बालकृष्ण पोखरेलले २७ वर्ष पूर्व सोमराज अभयलाई भेटेको सम्झना गरेर एउटा बधाइ–पत्र दिएका छन् । कतिपय पोयामा महाकवि देवकोटासँग जोडेर अभयको प्रतिभाको कदर गरेका हुन् । प्रतिशतको मात्रा जे भए पनि देवकोटाको परिपाटीको सदस्यमा अभयलाई जोडेका छन् । र यसलाई ठूलो सौभाग्य ठानेका छन् ।

यहाँ बालकृष्णले गरेको परखलाई अरूले खै गर्न सकेका छैनन् – देखिएन । यो २०६२ सालको कुरा हो । त्यसपछि अभयका १५ पुस्तक प्रकाशित भए जसमा फुटकर कवितासंग्रह २, निबन्ध संग्रह १, खण्डकाव्य ७, महाकाव्य ३, पूर्णाङ्की (नाटक) १, संस्मरण १ पर्दछन् ।

विराटनगर पुगेका वेला (संवत २०८१ माघ) भाइ एकराज भट्टराई र म अभयलाई भेट्न पुग्यौं । ज्ञानवृद्ध वयोवृद्ध अभय हाम्रा लागि मात्रै होइन, स्रष्टा संसदका लागि आदरणीय छन् । उनले सिर्जनाका प्रसाद दिए । हामी दुवैले २-२ महाकाव्य र १-१ निबन्धसंग्रह पाएर फर्कियौं । त्यसको झन्नै ३ दिनपछि एक जाँगरिला युवा नेतालाई भनें– “तिम्रा जिल्लाका यस्ता धुरन्धर विद्वानलाई भेटें । आफ्नो गौरव र सम्पदाको वास्ता गर्नुपर्छ कि ?” स्रष्टा विद्वानको कदर त राजा–महाराजाहरू पनि गर्ने गर्थे । हिजो अरुचिकर लाग्ने समयमा संवत् १९९८ मा जन्मेको मानवको के भाउ ? भाउ त त्राटकपूर्ण अपराध गर्नेको पो हुन्छ । मैले आफ्ना विचार समेटेर थैलीमा भरें । गत माघका अन्तिम दिनमा सम्मानित हुनेहरूमा अभय पनि परेछन् । आफैं सम्मानित भएको ठानें । शायद यसमा राज्यको कुनै एकाई सम्मिलित थिएन ।

पण्डितराज सोमनाथ सिग्द्याल, बालकृष्ण सम, जगदीशशमशेर राणा, मोदनाथ प्रश्रित यी विद्वान् पनि हुन् र कवि पनि । अझ समको त दार्शनिक हुने स्वप्न थियो । किन्तु यीभन्दा फरक पन्थका थिए– देवकोटा । बालकृष्ण पोखरेलले देवकोटाको श्रृंखलामा अभयलाई बाँध्नुको औचित्य केलाउनै पर्छ । विद्वानले विद्वानको परख गर्नु समीचीन लाग्दछ । समले ‘विद्रोही कालेको’ सफलता पनि चाहेका छन् ।

मलाई कसैले सोमराज अभयको बारेमा प्रश्न गर्यो भने म सजिलै भन्छु – अभय प्रतिभाशाली स्रष्टा हुन् । म उनलाई महाकवि भन्न संकोच मान्दिनँ । अझ चर्को ढंगले भन्ने हो भने – रमेश खकुरेल र भुवनहरि सिग्देललाई अग्रपंक्तिमा राख्छु ।

वस्तुबोध, युगबोध काव्य–संहिता र औचित्यलाई तुलनात्मक दृष्टिले यिनमा एकरूपता खोज्नु, आजका मितिमा, अवाञ्छित होला कि ! अरू कविका सन्दर्भलाई थाती राखेर अभयतिर फर्कौं ।

सोमराज ‘अभय’ (संवत १९९८-११-६) मा प्रतिभा र व्युत्पत्तिको हातेमालो छ, सहयात्रा छ । किन्तु परिष्कारका लागि समय अपुग भएको बुझिन्छ । यो कसैले कृपा गर्ने र सहानुभूति देखाउने क्षेत्र परेन । सानो काव्यसन्ध्याको बैठकले टुंग्याउने कुरा हो । आवश्यकता परे अनुगामी–अनुयायी वा शिष्य संसदबाट पनि सम्भव हुने कुरा हो, किन्तु विज्ञता र विश्वसनीयताको कुरा पहिले आउला । त्यसमा विवेकले पनि सार्थकता पाउने हुनुपर्छ कि भन्छु ।

आवेग र उत्तप्तताले गडगडाहट र शक्तिशाली वेग अवश्य लिन्छ किन्तु वेगवान् घोडालाई कुशल अश्वारोहीले आफ्नो अनुकूल नियन्त्रणा नराखे विजय–सिद्धि हातबाट उम्कने नहोला र ! अभयलाई परिवेशको ऊर्जा त मिल्यो किन्तु इन्धन थप्ने धूँवा भर्नेको स्वार्थले पनि उत्तेजनालाई अझ उकेरा दियो कि ! तीतो टिप्पणी यति मात्र हो – स्रष्टा जहिले पनि जनपक्षीय हुन्छ, प्रगतिशील हुन्छ, सत्ताको प्रतिपक्षमा देखिन्छ, विद्रोह र विरोधको स्वर मुखर गर्छ । देवकोटा स्वयं दृष्टान्त छन् । सचिवले पाले, पियन वा चालकलाई गाली गर्दा सचिवकै भाषामा आक्रोश व्यक्त गर्छ, पाले–पियनको भाषामा पुग्दैन । शायद यहाँनेर औचित्य विवेकको सम्झना गर्नु आवश्यक होला । निर्भय र आत्मविश्वास उनका पङ्क्ति पङ्क्तिमा व्यक्त छ । युग–परिवेशका सन्दर्भमा परख आवश्यक हुन्छ कि !

सोमराजलाई राम्रो कसी लाउनै पर्दैन । विषयवस्तु पञ्चायतकालीन भएर हो कि ! किन्तु मुडीकट्टाहरूको समूह र घेरामा परेकाले अभिव्यक्तिमा तातोपन भरिएर झाँक्री कुर्लेको भन्नु पनि भएन, कवि र कौशलको परिहास होला । बरु यो भनौं – खास विचार र व्यवहारले चिनिने योद्धा–प्रवक्ताका घेरामा अभयको कवि पर्यो । तिनैले प्रशंसा र प्रगतिको बाटो औंल्याए । उदारमना कवि उत्तेजनामा आएर सर्कियो, संयम र वाणीमा नियन्त्रण राख्न सकेन । उसले खुला, उदात्त र स्वच्छन्द संसार पनि छ – यो भूमिमा भनेर झापा–मण्डली–मित्रहरूको घेराबाट बाहिर च्याउन सकेन । मलाई लाग्छ सोमराज अभयको महायोद्धा ठिंगुरियो । त्यत्रो ऊर्जाशील, प्रत्युत्पन्नतिको आत्मविश्वासले भरपूर ओजस्वी स्रष्टा ठिंगुरिएर सानो संसारमा खुम्चिएर बस्छ भने उसको सहस्रसूर्य सरहको ब्रह्मतेज खेर नजाला र !

आज मदनमणि दीक्षित र पारिजातलाई मेरो मेरो, हाम्रो हाम्रो, हाम्रो प्रगतिशील भन्नेहरूको घेराले चर्चा बाहिर धकेलेका होइनन् र ! कयौं कवि–लेखक आज पनि अप्रकाशमा थुनिएका छन् । खोज्नु पर्छ । त्यसैले राजनीति अनुरागको भोगभङ्ग नहुँदाको स्थितिले व्यक्तित्वको विकासमा ऐंजेरु लागेको हो कि ! यत्रो विराट प्रतिभालाई किन चाहिन्छ उकेरा ? प्रतिभा नै सौन्दर्य हो । त्यसले नतानिने को होला ?

अभयको चेतना, ज्ञान र अभिव्यक्ति सामर्थ्य अद्भुत छ । पद्यमा दोहोरो ढङ्गले शास्त्रार्थ गर्ने क्षमता पनि छ । शास्त्रीय सीमा, लोकविद्या लोकाचरणको प्रवृत्ति बारे अपूर्व बोध पनि छ । कयौंलाई उनको ज्ञानराशिले थिच्छ र अभिव्यक्तिको अविरल तथा वेगपूर्ण प्रवाहले अत्याउने वा अत्यास लाग्ने पनि हुन्छ । यदि कुनै पाठक अभयको काव्यकारिताभित्र प्रवेश गरेर सामाजिक–राजनीतिक स्थितिको चर्वणा गर्न चाहन्छ भने– अरूका काव्य उसका लागि स्वादु नलाग्न सक्छन् । त्यसैले पाठकले आफ्नो स्वाद अनुसार पाठ चयन गर्ने अधिकार पनि राख्छ । पण्डितराज सोमनाथ सिग्द्यालका काव्यकृतिलाई स्वाद लिएर पढ्ने पाठक पनि छन् अनि त्यहाँको भाषिक र आलङ्कारिक स्थितिबाट तर्छने वा विमुख हुने पनि छन् । त्यसैले विषयवस्तु र शैलीको औचित्यपूर्ण निर्वाहलाई नै पाठकले रुचाउने हो कि !

किन्तु पाठक हेरेर काव्य–सृजन गरिंदैन । सृजनको आफ्नो स्वभाव र गुण–धर्म हुन्छ । यस अर्थमा कहिलेकहीं कवि र उसको स्थितिलाई परै राखेर पनि, काव्यको मीमांसा गर्नुपर्ने हुन्छ– आशय र युगबोधको सन्दर्भबाट । त्यसैले बुझ्न धेरै कुरा शेष छन् ।