परिचय

नुवाकोटे कवि राजु सिटौलाको ‘ईश्वरका फूलहरू’ कवितासङ्ग्रह साउन १६ गते काठमाडौँमा विमोचन भएको थियो । राजुको घर नेपालको नुवाकोटमा भए पनि उनी लामो समयदेखि अमेरिकाको कोलोराडो राज्यमा बस्दै आएका छन् । यो ‘ईश्वरको फूल’ कविता सङ्ग्रहमा रहेका ३६ कविता अमेरिकाको माटोमा रोपिएको नेपाली मनका फूलहरू हुन् । कस्ता छन् त विदेशी भूमिमा हुर्केबढेका मनका बेर्ना, बोट र बुट्टाबाट कोपिला लागेका, फक्रेका र फुलेका पुष्प गुच्छाहरू ? आउनोस् तिनको केही सुवास/बास्ना लिएर हामी पनि आफ्ना मनोभावना रूपी फूलहरूको गोडमेल गरिहेरौँ ।

 

सङ्गृहीत कविता

कृतिको नाम पहिलो कविताबाट राखिएको हो । यस कवितापछि क्रमशः हराउनेहरू, छोरी र पातहरू, जेनिफर,  कविता,  स्किम,  नयाँ वर्ष, मनको शान्ति, हो बुद्ध मेरो देशमा जन्मेका हुन्, सम्बन्ध ढल्न सक्छ, हवस्, ऐना र मुकुन्डो, ढुङ्गा, खोक्रो मान्छे, मोर्चा, किसान, एउटा पागलले धेरै पागलहरू खोजिरहेछ, रक्तदान जीवनदान, सिकारी, कोपिला र डुङ्गा, नमस्कार, अनुहार, किताब, फेरि उस्तै हुँदैन, नियति, गिज्याउँछन् कविताहरूले; हिमपात, तिमी र म; नदी र म, टेलिस्कोप, क्वान्टम इन्ट्याङ्गल्मेन्ट, रङ, स्वाद, अदृश्य छाया,  मजस्तै म, चौतारी, र जीवन र मृत्यु शीर्षकका कवितापुष्पले सङ्ग्रह ढकमक्क ढाकिएको छ । कविताका शीर्षक नराखी सङ्ख्यात्मक सिलसिला मात्र दर्साएको भएचाहिँ कविताक्रम झन्डैझन्डै खण्डकाव्यीय परम्परामै विन्यस्त हो कि भन्ने भान पर्ने खालको छ ।

 

कविताका अन्तरवस्तु

राजु सिटौला भावनाप्रधान कवि हुन् र यो कवितासङ्ग्रह त्यसैको प्रतिविम्ब हो भन्ने कविता पढ्न मेलो पस्तै अनुभूत हुन्छ । हिलामा फुलून् कि पाखामा, फोहरमा फुलून् कि सुग्घर ठाउँमा ईश्वरका फूलहरू निश्छल मुस्कान लिएर उदाउँछन् भन्ने कथ्यबाट पहिलो कविताले आकुँरा हाल्छ । हरहृदय अलौकिक छन् र तिनमा पवित्र भावना बोकेर अवतरित हुन्छन् ईश्वर भन्ने कविताको मूल मर्मले धर्तीका सबै कुरा ईश्वरकै पुष्परूपी वरदान हुन् भन्ने अन्तर्य सङ्केत गर्छ ।

कविका लागि यो धर्तीका जीवजन्तु, मानवका सन्ततिदेखि स्वर्गको फूल मानिएको ‘पारिजात’ पनि ईश्वरको मुस्कान हो जसलाई प्रभातका किरणले फक्राउने मात्र गर्दैन धर्तीमा विलय गराउन पनि प्रस्ताव गर्छ । फूलहरूको मूकता (किन बोल्दैनन् फूलहरू ?) र अप्रतिक्रियात्व (किन जुधाउँदैनन् आँखाहरू ?) जस्ता फूलका प्राकृत प्रवृत्तिले वाणीको अपाङ्गता बेहोर्नुपरेका मानवदेखि वाक्य बसेको अवस्थामा पुगेका वृद्धहरू वा स्वमग्न स्नायविकता (अटिजम) भएका मानवसम्मका दशाभित्र ईश्वरकै बास छ र आफै ईश्वर नबनीकन तीभित्र सत्तासीन ईश्वरसँग साक्षात्कार हुँदैन भन्ने प्राञ्जल उद्घोषण गरेका छन् कविले ।

हराउनेहरू कवितामा जीवनको क्षणभङ्गुरताको दर्शनलाई काव्याङ्कित गरिएको छ । धनसम्पत्ति, मान्छे, नाम, पहिचान, मुटुका धड्कन, इमानका केकुरा यहाँ सासदेखि आशासम्म हराउँछन् भन्ने यो कविताले एकातिर निराशाको सन्देश दिएको छ भने अर्कातिर प्रवास (मुङ्लान) मा हराइरहेको कविको जवानीदेखि स्वदेशमा कविका बाको आँखाको चमक र आमाको ओठको मुस्कान हराएबाट कविको मनमा हराउनुको सबैभन्दा ठुलो छाप दर्सिएको छ ।

छोरी र पातहरू कवितामा कविले मानवसन्ततिलाई छोरी र वनस्पतिका सन्ततिलाई पातका विम्ब बनाएर पस्केका छन् र उनी भन्छन्: ”म कल्पनासम्म गर्न सक्दिनँ पातविनाका रुख अनि छोरीविनाको म” । नेपालले भोगेको सशस्त्र द्वन्द्वको विद्रूप चित्राङ्कन कविले ‘हो बुद्ध मेरो देशमा जन्मेका हुन्’ भन्ने कविताबाट गरेका छन् । उनी बुद्धसँग द्वन्द्वबाट आफ्नो घायल शरीरको अवस्था सुनाउँछन् र भन्छन्: पिठ्युँभर चुच्चे ढुङ्गा गडेका छन्, आँखाबाट लत्पतिँदो आँसु रक्ताम्मे छ र फोक्सो निसास्सिएको छ धुवाँको मुस्लोबाट । आफूमाथि यस्तो ज्यादती बेहोरेरै भए पनि बुद्ध मेरो देशमा जन्मेका हुन् भन्नचाहिँ युगौँयुग पाइने गरी युद्धान्तको मानवीय याचना गरेका छन् कविले ।

कति सानो विषयमा कविले सार्थक कविता सिर्जन्छ भन्नेचाहिँ उनको ‘सम्बन्ध ढल्न सक्छ’ भन्ने कविताले दर्शाउँछ । सम्बन्धमा रहने र सम्बन्धबाट छुट्टिने मानिसका स्वच्छन्द रहरलाई यो कविताले कसिलो व्यङ्ग्य गरेको छ । कविले सम्बन्ध मानिसको स्वेच्छाको अधीनमा नभएर सम्बन्धका अधीनमा मानिस विवश हुन्छ भन्ने कुरा दर्साउँदै सम्बन्धको आफ्नो कुनै स्वतन्त्रता नहुने र सुरक्षित पनि नरहने प्रकृतिलाई सरलतापूर्वक चित्रित गरेका छन् । फेरि ‘स्वाद’ कवितामा पुगेर चाहिँ कविले सम्बन्धको स्वादको खोजी गरेका छन् र मानवसम्बन्धको सेतु विचार हो र विचार नमिल्दा नै सम्बन्ध स्वाहा हुने निचोडमा कवि पुगेका छन् ।

सङ्ग्रहमा रहेका सबै कविताले कुनै न कुनै हिसाबले मानव संवेदनाको कुरा गर्नु सिटौलाको काव्यिक चेतना हो भन्ने देखिन्छ । सङ्ग्रहका पुछारमा रहेको जीवन र मृत्यु कवितामा सिटौलाले जीवन र मृत्युको सार्वभौमिकता चित्रण गर्न खोजेका छन् । उनी मुस्कुराउँदा कोपिलामा जीवनको र क्षितिजपारि पुगेर विलय भएका सूर्यास्तका किरणको अवसानमा मृत्युको अनुभूति गर्छन् । उनी हर चिजको आयुको आरम्भलाई जीवन र अन्त्यलाई मृत्यु भनेर परिभाषित गर्छन् ।

 

काव्यकारिता

कवितासङ्ग्रह गद्य कविताको पेटारो हो त्यसैले त्यसमा छन्द र लयको खोजी गर्नुको कुनै प्रयोजन छैन । तथापि, कविता काव्यपरम्पराको उपज हो र पद्यात्मक र साङ्गीतिक झङ्कारको रमरम नसामा पाठक/भावकलाई लट्ठ्याउनु कुनै पनि कविताको जादूगरी शक्ति हो । यस हिसाबले सिटौलाका छोटाछोटा कविता अनेक किसिमका अनुप्रास र रस सिर्जना गर्नमा सफल छन् । कवितामा प्रकृतिबाट अनेक विम्बहरू दोहन गर्दै सिटौला तिनका माध्यमबाट मानवसंवेगहरूलाई तरङ्गित गर्ने शैलीमा कविता बनाउँछन् ।

सिटौलाका हर कविताले छुने ठाउँ मानिसको मन वा संवेदना हो; देशप्रेम, मानवता र प्रवासित मनमुटुका मनोदशालाई उनले कवितामा धेरै ठाउँमा उरालेका छन् । उनका कविताले हास्यव्यङ्ग्यको हलुका तरङ्ग होइन,  करुणा र मानवताको अनुरागको गहिराइमा मानव चेतनालाई धकेल्ने चेष्टा गरेका छन् । यस हिसाबले उनका हर कविता भावकका चित्तवृत्तिमा करुणा उत्पादन गर्न र मानवहृदयमा भावविह्वलतालाई उराल्न सफल छन् ।

 

अन्त्यमा,

सिटौलाका ईश्वरका फूलहरू कवितासङ्ग्रहका कविता साहित्यको शास्त्रीय समालोचनाका लागि अनुकूल सिर्जना हुन् । एक स्वाभाविक साहित्यानुरागी पाठकका रूपमा उनका कविता पढ्दा मलाई परेको छापहरूको लर्को मात्र हुन् माथिका अनुच्छेदहरू । यो कुनै समालोचना होइन; एउटा कठोर मनधारक पाठकमा परेको उनका कविताको छाप हो; उनको कवित्वले पार्न सकेक डाम हो । म यति मात्र भन्छु समकालीन साहित्य-समालोचकहरूले उनका कविताको समीक्षा, मीमांसा र विवेचना गरिदिनुपर्छ जसले उनी अरू कविता लेख्न उत्प्रेरित होऊन् । जीउ विदेशी भूमिमा रहँदा पनि मनभर नेपाल र नेपालीलाई राखून्  अनि नेपाली साहित्यको भँडारलाई अरू समृद्ध बनाउनमा उनी तल्लीन रहून् ।  कवितासङ्ग्रहको अग्रलेखमा सिटौला आफैले लेखेजस्तै: उनका मनका आकाशमा घना बादल मडारिइरहोस् र कविताको वर्षा भइरहोस् अव्यक्त रूपमा होइन व्यक्त रूपमा, सन्देश र भावोत्पादनसाथ । अस्तु ।