चेपाङ मार्ग हुँदै कान्द्राङगढी पुग्ने इच्छाले तानिएर अगाडि बढिरहँदा हामीले सुदर्शन कँडेलको घरको आँगनमा बाइक रोक्यौँ । हामीले यो सुदर्शन कँडेलको घरको आँगन हो भनेर बाइक रोकेका होइनौँ । न हरिकृष्ण न्यौपानेको होटल हो भनेर रोकेका हौँ । हामीले मात्र ‘झापाली भोजनालय’ लेखेको बोर्ड देखेका हौँ । होटेलको आँगनमा बाइक रोकिएपछि तपाईंले अड्कल काट्नुभयो होला – यिनीहरू भोकै छन् । होइन, हामीमा भोक छैन । भोक छैन पनि नभनिहालौँ, खानाको भोक नभए पनि हामीमा यात्राको भोक प्रशस्त छ । यसो भन्दा तपाईंलाई बुझ्न सजिलो हुन्छ – हामीलाई चेपाङ मार्ग हुँदै गढी पसेर भण्डारा निस्कनु छ । बाटोको अवस्था बुझ्न हामीले झापाली होटलको आँगनमा बाइक रोकेका हौँ । तपाईंमध्ये कसैलाई लाग्यो होला – गढीका विषयमा बुझ्नका लागि किन झापाली होटल खोज्नुभयो ? धादिङे अथवा चितौने होटल पनि थिए होलान् नि ! मसँग यो प्रश्नको उत्तम उत्तर छैन ।
होटलका मालिक हरिकृष्ण न्यौपानेलाई हामीले बाटाका विषयमा सोध्यौँ । उनलाई खासै थाहा नभए पनि उनले होटलकै आडमा पसल भएका हरिप्रसाद पाण्डेलाई बोलाउन लगाए । ‘जोर गणेश किराना पसल’का मालिक हुन् – हरिप्रसाद पाण्डे । यो पसल भएको घर उनकै हो । उनले गढीसम्मको बाटाका बारेमा सोधखोज गरेर हामीलाई बाटो राम्रो भएको जानकारी गराए । गढीबाट झरेपछि भने कस्तो छ, उनले भन्न सकेनन् । हामी ‘गढीभन्दा तल भण्डारातर्फको बाटो नराम्रो छ’ भनेको कुरा सुन्ने अवस्थामा थिएनौँ, जसरी पनि चेपाङ मार्गमा बाइक कुदाउने हामीमा भूत सवार भइसकेको थियो ।
अब कुरो आयो – यी कुरा गरिरहेको ठाउँ कहाँ हो ? हामी भनिरहेका साथीहरू को को हुन् ? यो मलेखुको ‘माछा बजार’ हो । हामी भन्नाले भाइहरू डिएन, केशव, टिएन र मित्र ध्रुव अधिकारी हुन् । हामीसँग दुईवटा बाइक थिए र एउटा स्कुटर थियो । हरिप्रसाद पाण्डेले भनेबमोजिम हामी मलेखुको पुल तरेर ‘ह्वासिङ सिमेन्ट कारखाना’तर्फको फराकिलो बाटो समातेर दक्षिणतर्फ हुइँकियौँ । स्कुटर भाइ टिएनले चलाए, त्यसमा केशव थियो । अर्कोमा म र ध्रुव अधिकारी थियौँ । भाइ डिएन बाइकमा सिङ्गल थियो । घडीले १२ः४५ बजाइसकेको थियो । हामीमा रोचकता मिसिएको डरसँगै र कुतूहलता थियो । बाटो पिच भएर पनि भत्किएजस्तो थियो ।
हामी चारसय फाँट, तुनीखोला दोभान, धारापानी, दराईफाँट, बरहीटार, इराङटार, छत्तीसफाँट हुँदै मलेखु खोलालाई देब्रे पारेर कुदिरह्यौँ । बाटो फराकिलो थियो । चुङ्ले खोला पुगेपछि बाटोमा केहीबेर अलमल भयो । ह्वासिङ सिमेन्ट कारखानातर्फ लाग्ने बाटो छाडेर हामी अर्चलेतर्फ उक्लियौँ । अर्चले आसपासका बाटाहरू चिसा थिए । धुलो उड्ने भएकाले पानी ट्याङ्कीबाट पानी हाल्ने कार्य भइरहेको हामीले चाल पायौँ । सिङथली, घैराङ र भैंसेका भिराला सुन्दर बस्तीहरूलाई हामीले उत्सुकताका साथ नियाल्यौँ ।
भैँसे आसपासका सुन्दर बस्तीमा लटरम्म फलेका सुन्तलाहरूले हामीलाई केहीबेर रोकिन आग्रह गरिरहेका थिए । हामीले त्यस सुन्दर पखेराका केही पहेँला रङ्ग चढ्दै गरेका सुन्तलाका दाना नङ्ग्याएर केस्रा छुट्याउन पाएनौँ । ठूलाठूला टिपरहरू ढुङ्गा खानीबाट ढुङ्गा लिएर हर्न बजाउँदै ओरालो लाग्दै थिए । वरपराका डाँडाहरूमा घाम टल्किरहेको थियो । हामीलाई एउटा मिठो भोक थियो – कुन बेला कान्द्राङगढी टेक्ने ? हाम्रा बाइकहरू ढुङ्गा खानीको गेटतर्फ आएको देखेर हामीलाई रोक्दै एकजना व्यक्तिले भने, “कहाँ जान आउनुभएको ? यहाँ त पस्न पाइँदैन ।” हामीले भन्यौँ – “हामीलाई गढी जानु छ ।” गेटको भित्तामा ‘अनुमति विना प्रवेश निषेध’ लेखिए पनि हामीले गेटभित्रबाट बाइक फर्कायौँ र गढीतर्फको बाटो समात्यौँ ।
फराकिलो र सफा बाटोमा कुदेका बाइकका चक्काहरू साँघुरो र ढुङ्गै–ढुङ्गाको उपड–खावड बाटो हिँड्न मानिरहेको थिएन । ध्रुव अधिकारीको बाइक झन् अल्छी मान्दै थियो । तलतिर छङ्गाछुर भीर थियो । बाटो साँघुरो भइकन पनि उकालो थियो – झरियो भने त कसले खोज्न सक्छ र ! झर्यो, सकियो ।
भाइहरू अगाडि थिए । स्कुटरमा टिएन थियो । केशव डिएनको बाइकमा थियो । ध्रुव अधिकारीको बाइकको पछिपछि म थिएँ । पछिपछि यसकारण भनिएको हो कि, उनलाई सिङ्गल चलाउन पनि धौधौ परिरहेको थियो । जेनतेन हामीले तीनवटै बाइकहरू भञ्ज्याङ पुर्यायौँ ।
नियात्राकारले आखिर आफूले देखेका र भोगेका कुरा मात्रै लेख्न सक्छन् । कलमले कल्पनाको होइन, यात्राको धुलो टिप्छ । यही बाटोमा स्कुटर कसरी उक्लियो होला ! सोच्दा पनि अचम्म लाग्छ । पाँचै जनाका कथाहरू फरक–फरक छन्, तर सबैको पसिना र हाँसो एउटै यात्रामा मिसिएको छ । कठिनाइका भित्ताभित्र लुकेका रमाइला क्षणहरू नै यस यात्राका असली कथा हुन् । बाटोको बारेमा केहीबेर मुखामुख गरेर छलफल गर्यौँ र निष्कर्ष निकाल्यौँ– बाटो त अप्ठ्यारै हो । हाम्रा सवारी साधनहरू रमेश श्रेष्ठको खाजा घरअगाडि अधमरो भएर तेर्सिएका थिए ।
रमेश श्रेष्ठको खाजाघर भएको ठाउँ ओइलानी हो । हामीलाई हतार थियो – गढी उक्लनु छ र असजिलो बाटो भएर घर फर्कनु छ । मेरो मन कल्पनाको पखेटा हालेर कहिल्यै नदेखिएको कान्द्राङगढीको थुम्कोमा पुगिसकेको थियो । मैले रमेशलाई सोधेँ – “गढी कहाँनेर हो, कताबाट जाने ?” उनले फेदीबाट ठाडै उकालो चढ्नुपर्छ र ऊ त्यो थुम्कामा पुग्नुपर्छ भनेर उत्तर पश्चिमतर्फ औँलाले देखाए । उनले देखाएको थुम्कोमा उक्लन म हतारिएँ । रमेशको दोकानमा केही पोका चाउचाउ र एक जम्बो कोक लिएर साथीहरू पारिलो घाममा बसे ।
मलाई त्यो चाउचाउको भोकभन्दा पनि कान्द्राङगढीको भोकले सताएको थियो । मित्र ध्रुव अधिकारी र भाइहरू – टिएन र केशवले चौरमा पलेटी कसे । भाइ डिएनले एउटा चाउचाउ खोल्यो । मैले त्यो खोलेको चाउचाउ नजिकैको प्लास्टिकमा खन्याएँ र चाउचाउको खोलमा आधा खोल कोकाकोलाको झोल खन्याएँ । साथीहरूलाई केहीबेर रोकिन भन्दै हामी दाजुभाइ कोकाकोलाको चुस्की मार्दै उकालो लाग्यौँ ।
मलाईजस्तै आधा यात्रा गर्न डिएनलाई पनि मन पर्दैन । त्यसैले मैले भन्ने गरेको छु – मेरो यात्राको ऊ भरपर्दो साथी हो । मैले त कल्पनासम्म पनि गर्न सक्दिनँ – यो बाटो भएर यात्रा गर्दा कान्द्राङगढी छुटोस् । हामीले चाउचाउ र कोकाकोलाको झोललाई सँगै लग्यौँ । साँच्चिकै भन्ने हो भने उनीहरू हाम्रो यात्राको असल साथी हुन् – भोक पनि मेटिदिए, प्यास पनि मेटिदिए ।
श्वास बढेजस्तै गरी उकालो पनि बढिरह्यो । हामीले कान्द्राङगढीलाई केन्द्रमा राखेर मकवानपुरगढी, सिन्धुलीगढी, उपर्दाङगढी, सोमेश्वरगढी र चिसापानीगढीका कुरा गर्दै उकालो काट्यौँ । बाटोको नामोनिशान हरायो । हामीले बाटो भुल्यौँ । सिस्नुका झाङहरूसँग हातका औँलाहरू रिसाउँदै थिए । सेता कटनका पाइन्टमा वनमासाका डाँठहरूले छाप छाड्दै रहे । लुगाहरू कालाम्यै थिए – कालो कुरोको बथानले । हामीले तोरीबारीका केही तोरीहरू कुल्चेर गढीको पूर्वतर्फको भत्किएको गाह्रोमा ढुङ्गाहरू टेक्दै गढी प्रवेश गर्यौँ । हामीले गढी प्रवेश गर्न मुख्य बाटो देखेनौँ । देखेनौँ भन्दा पनि भेटेनौँ ।
एउटा फलामको डन्डीमा राष्ट्रिय झण्डा फरफर गरिरहेको थियो । उसमा चन्द्र–सूर्य थिएन । घाम, हावा र पानीले ऊ चिल्थो थियो । निकै धेरै घाउहरू बोकेर पनि ऊ हामीलाई देखेर हौस्यो, मुस्कुरायो र नाचिरह्यो । सैनिक गानका रचनाकार स्वर्गीय गोपालप्रसाद रिमाल र सङ्गीतकार–गायक अम्बर गुरुङको स्वरमा गुञ्जिने गीत मनमनै बजिरह्यो :
रातो र चन्द्रसूर्ये, जङ्गी निशान हाम्रो ।
जिउँदो रगतसरि यो, बल्दो यो सान हाम्रो ।।
हिमालझैँ अटल यो, झुकेन यो कहिल्यै ।
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो ।।
यो जन्मँदै जगत्मा कैयौँ प्रहार आए ।
साम्राज्य दुई हारे, हारेन शान हाम्रो ।।
जबसम्म चन्द्रसूर्ये आकाशमा रहन्छन् ।
तबसम्म हुन्छ आफ्नै रातो रगत यो हाम्रो ।।
गाईसरि छन् साधु जो जो यहाँ जगत्मा ।
सबको सरन बलियो, जङ्गी निशान हाम्रो ।।
केहीबेर म झण्डामै हराएँ । सयौँ–करोडौँ पीडाहरू बोकेर पनि ऊ किन मुस्कुराइरहेछ?
भर्खरै पुनर्निर्माण भएका गढीका पर्खालहरू भत्किएका थिए । भत्किएका सुकोमल छपनीहरूले हात फैलाएर उठाइदेऊ भनेझैँ गर्दै थिए । ससाना, अबोध ढुङ्गाहरूले आँसुका थोपा झारिरहेका थिए । हामीले के नै गर्न सक्छौँ र ! आँखा रसिलो बनाउनबाहेक । ढुङ्गाका बाँकी गाह्रोहरूले छेकिएका ठाउँहरू जङ्गली झारहरूले ढाकिसकेका छन् । त्यहाँबाट कुन कुन ऐतिहासिक वस्तुहरूले हामीलाई नियालिरहेका थिए, हामीले देखेनौँ ।
वरिपरिका हरिया डाँडापाखा आफ्नै तालमा रमाइरहेका थिए । उत्तरतर्फका टल्कने हिमालहरू बादलसँग लुकामारी खेल्दै थिए । तलबाट साथीहरूले फोन गर्दै थिए, लगातार घण्टी बजिरहेकै थिए तर हामीलाई गढी नबुझी ओरालो झर्नु थिएन । समय घर्किसकेको थियो, बाटो असजिलो र लमतन्न थियो । तलबाट चुचुरो देखिए पनि माथि आएपछि फैलिएको फराकिलो ठाउँ रहेछ । यो कथैकथाको ऐतिहासिक भूमि हो । कान्द्राङगढी केवल ढुङ्गाका पर्खाल र सुरुङहरूको अवशेष मात्र होइन, नेपालको राजनीतिक र सैन्य इतिहास बोकेको एक महत्त्वपूर्ण स्थल हो । सेन वंशकालदेखि लिएर एकीकरण युगसम्म यसको उपयोगले त्यस समयको रणनीतिक सोच र भौगोलिक दृष्टिकोण दुवैलाई उजागर गर्छ । आज यसको भग्नावशेष संरक्षण र पुनर्निर्माणमा नेपाली सेना र स्थानीय निकायको चासो देखिनु इतिहासप्रतिको सम्मानको प्रतीक हो । समुद्री सतहबाट १,४५० मिटर उचाइमा रहेको यो गढी मात्र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण छैन, बरु सांस्कृतिक पर्यटनको सम्भावना बोकेको धरोहर पनि हो । त्यसैले कान्द्राङगढीको गहिरो अध्ययन, उत्खनन र दीर्घकालीन संरक्षण गर्नु हाम्रो सामूहिक जिम्मेवारी हो । मन दह्रो बनाएर कान्द्राङगढीको एक चिम्टी माटो सुटुक्क हृदयको कुनामा टाँस्दै भर्खर उक्लिएको; भत्किएको पर्खाल हुँदै तोरीबारी पार गरेर हामी फर्कियौँ ।
भाइहरू उही ढङ्गले पलेटी कसेर बसिरहेका थिए । “कस्तो रहेछ कान्द्राङगढी ?” उनीहरूले सोधे । “एकै शब्दमा भन्न गाह्रो छ” मैले मुस्कुराउँदै भनेँ । साथीहरू बाँकी कोकाकोलाको बोतल घुड्की मारेर ओरालो लागे ।
मसँग अर्को लोभ थियो – कान्द्राङगढीमा शिलायात्राको एकप्रति छोड्ने । मैले रमेशलाई छोटकरीमा जानकारी गराएँ, उनले सहमति जनाए । हामीले उनीसँग चार सय रुपैयाँ लिएर हतारमा एउटा सेल्फी खिच्यौँ र तलतिर झर्यौं । गढी भएको ठाउँ आसपास तोरीबारी छ, सिबीबारी छ । रमेशसँग कुराका भकारी छन् । भकारीबाट मैले केही माना मात्रै निकालेँ – त्यहाँ वीरबहादुर चेपाङ, बमबहादुर चेपाङ र पदमबहादुर चेपाङहरूको जमिन छ । पानीको स्रोत नभए पनि तरकारी खेती भएको देख्दा अनौठो लाग्छ । रमेश श्रेष्ठका बाउबाजेहरूको यस भेगमा प्रशस्त जमिन थियो । उनका काका इन्द्रबहादुरका तीन जना छोरामध्ये राजु श्रेष्ठ नेपाल आर्मी हुन् । हुन त उनका तीनै जना छोराहरू आर्मी हुन् । राजुले माओवादी द्वन्द्वकालमा जागिर छाडेर वैदेशिक रोजगारीका लागि मान्छेहरू बाहिर पठाउन थाले । काम भनेजस्तो भएन । चौधरीहरूसँग लिएको पैसा फिर्ता गर्नुपर्ने भयो । मेनपावरले पैसा फिर्ता दिएनछ । सबै पैसा आफैँले तिर्नुपर्ने भएछ ।
हाम्रो जमीन सगोलमै थियो । दाजुलाई चौधरीहरूले बाटो छेक्न थालेछन् । ज्यानको डर भएपछि दाजुले सबै जमिन चितवनका धरेल थरका व्यक्तिलाई बेचिदिनुभएछ र व्यवहार मिलाउनुभएछ । हामीले त्यो कुरा ३५ दिनपछि मात्र थाहा पायौँ । ३५ दिन कटिसकेकाले हामीले भनेको लागेन । त्यसपछि हाम्रो यस ठाउँमा भएको जग्गा–जमिनहरू हामीबाट गुम्यो । बुबा र काकाको अंशबण्डा नभएका कारण हामी मर्कामा परेका हौँ ।
हरिप्रसाद पाण्डेले गढीमा हाम्रो जमिन छ भनेका थिए । उनले भनेको यही जमिन रहेछ । उनका अनुसार सो जमिन उनीसहितका चार–पाँच जना साथीहरू मिलेर संयुक्त किनेका हुन् । सो सगोलमा रहेको जमिन १३ रोपनी १४ आना छ । यो जमिन रमेश श्रेष्ठको खाजाघरभन्दा तलतिर उत्तर फर्किएको छ । यो गढी भएको ठाउँलाई कसैकसैले धादिङको जमिन पनि भनेका छन् । सीताराम अधिकारीले दक्षिणी धादिङको बेनीघाट–रोराङ गाउँपालिका वडा नं. २ मा काँन्द्राङगढी अवस्थित छ भनेर समाचार बनाएका छन् । ध्रुवराज खनालले राप्ती नगरपालिका वडा नम्बर १३ मा कान्द्राङगढी रहेको भनेका छन् । धादिङ र चितवनको सिमानामा रहे पनि यो जमिन – चितवनकै भएको विभिन्न स्रोतबाट खुल्छ । हरिप्रसाद पाण्डेहरूले श्रेष्ठ परिवारको जमिन चितवनमा गएर पास गरेका हुन् । यस भेगका बासिन्दाहरू तिरो तिर्न चितवन जानुपर्छ । केही सेवा–सुविधाहरू धादिङबाट लिए पनि आधिकारिक रूपमा जमिन चितवनको हो । धादिङको बेनीघाट–रोराङ गाउँपालिका वडा नं. २ का पूर्व अध्यक्ष टङ्क थापाका अनुसार भूकम्प पीडितहरूलाई हामीले राहत बाँडेका हौँ । ढुङ्गा खानी भएको ठाउँ पनि राप्ती–१३ हो । चितवन, धादिङ र मकवानपुरको सङ्गमस्थल भएकाले पनि यो भूमि अझ महत्त्वपूर्ण छ । ध्रुव अधिकारीको उकालो र ओरालोमा बाइक हाँक्ने बानी रहेनछ । उनले बडो मुस्किलले ओरालोमा बाइक चलाइरहेका थिए । भाइहरू अगाडि थिए । सबैभन्दा अगाडि टिएन थियो, त्यसपछि डिएन र केशवको बाइक थियो अनि मात्र हाम्रो । हामीले कान्द्राङ बस्तीका रमाइला र उज्याला घरहरूलाई छाड्यौँ । रमेश श्रेष्ठको घर कान्द्राङमा हो । उनका बाआमा कान्द्राङमा बस्छन् । हामी बाइकमा असजिलो गरी कुदिरह्यौँ । हामीले हाकुतेस, नयाँ गाउँका घुम्ती, ओरालो र तेर्सोमा पर्ने सबै थोकलाई छाड्दै ताङराङ झर्यौँ । ताङराङमा रमेशको साइँलो भाइको पसल छ । हामीले केहीबेर बाइक रोक्यौँ र छोटो कुराकानी गर्यौँ ।
लोथर खोलाको शिर लोलिङ खोला हो । यही लोलिङ खोलाको पानीबाट हामीले बाइकलाई तार्यौँ । ताङराङ बजारलाई पछाडि पारेर हामी दाङ्तेसका भूभागलाई प्रेमले स्पर्श गर्दै अघि बढ्यौँ । बाटोमा कतै चिसा खोल्सीहरू थिए, कतै पहाडका काखबाट नाङ्गै झरेका सुकोमल झरनाहरू । सेपिलो आकाशमुनि घाम हराएको थियो तर ती झरनाहरू आफ्नै उज्यालोमा चम्किरहेका थिए । हावासँग खेल्दै बुँदबुँदले अनुहार छोइरहेका थिए – यो स्पर्शमा यात्राको थकान हरायो । झरनाको मृदु आवाजले बाटो सुनसान भए पनि आत्मा जीवित राखेको अनुभूति दियो । झरनाको लयबद्ध सुन्दरतामा हराउँदै हामी तापाङका बस्तीहरूमा पुग्यौँ । बाटो छेउछाउका घर–टहरामा तरकारीका ससाना थुप्राहरू थिए, विशेषगरी करेला, घिउसिमी, बन्दाहरू, सायद यी बिक्रीका लागि तयार गरिएका हुन् ।
समयले नेटो काटिसकेको थियो । घाम डाँडामा बस्ने तयारीमा थियो । घडीले करिब ५ बजाइसक्यो । तापाङसम्म आउँदा ध्रुव अधिकारी बाइक चलाउन खप्पिस भइसकेका थिए । बेलाबेला बाइकको कान बेसी बटार्थे । मैले पछाडिबाट कम्मरमा हिर्काउँदै भन्थेँ – “बेसी नबटार्नू ।” भन्ज्याङ पार गरेपछि याउरालीटार आयो । याउरालीटारमा (कतै कतै येउराली लेखेको पनि पाइयो ) मौरीपालन रहेछ । रातो माटोको समथर भूभागलाई टेक्दा पनि स्थानीयहरू – “अझै एक–डेढ घण्टा लाग्छ, भण्डारा टेक्न” भन्दै थिए । यसरी एक–डेढ घण्टा बाँकी छ भनेको नै दुई घण्टाभन्दा बढी भइसक्यो । अनजान बाटोमा अलमल समाचारले यात्रामा मिठास भर्दै थियो । हामीले डीटारका भूभागलाई स्पर्श गर्यौँ । यहाँको पानीघट्ट लोथर खोलाको पानीसँगै मस्त घुम्दै थियो । नजिकैको पानीधारामा एक जोडी मान्छे कुखुराको भुत्ला तान्दै थिए । बाटो दुईवटा थियो – एउटा बाटो लोथर खोलासँगै तलतिर झर्दै थियो, अर्को खोला तरेर पारी भित्ता हुँदै पश्चिम तेर्सिएको थियो । केहीबेरमा लोथर खोलाको पक्की पुल आयो । खोला वरिपरिका काँसहरूमा सेतोपना कम भइसकेका थिए, सायद केही दिनअघिबाट फुल्ने सिजन सकिएको थियो ।
भाइहरू लोथर खोलालाई ब्याकसाइडमा राखेर सेल्फी खिच्ने तयारीमा थिए । हामीले बाइक रोकेनौँ, किनभने साँझ पर्ने तयारी तामझामका साथ थियो । हामीले बाइकको एक्सिलेटरलाई सक्दो बटार्यौं । बाटोमा बाख्राका बथानहरू घरतर्फ फर्कंदै थिए । किसानहरू फटाफट गाउँ पस्दै थिए । हामी लोथर खोलालाई देब्रे पारेर थाकलटारको कोदोबारी र सुन्दर घरहरूलाई आँखाका नानीमा टाँस्दै थियौँ । घडीले ५ः३० बजाउँदा हामीले बल्ल थाकलटार टेकेका हौँ । भाइहरू हामीभन्दा पछाडि थिए । “मान्छे लखेट्ने भनेको अगाडि लागेर हो” भन्ने ठान्दै हामी कुदिरह्यौँ । भलपानी काटेर आँपपानी पुग्दा साँझ परिसकेको थियो । बाटोको दायाँबायाँ स्पष्ट देख्न सकिने अवस्थामा हामी थिएनौँ । म ध्रुवलाई “बिस्तारै बाइक चलाऊ न” भन्दै थिएँ । उनी बाइकको कान बेसी नै बटारिरहेका थिए । केही समयमा पिच बाटो आयो । भण्डारा आउन करिब आठ किलोमिटर अझै बाँकी थियो । बाइकको उज्यालोले बाटो आसपासका सालका रुखहरू आधाआधी उज्याला थिए । मारताल खोला तर्दा ६ः५४ भएको थियो । बाटो फेरि उकालो र घुम्ती आयो । बाटो आसपासका केरा खेतीहरू हामीले छाड्यौँ । यति हुँदै गर्दा चिउरी खोला, डुम्री घाँटी, शिखर डाँडा र चौकी डाँडाका बिजुली बलेका घरहरू छाडेर जङ्गलका घुम्ती ओरालो कटेपछि बल्ल ढलक मोक्तानको पसल आएको हो । ढलक मोक्तानको भनाइअनुसार चेपाङ मार्गअन्तर्गत भण्डारादेखि मलेखुसम्मको करिब ६१ किलोमिटर यात्रा हामीले पार गरिसकेका छौँ । अब भण्डारा आउन एक किलोमिटर मात्र बाँकी छ ।
ढलक मोक्तानको पसलसम्म त म पहिला पनि आएको हुँ । मोक्तानको पसलका केरा रहरलाग्दा थिए । हामीले पसलमा सोध्यौँ – “मिठो चिया पिलाउनुहुन्छ ?” पसलमा रहेका एक युवकले भने – “हजुर, पिलाउँछु ।” मैले फेरि भनेँ – “एकदम मिठो चाहियो ।” केही बेरमा हामी पाँचै जना भेला भयौँ । ज्यानमा थकान थियो, भोक थियो । ढिला भयो भनेर घरबाट फोनको घन्टी बज्दै थियो । हामीले “भण्डारा आइसक्यौँ” भन्ने खबर दियौँ । हामीले चिया साँच्चिकै मिठो पियौँ । चियाको प्रशंसा चियाजत्तिकै मिठो थियो । ७० रुपैयाँ प्रतिदर्जन केराहरू झोलामा कसेपछि केहीबेर यात्राका कुरा गर्यौँ । टिएनले भने – “मेरो स्कुटर यात्रा निकै कष्टकर भयो । केही ठाउँमा त मलाई बाइकबाट ओर्लेर केशव भाइले धकेल्नै परेको थियो । त्यसैले यो बाटो स्कुटरमा यात्रा गर्न साँच्चिकै कठिन छ । म अरूलाई यही सल्लाह दिन्छु ।” केशवले पनि अनुभव सुनाउँदै भने – “शुरुमा मलाई लाग्थ्यो – यात्रा केवल सुख र रमाइलोमा रमाउने हुन्छ तर साँच्चै रमाइलोपन त दुःखसँग मिसिएको यात्रामा पाइँदो रहेछ ।” डिएनले थपे – “बाटो साँघुरो, ठाडो उकालो र ओरालो भएका कारण यात्रा कठिन भयो तर यसले नयाँ र रोचक अनुभव पनि दियो ।” ध्रुवले आफ्नो धारणा व्यक्त गर्दै भने – “पहाड घुम्ने मेरो रहर पूरा भयो र यो यात्रा जीवनभर सम्झनामा रहने अनुभव बन्यो ।”
उनीहरूको साझा निष्कर्ष यही रह्यो – यात्रा कठिन र कष्टकर भए पनि यसले नयाँ अनुभव, आत्मसन्तोष र सम्झनायोग्य क्षणहरू प्रदान गर्यो ।
अन्त्यमा, कान्द्राङगढीको यो यात्रा केवल भौगोलिक दूरी पार गर्ने प्रयत्न होइन, आत्मानुभूतिको खोज पनि हो । यात्राका प्रत्येक मोड, उकालो र घाम–छायाभित्र मैले भूगोल मात्र होइन, मान्छेहरूको जीवन, इतिहासका छाया र भविष्यका सम्भावनाहरू देखेँ । धुलोमुनि लुकेको इतिहासलाई छोएँ, ढुङ्गामुनि बचेका कथाहरू सुनेँ र बाटोमा भेटिएका साधारण मान्छेहरूको अनुहारमा असाधारण आत्मबल देखेँ । त्यसैले महसुस भयो – नेपालका गढीहरू केवल ढुङ्गाका पर्खाल होइनन्, ती हाम्रा अस्तित्वका मौन साक्षी हुन् । यस यात्राले सिकायो – कष्ट र कठिनाइले मात्रै अनुभवलाई गहिरो बनाउँछ । कान्द्राङगढी पुगेपछि बुझेँ – गन्तव्यभन्दा पनि यात्रा नै जीवनको सुन्दरतम भाग रहेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२३ पुष २०८२, बुधबार 










