सुकेका मूलहरू
आजकाल आफैँ तिर्खाएर
“पानी… पानी…” भन्दैछन्।

चरम विकासले कोल्टे फेर्दा
आफ्नै सपनामाथि लात मारिएको
एउटा निवेदन बोकेर
आज गोरेटो बाटो सहर पसेको छ।

बेचिँदै–बेचिँदै
पन्ध्रौँ घर चहारिसकेकी
बूढी भैँसीको आफ्नै गुनासो छ
भनेजति दाना खान पाइनँ
सोतर–पतिङ्गरको न्यानोमा बस्न पाइनँ
आजकाल चिसो ढलानमा सुत्न बाध्य छु।

विकासले यति भोको बनायो कि
आजकाल भुटेका मकै
“कुरुम–कुरुम” मुखमा खेल्न छाडिसके।
चाउचाउ र बिस्कुट
मःमः र पिज्जाहरू
मकै–भटमासमाथि बिल्ला गर्छन्।

आमाले पानी बोकेको गाग्रो
भूकम्पमा पुरिएर, कुचिएर
पत्रुमा बेचिन पुग्यो
सट्टामा आएको अम्खोरा
अरू भाँडाकुँडामाथि पनि रिस पोख्छ।