युएईबाट डिजी शर्माले सञ्चालन गरेको कार्यक्रममा मैले कवि प्यासीको साहित्यिक संवाद सुनेँ । म प्रफुल्ल भएँ । उनी पत्रकार पनि रहेछन् । त्यस दिन उनले कविता वाचन गरेको सुनिनँ, छुटाएँ क्यार कि ! उनको चिन्तन सुनेँ । मैले सगरमाथाको उचाइ जितेका अनुभव गरेँ । यो मेरो नितान्त निजी अनुभूति बन्यो ।

अविषय पनि विषय बन्न सक्ने, अरूले नछोएको कुरालाई छुन सक्ने, कसैले टिप्न नसकेको कुरालाई टिप्न सक्ने, कसैले नदेखेका कोणबाट देख्न सक्ने सामर्थ्य देखेर म प्यासी भाइको विश्लेषणात्मक प्रस्तुतिबाट उत्साहित भएँ । कारण थियो– उनको शब्द राग, शब्द मोह । शब्दमाथि सम्पूर्ण अधिकार तथा शब्दहरूको स्वाद, सुगन्ध र सङ्गीतमाथि असीम अनुराग ।

इन्द्रबहादुर राईको साहित्यिक संवाद, बैरागी काइँलाको साहित्यिक प्रवचन (टक\व्याख्यान) र कृष्ण धरावासीको शब्दक्रीडामय साहित्यिक वार्तामा जुन सौष्ठव, प्राञ्जल र सम्प्रेषण तत्त्व मैले भेटेँ सुनिरहूँ जस्तो । यस्तै महनीय तत्त्व कवि प्यासीको शब्द क्रीडामा शब्दको महत्त्व पाएँ । अत्यन्त सामान्य कुरालाई विशेष देख्ने र त्यसका पत्र–पत्र केलाएर जोडेर विशिष्ट बनाउने उनको चेतना उच्च र उदात्त तहमा भेटेँ, सम्मानजनक देखेँ । कवि मोहन कोइराला अतत्वलाई टिपेर त्यसलाई सुन्दर स्वरूप र अनन्य उचाइ प्रदान गर्थे (फर्सीको जरा, एउटा पपलरको पात आदि) त्यसै ढङ्गले कवि प्यासीले पनि शब्द माथि दिएको व्याख्यानले (टक) नयाँ उमेरका लेखक\ स्रष्टाहरूका लागि प्रचुर आकर्षण देला भन्ने लाग्छ । म उनमा इन्द्रबहादुर, बैरागी र धरावासी अवतरित देख्तै छु ।

मलाई खुसी लाग्छ बाहुनको भाषाका रचना गर्ने राईलाई कसैले विद्रूप बनाएन । उनी जोगिएकै छन् । नश्लवादीहरूको घेरामा पस्यो भन्ने आक्षेप लगाएर धन्न उनलाई रङ पोतेनन् । जोगिएकै रहेछन् । अप्रतिहत गतिले उनको सिर्जनात्मक प्रतिभा फैलँदै जाओस् । शतशः शुभकामना ।

अब्बल दर्जाका नयाँ र पुराना प्रतिभाहरूलाई अवसर दिएर उपस्थित गराउँदै रहोस् – युएईले, यसका लागि निरन्तर साधुवाद पुगोस् ।

भाषा, साहित्य, कला चिन्तन\दर्शन सबैको हो । सबैसँग हुन्छ । हरेक समुदायमा उच्च कोटिका प्रतिभा हुन्छन् । प्रत्येक क्षेत्रका प्रतिभालाई उकेरा र संरक्षण दिने संस्कारको विकास हुँदै रहोस् । नयाँ पुस्ता झन् धारिलो झन् ओजस्वी र तेजस्वी बन्दै उठोस् ।

नेपाली वाङ्मयले विश्वस्तरीय सञ्जालमा आफ्नो स्वरूप देखाउन लागेका बेला नेपाल बाहिरको यो यत्न उल्लेख्य छ, आदरणीय छ ।

डिजी शर्माको नेतृत्व वा संयोजन–उद्घोषण अनुकरणीय छ । वाङ्मयका साधकहरूसँग गरिने संवाद र विषय मीमांसाको स्तर मौलिक छ । वस्तुपरक र व्यक्तिपरक दुवै दृष्टिले मूल्यवान् छ । उनको संयोजन र प्रस्तुति युगीन र सांस्कृतिक छ । त्यसैले पनि कार्यक्रमको महिमा छ । रेडियो नेपालको ‘घटना र विचार’ कार्यक्रम सकिए पनि पुरुषोत्तम दाहाल र सीता कोइरालाको नाम आज पनि सुवासित र स्मरणीय रहेको छ । त्यसको परिपूर्ति शायदै अरूबाट होला । सन्दर्भ मननीय छ ।
शुभकामना ।