काठमाडौं

अझ भनौं

यो सिङ्गै देश नै

दिन पर दिन

कालो – नीलो हुँदै गैरहेको छ

सर्पदंशित मान्छे झैं ।

 

म सर्पको खोजीमा छु

हो,

म ती विषालु सर्पहरूका खोजीमा

धेरै अघिदेखि हिँडिरहेछु

असन पसेर जसले नुन चामलका बोरा

र तेलका टीनलाई डँसे

बजार घुमेर मोटा कपडा

र ईँटा – सिमेन्ट-छड् र कर्कट पातालाई डँसे

अस्पताल पसेर डाक्टरलाई डँसे

सेलाइनको नली भएर थुप्रै बिरामीलाई डँसे

अँध्यारामा नर्सलाई

र औषधी पसलमा औषधी भई

रोगीका ‘पर्स’ लाई डँसे

बाल-बालिकाका दूधका डब्बालाई डँसे

विद्यालय पसेर देशको भविष्यलाई डँसे

हाकिमको कलमको निब भएर सङ्ख्य कर्मचारीलाई डँसे

मलाई खोजी छ

हो, मलाई खोजी छ

ती काला विषालु सर्पहरूको

एक युग बित्यो म हातमा लौरो बोकी

गल्ली-गल्ली / चोक-चोक / वन जङ्गल र बाटाघाटामा

ती सर्पका खोजीमा हिँडेको तर

सर्पका साटामा मैले बरू

गल्ली / चोक / वन-जङ्गल र बाटा-घाटालाई पो दंशित पाएँ ।

 

अब म बढी सतर्कताको साथ खोज्दै छु

पछ्याउँदै छु ती छद्मभेषी सर्पलाई

जसले सभ्य रूपमा सभ्यतालाई र

पुजारी भई देवतालाई डँसे

मलाई खोजी छ

हो, मलाई खोजी छ

जसले भिडियोभित्र पसी

नीला सर्प भई हाम्रो संस्कृतिलाई डँसे

नदेखिएका पनि होइनन् ती अँध्यारामा

तर मेरो प्रहारभन्दा अघि दुलाभित्र पस्थे

तिनलाई पनि नभत्काएको होइन मैले

तर मैले पछ्याउँदा पछ्याउँदै पनि

ती भागेर पर्खालभित्र पसे

पर्खाल भत्काएँ /तर, अफ्शोच !

ती यति अग्ला पर्खालभित्र पसे

जसलाई म न उक्लिन सक्छु, न भित्र पस्न सक्छु

मलाई थाहा छ

व्यर्थ छ मेरो अभियान

सर्प मार्नु त परै जाओस्

बरु कुनै पनि क्षण म श्राफैं डॅसिन सक्छु

तैपनि बसेको छु म

पर्खाल कुरेर

पर्खाल घुरेर

कारण मलाई खोजी छ ती सर्पको

जसले यो सुन्दर देशलाई बारम्बार

डँसिरहेछ

डँसिरहेछ ।

डँसिरहेछ

(साभारः गरिमा, २०४१ जेठ, वर्ष २, अङ्‍क ३, पूर्णाङ्‍क १८)