काठमाडौं-जहाँ प्राचीन मन्दिरहरू र आधुनिक भवनहरूबीचको संगमले शहरलाई एक अनुपम सौन्दर्य प्रदान गर्छ। बिहानको घामले  पहिलो झुल्को जब स्वयम्भूनाथको गुम्बामाथि सुनौलो आभा बर्साउँछ, त्यही क्षणबाट उपत्यका बिस्तारै जाग्न थाल्छ। बागमती किनारमा बसेर ध्यानमा मग्न हुनेहरू, पशुपतिनाथ जाने भक्तजनहरूको लामो लस्कर, श्रमको खोजीमा हतारिएका ज्यामीहरू, सागसब्जी बेच्ने आमा-दिदीबहिनीहरू, अनि सडकमै दौडिरहेका सवारीसाधनहरूले काठमाडौंलाई जीवन्त बनाइरहेका थिए।

नयाँ बसपार्क-जहाँ देशभरका यात्रुहरू आफ्नो गन्तव्यतर्फ लाग्ने तयारीमा थिए। टिकट काउन्टरहरूमा यात्रुहरूको भीड, सामान बोकेर हतारिएका मानिसहरू, साना व्यापारीहरूको चहलपहल, र बसहरूको लगातार गुन्जायमान आवाजले वातावरण तातेको थियो। म पनि आफ्नो यात्रा प्रारम्भ गर्न हातमा झोला र अनलाइन टिकट लिएर नयाँ बसतर्फ अघि बढेँ। गन्तव्य सुनिश्चित गर्दै झ्यालछेउको सिट रोजेँ, जहाँबाट बाहिरको दृश्यावलोकन गर्दै शीतल हावाको आनन्द लिन सक्थेँ।

म यात्रामा प्रायः पुस्तक पढ्थेँ, र यसपटक मेरो साथमा म्याक्सिम गोर्कीको “चेल्सी जीवन” {The Lower Depths} थियो। पुस्तकबिना यात्रा गर्नु मेरो लागि असम्भवजस्तै थियो। कहिले पानाहरूमा आँखा दौडाउँथे, त कहिले बाहिरका दृश्यहरू मनभरि समेट्थेँ। बस विस्तारै अघि बढ्दै थियो, यात्रुहरू ठाउँठाउँबाट चढ्दै, गति विस्तारै बढ्दै थियो। एक्कासि बस कलंकीमा रोकियो। मेरो छेउको सिट खाली थियो, अनि केही क्षणमै एउटी युवती आएर बसिन्। म हल्का झ्यालतिर सरेँ, उनलाई सहजता दिने हेतुले। यात्रा अझै लामो थियो, र म बेलाबेलामा पुस्तकका पानाहरूमा हराइरहेको हुन्थे।

बसले गति लिन थालेपछि, काठमाडौंको भीडभाडलाई पछाडि धकेल्दै, हरियाली सा-सना फाँटहरु र पहाडहरूतर्फको दिशाहुदै हुइकियो। कलंकीको ट्राफिक जाम पार गर्दै नैकापमा बस अलिकति रोकियो। युवतीले हेर्न नचाहे पनि उसले बेलाबेला म तिर निहुररिएर छड्के नजर लगाईरहेकी हुन्थिन्।

नागढुंगाको उकालो चढ्दै गर्दा, बसबाट वरिपरिका डाडाकाँडा हरियाली सुन्दर स-सना फाँटहरुको आकर्षक आकृति देखिन्थ्यो। मेरा आँखाहरु बेलाबेलामा पुस्तकबाट अन्यत्र डुलिरहेका हुन्थे, कहिले बाहिरको रमणीय दृश्यमा त कहिले युवतीको आकर्षक चेहरामा।

मैले युवतीलाई शिरदेखि पाउसम्म ध्यानपूर्वक नियालें। मध्यम उचाइ, करिब पाँच फिट भन्दा केही बढी, गोरो वर्ण जसमा घामको हल्का झल्को मिसिएको झैँ देखिन्थ्यो। उनको सुगठित शरीर जसमा माथि उठेका छाती, बाटुलो अनुहार आकर्षक देखिन्थ्यो।

लामो र कालो कपाल झ्यालको मधुर हावासँग खेलिरहेको थियो। उनका ती आकर्षक आँखाहरू गहिराइले भरिएका थिए, जसले अनकथित रहस्य लुकाइरहेका जस्तो भान हुन्थ्यो।

गुलाफी कुर्ताको सुन्दर पहिरनले उनको व्यक्तित्व झनै उज्यालो र सौन्दर्यलाई शालीन बनाइदिएको थियो। हल्का हिल उठेका चप्पलले हिँडाइलाई थप मोहक बनाइरहेको थियो। उनको शालीनताले आत्मविश्वास झल्काउथ्यो।

बसले काठमाण्डौको भीडभाड छिचोल्दै जब नौबिसेमा पहिलोपटक रोकियो, यात्रुहरू चिया-नास्ताका लागि ओर्लिए। संगै सिटमा बसेकी युवती पनि होटलभित्र छिरिन्।

मैले झ्यालबाट बाहिर हेर्दै केही बेर समय बिताएँ। तर, वातावरण सहज बनाउने सोचले म पनि होटलभित्र छिरेँ र संयोगवश एउटै टेबुलमा गएर बसेँ। उनले हल्का मुस्कानसहित भनिन्, “नमस्ते, म कविता।”

मैले पनि मुस्कान फर्काएँ, “नमस्ते, म वसन्त।”

हामीले तातो चियाको पहिलो चुस्की लियौं। बाहिर भित्र यात्रुहरूको चहलपहल थियो, कोही समोसा तरकारी तान्दै थिए, कोही मोबाइलमा मस्त देखिन्थे।

मैले वातावरणलाई हल्का बनाउँदै सोधेँ, “तपाईं कहाँसम्म जाँदै हुनुहुन्छ?”

कविताले मुस्कानसहित जवाफ दिइन्, “म संखुवासभाको खाँदबारी जाँदैछु। तपाईं?”

मैले पनि जवाफ फर्काएँ, “म विर्तामोडसम्म।”

क्षणभर चुपचाप रह्यौँ, तर त्यो मौनता असजिलो थिएन-बरु, यात्रामा भेटिने ती अस्थायी सहयात्रीहरूसँगको नयाँ अनुभूति थियो।

यात्रा पहाडी भेग हुँदै त्रिशूली नदीको किनारैकिनार अघि बढिरहेको थियो। साँघुरो, बाङ्गोटिङ्गो बाटो, एकातिर भीर त अर्कोतिर गहिरो खोँच। त्रिशूली नदी पहाडको काख चिरेर बेगले बगिरहेको थियो, सेता फिँज उफार्दै, चट्टानहरूसँग ठोक्किँदै गर्जन गर्दै बग्ने नदीको आवाज कानमा गुञ्जिरहन्थ्यो।

सडक वारिपारी हरिया डाँडाहरू उभिएका थिए, कतै पाखामा गुराँस फूलेका, कतै हरियाली रुखले बाटोलाई छायाँ दिइरहेका थिए। भीरमा ठडिएको रुखहरुलेबाट बहने हावाले रुखलाई लच्काउदै थियो। पर कतै झरनाहरू ढुंगे भित्ताबाट बगेर नदीतिर समाहित भइरहेका थिए।

बाटोभरि अलि-अलि चिसो बतास बहिरहेको थियो, गाडीका झ्यालबाट बाहिर हेर्दा कहिले नदी साँघुरिएको देखिन्थ्यो त कहिले विशाल भँगालो बनेर पहाडको काखैकाख हुँदै बगेका थिए। बीच-बीचमा माछा मार्ने मानिसहरू ढुंगामाथि बसेका देखिन्थे। बादल फाटेसँगै नदीको सतहमा सुनौलो घामको झल्को परेर दृश्य झन् मनमोहक बनेको थियो।

यो यात्रा केवल गन्तव्यसम्म पुग्ने यात्रा मात्र थिएन, प्रकृतिको मुक्त आकर्षणलाई आत्मसात गर्ने अविस्मरणीय क्षण पनि थियो।

प्राकृतिक सुन्दरतासँगै पुस्तकका कथाहरूले मलाई अर्कै दुनियाँमा पुर्याइरहेको थियो। बाहिरी दृश्य र अक्षरहरूको संसारबीच डुबुल्की मार्दै गर्दा अचानक गाडीको हल्का झड्काले म वर्तमानमा फर्किएँ। धादिङको गजुरी आइपुगेपछि, किताबबाट नजर उठाउँदै कवितातिर फर्केर सोधेँ-

“माफ गर्नुहोस्, तपाईंलाई असुविधा भयो कि?”

कविताले हल्का मुस्कान छोड्दै शालीन स्वरमा भनिन्-

“होइन, कुनै समस्या छैन।”

बस घुम्तीमोडहरू पार गर्दै अघि बढ्यो। पहाडका हरियाली टाकुरा, बगेका खोल्साहरू, र साँघुरिएका सडकहरू छिचोल्दै जब मलेखु आइपुग्यौं, बस अर्को पटक रोकियो। यहाँको माछाका परिकार प्रसिद्ध छन्, भोकले पेट गुन्जिन थालिसकेको थियो।

मैले हौसिँदै सोधेँ-

“यहाँको माछा निकै प्रसिद्ध छ, तपाईंले चाख्नुभएको छ?”

कविताले हाँस्दै भनिन्-

“हो, सुनेको छु। तर म शाकाहारी हुँ।”

मैले आश्चर्य मिश्रित मुस्कान छोड्दै सोधेँ-

“अनि तपाईं के लिनुहुन्छ त?”

उनले सहजै उत्तर दिइन्-

“म चिउरा र दही लिन्छु। तपाईं?”

मैले पनि हल्का मुस्कँदै भनेँ-

“फेरि म एक्लै कसरी माछा खानु? म पनि त्यही लिन्छु।”

खाजाको अर्डर आयो। दहीको शीतल स्वाद र चिउराको करकराहटले यात्राको मिठास झन् बढायो। हामी केहीबेर चुपचाप खाइरह्यौं। बीच-बीचमा कविताले हल्का मुस्कानसहित नजर उठाउँथिन्, अनि फेरि थालमा फर्किन्थिन्। यो सानो संवाद र साझा भोजनले यात्रा अझ स्मरणीय बनायो।

गाडी अगाडि बढ्यो, कुरिनटार, मुग्लिन, दासढुंगा हुँदै नारायणगढतर्फको यात्रा घुम्तीपिच्छे नयाँ दृश्यको अनुभूति दिइरहेको थियो। अगाडि पछाडि दौडिरहेका बसका ताँतीहरूले सडकलाई कुनै जीवित लयझैं बनाएका थिए। बायाँतर्फ भीर, दायाँतर्फ त्रिशूली नदीको काखै-काख बगिरहेको थियो।

सडकछेउका फाँटहरूमा किसानहरू माटोसँग खेलिरहेका देखिन्थे, र बजार, सडक किनारमा फलफूल, तरकारी, अनि पोलिएको मकै बेच्दै बसेका युवतीहरूको पंक्ति यात्रा गर्नेहरूका लागि एक झल्को विश्रामजस्तै थियो। कतै सुन्तला थुप्रिएका, कतै काँक्रा, कतै केरा र लहरै तरकारी सजाइएका थिए।

नदी किनारमा माछा मार्नेहरूको लामो पङ्क्ति देखिन्थ्यो, कोही जाल फ्याँक्दै, कोही ढुंगामाथि बसेर आँखा गाड्दै, पानीमा छायाँ खोज्दै थिए। जीवन धपेडीको अर्को रूप त्यही थियो। म केहीबेर मौन भएँ र किनारतिर नजर डुलाउँदै भनेँ, “यी माछा मार्नेहरूको जीवन कस्तो होला, हैन?”

कविता सोचमग्न भइन्, उनको शिष्ट, स्पष्ट र मधुर आवाज, विचारशील र तार्किक कुरा गर्ने बानी, बोल्दा सामान्य मुस्कानले अनुहारमा आत्मीयता झल्काउने खालको हुन्थ्यो, उनले भनिन्, “साधारण तर सन्तुष्ट होला जस्तो लाग्छ।”

मैले आफूलाई किताबमा भुलाउदै थिए, नारायणगढ पुगेको पत्तो नै भएन। नारायणघाटबाट बसले फेरि यात्रा सुरु गर्यो। उनी सिटमा निदाउन खोज्दै थिइन्, झ्यालको हावाले उनको कपाल मेरो अनुहारमा लत्पतिदै थियो। मैले नारायणगढबाट हेटौंडासम्म किताबमा ध्यान केन्द्रित गर्ने सोच बनाए।

पुस्तक अत्यन्तै रोचक, प्रेरणादायी र मार्मिक थियोे। कुनै समय त पुस्तकबाट आँखा दायाँबायाँ पनि हुदैनथ्यो। पुस्तक पढ्दै जादा यी भनाइबाट म धेरै भावुक र गम्भीर भए,-

“हामी सबै यहाँ एउटै कुवामा डुबेका माछा हौं। कसैलाई विश्वास छैन कि उज्यालो आउँछ। हरेक दिन रातजस्तो लाग्छ। तर पनि, जब कोही आशाको कुरा गर्छ, मनको कुनामा एक थोपा उज्यालो जाग्छ।”

यस पंक्तिले पुस्तकमा विभिन्न पात्रहरूको सामूहिक पीडा र निराशालाई चित्रित गरेको प्रष्टै बुझ्न सकिन्थ्यो। समाजको तल्लो तहमा रहेका मानिसहरूले आफ्ना जीवनमा परिवर्तनको अपेक्षा त्यागे पनि, सानो आशाले उनीहरूको मनमा जीवनको झिनो झिल्को दन्काइरहेको हुन्छ।

हेटौंडामा बस केहीबेर रोकियो। यात्रुहरूका चहलपहलले एकछिन बसको वातावरण बदलियो- कोही झरे, कोही नयाँ यात्रु चढे, कतिजना मकै, चिया, चिसो -स्न्याक्सतिर दौडिए।

बस पुनः गुड्न थाल्यो, पथलैया जाने बाटो समात्यो। जंगलमा छिर्नासाथ बायाँपट्टि अग्ला सालका रूखहरू एकअर्कासँग लहरै ठडिएका थिए, मानौं सिपाहीहरूको अनुशासित पङ्क्ति। जंगलभित्रको शीतलता झ्यालबाट भित्र पस्दै थियो, र कतै-कतै चराहरूको चिर्बिर आवाजले नीरवतालाई मिठास भर्दै थियो।

यात्रा कठिन थियो। अगाडि ट्राफिकको लामो जाम थियो, जसले प्रतीक्षाको पल झन् लामो बनाइरहेको थियो। बाटो साँघुरो, बाङ्गोटिङ्गो, कहिले उकालो त कहिले ओरालो। छेउछाउमा पहाडका हरिया ढलानहरू, कतै सालघारी त कतै बुट्यानका झ्याङहरू। खहरे बगरको संगत छोड्दै, घुम्ती पार गर्दै यात्रा अघि बढिरहेको थियो। अग्ला पहाडहरू छेउमा उभिएका चुरे पहाडका होचा शृंखलाहरूले आकाश छुने लालसा राखेझैँ देखिन्थे। जब तराईका समथर फाँटमा यात्रा अघि बढ्यो, चराचुरुङ्गीका चिर्बिरे आवाजले वातावरणलाई झन् जीवन्त बनायो। सुदूरसम्म फैलिएको हरियाली, बनपाखा, माटोको सुगन्ध, अनि परपर क्षितिजमा देखिने सुन्दरताले यात्रा केवल यात्रा मात्र होइन, प्राकृतिक सौन्दर्यको एक अनन्त अनुभव बनाइरहेको थियो।

चार नम्बर पुल पार गर्दा एकाएक पुरानो सम्झना दिमागमा कौतुहल बनेर आयो- यहीँ कतै पहिल्यै ढिडोको स्वाद! झल्झली सम्झेँ, खलखली पसिना चुहाउँदै मासुसँग ढिडो खाएको त्यो क्षण ।

अमलेखगञ्ज हुँदै जब पथलैयाको फराकिलो सडकमा बस अघि बढ्यो, दायाँबायाँ लामबद्ध ट्रकहरूको लर्को देखियो। केही ट्रकहरू धूलो उडाउँदै अघि बढिरहेका थिए, केही छेउमै पार्क गरेर चालकहरू गफिँदै थिए। ठूला सवारी साधनहरूको गडगडाहटसँगै सडकको हलचल बढ्दै थियो, यात्राको लय अब अझै तीव्र बनेको अनुभव भयो।

पथलैयाबाट निजगढ चपुरतिर गाडी बेतोडले हुइकियो। सडकको दायाँबायाँ लस्करै सालका रुखहरु लामबद्ध भई हामीलाई स्वागत गरिरहेजस्तो भान हुन्थ्यो। तिनका पातहरू स-साना हावाका झोक्कामा हल्काफुल्का गरी झुम्मिरहेका थिए। माटोको बास्ना, भिजेको पातको गन्ध र जङ्गली फूलहरूको मीठो सुवासले नाक भरिएको थियो। चराहरूको स्वरमा अलमलिएका बाँदरहरू रुखहरुमा र पातमाथि झुम्मिँदै कुदिरहेका थिए।

यात्राको बीचबीचमा घना झाडीहरूले बाटो छेकेको थियो, जहाँ सुकेका घाँस पातहरुमा पानीको थोपाहरू टल्किरहेको जस्तो देखिन्थे। माथिल्लो रूखका हाँगाहरूले आकाशलाई ओझेल पारेका थिए, र घामका छिटाहरू पातको बीचबाट छिरेर छायाँमा सुनौला दागहरू छोडिरहेका थिए। कतै टाढा बँदेलको हुङ्कारले वातावरणलाई केही क्षणको लागि स्तब्ध बनाए जस्तो भान हुन्थ्यो।

यात्राको थकान कविताको अनुहारमा झल्किरहेको थियो। म‌ैले त्यसलाई महसुस गरेको थिए। निजगढ पुगेपछि मैले कवितातिर इशारा गर्दै “के तपाईं पानी पिउनु हुन्छ?”- मैले उनलाई प्रश्न तेर्साए।

कविताले टाउको हल्लाउँदै ‘नाइँ’ भनिन्।

संवाद एकतर्फीबाट मात्रै भएको महसुस गर्दै मैले कुराकानीलाई घनिभूत बनाउन देशको राजनीतिक अवस्थाबारे आफ्नो विचारसहित कुराकानी अगाडि बढाए।

कविताले गम्भीरतापूर्वक सुनिन् र भनिन्, “राजनीति त परिवर्तनशील छ, तर संसारभरका ठूला परिवर्तनका उदाहरणहरूले देखाउँछन् कि घृणालाई प्रेममा बदल्न सक्ने व्यक्तिहरू नै साँचो परिवर्तनकारी राजनेता हुन्। महात्मा गान्धी, नेल्सन मण्डेला र मदर टेरेसाजस्ता व्यक्तित्वहरूले प्रेम र राजनीतिलाई हतियार बनाएर समाजमा शान्ति र समानताको सन्देश फैलाए।”

मैले उनको आसय बुझे जस्तो गरेर सहमति जनाउँदै भने, -“साँचो प्रेमले आत्मकेन्द्रित चिन्तनलाई हटाएर समष्टिगत कल्याणको मार्गमा डोर्याउँछ। यसले समाजमा केवल भावनात्मक परिवर्तन मात्र होइन, सामाजिक न्याय, समानता र शान्तिको आधारसमेत तयार गर्छ। त्यसैले, यदि हामी समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छौँ भने साँचो प्रेमको मार्गमा अघि बढ्न जरुरी हुन्छ।”

“राम्रो सोच”, उनको उत्तर छोटो थियो।

मैले थपे-“के तपाईंलाई किताब पढ्न मन पर्छ?”

कविताले केही सोच्दै उत्तर दिइन्-

“पहिले पढ्थेँ, तर अहिले ध्यान नै केन्द्रित हुँदैन।”

मैले आफ्नो किताबको पाना पल्टाउँदै भने-

“किताबहरू कहिलेकाहीँ मात्र होइन, प्रायः हाम्रो जीवनका उत्कृष्ट आत्मीय साथी बन्छन्। जब संसारको भीडभाडमा आफूलाई एक्लो महसुस गर्छौं, जब नजिकका साथीभाइ र परिवारले पनि हाम्रो पीडालाई बुझ्न सक्दैनन्, त्यतिबेला किताबहरू हाम्रो निस्वार्थ सहारा बन्छन्। तिनको शान्त र स्थिर उपस्थितिले हामीलाई सम्झाउँछ कि हामीसँग सधैंसँगै रहने, दुःखसुखमा साथ दिने र मार्गदर्शन गर्ने कुनै न कुनै साथी छ।”

“किताबहरूले कहिले पुराना अनुभवहरू दोहोर्याएर हामीलाई सान्त्वना दिन्छन् त कहिले नयाँ विचार र सम्भावनाहरूको ढोका खोलिदिन्छन्। पात्रहरूको सङ्घर्षमा हाम्रो आफ्नै पीडा फेला पार्छौं, तिनका सफलतामा आफ्नो जीत देख्छौं। कहिलेकाहीँ कुनै उपन्यासको कथामा डुबेर आफ्नो वास्तविकता बिर्सन्छौं, र कहिलेकाहीँ कुनै दार्शनिक लेखमा आफैंलाई पुनः पाउँछौं।”

“जब संसारले पन्छाइदिन्छ, किताबहरू हाम्रो आत्माको साँचो साथी बन्छन्। तिनले हामीलाई सम्झाउँछन् कि हाम्रो भावना, विचार र अस्तित्वलाई स्वीकार गर्न, बुझ्न र सम्मान गर्न कोही न कोही छ। किताबहरूले एक्लोपनलाई मात्र होइन, बाँच्नको अर्थ र संघर्ष गर्नलागि हौसलासमेत दिन्छन्। तिनले हामीलाई सिकाउँछन् कि एक्लोपनको घडीमा पनि हामीसँग ज्ञान, अनुभूति र प्रेरणाको संसार खुला हुन्छ।”

कविताले धैर्यतापूर्वक सुनिरहिन्, उनको अनुहारमा हल्का मुस्कान आयो। सायदै मेरो विचारले उनको मन छोएको हुनुपर्छ।

उनले छोटो उत्तर दिईन- “अवश्य”

हामीले पत्लैया-निजगढ-चपुर यात्रामा केही समय संवाद बितायौं। म पून पुस्तकम‌ै केन्द्रित भए।

पुस्तकले मानव जीवनका यथार्थ, भोगई र संवेदनालाई बढो मार्मिक ढंगले उजागर गरेकोले किताबबाट बाहिरी जगत बेलाबेला भुसुक्कै बिर्सिन्थे। पुस्तक पढ्दा यथार्थपरक सिर्जनात्मक भनाइले आफ्नै जीवनका भोगाइ र यथार्थ बोलेजस्तो अनुभूत भैरहेको थियो –

“आशा भनेको के हो? जिन्दगीभर झूटको पछाडि कुद्ने मानिसहरूको खेलौना हो। तर, आशा नभए मानिस बाँच्न सक्दैन। झूट भए पनि, सपना भए पनि, यो नै जिन्दगीको सार हो।”

गोर्कीले यहाँ आशाको द्वैध प्रकृतिलाई चित्रण गरेका छन्। उनको दृष्टिकोणमा आशा एउटा भ्रम वा झूट हुन सक्छ, तर यो नै मानिसलाई बाँचिरहन प्रेरित गर्ने मूल शक्ति हो। मानिसहरू जीवनभर ठूलो सफलता, खुशी, वा राम्रो भविष्यको आशामा कुदिरहन्छन्, जसले उनीहरूलाई निरन्तर संघर्ष गर्न मद्दत गर्छ।

तर, उनको भनाइको अर्को पाटो के हो भने, आशा कहिलेकाहीं केवल एक खेलौनाजस्तै हुन सक्छ, जसलाई मानिसहरूले आफ्नो वास्तविकता भुल्नका लागि प्रयोग गर्छन्। जीवनभर असत्य सपना पछ्याउँदै हिंड्दा पनि, मानिस आशाविहीन हुन सक्दैनन्, किनकि आशा नभए जीवन निरस र शून्य बन्छ।

यो भनाइ विशेष गरी कठिन परिस्थितिमा संघर्ष गरिरहेका मानिसहरूका लागि गहिरो अर्थ राख्छ। जब जीवनमा समस्या, निराशा, वा कठिनाइ आउँछन्, आशा नै त्यो शक्ति हो, जसले मानिसलाई अगाडि बढ्न प्रेरित गर्छ। यद्यपि कहिलेकाहीं यो केवल एक भ्रम मात्र हुन सक्छ, मानिसहरूले बाँच्न र संघर्ष गर्नका लागि यसलाई आत्मसात गर्नैपर्छ।

यस अर्थमा, गोर्कीले आशाको आवश्यकतामाथि व्यङ्ग्य गर्दै यसको अपरिहार्यता स्वीकार गरेका छन्- झूट नै सही, सपना नै सही, तर आशा बिना जीवन सम्भव छैन।

यो भनाइले मेरो विगतलाई कोट्याईरहे जस्तो लागिरह्यो।

बस एक्कासि चपुर होटलको कम्पाउन्डमा अर्को पटक रोकियो। चिया-नास्ता-खाना भन्दै होटलका कर्मचारी चिच्याउन थाले।

यहाँ पोलेको मकै निकै प्रसिद्ध छ। मैले दुईवटा पोलेको मकै किनेर एक कवितालाई दिए। कविताले धन्यवाद वसन्तजी! उनलेे थपिन, “तपाईंले यसरी खर्च गर्नुभयो, अब म तपाईंलाई खाँदबारीमै आमन्त्रण गर्नेछु।

मैले सामान्य मुस्कानमा भने, “अवश्य, कुनै दिन पक्कै आउनेछु।”

सहचालकले गाडी अगाडि बढ्ने संकेत दियो। बसले आफ्नो गतिसंगै बागमती, हरिवनहुदै बर्दिबासमा खाना खानका लागि रोक्यो। हामीले सँगै खाना खायौं। कविताले भनिन्, “तपाईंको संगतमा यात्रा रमाइलो भइरहेको छ।”

मैले उत्तर दिए, “मलाई पनि उस्तै।”

बर्दिबास, ढल्केबार, बीरेन्द्रबजारहुदै लाहानमा बसले छोटो समयको लागि रोक्यो। केही यात्रु बसबाट झरे। गाडीले आफ्नो रफ्तार बढायो। केही अघि बढेपछि पून पेडा पसलको अगाडि बस रोकियो। सप्तरीको बाजेको पेडा प्रसिद्ध छ। कविताले केही पेडा किनेर मलाई पनि दिइन्। कविताले हाँस्दै भनिन्, “तपाईंले मात्रै कति खर्च गर्नु हुन्छ, मेरो तर्फबाट पनि केही लिनु भए आभारी हुनेथिए।”

उनलेे थपिन,- “तपाईंको संगतमा मीठास थप्न खोजेको मात्र।”

मैले मुस्कुराउँदै भने” – मीठास थप्ने प्रयास त तपाईंको सफल नै भयो, तर यो पेडाको मात्र कुरा हो कि अरू पनि केही मिठास थप्ने सोच छ?”

उनले लजाउदै केवल मुस्कुराईन मात्र।

बसले कोशी व्यारेजलाई उछिन्ने क्रममा थियोे-

कोशी व्यारेजबाट देखिने दृश्य साँच्चै मनमोहक र आकर्षक थियो। विशाल कोशी नदीका अविरल छालहरू बाँधका ठूला ढोकाहरूबाट वेगसँग बगिरहेका थिए। पानीको शक्तिशाली बहाव र त्यसको गर्जनले वातावरणलाई जीवन्त बनाईरहेको थियोे।

बाँधको दुवैतर्फ फैलिएको अपार जलराशि सुनौलो घामको किरणले टल्किरहेको, जसले पानीको सतहमा अद्भुत चमक पैदा गरेको थियो। वरिपरि हरियो वनजङ्गल, फाँटहरू र साना टापुहरू आँखालाई शीतलता दिईरहेकाछन्। परवर्ती पहाडहरूमा मडारिने कुहिरो र आकाशमा उड्ने चराहरूको झुन्डले प्राकृतिक सौन्दर्यमा थप आकर्षण दिएको थियोे।

कोशी व्यारेजमा उभिएर यस विशाल जलराशि र प्राकृतिक सौन्दर्यलाई नियाल्दा मन एकाएक शान्त र आनन्दित भयो।

कविताले कोशी ब्यारेजको छेउमा उभिएर मुस्कुराउँदै मोबाइल अघि बढाइन्, “यो दृश्य कैद गरौँ न, तपाईं खिचिदिनु त!”

मैले मुस्कुराउँदै २-३ वटा एङ्गलबाट फोटो खिचेँ।

उनले मायालु नजरले हेरिन्, “वसन्तजी, तपाईं आफैं फोटो खिच्नुहुन्न?”

म एकछिन मौन भएँ, हावाको हल्का झोक्का अनुहारमा महसुस गर्दै मुस्कुराएँ।

“स्मृतिहरू त मनमा कैद गरिरहेकै छु, तर तपाईंले भन्नुभयो भने एउटा फोटो खिचौँ न!” त्यस क्षणको तस्वीर मैले पनि खिचाएँ-स्मृतिमा र क्यामेरामा।

कोशी व्यारेजबाट बसले गति लियो। कवितासंग के-कति गफ मात्रै गर्नु मेरो अन्तरमुखी स्वाभावले गफ भन्दा पुस्तकले नै बढी आकर्ष गरिरहेको थियो। मैले पुस्तकमै पूरै ध्यान केन्द्रित गरे। पुस्तकका यी हरफहरुले मेरो मनको भित्री भागको शल्यक्रिया नै गर्यो, मैले यी हरफहरु दोहोर्‍याए पढे।-

“जब मान्छे भोकाएको हुन्छ, उसले आफ्नो आत्म-सम्मानलाई पनि बेच्न बाध्य हुन्छ। भोकसँग लड्न सक्ने हिम्मत कसैसँग हुँदैन। तर जब आत्म-सम्मान गुम्छ, मान्छे मरेभन्दा पनि कमजोर बन्छ।”

गोर्कीका यी हरफहरुमा गरिबीको क्रूर यथार्थता उजागर गरेको अनुभव गरे। भोक र गरिबीले मानिसलाई आफ्नो नैतिकता र आत्म-सम्मानसमेत बेच्न बाध्य बनाउँछ। उनले यहाँ गरिबीको कारणले मानिसको आत्मा कति कमजोर बन्छ भन्ने कुरालाई गहिराइमा पुगेर देखाएका छन्।

माथिका यी उद्गारले मेरो आफ्नै जीवनका भोगाइ र कथाहरू चलचित्रको पर्दामा झै आँखा वरिपरि घुम्न पुगे।

बस इटहरीमा केहीबेरका लागि रोकियो। यात्रुहरु ओर्लने र चढ्नेक्रम जारी थियोे।

कविताले झोलाबाट एउटा काक्रो निकालिन् र मुस्कुराउँदै मेरोतर्फ हात बढाइन् – “लिनुहोस्, वसन्तजी। यहाँ त ज्यादै गर्मी छ। यसले शीतलता दिन्छ।

मैले हल्का मुस्कानसहित भने- “ठीक छ, तपाईं लिनुहोस्। मलाई चिसोले घाँटीमा खराब गर्छ।”

कविताले अल्लि जिस्क्याउने पारामा भनिन्- “ल है! घाँटीको बहाना गरेर काक्रो नखाने हो र? अलिकति त खानुस् न!”

मैले भने- “हुन त बहाना जस्तो भयो, तर साँच्चै हो नि! अझ गर्मीमा त झन् बिग्रन्छ।”

उनले हँसिलो मुहार बनाउदै भनिन्- “ल ठीक छ, म एक्लै सकाउँछु।”

हाम्रोबीच केहीबेर एककोहोरो हेराहेर जारी रह्यो।

मैले मौनता तोड्दै बाल्यकालका केही रोचक यादहरु बताए। उनले ध्यानपूर्वक सुनिरहिन। मैले थपे- “यस्तै रमाइला सम्झनाहरूले कति कुरा मनमा खेलाउँछन्, होइन र?”

कविताले भनिन्- “हो त! कति रमाइला थिए ती दिनहरू। मेरो पनि बाल्यकाल झण्डै मिल्दोजुल्दो रहेछ तपाईंको जस्तै।”

मैले प्रश्न गरे- “साँच्चै? के-के गर्नु हुन्थ्यो कविताजी बाल्यकालमा?”

उनले अलिकति उत्साहित हुँदै भनिन- “हाम्रो गाउँमा मेला लाग्थ्यो।

साथीभाइसँग रमाइलो गर्ने ती दिनहरू कति सुन्दर थिए! भलिबल खेल्नेदेखि गुच्चा हान्नेसम्म, के के मात्र नगरेको!”

मैले पुन प्रश्न गरे- “अनि तिमी पनि भलिबल खेल्थ्यौ?”

कविताले ठट्यौली पारामा उत्तर दिइन,- “के सोचेको? म पनि राम्री खेलाडी थिएँ नि! कहिलेकाहीँ त केटाहरूले पनि हार मान्थे।”

मैले मजाक गर्दै भने-“अनि अहिले हार मान्नेलाई के गर्छौ?”

उनले ठूलो स्वरमा हाँस्दै भनिन्- “अहिले त हाँसेर छोडिदिन्छु! त्यो बेला भने जित्नै पर्थ्यो!”

कानेपोखरीबाट म पून पुस्तकमा भूले। कहिलेकाही मनमा द्वविधा पैदा हुन्थ्यो, पुस्तक पढ्ने कि गफ गर्ने। पुस्तकका कहानीहरु, नाटकका प्रत्यक्ष श्रब्यदृष्य बनेर मनलाई उतै तानिरहेको थियोे। पुस्तक जति अगाडि बढ्छ त्यतिनै गहन र ओजस्वी   श्रृङखलाहरुले चेतनाको गहिराइमा डुबाइरहेको थियोे। यी हरफहरुले मानव मस्तिष्कमा नयाँ चेतना र उर्जा दिएको भान हुन्थ्यो,-

“जब काम आनन्द हुन्छ, जीवन हर्षोल्लासपूर्ण हुन्छ! जब काम केवल कर्तव्य बन्छ, जीवन दासत्व बन्छ।”

यो भनाइबाट कामप्रतिको दृष्टिकोणले जीवनको गुणस्तर निर्धारण गर्ने कुरा दर्शाउँछ। यदि मानिसले मन पराएको, रमाइलो लाग्ने वा सन्तोष दिने काम गर्छ भने उसको जीवन आनन्दमय हुन्छ। तर, यदि काम केवल जीविका चलाउन वा बाध्यताका रूपमा गर्नुपर्छ भने, त्यो मानिसको लागि दासत्वसरह हुन्छ।

आधुनिक समाजमा अधिकांश मानिसहरू जीविका चलाउन बाध्य भएर, मन नपरेको भए पनि काम गर्नुपर्छ। यसले उनीहरूलाई मानसिक तथा शारीरिक रूपमा थकित बनाउँछ। तर, यदि मानिसले आफ्नो रूचि र क्षमताअनुसारको पेशा अपनाउन सक्यो भने, जीवन रमाइलो र सन्तोषजनक बन्न सक्छ। अहिलेको प्रतिस्पर्धात्मक विश्वमा, पेशागत सन्तुष्टि र मानसिक स्वास्थ्यलाई ध्यान दिनुपर्ने सन्देश यो भनाइले दिएको छ।

“मानिस बाँच्न जन्मेको हो, जीवनको तयारी गर्न होइन।”

गोर्कीको यो भनाइबाट मानिसहरू भविष्यको तयारीमै अल्झिएर वर्तमान जीवनको आनन्द लिन बिर्सन्छन् भन्ने सत्यतालाई औंल्याउँछ। धेरै मानिसहरू निरन्तर भविष्यको चिन्तामा हराउँछन्- राम्रो शिक्षा, राम्रो जागिर, भविष्यका योजनाहरू आदिमा अल्झेर बाँच्न बिर्सिन्छन्। तर, वास्तविकता के हो भने, जीवनको सार भविष्यका लागि तयारी गर्ने होइन, वर्तमानलाई सन्तुष्टरूपले बाँच्नु हो।

समाजले मानिसहरूलाई सधैं भविष्यको तयारी गर्न लगाउँछ- राम्रो अंक ल्याऊ, राम्रो जागिर खोज, घर बनाऊ, भ्रष्टाचार गरेरै भएपनि पैसा बचत गर आदि। तर, यस क्रममा मानिसहरूले आफ्नो हालको जीवन बाँच्नै बिर्सन्छन्। आधुनिक समयमा ‘work-life balance’ जस्तो अवधारणा महत्त्वपूर्ण बनेको छ, जसले मानिसलाई वर्तमानको आनन्द लिन र भविष्यको मात्र चिन्ता नगर्न प्रेरित गर्छ।

गोर्कीका यी भनाइहरू आजको जीवनशैलीका लागि पनि उत्तिकै सान्दर्भिक छन्। मानिसहरूले कामलाई केवल दायित्व होइन, आनन्दको स्रोत बनाउनुपर्छ, र भविष्यको तयारी गर्दै गर्दा वर्तमानलाई बिर्सिनु हुदैन।

गोर्कीका यी भनाइ र मेरो जीवन र सोचाइको यथार्थतामा बेजोड समिप्यताले मनमनै गौरवको अनुभूति गरिरहे।

गोर्कीले श्रमलाई सिर्जनात्मकता र आनन्दसँग जोडेर वर्तमानलाई भुल्न नहुने प्रेरणाले मेरै जीवन कहानीको वर्णन गरे जस्तो महशुल भयो।

मैले पनि जीवनलाई केवल दायित्वको भार होइन, आत्मसन्तोष र उत्साहको यात्राका रूपमा लिन्छु। भविष्यको तयारी गर्दै वर्तमानलाई बिर्सने भीडमा हराउनुभन्दा, म आफ्नो प्रत्येक क्षणलाई सार्थक बनाउने प्रयास गर्छु। श्रम मेरो लागि बाध्यता होइन, आत्मअभिव्यक्तिको माध्यम हो, जहाँ म आफ्नो सोच, सिर्जनशीलता, र अस्तित्वलाई जीवन्त राख्छु। श्रममा सरिक हुनु र श्रमको सम्मान गर्नु मेरो मानवीय दायित्व हो।

यस पुस्तकको अन्त्यले दर्शाउँछ कि झूटले अस्थायी सान्त्वना दिन सक्छ, तर दीर्घकालीन समाधान होइन। नाटकका पात्रहरू पुनः आफ्नो कठोर यथार्थमा फर्किन्छन्, र आशावादी झूटको अभावमा उनीहरूको जीवन अझै कठिन हुन्छ। गोर्कीले नाटकमार्फत् सत्य र झूट, आशा र निराशा, र मानव अस्तित्वको मूल्यबोधबारे गहिरो प्रश्न उठाएका छन्।

साँझ पर्न लाग्दा आकाश राताम्य हुँदै गयो। पश्चिमी क्षितिजमा सूर्य सुनौलो आगोझैँ बलिरहेको थियो, जसको प्रतिबिम्ब तलको सिँचाइ कुलोमा चम्किरहेको थियो। पर कतै माटोको धुलो उडाउँदै गोरु गाडा गुडिरहेका थिए। साँझ झुम्मिँदै गर्दा फाँटभरि किरणीहरू चम्कन थाले। बस्तीका सानाठूला घरहरू, खेतका आलीहरूमा खेल्दै गरेका नाङ्गा खुट्टाका केटाकेटीहरू, अनि पर-परसम्म फैलिएको हरियाली देख्दा लाग्थ्यो- यो केवल यात्रा होइन, प्रकृतिको माया समेट्ने अर्को महत्त्वपूर्ण अवसर हो।

दमकमा बस अर्को पटक रोकियो। यहाँको प्रसिद्ध मिठाइँ ‘भक्का’ चाख्न मैले प्रस्ताव गरे। कविताले सहर्ष स्वीकार्दै भनिन्, “मिठाइँहरू मलाई निकै मन पर्छ।”

हामीले भक्काको स्वाद लिँदै, जीवनका विविध पक्षहरूबारे चर्चा गर्यौं। कविताले आफ्नो साहित्यप्रतिको रुचि प्रकट गर्दै भनिन्, “म कविता लेख्न मन पराउँछु। तपाईंको पढाइमा मात्रै हो कि अरु कुनै विशेष रुचि छ?”

मैले उत्तर दिए, “मलाई दर्शन, विज्ञान-प्रविधि, इतिहास, कथा, कविता, निबन्ध, नाटक, पढ्न र लेख्न मन पर्छ, साथसाथै फोटोग्राफी पनि मनपर्ने मध्येमा पर्छ। यात्राका क्रममा विभिन्न क्षणहरू कैद गर्न रुचाउँछु।”

यसरी, हाम्रो संवादले एकअर्काप्रति आकर्षण र समझदारीको सेतु निर्माण गरिरहेको थियोे।

बस विर्तामोड पुग्नै लागेको थियो। मेरो मनमा एक प्रकारको खालीपन महसुस भयो। कविता पनि केही गम्भीर देखिन्थिन्। मैले भनें, “यहाँसम्मको यात्रा तपाईंको साथमा रमाइलो भयो।”

कविताले आँखा जुदाउँदै उत्तर दिइन्, “मलाई पनि। सायद भविष्यमा फेरि हाम्रो भेट हुनेछ।”

बस विर्तामोडमा रोकियो। मैले आफ्नो झोला उठायो। कविताले बिदाइको हात हल्लाउँदै भनिन्, “ख्याल राख्नुस्, वसन्तजी।”

मैले पनि हात हल्लाउँदै भने, – “फेरि कुनै यात्राको संयोग जुरोस्, जहाँ बाटोले मात्रै होइन, समयले हामीलाई फेरि अर्को मैका दिओस्, शुभयात्रा।”

म बसबाट ओर्लिए र प्लेटफर्ममा उभिएर बसलाई टाढाहुँदै गरेको हेरिरहे। मनमा कवितासँग बिताएका ती क्षणहरू घुम्न थाले। एक अनौठो सम्बन्धको सुरुवात भएको महसुस भयो। कविताले भनेझैं, “राजनीति परिवर्तनशील छ, तर प्रेमले राजनीति र समाजमा सकरात्मक परिवर्तन ल्याउनुपर्छ” भन्ने कुरा स्मरणीय लाग्यो। सायद यो भेट हाम्रो जीवनमा कुनै नयाँ अध्यायको सुरुवात थियो।

म विर्तामोडमा आफ्नो कार्यक्रममा व्यस्त भए पनि, कवितासँगको भेट मनस्पटलमा ताजै थियोे। मैले सोचे, “कविता अहिले खाँदबारी पुगेकी होलिन्। के उनी पनि मलाई सम्झिरहेकी होलिन्?”

कविता पनि खाँदबारीमा आफ्नो काममा लागेकी थिइन्। तर वसन्तसँगको भेट उनको मनमा बारम्बार आउँथ्यो। उनले सोचिन्, “वसन्तसँगको त्यो छोटो यात्रा कति रमाइलो थियो। के उनी पनि मलाई सम्झिरहेका होलान्?”