बाइबलको Genesis ग्रन्थमा एभ (Eve) लाई आदम (Adam) को एकोसेलोबाट सृष्टि गरिएको भनिन्छ- “स्त्री पुरुषका लागि सिर्जना गरिएकी हो” (Genesis 2:18-23) । यही वाक्यांशले स्त्रीलाई स्वतन्त्र अस्तित्व होइन, पुरुषको सहायकका रूपमा परिभाषित गर्छ ।

मानव सभ्यताको शुरुवातसँगै स्त्रीको अस्तित्व प्रकृतिसँग गहिरो सम्बन्धमा बाँधिएको थियो । सृष्टिको प्रारम्भिक अवधिमा ऊ प्रकृतिको प्रतिरूप थिई- जीवन दिने, पालन गर्ने, र संसारलाई सन्तुलनमा राख्ने शक्ति । तर जब मानिसले धर्मको अवधारणामा बाध्न थाल्यो, त्यो सृष्टिदात्री शक्तिलाई क्रमशः नियन्त्रणको औजारमा रूपान्तरण गरियो । धर्म, जसले आत्मज्ञान र सत्यको खोजी गर्ने उद्देश्य बोकेको थियो, समयसँगै सत्ताको संरक्षण गर्ने संस्थामा परिणत भयो । त्यही सत्ताको पहिलो शिकार स्त्री बनिन्- जसलाई पवित्रता र पापबीचको सीमारेखामा उभ्याइयो ।

धार्मिक ग्रन्थहरूको पाना पल्टाउँदा देखिन्छ, स्त्री कहिले ‘देवी’का रूपमा पूजिन्छिन्, कहिले ‘अपवित्र’का रूपमा निन्दित । हिन्दू धर्ममा शक्तिको स्वरूपका रूपमा उनको आराधना गरिन्छ- दुर्गा, लक्ष्मी, सरस्वती- तर यथार्थमा उसलाई स्वतन्त्र निर्णयको अधिकार छैन । एउटी स्त्रीका लागि विवाह, मातृत्व, र समर्पण नै धर्मको अन्तिम सत्य बनाइयो । यता बौद्ध परम्पराले पनि वैराग्यको आदर्शमा स्त्रीलाई आकर्षण र भ्रमको प्रतीक ठहरायो । बुद्धको समयदेखि नै भिक्षुणीहरूको स्वीकृति संघर्षपूर्ण थियो- जसले देखाउँछ कि आत्मज्ञान पनि पितृसत्ताको गहिरो छायाबाट मुक्त हुन सकेको थिएन ।

पश्चिमी धर्महरूको स्थिति पनि फरक थिएन । इसाई परम्परामा ‘ईव’लाई पापको मूल कारणको रूपमा प्रस्तुत गरियो- ज्ञान फल तिनीले खाएकी थिइन्, त्यसैले मानवले दुःख भोग्नु पर्‍यो । यस मिथकले स्त्रीलाई ‘ज्ञानप्राप्ति’सँग जोडिएको अपराधी बनायो । इस्लाममा पनि स्त्रीलाई मर्यादाको आवरणमा कैद गरिएको देखिन्छ । ‘हिजाब’ केवल वस्त्र होइन, त्यो पितृसत्ताको प्रतीक बन्यो- जसले स्त्रीको अस्तित्वलाई ‘सम्मान’ र ‘संरक्षण’को नाममा नियन्त्रण गर्‍यो ।

तर विज्ञान र चेतनाको उदयसँगै यी धर्मले बनाएका मिथकहरूमा प्रश्न उठ्न थाले । प्रकृतिको अध्ययनले देखायो कि जीवनको उत्पत्ति कुनै ‘पाप’ होइन, जैविक प्रक्रिया हो । आनुवंशिक विज्ञानले सृष्टि र सन्तान उत्पादनको क्षमतामा स्त्रीको भूमिकालाई वस्तुगत प्रमाणका साथ पुनःस्थापित गर्‍यो । दर्शन र मानवअधिकारको चेतनाले भने स्त्रीलाई पुनः मानवीय गरिमाको केन्द्रमा ल्यायो । अब ऊ केवल देवी वा पापिनी होइन- विचार, विवेक र स्वतन्त्र अस्तित्व भएकी व्यक्ति हो ।

यद्यपि, धर्मका पुराना जरा अझै समाजको पिँधमा बाँकी छन् । स्त्रीले आफ्नो स्वतन्त्रता पाउने यात्रा अझै अधुरो छ । र यही यात्राको आरम्भ बिन्दु हो- “स्त्री र धर्म” – जहाँ इतिहासका पानाबाट वर्तमानसम्मको चेतनाको रूपान्तरणलाई बुझ्ने प्रयास छ ।

हिन्दू धर्ममा स्त्री-शक्तिको प्रतीक कि नियन्त्रणको साधन?: हिन्दू धर्मले स्त्रीलाई “शक्ति”का रूपमा प्रतिष्ठा दिएको दाबी गर्छ । पार्वती, लक्ष्मी, सरस्वती र दुर्गाजस्ता देवी शक्तिको मूर्त स्वरूप मानिन्छन् । तर विडम्बना के छ भने, ती देवीहरूको पूजक समाजले वास्तवमा जीवित स्त्रीलाई कहिल्यै स्वतन्त्र शक्ति मानेन । घरभित्र ऊ पतिव्रता, कुलदेवी, र मर्यादाको प्रतीक बनाइन्छ; तर निर्णय, सम्पत्ति, वा ज्ञानमा उसलाई दोस्रो दर्जाको नागरिक बनाइन्छ । यो विरोधाभास नै हिन्दू धर्मको स्त्री-दर्शनको मूल दोष हो- जहाँ स्त्री आराध्य पनि हो, र अधीनस्थ पनि ।

मनुस्मृतिजस्ता धर्मशास्त्रहरूले यस सोचलाई कानूनी मान्यता दिए । “पिता रक्षति कौमारे, पति रक्षति यौवने, पुत्र रक्षति वार्धके” भन्ने वाक्यले स्त्रीको जीवनभरि कुनै न कुनै पुरुषको संरक्षण (वा नियन्त्रण) आवश्यक ठहरायो । त्यो संरक्षण वास्तवमा नियन्त्रण थियो- उसले स्वतन्त्र निर्णय गर्न सक्दिन, आत्मनिर्णयको अधिकार उसलाई छैन । धर्मले पवित्रता र पतिव्रततालाई स्त्रीको सर्वोच्च गुणका रूपमा चित्रित गर्‍यो, जसले उसको अस्तित्वलाई केवल परिवार र पुरुषकेन्द्रित भूमिकामा सीमित गर्‍यो ।

यता शक्ति-पूजाको अवधारणामा पनि विरोधाभास छ । दुर्गा वा कालीको रूप हिंस्रक, स्वतन्त्र र विनाशकारी शक्तिको प्रतीक हो – तर समाजले जीवित स्त्रीमा त्यो स्वरूप स्वीकार्न सकेको छैन । जसले आवाज उठाउँछिन्, विद्रोह गर्छिन्, वा प्रश्न गर्छिन्, उनलाई “अशोभनीय” भनिन्छ । देवीहरूको मूर्ति आराधना गर्ने समाज, जब उनीहरू जस्तै साहसी र स्वतन्त्र स्त्री भेट्छ, तब डराउँछ । यसरी शक्तिको मूर्तिमा झुकेर, शक्तिसँग डराउने विरोधाभास नै हिन्दू धार्मिक मानसिकताको केन्द्र हो ।

धर्मले बनाएको विवाहसंस्कार, सतीप्रथा, र ब्रह्मचर्यजस्ता अवधारणाले पनि स्त्रीलाई नियन्त्रण गर्ने गहिरो मनोविज्ञान उजागर गर्छ । विवाहलाई मोक्षको मार्गसँग जोड्दै, स्त्रीको शरीर र जीवनलाई ‘कर्म’ र ‘पुण्य’ सँग गाँसियो । सतीप्रथाले त उसको अस्तित्व नै पतिका जीवनमा सीमित गर्‍यो- पति मरेपछि उसको बाँच्ने अधिकारलाई पनि अधर्म भनियो । त्यो केवल सामाजिक अन्याय मात्रै होइन, त्यो धर्मका नाममा वैध गराइएको हिंसा कूरुप प्रथा थियो ।

तर यतिबेला विज्ञान, शिक्षा, र तर्कले पुराना मूल्यहरूमा प्रश्न उठाइरहेका छन् । आजको स्त्री ‘शक्ति’को आराधना होइन, शक्ति स्वयम् बन्न खोज्दैछ । ज्ञानमा, निर्णयमा, र स्वतन्त्रतामा ऊ धर्मले बनाएका सिमानाहरू भङ्ग गर्न खोज्दैछ । त्यो भङ्ग नै चेतनाको नयाँ यात्रा हो-जहाँ धर्मको देवालय भत्किँदै मानवताको मन्दिर पुनःनिर्माण हुँदैछ ।

ईसाइ, इस्लाम र जैन धर्ममा स्त्री-अधीनता र शुचिताको अवधारणा: ईसाइ धर्ममा स्त्री-अधीनताको जरो Old Testament र New Testament दुवैमा गहिरो रूपमा रोपिएको पाइन्छ । बाइबलको Genesis ग्रन्थमा एभ (Eve) लाई आदम (Adam) को एकोसेलोबाट सृष्टि गरिएको भनिन्छ- “स्त्री पुरुषका लागि सिर्जना गरिएकी हो” (Genesis 2:18-23) । यही वाक्यांशले स्त्रीलाई स्वतन्त्र अस्तित्व होइन, पुरुषको सहायकका रूपमा परिभाषित गर्छ । बाइबलको अर्को भाग Timothy 2:11-15 मा लेखिएको छ- “स्त्रीले शान्त भएर अधीनमा रहनुपर्छ; उसले पुरुषलाई सिकाउने वा शासन गर्ने अधिकार राख्दैन ।” यी भनाइहरूले ईसाइ सभ्यतामा स्त्रीको भूमिकालाई धर्म, परिवार र समाजभित्र सीमित पारिदिन्छन् । चर्चहरूको नेतृत्व परम्परागत रूपमा पुरुष पादरीहरूले मात्र गर्न पाउने परिपाटी पनि यही विचारको विस्तार हो । (स्रोत: Holy Bible, Genesis; 1 Timothy 2:11-15)

इस्लाममा कुरान र हदीसका व्याख्याहरूले पनि पितृसत्ताको गहिरो छायाँ देखाउँछन् । यद्यपि कुरानमा “पुरुष र महिला दुवै ईश्वरका दृष्टीमा समान” (Surah Al-Hujurat 49:13) भनिए पनि व्यवहारमा त्यसको अर्थ बराबरी होइन, भूमिकागत विभाजनको रूपमा लिइन्छ । Surah An-Nisa 4:34 मा उल्लेख छ-“पुरुषहरू स्त्रीहरूका रक्षक हुन्, किनकि अल्लाहले तिनीहरूलाई स्त्रीहरूभन्दा बढी सामर्थ्य दिएको छ ।” यही आयतका आधारमा मुसलमान समाजमा पुरुषको प्रभुत्व वैध बनाइएको छ । हदीसहरूमा पनि स्त्रीको शुचितालाई यौनिक नियन्त्रणसँग बाँधेर व्याख्या गरिएको छ, जसले स्त्रीको स्वतन्त्र निर्णय क्षमतामा अवरोध पुर्‍याउँछ । (स्रोत: The Holy Quran, Surah An-Nisa 4:34; Sahih al-Bukhari, Hadith 5199)

जैन धर्म, अहिंसा र तपस्यामा आधारित भए पनि, स्त्रीप्रति दृष्टिकोणमा भिन्न छैन । जैन आगम र तत्त्वार्थसूत्र मा स्त्रीहरूलाई मुक्ति प्राप्त गर्न कठिन मानिएको छ । श्वेताम्बर र दिगम्बर सम्प्रदायबीचको मतभेदमा पनि यो स्पष्ट देखिन्छ-दिगम्बर परम्पराअनुसार स्त्रीले नग्न तपस्या गर्न नसक्ने भएकाले, तिनलाई मोक्ष प्राप्त हुनै सक्दैन भनिएको छ । यसले जैन दर्शनभित्र स्त्री शरीरलाई अशुद्ध र आध्यात्मिक प्रगतिको बाधकका रूपमा चित्रित गर्छ । (स्रोत: Tattvartha Sutra 9.20; Jaina Agamas, Uttaradhyayana Sutra)

यी तीनै धर्महरूमा “शुचिता”, “निष्ठा” र “आज्ञाकारिता” स्त्रीको मूल गुणका रूपमा चित्रण गरिएको छ, जुन सबै पितृसत्तात्मक समाजमा महिलालाई नियन्त्रण गर्ने वैचारिक औजार हुन् । धर्महरूले ‘पवित्रता’को नाममा स्त्री शरीर र इच्छालाई पापसँग जोड्दै पुरुष-केन्द्रित आचारसंहिता निर्माण गरे । यही आचारसंहिताले स्त्रीको चेतनालाई ‘परमेश्वरको आदेश’ भनेर बन्धनमा राख्यो ।

फायरबाखले भनेका थिए-“धर्म मानिसको आत्माको प्रक्षेपण हो ।” (Ludwig Feuerbach, The Essence of Christianity, 1841)

त्यसैले जब पुरुषले नै धर्मको स्वरूप बनायो, त्यो धर्म पुरुषको आत्माको प्रतिरूप बन्न पुग्यो-जसमा स्त्री मात्र एक पूरक पात्र रहिन् ।

आज जब विज्ञानले जीववैज्ञानिक, सामाजिक र मनोवैज्ञानिक रूपमा पुरुष र स्त्रीबीच असमानताको कुनै स्थायी आधार नरहेको प्रमाणित गरिसक्यो, तब धर्मका यी परम्परागत दृष्टान्तहरू केवल ऐतिहासिक दस्तावेज बनेका छन्- तर तिनको प्रभाव अझै सामाजिक चेतनाभित्र जीवित छ ।

अन्ततः, चाहे बाइबल होस् वा कुरान, वा जैन आगम-तिनले स्त्रीलाई शुचिताको प्रतीक बनाएर उसको स्वतन्त्रता खोस्ने कार्य गरेका छन् । यही नै पितृसत्ताको धर्मिक जरो हो, जसले आजसम्म पनि समाजको चेतनाभित्र “स्त्री जन्मिँदैन, बनाइन्छ” भन्ने सत्यलाई पुनः पुष्टि गर्छ ।

आज जब स्त्री पुनः चेतनाको केन्द्रमा फर्किरहेकी छिन्, ती पुराना धर्मग्रन्थहरू प्रश्नको घेरामा छन् । धर्मले बनाएको स्वर्ग र नरकका मिथकहरूको सट्टा, विज्ञानले वास्तविक जगतका पीडा र सम्भावनाहरूको कुरा गर्छ । र यही परिवर्तन- जहाँ ‘पापिनी ईव’ र ‘पवित्र मरियम’ दुबैलाई मानव चेतनाको समान अस्तित्वको रूपमा बुझ्न थालिएको छ-मुक्तिको नयाँ व्याख्या हो ।

स्त्री स्वतन्त्रताको नयाँ क्षितिज: धर्मले हजारौँ वर्षसम्म स्त्रीलाई “मर्यादा” र “पवित्रता”का सुनका पिंजडामा थुन्यो, तर विज्ञान र चेतनाको उदयले त्यो पिंजडाको ढोका पहिलोपटक खोलेर हावाको झोक्का भित्र्यायो । जब मानिसले ताराको गति, शरीरको संरचना, र जीवनको जैविक आधार बुझ्न थाल्यो, तब ‘दैवी इच्छा’ र ‘पाप’ का अवधारणा क्रमशः खस्किन थाले । विज्ञानले मानवलाई पहिलोपटक आत्मनिर्भर बनायो-र यही आत्मनिर्भरताको चेतनाले स्त्रीमा पनि विद्रोहको ज्वाला जगायो ।

१७ औँ शताब्दीदेखि युरोपमा फैलिएको वैज्ञानिक र दार्शनिक जागरण (Enlightenment) ले विचारको नयाँ युगको ढोका खोल्यो । तिनै दिनहरूमा मैरी वलस्टनक्राफ्ट जस्ती महिलाले “A Vindication of the Rights of Woman” लेख्दै घोषणा गरिन्-“स्त्री मूर्ख होइन, ऊ शिक्षाबाट वञ्चित बनाइएको हो ।” उनले धर्म र समाजका नाममा थोपरिएका पूर्वाग्रहहरूलाई तर्कको तरबारले काटिन् । यो केवल एउटा पुस्तक होइन, स्त्री चेतनाको पुनर्जन्म थियो ।

यता १९ औँ शताब्दीमा भारतकी सावित्रीबाई फुलेले जात, धर्म र लिङ्गका पर्खालबीच पहिलो विद्यालय खोलेर इतिहासमै पहिलोपटक ब्राह्मणवादी मानसिकतालाई चुनौती दिइन् । उनले भनिन्-“भगवान होइन, शिक्षा मुक्तिदाता हो ।” यही वाक्यले विज्ञान र चेतनाको वास्तविक एकता देखाउँछ-ज्ञान नै मुक्ति हो, नकि पूजा । पश्चिममा मेरी क्यूरी जस्तै वैज्ञानिकले प्रमाणित गरिन् कि स्त्रीको बुद्धि र प्रयोगशक्ति पुरुषको बराबर मात्र होइन, कहिलेकाहीँ बढी गहिरो हुन्छ । उनले विकिरण (radioactivity) को खोजमार्फत सृष्टिको सूक्ष्म रहस्य उजागर गरिन्-र त्यस समयदेखि “स्त्रीले विज्ञान बुझ्दिन” भन्ने धार्मिक मिथक खण्डित भयो ।

त्यसपछि इतिहासमा अनगिन्ती नामहरू देखा परे-रोजा लक्जेमबर्ग, जसले राजनीतिक चेतनामा विद्रोहको ज्वाला बालिन्; सिमोन द बोउवार, जसले “The Second Sex” लेख्दै सम्पूर्ण पितृसत्तामाथि वैचारिक युद्ध छेडिन्; र मलाला युसुफजाइ, जसले बन्दुकको डरभन्दा माथि उठेर शिक्षाको अधिकारका लागि आवाज उठाइन् । यी सबै महिलाहरू केवल व्यक्तित्व होइनन्-उनीहरू चेतनाको वैज्ञानिक पुनर्जागरणका प्रतीक हुन् ।

विज्ञानको विस्तारसँगै धर्मका सीमाहरू काटिदै गए । चराचरलाई व्याख्या गर्न अब चमत्कार होइन, प्रमाण चाहिन थाल्यो । यसै क्रममा स्त्री पनि पहिलोपटक आत्म-ज्ञान र आत्म-सम्मानको यात्रामा निस्किन् । उनले बुझ्न थालिन कि ईश्वर, पाप, पुण्य र भाग्य-यी सबै भय र त्रास बेच्ने सामाजिक संरचनाहरू हुन्, जसले मानिसमाथि शासन गर्न बनाइएका हुन् । र जब यी भ्रमहरू भत्किए, तब जन्मियो स्वतन्त्र चेतनाको युग-जहाँ स्त्रीलाई आफ्नो शरीर, विचार र भविष्यको स्वामित्व फिर्ता मिल्न थाल्यो ।

तर यो यात्रा अझै पूरा भएको छैन । पितृसत्ताको अवशेष धर्म, संस्कृति र परम्पराको रूपले अझै जीवित छ । तर फर्किएको चेतना अब मौन छैन- ऊ प्रश्न गर्छिन्, प्रतिवाद गर्छिन्, र सिर्जना गर्छिन् । विज्ञानले देखाएको प्रकाश अब उसको हातमा छ, र त्यो प्रकाश धर्मका अन्धकारमाथि प्रहार गर्दै अगाडि बढ्दैछ ।

यही यात्राको नाम हो- स्त्री स्वतन्त्रताको नयाँ क्षितिज- जहाँ मुक्तिको अर्थ पूजा होइन, प्रश्न हो; र प्रश्न नै ज्ञानको पहिलो ज्योति हो ।

धर्मपछिको समाज-स्त्री चेतनाको नयाँ दर्शन: जब धर्मको आकाशबाट देवत्वका नक्षत्रहरू ओझेल परे र मानिसले आफूभित्रको चेतनाको प्रकाश खोज्न थाल्यो, त्यही क्षण “धर्मपछिको समाज” जन्मियो । यो समाज पूजापाठको होइन, विवेक र प्रमाणको जगमा उभिएको हो । यहाँ ‘आस्था’ भन्दा ‘उत्तरदायित्व’ महत्त्वपूर्ण छ; र ‘पवित्रता’ भन्दा ‘समानता’ । यही नयाँ जगतमा स्त्री चेतनाको पुनर्जन्म भयो- जहाँ ऊ अब कुनै देवी होइन, न त पापिनी; ऊ सोच्ने, सिर्जना गर्ने र रूपान्तरण ल्याउने स्वतन्त्र चेतनाको प्रतीक बनिन् ।

धर्मले हजारौँ वर्षसम्म स्त्रीको शरीरलाई पवित्रता र पापको घेरामा कैद गर्‍यो, उसको मनलाई ‘संयम’ र ‘मर्यादा’ को पिंजडामा थुन्यो । तर विज्ञानले देखायो-शरीर प्रकृतिको जैविक संयन्त्र हो, न कि आत्माको परीक्षा । नैतिकताको मापदण्ड धर्मशास्त्रले होइन, मानवीय विवेकले निर्धारण गर्नुपर्छ । जब यो चेतना फैलिन थाल्यो, समाजले स्त्रीलाई “रक्षार्थ वस्तु” होइन, “समान सहभागी” का रूपमा स्वीकार्न थाल्यो । शिक्षाको प्रसार र प्रविधिको क्रान्तिले स्त्रीलाई घरको सीमाबाट निकालेर विश्वमञ्च हुदै अन्तरिक्षमा पुर्‍यायो ।

धर्मपछिको समाजमा प्रश्नहरू पूजाभन्दा शक्तिशाली बने- किन महिलालाई पर्दा चाहिन्छ ? किन उनको आवाज अशोभनीय मानिन्छ ? किन उसको देहलाई नैतिकताको आधार बनाइन्छ ? यी प्रश्नहरूले धार्मिक नैतिकतालाई भत्काउँदै नयाँ मानवीय दर्शनको ढोका खोले । यो दर्शन भन्छ- “समानता कुनै अनुग्रह होइन, प्रकृतिको सत्य हो ।” र यही सत्यले स्त्री र पुरुष दुबैलाई एकै मानवीय स्पन्दनमा बाँध्दछ ।

समाजशास्त्र र दर्शनका नयाँ धाराहरू-अस्तित्ववाद, मार्क्सवाद, र मानवतावाद-सबैले स्त्री चेतनालाई आफ्नो केन्द्रमा ल्याए । सिमोन द बोउवारले भनेकी थिइन्, “महिला जन्मिँदिन, ऊ बन्छ ।” त्यस अर्थमा स्त्री स्वतन्त्रता कुनै उपहार होइन, चेतनाको निर्माण प्रक्रिया हो । धर्मपछिको समाजले त्यस चेतनालाई अवसर दियो-विज्ञान, साहित्य, राजनीति र दर्शनका हरेक क्षेत्रमा स्त्रीको उपस्थिति अब ‘अपवाद’ होइन, ‘आवश्यकता’ बनिसकेको छ ।

तर जनशास्त्रीय दृष्टिमा यो समाज अझै संक्रमणकालमै छ । पुराना विश्वासहरूको छायाँ अझै बाँकी छ- मन्दिरहरू भत्किएका छन् तर मनका जरा अझै पुरानै छन् । त्यसैले यो समय अन्त्य होइन, आरम्भ हो । अब स्त्रीको लडाइँ देवत्व वा पापबाट मुक्तिको होइन, मानवीय सम्पूर्णताको पुनःस्थापनाको हो ।

धर्मपछिको समाजले उसलाई सोच्न, बोल्न, प्रेम गर्न, अस्वीकार गर्न र आफ्नै रूपमा अस्तित्वमा रहन दिनेछ- त्यो दिन नै “विज्ञान र समाजको क्रान्तिकारी यात्रा”को वास्तविक गन्तव्य हुनेछ ।

अन्ततः, इतिहासका प्रत्येक चरणमा धर्मले स्त्रीलाई अनुशासित, सीमित र ‘शुद्धताको प्रतिमा’को रूपमा प्रस्तुत गरेको छ । मनुस्मृति जस्ता धर्मग्रन्थहरूले स्पष्ट रूपमा भनेका छन्- “पिता रक्षति कौमारे, भर्ता रक्षति यौवने, पुत्रस्तु स्थाविरे भवेत्” अर्थात् नारी सधैं कसैको अधीनमा रहनुपर्छ । यही सोचले स्त्री स्वतन्त्रताको मूलो नै काटिदियो ।

यही परम्परा हिन्दू धर्ममा मात्रै होइन- ईसाइ धर्ममा एभलाई पापको कारण, इस्लाममा स्त्रीलाई पर्दा र चारदिवारीमा कैद, बौद्ध धर्ममा स्त्रीलाई आर्य अष्टाङ्गिक मार्गमा कम अवसर, र यहूदी धर्ममा स्त्रीलाई केवल सन्तान उत्पादनका माध्यम मात्रै बनाइएको देखिन्छ ।

तर, प्रत्येक युगमा केही विद्रोही नारीहरू उठे- मीराबाईले भक्ति आन्दोलनमा पुरुष-प्रधान समाजलाई चुनौती दिइन्, सावित्रीबाई फुलेले शिक्षाको अधिकारका लागि युद्ध गरिन्, रोजा लक्जेम्बर्गले राजनीतिक क्रान्तिमा नारीको नेतृत्व सम्भव छ भन्ने प्रमाण दिइन्, र अमृता प्रीतम, सिमोन द बुवुआर, मलाला युसुफजईहरूले धर्म, संस्कृति र राज्यका नाउँमा हुने लैङ्गिक दमनविरुद्ध आवाज उठाए ।

यी आवाजहरूले देखाउँछन्- स्त्री स्वतन्त्रता केवल सामाजिक होइन, धार्मिक पुनर्व्याख्याको विषय हो । नारी स्वतन्त्रताको लडाइँ तब मात्र पूर्ण हुनेछ जब धर्मका नाममा निर्माण गरिएका सबै असमान मूल्य र कथित “पवित्र” अनुशासनहरूलाई तर्क, समानता र मानवतावादको दृष्टिले पुनःसमीक्षा गरिन्छ ।

भविष्यको धर्म नारीका लागि कारागार होइन, समान अस्तित्व र स्वनिर्णयको मञ्च बन्नुपर्छ- यही साँचो मुक्ति हो ।

====

सन्दर्भग्रन्थ

  1. Manusmriti, Chapter 5 & 9 – Translation by G. Buhler, 1886.
  2. The Holy Quran, Surah An-Nisa (4) and Al-Ahzab (33).
  3. The Holy Bible, Genesis 3, 1 Timothy 2, Ephesians 5.
  4. Vinaya Pitaka – Cullavagga X, Pali Canon.
  5. Simone de Beauvoir, The Second Sex (1949).
  6. Simone de Beauvoir – The Second Sex (1949)
  7. Some other websites.