निस्पट्ट अँध्यारो । बाँझो बारी झैँ खाली सडकमा जोडजोडले साइकल चलाइरहेको आवाज रातको खालीपनमा सामान्य भन्दा भद्र र भयानक सुनिरहेको छ । निद्रा हो वा तन्द्रा हो छुट्याउनै नसकिने, हावा नभएको भ्याक्युम जस्तो वास्तविकताका केही चीज सापटी लिए पनि त्यो भन्दा बिल्कुल फरक,  बिल्कुल भिन्नै समय र परिवेश । एकोहोरो साइकलको हिँडाइ, केही दूर अगाडि एउटा प्लास्टिक जस्तो चीज, बीच सडकमा चलमलाइरहेको दृश्यले ठप्प पारिदिन्छ । नजिकिँदै जाँदा त्यो चीज बिस्तारै एउटा गाडीको ठक्करमा परेको बिरालो हो भन्ने कुरा प्रस्ट हुन्छ। साइकल रोक्छु । नाकबाट रगतको मसिनो धारो बगिरहेको जीउको रौँ रगतमा पोतिएको त्यो बिरालो चरम पीडामा छटपटाइरहेको छ । बिरालोको नजिक पुगेर अवस्था जाँच्न के खोज्दै थिएँ एक्कासि बिरालो मेरो मुख छोप्न आइपुग्यो…..

मानौं कसैले झ्यालको पर्दा झ्वाट्ट खोलिदिएको ठीक त्यसरी एकाएक मेरा आँखा खोलिन्छन् । टेबुलमा राखेको घडी तान्छु र हेर्दा पाउँछु ८ बज्न १५ मिनेट बाँकी रहेको इङ्गित भइरहेको छ । फ्रेस हुन खाटबाट जीउ तल झार्छु ।

चियाको कप टेबुलमा टक्क तिखो आवाजमा कोठाको चार दिवारभित्र गुन्जिन्छ । भित्ताभरि विभिन्न पोस्टरहरू, टेबुलमा किताबको चाङ, डटपेन अनि नोटबूक र कापीहरूले  कुनै परिवर्तनको खोजीमा हिँडेको मान्छेको कहानी बोलिरहेको छ । चियाको गिलास मुखतिर बढाउँदै म हिजो लेखी छ‍ाडेको पानामा हेर्छु जसमा यस्तो लेखिएको छ…..१. मृत्यु मात्र एक सत्य हो, २. म आज जन्मिएको मान्छे हुँ,  ३.पूर्वाग्रहको अन्त्य,  ४.परिवर्तनको क्रान्ति भोलिबाट शुरू…

मान्छे किन परिवर्तन खोज्छ । कुन बिन्दुमा मान्छेलाई आफ्नो यथास्थितिदेखि घृणा लाग्न थाल्छ । मलाई यसको ठोस कारण थाहा छैन तर यो समय यो घडी मेरो शरीरको हरेक कोशिकाहरूले परिवर्तनको माग गरिरहेका छन् जस्तो एउटा नालायक सरकारको लापरबाहीले वाक्क खाइसकेका साधारण जनता । मेरो अस्तित्वको सबैभन्दा भित्री भागबाट शुरू भएको यो क्रान्तिको आवाज अनि किताब र साहित्यले थपिदिएको विशाल आत्मविश्वास बोकेर आज म क्रान्तिको पहिलो दिन आरम्भ गर्न गइरहेको छु ।

यस क्रान्तिको शुरूवात एउटा अनौठो एक्सपेरिमेन्टबाट हुनेछ ।

तयार भइसकेर एउटा लामो श्वास फोक्सोमा हुलेँ ।

पहिला ढोका छेउमा राखेको कुच्चो टेकेँ, दोस्रो चप्पल उल्टो पर्दिएँ, तेस्रो ढोकाअगाडि एउटा रित्तो भाँडो राखिदिएँ । बाटोमा कुनै बिरालोले बाटो काटिदियोस् भन्ने आशा बोकेर निस्किएँ ।

नाङ्गिँदै गरेका रूख, ती रूखबाट झर्दै गरेका सुकेका पातहरूले शहरमा चिसोको शुरूवातको सङ्केत दिइरहेका छन् । सुकेका पातमाथि मेरा पैताला, टेक्दै जाँदा त्यसबाट निक्लेको त्यस खसाकखुसुक आवाजले अन्य समय गर्जिरहने शहरको व्यस्तताको ध्वनिलाई लगभग निलिसकेको छ । ठोस गन्तव्य बिना पनि कसैका पाइलाहरू यत्ति गम्भीर सुनिने रहेछन् भन्ने विचारमा मस्तिष्क एक फन्का लगाउन भ्यायो । पूर्वबाट उदाएर विराट आकाशमा उक्लिँदै गरेको घाम सदा भन्दा फिक्का र कमजोर देखिन्छ । पर कतै समुद्रले छोडिदिएको चिसो सिरेटो मेरो हड्डी छिचोल्न खोज्दै छ । बिहानीको लगभग ९ बज्न लाग्दा पनि सडक बाँझो देखिन्छ, सडकपेटी मान्छेहरूको अनुपस्थितिले गमक्क छ । एक खालको अनौठो आतङ्कको नमिठो हावा नजानिंदो पारामा मेरो छालामा झिरलाग्दो स्पर्श गर्दै केही साउती गर्न खोजिरहेको छ ।

एकोहोरो बेमतलबी हिंडाइ…  ।

रूखको हाँगामा बसिरहेको एक जोडी चरा मेरो उपस्थितिले भुर्र उड्छन् । प्रतिक्रियामा रूखबाट दुई-चार वटा पात बिस्तारै हावामा बगेर मेरो हातमा ठोक्किन आइपुग्छन् र म च्याप्प एउटा पात समाउँछु ।

यो पात यो समयमा ठीक मेरो हातमा हुनुको कारण के हो ? यो कारणहरूको खेल हो वा यो बस् एउटा कोइन्सिडेन्स ? कस्तो अजिब विचार ! यो पात आखिर मेरो हातमा किन झर्नु परेको ? यो घटनाको मुख्य पात्र म हुँ वा त्यो एक जोडी चरा ? यो रूख हो कि हावा ? केही समयमा त यो पात झर्थ्यो नै तर ठीक यो समय म स्वयम् सहभागी भएको यो शून्य बराबर घटनाले मलाई यो पातसँग जोडिदियो ।

म पनि यो पात हुँ तर हरियालीले भरिपूर्ण । ममा अझै त्यो हरियो पातमा हुने उत्साह बाँकी छ….हावामा नाच्ने, चराहरूसँग साउती खेल्ने, वर्षामा भिज्ने, प्रकृतिको यो खेलमा खेल्न मन छ पेटभरि । यसैको लागि शायद म यो परिवर्तनको क्रान्तिमा उत्रिएको हुँ, आफ्नो लागि, मेरा प्रश्नहरूका लागि । यस्तै विचारहरूको भीडभाडमा ठेलमठेल गर्दै हिंड्दै थिएँ । अगाडि एउटा बिरालो फुत्त निस्कियो । तुन्द्रुङ्ग झुन्डिएको स्तन, स्याप्प सुकेको पेट भएको त्यो कालो र सेतो रौँ मिश्रित बिरालो, ठीक मेरो आँखा ताकिरहेको छ । हाम्रो यो आँखा जुधाइ चलिरहेकै थियो ।

फेरि अर्को एउटा बिरालो त्यही झाडीबाट निस्किन्छ — निक्खर कालो बिरालो ! हाम्रो आँखा जुधाइ स्थगित भयो । तर झाडीबाट बिरालाहरू निस्कने क्रम भने झन् झन् बढ्दै  थियो । म केही सतर्क हुँदै फटाफट हिँड्न थालेँ । चिसो हवाको वेग एकाएक क्रोधित हुन थाल्यो । रूखमा अराजक भएर बसेका सुक्खा पातहरू बतासमा उड्न थाले । शहर पात पतिङ्गरको बाक्लो धुलेले पुरिन थाल्यो । के यो मेरो अन्त्यको भूकम्प हो…?

सडकमा बिरालाहरू कमिलाझैँ सलबलाउन थालेको देख्छु । देख्दै घृणालाग्द बिरालाहरू कहाँ थिए र आज यसरी किन निस्किए र सब मलाई किन हेरिरहेका छन् ? यो ठाउँबाट जति सक्दो चाँडो निस्किनु बेस ठानेर म दौडन थालेँ । मेरो गति क्रमिक रूपमा बढ्दै छ । श्वास फुल्न थाल्यो, शरीर पसिनाले छ्याप्प भिज्यो, खुट्टा फतक्क गले । अब सक्दिनँ मुखबाट लाचार पुकार निस्कियो  ! म थचक्क बसेँ ।

श्वास नियन्त्रणमा ल्याउने प्रयत्नमा थिएँ, बिरालाहरूको अनन्त लस्कर मतर्फ बढिरहेको देख्छु । वा मेरो क्रान्तिको पहिलो दिन … क्या बात ! बिरालोको अगाडि मृत्युको खुट्टामा टाउको टेकिसकेको मुसाको शायद यस्तै मनोदशा हुन्छ होला । म यी सबको खेलौना हुनेवाला थिएँ । एक क्षण आँखा चिम्म चिम्लिएँ र आफूलाई सम्हाल्ने कोशिश गरेँ ।

मस्तिष्कमा एउटा आवाज बेजोडले गुन्जियो – जीवनमा आफ्नै स्व विवेकले चालेको कदमबाट पछाडि हच्किने हो भने यी सब नाटकको के अर्थ आज भागिस् भने जीवन नामक खेलबाट पनि भागिस् भनेर सम्झनू भगौडा हुनु छैन….. गर केही गर  ।

झोला खोलें । दुई वटा डटपेन निकालेर बिर्को फालें । पाकेटमारा कुनै सुनसान गल्लीमा कसैलाई लुट्नको निम्ति चक्कु घोच्न तयार भए झैं म तयार भएँ डटपेन या नि मेरो पूर्वाग्रह तोड्ने हतियार बोकेर । परबाट एउटा बिरालो कुद्न थाल्यो । सारा बिरालाहरू तर्किन थाले । यो त्यही बिरालो  हो जुन मैले सपनामा देखेको थिएँ । नाकबाट रगत चुहाउँदै मानौं मलाई एक झप्कामै ढेर पार्ने वाला छ । त्यसरी ममाथि झम्टियो । मेरा हात स्वचलित रूपमा बिरालोतिर अगाडि बढ्यो र बिरालोको छातीको एक भागबाट छिरेर अर्को पट्टी निस्कियो । फल स्वरूप बिरालो भुइँमा पछारियो…फ्यात्त ।

काम्दै गरेको मेरो हातले समाएको डटपेनको चुच्चोबाट मसी मिश्रित रगत तपतप चुहिएर बिस्तारै । सडकमा फैलिन थाल्छ, बिरालाहरू बिस्तारै शहरको कुना कोप्चेरातिर बिलाउन थाल्छन् । म ठीक सडकको बीचमा उभिएको छु लगभग अचेत शून्यताले घेरिएको मेरो अस्तित्व, शायद पन्छिरहेका मेरा पूर्वाग्रहहरूलाई हेरिरहेको छ…