्द छन् । त्यसैले म मन्दिरभन्दा ज्ञानको आँगन रोज्छु । म आँखा उठाएर हिँड्न चाहन्छु-हेपिएर होइन ।”
दयाराम केही क्षण स्तब्ध भए । उनको मानसपटलमा शान्तिको अनुहार घुम्यो- शान्ति, जसको जीवन पूजापाठ, कथा-कीर्तन र आरतीमै सीमित हुँदै गएको थियो ।
दयाराम शान्तिको अभाव गहिरो रूपमा महसुस गरिरहेका थिए । उनले सवितामा शान्तिको झझल्को पाउन थाले । उनीहरूबिचको परिचय बिस्तारै बाक्लिँदै गयो । सविता सल्लाह दिन्थिन्- काममा मात्र होइन, जीवनप्रतिको दृष्टिकोणमा पनि मिल्नु आवश्यक छ, तब मात्रै जीवनले सार्थकता पाउँछ ।
दयाराम भित्रभित्रै सोच्थे- “शान्तिसँग मैले प्रेम खोजेँ, तर विचार भेटिनँ । सवितासँग विचार भेटियो, तर प्रेम ? त्यो कुन रूपमा बगिरहेको छ, अझै स्पष्ट थिएन ।”
सविता दयारामका आँखामा आत्मसम्मान बोकेको संघर्ष देख्थिन् । उनी शब्दभन्दा व्यवहारमा नजिकिँदै गइरहेकी थिइन् । उनीहरूबिचको सम्बन्ध कुनै घाउ नलागेको आत्मीयता जस्तै थियो- शायद मित्रताभन्दा केही बढी, तर प्रेम भन्न सकिने निश्चितता अझै बनिसकेको थिएन ।
उता, शान्तिको संसार फरक ढंगले अगाडि बढ्दै थियो । उनी अब गाउँकी “नित्य श्रीराम कथा” की प्रमुख भजन वाचिका बनिसकेकी थिइन् । गाउँका महिला उनलाई श्रद्धाका साथ हेर्थे-
“उहाँ त साँच्चिकै देवी समान हुनुहुन्छ- पति परदेशमा भए पनि उहाँको मन भजनमै लीन छ ।”
तर त्यो भजनको स्वरभित्र दयारामले एक्लोपन सुनिरहेका थिए- जुन शान्ति आफ्नै जीवनसँग नबोलीकन गाउँलाई सुनाउँथिन् ।
सम्बन्ध अब नाम मात्रको बाँधमा सीमित हुँदै गयो ।
एक दिन दयारामले मनमनै सोचे-
“हाम्रो विवाह साइत मिलाएर गरियो, शुभ दिन रोजेर, पूजापाठ गरेर तर के त्यो साइतले दुई मनको दूरी घटाउन सक्दो रहेछ ?”
शायद त्यो साइतले शुभ समय त देखायो, तर साझा चेतना निर्माण गर्न सकेन ।
दयाराम र शान्ति अब दुई किनाराका यात्री जस्तै थिए-
एक विज्ञान र समानताको पथमा, अर्की श्रद्धा र समर्पणको गल्लीमा ।
अनि दयाराम र सविता-
अझै त्यही मोडमा थिए जहाँ मित्रताको फूल छिप्पिँदै थियो तर प्रेमको बीउ चुपचाप जमिन छिचोल्दै थियो ।
समय बित्दै गयो । शान्तिको मौनता र भजनमा लीनता अब दयारामका लागि एक किसिमको भावनात्मक दूरीको प्रतिनिधि बनिसकेको थियो । उनी अब यो सम्बन्ध केवल नामको बन्धन हो भन्ने निष्कर्षमा पुगिसकेका थिए । आफ्नै जीवनप्रति इमानदार रहनु, अरूलाई धोका नदिनु- यही मूल्यमा हुर्किएका थिए उनी ।
त्यही मूल्यबोधले उनलाई एउटा साहसिक निर्णयतर्फ डोहोर्यायो- शान्तिसँग वैधानिक सम्बन्धको अन्त्य र सवितासँग नयाँ जीवनको आरम्भ ।
दयाराम र सविताले अन्तरजातीय विवाह गरे- सरकारी अदालतको कानुनी प्रमाणसहित, कुनै पण्डितको मन्त्र नबुझिकन, कुनै साइतको प्रतीक्षा नगरी । विवाहको साक्षी बनेका थिए- सहकर्मीहरू, जो उनीहरूका विचारका पनि साक्षी थिए ।
यो विवाहले कार्यालयमा केही कानेखुसी पनि ल्यायो- “ब्राह्मण केटोले दलित केटीसँग बिहे गर्यो रे !”- तर दयारामलाई ती भनाइहरूमा कुनै अर्थ थिएन । उनले आफूलाई स्पष्ट जवाफ दिइसकेका थिए- “सम्बन्धको स्थायित्व जन्म, जात र साइतमा होइन, चेतना र समझदारीमा निर्भर हुन्छ ।”
जब घरमा दयाराम र सविताको विवाहको खबर पुग्यो, उनका बुबा- ती कट्टर पण्डित-एक किसिमको मानसिक आघातमा परे । छोरोले गरेको विवाह त उनीहरूको संस्कारको विरुद्ध थियो; त्यो विवाह त उनीहरूको पूरै अस्तित्वमाथिको वज्रपात थियो ।
एक दिन उनी भित्तोमा टाँसिएको कुलदेवताको फोटो अगाडि हेर्दै भने-
“सबै सकियो… अब समाजमा कसरी मुख देखाउनु, ब्राह्मणको लाज, वंशको शिर…!”
त्यसपछिका दिनहरू उनी प्रायः मौन बस्न थाले, आफैँसँग कुरा गर्ने, आकाशतिर हेर्दै बडबडाउने । डाक्टरले स्पष्ट भने- मानसिक असन्तुलन ।
दयारामले सवितासँग सल्लाह गरेर बुबाको रेखदेखका लागि घरमै एक अनुभवी नर्स राखे- शारदा, जसले हेरचाहसँगै आत्मीयता पनि दिइन् ।
शान्ति भने, यो घटनाक्रमपछि झनै भजनमा लीन भइन् । एकदिन उनले सार्वजनिक कथा वाचनमा भनिन्-
“जीवनमा सबै सम्बन्धहरू नश्वर छन् । स्थायी केवल ईश्वरसँगको नाता हो । मैले सबै मोह त्यागेँ… अब म मुक्त छु ।”
गाउँलेहरू उनको यो वैराग्य देखेर अभिभूत भए । कसैले भने- “शान्तिदेवी अब साध्वी बन्न लाग्नुभएको होला ।”
दयारामका मनमा एक किसिमको अपराधबोध पनि थियो- तर सविताले नै सम्झाइन्–
“कसैलाई प्रेम दिनु अपराध होइन । बरु, असल तरिकाले र इमानदारीसँग जीवन जिउनु धर्म हो ।”
काठमाडौँमा, सविता र दयारामको सानो कोठामा एउटा चियापान भयो- कुनै ठूलो समारोह थिएन तर विचारका साथी, अधिकारकर्मी, पत्रकार आएका थिए । दयारामका एक मित्रले भने-
“आज तिमीहरूले ब्राह्मण-दलित, पहाड-तराई, परम्परा-प्रगतिबिचको विवाह गर्यौ । यो केवल सम्बन्ध होइन, एक नयाँ उद्घोष हो ।”
दयाराम टोलाउँदै थिए- उनको जीवन अब पुरानो बन्धनबाट टाढा, तर जिम्मेवारीबाट अझ नजिक थियो । उनी बाबुको औषधि-पानीको रिपोर्ट बुझिरहेका थिए, शान्तिको कथा सुनिरहेका थिए, र सवितासँग भविष्यको योजना बनाइरहेका थिए ।
दयाराम र सविताको सम्बन्ध-एक चेतनाले बनाएको सम्बन्ध थियो । साइतले होइन, संवादले बनाइएको । जातले होइन, विचारले बनाइएको ।
उता शान्तिको वैराग्य- धार्मिक परम्पराभित्रै आत्मसाक्षात्कारको बाटो थियो । दयारामका बुबाको पतन- पुराना मूल्य र मान्यता सहन नसकेको सामाजिक परिवर्तनको परिणाम थियो ।
यी तीन पात्र- दयाराम, शान्ति र सविता- अब छुट्टाछुट्टै यात्रामा थिए, तर ती सबै यात्राले एउटै प्रश्न छोडेर गएका थिए-
“के सम्बन्ध स्थायी बनाउने जड मूलतः प्रेम हो त ? कि चेतना, समझदारी र आत्मस्वीकृति ?”
शहरको एउटा सानो फ्ल्याटमा, सविताले हरेक बिहान झ्याल खोली घाम छिर्ने ठाउँ बनाउँथिन् । झ्यालबाट छिरेको उज्यालोमा उनले आफ्नो फूलको ससुरा- गुरुदत्तलाई न्यानो मुस्कानसहित चिया दिइरहेकी हुन्थिन् । त्यो मुस्कानमा सहानुभूति मात्र थिएन, समर्पण पनि थियो ।
तर यही मुस्कान पुग्नुअघि, धेरै रातहरू बेचैनीले भरिएका थिए ।
दयाराम र सविताको विवाहको खबर फैलिनासाथै गाउँका धेरैजसो मानिस तटस्थ रहन खोजे । कोहीले भने अपमानको स्वर उचाल्न थाले- “कुल खानदानको लाज गयो रे ! दलितनीसँग बिहे ?” तर ती सबैभन्दा ठूलो आघात गुरुदत्तलाई भयो ।
दयारामका बुबा । एकजना ‘धार्मिक कट्टर’, एक ‘साइतका ज्ञाता’ मानिन्थे । जसको जीवनको अर्थ नै ‘शुभ घडी’, ‘जन्मकुण्डली’ र ‘विवाहयोग, नक्षत्र’ थियो- त्यही गुरुदत्तको छोराको साइत जुराएर गरेको विवाह सफल हुन सकेन, सम्बन्ध चुँडियो, अनि “दलितकी छोरी” उनको बुहारी बनिन् ।
गुरुदत्त दिनदिनै चिन्तित हुन थाले, उनको मानसिक सन्तुलन क्रमशः गुम्दै गयो । उनी भोजन बिर्सन थाले, आफ्नो नाम पनि । पूजाको ठाउँमा बसेर पनि लामो समयसम्म निर्निमेष टोलाउँथे – दयारामका लागि त ती अब ‘बुबा’ थिएनन्, एक पीडित आत्मा थिए ।
शान्ति, जसले कहिल्यै दयारामको बिहेको खबर प्रत्यक्ष सुनिनन् । तर गाउँका महिलाहरूको हल्ला, उनको आमाको मौनता, अनि ससुराको विक्षिप्त अवस्था- यी सबैले उनलाई नराम्रो संकेत दिइसकेको थियो ।
शुरुमा उनी आन्तरिक द्वन्द्वमा थिइन्- एकातिर विवाहित स्त्रीको धर्म, अर्कातिर त्यागिएको आत्माको सत्य । तर ससुराको अवस्था देखेपछि उनलाई थाहा भयो- यस पीडाको मूल जरामा धर्म होइन, अन्धविश्वास थियो । जुन उनका ससुरालाई वर्षौंसम्म बाँच्न बाध्य बनायो- बुहारीको ‘साइत’ मिलाउन, जातको ‘मान’ जोगाउन ।
शान्तिले एक दिन गहिरो श्वास लिइन् र भनिन् –
“शायद यही पीडाले मलाई मुक्त बनायो । म अब कुनै साइतको प्रतीक्षा गर्दिनँ । म अब आफूभित्रको शान्तिको खोजी गर्छु ।”
त्यसपछि उनले कथा-कीर्तन त्यागेर ध्यानमा केन्द्रित भइन् । उनका स्वर अब अरूलाई सुनाउन होइन, आफूभित्र गुम्सिएका पीडालाई शान्त पार्न बज्थे ।
उता, काठमाडौँमा सविता र दयारामले एक भिन्न संसार शुरु गरिसकेका थिए । उनीहरूको प्रेम कुनै सपनाबाट होइन, साझा विचार र संघर्षको स्पर्शबाट जन्मिएको थियो ।
दयाराम कहिलेकाहीँ गुरुदत्तको अवस्थाबारे सोच्थे । उनले सवितालाई सोधे- “हामीले उनीहरूलाई दु:ख दियौँ त ?”
सविता थोरै मौन भइन् । त्यसपछि दृढतापूर्वक उत्तर दिइन् –
“दु:ख हामीले दिएनौँ । पीडित त सोच हो- जुन प्रेमलाई जात, कुल र साइतले मापन गर्छ ।”
दयाराम चुप लागे । त्यो चुप्पीमा स्वीकारोक्ति थियो । त्यही साँझ उनीहरूले बुबाको रेखदेखमा रहेकी नर्सलाई खबर गरे-हामी गाउँ फर्कदैछौँ ।
सविताले भनिन्- “उनी तपाईंका बुबा मात्रै होइनन्, अब म पनि जिम्मेवार छु ।”
दयारामले मुस्कुराउँदै भने- “तिमी साँचिकै मेरी हृदय हौँ- म गर्व गर्छु ।”
केही समयपछि उनीहरू गाउँ गए । घर पुगेको हप्ता नबित्दै सविताले छोरा जन्माइन् । त्यो सानो शरीर, सासका नाजुक ध्वनि, अनि टलक्क टल्किएको निधार… गुरुदत्तलाई नातिको मुख देखाइयो ।
गुरुदत्तको आँखामा चमक फर्कियो । हात काँप्दै सुत्केरी सविताको निधार छुन खोजे- “बुहारी, म… म तिमीलाई… आशीर्वाद दिन्छु । तिमीले मेरो कुल बचायौ ।”
त्यो एक वाक्यले सविता रुइन्- न रुँदा बिसाउने पीडा थियो, न गर्वको घमण्ड- त्यो आँसु अन्ततः प्रेमको अन्तिम मान्यता थियो ।
अन्ततः एक साँझ, झ्याल बाहिरको चिसो हावाले पर्दा हलायो । दयाराम बालकको काखीमा निदाएका थिए, सविता चिया लिएर बसेकी थिइन् ।
दयारामले भने-
“हामीले विवाह गर्दा साइत हेरेनौँ । न पुजारी, न मुहुर्त… तर यो सम्बन्ध अडिएको छ । बलियो छ ।”
सविता हाँसिन्- “साइत होइन, चेतना हेरेका थियौँ हामीले ।”
दयाराम मुस्कुराए ।
त्यो साँझ अब उनीहरूका लागि केवल अभिलाषा मात्रै थिएन- उनीहरू चेतनाको नयाँ युगमा प्रवेश गरेका थिए ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










