नेपाली साहित्यका गद्य कविता क्षेत्रका एक नक्षत्र भूपी शेरचनका बारेमा जनश्रुति नै छ । भुपेन्द्रमान शेरचनको जन्म वि.सं. १९९२ पुस १२ गते हालको गण्डकी प्रदेशअन्तर्गत पर्ने मुस्ताङ जिल्लाको थाकटुकुचे भन्ने गाउँमा सुब्बा हितमान शेरचन र पद्मकुमारी शेरचनका कनिष्ठ सुपुका रूपमा भएको थियो । तीन छोराको जन्म भइसकेकाले छोरीको चाहना गरेका बाबुआमाले उनलाई छोराको रूपमा पाउँदा केही खिन्नता व्यक्त गरे तापनि सन्तान मोह त हुने नै भयो ।
बच्चा जन्मेपछि ज्योतिष कहाँ गएर सोधखोज गर्ने रूढि परम्परा नेपाली समाजमा आज पनि विद्यमान नै छ । तत्क्षणमा त नहुने कुरै भएन । भुपेन्द्रका बाबु हतारहतार गर्दै बागलुङका नामी ज्योतिषसँग छोराका बारेमा सोध्न पुगेछन् । ज्योतिषले पात्रो पल्टाएर तिम्रो छोरो मूलमा परेको छ, यसले परिवारका कुनै सदस्यलाई डस्छ भनिदिएछन् । त्यहाँबाट फर्लक्क फर्केर घर आएका हितमानले छ वर्षसम्म छोराको मुख एकपटक पनि हेरेनन् रे । तिनै व्यक्ति नेपाली साहित्यमा भूपी शेरचनका नामबाट प्रख्यात छन् ।
भूपीका बाबु त्यति बेला धनीमानीमा गनिन्थे । पोखराबाट सामान मुस्ताङ लाने र त्यहाँ उत्पादित स्थानीय बस्तुहरू पोखरामा ल्याएर बेच्ने काम उनले गर्थे । उनको परिवारमा एक छाक खान र एक सरो लगाउनमा कुनै समस्या थिएन भने उनका जेठा दाजु अझ मालका जागिरे पनि भइसकेका थिए । यता सानो बालक पनि ती प्राकृतिक परिवेशमा हुर्कंदै बढ्दै गयो । दिनहरू समय बित्दै गए । बालक पनि ठुलो हुँदै गयो ।
बालक करिब पाँच वर्षको भएको थियो दैव संयोग भनौं कि उनकी आमाको देहावसान भयो । ती अबोध बालकलाई आमाको मृत्यु भएको भन्ने त्यति पत्तो भएन । दिनानुदिन आमाको वात्सल्यप्रेमको अभाव महसुस हुँदै गयो । हल्काफुल्का उनका बारेमा अनर्गल प्रचार सुरु भइसकेका थिए । पहिल्यै ज्योतिषले बकेका कुरा आज आएर पूरा भयो भन्ने जस्ता कथन यत्रतत्र फैलँदै थियो । त्यसले उनलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गयो । परिवारलगायत छिमेकीहरूसमेतले टोकाहा, पिराहाजस्ता उपनाम दिएपछि त्यो अबोध बालक उता मातृवियोग झेल्नु पर्यो भने यता परिवार र समाजबाट अपहेलित र तिरस्कृतजस्तै बन्न पुग्यो ।
सबैले निन्दा र घृणा भावले हेर्न थालेपछि त्यस बालक एक्लै भौँतारिएर कहिले जंगल, कहिले खोला त कहिले तलाउको नजिक पुगेर मन बहलाउन थाल्यो । जातले मानव मानवीय गुण नहुने त कुरै भएन । बालक घर नजिकै बग्ने काली नदीको किनारमा गएर पानीको छालसँगै मन बहलाउन थाल्यो । पानीमा ढुङ्गा हान्दै पानीको छालसँगै मन तरंगिन बनाउँदै नदीको वेगसँगै मनको आँधीलाई बगाइ रह्यो । आफैले आफैलाई प्रश्न गर्दै त्यस बालक घरी दाँतमा औँला डुलाउँदै त घरी हातका नङ्ग्रा हेर्दै भन्ने गर्थ्यो । बाघ-भालुले बाबुआमालाई टोक्छ भन्थे तर मैले आमालाई कसरी टोकेँ भन्दै पानीसँग आफ्नो बह बगाइरहन्थे भन्ने जनश्रुति पाइन्छ ।
सम्पन्न परिवारका भूपीलाई समय चक्रसँगै घरमा अक्षर सिकाउने प्रबन्ध गरियो । उनी करिब छ वर्षको भएका थिए । कताकता बाबुलाई फेरि त्यही ज्योतिषसँग छोराका बारेमा सोध्न मन लाग्यो । बाबु ज्योतिषी कहाँ पुगे । त्यति बेला चाहिँ ज्योतिषले यसको मूल घोप्टो परेको छ अब यसले कसैलाई डस्दैन; डसेछ भने आफैलाई डस्छ भनेपछि बाबुले पहिलोपटक भूपीको अनुहारमा आँखा डुलाएका थिए रे । घात र आहत भएका भूपी छ वर्षको उमेरमा घर छाडेर दाजुसँग बसी पढ्न थाले । दाजु जहाँजहाँ सरुवा हुन्छन् भूपी पनि त्यही त्यही गएर पढे । कहिले चितवन, कहिले पोखरा, कहिले बुटवल त कहिले काठमाडौँ गर्दै डुल्दै फिर्दै उनी बनारससम्म पुगेर विद्यालयीय जीवन व्यतीत गरे ।
भूपी बार वर्ष जतिका भएका थिए रे । उनलाई पढ्नका लागि बनारस पठाइयो । उनले त्यहाँ बस्दा राजनीतिज्ञहरूका कुरा सुन्ने र त्यस्तै किसिमका पुस्तकहरू पढ्ने गर्दथे रे । २००६ सालतिरबाट कविता लेख्न प्रारम्भ गरेका भूपीले परम्परावादी सोच र रूढिग्रस्त सामाजिक व्यथितिलाई देखे र सोही अनुरूप कविता कोरिए । कविता कविताजस्ता नभएर नाराजस्ता लाग्थे रे । उनले आफूले पाएको आहतलाई लेखनका माध्यमबाट विद्रोहको आगो ओकल्न पछि पर्दैनथे । बाबुको व्यवहारको गहिरो बोध गर्दै गएका भूपीले उनका विरुद्धमा कयौँ कविता लेखे रे । बाबुले जुन विचार राख्थे त्यसको ठिक विपरीत धारमा उभिएर विमति जनाउँदै भूपी अगाडि बढे । सामन्तहरूको उछितो काट्ने भूपीले आपनो नामको पछाडि ‘सर्वहारा’ उपनाम राख्ने गर्दथे ।
भूपी शेरचनले आई.ए. को परीक्षा दिएर भारतको बनारसबाट नेपाल आए । परीक्षा दिएको करिब एक वर्ष जतिमा नतिजा प्रकाशन हुन्थ्यो । नतिजाको पर्खाइमा रहँदा उनले गाउँकै विद्यालयमा अध्यापन गर्न थाले । त्यति बेला उनले पढाउने क्रममा विद्रोही भावना व्यक्त गर्दथे । शोषक सामन्तवर्गले गरेको अन्याय अत्याचारलाई नजिकैबाट नियाल्ने मौका पाए । उनी बनारसबाट आउँदै गर्दा कम्युनिस्ट भएर आएका थिए रे । त्यस किसिम व्यवहार उनले समाज रूपान्तरण प्रक्रियाको सन्दर्भमा देखाउन थाले । गाउँमै छँदा आई.ए. पेल भयो भन्ने हल्ला फिँजाइएछ । नतिजा बुझ्न उनी पोखरा झरेछन् । सञ्चार माध्यमको अभावले होला सही नतिजा बुझ्न पाएनछन् तर उनी उत्तीर्ण भएका चाहिँ रहेछन् । बी.ए. सम्मको उच्च शिक्षा हासिल गरेका भूपी कविता लेखन र राजनीतिकमा लागेपछि पढाइलाई निरन्तरता दिन भने सकेनछन् ।
भूपी शेरचन मुस्ताङबाट पोखरा आएर त्यहाँका राजनीतिकर्मीहरूलाई भेट्न थाले । उनी त्यस ठाउँका चर्चित नेतामा गनिन पुगे । उनी नेपाल कम्युनिस्ट पाटीको कास्की जिल्ला कमिटीको सचिवसमेत भए । निकै खरो स्वभावका उनी निर्मम भएर पाटी जीवनमा होमिए । यसले उनलाई वि.सं. २०१२ सालमा जेल जीवनको बाटो देखायो । २०१३ सालमा केआई सिंहको प्रधानमन्त्रीत्व कालमा जेलबाट मुक्त भए । उनको जीवन सङ्घर्षले कोरिँदै, पोतिँदै र बुनिँदै जान थाल्यो । लेखन कार्यलाई पनि निरन्तरता दिँदै गए । उनका पुस्तकहरू पनि प्रकाशित हुन थाले । वि.सं. २०१७ सालमा शिशु प्रजातन्त्रलाई निमोठेर राजाले देशमा निरङ्कुश पञ्चायती शासन व्यवस्थाको सुरुआत गरेपछि नेताकार्यकर्ताहरू धडपकड हुन थाले । तत्पश्चात् भूपी भूमिगत जीवन बिताउन बाध्य भए । क क (कम्युनिस्ट र कविता) ले मेरो जीवन बरबाद पार्यो भन्ने भूपीले २०२६ पछाडि पहिले जसरी कविता लेख्न सकेनन् ।
भूपी शेरचन मनमौजी कवि पनि हुन् । पहिले परिवारको ख्याल गर्ने उनी एक पुत्र, एक पति, एक पिता हुँ भन्ने भूपी पछि गएर कर्तव्य विमुख बने । उनी बोतलभित्रको धुनमा हराउन थाले । सुरासुन्दरी उनका लागि सामान्य जस्तै बन्न पुग्यो । त्यसैले उनलाई अकालमा नै स्वर्गको बाटो हेर्नु पर्यो । भनिन्छ, भूपीले २००६ र २०२६ गरी दुई विवाह गरे । पहिलो विवाहले उनको जीवनमा ऊर्जा थप्यो भने दोस्रो विवाहले निराशा । त्यसैले होला दोस्रो विवाहपछि उनले लेखन कार्यबाट करिब करिब बिट मार्ने अवस्थामा पुगे ।
कविता विधाका माध्यमबाट नेपाली साहित्यमा उदाएका भूपीले २०१० सालमा परिवर्तन नाटक लिएर देखा परे । नाटकका संवाद नाटकीय गुणले ओतप्रोत नभएर नारा र आक्रोश व्यक्त गर्ने माध्यम मात्र हो भनियो । यसलाई कम्युनिस्ट नाराको सङ्ग्रह भनेर आक्षेप लगाउनेको सङ्ख्या पनि कम भएनन् ।
उनका नयाँ झ्याउरे (२०११), निर्झर (२०१५), घुम्ने मेचमाथि अन्धो मान्छे (२०२५) र भूपी शेरचनका कविताहरू (२०५७) कविता सङ्ग्रहहरू प्रकाशित छन् । उनका कविता बिम्ब, प्रतीक र अलङ्कारको समुचित प्रयोगले उत्कृष्ट छन् । राष्ट्रियता, देशप्रेम, मानवता, प्रकृतिप्रेम र युगचेतका दृष्टिकोण भूपीका कविता उच्च श्रेणीका छन् । गीतिकविता लेख्ने भूपीका दर्जनौँ कविताहरू निकै शक्तिशाली छन् । व्यङ्ग्य कवितामा सुसाउने भूपीले ‘यो हल्लैहल्लाको देश, हामी, घुम्ने मेचमाथि अन्धो मान्छे, सधैँ सधैँ मेरो सम्झनामा, गलत लाग्छ मलाई मेरो देशको इतिहास …’ आदिजस्ता मार्मिक र कालजयी रचना दिएर गएका छन् । उनको ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ …’ जस्ता लोकप्रिय गीतहरू रेडियो एफएममा दिनानुदिन गुन्जिरहने घन्किरहने गर्दछन् ।
६ छोरी र २ छोराका पिता भूपी सङ्गीत र खेलकुदमा पनि निकै रुचि राख्दथे । उमेरावस्थामा कम्युनिस्ट हुन्छन् भने उमेर ढल्कँदै जाँदा विचार परिवर्तन गर्दछन् भन्ने विचार भूपीमा लागु भएको देखिन्छ । चालिसौँ वसन्तपश्चात् उनी दरबारिया बन्न पुगे । २०३० पछि दम र मधुमेहका रोगी बनेका उनी २०३६ मा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य बने । उनी कम्युनिस्ट बाटो छाडेर दरबारतिरको बाटो लागे । जीवनका जेजस्ता आरोह–अवरोह भए पनि कविता विधामा उनको नाम अजर अमर छ । उनी ५४ वर्षको उमेरमा २०४६ जेठ १ गते यस संसारबाट बिदा भए । उनको नश्वर शरीर हामी माझ नभए पनि काव्यिक शरीर हामी माझ सगरमाथाजस्तै उच्च भएर रहिरहने छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।