सर्वप्रथम त यो कुकुर भन्ने शब्दको प्रयोग नै गल्ती छ भनेर भन्नुहुन्थ्यो हाम्रो हजुरबुबा ! जसले जति खान दिए पनि केही गुनासो गर्दैन । आफ्नो कर्तव्य निष्ठापूर्वक पालन गर्छ । मालिकको आफन्तलाई एक पटक देखेपछि मृत्युसम्म भुल्दैन । कहिले गुनासो गर्दैन । घरको कोही व्यक्ति बिरामी भए ऊ पनि दुःखित हुन्छ । अन्न खान इच्छा गर्दैन गृहस्थको दुःखको दिनहरूमा । राति सुतिरहेको बेलामा उसले चौकीदारी गर्छ । घरमा पस्ने बित्तिकै गृहस्थलाई स्वागत गर्छ । त्यसलाई किन कुकुर भनिन्छ ?
कुकुर नभनेर ‘भैरव’ भन्नुपर्छ बाबु हो भन्नुहुन्थ्यो हजुरबुबा ! कुकुर जस्तो ब्यहोरा, साला कुकुर आदि भनेर गाली गरेको सुन्ने बित्तिकै हाम्रो हजुरबुबा रिसाउनु हुन्थ्यो । त्यसैले म कुकुरको निबन्ध नलेखेर यो ‘भैरव’ हो भन्दै भैरवको निबन्ध लेख्न इच्छा प्रकट गर्दैछु ।
यसको चार वटा खुट्टा हुन्छ । मानिसको दुई वटा । दुई खुट्टे मानिसले चार खुट्टेलाई आफ्नो कब्जामा राख्ने प्रयास गर्छ । अचम्मको कुरा ! मानिसको आयु साधारणतया सय वर्ष भन्दा बढी हुन्छ । यसको आयु १०/१५ वर्ष मात्रै हुन्छ । यति छोटो आयुको प्राणीको निबन्ध पनि छोटो हुनुपर्ने भनेर भन्छन् गाउँघरका कोही व्यक्तिहरू ।
यसको पुच्छर बाङ्गो हुन्छ । बाङ्गो पुच्छरलाई लिएर तथानाम भनिएको छ – “कुकुरको पुच्छर १२ वर्ष ढुङ्ग्रामा राख्दा पनि बाङ्गैका बाङ्गै रहन्छ ।” कसैले ढुङ्ग्रामा राखेर सोझो पार्ने प्रयास त गरेनन् गरेनन् पुच्छरलाई नै दोष दिए । कहाँ छ प्रमाण पुच्छर बाङ्गेको बाङ्गै भएर सोझो हुन नसक्नेको ?
“अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ” भनेर के यो निष्ठावान् प्राणीलाई अगुल्टाले नै हान्नुपर्ने हो त ? खान र माया नपाउँदा घरभित्र बस्न खोज्छ । खान दिँदा भइहाल्यो त ! किन अगुल्टाले हान्नु ? कसैले शोधकार्य गरेको छ यी उखानहरूमा ? बदनाम गरिदिए भैरवलाई । तथानाम भने । टुक्का र उखान बनाए । भ्रष्टाचार गर्नेहरूको नाउँमा पनि यो शब्द किन प्रयोग गरिँदैन ?
यो प्रभुभक्त प्राणीको कान दुई वटा, आँखा दुई वटा हुन्छन् । शरीरमा भुत्ला हुन्छ । कहिलेकाहीँ जुम्रा पनि पर्छन् । जुम्रा परेर बिरामी हुँदा नुहाइ दिँदैनन् र छेइछेइ पो भन्छन् । जसले रातभरि घरको प्रहरी गर्छ त्यो कसरी छेइछेइ हुन्छ ? घरमा बारीमा सर्प र बाँदरहरू आउँदा भुकेर सूचना दिन्छ साथै खेदाउँछ पनि ।
सानो खालको देशी भैरव आठ किलो भन्दा र ठूलो खालको भैरव २०/३० किलोसम्मका हुन्छन् । विभिन्न रङका हुन्छन् यो प्राणी ! यो प्राणीको विशेषता एउटा यस्तो छ कि यसले १२ महिनाको एक महिना भाद्रमा मात्रै सम्भोग गर्ने गर्छ । यस्तो प्राणीलाई फेरि किन कुकुर भनिन्छ ? यसले बलात्कार गर्दैन ! मानिसहरूले बलात्कार गरेको समाचार सधैं सुन्न पाइन्छ ! फकाएर मायाले मात्रै यौन सम्पर्क गर्छ कुकुरले । अहिले त यो प्राणीलाई हिर्काए कानून पनि लाग्छ रे । कानून त बनिएको छ तर त्यो कानून कहाँ छ कसैले जान्दैनन् ।
यिनी २० नङ्ग्रे २२ नङ्ग्रे पनि हुन्छन् । २० नङ्ग्रे साह्रै कडा हुन्छ भनिने गरिएको छ । छ, सात, आठ नौ वटासम्म यसले छाउरा जन्माउँछन् । बच्चा जन्माउने मानिसलाई भने मानिसमै विश्वास नभएर सेवकहरूको साह्रै जरूरत भएको हुन्छ भनेर होला शायद उसले हृदय खोलेर छाउरा जन्माइ दिन्छ । छाउरा जन्मियो भने सबै रमाउँछन्, छाउरी जन्मियो भने अरूलाई दिन्छन् । छाउरा र छाउरी समान हैन भनेर मानव भन्ने प्राणीले विभेद किन गर्छ ?
शहरबाट पढेर आएको ढुङ्गाना बाबैको नातिले यो प्राणीलाई पालेर दुई वटा नस्लको संयोजन गरेर बच्चा जन्माए । एकएक बच्चा ३०/४० हजारसम्म रकममा बेचेर मोटरसाइकल किने । यो कुरा दुनियाँलाई थाहा छ ।
किन यस प्राणीलाई नराम्रो अर्थमा प्रयोग गरिन्छ त ?
हाम्री आमाले त भैरव या नाउँ पुकारेर बोलाउनुहुन्थ्यो । शिवा, पाङ्ग्रे र खैरु तीन वटा श्वान हाम्रो घरमा थिए । बाख्रा बारीमा पसे हुकुम गर्ने बित्तिकै खेदाएर आउने । छोरा गुलेली लिएर चरा मार्न हिँड्ने, डुकु लन्ठ्याङ भएर डुल्न हिँड्ने । आखिर आमाको साथी र काम गर्ने त यिनै प्राणी त थिए । मज्जाले कुरा गर्नुहुन्थ्यो आमा उनीहरूसँग । यिनीहरूसँग कुरा गरेर पाउने आनन्द नै अर्को भनेर भन्नुहुन्छ गाउँका जन्तरे बा । गाईगोठ र भैँसीगोठ भएका जन्तरेबा निकै धनी । उनी गोठैमा प्रायः बस्नुहुन्थ्यो । गाउँमा जन्तरी आमैले तीन वटा श्वान पालेकी थिइन् । साँझपख ४ जना डाँका बन्दुक लिएर आए । जन्तरी आमै बाहिर जुठेल्नोमा बसेर भाँडा मोल्दै हुनुहुन्थ्यो । एउटा डाँकाले कानको सुनको लुर्काना र गलाको चन्द्रहार बन्दुक देखाएर तान्न खोज्दा आमैले गुहार गुहार भनेर चिच्याइन् । तीनै वटा प्राणीले झम्टेर डाँकालाई चिथोरेर डाँकाको लुगा च्यातेर भगाइदिए । अन्तमा गाउँका मान्छेले थाहा पाएको हुनाले डाँकाले हावामा दुई फायर गरेर भाग्न कर लाग्यो । त्यसपछि यो प्राणीको निकै मानसम्मान गाउँमा बढेको छ । सबैले माया गर्न थालेका छन् । बाटो हिँड्दा कुकुरलाई गुलेलीले हान्दैनन् हिजोआज ।
किन यस प्राणीलाई तुच्छ रूपमा प्रयोग गर्न थालियो ? महाभारतको कथामा त पञ्च पाण्डव स्वर्गारोहणको यात्रा गर्दा एउटा श्वानलाई सँगै लिएर गएको कथा पनि त छ । धर्मशास्त्रमा यस प्राणीको तुच्छ कथा कतै लेखिएको छ जस्तो लाग्दैन । त्यसैले हिजोआज गाउँमा सबैले यसलाई श्वान, भैरव नाउँले पुकार्ने गर्छन् । नाउँ पनि राम्रा राम्रा राख्न थालेका छन् । चङ्खे, खैरे, अस्ताद, बिरु आदि आदि ।
ब्रिटिश साहेबहरूले पनि कुकुरलाई नराम्रो रूपले प्रयोग गरे । ब्रिटिश साहबले “Bloody dog” भनेर काम गर्ने मान्छेलाई गाली गरेको सुन्ने खुद गोदर माइलो ! त्यसैलाई पालेर रमाउँछन् अनि त्यसैलाई नै नराम्रो शब्दमा प्रयोग गर्छन् । गोरा साहेबहरूले देश त छोडे तर शब्द यतै सुरक्षित छोडेर गए । नयाँ अङ्ग्रेजी सिकारुहरूले गर्छन् हृदय खोलेर यो शब्दको प्रयोग ।
पहाडी मुलुकमा भएको कुकुरको साह्रै माग छ । भेडा बाख्रा चराउँदा सँगसँगै जान्छ । गाई बाख्रा चराउँदा पनि सँगसँगै जान्छ । बाघ, सियाल आए भुकेर खेदाउँछ । निष्ठाले आफ्नो कार्यभार निभाउँछ । बेलुकी मालिकसँगै सुत्छ, बिहान मालिक सँगै उठ्छ । यसको हृदय, मन र भावना कसैले बुझेनन् । अनि यसलाई कुकुर भनेर किन भन्छन् ? मेरो कलिलो मन सधैँ यही प्रश्नले बिथोलिएको हुन्छ ।
हो, कुकुर बोल्न सक्दैन । मान्छे बोल्छ । नबोले पनि यसले गृहस्थको सबै कथा जान्दछ । गृहस्थलाई कसैले आक्रमण गरे उसले आक्रमणकारीलाई टोकिदिन पनि बेर लाउँदैन । यो कसरी कुकुर भयो ?
माया नदिए, समयमा खान नदिए, झटारो हाने, कसैले जिस्काए मात्र उसले भुकेर जवाफ दिन्छ । मानिसले दिएको दुखबाट आफूलाई सुरक्षित राख्न भुक्छ । टोकूँला झैं गर्छ । खासमा ऊ ज्ञानी छ ।
यदि कुकुरले टोकिहाल्यो भने निकै खर्चिलो हुन्छ । निकै वटा सुइ हान्नुपर्छ । बरु मानिसले मानिसलाई टोक्दा त्यति सुइ पनि पर्दैन र खर्च पनि हुँदैन । त्यसैले मानिसभन्दा यो ठूलो प्राणी भन्न सकिन्छ ।
यसले यसै त टोक्दैन टोकेपछि यदि जलातङ्क रोग लाग्यो भने कोही बाँच्दैनन् । यसले दाल, भात, मासु, दूधभात जे दिए पनि आनन्दले खान्छ । मानिसलाई जस्तो कुकुरलाई जाँड, रक्सी गाँजा, भाङ, ड्रग आदि चाहिँदैन । इनी मातेर पनि हिँड्दैन । कसैले जिस्काएर प्रहार गरे उपायविहीन भएर झम्टिन्छ र टोक्छ ।
उहिले उहिले मानिसको मात्रै अस्पताल थिए । अहिले त यसको पनि अस्पताल बनिएको छ । यो महान् प्राणी हो र त यसका डक्टर र अस्पताल बनिएको छ । यो कसरी तुच्छ रूपको कुकुर भनियो ? यो पक्का भैरव या श्वान नै हो ।
अन्तमा यो निष्कर्षमा पुग्न सकिन्छ कि कुकुरलाई लिएर तुच्छ रूपले प्रयोग गरेका टुक्का, उखान सबै प्रयोग गर्न बन्द गर्नुपर्छ । कुकुरको जस्तो राम्रो बानी, कुकुरको जस्तो अत्यन्त विश्वासी भनेर प्रयोगमा ल्याऔं । तर यो मेरो सोच मात्र पनि हुन सक्छ । मेरो सोच यथार्थमा आउन शायद धेरै वर्ष लाग्ला ।
विद्यार्थीलाई प्रेरणा दिने संस्कृतको श्लोकमा यस्तो भनिएको छ ।
“काक:चेष्टा, बको ध्यानं, श्वान निद्रा तथैव च ।
अल्पाहारी, गृहत्यागी, विद्यार्थी पंचलक्षणम् ॥”
“सुतुवा मान्छेको जातले श्वानको निद्राबारे कुनै शोधकार्य नै गरेन” भनेर काफ्ले पुरेतबाले भनेको कुरा सुन्ने खुद दाहाल अन्तरे !
मर्तलोकमा ईश्वरले सबै प्राणीलाई पठाएको हो । सबैको आआफ्नो विशेषता छ । मलाई कुकुर भन्दा पनि श्वान, भैरव आदि शब्द प्रयोग गरेर निबन्ध लेखौं जस्तो लाग्छ । यसरी कुकुरलाई र यसको कार्यलाई सम्मान दिने कार्य गर्न अत्यन्त जरूरी छ । बगला देवीको मन्दिरअगाडि भैरवको एउटा मूर्ति हुन्छ । त्यो भैरवलाई मदिरा चढाएर भित्र देवीको दर्शन गर्ने चलन छ । यो ‘भैरव’ प्रहरी हो र उसले देवीको सुरक्षा गर्छ र कोही आएको सूचना दिने गर्छ । त्यसैले कुकुरलाई भैरव भन्नुपर्छ भन्नुहुन्थ्यो हाम्रो बुबा !
बाटोमा हिँड्ने डुलुवा श्वानहरूलाई माया गरौँ, बिमार भए उपचार गरौं, गरेर त हेरौँ सबै मनोकामना पूर्ण हुन्छ भनेर भागवत कथामा दाहाल गुरुले सुनाएको कथा झलझली याद आउँछ । गुरुबाले भन्नुभएको कुरा त यस प्रकारको पो छ त- “यो छोटो उमेर लिएर आएको प्राणीलाई महादेवले वरिपरिका सबै मानिसको गतिविधि मलाई सूचना गर्नु भनेर पठाउनु भएको रे । तपाईँको गतिविधिबारे यसले महादेवलाई आफ्नो टावरबाट सन्देश दिने गर्छ रे । त्यसैले यो डुलुवा भएर मानिसको चालचलन हेर्दै हिँडिरहन्छ ! हामी सावधान हुन अत्यन्त जरूरी छ र यसलाई माया गर्न पनि जरूरी छ ।
अब प्रश्न आयो को जीवश्रेष्ठ ? श्वान कि मान्छे !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 









