केही पाए जस्तो केही गुमाए जस्तो । जीवन एक आभास  रहेछ । पाउनु र गुमाउनु सायद जीवनको सुन्दर कला हो । कलाविहीन जीवनको अर्थ मौसम जस्तो बेमौसम हो रहेछ । सरस, सरल र कोमल मनको बाटो हुँदै विचारको नदी बेप्रवाह बगिरहेछ । कहाँ पुगेर कुन देउरालीको कुन चौतारीको कुन चैँ छपनीमा  लामो सुस्केरा सहित बिसाइ मेट्ने हो पत्तो छैन । सायद बिसाइको नाम जीवन होइन । यो बहिरहने बतास जस्तो हो रहेछ । सुस्केरा सुसेल्दै बहिरहने निरन्तर निरन्तर ।

कतै पुगे जस्तो लाग्ने तर कतै नपुगेको आभास भैरहने । सायद कहिल्यै तृप्त नहुने जीवन भोक हो रहेछ । ती तमाम जीवन जो चराचरमा आए । केही अभिनय गरे । केही प्राप्त गरे भन्ने भ्रम लिए र रित्तै गए । रित्तै गएकाहरू जसको चिता अगाडी उभिएर म अझै अभिनयका नयाँ क्लाइमेक्सहरूमा उद्वेलित भैरहेछु । चितामा मस्त छ जीवन सकाएर हिँडेको फकिर यात्री । जिउँदो फकिर उसकै अगाडी अनेक अभिनयमा लिप्त छ ।

कहाँ छ होला मौसम जस्तो जीवन । कहाँ छ होला जङ्गल चाहर्दै बग्ने हिमनदी जस्तो कलकल । सायद म खोजिरहेछु कस्तुरी जस्तो र रनभुल्ल छु । सबै पाएर पनि त्यागेको जस्तो के छ होला मसँग । सबै गुमाएर पनि केही लिएर हिँडेको जस्तो के त्यस्तो मूल्यवान् छ होला मसँग ।

खासै भए जस्तो लाग्ने खासै केही नभए जस्तो लाग्ने । छ र छैनको बीचमा हिँडेको एउटा पथिकसँग यो भन्दा ठुलो भ्रम अर्को के हुनसक्छ होला । कतै भरिएको छ कतै भरिएर पोखिएको छ । कतै रित्तो रित्तो छ । आखिर कहाँ भरिएको र कहाँ रित्तो छ होला जीवन । चिताको सामुन्ने उभिएर म सोचिरहेछु । यो खाली खाली जीवनको अन्तिम बिदाइ । बच्चा भएर आयो र बुढ्यौली लिएर गयो । सायद उसले लाने भनेको शारीरिक वृद्धि होला ।

जीवन बुझेकाहरू के भन्छन् होला ? अँ साची ! जीवन कसले बुझेको होला ? मैले अझै भेटेको छैन जीवन बुझेको छु भन्ने मान्छे । साँचै जीवन बुझेको मान्छे कस्तो हुन्छ होला ? के जीवन बुझ्ने चिज हो र !

सायद जीवन बुझ्ने चिज पनि होइन होला । जीवन भोग्दै जाने चिज हो कि !  थाहा छैन जीवन कस्तो रहस्यको बाटो भएर हिँड्छ । जहाँ रहस्य छ सायद त्यहाँ जीवन छ । अँध्यारोमा आँखा चिम्लँदा पनि केही चिज त देखिन्छ नि ! जीवन अँध्यारो जस्तो रहस्य पनि होइन होला । लाग्दै छ ! जीवन भोगाइ हो रहेछ । जे आउँछ पचाउँदै जाने । जीवनमा केही आउनका लागि कर्म अनिवार्य सर्त होला । सर्त नै नभनौँ कि । सर्त जस्तो अन्य केही । के जीवनका लागि कर्म अनिवार्य सर्त हो ?

आकाशमा कावा खाइरहेका चिलहरू झैँ म पनि विचारको निराकार ईश्वरसँग जीवनको मन्थन गरिरहेछु । सायद जीवन मन्थन गर्ने चिज होइन होला कि । थाहा छैन अचानक आज मेरो एक पसार मस्तिष्कले मन्थनको रणमैदानमा किन कुस्ती खेलिरहेछ ।

विचारको वारपार तर्ने साँघुको अर्को नाम जीवन हो रहेछ । तपाइ विचार हीन भएर कसरी रहन सक्नुहुन्छ ? विचारकै बाटो भएर जीवनमा कर्मको बाटो सम्भव होला । कर्मका खेतहरूमा फुलेका फूलहरू सँगै उभिएको छ चराचरको सुन्दर अस्तित्व । सायद सुन्दर विचारको बाटो भएर कर्मका सुन्दर यथार्थहरू बेहिसाब देखिने गर्छन् । जहाँ हिसाबको लेखाजोखा हुँदैन सायद जीवन त्यही अन्त्य हुन्छ होला । के जीवन अन्त्य हुने चिज हो र ? म के लाई अन्त्य भनिरहेछु ? मैले खोजेको अन्त्य जीवन हो या जीवन सँगै एक पसार मस्तिष्कमा उम्रिएको विचार ! यो बुझिनसक्नु जीवन के हो ?

हरेक शब्दका विपरीत अर्थहरू छन् । सुख–दुःख, हाँसो–खुसी, राम्रा–नराम्रो, अर्थ–अर्थहीन ।

अर्थ खोज्ने विचारको कारखानाले हो । कारखानामा थुप्रै थुप्रै आकारहरूको निर्माण हुन्छ । निर्माणका लागि विचार सैद्धान्तिक पक्ष हो तथापि भौतिक चिजहरूको मेलले सार्थकता ल्याउँछ । हामी सार्थक जीवन बाँच्ने धेयमा दौडिरहेछौँ । के जीवन सार्थक र निरर्थक हुन्छ होला र ? जीवन जसरी बाँचिन्छ त्यो  नै जायज होला । जीवनलाई जीवन जस्तै बाँच्नु सायद जीवन होला । तर जीवन ठ्याक्कै यही हो भनी कसरी पहिल्याउने ?  सायद हामी विचारको द्वन्द्वमा जीवनलाई पासो लगाइरहेछौ ।

ठ्याक्कै कतै भेटिँदैन सिर्जनाको मुहान, जसले खोजोस् जीवनको उद्गम र बाँडोस् जीवन भन्ने खानेकुरा । बिचारको निराकार यात्रामा म पछ्याइरहेछु लेकमा फुल्ने गुराँस जस्तो जीवन, पहरामा मुस्कुराएको सुनाखरी जस्तो जीवन, पाखै ढाकी मोहनी लगाउने बुकी जस्तो जीवन, आँखाभरि टाँसेर हिँड्ने हिमाल, फाँटहरूमा छाल झैँ झुलिरहेका बालाहरू जस्तो जीवन, समुद्रका छाल झैँ बहेली खेल्ने जीवन । चराचरको निमेषमा उभिएर यो झिनो मस्तिष्कले म रङ्याउन खोजिरहेछु जीवनको बहुरूप ।

सगर अवर्णनीय छ । म त्यही अवर्णलाई वर्णन गर्ने चेष्टामा मोलमोलाइ गरिरहेछु । सायद उत्सुकताको अर्को नाम जीवन हो । कौतूहल बोकेर म केही मानकहरू स्थापित गरिरहेछु र स्थापना भएका मानकहरू भत्काइरहेछु । जे स्थापना हुनेछन् ती नितान्त मेरा विचारका संरचनाहरू हुनेछन् । जे भत्काइनेछन् समयक्रमसँगै आफ्ना र अरू कसैका विचारहरू भत्कने छन् । के यो भत्कने र निर्माण गर्ने थलो हो र ?

हामी विचारको पिरामिडले ग्रस्त अस्वस्थ प्राणी हौँ । जब कोही अस्वस्थ छ त्यसले स्वस्थशैलीको निर्माण कसरी गर्छ । शैली निर्माण विचारको निमेषमा अङ्कुराएको बीज हो । विचारको खेतमा थुप्रो बिउहरूको रोपण हुन्छ तथापि सबै बिउहरू टुसाउँदैनन् । धर्तीको गर्तमा विलीन भैजान्छन् । कुनै कालखण्डमा जब उत्खनन हुन्छन् तब टुसाउन थाल्छन् र महत्त्व पनि राख्छन् ।

मानव स्वभावमा प्रयोग हुने विचारका पुञ्जहरू स्वाभाविक हुन् । आउने र जाने क्रम नियमित अनियमितता हो । सबै विचार सार्थक निर्माण होइनन् तथापि निर्माणका सेतु हुन् । जब स्वीकार सहित अहोभाव हाबी हुन्छ तब हरेक स्थिति शान्त हुन्छ । बोध घटित हुन्छ । तब मानव मुक्त हुन्छ । विचार शून्य हुन्छ । अब विचारको विकल्प के हुनसक्छ होला ?

तपाई जुन दृष्टिले जीवनलाई नियाल्नु हुन्छ जीवन त्यस्तै देखिन्छ । जुन विचारले डोर्‍याउनुहुन्छ त्यतै डोरिएर  हिँडिरहन्छ । भरोसा कहाँ छ र जीवनको । तपाईंले निर्माण गरेको ईश्वर कतिबेला ढल्ने हो पत्तो छैन । परमात्माको अडेसमा कतिञ्जेल बाच्ने हो जीवन । कतिञ्जेल आस्थाको फूलबारीमा मुस्कुराउने हो तपाइको ईश्वर । तपाई त निर्माणको आधारमा टेकेर नयाँ निर्माणको सोच विकास गर्नुहुन्छ । के नयाँ निर्माणमा पुरानो आस्था रहला ?

पूर्ण भएर मुग्ध उभिएको ईश्वर विचारको पराकाष्ठा बाहेक अरू के हुनसक्छ । जब आस्था ढल्छ तब विचारको अर्को जीवन खडा हुन्छ । आस्था परिवर्तन हुँदै जान्छ । त्यागको अर्को चरण शुरु हुन्छ । सायद परिवर्तन जीवनको सुन्दर नियम हो ।

जीवन हिसाब किताबको गणित होइन । छुट्दै जानु, बग्दै जानु सायद अविरल यात्रा हो । जसरी विचारहरू क्षणमा उम्रन्छन् र क्षण मै मर्छन् । अधिकांश विचारहरू सम्झनामा जीवित हुँदैनन् । विचार सहितको त्याग जिउनुको सार्थकता होला । बोध सहित उभिनु आफू हुनुको यथार्थ होला । आवरण समय दृष्टिको अभिनय भए पनि रूपान्तरणको जग हुनसक्छ होला । जीवनको मञ्चमा सब थोक जायज छ । जायज भएकै कारण सहज बन्दै जानु समयको माग बन्न पुग्छ ।

हृदयमा जागृत हुने भावनाहरू अँध्यारो–उज्यालो, उज्यालो–अँध्यारोको सार्थक बाटो हो । तर तपाई भित्रको हृदयको अर्को पाटो जसले जाग्नमा सधैँ अल्छी गर्छ त्यो अँध्यारो मात्रै हो । अर्थात् उज्यालो तिर फर्कन नचाहने कुरूप स्थिति हो ।

एउटा मान्छे जो विचारको द्वन्द्वमा बाँचिरहेछ । विचारको चक्रवात सामाजिक संरचनाले निम्त्याउँछ । हामी दोधारमा बाँचिरहेछौँ । संरचनाको दोषलाई बोधको इरेजरले मेटाउने हो भने सायद मानव अस्तित्व सार्थक बन्न सक्ला । सबै चिज कहाँ सजिलै प्राप्त हुन्छन् र ! त्याग – बोधको प्रारम्भ हो ।

पोखरा