हामी लगातार तीन घण्टाको हिँडाइले थाकेर चौतारामा सुस्ताइरहेका थियौं ।

‘ड्याम्म्मअअअ !’

कानै खानेगरी आवाज आयो ।

भित्तामा ठाडो गरी सजाएर राखिएका चट्ट मिलेका शिलामा कुँदिएका अक्षरहरू एकाग्र भई हेरिरहेका हाम्रो ध्यान एक्कासि भङ्ग भयो । जसरी ती ढुङ्गा, ढुङ्गामा कुँदिएका लिपि र अक्षर हाम्रा लागि अनौठा थिए । त्यसैगरी त्यो घनघोर जङ्गलमा हठात् आएको आवाज आश्चर्यजनक थियो । जर्याकजुरुक उठेर आवाज आएतिर हेर्यौं, एकछिन प्रतिध्वनि सुनियो र बिलायो पनि । फेरि मान्छे बोलेको तर नबुझिने खल्याङखुलुङ सुनियो ।

हाम्रो टोलीमा जम्मा तीनजना थियौं । वन कार्यालयका बेचन चौधरी, सामाजिक कार्यकर्ता शिवजी र म । सदरमुकामबाट फर्कने क्रममा एकान्त निर्जन गौरीवनमा अनायासै आएको बन्दुकको आवाजले बेचन र म आश्चर्य मिश्रित डरले अत्तालिरहेका थियौं तर शिवजी भने कत्ति पनि डराएका थिएनन् ।

‘गड्याम्मअअ !’

पुनः पड्कियो सगर नै सुसाएर । हाम्रो त होशहवासै उड्यो । म त आत्तिएर शिवजीलाई च्याप्प समात्न पुगेछु । बेचन पनि उसैगरी डराएका थिए । हामी डराएको देखेर शिवजीले भने, “तपाईंहरू किन डराउनु भ’को ? यता त यस्तो भइरहन्छ । यताका मान्छेको दिनचर्या यसरी नै चलिरहेको छ पुस्तौंदेखि । प्रायः जसो पुरुषहरू दिनभर शिकार खेल्न जङ्गलमा आउने र मृग, घोरल, हरिण आदिको शिकार गर्ने गर्दछन् । उनीहरूको जीविका नै यसैगरी चलिरहेको छ । तिनीहरूले नै शिकारलाई निशाना लगाउँदा अघिको आवाज आएको हो । डराउनु पर्दैन ।”

“तपाईंलाई कसले भन्यो यस्तो कुरा ?” बेचनले सानो काँपेको स्वरमा सोधे ।

शिवजीले भने, “म पनि किराँतीको सन्तान हुँ । मेरा पिता पुर्खाले पनि यसैगरी जङ्गलमा शिकार खेलेरै जिन्दगी गुजारेका हुन् । सानो छँदा म पनि बा, काकाहरूसँग शिकार खेल्न जान्थें । राति राति कालिज मार्न पनि निकै हिँडियो । एकपटक भरुवा बन्दुकमा हाल्न तयार पारेको बारुद पड्केर मेरो अनुहार र जीउभरि आगो लागेको थियो । धन्नले बाँचें । यी अझै ठाउँ ठाउँमा खत छ ।”

लुगा सारेर चार पाँच ठाउँमा खत देखाएपछि हामीले अनौठो मान्दै पत्यायौं । यस्तै कुराकानी गर्दै शिवजी पछिपछि करीब आधा घण्टा हिँडेपछि हामी रुखैरुख र पोथ्रापोथ्री बुट्यानहरूको बीचमा रहेको सानो खाली चउरमा पुग्यौं । त्यहाँ त छ सात जना मान्छेहरू  मृगलाई काटकुट गरेर भाग लगाउँदै रहेछन् ।

अलि पर दुईवटा झ्यापुल्ले कुकुरहरू मृगका दाँत र हड्डी चपाइरहेका थिए । हामीलाई अचानक त्यहाँ देख्दा अचम्ममा परेका ती मान्छेहरू आत्तिए जस्ता देखिए । सम्हालिएर स्वागत गर्दै भने, “ए ! हजुरहरू बसम् है बसम्  । यसो अलिअलि यो वनको प्रसाद ले’र जाम् ।”

हामी केहीबेर अनकनायौं । फेरि अर्को चाँहिले भन्यो, “हजुरहरलाई त हाम्ले चिन्न सकेन त ! घर कता पर्यो होला ?”

हामीले आफ्नो वास्तविक परिचय लुकायौं र बाटो भुलेर यता आइपुगेको बतायौं । उनीहरू फेरि आआफ्नो काममा व्यस्त भए । कोही मासु काट्ने, कोही भाग लगाउने त कोही आन्द्राभुँडी सफा गर्न थाले । एकजना बूढाबा चाहिँ भरुवा बन्दुकमा बारुद भर्दै थिए । साथीहरू मासु भाग लगाएको हेर्न थाले भने म ती बूढाबाले ध्यानपूर्वक बारुद भरेको सतर्कतासाथ नियालेर हेरिरहें । उनले मेहनत गरेर बारुद भरिसकेपछि बन्दुक घाममा सुकाए ।

अन्तमा हामीलाई पनि एकेक पोका मासु थमाए तिनीहरूले । हामीले आफूहरूसँग पकाउने खाने चीज र ठाउँ छैन, पर्दैन भन्यौं तर उनीहरूले कर गरिरहे । सारै कर गरेपछि मैले निचोडमा भनें, “बरु रात पनि पर्न लाग्यो, हामीलाई यो जङ्गल छिचोल्न गाह्रो हुने भो ! आजको वास हामी हजुरहरूकै घरमा बस्नु पर्ला जस्तो छ । हामीलाई वास कसले दिने हो  उहाँले नै बोक्नु न हाम्रो भाग पनि ।”

त्यसपछि उनीहरूले एकापसमा सल्लाह गरे । तिनै बन्दुकवाला बूढाबाको घरमा बसाउने निधो भएछ क्यारे ! हाम्रो भाग पनि उनैको जिम्मा लगाइयो । हामी तीनजना, बूढाबा, उनको नाति अनि बन्दुक र कुकुरको छुट्टाछुट्टै भाग गरी जम्मा सात भाग मृगको रातो मासु बोकेर बूढाको नाति अघिअघि हिंड्यो ।

त्यसपछि बूढाबा र हामी लहरै उनको घरतर्फ लाग्यौं । उत्तिस, पँहेले, कटुस, बाँझ, घुर्बिसो, अर्गेली, चिमाल र गुँरासले ढाकेको जङ्गली गोरेटो बाटो छिचोल्दै हामी सानो गाउँमा पुग्यौं । एक घर र अर्को घरबीचको दुरी कतै लगभग आधा किलोमिटर त कतै एक डेढ किलोमिटरसम्म पनि थियो । बस्ती पातलो थियो तर घरहरू ठूला र फराकिला थिए ।

बूढाबाको घर जङ्गलको बीचोबीच थियो । त्यहाँबाट चारैतिर वनैवन देखिन्थ्यो । गान्टे मूला, पिँडालु लगाइएका फाँट गराहरू थिए । आलु रोप्नका लागि बुक्मा तयार गरिएको थियो । डुकुको साग लहलह अनि मालिङ्गोको झाङ बाक्लो र ठूलो थियो । पाँच छवटा घर देखिन्थे गाउँभरिमा ।

हामी भने थकाइ र भोकले चुर भएका थियौं । आँगनको चौगारोमा टुसुक्क बस्यौं । काँधमा घाम बोकेर पहाड पश्चिममा उभिएको थियो । उसको काँधबाट फुत्केर घाम भने क्षितिजबाट ओझेल पर्नै आँटेको थियो । त्यही भएर हो कि जाडो महसुस भइरहेको थियो । उत्तरतर्फ देखिने हिमालको चिसो सिरेटोले पनि बेस्सरी सेकेर हामीलाई स्वागत कि विरोध के गर्न खोजेको हो ! भेउ पाउन सकेका थिएनौं ।

“भित्रै बसुम् न बाबू हो भित्रै !” आमैको स्वर भित्रबाट बाहिरिंदै गर्दा दलानमा सुनियो । हामी आज्ञाकारी भएर घरभित्र पस्यौं । यामानको अँगेनामा दनदनी बलेर जाडो भगाउँद‌ै आफ्नो धर्म निर्वाह गरिरहेको थियो आगो । ओदान पनि अगेनो अनुसारकै थियो । एक अँगालो दाउरा एकैपटक खपत हुने अँगेनामा ससाना काठका मुडै हालिएको रहेछ । अगेठ आगोको राप र तापले पूरै घर न्यानो भएको थियो । अघिदेखिको लेकाली जाडोले हाम्रो साथ चटक्कै छोड्यो । यहाँको सबथोक अनौठो मानिरहेका र पहिलोपटक यस्तो विकट ठाउँमा आइपुगेका बेचन चौधरीले बूढाबासँग एकछिन गफिने मन गरेँ र सोधेँ, “बा तपाईंहरू यहाँ यसरी कहिलेदेखि बस्न थाल्नु भएको ?”

बूढाबाले भने, “जहाँ रात पर्यो त्यहीँ जङ्गल र ओढारको वास, जङ्गली कन्दमूल, फलफूल खोज्दै खाँदै  र शिकार खेल्दै हिँड्ने हाम्रा पुर्खा हिमगंगा तरेर उकालो लागेका रे । आफ्ना पिता पुर्खा कहिलेदेखि यसरी घुम्दै फिर्दै हिँडे होलान्; यकिन हामी कसैलाई छैन ।  मानबहादुर सुनुवार कैलेकाहीँ गफकै सिलसिलामा हामी किराँत हौँ र हाम्रा पुर्खा किराँतेश्वर महादेव अनि पार्वती हुन् भनेर बताउँथे । ऊ भन्दा बढ्ता आफ्नो जाति, संस्कार र रीतिथिति बुझ्ने अरु सायदै थिए, कम्तीमा त्यसबेला । अहिले त ऊ पनि बितिसक्यो ।”

हामी गफमा मस्त थियौं । कुकुर जोडले भुक्न र झम्टिन थाल्यो । के भएको हो  बुझ्न हामीले कान ठाडा पारेर त्यतै ध्यान दियौं । त्यहाँ एउटा अर्को टोली देखियो । उनीहरू नमस्कार गर्दै हामी भएतिरै आए । चुनाव लागेको रहेछ र भोट माग्ने सिलसिलामा उनीहरू यहाँ आइपुगेका रहेछन् । उनीहरूले घरका सबैसँग आफ्नो पार्टीको चुनाव चिन्ह देखाए, भोट हाल्ने तरिका सिकाए र भोट मागे । उनीहरूले चुनाव जितेपछि बाटोघाटो, पानी, बत्ती …. आदि यूँ का यूँ बन्ने बताए । छोराछोरीलाई जागिर, अरुलाई भत्ता आदिको लोभ देखाए । सुखका दिन आइहाल्छन् भनेर उनीहरूले अनेक आश्वासन दिए, जसरी ‘काफल पाक्यो’ चरीले आफ्ना बचेरालाई छिटै तिमीहरूको बाउ आउँछन् भनेर दिने गर्थी; जुन मरिसकेको हुन्थ्यो । तर ती आदिवासीहरूको दिनचर्या पानी परे खेतीपाती र दिन खुले शिकार खेल्नमै सीमित थियो ।

हामी मृगको मासुको साथमा रैथाने अनाजबाट बनेका खाना खाएर तृप्त भयौं । एकछिन बूढाबा र आमासँग गफ गरेर सुत्न गयौं । निद्रा भने कसैलाई पनि परिरहेको थिएन । मैले वन कार्यालयका हाकिमलाई जिस्काएँ, “वन्यजन्तु संरक्षणको अभिभारा पाएका व्यक्ति नै चोरी शिकारीको मृग चिरिप्प पारेर डकार्दा कस्तो हुँदो रहेछ त बेचन सर ?”

मेरो व्यङ्ग्य सुनेर उनलाई हल्का असजिलो लागेजस्तो लाग्यो । तर साथी न परे । कुरा ओकल्न थालिहाले, “के कुरा गर्नु हुन्छ भो ! नगर्नुस् । गरिसाध्यै, भनिसाध्यै छैन । नेता, मन्त्री आदिको भान्छामा जङ्गली बँदेल, मृग, हरिण र कालिज कसरी पुग्छ ? तपाईंहरूलाई थाहा छ ? अहँ छैन ! तपाईंहरूलाई त केही थाहै छैन ल, मैले ठोकेर भन्दें । ल सुन्नुस् यता …. ।” उनले सब बेलीविस्तार लगाए ।

उनका कुरा सुन्दा मलाई जस्तो लाग्यो त्यस्तै भनें, “त्यसो भए वन्यजन्तु संरक्षण गरिएको मात्रै, देशका नेताको भान्छा स्वादिलो बनाउनको लागि हो ! लाग्छ, जङ्गलमा उफ्रिने मृग र हरिणहरू एकदिन नेताको कराहीमा उफ्रिनका लागि अभ्यास गरिरहेका हुन् । यस्तै बुझ्दा हुन्छ होइन त ?”

बेचन मुसुक्क हाँसे ।

अघिदेखि चुपचाप सुनिरहेका शिवजीले मुख फोरे, “ह्या तपाईंहरू पनि ! यहाँ हामीजस्ता, बूढाबाहरू जस्ता गाउँले, सामान्य मान्छेले त मृग र कालिज चपाइरहेका छौँ भने उनीहरू त ठूला मान्छे । कुन ठूलो कुरा भयो र ?”

बेचन फेरि पहिले झैँ हाँसे ।

“यस्तो कसरी हुन्छ ? यी आदिवासीहरू त परापूर्व कालदेखि यसैगरी जिउँदै आएका छन् । यिनलाई पनि कुनै न कुनै तरिकाले व्यवस्थापन गर्नुपर्छ । तर शासकहरू नै वन्यजन्तु मास्न उद्यत हुनु ! यो कस्तो बिडम्वना ?” मैले भँडास पोखे ।

“मान्छेले प्रकृति सँगसँगै जीउन र रमाउन जानेनन् । जान्नेले पनि व्यवहारमा उतारेनन् ।” शिवजीले गुनासो गरे ।

“तिनीहरूले एकदिन आफ्नो कुकर्मको फल अवश्य भोग्नेछन्, तपाईंहरू हेरिराख्नुस् ।” मैले भनेको थिएँ ।

“खै ! मलाई त विश्वास लाग्दैन । सधैं त्यस्तैको फलिफाप भएको देखिन्छ ।” बेचनले अविश्वास गरेका थिए ।

“तपाईं हेर्दै जानुस् न मात्र ।” मैले विश्वास दिलाउन खोजेको थिएँ ।

बेचनले बाघको छाला, हात्तीको दाँत र जरायोको सिङ कसरी नेताहरूको बैठक कोठामा सजाइएको हुन्छ भनेर छर्लङ्ग पारे । जस्तो कि, ‘फलानो नेताको घरमा स्वाट्टै गाडी छिर्ने गेट छ । त्यहाँ पाले छ । गेटभित्र पसिसकेपछि दुईवटा कुकुर भुक्छन; एउटा देशी अर्को विदेशी । नेतालाई त्यत्तिकै भेट्न पाइन्न, समय मिलाउनुपर्छ, कुर्नुपर्छ । बैठक कोठामा भलाद्मी देखिने गरी बस्नुपर्छ । कोठाको ठ्याक्कै बीचमा पाटे बाघको छाला बिछ्याइएको छ । दुवैतिर भित्तामा जरायोका सिङ, हात्तीको दाँत र अनेक पशुपंक्षीका छाला, सिङ र दाँतले सजाइएको छ । जसरी हुन्छ, कोठालाई जीवन्त बनाउने हरसम्भव कोसिस गरिएको छ । तर कदापि आफू बसेको पछाडि फर्केर नहेर्नू ! किनकि त्यहाँ लोडेड बन्दुक राखिएको छ ।’

कुरैकुरामा हामी कतिबेला भुसुक्क निदाएछौं पत्तै भएन ।

‘गड्याम्मअअ !’

बन्दुक त फेरि पड्क्यो । आवाज डरलाग्दो थियो । यसपटक बन्दुक जङ्गलमा होइन महलमा पड्किएको थियो । महलको बैठक कोठामा हामी चारजना मात्रै थियौं । तीमध्ये एकजना भुँडीवाल मान्छे भुइँमा गर्ल्याम्म ढलेको थियो ।

उसको ज्यान र जुँगा हेर्दा पहुँचवाल नेता वा उच्चपदस्थ  जस्तो देखिन्थ्यो । मान्छे खाइलाग्दो थियो तर यतिबेला उसको कञ्चटबाट रगतको मूल फुटेको थियो ।  बन्दुक र मान्छे ढलेको कुनचाहिं आवाजले हो, बेचन र शिवजी तर्सिए ।

मेरो हातमा त्यही भित्तामा भएको बन्दुक थियो ।

“अहो ! तपाईंले यो के गर्नुभएको ? अब फसाद पर्ने भो ।” उनीहरू दुवै जनाले झण्डै झण्डै एकै स्वरमा भने ।

“तपाईंहरू नआत्तिनुस्, उसले आफ्नो कर्मको फल भोगेको हो । किन डराउनु भएको ?” मैले बोलिनसक्दै त्यो मोटो मान्छे, जो यतिबेला बैठककक्षमा ढलिरहेको थियो; उसकी श्रीमती आत्तिदैं आइपुगिन् ।

“आम्मामामा ….”

उनी त मुखमा आएको बोली समेत नटुङ्ग्याउँदै त्यहीं ढलिन्, जहाँ उनको श्रीमान् ढलेको थियो ।