 
			
			
			
			
			
			
धरती आफ्नो गर्भमा बीउ उमार्छे
आफ्नो मलिलो छातीमा बीउहरू जन्माउँछे
पाल्छे, हुर्काउँछे, स्याहार्छे
धरती थाक्दिन – उसमा शक्तिको अनन्त श्रोत छ
धरती रिसाउँदिन – उसमा उल्लासको मायाको खानी छ
धरती मुस्कुराउँछे – कटु वचन बोल्दिन
मायाले थपथपाउँछे – झिजो मान्दिन
धरती दङ्ग पर्छे – दुःखी हुँदिन
त्यसैले
म धरती हुँ
म आमा हुँ
धरती सहन जानेकी छे
धरती क्षमा दिन जानेकी छे
धरती दिन जानेकी छे
आफू रित्तिएर, भोकै भएर, सहेर
पिन आफ्ना बिरुवाहरू बढाउँछे – तन्नेरी पार्छे
धरती धैर्यशील छे
धरती झगडा गर्दिन
ऊ शान्त छे
छातीबाट आगो निकाल्दिन
धरती श्राप दिन जान्दिन
वरदान – आशिष दिन जानेकी छे
धरती चित्त दुखाउँदिन
धरती सुख दिन्छे
धरती दुःख दिन जान्दिन
त्यसैले म धरती हुँ
म आमा हुँ
धरती आफू रुझेर पनि
अरूलाई ओत दिन्छे
आफू सुकेर पनि
अरूलाई हरियाली दिन्छे
आफू भीरमा बस्नु परे पनि
अरूलाई फाँट दिन्छे
त्यसैले
म धरती हुँ
म आमा हुँ
धरती बन्चरा जस्ता लात सहन्छे
धरती गोरुको तिखो
सिङ जस्तो कुदृष्टि सहन्छे
धरती साहस दिन्छे, शक्ति दिन्छे
धरती कमजोरी छैन
धरती हात फैलाउन जान्दिन
धरती रित्तो भाँडा देखाउन जान्दिन,
त्यसैले म धरती हुँ
म आमा हुँ
बदलामा
म चाहन्छु तिमीबाट
तिमीबाट म माथि
प्रेमको वर्षा भइरहोस्
मायाको आकाशले ढाकिरहोस्
तिम्रो तरल
र सरल हृदय
सदा पग्लिरहोस् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	




