विवशका प्रस्तुत निबन्धका विर्णनात्मक र आत्मपरक मीठो अभिव्यञ्जना शैलीको प्रस्तुति पाइन्छ । सङ्ग्रहभित्रका प्रत्येक निबन्धले निकै गहकिलो भावनाका अनुभूतिहरू संवरण गरेको छ ।

===

नेपाली साहित्य क्षेत्रमा ज्ञानेन्द्र विवश एक परिचित नाम हो । निबन्ध र नियात्रा लेखनमा सक्रिय रहँदै आएका विवशले ललितकला तथा संस्कृति विषयक थुप्रै लेखरचनाहरू प्रकाशित गरेका छन् । हालसम्म उनका कला, निबन्ध, नियात्रा तथा जात्रा–संस्कृति विषयक दर्जन बढी पुस्तक प्रकाशन भइसकेका छन् भने केही पुस्तकहरू प्रकाशोन्मुख रहेका छन् ।

बहुआयामिक व्यक्तित्व ज्ञानेन्द्र विवशले प्रसिद्ध साहित्यिक पत्रिका ‘साहित्यपोस्ट’, ‘मधुपर्क’, ‘गरिमा’, ‘समकालीन साहित्य’ आदिमा नियमित निबन्ध, नियात्रा र ललितकला सम्बन्धी लेखहरू लेख्दै आएका छन् । साहित्य, सम्पादन तथा पत्रकारिताको क्षेत्रमा सक्रिय विवश हाल काठमाडौँ महानगरपालिका अन्तर्गत कार्यरत रहेका छन् ।

नेपाली साहित्यमा सक्रिय लेखकका रूपमा रहेका विवश नियात्रा र निबन्धका क्षेत्रमा विशेष रुचि राख्दछन् । उनको अर्धकदको अवसान (२०८१) नामक निबन्धसङ्ग्रह भर्खरै प्रकाशनमा आएको छ । यस सङ्ग्रहमा तीन दर्जन निबन्धहरू समाविष्ट रहेका छन् । विषयवस्तुका रूपमा हेर्ने हो भने उनका निबन्धमा कि त जीवन अभिव्यक्त छ कि त जगत् । आफ्ना भोगाइ र अनुभूतिलाई समेटेर उनले जीवनका विविध समयलाई कोमलताबाटै प्रस्तुत गरेका छन् भने सुन्दर प्रकृति र यात्रालाई समेटेर जगत्लाई चित्रण गरेको पाइन्छ ।

प्रकृति र जीवनलाई विषयवस्तु बनाएका विवशका निबन्धमा समाजका विकृति, विसङ्गतिप्रतिको चोटिलो व्यङ्ग्य तथा सुरधारको आग्रह पाइन्छ । प्रत्येक निबन्धमा निबन्धकार ज्ञानेन्द्र विवशले मूलतः प्रकृति र जीवनका जीवन्त अनुभूतिहरूलाई आकार दिएका छन् । उनका प्रायशः निबन्धका अभिव्यक्ति र तिनमा प्रतिविम्बित भावनामा नेपाली पहिचानका अनगन्ती सुवासहरू पाइन्छन् । यिनमा हाम्रै मन र मुटुका स्पन्दनहरू समेटिएका छन् । हाम्रै पाखापखेराका सुसाइरहेका आभाष हुन्छ भने हाम्रै जीवन भोगाइका दृश्यचित्रहरू प्रस्तुत भएका छन् । सामाजिक विषवस्तुका निबन्धमा हाम्रै जीवन, समाज र समयका तस्वीरहरू समेटिएका छन् । वास्तवमा यस निबन्धसङ्ग्रहमा समाविष्ट निबन्धहरूले समकालीन नेपाली जीवन, प्रकृति, संस्कृति, कला र साहित्यको समष्टिगत स्वरूपलाई प्रदर्शन गरेको छ भन्न सकिन्छ  ।

यस निबन्धसङ्हको शीर्ष निबन्ध ‘अर्धकदको अवसान’ले समेटेका विचार–भावनाहरू निकै गम्भीर र गहन प्रकृतिका रहेका छन् । विम्बमा प्रस्तुत भएका सम्पूर्ण वर्णन–विवरणहरू नेपाली समाजका दस्तावेज हुन्, घटनाहरूका इतिहास हुन् जसले आउने पुस्ताहरूलाई विगतको ज्ञान दिलाउन सक्षम हुनेछ । देश र जनतामा आएका प्राकृतिक घटना तथा राज्यसत्ताले जनतालाई दिनुपर्ने तत्कालीन र दीर्घकालीन सेवाप्रति भनाइ र गराइमा भएको विभेदले आफैंले भोगेको अनुभूतिलाई निबन्धले प्रस्तुत गर्न सफल रहेका छन् ।  निबन्धमा  अभिव्यक्त संवेदनाले मनलाई स्पर्श गर्न आउँछन् । केही निबन्ध तथ्यपूर्ण शब्द–तथ्याङ्कहरू छन् । सुन्दर प्रकृतिका सौन्दर्यको चित्रणसँगै लेखकीय संवेदनाले मन र मुटुमा चस्स छुन्छ । प्रकृतिको सौन्दर्य तथा आफूले गरेको अनभूतिमा स्वच्छन्द विचरण अर्थात् निर्बन्ध विश्लेषणमा अभ्यस्त मन यस्तैमा लहसिन पाउँदा साहित्य सुधापान गरेजस्तै आनन्दका सागरमा डुबुल्किएको अनुभूति यस सङ्ग्रहका निबन्धको पठनबोधबाट पाउन सकिन्छ ।  लेखनीको सार्थक प्रयास, सकारात्मक भावना र अभिव्यञ्जना सीपले विवशका निबन्ध स्वच्छ र निर्मल भए झैँ लाग्छ । छोटो, छरितो वाक्यविन्यास शिल्पसाधनामा रचित उनका निबन्ध सरल र सुबोध्य रहेका छन् ।

यस निबन्धसङ्ग्रहमा समेटिएका निबन्धले वरण गरेका र गर्न खोजेका भाव कलामय संरचनामा सम्प्रेषित देखिन्छन् जसले गर्दा आमपाठकका मनलाई पाठकीय आनन्द प्रदान गर्न सक्ने सामर्थ्य राख्दछन् । सङ्ग्रहभित्रका निबन्धहरूमा प्रस्तुत विषयवस्तु अर्थात् घटना विवरण बटुलेर तिनलाई संवेदनशील मात्र नबनाई लेखकीय चिन्तनलाई मिलाएर प्रस्तुत गर्नसक्नु निबन्धकार विवशको क्षमता मान्न सकिन्छ ।

समग्रमा भन्नुपर्दा निबन्धकार ज्ञानेन्द्र विवशका निबन्धले जीवन र प्रकृतिलाई निकै नै नजिकबाट नियालेर कलात्मक मौलिकताले अभिव्यक्तिको आकार दिएका छन् । यससङ्ग्रहका निबन्धमा मिठासयुक्त शब्दहरूको  प्रयोग सरल शैलीमा रहेको पाइन्छ । यसका साथै माया, प्रेम, विश्वास तथा भेटघाट, विछोड आदि विषयमा निबन्धको गहन चिन्तन समेटिएका छन् । प्रकृति र प्राकृतिक सौन्दर्यका विभिन्न रूप तथा अवस्थालाई चित्रण गर्दै अनेक विम्ब तथा प्रतिकको प्रयोग गरिएका उनका निबन्धमा शीर्षकमै बादल, चरा, ऋतु, पहाड, झण्डा, जस्ता विषय समेटिएका छन् ।  निबन्धमा महसूस गर्न सकिने उल्लेख्य पाटो भनेको प्रेम, प्रकृति र जीवनलाई उचाइमा पुर्याएर गरिएको चिन्तन र त्यसको गहन प्रस्तुती हो भन्न सकिन्छ ।

विवशका प्रस्तुत निबन्धका विर्णनात्मक र आत्मपरक मीठो अभिव्यञ्जना शैलीको प्रस्तुति पाइन्छ । सङ्ग्रहभित्रका प्रत्येक निबन्धले निकै गहकिलो भावनाका अनुभूतिहरू संवरण गरेको छ । निबन्ध सामान्य विषयका हुँदा पनि गम्भीर र अर्थपूर्ण बनाएर कलात्मक रूपमा प्रस्तुत गरिएका कारणले मिठासपूर्ण देखिन्छन् ।  जीवन र जगत्का सत्यलाई सकेसम्म नजिकबाट हेरेर पाठकलाई सँगसगै हिँडाउन सफल विवशका निबन्धहरूमा कलाचेतनाको सुवास भरिएका छन् । आफ्ना जीवनका अनुभव र अनुभूतिलाई कलात्मक तरिकाले प्रस्तुत गरिएका जुनै विषय र सन्दर्भका निबन्धमा पनि उनको अध्ययन र अनुभवका विविध प्रसङ्गहरूले हार्दिक, बौद्धिक, कलात्मक र तर्कपूर्ण बनेका छन् । प्रकृति, जीवन भोगाइ र समाजका सूक्ष्म यथार्थलाई निबन्धहरूले जागृत गराउने प्रयास गरेका छन् । मधेश आन्दोलनमा स्रष्टाहरूको शालिक तोडफोड गरेर नेपाली भाषा र साहित्यप्रतिको आक्रोश अभिव्यक्त गरिएको थियो तर शालिक भनेको शालिक मात्र नभएर एक समयको कला, योगदानको सम्मान र इतिहास पनि भएकाले त्यसप्रतिको विद्रोह वर्तमानप्रतिको पनि अपमान हो भन्ने निबन्धको मूलस्वर रहेको छ ।

पठनीय तथा सङ्ग्रहनीय यस पुस्तकका सर्जक निबन्धकार ज्ञानेन्द्र विवशको निबन्ध लेखन यात्रा अझैं परिष्कृत बनोस भन्ने कामना, सुखदका साथ अविश्रान्त अघि बढिरहन सकोस् भन्दै शुभकामना ।