अश्वमेध यज्ञको विधिअनुसार
दिग्विजय गर्न इच्छुक राजाले
आफ्नो इच्छाको प्रतीक – अश्वलाई छोड्थे
र, कसैले त्यो घोडा समाती राखेमा
जसरी घमासान युद्धको थाल्नी हुन्थ्यो
त्यसै गरी उत्तरका हिमाली भेकबाट
दसैंअगावै हिउँदले पठाइसकेको थियो
आफ्ना भेडा(च्या‌ङ्ग्राहरू
र, ती भेडा-च्या‌ङ्ग्राहरूलाई हामीले रोक्दा,
मार्दा, र तिनको मासु टोक्दा
आक्रमण गरिसकेको थियो हिउँदले
आफ्ना चिसा सिरेटोका बाण हानेर ।

हिउँद आइसकेको छ ।

बिहान र, साँझमा उसको छाउनीतिर हेर्दा
देखिन्छ-उसले हुस्सुका पालहरू छाइसकेछ ।
तर, यति चाँडै, सहजै
हार मान्न तयार छैन बर्सात्
त्यसैले महाभारतको धर्मयुद्धझैँ
रातभरि युद्धविराम गरेर,
विश्राम गरे
दिउँसो घमासान युद्ध हुन्छ
हिउँद र वर्षाको ।

पराजय स्विकार्न नचाहेर वर्षाले
अझै पनि कहिले वारुणास्त्र,
त कहिले अग्निअस्त्र प्रहार गर्छ ।
जबाफमा हिउँदले आफ्ना शीतकणले
निस्तेज पारिदिन्छ वर्षाको अग्निअस्त्रलाई,
र, उसको वारुणास्त्रलाई

आफ्नो शारदीय घामको न्यानो हत्केलामा थापेर
सुकाइदिन्छ ।
कहिले हिउँदले जित्छ,
कहिले वर्षाले जित्छ,
यसरी एउटा अर्को दिन बित्छ ।
तर, हिउँद आइसकेको छ
उसले धेरै विजय पाइसकेको छ ।

यो असोजको अन्तिम अन्तिम दिन
यो मसान्तको रातको अन्तिम पहरको अन्तिम छिन
म झ्यालबाट बाहिर हेर्छु
मस्त निद्राबाट बिउँझेर रात
आफ्नो आङ तन्काइरहेछ,
तुरुक्क झर्छ उसको आँसु घाँसमाथि
र, ऊ महानगरको ‘फुटपाथ’ मा सुतेका
बेघर मान्छेहरूझै
आफ्नो मैलो ओछ्यान पोका पार्दै छ,
अनि अवैतनिक लावारिस भुस्याहा कुकुरहरू
भुक्दै छन् निरन्तर
प्रहरीले सिटी बजाएजस्तै
हेर्दाहेर्दै बिहान हुन्छ
तर, म देख्छु जल्दोबल्दो सूर्य आज
पूर्व दिशाको डाँडामाथि उभिएर,
गम्भीर, ध्यानमग्न,
अन्तिम पटकको रूससित युद्धमा हारिई
पछाडि हट्नुपरिरहेको बेला
डाँडामाथिबाट नेपोलियनले झैँ
अर्धमुदित आँखाले तल बैंसीलाई हेरिरहेछ ।
उसको हेराइमा पराजयको भाव छ
त्यसैले त सूर्यले पनि चिसो सास फेरिरहेछ ।