
सत्ता युद्ध भन्ने हो भने त्यो ईश्वरीय सत्ताको रूपमा हेरिएको छ । कर्तव्यलाई युद्ध र अज्ञानलाई शत्रु मानिएको छ । वास्तवमा दोस्रो सर्गबाट नै कथाले स्थूल रूप (भाव कथा ?) ग्रहण गर्दछ ।
‘एकमात्र’ महाकाव्य कवि हरिभक्त सिग्देल ‘महेश’को ‘एकमात्र’ विचारसंग्रह, ‘एकमात्र’ गद्य कवितासंग्रह र ‘एकमात्र’ पद्य कविता पछि प्रकाशमा आएको अर्को कृति हो । यस अघिका कृतिमा झैं कवि यसमा पनि ‘एकमात्र’ दर्शनको श्रृंखलामा छन् । दर्शनको जग पूर्वीय साहित्य हो, दर्शनको क्षेत्र अध्यात्म र दर्शनको सार ‘एकमात्र’ हो ।
समकालीन नेपाली साहित्यमा दर्शन पछि परेको छ, त्यसमा पनि अध्यात्म दर्शन अरू पछि छ, त्यसको पद्यात्मक प्रस्तुति त झनै शिला खोज्नुपर्ने अवस्थामा छ । उनको काव्यिक कर्म महाकर्ममा पुगेको छ र उनी महाकाव्यकार बनेका छन् । महाकाव्य एउटा अत्यासलाग्दो उपलब्धि हो, भनिए झैं दर्शनलाई काव्यश्लोकका केस्राकेस्रामा प्रस्तुत गर्नु सानो प्रयत्न र प्रतिभाले पुग्दैन । महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो महाकाव्य ‘शाकुन्तल’को ‘वक्तव्य’मा महाकाव्यलाई ‘आइसल्यान्डको सर्प’ भनेका थिए ।
आइसल्यान्डमा जीवजन्तु नै जिउनको जटिल सङ्घर्षमा हुन्छन्, सर्प त दुर्लभ हो, सितिमिति पाउनै सकिंदैन । साहित्य वाङ्मयमा उतिवेला पनि महाकाव्यको अवस्था यस्तै थियो, अहिले पनि त्यस्तै छ । अध्यात्मबाट करिब विच्छेदित समाजमा अध्यात्म केन्द्रित महाकाव्य कति जटिल छ, यसका साक्षी हामी सबै छौ । त्यसैले हरिभक्त सिग्देल ‘महेश’ ‘एकमात्र’ मात्र लेख्छन्, अध्यात्म मात्र लेख्छन् । उनको लगाव र चिन्तन ‘एकमात्र’मा छ ।
महाकाव्य महान् काव्य हो जसको कथावस्तु, नायकत्व, देशकाल र वातावरण एवं उत्कृष्ट शैली हुन्छ । आदिकवि वाल्मीकि रचित रामायणमा उल्लिखित गुणहरू भएकाले यसलाई पहिलो लिखित महाकाव्यमा लिने पूर्वीय परम्परा छ । होमरका ओडेसी र इलियाड पाश्चात्य साहित्यका आदि महाकाव्य हुन् । उतिखेरका महाकाव्यहरू र आजका महाकव्यका रूपरूप, पात्र, परिवेश र शैलीमा धेरै परिवर्तन आइसकेको छ । किनकि जीवन–जगतका धेरै कुराहरू परिवर्तन भैसकेका छन् । काव्यिक कार्य पनि जीवन र समयसापेक्षलाई पहिल्याउँदै अघि बढ्छ ।
महाकाव्यका आदि पात्रहरू आदर्श, वीर, पराक्रमी हुने गर्दथे । जस्तो कि रामायणमा राम, महाभारतमा कर्ण, बुद्ध चरितमा सिद्धार्थ बुद्ध । ठूला र आदर्श व्यक्तिका कथामा आधारित भएर नै महाकाव्य लेखिन्थ्यो, जस्तो कि कालीदासको ‘रघुवंश’ र ‘कुमारसम्भव’, भासको ‘कर्णभारम’, माघको ‘शिशुपाल वध’, श्रीहर्षको ‘नैषदीय चरित’ लाई पञ्चम महाकाव्य भनिन्थ्यो । यी पञ्चम महाकाव्यले महाकाव्यको चरित्र कस्तो हुनुपर्छ, शिल्प र कला कसरी संयोजन गरिनु पर्दछ र संरचना र प्रस्तुति कस्तो हुनुपर्छ भन्ने उदाहरण दिएका थिए । यी महाकाव्य आफै महाकव्यका मानक थिए । त्यसैले पञ्चम महाकाव्य कहलिए ।
पाश्चात्य साहित्यमा पनि पूर्वी साहित्य परम्परा झैं महाकाव्यलाई लिने गरिएको पाइन्छ । पश्चिमी साहित्यमा महाकाव्यलाई पहिलो पटक विस्तृत परिभाषा गर्ने आचार्य आरस्तुका अनुसार कथात्मक अनुकृतिको प्रधानता, षटपदी छन्द (हेक्सामिटर), दुखान्त कथानक, घटनाक्रमको पूर्णता सहित कथावस्तु भएको हृदयस्पर्शी वर्णनबाट पाठकमा आनन्द दिन सक्षम काव्य महाकाव्य हो । पाश्चात्य साहित्यको पहिलो महाकाव्य होमरको ‘इलियड’ (ईशा पूर्व बाह्रौं–आठौं शताब्दीतिर) मा दश वर्षे ट्रोजन युद्धको कथामा उल्लिखित मान्यताहरू देखिन्छन् । उनको अर्को महाकाव्य ‘ओडेसी’मा पनि पात्र महान् (नोवेल वर्थ) छ, उसमा महान् कार्य गर्ने उत्साह र शक्ति छ, वीरता देखाउँछ, चातुर्यता देखिएको छ, घटनाक्रमको कुशलतापूर्वक संयोजन छ ।
होमरको मान्यतामा वीरमाथि मात्र महाकाव्य लेखिन्छ, त्यो सामाजिक वर्गको उच्च घरानाको मानिस हुने नै भयो, उसले ईश्वरीय शक्तिका कारण चरित्रार्थ देखाउँथ्यो । होसियाडले पनि होमरले झैं काव्यको उद्रेक दैवी प्रेरणा हो भनेका छन् । तर कविताको प्रयोजनमा उनी होमर भन्दा फरक दृष्टि राख्दछन् । उनका अनुसार ज्ञान आर्जन वा शिक्षा काव्यिक प्रयोजन हो ।
पूर्वीय दृष्टिकोण कव्यको प्रयोजन आत्मिक आनन्द र पाश्चात्य दृष्टिकोणमा सामाजिक उपयोगितामा रहेको छ । तर दुवैको साझा विन्दु आदर्श हो । महाकाव्य रचनामा पनि यो स्पष्ट देखिन्छ । सारमा भन्दा महाकाव्यमा उदात्त कथानक, उदात्त कार्य वा उद्देश्य, उदात्त चरित्र, उदात्त भाव र उदात्त शैली हुनुपर्दछ । तर समयको अन्तराल, सामाजिक–सांस्कृतिक परिवर्तन र शासन दर्शनको गतिशीलताले महाकाव्यको प्रयोजन र अभ्यासमा व्यापकता आएको छ । महाकाव्यका सामाजिक र प्रायोगिक आयामहरू परिवर्तन भएका छन् । तर महाकाव्यका संरचनागत आधारमा भने आधार मूल्यका रूपमा रहेका छन् ।
आफ्नो महाकाव्यको सम्बन्धमा महाकाव्यकार हरिभक्त सिग्देल ‘महेश’ भन्छन्, ‘यो एकमात्र महाकाव्य गीता, उपनिषद्हरू र वेददर्शन, पुराण, त्रिपिटक, बाइबल, कुरान पढ्ने फुर्सद नभएका जिज्ञासुहरूलाई वेदान्त दर्शन, ब्रह्मसूत्र, गीता र उपनिषद्हरूका साथै त्रिपिटक, बाइबल, कुरान समेतको सार संक्षेपले लक्ष्य गरेको ‘एकमात्र’ ज्ञान सहज प्राप्ति होस् भन्ने उद्देश्यले रचना गरिएको हो ।’
कविको भनाइले उनको महाकाव्यको आधारभूत कुरालाई स्पष्ट पारेको छ । पहिलो, महाकाव्यको प्रयोजन स्पष्ट पारेको छ । ‘एकमात्र’ दर्शन दिनु महाकाव्यको प्रयोजन हो । दोस्रो, धार्मिक–आध्यात्मिक ग्रन्थहरू पढ्न फुर्सद नभएकाहरूलाई लक्ष्य गरी लेखिएको छ । यसका पाठक र प्रयोजन सन्दर्भलाई यसले पुष्टि गर्दछ । तेस्रो, वेदान्त दर्शन, गीता उपनिषद्हरूलाई मुख्य आधार मानेर इश्वरीय सत्ताको दृष्टिकोण प्रस्तुत गरिएको छ । जीवन–जगतको सृष्टिकर्ता ईश्वर हो र ईश्वरीय सत्ता नै ब्रह्माण्डको सञ्चालक हो भन्ने सन्देश छ ।
चौथो, अरू धर्म–सम्प्रदाय, ग्रन्थ–दर्शनलाई ‘समेत’ भनेर ब्रह्मसूत्रको सार हिन्दू दर्शनलाई लिइएको छ । मुख्यतः सनातन वेदान्त दर्शन प्रधान हो, अरूलाई ‘समेत’ मा राखिएकोले यो स्पष्ट हुन्छ । यसले सनातन वैदिक दर्शन अन्य धर्म सम्प्रदायको पनि आधार स्रोत हो भन्ने आधारमा सनातन हिन्दू आध्यात्मिकता केन्द्रबिन्दूमा राखेको छ । र पाँचौं, ‘एकमात्र’ दृष्टिकोण वा ईश्वर एकमात्र छ, जहाँ जहाँ छ, जुन नाममा ठाउँमा छ त्यो एकै हो भन्ने निष्कर्ष निकालिएको छ । अद्वैतवादलाई पुष्टि गरिएको छ । ईश्वरको नाममा कोही कहीं विभाजित हुनु व्यर्थ छ, किनकि ईश्वर एकमात्र छ । धेरै हुने ईश्वर हुन सक्तैन । त्यो एकमात्र छ र यसलाई चिन्न आत्मिक चेत चाहिन्छ भन्ने चेतना कविले दिएका छन् ।
विभिन्न शास्त्र र श्रुतिहरूमा छरिएका नीतिहरूलाई एकै एकै स्थानमा राखेर सबैलाई एकै स्थानबाट ज्ञान दिन नारदमुनिले महाकवि वाल्मीकिलाई अनुरोध गरेका थिए भन्ने कहावत छ । यस्तो कार्यलाई महायज्ञ सरह पुण्य कार्य भनिएको थियो । कवि हरिभक्त सिग्देल ‘महेश’ को अन्तस्करणले यस्तै पुण्य कार्यका लागि अभिप्रेरणा दिएको छ ।
कवि ‘महेश’ को एकमात्र माथिको आफ्नो दृष्टिकोणमा महाकाव्यको संरचनागत पक्षलाई पनि पुष्टि गरिएको छ । महाकाव्यको मङ्गलाचरणमा नै वैदिक सनातन दर्शनलाई आधार मानी धर्मसम्प्रदायलाई ‘एकमात्र’ मा तानिएको छ, वेदान्त दर्शनलाई यही चरणबाट मूल मर्ममा स्थापित छ । काव्यकारको अभिमुखीकरण, जीवनपृष्ठ र भोग–अनुभव निरपेक्ष सिर्जना हुन सक्तैन । मङ्गलाचरण, प्रार्थना र समर्पण महाकाव्यका औपचारिक प्रवेश सन्दर्भ हुन्, यी सबैमा महाकाव्यकारले परमात्मा वा ब्रह्मलाई वैदिक आध्यात्मिकताबाट हेर्ने दृष्टिबिन्दु राखेका छन् ।
धर्म, जात, देश र अरू धेरै नाममा देवता अज्ञानका सिर्जना हुन् । एकमात्र सत्यले त्यो विभाजन र सङ्कीर्णतालाई स्वीकार्दैन । कवि भन्छन् :
‘एकमात्र छ त्यो सत्य धर्म रूप र जातको
चुँडाली ती सबै नेल समाज देश भेषको ।
सीमाना अनि रेखा यी छुद्र कोर्दछ रक्तले
मेटिन्छन् ती सबै रेखा एकै देख्दछ भक्तले ।।’ (पहिलो सर्ग, ८६)
प्रथम सर्ग ज्ञान, चेतना, आत्मा–परमात्मा, ईश्वर, प्रकृति र सत्यको चिनारी गर्दछ, ज्ञानको उद्घाटन गर्दछ । जीवन–जगत्, जाति–प्रजाति, र हिंसा–अहिंसाको उल्लेख गर्दछ । शरीरलाई नाशवान् र परमात्मा प्रकृतिलाई शाश्वत भन्दछ । दृश्यसत्य र आत्मसत्यको विभेद कोर्दछ र आत्मिक सत्य पहिचानको आग्रह गर्दछ । आत्मिक सत्ता र जैविक सत्ताको विभेद गरेर नै मानिस आफूबाट विमुख छ भन्ने सङ्केत गर्दछ । सङ्कुचन वा अज्ञानबाट मुक्त हुने मार्ग देखाउँछ ।
‘न जान सक्छ टाढा उ न पस्न सक्छ भित्र ऊ
आत्मा यो छ भनी टाढा क्षितिज पारी हेर्छ ऊ ।
आफैभित्र छ यो आत्मा भित्र हेर्ने भए मन
यत्ति बुझे भयो मुक्त सर्वत्र उही गुञ्जन ।।’ (प्रथम सर्ग, ८३)
प्रथम सर्गले महाभारत युद्धको पृष्ठ प्रवेश गराउँछ । दोस्रो सर्ग युद्ध, आशक्ति, लोभ, क्रोध, द्वन्द्व, निराशा, माया, ममतामा दोलायमान छ । कृष्ण अर्जुनको ज्ञानसंवाद छ । युद्धको आग्रह छ र बेचैनी छ । त्रुटि र विनाशको कथा छ । सत्य र असत्यको सन्दर्भ छ । चिन्ता र चिन्तन छ । ज्ञान र अज्ञानको मथाई छ । मर्ने, मार्ने, सृष्टि संहारमा एउटा अदृश्य शक्तिको निरन्तर क्रम भएको व्याख्या कृष्ण गर्छन् र अर्जुनलाई ज्ञान दिन्छन् । त्यो ज्ञान सत्य र युद्धका लागि हो । युद्ध भौतिक रूपमा देखाइएको छ तर त्यो आत्मिक हो र आत्मिक युद्धको प्राप्ति पनि आत्मिक ज्ञान हो भन्ने सङ्केत छ ।
‘न शस्त्र काट्क्ष आत्मा न आगोले जलाउँछ
न गलाउँछ पानीले न हावाले सुकाउँछ ।
अच्छेद्य छ नि यो आत्मा न छोडिन्छ यो कसैगरी
न जल्ने, न त यो गल्ने न शोसिने घरी घरी ।।’ (दोस्रो सर्ग, ३९)
‘आत्मा नित्य सधैं हुन्छ, अटल र सनातनी
के चिन्ता गर्नु आत्माको अज्ञान जडता भनी ।
अव्यक्ति छ नि यो आत्मा अचिन्त्य अविकार नि
आत्माको चिन्तामा डुब्छौ अर्जुन किन व्यर्थ नि ।।’ (ऐ ४०)
कृष्ण अर्जुनलाई युद्ध, कर्म, कर्तव्यका रूपमा बुझाउँछन् । उनको भनाइ भौतिक युद्धको प्रसङ्गको भएजस्तो देखिए पनि सारमा त्यो कर्तव्य हो, धर्मरक्षा हो । महाभारतको यस युद्धलाई धर्मयुद्धका रूपमा लिइएको छ, न कि सत्ता युद्ध । सत्ता युद्ध भन्ने हो भने त्यो ईश्वरीय सत्ताको रूपमा हेरिएको छ । कर्तव्यलाई युद्ध र अज्ञानलाई शत्रु मानिएको छ । वास्तवमा दोस्रो सर्गबाट नै कथाले स्थूल रूप (भाव कथा ?) ग्रहण गर्दछ ।
तेस्रो सर्ग ज्ञान, श्रद्धा अनि अहङ्कार अनि मदोन्मत्ताको प्रसङ्गबाट शुरू हुन्छ । कर्म र ज्ञानलाई प्रधानतामा राखेर श्लोकहरू ज्ञानसूत्रमा अगि बढ्छन् । धुवाले अग्नि ढाकेसरी अज्ञानले मस्तिष्कको विवेकलाई ढाक्छ । तर आगोले सबैलाई भष्म गरेसरी ज्ञानले विकृतिलाई सखाप पार्न भगवान् कृष्ण अर्जुनलाई उपदेश दिइरहेका छन् । यो सर्ग पूरै ज्ञानयोगको सर्ग हो । महाकाव्य पूरै (भागवतगीता) ज्ञान र कर्मयोगको सूत्र हो । यस सर्गमा ज्ञान र कर्मलाई आशक्ति र तृष्णाबाट अलग्याइएको छ ।
‘आशक्ति जब नासिन्छ बन्ध मोक्ष सबै त्यजी
देहाभिमान आत्माको प्रेम छुट्टै बुझेपछि ।
चित्त मन भए सत्य साक्षी बन्छ चराचर
व्रह्मरूप छ यो यज्ञ होम बस्तुनिरन्तर ।।’ (तेस्रो सर्ग, ३५)
तर ज्ञानलाई आशक्तिले थिचेको छ । कृष्ण ज्ञान कर्मको कुरा भन्दै जान्छन्, अर्जुनका प्रश्नमा आशक्ति छ, आग्रह पनि छ । भुल्न नुहुने कुरा के हो भने अर्जुन र कृष्ण सामान्य पात्र नभएर अर्जुनलाई मानव र कृष्णलाई ईश्वरको बिम्ब बनाइएको छ । मानिस कर्मले ईश्वर बन्न सक्छ भन्ने ज्ञानसन्देश दिइएको छ । संसार केही आशक्ति र केही कर्तव्यमा विभक्त छ । प्रतिस्पर्धी शक्ति हुनु पनि प्रकृति नै हो । तर अभीष्ट भने परमात्मा हो, जो शाश्वत र अन्तिम शक्ति हो । महाकाव्य यसैको पुष्टि गर्न श्लोक–सूक्ति, सूत्र–सार, बिम्ब–विचार र उपमा–उद्धरण गर्दछ ।
चौथो सर्ग अध्यात्मको व्याख्या गर्दछ । यो कृषि अर्जुनको अध्यात्म संवाद हो, मानौं गुरुशिष्य संवाद । आफूलाई भुलेर आत्मनिष्ठ, ब्रह्मनिष्ठ र विस्तृत विवेचित भएर सोच्न अर्जुनलाई आग्रह गरिरहेका छन् । आध्यात्मिक चिन्तनले व्यक्ति परमपदमा पुग्छ । तत्वज्ञानमा पुग्नु अध्यात्म हो । सांसारिक भ्रमबाट प्रकृति वा परमपदमा पुग्नु आध्यात्मिकता हो । महाकाव्यकार ‘महेश’ ज्ञान विज्ञानको गहिराइमा पुग्न आफ्नो प्रधान (मुख) पात्र मार्फत विषय प्रस्तुत गरिरहेका छन् । विज्ञान र ज्ञानको मथाइमा उनी जन्म–मृत्युलाई जैविक सन्तुलनको चक्रीय प्रक्रियामा लिन्छन् तर आत्मलाई शाश्वत अविनाशी तत्त्व मान्दछन् ।
पाँचौं सर्ग अर्जुन कृष्णबाट थप ज्ञान प्राप्त गर्ने आग्रहमा छन् । अर्जुनमा ज्ञानको भोक गहिरिंदै गएको छ । कृष्ण पनि अर्जुनको जिज्ञासा पूरा गर्न उत्साही छन् । अर्जुनमा कौतूहल छ । सबै शक्ति स्वरूप कृष्णमा छ भने यो लीला किन ? कृष्ण सर्वज्ञानी भएपछि सम्पूर्ण कुराका कारक उनी नै भए, उसो भए सांसारिक कार्य किन ? तर अर्जुन कृष्णका ज्ञानसुक्ति प्रति लीन हुँदै गएका छन् । कृष्णको विश्वरूप, दिव्यरूप, शक्तिरूप देख्छन् । त्यो अलौकिक रूप बिम्बात्मक छ, प्रत्यक्ष पनि छ । पाठकहरू यसलाई दुवै रूपमा बुझ्न सक्दछन् । प्रत्यक्ष अर्थमा चाहिं विश्वरूपको दृश्यपछि अर्जुन धर्मयुद्धमा तयार हुने पृष्ठभूमि बन्यो । यसो भनौं विश्वरूप नै अर्जुनलाई युद्ध तयारीको लागि देखाइएको थियो । ज्ञानका चार आयाम देखाइएको थियो । सञ्जयको बखानले कृष्णशक्ति विस्तारित र विवेचित छ ।
छैठौं सर्गमा पनि कृष्ण अर्जुन संवाद जिज्ञासा र ज्ञान प्रवाहमा सलल्ल्ल छ । वैराग्य र अहङ्कार हटाएर शुद्ध मनले तत्वज्ञान प्राप्त गर्न सकिन्छ । आत्मा र प्रकृतिको एकाग्रताले मानिसलाई सृष्टि श्रेष्ठ बनाउँछ । मुख पात्रबाट कवि महेश भन्छन् :
‘सम्पूर्ण प्राणीमा भित्र बहिर्जग सबैतिर
चराचर सबै वूर्ण टाढा नजिकका घर ।
अत्यन्त सूक्ष्म यो तत्त्व मुस्किल बुझ्नमा छ
सर्वत्र सूक्ष्म वा स्थूल टाढा नजिक हुन्छ यो ।।’ (छैठौं सर्ग, १५)
सातौं सर्गमा स्वार्थ समर्पण, परमात्मा प्रेम र त्यागका सूक्तिसूत्रहरू छन् । सन्यासको सन्देश पनि छ । तर यहाँ एकाग्र कर्म नियतलाई सन्यासका रूपमा लिइएको छ ।
‘त्यो राजस सबै त्याग मिल्ने छैन कुनै फल
नैतिक अझ अध्यात्म बरु घट्ने छ है बल ।
अर्जन गर कर्तव्य आशक्ति फलका विना
सात्त्विक कर्म यो हुन्छ सात्त्विक अभिव्यञ्जन ।।’ (सातौं सर्ग, ४७)
अरू सर्ग पनि परमात्मा, परब्रह्म, ब्रह्मज्ञान, प्रकृति चेतना र कर्म कर्तव्यका दर्शन दिइरहेका छन् । सबै श्लोकहरू ज्ञानसूत्र बनेर परब्रह्मलाई देखाइरहेका छन् । जहाँ भगवान् कृष्ण दर्शनधारा बगाइ रहेका छन् । कुन्तीपुत्र अर्जुन सुनिरहेका, सोचिरहेका छन् । र अन्तस्करणको सुख, अध्यात्मको चेत वा शून्य आनन्दको अनुभूति गरिरहेका छन् ।
‘शून्यमा कत्ति आनन्द अभ्यास यसमै गरौं
फाल्तु चिन्तन छाडेर शून्य आनन्दमा रमौं ।
न बार घर कुनै केही व्यवहार विपक्ष हो
सत्य हुने सुख छैन जीवन लक्ष हुन्न यो ।।’ (आठौं सर्ग, २३)
सुख, लालसा र तृष्णामा दौडिने चञ्चल मनलाई आत्मिक बसमा पार्न अध्यात्मचेत याने कि शून्य चेतमा पुग्न कवि आग्रह गर्छन् । गीता दर्शनलाई प्रधान रूपमा राखेर अन्य धर्मदर्शनको सारलाई पनि अनन्त एकत्व वा परमात्माको विन्दुमा ल्याउनु महाकाव्यको अभीष्ट हो । सारमा महाकाव्य ‘एकमात्र दर्शन’ को सारमा छ ।
अग्नि, वायु, ज्योति, आकाश र प्रकृतिलाई उपमामा राखेर ज्ञान, चेतना र प्रज्ञाको व्याख्या महाकाव्यले गरेको छ । सृष्टि चक्रको आवर्त औंल्याइएको छ । त्यसैले अभिव्यक्ति सरल भए पनि अर्थ सम्प्रेषण जटिल र ग्रहण झनै जटिल हुने स्थिति पनि छ । पाठकलाई समानान्तर धारमा राखेर हेर्न सकिंदैन पनि । तर कवि सरल शब्द सन्धान र सरस प्रस्तुतिमा चुकेका छैनन् ।
सृष्टिसत्ता एकमा केन्द्रित छ । त्यसैले त्यही एकको पुष्टिमा सबै सर्ग र श्लोकहरू सतत छन् । उपमा, उद्धरण, शास्त्र, सिद्धान्त जे जसरी प्रयोग भए पनि ‘एकमात्र’ लाई सिद्ध गर्नु नै तिनको अन्तर्य हो । ‘एकमात्र’ चेतमा पुग्न चेतना, ज्ञान र शक्तिका द्वार महाकाव्यले देखाएको छ । आत्मचेतमा पुगेपछि मुक्ति प्राप्त हुन्छ । त्यसैको प्रकाश महाकाव्य हो, कवि र मुखपात्र त्यसैलाई प्रकाश पारिरहेका छन् ।
पूरै महाकाव्य पढिसक्दा पाठकलाई द्विविधा पनि पर्न सक्छ । भ्रममा पुर्याउन बेर लगाउँदैन । सारा सृष्टिको कर्ता एकै छ, सञ्चालक एकै छ, संहारक एकै छ, निर्माण विनिर्माणको शक्ति एकै छ भने राम्रो नराम्रो, शुभ अशुभ, सिर्जना विध्वंसका कार्य किन भएका होलान् ? किन युद्ध भएको होला ? सम्पत्ति र शक्तिका लागि किन उछिनापछिन भएको होला ? यी सबैको आत्मबोध गर्ने चेतना ब्रह्मचेत हो, त्यसैको अवेधमा नै संसार जलिरहेको छ । ब्रह्मचेतले शून्य आनन्दमा पुग्न, आत्मिक शक्तिमा पुग्न कर्म र कर्तव्य गर तर आशक्ति नगर भन्ने शब्दसूत्र महाकाव्यभरि छन् ।
अनुष्टुप् छन्दबाट शुरू भएर अनुष्टुप् छन्दमा टुङ्गिएको, शास्त्रीय विधान अनुसार सर्गान्तमा अरू छन्दहरू प्रयोग गरी अर्को सर्गको आरम्भ सङ्केत गर्ने ‘एकमात्र महाकाव्य’ मा अन्य शास्त्रीय विधान र अवयव सन्धान मान्यता अनुरूप छ भन्न सकिने र नसकिने अवस्था छ ।
कथानक उदात्त छ भन्न सकिन्छ पनि, सकिंदैन पनि । किनकि कथालाई वृहत् भावभूमिमा राखिएको छ । कथाभन्दा विचारको वर्षा छ । धेरै प्रश्नहरूको एकल उत्तर छ । प्रश्न–उत्तर कथाका अवयवमा छन् । विचारहरू विस्तृत, वैश्विक, रोचक र वैविध्यपूर्ण छन् । कथाभूमि पौराणिक छ, काल्पनिक होइन । चरित्रहरू उदात्त छन् । तर महाभारतका सबै पात्रहरू पृष्ठमा छोपिएका छन्, देखिएका छैनन् । मुख्यपात्र वा नायक कृष्ण हुन्, उनी धिरोदात्त, सासही, वैभवशाली, कुलीन र यशस्वी छन् ।
धेरै पात्रको प्रतिनिधित्व अर्जुनले गरेका छन् । अलौकिक शक्ति परब्रह्म सृष्टि कारक–विनाशक भएकोले परब्रह्मलाई महानायक भन्न सकिन्छ र सहायक पात्रहरूका प्रतिनिधि (मानव पात्र) अर्जुन हुन् । फलाप्ति परमात्माचेत वा ब्रह्मज्ञान हो, यसैलाई आधार मानेर टुङ्ग्याइएको छ । भावभूमि यसको परिवेश हो, जुन सीमाहीन (व्यापक) छ । महाकाव्यको आधार लौकिक वा अलौकिक दुवै भन्न सकिन्छ । विचार दृष्टि भने एक हो ‘एकमात्र’ ।
‘एकमात्र दर्शन’ बाहेक अरू धरै कुरा पनि माहकाव्यले दिएको छ । मानव जातिको लालसा सीमाहीन छन्, नियन्त्रण गर भनिएको छ । समभाव र समावेशिता स्थापित गर्न खोजिएको छ । नाम, गाम, थर, गोत्रलाई परिचयको सानो भाग मानिएको छ, समग्र मानव पहिचान एक हो भन्ने देखाइएको छ । वैश्विकचेत छ । मानव मात्र होइन, गैरमानव, चराचरहरूको प्रकृतिचक्र (कवि यसलाई सृष्टि चक्र मान्दछन्) छ । जैविक विविधता र यसप्रतिको सम्मान छ । नैतिक शिक्षा त जताततै देखिन्छ ।
छन्द विन्यासका लागि भएका प्रयोगले शिल्प र विचारलाई सधैं समर्थन गरेका छैनन्, यदाकदा भत्काएका, अवरोध गर्न खोजेका छन् । प्रवाह शैलीलाई रोक्न खोज्छ । गीता आफै क्लिष्ट छ, त्यसलाई काव्यिक सरलतामा लेखेर त्यसको रस पाठकलाई दिनु आफै सत्कर्म हो । तर यसको जटिलता पनि छ । दर्शन आफै क्लिष्ट हो, संस्कृत काव्यसंरचना झनै क्लिष्ट हो । ‘एकमात्र’ ले त्यहाँका कति भावना दर्शन समेट्यो त्यो अलग कुरा, तर जति समेट्यो सरलतासाथ समेट्यो ।
सनातन समाजमा गीताको विषयमा थोर बहुत सबैले बुझेका छन् (बा बुझेको भनिरहेका छन्) । गीताको बुझाई साधनामा भन्दा शब्दमा, अर्थमा भन्दा कर्मकाण्डमा बुझ्ने समाज ठूलो छ । गीताका अध्येता-व्याख्याता देवी प्रसाईले गीताका सन्देश (दर्शन) लाई चौध संक्षेत्रमा औंल्याएका छन् ।
(१) कर्म, अकर्म र विकर्म,
(२) क्रोध, लोभ र मोह,
(३) प्रकृति, पुरुष र पुरुषोत्तम,
(४) यज्ञ र कर्म,
(५) पुण्य र पाप,
(६) कर्म र कर्म न्यास,
(७) सिद्धि र असिद्धि,
(८) विषम र समभाव,
(९) प्राप्त र अपमान,
(१०) सांख्य र कर्मयोग,
(११) क्षर, अक्षर र क्षरातीत,
(१२) आफैमा सब र सबैमा आफू,
(१३) कर्ता र अकर्ता र
(१४) ज्ञान, दान र तप ।
त्यस्तै अष्टावक्र गीताले एकताको दर्शन, ज्ञान, सरलता, स्वतन्त्रता, शुद्धता र समर्पणको दर्शन राख्दछ । नेपाली समाजमा सबैले नाम लिने गीता भागवत गीता हो । कृष्ण र अर्जुनको ज्ञान संवाद गीता हो, जनक र अष्टावक्रको संवाद चाहिं महागीता । अष्टावक्र गीता अध्यात्म दर्शनका हिसाबमा बृहत् छ तर यो क्लिष्ट छ, धेरैले पढ्न सक्दैनन् । त्यसैले यहाँ गीताको कुरा मात्र उल्लेख गरिन्छ । एकमात्र अर्जुन कृष्ण संवादमा आधारित दर्शनको नेपाली शब्दसागर हो ।
गीताका दर्शनलाई एकमात्रले सरल रूपमा नेपाली कवितामा ल्याएको छ । ‘एकमात्र’ ले ईश्वर एक हो भन्छ । मनलाई ब्रह्मलीन गराए पवित्रता रहन्छ र कार्य एकाग्रता हुन्छ भन्ने दर्शन गीतामा छ । यसलाई ब्रह्मदर्शन, अध्यात्मदर्शन वा एकत्व दर्शन जे भने पनि हुन्छ । ‘एकमात्र’ ले भन्ने अध्यात्मवाद यही हो ।
दोस्रो, लोभ, मोह र दोषबाट मुक्त भै कर्ममा लाग्ने आग्रह वा प्रज्ञा बुझेर साधना गर भन्छ । ‘एकामात्र’ का श्लोकहरूले कर्तव्य र आशक्तिलाई छुट्यार आशक्तिलिप्साहीन कर्मको सन्देश दिएको छ । नाशवान् शरीरको माग अनुरूप विषयपूर्ति गर्दै जाने हो भने पवित्रताबाट व्यक्ति विच्छेदित हुन्छ भन्ने दर्शन दिन्छ । मृत्युदेखि भयले मानिस विक्षिप्त छ, मृत्यु अवश्यम्भावी छ तर भयका कारण मानिस त्यसलाई स्वाभाविक मान्न सकिरहेको छैन । त्यसो, गीता र एकमात्र दुवै कविता हुन् । काव्यिक कार्यको हेतु त हुन्छ तर भाव तथा लक्षणाहरू आआफ्नै ढङ्गले बोक्ने र पाठकहरूले आआफ्नै आवश्यकता र चेतनामा बुझ्ने गर्दछन् ।
कवि स्वयम् गीताका पाठक हुन्, हामी गीता र एकामात्र दुवैका पाठक हौं । दृष्टि–दर्शनमा सम्प्रेषण भेद रहने सम्भावना स्वाभाविक छ । तर महकाव्यकार ‘महेश’ ले धेरै अर्थग्रहण गरी धेरै सम्प्रेषण गरेका छन् । भागवत गीताका श्लोकहरूले ‘अनेकतामा एकतत्व र एकत्वमा पनि अनेकता’ को दर्शन दिएको छ । ‘एकमात्र’ को अभीष्ट र प्रयोजन पनि एकत्व हो । ईश्वर एक छ, परब्रह्म एक छ । ब्रह्मचेत वा अध्यात्मले मानिसलाई पूर्ण सन्तुष्टिमा पुर्याउँछ । कवि यसलाई ‘शून्य आनन्द’ भन्न रुचाउँछन् ।
आफ्ना रचनाहरू गद्य, पद्य, महाकाव्य जतासुकै ‘एकमात्र’ लाई स्थापित गर्न लागेका हरिभक्त सिग्देल ‘महेश’ एकमात्र महाकाव्यमा बेग्लै रूपमा प्रयोग भएका छन् । महाकाव्यका पारम्परिक मान्यता र संरचनाहरू यहाँ परिष्कार भएका छन् । अध्यात्मविच्छेदित र यान्त्रिक हुँदै गएको समाजमा वैदिकज्ञान र गीता भावसागरलाई सरल ढङ्गले काव्यमा प्रस्तुत गर्न कवि सफल छन् । पाठकले यसलाई एकमात्र आत्मिक निष्ठाको सन्देश, अध्यात्मको माला, मानवताको शिक्षा र ईश्वरीय समभावका रूपमा लिने छन् । अझ भनौं भागवत गीताको नेपाली काव्यका रूपमा लिने छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
