कविताजस्तो केही
– सुदीप पाख्रिन
लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही
टिपेर जसलाई…
उदाएको छ — फुर्के घाम
र, नृत्य गरिरहेको छ छमछमी
हाँगा–हाँगा, पात–पात, आँगन–आँगन,
कोठा चोटा र बरण्डामा
चम्किरहेछ जून
साथमा लिएर थुप्रै फुच्चे ताराहरू
आकाशको कालो पर्दामा प्रत्येक रात
उक्लिरहेका छन् पसिनै पसिना हुँदै
आवारा हुस्सुहरू
नीला डाँडाहरूको खुट्किलै खुट्किला
टिम्टिमाइरहेछन् जूनकीरीहरू
पौँठेजोरी खेल्दै
यी क्रूर आदिम अन्धकारहरूसँग
गाइरहेछन् कोइलीहरू
झ्यालमै चढेर
कुहु.. कुहु…. धून
झर… झर… संगीत सुनाउँदै
किनाराका बैँसालु रुखहरूलाई
बगिरहेछन्— यी झरना, खोला, नदीहरू
ईश्वरजस्ता देखिन्छन् आफैँ पनि
यी बाटाचौबाटाहरू
बोकेर पाठशाला हिँडिरहेका ईश्वरकै अनुहारका बालबालिकाहरू
आलाप्छन् चराका चिरबिर शास्त्रीय रागहरू
यी सुनौला बिहानीहरू र न्यास्रा साँझहरू
हरिया हाँगाहरूमा झुण्डिँदै प्रत्येक दिन सधैँ यसरी नै
मेरो सपनाकै रुपाकृति लिएर
टाँगिन्छ आकाशमा इन्द्रेणी
र, बजाउँछ भ्वायलिन — बर्सातको
फैलन्छ सुगन्ध तरुनी माटोको
वर्षाको जवान पहिलो थोपा आएर इत्रिएपछि
मुनाको मुस्कानसँगै लजाउँदै-लजाउँदै
जिस्किरहन्छ पठ्ठो यो हावा
तरुनी धान, गहुँका बालाहरूसँग
र, मख्ख पर्दै खेलाइरहन्छ हरिया कपालहरू तिनीहरूका
मग्मगाइरहेछन् — मगमगी…
श्रम गरिरहेकाहरूको शरीरबाट पसिनाको फूल
र, फैलिरहेछन् गाउँ, शहर र मुलूकभरि
हजुरआमाको पटुकीको फेरबाट
कुनै जादुझैँ ह्वारह्वारती निस्कन्छ
रङ्गीबिरङ्गी दन्त्यकथा, जूनताराजस्ता आशीष र रोटीका टुक्राहरू
मह घुलिन्छ
केटाकेटीको तातेपनमा
र मोहक नृत्यभन्दा मोहक देखिन्छन्
उनीहरूको चकचकेपन
झनै सुमधुर सुनिन्छ आमाको लोरी
र, थपिन्छ अझैँ न्यानोपन बुवाको धापमा
….टिपेर जसलाई
टिपेर जसलाई…
राक्षस विकृतिहरूका विपक्षमा
कठोरतापूर्वक उभिए पनि
सबैभन्दा क्रूर देखिएकाहरूको अगाडि
त्योभन्दा पनि क्रूरतापूर्वक खडा भएपनि
दुःखको सबैभन्दा असुन्दर पीँधमा खसेर
ओइलिई झरेको पातझैँ देखिए पनि
सबैभन्दा सुन्दर देखिन्छन् हरफका बुट्यान-बुट्यानमा
भर्खरै डायरीबाट उडिगएको कविताजस्तो केही
अचम्म छु !
अब यसलाई बन्द गर्नु फेरि डायरीमा
जसरी बन्द गर्नु घामका किरणहरूलाई बन्द बाकसमा
अथवा छोडिदिनु यसलाई यसरी नै प्रत्येक कुना-कुनामा
लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही…
यो शहर
– मौन आवाज
यो शहर
लागू पदार्थ सेवन गर्छ
गुप्ताङ्गमा ट्याटु खोप्छ
प्राचीन गल्लीमा लुकेर हस्तमैथुन गर्छ ।
यो शहर
सपनाको व्यापार गर्छ
गाउँले केटीहरू ओसार – पसार गर्छ ।
यो शहर
रन्डी कोठीमा रात बिताउँछ
पवित्र नदीहरूमा वीर्य पखाल्छ ।
यो शहर
चित्र बेच्छ
साहित्य बेच्छ
संस्कृति बेच्छ
र / अँध्यारो कोठामा बसेर पैसा गन्छ ।
यो शहर
प्रोफेसरहरूलाई किन्छ
इन्जिनियरहरूलाई किन्छ
डाक्टरहरूलाई किन्छ
न्यायाधीशहरूलाई किन्छ ।
यो शहर
हर समय सौदाबाजी गर्छ ।
यो शहर
अपराधीहरूसँग साँठगाँठ गर्छ
भ्रष्टहरूसँग उठबस गर्छ ।
यो शहर
अर्धनग्न जुलुसमा मिसिन्छ
असभ्य नारा लगाउँछ
लोकतन्त्र एउटा मनोरोग हो भन्छ ।
यो शहर
योजना आयोगको कार्यालयमा जान्छ
सर्वत्र खाल्डो खन्ने प्रस्ताव पेश गर्छ ।
यो शहर
पार्टी मुख्यालयहरूमा जान्छ
नेताहरूको बैठकमा जान्छ
विदेशी गुप्तचरहरूसँग गोप्य वार्ता गर्छ ।
यो शहर
आफ्नै छातीमा डोजर चलाउँछ
आफ्नै सभ्यता मास्ने अभियान चलाउँछ ।
यो शहर
डिप्रेशनको शिकार भएको छ ।
यो शहर
सडकको कालोपत्रेबाट आफ्नो अनुहार उप्काएर
ठेकेदारहरूको सुटकेसमा टाँस्छ ।
यो शहर
दिनभरि वेश्याहरूको पछि लाग्छ
साँझमा थाकेर मन्दिरहरूको पेटीमा सुत्छ ।
यो शहर
बेसुरमा हिँड्छ
बेसुरमा खान्छ
बेसुरमा मुत्छ
बेसुरमा हग्छ ।
यो शहर
चेतनाच्यूत भएको छ
भावनाच्यूत भएको छ
संवेदनाच्यूत भएको छ
स्मृतिच्यूत भएको छ ।
यो शहर
दिशाहीन भएको छ ।
यो शहर
आफ्नै मौलिकता भत्काउँदै हिँड्न थालेको छ
आफ्नै पहिचान नष्ट गर्दै हिँड्न थालेको छ ।
यो शहर
उग्रवादी चिन्तन बोकेर हिँड्न थालेको छ
विभाजनको अस्त्र बोकेर हिँड्न थालेको छ ।
यो शहर
यो देशको शासक जस्तै
नग्न र / मतिभ्रष्ट हुँदै गएको छ ।
मध्य
नवीन अभिलाषी
कहाँ आइपुगेँ म
लासहरू निदाइरहेको धमिलो घाटजस्तो
दासहरू घस्रिरहेको यो पटकानीजस्तो
साँच्चै,
यो कहाँ आइपुगेँ म – यसरी अचानक …
भञ्ज्याङमै छोडेर देवताहरू
उर्लिँदो भेलसँगै हिँडेको ढुङ्गा थिएँ म,
म बुद्धको गणराज्यमा विस्टाएर उडेको परेवा थिएँ,
म त तरबार थिएँ
सिकन्दरको चिहानबाट ब्यूझिएर हिँडेको ।
तर, यो तानाशाहको तबेलाजस्तो
लगाम र काँठी ठोकिएका को हुन् यिनीहरू ?
हिन्हिनाउन समेत नसक्ने….
तिब्बतको पठारजस्तो ओठ
र सेतीको खोँचजस्ता आँखाहरू लिएर
वन्दना गाइरहने
कविहरूको कर्कश सुनिरहेछु यतिबेला ।
वैराग्यग्रस्त महाराजको फिर्ती सवारीमा
प्रतीक्षारत क्रान्तिकारीहरू भेटिरहेछु चौकचौकमा ।
तप्प तप्प चुहिरहेछ रगत
भोका कागहरूले भिरेको कलमको निबबाट ।
खुलेयाम बाँडिरहेछ पुजारीले
पीपले मुछिएको पापहरूको प्रसाद ।
भनिदेऊ, कस्लाई थाहा छ
कहाँ पुग्ने हो – यति लामो लाचारहरूको लस्कर ?
हत्केलाहरू गेँडिएको चित्रकारले
सोचिरहेछ अझै – ती बेपत्ता हातहरूमा कैद भाग्यरेखाहरू
मुर्कुट्टा शालिकहरूको पनि
देखिँदैनन् इतिहासमा कुनै स्पष्ट अनुहार ।
हाटमा राखेर जोडा स्तन
सुत्केरीले भर्ना गरेकी छ नवजात शिशुलाई क्लिनिकमा ।
फूटपाथमा फाटेका जुत्ता सिउने त्यो बूढो मानिसलाई
थाहा छैन – त्यही बाटोको लम्बाई
उसको पैतालामा आइपुगेको छैन – सुदूर पुग्ने बाटो ।
कहाँ आइपुगेँ म
जहाँ चर्किएको ऐनामा युवतीहरूले अनुहार हेर्छन्,
पुरुषहरू वीर पुर्खाको पेन्सनले धर्मग्रन्थ किन्छन् ।
साँच्चै,
यो कहाँ आइपुगेँ म – यसरी अचानक …
सुन्दर असुरहरूको बीच सहरमा
म भर्खर आत्मदाहका लागि सल्किएको छु
चिच्याइरहेछु – यी निभेका मान्छेहरूको बीचमा
उफ्रिरहेछु म – यी शान्त रमितेहरूको भिडभित्र ।
मेरो चिच्याहटले
शायद, कहिल्यै फुट्ने छैन
यी मानिसभित्र शदियौँदेखि जमेको से-फोक्सुण्डो ।
कालरात्रीको यो मध्य प्रहरबाट
उड्न खोजिरहेछु – एक आकाश आकाङ्क्षा लिएर
एक पैताला पाताल उचालेर – दोडिन खोजिरहेछु ।
किनकि,
कसरी फेर्न सकिन्छ श्वास
चुर्लुम्म डुबेर सेफ्टी ट्याङ्कीभित्र
र कसरी गाउन सकिन्छ
गद्धारका लागि गुलामीको गीत – त्यो पनि कवितामा ?
जादु
नवीन प्यासी
मेरो हृदयमा धुजाधुजा भएको पुरानू र
मसिना धागाहरू थिए
तिमीले मायाले ती धागाहरूलाई कुरुसमा राख्यौ
र मलाई मफलर बनायौ ।
मेरा शब्दहरू मृत बनिसकेका थिए
तिमीले टपक्क टिपेर आफ्नो ओठमा राख्यौ
र म एकैपटक गीत अनि मुस्कान भएँ ।
मेरा पाइतालामा काँडाहरू अड्किएका थिए
तिमीले सुस्तसुस्त फू–फू गर्दै हुक चलायौ
र मेरा पाइतालालाई गोरेटोमा राखिदियौ ।
अचेल यस्तो लाग्छ –
तिम्रो उपस्थितिमा मात्रै एउटा आकार लिनसक्छु
तिम्रो अनुपस्थितिमा भत्किएर पुरानै
अवस्थामा पुगिदिन्छु
यो तिमीले कस्तो जादु चलायौ ?
म किन यस्तो भएँ !
कृष्ण कञ्चन
सधैँ पात झरेको रूख जस्तो
बादल लागेको आकाश जस्तो
रोइरहेको असार जस्तो
म किन यस्तो भए !
बाटोको एक्लो पीपल जस्तो
भुवा उडिरहेको सिमल जस्तो
मन दुखेको दिल जस्तो
आँखामा आँसु टिलपिल जस्तो
म किन यस्तो भएँ !
एक मुट्ठी भएको सास जस्तो
जीवन भएको लास जस्तो
म किन यस्तो भएँ !
साँच्चै ! म कस्तो कस्तो भएँ
म किन यस्तो भएँ !
तथागत, मलाई उत्खनन गर !
सरस्वती प्रतीक्षा
तथागत,
मलाई उत्खनन गर ।
म त्यही सुजाता हुँ
जसलाई तिमीले पहिलो पटक
आफ्ना सघन उदासीहरूमा भेटेका थियौ
त्यति बेला
हाड र छालाको थुप्रोमा आफैलाई रुपान्तरण गरेर
हरेसको अन्तिम बुँद पिउनुअगाडि
टक्क अडिएका थिए तिम्रा आँखाहरू मलाई देखेर
मान्छेहरू भन्छन्
तिमीले सुजाताले बनाएको खीर खायौ
र, त्यही खीरको भरमा सम्बोधि प्राप्त गर्यौ तिमीले ।
तथागत,
म सोध्न चाहन्छु तिमीलाई
के एक बटुको खीरमा
मान्छेको कायादेखि प्रज्ञासम्म बदल्न सक्ने सामर्थ्य हुन्छ र ?
के एक बटुको खीरमा
मान्छेलाई भगवानमा बदल्न सक्ने शक्ति हुन्छ र ?
तथागत,
तिमीभित्र पनि पुरिएको छ एउटा सत्य
मभित्र पनि पुरिएको छ एउटा सत्य
त्यो खीर थिएन
मैले तिमीलाई खुवाएको
पहिलो नजरमै
पहिलो स्वीकृति पस्केर गरिएको एकाकार थियो
त्यो खीर थिएन, भावहरूको चुम्बन थियो त्यो ।
जहाँबाट सुरु भयो
तिम्रो आत्मबल
तिम्रो आत्मविश्वास
र, तिम्रो आत्मज्ञानको कथा
त्यो प्रेम थियो मैले तिमीलाई खुवाएको र तिमीले खाएको ।
तथागत,
सबैले भन्छन् म तिम्रो सम्बोधिकी उपासिका
तिम्रो महापरिनिर्वाण र धम्मपदकी उपासिका
म भन्छु– म तिम्रो उपासिका
मेरो निम्ति
तिम्रो आँखामा उर्लने मौन संवेग र संवेगहरूकी उपासिका ।
मलाई थाहा छ,
मैले आफ्नो पूरा कथा लेखेँ भने
तिम्रो सम्पूर्ण अनुहारको मार्गचित्र बदलिन सक्छ
सारनाथ, राजगिर, बोधगया र वैशालीमा
तिमीले छाडेका पदचिह्नहरूको नजिर बदलिन सक्छ
बदलिन सक्छ
बिम्बिसारको कफनमा
स्पर्श गर्न आइपुग्ने बेलुवन बगैँचाको हावाको गति
माद्री, मागन्धी, गौतमी र विशाखाका
विश्वासहरूको गणित बदलिन सक्छ ।
मलाई आधा नबुझेकाहरूले
मेरो पूरा कथा लेखे
अब म आफ्नो आधा कथा लेख्छु आफैँले
तथागत,
यो कथाको पहिलो पर्दा तिमी नै पटाक्षेप गर ।
जहाँ पहिलो पटक हाम्रो भेट भएको थियो
म पुरिएकी छु निरञ्जना नदीको छेउछाउमा कतै
निरञ्जना नदीमा बग्दै आउने
प्रणयभावहरूको पाँचौँ आर्यसत्यले पुरिएकी छु
तिम्रो ध्यान, अर्धध्यान र ध्यानरहित मुद्राका
नखिचिएका तस्विरहरूको अवशेषले पुरिएकी छु
तथागत,
मलाई उत्खनन गर । मलाई उत्खनन गर ।
साप्सु
वेदना राई
एकदिन
यसो बसेर
साप्सु खोलासँग
बात मार्नु मन लागेको छ!
आफ्नै
सेखुवा
आफ्नै पेलुङको सुसेलीहरूलाई
सुनेको नसुनेजस्तै गरेर
नाघेर बगिजानलाई
मुटु कत्रो चाहिन्छ ?
बगरहरूसँग
हरेक दिन छेवै भएर
बग्दा पनि आँशु लुकाएर
छोडिजानलाई
आँट कत्रो चाहिन्छ?
मुटुभरि
भारी सम्झनाको
बोझहरू बोकेर
छालहरूको खित्का
उपहार छोडिजान
मुटु ठूलो चाहिन्छ कि माया ?
जलहरीहरूकै
जालमा अड्केको
जस्तो बहानामा,
घाँसेहरूको जङ्गले गीतहरूमा,
दाउरेहरूको झ्याउरे भाकाहरूमै
पग्लिदिँउ पग्लिदिँउ जस्तो लाग्दैन?
ए साप्सु !
तिमीजस्तै
ओरालै ओरालो कतै नहेरी
फुत्तै बगेर जानलाई
माया लुकाउन जान्नुपर्छ कि
मुटु ढुङ्गा बनाउन सक्नु पर्छ ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 










