हार्नु कसैले हुँदैन है !
यो प्रांगण जसले निर्माण ग-यो
उसलाई पनि धन्यवाद
अन्यथा मुलुक बाहिरकाले के ठान्छन् ?
जानिन्नथ्यो
अब विचारयुद्ध शुरु भो
यो रोकिनु हुन्न
मन्थन आवश्यक छ
क्रिम निस्कनु पर्छ
म अनाडी कसैलाई भन्दिनँ
पीडा- छोपिंदैन
शल्यक्रिया पछि निरोगी
हुन सकिन्छ कि ?
सकिदैन होला !
थाहा भएन
म ‘अन्यथा’प्रति आभार भन्छु
विकार निकालेर सफा पारिदियो !
परभूमिमा पुगेका र
घरैमा बसेका
भिन्न मनहरूको
स्थिति/ दशा बुझ्न – पढ्न पाइयो
हामी सबै लाभमा छौं
हृदय खोलिदिएर !
‘अन्यथा’
पठनीय बन्दै गएको छ
बुँदा-बुँदामा
यो त अन्यथाका कविको
ठूलो सफलता हो
हेर्नु न कयौंलाई हल्लाउन सक्यो
शेष-अशेष फेरिलाई है !
‘अन्यथा’माथि मेरो पठन बाँकी नै
मलाई कसैले सोध्यो भने
सजिलै भनिदिन्छु
त्यो कविको कविता होइन शायद
त्यो कविले त्यो उचाइमा पुगेर
त्यस्तो निर्विकार रचना रच्नै सक्दैन
वाह !
क्या उचाइ छ !
वाह !
क्या गहिराइ छ !
वाह !
क्या व्याप्ति छ !
तर म भन्दिनँ
कविको ज्ञानको
चेतनाको विषयमा
किनभने
म आफैँ कविपथको यात्री होइन
जनमतको खोजी भयो भने
हाजिरी दिउँला नि, हस् !
जय कविगण !
जय कलमधर !
जय नारदकुल !
पढेँ !
लेनाजीले यो ढंगले नबोलेको भए पनि हुने
उहाँ त ठूलो कवि पो त
उहाँ त दीपक र अप्रस्तुतमा कुशल पो
देखिनु हुन्छ त !
बरु वार्तिक र फक्किका
लगाएर कविजीको भनाइको पुष्टि गर्ने नि !
राम्रा कर्मको सूची तयार गरेर
प्रशस्ति गाउने नि !
कत्रो साधनापछि मुलुकले
त्यत्रो कवि पाउँछ
वास्ता नगर्नु ?
कवि कहिले अगतिलो कुरा गर्छ ?
विषादी मिलेको तरकारीले
मति बिगारेको हो भने
त्यो त ठमेल दरबारलाई
मोहोर राखेर विनय पोखे सक्किजान्छ !
हैन मोहोरले अब भ्याउन्न भने
डलरै भेजे पनि भो !
तर ठूलो कवि
आफ्नो
दर्जाबाट चिप्लेर तल झर्दैन !
झरेको देखिए पनि
झरेको हुने गर्दैन !
म मूल कविता पढौं है !
कविहरू सारै ठूला र उच्च कोटिका कुरा गर्छन्
यदि परिसङ्ख्या र काव्यलिंगमा
कविता गरेको रहेनछ भने
बुझ्ने यत्न गर्छु
म त कसिंगर
कविताको पाठक हुँ
त्यसै तहका
कुरा कविता मन पर्छ
उच्च कविताको बोधशक्ति मसँग छैन
थिएन पनि
कामना पनि छैन
अन्यथा नमान्नु होला ।
हरिराज भट्टराई
मेरिल्याण्ड,अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।