विषय प्रवेश

साहित्यकारले आदि कालदेखि नै रमणीय स्थानको यात्रा गर्ने गरेको र यही यात्राको क्रममा आफूले टेकेको भूमिको रमणीयता तथा इतिहासका बारेमा लेखेर आफ्नो विचार अभिव्यक्त गरेको पाइन्छ । कालिदासको साहित्यमा यात्रा वर्णन पाइन्छ । ह्वेन साङ्गले पनि आफ्नो नेपाल यात्राको वर्णन गरेका छन् । सम्राट् अशोकको कपिलवस्तु भ्रमण आदि इतिहास पुरुषहरूले गरेको भ्रमणले ऐतिहासिक मूल्य राख्ने गर्छ । यस्ता यात्रा साहित्य लेखनमा तत्कालीन समाजको विवरण पाइन्छ  र यही विवरणबाट इतिहासकारहरूलाई तत्कालीन समाजका बारेमा अनुसन्धान गर्न सहयोग मिल्ने गरेको छ ।

मानव सभ्यताको इतिहास पल्टाएर हेर्ने हो भने मानिस जाति घुमन्ते युगबाट यायावर बनेर एक ठाउँबाट अर्को ठाउँ बसाइँ सर्दै गएको पाइन्छ । यसरी मानिसको बसाइँ सराइको कथा इतिहासमा पढ्न पाइन्छ । निर्मोही व्यासले यात्रा लेखनलाई ऋग्वेदसँग जोडेर इन्द्रले हरिश्चन्दकाे छोरा रोहीतलाई यात्रा गर्न उत्प्रेरित गरेको प्रसङ्ग उल्लेख गरेका छन् (‘यात्रा साहित्यको सिद्धान्त’ २०७०) ।

त्यस्तै ईसा पूर्व तेस्रो शताब्दीमा लेखिएको स्टोरी अफ वेनामुललाई पहिलो यात्रा पुस्तक भनिएको छ र यो इजिप्टबाट हराई सकेको भाषा (डेथ ल्याङ्गवेज) मा लेखिएको थियो जसलाई सन् १८९१ मा इजिप्टमा गरिएको उत्खननको बेला प्राप्त भएको थियो । यसबारे इतिहासकार हेरोडोटसले पनि चर्चा गरेका छन् (स्टोरी अफ वेनामुन, विकिपिडिया) । भारतमा पहिलो यात्रा पुस्तक मलायलम भाषामा लेखिएको भर्थमान पुस्तकलाई मानिन्छ ।  सन् १७९० मा केरलाका धर्मगुरु परेभक्कल थोमा काथानारले आफ्नो एक वर्षको पानी जहाजबाट गरिएको यात्राको बारेमा यस पुस्तकमा लेखिएको छ । केरलाबाट पानी जहाजमा मद्रास, सिलोन (श्रीलङ्का), दक्षिण अफ्रिका, पोर्चुगल, लेटिन अमेरिकाबाट रोम पुगेका थिए । यो पुस्तक हराएर धेरै समयसम्म बेवास्ता गरिएपछि सन् १९३५ मा पुनः प्रकाशन गरिएको थियो ।

मानव जाति प्रकृति र सौन्दर्य प्रेमी हुने गर्दछन् । यही सौन्दर्यको खोजीमा मान जातिले देशाटन गरेको देखिन्छ । अनि आफूले टेकेको र देखेको सौन्दर्य अनुभूतिलाई यात्रा साहित्यमा मुक्त भावले अभिव्यक्त गरेको पाइन्छ ।

निबन्धका दुई प्रकार (आत्मपरक र वस्तुपरक) मध्ये वस्तुपरक अर्थात् वस्तुका बारेमा बयान  गरेर यात्रा विवरण वा यात्रा साहित्य लेखिन्छ । यात्रा साहित्यमा देशाटन गरेर साहित्यकारको चक्षुले देखेको, भोगेको र अनुभव गरेका वस्तुहरूलाई अभिव्यक्त गर्ने गर्दछ ।

यात्रा साहित्य निबन्धको आधुनिक रूप हो । यो नैबन्धिक गुणले भरिएकोले निबन्धकै एउटा रूप मान्न सकिन्छ । यसमा निबन्धको जस्तै स्वछन्दता, आत्मीयता, निजात्मकता आदि गुणहरू पाइन्छ । यही निबन्ध शैलीको एउटा रूपलाई यात्रा साहित्य भनिन्छ  । यात्रा साहित्यमा निजी यात्रा अनुभवलाई अभिव्यक्त गरिन्छ अनि यो नियात्रा बन्ने गर्छ ।

यसको लेखनमा लेखक चक्षुले अवलोकन गरेको रमणीय अनुभव अभिव्यक्त भएको हुन्छ र यही लेखकको रमणीय अनुभवलाई पाठकले आत्मसात् गर्न सके मात्र यात्रा साहित्यलाई सफल मानिन्छ । यात्रा साहित्यमा यात्रीले आफ्नो यात्राको प्रत्येक स्थान र क्षेत्रमा त्यहीँ ठाउँ/स्थानको संयोजन गर्दछ जसलाई यात्रीले  अद्भुत सत्यका रूपमा ग्रहण गरेको हुन्छ ।

त्यहीँ सत्यका बारेमा सुनेका कुराहरूले यात्रीको मनभित्रको भावलाई परिष्कार गरेर त्यहीँ सत्यलाई आफ्नो भावमा मिसाएर सत्य चेतनाका साथ अभिव्यक्त गरेको हुन्छ । जसलाई पाठकले भावविभोर भएर लेखकको यात्राको सत्यलाई आत्मसात् गर्दै आफै नै त्यो आनन्दको क्षण प्राप्ति गर्न आतुर हुन थाल्छन् । त्यसैले यात्रा साहित्यका लेखकलाई संवेदनशील भएर पनि निरपेक्ष हुनु पर्छ अन्यथा त्यो यात्रा साहित्य यात्री हाबी भएर आत्मसंस्मरण वा यात्रा विवरण हुन जान्छ ।

नियात्रा भनेको साहित्यको यात्रा हो । यो बाहिरको साहित्य (आउटडोर लिटरेचर) हो । प्रकृति लेखन (नेचर राइटिङ) हो । यो यात्राको सम्झनाको टिपोट (ट्राभल मेमोरिज) हो । यसलाई यात्रावृतान्त, यात्रा निबन्ध, यात्रा संस्मरण पनि भनिएको पाइन्छ । यात्रा साहित्य नैबन्धिक गुणले भरिएकोले निबन्धकै एउटा रूप मान्न सकिन्छ । यात्रा गर्ने पर्यटनशील व्यक्तिले नयाँ नयाँ ठाउँमा गएर नयाँ नयाँ कुरा थाहा पाउन सक्छ । त्यसैले यी नयाँ कुराहरू यात्रा लेखनमा वर्णन गरिन्छ र पाठकले ती नयाँ कुराहरूका बारेमा थाहा पाउने गर्छन् ।

पौराणिक युगमा नारायण देवलोक र पृथ्वी लोकको भ्रमण गरेर देवगण र असुरगणका कुराहरूको आदान प्रदान गर्ने गर्थे । त्यसैले नारायणलाई विद्वान मानिन्थ्यो । गौतम बुद्धले पनि यात्रा गरेर ज्ञान पाएर बुद्धत्व प्राप्त गरेको कुरा हामीले पढेका छौँ । भारतीय विद्वान राहुल सांंकृत्यायनले ‘घुमक्कडशास्त्र’ लेखेर प्रसिद्धि पाएका थिए भने उनको ’भोल्गा से गङगा‘ मा यात्रा वर्णन पाइन्छ ।

नेपाली साहित्यमा तारानाथ शर्मालाई उनको ‘बेलायततिर बरालिँदा’ले पहिलो नियात्राकार बनाइदिएको थियो ।

लैनसिंह बाङ्देललाई आधुनिक नियात्रा लेखनका जनक मानिन्छ ।  उनले दार्जिलिङबाटै दियालो पत्रिकाबाट  नियात्रा लेखन प्रारम्भ गरेको देखिन्छ । सन् १९५७ (विसं २०१४) मा  नै उनको ‘युरोपको चिठ्ठी’ प्रकाशित भई सकेको थियो ।

= = =

कलाकार कृष्णमुरारी

माथिका प्रसङ्गहरू यस विधामा पहिलो पटक कलम चलाउने कृष्णमुरारी ढुङ्गेलको पहिलो कृति ‘होहाहोला’ पढेपछि यात्रा साहित्यका बारेमा जानकारी बटुल्न खोजेको मात्र हो । कृष्णमुरारीलाई मैले पहिलो पटक चालिसको दशकमा पुरानो बानेश्वरका भाइहरूले गर्न लागेको नाटकको निर्देशनका लागि अनुरोध गर्दा मेरो डेरा नजिकै रहेको एउटा घरमा नाटकको पूर्वाभ्यास गर्दा भेटेको थिएँ । त्यस नाटकमा धेरै युवाहरू पहिला पटक नाटकमा अभिनय गर्दै थिए । सम्भवतः कृष्णको पनि त्यो पहिलो नाटक थियो कि ? त्यसपछि कृष्णलाई नाटक र टेलिचलचित्रमा नियमित देख्न थालेँ ।

त्यसपछि उनी प्रज्ञा प्रतिष्ठानको लेखा शाखामा जागिरेका रूपमा देखा परे । त्यसपछि उनी हास्यव्यङ्ग्य प्रहसनसँगै नाटक र टेलिचलचित्र, टेलीश्रृङ्खलामा कतै कलाकार त कतै निर्देशक भएर अभिनय यात्रा गर्दै गएका थिए ।

त्यसपछि अचानक कृष्णलाई मैले अमेरिकामा ए.एन.ए. को कार्यक्रममा भेट्ने मौका पाएँ । अनि अ.ने.सा.स. को कार्यक्रममा कविता वाचन गर्दा सुन्ने मौका पाएँ । उनले अ.ने.सा.स. कोलोराडो शाखाको अध्यक्ष भएर साहित्यिक कार्यक्रमको आयोजना गरेर कोलोराडोमा निर शाह, डा. ध्रुवचन्द्र गौतम, विनोद दीक्षित, महेश आचार्य अनि मलाई समेत निम्ताएर साहित्यिक सम्मान गरेको सम्झना छ ।

२०१८ जुनमा मैले क्यानडाको विश्व प्रसिद्ध नियात्रा फल्सअगाडि उत्तर अमेरिकाको सीमा वारिपारि काव्य सङ्गमको  आयोजना गर्दा कोलोराडोबाट ज्ञानेन्द्र गदालसँग कृष्णमुरारीको पनि सहभागिता रहेको थियो ।  कविताप्रति रुचि राख्दै कविता कोर्दै प्रकाशित गर्दै अनि सुनाउँदै आएका कृष्णमुरारीले कविता सङ्ग्रह प्रकाशित गर्ने जमर्को गर्दै आएको बारे मलाई पनि सुनाएका थिए । तर अचानक उनको नियात्रा सङ्ग्रह हात पर्यो । देशाटन गर्न रुचाउने कृष्णमुरारीले नियात्रा सङ्ग्रहका माध्यमबाट आप्रवासमा बसेर नेपाली साहित्यको ढुकुटी भर्ने काम गरेका छन् ।

नेपालमा कृष्णको ‘काली गण्डकीको सेरोफेरो’ एक सफल र हेर्नै पर्ने टेलिश्रृङ्खला हो । अविनाश श्रेष्ठको कथा पटकथा संवाद रहेको यस टेलिश्रृङ्खला काली गण्डकीको प्राकृतिक सौन्दर्यतालाई लोभ्याउने तरिकाले छायाङ्कन गरेको छ । अमेरिकामा रूपान्तरण भएका कृष्णमुरारी अमेरिकाको मञ्चमा पनि सक्रिय भएर लागेका थिए । तर भाषाको तगारोले गर्दा प्रतिभाशाली नेपालका कलाकारले चाहेर पनि अमेरिकामा आफूलाई स्थापित गराउन सकेका छैनन् ।

आजको मितिमा यात्रा साहित्य लेख्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ । नयाँ नयाँ यात्रा साहित्यका पुस्तकहरू प्रकाशित हुँदै छन् । भर्खरै गैर आवासीय सङ्घको भाषा साहित्य शाखाले ‘यात्राःनियात्रा’ सङ्ग्रह प्रकाशित गरेको छ । एकापसलाई लिनदिनका लागि यात्रा साहित्यको नाममा नयाँ नयाँ पुरस्कार घोषणा हुँदै छ । यस्तै परिस्थितिमा कृष्णमुरारी ढुङ्गेल होहाहोला लिएर यात्रासाहित्यको लाममा उभिएका छन् ।

= = =

होहाहोलाको अध्ययन वृत्तान्त

२०७८ असोजमा कृष्णमुरारी ढुङ्गेलको पहिलो साहित्य सन्तानको रूपमा होहाहोला, यात्रावृत्तान्त फिनिक्स बुक्सको प्रकाशनबाट अवतरण गर्यो । एक सय छपन्न पृष्ठमा बिस पृष्ठमा विषय सूचि, आफ्नो कुरा र भूमिका रहेको छ भने बाह्र पृष्ठमा आफू डुलेका सहरमा खिँचिएका रङ्गिन तस्बिरहरूले ओगटेपछि बाकी रहेको एक सय तेइस पृष्ठमा एक पृष्ठ खाली छोडिएपछि बाँकी रहेको एक सय बाइस पृष्ठमा विभिन्न पन्ध्र वटा शीर्षक राखेर लेखिएका यात्राका रोचक विवरण र प्रसङ्गहरूका बारेमा पढ्न पाइन्छ ।

यसमा लन्डनका ससुरा शीर्षक रहेको तीन पृष्ठको विवरण सबैभन्दा सानो रहेको छ भने पेरिसको सेरोफेरो शीर्षकमा उन्नाइस पृष्ठको विवरण सबैभन्दा लामो रहेको छ । कृष्णमुरारीको यात्रा वृत्तान्तको भूमिकामा आख्यान पुरुष आदरणीय गुरु डा. ध्रुवचन्द्र गौतमले चार जनाको टोलीले गरेको युरोप भ्रमणमा पाठक पाँचौँ सदस्य भएको अनुभव हुन्छ भनेका छन् । वास्तवमा यो नियात्रा पढ्न थालेपछि कृष्णको टोलीसँग आफू पनि गाँसिएको झैँ लाग्ने गर्छ ।

भ्रमणको थालनी सन् २०१९ को सेप्टेम्बर ५ बाट सुरु भएर १३ मा गएर टुङ्गिन्छ । दुई जोडी चार प्राणी आठ हातखुट्टाका साथ पाइला बढ्दै जान्छ । आँखाले अवलोकन गर्दै जान्छ र मनले सन्तुष्टि पाउँदै जान्छ । यात्राको आनन्द भनेको न यही हो । ‘होहाहोला’ शीर्षक राखेर प्रकाशित भएको यस नियात्राका बारेमा आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतमले खुलेर प्रशंसा गरेका छन् । तर शीर्षकको सार्थकताका बारेमा कौतुहलता उब्जाएर आफ्नो भूमिका टुङ्ग्याएका छन् ।

त्यसैले मेरो लेखनको थालनी म शीर्षकबाटै सुरु गर्दै छु । बेलायत, फ्रान्स, इटाली, रोममा गरिएको यात्राको रोमाञ्च विवरण पस्कने क्रममा लेखकले इटालीको भ्रमणबाट थाहा पाएका भाषिक उच्चारण दोषलाई पुस्तकको शीर्षकमा रोजेका छन् । नेपालमा केही नेवारी समुदाय जसरी ‘त’ अनि ‘ट’ को उच्चारणमा अलमलिन्छन् त्यसरी नै इटालीमा ‘क’ अनि ‘ह’ को उच्चारणमा दोष देखिएको बारे  रमाइलो प्रसङ्ग राखेका छन् । इटालीमा ‘क’ लाई ‘ह’ भनी उच्चारण गरिन्छ ।

लेखक इटालीको एउटा पसलमा कोकाकोला किन्न जाँदा लेखक र पसलेका बिच एउटाले कोकाकोला छ भनेर सोध्ने र अर्कोले होहाहोला छ भन्ने गरेको रोचक प्रसङ्ग नै पुरुतकको शीर्षक बन्न गएको छ । झट्ट हेर्दा ‘होलाहोला’ जस्तो पढिने र लेखक स्वयम् एक स्थापित हास्य कलाकार भएको नाताले पनि शीर्षक ‘होहाहोला’ नभएर ‘होलाहोला’ नै हो जस्तो लाग्नु स्वाभाविक नै हो ।

लेखकले लेखनको शुभारम्भ आफू अमेरिकामा आउने माध्यमबाट सुरु गरेर परिवारलाई पनि यसमा जोड्दै लगेका छन् । यसमा लेखकको आफ्नो जीवनको विगत र आगतलाई केलाएर लेखनको थालनी गरेका छन् । अगस्त ३१, २०१९ का दिन आफू र आफूले दाइ भनी सम्बोधन गर्ने मोहन मिश्र (कलाकार मोहन मिश्र चाहिँ होइनन्) अनु र सरीता, दुई दम्पती डेनभरबाट प्रस्थान गरेर लन्डनबाट भ्रमणको प्रारम्भ बिन्दु बनाउँछन् ।

लण्डन भ्रमणको क्रममा उनले संवैधानिक  राजतन्त्र रहेको लन्डनको विकासलाई देखाउँदै नेपालको राजतन्त्रको सम्झना गर्दै राजनीतिक विसङ्गति औंलाउँदै पहिले एउटा रहेको नेपालमा अहिले धेरै राजाहरू रहेकोले व्यक्तिगत विकास भएकोप्रति व्यङ्ग्य कस्ने काम पुस्तकभरि गरेको पाइन्छ । त्यस्तै उनले नेपाली रङ्गमञ्च तथा चलचित्रका सशक्त हस्ति हाल लन्डनमा गोर्खा क्लबको नामबाट रेस्टुरेन्ट व्यवसाय गर्दै आएका मनिस श्रेष्ठलाई भेटेको प्रसङ्ग पनि समेटेर मनिस अहिले पनि कला क्षेत्रमा सक्रिय रहेको देखाएका छन् ।

लन्डनबाट भ्रमणको सुरुवात भए पनि वास्तविक भ्रमण भने फ्रान्सको पेरिसबाट भएको देखिन्छ । लेखकले आफूले टेकेको मुलुक र सहरको विकासको तुलना जन्मथलोसँगै गर्दै छयालिस सालपछि आएको राजनीतिक विसङ्गतिलाई दोषी बनाउन बिर्सेका छैनन् । यसरी मुलुकको अस्थिर राजनीतिक विसङ्गतिको प्रभावले  देशमा अराजकता बढ्दै गएको र त्यसको प्रभाव देश विकास र जनतामा पर्ने गरेकोले युवा पलायनको कथा व्यथाका बारेमा मैले पढेका प्रायजसो नियात्रामा पाउने गरेको छु । देशको वास्तविकता देखेकोले कृष्णमुरारी पनि नेताहरूप्रति व्यङ्ग्य कस्न चुकेको छैनन् ।

१९९४ मा बनेको लन्डनदेखि पेरिस चल्ने पानी भित्र चल्ने रेल, फ्रान्सको आइफल टावरदेखि स्वीजल्र्याण्डको लुर्सेनको सौन्दर्य लेखकले जता जे देखेपछि त्यसलाई नेपालसँग दाँज्ने र कतै हिमाल त कतै पोखराको तालसँग दाँज्न पनि पछि परेका छैनन् । नेपाललाई स्वीजल्र्याण्ड बनाउने सपना बाँड्ने नेताप्रति वितृष्णा वमन गर्न पनि छोडेका छैनन् ।

लाग्छ नेपाललाई मुटुमा च्यापेर भ्रमण गरेको हो । नियात्राबाट पाठकले लेखक डुलेको सहरका बारेमा राम्रो जानकारी पाउने गर्छन् । यसका पनि पाठकले धेरै जानकारी पाउने छन् । केही जानकारी त टुर गाइडले सहरको वर्णन गर्ने बेला त्यसको इतिहास खोतलेर देखाइ दिन्छन् भने केही जानकारी लेखक स्वयमले अध्ययन गरेर राख्ने गरिन्छ । यसका पनि लेखकले भ्रमणको क्रममा थाहा पाएका नयाँ नयाँ कुराहरू पाठकसमक्ष बाँड्दै गएका छन् ।

इटालियन चित्रकार लियानार्दो दा भिन्सिको विश्व प्रसिद्ध मोनालिसाको चित्रलाई बारम्बार इटालीले चोर्ने र फ्रान्सले फर्काउने रोचक प्रसङ्गको चर्चा गरेका छन् । सन् १९८६ को विश्व कप फुटबलको जिङ्गल धुन, लियानार्डो डा. भिन्सीको प्रसङ्ग, रोम, मिलान, भेनिस, फ्लोरेन्स मिलेर इटाली बनेको कुरा, अचम्म र कलात्मक पानीको सहर भेनिसको बयानसँगै १८० वटा आईल्याण्ड (टापु) रहेको सहर जहाँ डुँगा मात्र यातायातको  साधन हुने गर्छ, रोमलाई सङ्ग्रालयकाे सहर भन्नु पर्ने कारण, विश्वको तेस्रो ठुलो केथेड्रालको चर्चा, विश्व प्रसिद्ध मोनालिसाको चित्रको बारेमा रोचक प्रसङ्ग, फ्लोरेन्स शहरबाट बैंकिङ्ग व्यवस्थाको थालनी, विश्वकै सानो देश भेटिकन सिटी र दोस्रो सानो देश  मोनाको बारे जानकारी, विश्वको प्रसिद्ध अत्तर फेक्टरी, यस्ता धेरै जानकारीका साथै इटालीलाई युरोपको बिहार भन्नुको कारणबाट लिएर भ्रमणमा पिसाब फेर्नुको समस्याका कारण कतै मेक डोनाल्डमा खानै पर्ने त कतै एक युरो तिर्नु पर्ने धेरै रोचक प्रसङ्गहरू आएका छन् ।

लेखक आफू एक हास्य कलाकारका रूपमा रहेकोले आफ्नो लेखनमा त्यसको छाप पनि छोड्दै गएका छन् । भ्रमणको क्रममा टुर गाइड केन्जो र टुर ड्राइभरका बारेमा  उनीहरूको भाउ भावलाई पनि कलमले उतारेका छन् । यस्तै रोचकताले गर्दा लेखकको भ्रमण विवरणले पाठकमा कौतुहलता बढ्दै जान थाल्छ अनि एउटा भ्रमणपछि सुरु हुने अर्को भ्रमणका बारेमा जान्न उत्सुकता बढ्न थाल्छ ।

कृष्णमुरारीको यात्रामा भएका घटनाहरूले पाठकको मनमस्तिष्कमा उनीहरूसँग भएको घटनालाई पुनः ब्युँताउने गर्छ ।  मोहन मिश्रले पासपोर्ट बिर्सेको रोचक प्रसङ्गले मलाई सन् १९९३ बहुदलको आगमनपछि  पाकिस्तानमा भएको दक्षिण एसियाली सांस्कृतिक महोत्सवमा सर्वनाम र जन सांस्कृतिक मञ्चको सहभागिता रहेको थियो । कार्यक्रमपछि पाकिस्तानबाट फर्कने क्रममा हामी हवाई जहाजमा बसी सकेपछि जे.बि. टुहुरेजी आएर साम्दे शेर्पाको पासपोर्ट हराएकोले ऊ फर्कन नसकेको बारे जानकारी गराउनु भयो । कस्तो हुस्सु मान्छे आफ्नो पासपोर्ट पनि राम्ररी नराख्ने ? पायो नि दुःख ? भनेर फलाक्नु भयो । तर काठमाडौँ पुगेपछि राती टुहुरेजीले फेरि फोन गरेर रावतजी साम्देको पासपोर्ट त मेरो सुटकेसमा पो रहेछ भनेको सम्झना गरायो ।

लेखकले आफ्नो भ्रमणको क्रममा पाठकलाई आफ्नो अतीतसँग पनि जोड्दै लगेका छन् । इटालीमा पुग्दा फुटबलको  विश्व कप र डियागो म्याडोना आउनु र त्यससँग पत्रकार गोबिन्द वर्तमान जोडिनु, अर्नो नदीको सुन्दरता देखेर बाग्मती विष्णुमती सम्झनु, राजतन्त्र भएको मुलुकको प्रसङ्ग आउँदा नेपालको राजतन्त्र सम्झनु र दलबाट बनेका नयाँ राजाहरूलाई सराप्नु आदि धेरै ठाउँमा तिक्तता आएको छ । त्यस्तै भेनिसको तालमा हिन्दी चलचित्र ग्रेट ग्याम्लर (अमिताभ र जिनत आमन) अनि आर्नो नदीमा सागर चलचित्रको (ऋषि कपुर र डिम्पल) सम्झनु आदिबाट हिन्दी चलचित्रप्रतिको ज्ञान र रुचिबारे थाहा पाउन सकिन्छ ।

पुस्तकको अन्त्यमा पाठकलाई आफू डुलेको सहरको मनमोहक फोटोहरू राखेर लेखकले आकर्षक पार्न खोजेको देखिन्छ । तर आफूसमेत नाटकको कलाकार भएका लेखकले रोमको एम्पी थिएटरका बारेमा जानकारी गराए पनि आफू सशरीर उपस्थित रहेको एम्पी थिएटरको फोटो भने राख्न चुकेका छन् । रङ्गमञ्चका कलाकारको लागि एम्पी थिएटर तीर्थ जस्तै हो । एम्पी थिएटरका बारेमा अध्ययन नगरेसम्म विश्व रङ्गमञ्चका बारेमा जानकारी पाउन सकिँदैन । एउटै फोटो दोहोरिँदा पनि एम्पी थिएटरको नहुनु खल्लो अनुभव हुन्छ  । हुन त नियात्रा पुस्तकमा लेखकले फोटो राख्न रुचाउँदैनन्  र राख्दैनन् पनि । अपवादमा नराखेका पनि हैनन् ।

प्याकेज भ्रमण फ्रान्सको पेरिसबाट शुरु भएर अन्तिम दिन पेरिसमा नै आएर टुङ्गिन्छ । यो  नौ दिनको भ्रमणमा विभिन्न मुलुकबाट सहयात्री बनेका क्यानडाका  मलकिन सिंह दम्पती, न्युजिल्याण्डका आदिवासी जोडी, अस्ट्रेलिया कि एकल महिला, फिलिपिनी आमा छोरी, मोरक्कोका पूर्व राजपरिवारका हजुरआमा र नातिनी आदि धेरै सहयात्रीहरूसँग लेखक समूहको आत्मीयता र नजिकता बढ्दै गएको देखिन्छ । सिख दम्पतीले वाइन खुवाउनु र सँगै गफ्फिएर रमाइलो गर्दै जानु जस्ता प्रसङ्गहरू धेरै पटक भएको छ । जसले भ्रमणलाई पारिवारिक बनाइ दिन्छ ।

त्यसैले भ्रमणको अन्तिम दिन क्यानडाका सिंख दम्पती मलकिन सिंह र सुरजित कौरसँगको बिछोडको कारुणिक दृश्यलाई आँसुले बयान गर्दै गरेको दृश्य कारुणिक बनेको छ । नौ दिनको सहयात्राबाट जन्मिएको मानवीय नातालाई निरन्तरता दिन एक अर्काले टोरन्टो र डेनभर भ्रमणको निम्तो दिएर टुङ्गिन्छ । यसरी भ्रमणले पनि नयाँ सम्बन्ध जन्माउँछ भन्ने कुरा पनि लेखकले देखाउन खोजेका छन् । तर पेरिसबाट सुरु भएको यस पुस्तकको यात्रा वृत्तान्त पेरिसमा नै पुगेर टुङ्गिए पनि लेखक समूहले आइफल टावर नचढ्नु भने विस्वाद लाग्छ ।

यो लेखकको नियात्रा लेखनको पहिलो प्रयास हो भने नेपाली साहित्यको ढुकुटीमा थपिएको पहिलो पुस्तक पनि बनेको छ । आफूले पहिलो पटक गरेको यात्रा वृत्तान्तलाई लिपिमा उतारेर भ्रमणलाई चिरस्थायी बनाउन  यो पुस्तक जन्मेको हो । पहिलो प्रयासमा केही त्रुटिहरू नदेखिएका हैनन् । मुख्यतः लेखन शैलीमा एकरूपता देखिँदैन । कतै लेखकको ठाडो भाषा मुखरित भएको छ भने कतै बोलीचालीको भाषा आएको छ । लेखनमा एकरूपता पनि खट्किएको छ ।

त्यति हुँदा पनि भाषामा क्लिष्टता देखिँदैन भने सलल बगेको भाषामा आफूले देखेको, अनुभव गरेको र भोगेको यात्रा वृत्तान्तलाई लिपिबद्ध गरेर हामी पाठकलाई शाब्दिक भ्रमण गराउन सफल भएका छन् ।