काठमाडौँको धर्मपथ छेउको न्हूसाल, झोँछेंमा शताब्दी नजिक पुगेका एक महान् कलाकार प्रा. गोविन्दनारायण ज्या–पू बस्नुहुन्छ । एक दिन उहाँको निवास पुग्दा विगत समय र कलाको गहिरो यात्रामा डुबेर मलाई विगततर्फ डो-याउनुभयो । २०८२ साल भाद्र ४ गते अपराह्न उहाँसँग भेटिनु मेरा लागि एक दुर्लभ क्षण जस्तै भयो । नेपालको मूर्तिकलाका एक अग्रज व्यक्तित्व ९८ वर्षको उमेरमा पनि उहाँका आँखामा कलाप्रतिको अनुराग र जीवनप्रतिको गहिरो प्रेम झल्किन्छ । उहाँले मप्रति व्यक्त गर्नुभएको आभार र मैले उहाँप्रति व्यक्त गरेको खुशी, एकसाथ बगेका दुई नदीहरू जस्ता थिए ।

गोविन्दनारायण ज्या-पू

‘ज्यापू’ को जात ‘कलाकर्म’ होइन । तर उहाँले थाहा पाएदेखि केही वर्ष अघिसम्म पनि मूर्तिमै ज्यान भर्न मरिहत्ते गरिरहनुभएको थियो । आजसम्म सबैभन्दा पाको उमेरका कलाकार नै उहाँ हुनुहुन्छ । वरिष्ठतम् मूर्तिकार र स्काउट गुरुसमेत उहाँ । उमेरले उकालो काटिसके पनि उहाँको इच्छा, आकाङ्क्षा अधूरै छ । विचार र अनुभवले पनि उत्तिकै खारिनुभएका ज्यापू स्पष्ट वक्ता पनि हुनुहुन्छ । विगतका कुराहरू तिथिमितिसहित् कथात्मक शैलीमा खरर भन्ने उहाँको स्मरणशक्ति पनि गजबकै छ ।

भन्नुहुन्छ– ‘यो सबै स्काउटिङ र लामो समयदेखिको प्राध्यापनकै प्राप्ति हुन् । साथै गुरुहरूकै आशीर्वाद पनि हुन् । फेरि म समाचारप्रति पनि सजग छु । यसले मलाई समयभन्दा पछि पार्नबाट रोक्छ । म सधैँ चनाखो भइरहन रुचाउँछु ।’
तत्कालीन जुद्धकला पाठशालाको स्कूले ठिटो छँदै उहाँले ढुङ्गा, माटो, काठ आदि माध्यममा आकृति बनाउन सिकिसक्नुभएको थियो । त्यही सीपले आज परिमार्जित सिर्जनात्मक स्वरूप ग्रहण गर्न सकेको उहाँ बताउँनुहुन्छ ।

मूर्ति बनाउने र चित्र कोर्ने काम गर्दा बचपनमा उहाँले पिता तुलसीनारायणबाट कयौँ पटक पिटाई खानुभयो । तैपनि उहाँले कलाकर्म छोड्नु भएन । लुकिछिपी काम गर्दै त्यसैमा आफूलाई एकोहो-याउनुभयो । उहाँको बाल्यकाल काठमाडौँको भीमसेनस्थानमा बित्यो ।

त्यहीँको तबोटोल देवालय (द्यः ला ननि) मा उहाँको जन्म भएको हो । पहिले यस ठाउँमा ज्यापू समुदायको बसोबास थियो । भीमसेनको गुठीअनुसार नेवारका विभिन्न जातिहरूको त्यस ठाउँमा बसोबास थियो । हरेक बाह्र वर्षमा भीमसेनको पुनर्रचना गरी भव्य पूजाआजा र जात्रा हुन्थ्यो, तिनै नेवार जातिका विभिन्न समुदायबाट । उहाँहरू भीमसेनको पुजारी पनि हुनुहुन्थ्यो ।

सानै उमेरदेखि उहाँको चित्रकला र मूर्तिकलामा सराबरी संलग्नता थियो । भुइँमा वा किताब, कापीका चित्रहरू कोर्ने तथा माटोका विभिन्न मूर्तिहरू बनाउने गर्नुहुन्थ्यो । विभिन्न चाडपर्व तथा जात्राका चित्रहरू, मूर्तिहरू उहाँले केटाकेटी बेलैमा प्रशस्तै बनाउनुभएको थियो ।

छोरी र पत्नीका साथ गोविन्दनारायण ज्या-पू

यसरी ज्या–पू सरको जीवन एउटा शिल्पकारको यात्रा हो, जसले आफ्नो पूरै जीवन मूर्तिकलाको साधनाका लागि समर्पण गर्नुभयो । १९८४ सालमा काठमाडौँको भीमसेनस्थानमा तुलसीनारायण र देवमाया डङ्गोलका जेठा छोराका रूपमा जन्मनुभएका ज्या–पू सरले, जीवनभर माटो, ढुङ्गा र काठमा आकृतिहरूमा जीवन भर्नुभयो । उहाँको मूर्तिकलाले नेपाली कलालाई एउटा नयाँ आयाम दिएको छ । उहाँ केवल एक कलाकार मात्र होइन, एक जीवित इतिहास हुनुहुन्छ । उहाँले नेपाली कलाको विकासक्रमलाई नजिकबाट नियाल्नुभएको छ ।

न्यूरोडको पिपलबोट नजिकै रहेको ‘कालो पाठशाला’ बाट आफ्नो पढाइ प्रारम्भ भएदेखि दरबार हाइस्कुल र जुद्धकला पाठशालासम्मको पढाइको विवरण सुनाउनुभयो । १९९६ सालमा जुद्धकला पाठशालामा भर्ना भएर उहाँले कलाको विधिवत् शिक्षा लिनुभयो । उहाँका अनुसार, मास्टर चतुररत्नजस्ता गुरुहरूको मार्गदर्शनमा उहाँले मूर्तिकलामा आफ्नो कला निखार्नुभयो । २००२ सालमा कलाकुशल प्रथम श्रेणी र त्यसको अर्को वर्ष मूर्तिकला (भाष्करी) मा कलाप्रवीण परीक्षामा सर्वप्रथम हुनुभएको घटनाले उहाँको प्रतिभा र लगनशीलतालाई प्रमाणित गर्छ ।

गुरु चतुररत्नले ‘जुद्धकला पाठशाला’ मा पढ्न गएर शैक्षिक प्रमाणपत्र लिनुपर्ने बताएपछि उहाँ सो पाठशालामा भर्ना हुनुभयो । अङ्ग्रेजी भाषाको ज्ञान लिन तिनै गुरु चतुररत्नले उहाँलाई दरबार हाइस्कुलमा भर्नाका लागि व्यवस्था गरिदिनुभयो । दरबार हाइस्कुलमा कलाशिक्षक चन्द्रमानसिंह मास्के हुनुहुन्थ्यो । केही समयपछि मास्टर तेजबहादुर चित्रकारले पनि कलाको कक्षा लिन थाल्नुभयो ।

ती दिनलाई सम्झिँदै भन्नुहुन्छ– “मेरा काम देखेर तेजबहादुर निकै प्रभावित हुनुभयो । उहाँले मूर्ति विधामा लाग्न सल्लाह दिनुभयो । त्यसपछि मूर्तिमा बढी ध्यान दिन थालेँ । उहाँले नै मलाई ‘आधार शिक्षक शिक्षण केन्द्र (ताहाचल) मा मास्टर हुन जानू’ भन्नुभयो । त्यहाँ शिक्षकहरूलाई विभिन्न प्रकारका प्रशिक्षण दिइन्थ्यो । त्यहाँ मैले विद्यालयमा पढाउने शिक्षकहरूलाई कला सिकाउने मास्टरको जागिर पाएँ ।”

गोविन्दनारायण ज्या-पूसँग लेखक ज्ञानेन्द्र विवश

२०११ सालदेखि केही वर्ष अघिसम्म अनवरत रूपमा उहाँ नेपाल स्काउटसँग पनि आबद्ध रहँदै आउनुभयो । कलासिर्जनाका अतिरिक्त उहाँ लेखन तथा कला प्रशिक्षण कार्यमा पनि संलग्न हुनुहुन्थ्यो ।
२००६ सालदेखि आधार शिक्षक शिक्षण केन्द्रमा विद्यालयका शिक्षकहरूलाई ललितकला सम्बन्धी प्रशिक्षण दिनका लागि सरकारले उहाँलाई ‘मास्टर’ पदमा नियुक्त ग-यो । २०१३ सालमा ललितकला शिक्षण सम्बन्धी तालिम हासिल गर्ने क्रममा छात्रवृत्ति पाई उहाँले अमेरिकाको ओरिगन विश्वविद्यालयमा एक वर्षसम्म अध्ययन गर्नुभयो ।

आफ्नो नामको पछाडि ‘ज्या–पू’ लेख्नुका कारणबारे उहाँ भन्नुहुन्छ– “एकजना विद्यार्थीको निम्ता मान्न गएको थिएँ । घरको बुइँगलमा भोज खाइरहँदा कसैले ‘यो ज्यापूलाई यहाँ कसले आउन दिएको’ भनी करायो । तदुपरान्त मैले आफ्नो थर ‘ज्या–पू’ लेख्न थालेँ । त्यही ‘ज्या–पू’ ले आजसम्म मेरो चिनारी बचाएको छ ।”

आफ्नो बाल्यजीवनलाई सम्झिँदै ज्या–पू भन्नुहुन्छ– “म किसानको छोरो, छाउनी पछाडिको बाहिटीस्थित खेतमा काम गर्न जाँदा माटोका आकृति बनाउँदै खेल्थेँ । त्यहीँदेखि मूर्तिकलाप्रति मेरो रुचि बढ्न थालेको थियो ।”

पहिले उहाँसँग घरैमा चित्रकारी सिक्न जीवरत्न शाक्य, कालिदास श्रेष्ठ, चन्द्रबहादुर मानन्धरहरू आउने गर्थे ।

उहाँ भन्नुहुन्छ– “कुनै पनि काम गर्न भित्रैदेखि रुचि जाग्नुपर्छ । मूर्ति बनाउने क्रममा मैले स्वाध्यायन पनि प्रशस्त गरेँ । मानिसका विभिन्न शारीरिक स्थितिको अध्ययन गरेँ । अमेरिकामा अध्ययन गर्न जाँदा मैले मूर्तिरचना विधिबारे अझ राम्रो ज्ञान हासिल गर्ने अवसर पाएँ । त्यहाँ मानव शरीर रचना (ह्युमन एनोटोमी) सम्बन्धी प्रशस्त अभ्यास गराइँदोरहेछ । त्यहाँ ‘न्यूड स्टडी’ गर्ने मौका पाइयो । यो मेरा लागि सर्वथा नौलो र उपयोगी अनुभव थियो ।”

आफूले विदेशमा सिकेका कुरालाई कलेज अफ एजुकेशन (लैनचौर) मा अध्यापन कार्य गर्दा उपयोग गरेको उहाँ बताउनुहुन्छ । चित्रमा त्रि–आयामिक भ्रम पैदा गर्ने सम्बन्धमा आफूले नयाँ सिद्धान्त प्रतिपादन गरेको उहाँ दाबी गर्नुहुन्छ । आफ्नो यस सिद्धान्तलाई ‘ज्या–पू कुञ्जी’ नाम राखेको पनि उहाँ बताउनुहुन्छ । २०२३ सालमा उहाँले ‘चित्रकला विधान’ नामक कलाको व्याकरण पुस्तकसमेत प्रकाशन गर्नुभएको थियो ।

उहाँका अनुसार सो पुस्तक ६, ७ र ८ कक्षाका पाठ्यसामग्रीका रूपमा पनि राखिएको थियो । २०११ सालमा उहाँ राष्ट्रिय शिक्षक शिक्षण केन्द्रमा कला प्रशिक्षकका रूपमा नियुक्त हुनुभयो । त्यसको अर्को वर्ष उहाँ कलेज अफ एजुकेशनमा ललितकला विषयको वरिष्ठ प्रशिक्षकमा नियुक्त हुनुभयो ।

२०१३ सालमा उहाँ ललितकला शिक्षा अध्ययनार्थ अमेरिका जानुभयो । २०२० सालमा उहाँ नेपाल सरकारको ‘गजेटेड प्राध्यापक’ पदमा नियुक्त हुनुभयो । २०४३ सालमा उहाँ सेवा निवृत्त हुनुभयो । २००९ सालमा नेपाल स्काउट र गाइडको व्याज, झन्डा तथा पोशाकको नमुना तयार पार्नमा आफ्नो भूमिका रहेको उहाँ बताउनुहुन्छ ।

उहाँले रचना गर्नुभएका ‘सुन्दरी’, ‘तेल घसिरहेकी महिला’, ‘दिशासूचक यन्त्र’, ‘दाम्पत्य सम्बन्ध’ आदि शीर्षकका मूर्ति रचनाहरू माटोमा निर्माण गर्नुभएको थियो । त्यस्तै, ‘विकलाङ्ग’, ‘जीवनचक्र’ आदि शीर्षकका मूर्ति काठमा बनाउनुभएको थियो ।

अमेरिका बसाइ ताका त्यहाँ आफूले ढुङ्गामा पूर्णकदको बुद्धको मूर्ति बनाएको, सय वर्ष पुरानो ओखरको काठमा मूर्ति कुँदेको, राजदरबारमा गई मूर्ति निर्माण गरेका सुखद सम्झनाहरू उहाँ सुनाउनुहुन्छ । भोगटेको मुढामा राजा त्रिभुवनको मुहार–आकृति बनाएको सम्झना पनि उहाँसँग ताजै छन् ।

प्रा. गोविन्दनारायण ज्या-पूले २०२६ सालमा भएको पाँचौँ राष्ट्रिय कलाप्रदर्शनीमा मूर्तिकला विधामा ‘प्रथम पुरस्कार’ पाउनुभएको थियो । २०७० सालमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले उहाँलाई ‘ललितकला सम्मान’ प्रदान गरेको थियो । २०७५ सालमा उहाँ ‘राष्ट्रिय प्रतिभा पुरस्कार’ द्वारा सम्मानित हुनुभएको थियो । कलाबाहेक उहाँको अभिरुचिका धेरै क्षेत्रहरू छन् । खेलकुद, यात्रा, अनुसन्धान, सङ्गीत आदि उहाँलाई निकै मन पर्छ । उहाँले दुईपल्ट विश्वको परिक्रमा गरिसक्नुभएको छ । सो भ्रमणको प्रमाणस्वरूप प्रमाणपत्रसमेत आफूसँग सुरक्षित रहेको कुरा गर्न पनि उहाँ छुटाउनुहुन्न ।

त्यसो त, उहाँ उहिल्यै ‘प्रथम ज्या–पू रत्न नेपाल’ बाट सम्मानित हुनुहुन्छ । गत २०८१ सालमा उहाँलाई ‘सुरेन्द्र प्रधान दीर्घ कला सम्मान’ बाट पनि सम्मानित गरिएको थियो ।

९८ वर्षको उमेरमा पनि उहाँको कान टाठो, आँखा टट्कारो र बोली उस्तै रहेको देख्दा अचम्म लाग्छ । यद्यपि, उहाँको थाकेको शरीरले लामो यात्राको कथा भन्छ । गोविन्दनारायण ज्या–पूजस्ता कलाकारहरूको उपस्थिति नै हाम्रो लागि गौरवको विषय हो । उहाँको कलाले हामीलाई नेपालको गौरवमय इतिहास, संस्कृति र परम्पराको सम्झना दिलाउँछ । उहाँको जीवन एउटा खुला किताब हो, जसको हरेक पानामा मूर्तिकलाको साधना र समर्पण तथा नेपाल स्काउटको कथा लेखिएको छ । उहाँको कलाले नयाँ पुस्तालाई सधैँ प्रेरणा दिइरहने छ ।