हे राष्ट्रप्रधानहरू

बिछोडको वेदना सुन्नुहुन्छ ?

सायद अनुभव गर्न सक्नु हुन्न !

कथा भनेर पढ्ने भूल नगर्नुहोला

पूर्ण सत्य किनकि सत्य सधैँ एकवचन

खोलिदिनुहोस् त्यो दैलो पावन्दीको !

पुरुषोत्तम उपाध्याय दाहाल (असम)

भारत र म्यानमार दुइटा देश

थिए दुवै एक समयमा ब्रिटिसको अधीनमा

गोर्खाली लाखौँ थिए दुई देशमा

दोस्रो विश्वयुद्ध भयो

बिथोलिए सबै आफन्तहरू

कोही म्यानमारमा, कोही अरू विभिन्न प्रान्तमा ।

 

हाम्रो बुवा, दुई ओटी आमा, हजुरबा,

अरू पनि आफन्त आए आसाम

मावली, सानिमा, कान्छा बा बसे बर्मामा

अरू कति कतिको कैयौँ कथा

ठूली आमाको बम बिस्फोटमा मृत्यु भएको कथा

सुनाउनुहुन्थ्यो बुवा ।

आमा सानैमा बिहे भएर आसाम आएर बित्नुभो
माइतीनै नदेखि !

 

लगभग त्रिहत्तर वर्ष भयो

कोही उता कोही यता, कस्तो विडम्बना

सकिन्न  जान  पासपोर्ट, भिसा भए पनि

कतिपय ठाउँहरूमा, जहाँ आफन्तहरू छन्

हे राष्ट्रप्रधान ! सुन्नुभएको छैन ती विरहका कथा ?

 

म्यानमारबाट त सजिलै आउँछन् त

बोधगया, गया र लुम्बिनीमा

रमाएर जान्छन् उनीहरू,

बुद्धदर्शनको  अनुभूति लिएर

हामीलाई चाहिँ किन बाधा उता जान ?

हे देशका प्रथम पुरुष !

बुझिदिनुहोस् बिछोडको व्यथा ।

 

रातो धागाले बेरेको, परदेशबाट आएको

चिठी देख्नुभएको छ हजुरहरूले ?

बुझ्नुभएको छ त्यो चिठी पढ्नेको वेदना ?

हरे! को खस्यो नि परदेशमा

कसले पढिदेला त्यो मुटु चिरिने सन्देश

महाशय! हे राष्ट्रप्रधानहरू

खोलिदिनुहोस् अब त्यो बाटो

आकाश र जमिन मार्गको

धनीहरू जानेछन् आकाश मार्गबाट

गरिबहरू जानेछन् जमिन मार्गबाट

मिल्नेछन् आफन्तहरूसँग

रमाउनेछन् जीवनभर

आशिष् दिनेछन् सधैँ।

हे बाहुबली राष्ट्रनेता ! बुझिदिनुहोस्

अव्यक्त वेदनाको व्यथा ।

 

हाम्रो मावलाको हजुरबाले रोपेको

त्यो ठूलो आँप र वरपीपलको रूख

मचीनाको लाबरबारीमा, पर्खिरहेका छन्

हामीलाई हेर्न

हामी पनि उद्विग्न भएका छौँ

उनीहरूलाई भेट्न

बार बारेर भागवत लगाउने विचार पो छ त

हाम्रो त्यो हजुरबाले अन्तिम श्वास लिएको ठाउँमा !

खोलिदिनुहोस् त्यो दैलो, हे महापुरुष !

पुस्तौँ भयो बिछोड भएको

यो पापको भार किन लिनुहुन्छ जीवश्रेष्ठ !

 

चीनजस्तो देशले त खोलिदियो

बिछोड भएकाको दुःख सम्झी

अरू देशमा छुटेका आफन्त मिल्न

हजुरहरू किन पछि पर्नुभएको ?

हे बर्माका बुद्ध प्रेमी, प्रभु देवता, विज्ञजन

हामी केही बिगार गर्दैनौँ

बस् आफन्त भेटेर आउने

पुण्य त हजुरहरूलाई नै जान्छ

चुकुल खोलिदिनुहोस प्रभु ! त्यो दैलाको

हामी हजुरहरूको गुणगान गाउँनेछौँ

एकपटक अँगालो मार्न त दिनुहोस्

आफन्तहरूसँग धित मारेर ।

 

हे भारतका राष्ट्रनेता, कति ढोल बजाउनुहुन्छ

मित्रताको र राजधर्मको

भनिदिनुहोस् त्यो मुलुकलाई

सुनाइदिनुहोस् हाम्रो सत्य कथा

अब हाम्रो धैर्यको परीक्षा नलिनुहोस् ल!

जाने प्रबन्ध गरिदिनुहोस्

उन्मुक्त हुन चाहन्छौँ हामी, केही दिन

गोर्खालीको आवेगलाई ठोकिदिनुहोस्

एउटा सलाम, जे परे पर्ला ।

त्यो तथाकथित तघारो खोलिदिनुहोस्

हाम्रो मिलनको कथा लेखिने छ

हजुरहरूकै नाउँमा

हामी तर्पण दिन्छौँ मृतक आत्मालाई

वहाँ गएर

हर्षको आँसु बगाउनेछौँ

जीवन्तलाई भेटेर

छापिने त हजुरकै नाउँ हो इतिहासमा

आग्लो खोलिदिनुहोस् हजुर !

हामी उखुम भएका छौँ

मिलनको चाहनाले

हे राष्ट्रप्रधान! बिन्ती सुनिदिनुहोस्

नत्र अर्को जन्ममा चरी भएर

जान बाहेक अरू केही माध्यम

रहेन हाम्रो

बिन्ती छ हजुर, गुहार सुनिदिनुहोस्।

ढोका खोलिदिनुहोस् प्रभु !