“म ता रूखदेखि खसेको थिएँ, बाबुले भन्नुभएको । मेरो एउटा भाइलाई बाबुले खोलामा गएर ल्याउनुभएको रहेछ अर्को भाइ जोगीले दिइराखेको र बहिनीलाई बाँदरले लाँदै गरेकोबाट आमाले खोसेर ल्याउनुभएको रहेछ । आफ्नो आगमनको यस्तो वृत्तान्त र इतिहासहरू सुनेर सानामा हामी दुःखित पनि हुन्थ्यौं, फेरि अविश्वासको मीठो आशा मनमा लाग्थ्यो र चकित र विस्मित बन्थ्यो । हाम्रो संसारमा दिनहुँ नयाँ शिशुहरू त्यसरी आइरहेका थिए, संयोग र एक एकवटा कथा पारेर । बिना कथा केही नहुनु कल्पना हो, बिना कारण केही नहुनु भौतिक सत्यता…”

जन्मनुभन्दा पूर्व म सूर्यको स्वर्ण किरणमा उडेको थिएँ, वायुको प्रबलतासँग पौडेको थिएँ, वृष्टिरेखाको धेरै माथि माथि बही हिंडेको थिएँ । म तारातिर जान सक्थें, म मुक्त इच्छा बनेर जहीं पनि पुग्न सक्थें । तर संसारमा जीवन लिएर मैले दया, विरह, प्रेम भुक्तनु यो सबभन्दा जाँचिलो र आनन्दिलो आँट देखें । त्यसरी म माघको सगरमा थोरै बादल हेर्दै एक दिन नभबाट झरें र त्यो रात बालासनको हिउँदे बगरमा उभिएको एक अग्लो टुनीको वक्षमा बास बसी, जस्तो अघि नै बताइयो, भोलिपल्ट बिहानै रूखबाट खसे ।”

सात वर्षअघि आफ्नो जन्मबारे श्री इन्द्रबहादुर राईले ‘मेरो जन्म’ मा उपर्युक्त भावना व्यक्त गर्नुभएको थियो । र आज सात वर्षपछि पनि श्री राईले मेरो प्रश्नको एक उत्तरमा जवाफ दिनुभएको छ – “जन्मेको महिना मात्र हो, सम्बत निश्चित गर्न पाएको छैन । वालासन खोला छ, त्यसैको बगरमा म जन्मेछुः बालासनमाथि एउटा पक्का पुल बनेको छ, राम्रो आमालाई लिएर बाबु त्यहाँ काममा पुगेका थिए मेरो जन्म सम्बत पुलमा लेखिएको छ । तर बालासन खोला र त्यो पुललाई भेट गर्न जान आजतक मैले भियाए‌को छैन ।”

राईज्यूको उपर्युक्त लेखाइ र भनाइबाट नै उहाँको लेखन तथा अभिव्यक्तिको मिठासपूर्ण शैली हामी पाउन सकिहाल्दछौं । उहाँ धेरै कुरा गर्न चाहनुहुन्न भन्ने कुरा उहाँका गम्भीर र तिखा आँखाले बताइरहेका हुन्छन् । कुरा गर्दा पनि प्रश्नको जवाफसम्म दिनुहुन्छ । (चुनाव र घोषणाको बेला बखतको कुरा भिन्दै हो।) दार्जीलिङ नगरपालिकाको उप-सभापति, त्यस भेकको भारतीय कांग्रेसका कर्मठ नेता र एक बौद्धिक वर्गका ‘आइबी दाजु’को दैनिक जीवन ज्यादै व्यस्त हुनु स्वाभाविक छ ।

‘आइबी दाजु’ यत्ति मात्र नभएर ‘तेस्रो आयामिक साहित्यिक प्रकृति’ का पनि ‘दाजु’ हुनुहुन्छ । उहाँको व्यक्तित्व दार्जीलिङका एक बौद्धिक वर्ग विशेषको नसानसामा कसरी भिजेको छ भने तिनीहरूले एक पटक ५० शब्दको कुरा गरेमा १५ शब्द त शायद आइबी दाजु’-को नाम आउँछ; ‘आइबी दाजुले यसो भन्नुभएको, आइबी दाजु त्यसो गर भन्नुहुन्छ, आइबी दाजुको विचारमा’ आदिको बाँध फुट्छ उनीहरूको भनाइमा !

एक पटक त एक जनाले श्री ईश्वरवल्लभलाई यतिसम्म भन्नुपरेको थियो झापामा- “किन वल्लभजी, आइबी दाजुको कस्तो प्रभाव हो तपाईंहरूमाथि ?”

कुनै खास उत्तर त पाइएन त्यस बेला, तर प्रश्न स्वयं नै उत्तर लिन नसक्ने खालको थियो । किनभने ‘आइबी दाजु’ को बौद्धिक प्रभाव दार्जीलिङमा प्रश्न नै गर्न नसकिने खालको छ । झापाको भेटघाट मेरो राईज्यू सँगको शायद, तेस्रो भेटघाट मात्र हो । यो भन्दा पहिले मैले उहाँलाई एक पटक काठमाडौंको भीडभाडमा ‘नमस्ते’ सम्मको आदान प्रदानको लागि भेटेको थिएँ र दोस्रो पटक दार्जीलिङमा ‘सौजन्यको’ भेटघाटको साथै ‘रूपरेखा’ को लागि केही गरिदिनुहुन्छ कि ?’ भनी भेटेको थिएँ । लेखको लागि र लेखकसँग चाहिं म पहिलेदेखि नै परिचित थिएँ । द्वितीय देशव्यापी साहित्य सेमिनारको व्यस्त समयमा मैले राईज्यूलाई अनुरोध गरें- आफ्ना केही विचार व्यक्त गर्न केही सुनाउन र केही आफ्ना बारेमा जानकारी दिलाउन । घण्टौं बसेर कुरा गर्ने समय थिएन, तर पनि यस्तो चाँजो मिलाइयो जसबाट यहाँको यो अन्तरर्वाता सम्भव भयो ।

‘आफ्नो एउटा उपन्यास मैले लेखेको पनि होस्’ को ठूलो भन्दा ठूलो लक्ष्य राखेर मैले खुट्टा हालेको थिएँ कि लाग्छ । भैहाल्न सजिलो छ भैरहन कठीन हुन्छ – प्रवेशपछिको उत्तरदायित्व आज डर लाग्छ । मेरो प्रश्न साहित्यमा आगमनको कारण ? को उत्तर थियो, जुन ‘पहिलो साहित्यिका कृतिको ?’ सांकेतिक उत्तर जस्तो पनि थियो । पूर्ण उत्तर चाहिं ‘मैले सर्वप्रथम लेखेको उपन्यास थियो, कारण म उपन्यास लेखन आएको थिएँ, श्रेणी सातौं पढ्दै थिएँ । त्यस उपन्यासले (नाउँ कति कोशिशले पनि सम्झन सकेको छैन) मात्र एउटै पाठक पायो, लगेर मेरो एम्. एस्. एस्. फर्काएनन्; ‘लगेर’ भन्छु, पढेको भए फर्काउँथे होला ।’

आगमनको रोचक कारण सुनेपछि मैले सोधें, ‘यसरी साहित्यिक आगमन भएपछि नेपाली साहित्यको विकासमा के कस्तो महत्त्वपूर्ण देन दिएँ जस्तो लाग्छ, राईज्यू तपाईंलाई ? यसबारे म तपाईंकै मुखबाट सुन्न चाहन्छ ।’

‘उत्तमज्यू, यस्तो महानताको प्रश्न जसतसलाई जैले नै गर्नु हुँदैन ।

दैवले साँचे तपाईं हामी बाँचे धेरै वर्षहरूलाई पर्खेर प्रश्नको आवश्यकता र उपयुक्तता पनि पर्खौं ।”

‘नेपाली साहित्यको भविष्यबारे पनि केही भन्न हामी पर्खनै पर्छ कि ?’

“पर्दैन । जस्ता सम्भावनाहरू एकत्र गरिएका छन्, नेपाली साहित्यको निकट भविष्य समेत उत्साहप्रद लाग्छ ।”

एक भवनको एक ठूलो कोठामा हामी बसेका थियौं- कोठाको ढाँचा ब्यारेक जस्तो खाटै खाटले भरिएको थियो । हाम्रो वार्ताको बीचमा हामीलाई खलबल्याउन झैं गरी दुई चार प्रतिनिधि या पर्यवेक्षक आइरहन्थे, तर हाम्रो वार्ता नखलबलिई सुचारु रूपले नै चलेको थियो ।

‘नेपाली साहित्यको आधुनिक पक्षबारे आफ्नो केही विचार व्यक्त गर्नुहुन्छ कि ?’

मेरो प्रश्न जारी थियो र साथै उहाँको उत्तर पनि जारी नै थियो, “प्रश्न वृहत् भयो, उत्तमज्यू, आधुनिक पक्षको पनि कुनै विशेष पक्ष नसोध्नु भए उत्तर लेख हुन जान्छ । आधुनिक अवस्था सब साहित्यका हुन्छन्, त्यो अवश्यम्भावी हो, तर त्यति नै पर्याप्त हुँदैन । आज लेखिएका नव विज्ञान संगत, नवदर्शन संगत, नवबोध संगत दृष्टि लिई साहित्यमा अभिव्यक्तिमा ती प्रष्ट होउन् – यो संगति लेखेर नवकौं लेखाइमा ल्याऔं, लेखाइ भित्र निस्कोस् । लेखाइमा ल्याउन सक्तैमा पनि पर्याप्त हुँदैन त्यसले जीवन छुन सकेर साहित्य बन्न सक्नुपर्छ । आधुनिक नेपाली साहित्यका कविले कति कथा र उपन्यासले यो सृजना दिंदैछन् ।”

‘तेस्रा आयाम आधुनिकताको चरम सीमा हो ?’ यो तेस्रो आयामको घेराभित्र छिर्ने भूमिका थियो ।

“सबैलाई होइन, आधुनिकता आधार हो जसबाट प्रत्येक साहित्यिक आफ्नै चरम बनाउन सक्छ ।”

मलाई यत्तिले मात्र पुगेको थिएन, यसैले सोधें- ‘तेस्रो आयाम वास्तवमा के हो त ?’

राईज्यूले मुख चलबलाउँदै भन्न थाल्नुभयो, “साहित्य लेखनमा तेस्रो आयाम गहिर्‍याइको अर्को नाम हो । गहिर्‍याइ भरको जुनै कृतिको तृतीय आयाम भएको हुन्छ । तर आयामिकमा चतुर्थ आयाम थपिन्छ लेखाइमा । त्यो गर्न खोज्नुपर्छ । भन्नुभए त्यो गर्ने टेकनिक आफ्नै भिन्दै खोज्न सकिन्छ । आयामिक लेखनमा टेकनिक भेद अनेक छन्, यी भेद महत्त्वपूर्ण र अध्ययनीय छन्, समालोचकले भनिदिने विकाससम्मको परिकल्पना छ ।”

र यसरी नै उहाँले ‘आयामिक सम्पूर्णतामा अनुभूति लेखमा आफ्नो भनाइलाई यसरी व्यक्त गर्नुभएको छ – “जीवनप्रतिको सत्यतामा कदाचित अभिव्यक्तिको सत्यताप्रति विशेष आग्रह थियो । अनुभूति लेख्नुपर्छ तर जस्तरी अनुभूति भयो त्यस्तरी लेख्नुपर्छ । बुझाइमा हैन, भोग गरेर लेख्नुपर्छ- यथावत काँचो पदार्थमा । अनुभूतिको तहदेखि माथि अनुभूतिहरूको पेटर्न हुन्छ, बुझाइ त्यसको हुन्छ, वाक्यमा बनाएर त्यसलाई लेखिन्छ । विचार होइन, अनुभूति नयाँ वाक्यको आधार बन्छ, कशेप्सन हैन पर्सेप्सन, बुझाइ हैन सोझै सम्प्रेषण यसको अभीष्ट । अनुभूति -मात्र चोइटा ढुङ्गाहरू जस्ता आफ्नो वस्तुतामा आफै मात्र हुन्छ …।”

“…देश-काल कन्टिनममा उसको सम्पूर्णता अझ बढ्ता छ । व्यावहारिकताको अर्थवन्त बौद्धिकताका आयाम बढाउँछौं । प्रत्येक व्यक्ति आफूभित्र युनिभर्सल हुन्छ, तर देशकाल नैरन्तर्यमा सम्पूर्ण हुन्छ । स्थानिक अस्तित्वहरू मात्र एउटा व्यक्तिका अगणित हुन्छ, एउटै घटना ती समग्र अस्तित्वको घटना हुन्छ । एउटा (एउटामा समग्र नभएको) अस्तित्व सम्पूर्ण होइन ।… … आजको मानिसमा सीमित हुनु होइन, आजसम्म आइपुगेको मानिसमा उसको सम्पूर्णता पाउनु छ । फ्रायडवाद, अवचेतन र सेक्स मात्र हुँदैनन्, व्यक्तिको वर्तमानमा त्यहाँ विगत जीवित छ । युगबोध प्रशस्त मान्दैनौं, सम्पूर्णताको अन्वेषण छ । वैयक्तिक विशेषताहरू र वैचारिक यथार्थताहरू अब रहँदैनन्, अस्पष्ट आभासहरू देखिन्छन् । विचारहरू आभासमा पुगेर अनुभूति नै बन्छन् । यो अनुभूति मिथ, इमेज, एभ्विग्विटिजले लेखिन्छ ।’

तेस्रो आयामबारे धेरै कुरा भैसकेकोले म पुनः उहाँका व्यक्तिगत साहित्यिक रुचितर्फ आएँ । मैले उहाँका मन परेका साहित्यकारहरू सोध्दा राईज्यूले ठाडै भन्नुभयो, “मेरो विकृत आग्रह स्वीकार गर्छु । मैले पाठक भएर अरूका पुस्तक पढ्न छाडेको धेरै वर्ष भयो, लेखक भएर पढ्छु । यसरी पढ्नुको अर्थ आफ्नो पूर्वाग्रहहरूले काट्दै लैजानु जस्तो हुँदो रहेछ । अभ्यस्तताले कुनै बिन नुहाउँदा फेरि पूर्वाग्रह फेंकिन्छन् र जसको जस्तै कृति पनि एक बसाइको पढाइभरी राम्रो लाग्छ ।”

‘ए !’ भन्दै मैले ‘साहित्य किन, केको निमित्त ?’ सोधें । उहाँको चट्ट परेको जवाफ थियो- “मलाई लाग्छ, साहित्य जीवनको निमित्त हो, जीवन पूजनीय छ ।”

“यत्ति मात्रै ?”

“जीवनको निमित्त साहित्यभन्दा प्रयोजनवादी देश वा समाजको हितकारी साहित्य भन्ने लक्ष्य मेरो होइन । जीवन पूजनीय छ, त्यससँगको साक्षात्कारलाई साधना दिन्छौं । सब साधन दिन्छौं । सब साधना भेद मान्छौं – त्यसको निमित्त ।”

सेमिनारको कवि सम्मेलनमा हामीलाई नगई नहुने थियो । खाना सिद्धाएर समयमा पुग्न मुश्किल पर्न आँटिसकेकोले हामी कोठा बाहिर निस्क्यौं । हिंड्दा हिंड्‌दै अझ मलाई गर्नुपर्ने एक प्रश्न गरिहालें – “तपाईं जुन कार्यमा यस्तरी व्यस्त हुनुहुन्छ, यो व्यस्तताबाट उम्केर कहिले लेख्नुहुन्छ ? मूडको पनि आवश्यक …?”

सानो हँसाइपछि उहाँले भन्नुभयो, “विश्लेषण-आधारित हुँदा मूड आवश्यक हुँदैन रहेछ । मेरा किसिम रचनालाई विश्लेषण सृजना हुन्छ । लेख्ने समय लामो दिउँसो लोभ लाग्छ, वरिपरि मैले बात गर्नेहरू वा आपस्तमै हल्ला गर्नेहरू चाहन्छु । बिहान र बेलुकी छेउमा कसैलाई चाहन्नँ, एक्लै बस्छु विश्लेषणमा !”

(उत्तम कुँवरको चर्चित पुस्तक ‘स्रष्टा र साहित्य’बाट)