टिप्पणीकार र ‘निर्मुक्त’ कवितासङ्ग्रहका स्रष्टा कवि डा. नवराज न्यौपाने दुवै नेपाली साहित्यका उपासक हुनुको नाताले हरेक जसो कुराकानीमा नेपाली साहित्य र यसका विविध आयामहरूबारे छलफल भइरहने गर्छ । डा. न्यौपाने नेपाली साहित्यको कविता विधामा नयाँ पात्र होइनन् भन्ने मलाई थाहा थिएन । एकदिन,  नेपाली गजलको साधनाको परम्परा र हाल विकसित अवस्थाका बारेमा कुराकानी चल्दै गर्दा अन्त्यतिर एक्कासि सोधे,- “अँ साच्ची विनोदजी, ‘निर्मुक्त’ पढ्नुभो ?” गजलकै प्रसङ्ग चल्दा अकस्मात आएको प्रश्न लगत्तै सोचेँ- गजलमा यस नामको त कुनै सङ्ग्रह छैन जस्तो लाग्छ । उनले मेरो जवाफ नफर्किँदै थपे,- “कविता सङ्ग्रह क्या !” डा. न्यौपाने स्वयम्को गद्य कविता सङ्ग्रह रहेछ ‘निर्मुक्त’।

केही दिनपछि नै मैले डा. न्यौपानेबाटै कोशेलीका रूपमा ‘निर्मुक्त’ पाएँ ।  यस कवितासङ्ग्रहबाट डा. न्यौपानेको प्राध्यापक र गजलकार बाहेकको अर्को पहिचान “कवि” पनि रहेछ भन्ने प्रष्ट भयो । यस सङ्ग्रहमा कविले आफ्नो काव्यिक चेतनाको उत्कृष्ट उडानलाई उन्मुक्त ढङ्गले सफल विचरण गराएका छन् । मलाई लाग्दैन कि उनको यो उन्मुक्त उडान यत्तिमै अवतरित हुनेछ । ‘निर्मुक्त’ आफूलाई एक सफल काव्यचालकका रूपमा उभ्याउन सफल भएको मेरो ठहर छ । काव्यिक रसस्वादनमा सदैव अतृप्त रहने यस टिप्पणीकारलाई कवि डा. न्यौपानेले यस कृतिमा भन्दा बढ्ता कुन हदसम्मको उत्कृष्ट कौशल हामी पाठक माझ प्रदर्शन गर्लान् भन्ने खुलदुली लागिरहेको छ ।

“म सबैको केन्द्रविन्दु थिएँ

    सबै सन्ततिहरू

    आआफ्ना अर्धव्यासका वृत्त बनाउँथे

    … मेरो सिँगारपटारमा

    सम्पूर्ण परिवार लागिपर्थ्यो

    … ब्युझेँ म झल्याँस्स

    हेरेँ चारैतिर

    पाएँ आफूलाई

    एक्लो एक्लो र रित्तो रित्तो…”

यस्ता धारिला कवितामार्फत कविले अतीतको पुनर्स्मृति गर्छन् । सपना विघटनको निराशा पोख्छन् र कल्पित खुशी प्रतिको मोह दर्शाउँछन् । आफ्ना कविताहरू मार्फत कवि कहिले धरतिलाई आमा र  प्रकृतिलाई ईश्वरका रूपमा अर्थ्याउँदै मानव जातीलाई आमा र ईश्वर सामु आफ्नो दायित्वप्रति सचेत रहन सम्झाउँछन् ।

सङ्ग्रहमा अटाइएको एउटा मीठो कविता हो “बूढो घर” जसले देशमा बढिरहेको अनियन्त्रित बसाइँसराइले उजाडिएका ग्रामिण बस्ती र पुराना घरहरूको रोदनलाई चित्रण गर्दछ ।

सङ्ग्रहमार्फत कविले आफ्नो प्रगतिशील दर्शनलाई पनि सुन्दर शिल्पमा अभिव्यक्त गरेका छन् । “विषमता” शीर्षकको कवितामा समेटिएका यी शब्दहरू यही प्रगतिशील चिन्तन प्रवाहका उदाहरण हुन् ।

 “… कुप्रा खोँचहरू

        अभिशप्त वर्तमानबिच

       वर्तमानमै तुहाउँछन्

       भविष्यको गर्भ…..

       रविरश्मिको पहिलो केन्द्र

       शिखरमै छ युगौदेखि

       माथिकाहरूले

       खोँचमा हेरेको इतिहास छैन ।”

यहाँभित्र एउटा रोचक कविता छ “कवि कोकिला” नामको । जसले कविताको जन्म कसरी हुन्छ र कति चुनौती पार गर्दै कविता अङ्कुरित हुन्छ भन्ने बडो प्रायोगिक पक्ष समेट्छ । हुन सक्छ यो कविता कविको कल्पनामा होइन भोगाइमा आधारित छ । विभिन्न कविताहरू मार्फत कविले पीपल, पानी र पहाडका महिमा वर्णन गर्दै आफूलाई स्वच्छन्द गतिमा सयर गराएका छन् । मरुभूमिको प्राणी मार्फत निराशाका विरुद्ध आशा र हतोत्साहका विरुद्ध प्रेरणाका लागि कविको आव्हान भएको पाइन्छ ।  कविले कतै आफैँलाई  मिथकीय सिसिफससँग तुलना गर्छन् त कतै वैश्विक कल्याणको प्रार्थीका रूपमा प्रस्तुत गर्छन् । कविताले नछोएको र नसमेटेको पक्ष शायदै होला । जे होस् जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भने झैँ हाम्रा हर भूखण्ड, चिन्तन र प्रवृतिका कुना कुना र कन्दराहरू सम्म पुग्न यो सङ्ग्रह सफल छ ।

कुल ५५ ओटा कविता समेटेको  ‘निर्मुक्त’ गद्य कविता सङ्ग्रहलाई सुन्दर स्वदेश पब्लिकेशन, काठमाडौले प्रकाशनमा ल्याएको हो । मध्यम र बोक्न सहज आकारमा आएको यस सङ्ग्रहमा सङ्ग्रहित प्रत्येक कविताले कविको चिन्तनलाई पाठकको हृदयसम्म आनन्द र तृप्तिका रूपमा परिणत गर्दछन् । आफ्नो उच्च दार्शनिक विचारधारा, देशप्रेम, स्वच्छन्दता र अस्तित्व रक्षाको सवाललाई कलात्मक ढङ्गले कविले यस सङ्ग्रहमा कुँदेका छन् । आफ्ना शीर्षकलाई पुष्टि गर्ने कविताहरूले कविताहरूले कविको प्रकृतिमोह समेट्दछन्, विसङ्गति विरुद्धको कटाक्ष, निराशा विरुद्ध आशा,  उदासिनता विरुद्ध आव्हानलाई प्रतिबिम्बन गर्दछन् । अनुपम् कलात्मकतामा सजिएका प्रत्येक कविताहरूमा प्रतीक, बिम्ब, रूपक र अलङ्कार जस्ता काव्यिक आभूषणहरू पढ्न पाइन्छ । निर्जीव बस्तुहरूमा सजीविकरणको प्रयोगबाट कविले पाठकलाई तिनै बस्तुहरू सँग एकाकार गराउने प्रयास खुब मनपर्दो छ ।

सङ्ग्रहमा प्रकाशकीय भनाइ, लेखकीय मत र विश्लेषकीय दृष्टिकोणलाई सुरुमा नभई अन्त्यमा राखिएको छ जसले गर्दा पाठकलाई विनापूर्वाग्रह निर्मुक्त कविताको स्वाद लिन र कविताहरू प्रति आफ्नो मौलिक धारणा बनाउन सहयोग गरेको छ । सङ्ग्रहकै नाम “निर्मुक्त” भएता पनि यसै शीर्षकमा चाहिँ कुनै पनि कविता लेखिएको वा समावेश गरिएको छैन । यो प्रयोग पनि टिप्पणीकारलाई गजबको लाग्यो । सङ्ग्रह भित्रका कविताहरूमा प्रयोग गरिएका मौलिक उखान टुक्का, तत्सम र तत्भव शब्दहरू सङ्गै केही आगन्तुक शब्दहरूको प्रयोग गरिएको पाइन्छ तथापि केही आगन्तुक शब्दहरू जस्तै जीन, जेसिबि, ओजन, एटम बम, जेनजेड, ए आई, जेटिजेन, सिसिफस, अल्फा, बिटा आदिको प्रयोगले पाठकलाई काव्य रसस्वादनको मस्त प्रवाहमा अवरोध पुर्‍याउन जोखिम मैले देखेको छु । कवि डा. न्यौपाने आफू अङ्ग्रेजी साहित्यका प्राध्यापक र लेखक हुनुको नाताले पनि त्यताका शब्द यता आउनुमा मैले साह्रै अस्वभाविक मानेको चाहिँ छैन ।

जे होस्,  नेपाली कविता विधाको अनन्त आकाशमा कवि डा. न्यौपानेको यस खाले बुलन्द उपस्थितिले विधागत गरिमालाई थप उचाइमा राख्दै पाठक तथा साधकहरूलाई काव्यरञ्जन मार्फत प्रेरित गरिरहनेमा कुनै सन्देह रहेन । हाम्रा लागि अर्को खुशीको खबर पनि छ- यस सङ्ग्रहको दोस्रो संस्करण पनि हामी माझ आउदैछ । कवि डा. नवराज न्यौपानेलाई “निर्मुक्त”को दोस्रो संस्करण र आगामी दिनहरूमा सफल यात्राको लागि सुन्दर शुभकामना ।