“पिए पछि यस्तै गर्छ ।”
“नपिए त मानिस भगवान् हो ।”
“केही न केही कारणले बिग्रिन्छ भन्थे यो मान्छे पिएरै बिग्रने भो ।”
“राम्रो घर व्यवस्था भएको, जँड्याहा भएर बरबाद पार्यो”
धने रक्सी पिएर पुरै बाटो मेरै भन्दै बाटो दुवै छेउ पुग्दै, लड्दै, पदै, ढल्दै, बरालिँदै, हिँड्दै थियो। छेउको चिया पसलमा बसेका सबै जनाको ध्यान त्यतै मोडियो र धनेकै कुरा गरिरहेका थिए।
धने अर्थात् धनबहादुर नाउ चलेको व्यापारीको छोरा थिए।बाजेको पाला देखिएको व्यवसाय साहु महाजनले पत्याउने। सानोतिनो गर्ज टार्न गुहार्नु पर्ने मान्छे मध्ये थिए धनबहादुर का बुवा बाजे । साहुजीको एक्लो छोरा नामुद जँड्याहा भयो। धन्न लक्षण कि श्रीमती भइन व्यवसाय समालेकी छिन नत्र भने बरबादै हुन्थ्यो । व्यापारिक घरानाको मान्छे काठमाडौँ पढ्न पठाइएका थिए वीरबहादुर सौकारले आफ्नो छोरालाई । सङ्गतको कारण कुलतमा फसेकाले न त पढाइ उपयोग गर्ने सके न त छोरो सङ्लो रहन सक्यो ।
सहरको प्रचुर रहर बोकाएर टिकोटालो गरी पठाएको छोरो दुर्व्यसनको सिकार बन्यो । छोरो बिग्रियोस् भन्ने चाहाना कुन अभिभावकको होला तर बिग्रेका धेरै हुन्छन्। हुर्काउन बढाउन, पढाउन सजिलो तर सम्हाल्न निकै गाह्रो छ। सङ्गत कस्ता सँगको भयो त्यसको प्रभाव रहन्छ ।आलोकाँचो उमेरमा ससाना कुराले असर गर्दछ । परिवार बाट पाउने स्नेह अभिभावकत्वको पूरा पूरा असर हुन्छ । परिवारले दिने संस्कार र परिवार भित्रको बोलिचाली व्यवहारले निकै असर रहन्छ। कुनै पनि परिवारले आफ्नो सदस्य असल होस भन्ने नै चाहन्छ । चाहानाले मात्र हुँदैन सोही अनुसार संस्कार दिने संस्कृति परिवारले पनि दिन सक्नु पर्ने हुन्छ। निकै कठिन छ आजकालका केटाकेटी सम्हाल्न ।
गाउँको विद्यालयमा पढ्दा निकै अनुशासित, इमानदार, जेहेनदार विद्यार्थी थियो धनबहादुर । राम्रै भएकाले चर्चा हुन्थ्यो विद्यालयमा, विद्यार्थी माझ,अनि गाउँ टोलमा पनि । हरेक कार्यक्रम हुँदा पुरस्कार ,प्रमाणपत्र थमाउन भ्याई नभ्याई हुन्थ्यो । आफ्ना केटाकेटी सम्झाउँदा पनि सौकारको नाति जस्तो उदाहरण दिन्थे । पढाइका लागि सहर पसे देखि सहरको हावाले उडाउन सम्म उडायो। धनबहादुरलाई मात्र उडाएन बुवा बाजेका सपना पनि उडायो। राम्रै विषय पढाउन काठमाडौँ पठाएका थिए । तर राम्ररी पढ्नु त कुन चरीको नाउ हो आफू पनि हदै सम्म बिग्रिएर पुग्यो।
राजधानी धेरैका लागि रहर थियो,धेरैका लागि कहर थियो । उपयोग गर्न सक्नेका लागि अवसरको खानी थियो । दुरुपयोग भएमा रौरव नरक थियो। धनबहादुरको सन्दर्भमा दुरुपयोग मात्र भयो।
===
“लेऊ न लेऊ मज्जा आउँछ” एउटाले भन्यो
“कैले लिएको छै नाइँ म त लिन्न” धने नाइँनास्ती गर्दै थियो।
“कहिले काहीँ साथीहरूसँग त रमाइलो गर्नु पर्छ” अर्कोले थप्यो ।
“नामुद जँड्याहा त हामी पनि कहाँ हौ र” तेस्रोले कुरा थप्यो ।
जति साथी थिए पिउन मै जोड गर्न लागे। “ल्याऊ खै कस्तो हुन्छ। धेरै त लिन्न है” । ककटेल बनाएको रक्सी पिउने साथीहरू सँगै सामेल भयो। झ्याप्प परेर साँझ मुस्किलले कोठा पुग्यो। पिकनिकको पार्टीको ह्याङ रहिरह्यो। दोस्रो दिन पनि कलेज जान सकेन । क्याम्पसमा पढ्ने भन्दा बिन्दास साथी बढी भेटिने भए। प्रतिदिन नयाँ बन्ने साथीका नयाँ अनुभव सँग सामेल हुँदै गयो।
“धनबहादुर आज साँझ डिस्को जाने” प्रफुल्लले भने उनी भरखरै परिचय भएका साथी थिए। नयाँ किसिमको प्रस्ताव आयो। धने पनि तयार भए डिस्को जान भनी । अस्ति पिकनिक बाट पिउन सुरु गरेका सिकारु जँड्याहा थिए। डिस्को पस्दै गर्दा अर्धनग्न केटी मस्केर आएको देखेर लजाए । प्रफुल्ल यो मामिलामा माहिर थिए। त्यसैमा खर्च गर्ने मुर्गा मिलेका थिए। रेस्टुरेन्टकी वेटर लाई “तिम्रा लागि दुलहा ल्याएर आए भन्दै” जिस्क्याएर कुरा गर्न लागे।
धनेको नौलो अनुभव थियो रेस्टुरेन्टको । मस्किँदै आएकी केटीहरूले फकाइ फकाइ पिलाइ रहे। केटीहरूसँगै नजिकै भएर चलेको पनि पहिलो पटक थियो। बिस्तारै मादकता बढ्दै गयो नसामा झुमेकै अवस्थामा रङ्गमञ्चमा अर्धनग्न नारीको नृत्य देखिन थाल्यो। नृत्याङ्गनाका बाकी वस्त्र पनि हराउँदै गए । यो बाटो मेरो, त्यो बाटो मेरो भन्ने गरी लरखराउँदै लर्बरिएर बोल्नु स्वाभाविकै थियो ।धने बोलिरहेको थिएन उसले चढाएको रक्सी बोलिरहेको थियो। यस्तो बन्यो दिनचर्या । सायद बुवाको सपना त्यो थिएन । छोरा पढ्ला असल मान्छे बन्ला भन्ने चाहाना थियो । असल बन्ने ठुलो हुने भन्दा पनि कुलतबाट कसरी जोगाउने चिन्ताको विषय बन्यो ।
छोरो साह्रै बिग्रियो सुध्रिन्छ कि केही सीप चल्छ कि भनी बिहे गर्ने योजना बनायो । बिहे गरी दुलही भित्र्यायो। तर कुकुरको पुच्छर बाह्र वर्ष ढ्याङ्ग्रोमा हाल्यो बाङ्गै भने जस्तै भयो। रातको अँध्यारो बत्तीको उज्यालोले चिर्न सकिएला, नदीको पानी कुलोले डोर्याउन सकिएला, दिनको घामलाई सञ्चय गरी सौर्य बत्ती बाल्न सकिएला तर बिग्रिएको छोरो सुधार्न निकै कठिन छ। मनैदेखि सुध्रिएछ भने मात्र तर प्रयास गरेर दबाब गरेर सम्भावना नै छैन ।
जँड्याहाका आफ्ना मान्यता बनिसकेका हुँदा रहेछन्। सानोतिनो गल्ती भएछ भने जँड्याहा हो गरी हाल्यो भन्ने हुँदो रहेछ। सद्दे मानिस कुनै कारण जँड्याहा सँग चलेछ, झगडा पुगेछ भने पनि त्यो त जँड्याहा थियो तिमी त्यो सँग लाग्न पुग्यौ सद्दे मानिसलाई नै सम्झाउन पुग्छ ।धेरै जँड्याहा हल्ला मच्चाउन पिउने गर्दछन्। मैले आज फलानोलाई ठिक पार्नु छ। त्यत्तिकै त सम्भव छैन। अलिअलि पिउनु पर्यो भन्दै मुखमा गन्ध आउने गरी रक्सी सेवन गरी तथानाम गर्नतिर लाग्ने यस्ता परिपाटीका जँड्याहा पनि पाइन्छ । धने सौकारको नाति भए पनि मागी खाने जँड्याहा भएको छ। एक्कै क्वाटरका लागि भए पनि दिनु भनेर चिने जानेका सबै सँग पिउन माग्न केही नमान्ने भएको छ। पिउने, हल्ला गर्ने, लट्ठिएर नालीमा ढलेर पल्टिरहेन यस्तै दैनिकी बितिरहेको।
===
“सडक छेउ पल्टेको को रहेछ ?” एउटाले सोध्यो।
अरू को होला ? अर्कोले थप्यो।
“धने”तेस्रोले जोड्यो।
तीनै जना गिलिल्ल हासे। यसरी सधैँ जसो ढलेकै देखिन्थ्यो। धनेकी पत्नी, छोरा उठाएर लैजान्थे ।कुनै बेला एक रात त्यस्तै काटेका पनि हुन्थ्यो। पिउने बेला सम्म त धेरै साथी हुन्थे। पिउन जोर पनि गर्थे । पिउनेहरू को जमघटमा पिउनु मज्जा नै बेग्लै भन्ने गर्थे। नसाले च्यापिसकेको अवस्थामा को कहाँ पुग्यो। के भयो होस हवास नै हुँदैन। दोस्रो भेटमा समीक्षा, ग्लानि महसुस गरिने भए यस्ता जँड्याहा बन्ने नै थिएनन्। उमेर छदा आलोकाँचो पचाउने शरीर उमेर ढल्किँदै जाँदा पचाउन पनि गाह्रो पर्न जाने हुन्छ। अलिअलि पिए पनि झुमाइहाल्ने भयो। चिन्तन पनि त्यस्तै हुने गर्थ्यो।
“हर्क्या त गएछ” ?रामभद्रले सोध्यो ।
“पिउँदा पिउँदै गयो” बहादुरले थप्यो।
“हर्क्या ले पचपन्न कटाएछ। हामी त अगाडि जाने अवस्थामा छौ ” धनेले चिन्ता व्यक्त गर्यो।
“जन्मे पछि मर्नु त छदै छ। किन पिर गरी राख्ने ?” रामभद्रले साहस थप्यो ।
“हर्क्या अब कहाँ पाउँछ जिउँदा सम्म त पिउनु पर्यो” बहादुरले नयाँ योजना बनायो। गाउँ नजिकैको भट्टी छेरे होस बेहोस हुने गरी घोक्न थाले। पुलिसले छापा मारेछ।भट्टीका घर पालुवा रक्सी उत्पादन गर्ने भाँडाकुँडा र तयारी रक्सीसहित नाम चलेका जँड्याहा बोकेर लगे।
“यिनीहरू सधैँ यस्तै हुन् लगेर पनि के गर्ने ?” एक जना पुलिसले भने।
“केही गरे सुध्रिनु छैन लैजानु बेकार हो” अर्को पुलिस ले थप्यो।
“के गर्ने साप छोडिदिऊ” तेस्रोले भने
“छोडिदेऊ असत्ती मोराहरूलाई ” डिउटीमा रहेका हवलदारले आदेश गरे । गाडी रोकियो जँड्याहाहरू झरे।
गाडी बाट झर्दै गर्दा ” यतिको नष्ट गरेर के फाइदा सर अलिअलि दिनु पर्यो” बहादुरले बहादुरी प्रस्तुत गर्यो।
“कहिले काम आउला एक एक अद्दी पाउ साव ।” रामभद्रले थप्यो ।
“कोटा नै पुगेन। भर्खर सुरु गरेका थियौ अलि व्यवस्था गरी दिनु पर्यो सर ।” धनेले निकै नम्रता प्रस्तुत गर्यो।
“छोड यी जँड्याहालाई जाऊ केटाहरू ।” आदेश स्वरमा हवलदारले बोल्यो। तीनै जना त्यही छोडेर पुलिस चौकी तिर लागे। सडकमा ढलेको अवस्थामा भेटिने धने पुलिसले लगे भनेर धनेकी पत्नी चौकी पुगिन् तर त्यहाँ थिएन । पुलिस चाैकीबाट फर्किदा बाटोमै भेट भयो डोर्याएर घर पुर्याइन।
समाज विकृतिले घेरेको जटिल अवस्थामा गुज्रिएको छ। धनी, गरिब, सानो ठुलो सबैलाई कुनै न कुनै रूपमा प्रभावित गरेकै छ। परिस्थिति गम्भीर हुँदै गइरहेको छ। केटाकेटी हुर्काउन , पढाउन भन्दा जटिल कुलतबाट बचाउन समस्या छ। कुनै अभिभावकको छोराछोरी बिग्रेको हेर्ने इच्छा त हुँदैन तर जोगाउन निकै कठिनाइ छ।
===
बलिराम धनेको स्कुल पढ्दाको साथी । उसले छोराको बिहे गर्दै रहेछ। पुरानो साथी भनेर निम्ता दिने सुचीमा धनबहादुरको पनि नाम लेखे। साथी छोरोको बिहेको निम्तोमा जान त के खोज्छस् कानो ? आँखो भने जस्तै भयो । बिहाको पार्टी सद्दे कोही थिएन। ककटेल चलेको थियो । माछा मासु का परिकार पनि कत्ती हो कत्ती त्यसैमा विभिन्न ब्रान्डका रक्सी रोजी रोजी खान मिल्ने।
पिउँछन् धेरैले पिउँछन् सायद पिउँदा ठुलो बनिन्छ कि। मान, सान बढ्छ कि । निकै बल लगाउँछन् पिउनमा भए भरको प्रतिष्ठा बन्धक राखेर पिउँछन्। इमान तथा सम्पत्ति बेचेर पिउँछन्। मागेर पिउँछन् चोरेर पिउँछन्। ईश्वरको अमूल्य वरदानमा पाइएको जीवनलाई दाउमा राखेर पिउँछन्। “साथीले छोराको बिहे गरेकोमा म पिउँछु कसले के गर्छ। म पिउँछु कसको के लाग्छ” एकोहोरो बोलिरहेको धने छिप्पिँदै गरेको रातसँगै त्यहाँबाट हिँडेछ। बिहाको भोजमा सयौँ थिए आउने जाने। सबै जसो रङ्गिला थिए। हिँड्दै गर्दा सडकको नालीमा ढलेछ। नशाले बेहोस पारेको अवस्थामा ढुङ्गामा टाउको ठोकिएछ। लडेर इहलीला समाप्त भएछ।
एका बिहानै वाकमा रहेका विमल दम्पतीले देखे। “धने रहेछ रात भर यतै “विमलले भने। अलि अगाडि नै पुगेर विमल पत्नीले “के भएको रहेछ हेरे हुन्थ्यो जिज्ञासा राखिन्”। हिँडाइको गति बढी नै भएकाले कुरा गर्दा गर्दै निकै अगाडि पुगिसकेका थिए। उताबाट केही मानिस हस्याङफस्याङ गर्दै भौँतारिँदै आएको देखेर तिनीहरू पनि रोकिए । एउटा आउँछ धने भन्छ,अर्को आउँछ धने भन्छ, जति जमघट भए धने भन्छन्। पुलिस आइपुगे पुग्ने बित्तिकै इन्स्पेक्टरले “धने” भने । बाइकमा आउँदै गरेकोले के भएको भनी सोध्दा एउटाले जवाफ फर्काए “धने..” । वाक्य पूरा नहुँदै जवाफ फर्काएछ, ‘धने गयो।”
साना गाडी, ठुला गाडी रोक्दै सोध्दै जाने धने भन्दै। पुलिसले घटना स्थल प्रकृति मुचुल्का बनाउँदै गर्दा लेखिरहेको प्रहरीको फोनको घण्टी बज्यो।
रिसिभ गर्दै बोल्यो, “अलि बिजी छु।”
फेरि भन्यो, “धने गयो” फोन राखिदियो।
“सत्य तथ्य छानबिन हुनु पर्यो ” एउटाले भन्यो।
“गाडीले ठोकेको हुनु सक्छ” अर्कोले शङ्का व्यक्त गर्यो।
“के थाह मारेर फालेको पो हो कि” तेस्रोले नयाँ जिज्ञासा प्रकट गर्यो।
“शङ्काले लङ्का डढाउँछ भन्छन् धेरै दायाँबायाँ नगरौँ सकिन्छ पोष्टमर्टम गरौँ ।” एक जनाले सुझाए।
घटना स्थलको काम सकेर लास पोष्टमर्टमका लागि अस्पताल लगियो। सेतो कपडामा बेरिएको लास खोल्दै डाक्टरले झसङ्ग भए “धने”।
“हो डक्टर धने गयो” बाहिरबाट आवाज आयो।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।