१) बागी कवि

अभय श्रेष्ठ

जसरी बताससँगै नाचिरहन्छ रुख
जसरी रूख पात सँगै जिउँदो रहन्छ धर्ती
त्यसरी नै तिमी मसँगै रहेकी भए
देख्थे हुँला दुनियाँमा केवल समता
देख्ने थिइनँ कूल र मूलको भिन्नता
शब्द शब्दमा खोज्थे अनुपम सौन्दर्य
र हुने थिएँ म पनि भव्य कलावादी कवि

जसरी फूलसँग अभिन्न हुन्छ सुवास
जसरी पातसँगै अखण्ड रहन्छ हरियाली
त्यसरी नै देश मसँग नि रहेको भए
हुने थिइनँ म बागी कवि ।

२) कोदो

खेम बतास

गरीब बैकिनीको कुर्कुच्चाजस्तो
उज्गलोमा बस्दै आएको
म कोदो हुँ, गोसाँइ कोदो

मेरा इजाबाले
बालापनको पूरापूर बैँस पोखेर जोगाएको
बीऊको दरसन्तान हुँ
मेरा पुर्खाको रगत पसिनाले
निथ्रुक्क भिजेको छ यो जमिन

गोसाइँ,
तमले धानको बीऊ बडो मेहेनतले रोप्नुहुन्छ
आईसीयूमा राखेझैँ
इराकको पानीसँग
साटेर बचाउनु हुन्छ उसको परान पखेरु
गाउँभरिका जवान हली बाउसे
चार/चार हलबल्ल जोतेर गर्नुहुन्छ गैरीखेतको रोपाइँ

गोसाँइले गहुँ हुर्काउन पनि कम्ता मेहेनत गर्नु हुन्न ?
त्यत्रो मेहेनतले त भासुमा पनि इन्द्रेणी पोखिन्थ्यो
उन्यूमा पनि सुगन्ध भरिन्थ्यो
त्यत्रो मेहेनतले त
कोल्टी र धुली पनि टुँडिखेल बनिसक्थ्यो

म त तमरा पानी नचल्ने हातले
मलामीले चौबाटोमा फालिएको
उज्गलोको कोदो
मेरो धरामा अपि र सैपालै राखिदिए पनि
कहिल्यै चिस्यान आउँदैन
मेरो बस्तीमा कर्णाली नै फर्किए पनि
कहिल्यै तिर्खा मर्दैन
म त चौबाटोमा टिला फालेझैँ फालिएको
कोदो हुँ गोसाँइ कोदो

गोसाँइ
मैले तमरा भँडारमा पस्नु त कहाँ हो कहाँ ?
त्यो भान्साको मुखसमेत देखेको छैन
मेरा हड् लागेपछि
तम त छोडो हालेर भित्र पस्नुहुन्छ
मेरो रङले किन यज्ञमा वेदी पुजिँदैन ?
म पनि त यसै धर्तीको आदिवासी बाली

जहिल्यै खेतका फाँटहरूमा तोरी फुलेको देख्छु
जहिल्यै खेतका आलीहरूमा भटमास नुहेको देख्छु
जहिल्यै खेतका गराहरूमा धान झुलेको देख्छु
गोसाँइ,
किन रोप्नुहुन्न मलाई खला किनारको मलिलो जमीनमा ?

मेरो जरामा कहिल्यै पोटास, युरिया नहाले पनि
मेरो माटोमा कहिल्यै कम्पोष्ट नफाले पनि
म पनि कुनै दलहन र तेलहनभन्दा कम ताकतिलो छैन
गोसाँइ,
एउटा कुरा भनूँ ?
कोदोको रङ कालो हुन्छ
कालो आफैँमा विरोधको प्रतीक हो ।

****
डोटेली भाषाका शब्दको अर्थ
गोसाँइ : मालिक
बैकिनी : स्वास्नीमान्छे
उज्गलो : पानी नलाग्ने पाखो जमिन
तम/तमरा : तिमी/तपाईं/हजुर
बल्ल : गोरु
हड : शरीर
कोल्टी : बाजुराको बिकट गाउँ
धुली : बझाङको बिकट ठाउँ

३) सकिँदैछ एउटा युग

उमेश अवस्थी आदर्श

खै के जाति फूल फुलेका हुन् त्यहाँ !

बाहरूको बहिर्गमनपछि
आमाहरूको अधिकारवादी आन्दोलनपछि
जरुर फेरिएको हो पहाडको मुहार
तर कतै छैन बाटाको पदचाप

उनीहरूले भेलबाढीझैँ ल्याएको
स्वतन्त्रताको नवीन सुख
कुनै शहरतिर वेवारिसे मानिसझैँ
हल्लिरहेछ आफ्नै गतिमा

यो बेलामा गाउँभरि उम्रिएको छ
तीतेपाती र भूगो

घर घरका जगहरूमा
लालित्यपूर्ण तवरले हुर्किएका छन्
भाङका कलिला बोटहरू

गाउँभरि हल्ला चलिरहन्छ
गाउँ छाड्नेहरूको

यसबखत केही थान कोप्रा शरीरहरू
जवान हुने आशामा पर्खिएका छन्
यो संयोग समायोग हो
हुनसक्छ अधियोग पनि

आशा छ, सन्ध्यातर्फको
उदाउँला कुनै तारा
फेरि फर्किएला गाउँतिर
अवश्य बन्लान्, पहाडहरू झकिझकाउँ

अपशोच ! त्यतिबेलासम्म गन्हाउने छन्
कुहिएर केहीथान शालिकहरू

अब एउटा अन्तिम हल्ला चल्न बाँकी छ
फेरि फेरिनेछ युगीन चेतना
र उदय हुनेछ नवीनताको

सल्किन सक्छ फेरि हावामा आगो
फैलिन सक्छ सर्वत्र
कसको काँटीले कोर्छ एक झुल्को
त्यसैले जलाइदिनेछ व्यर्थको चिच्याहट

बन्द गरिएका छन् बाटाहरूका कान
पर्वतहरू हेरिरहेछन् अवसरका छालहरू

शायद, केही क्षणपछि
सकिँदैछ अहमतावादी पूर्ण स्वामित्व
एक अन्धविश्वासयुक्त युग ।

४) तिमीलाई अपनाउँदा

ईश्वर थापा

आज एक्कासि
कानहरू रिसाए मसँग
दिमाग, मेरो आवाज सम्झिन खोजिरहेछ लगातार
जबदेखि तिमीलाई अपनाएँ
कहिल्यै मन परिन मलाई म
म बिस्तारै होशमा आउँदैछु र
सम्झिँदैछु सपनामा बितेको क्षण

जहाँ
कहिलेकाहीँ तिम्रो आवाज सुन्न मन लाग्यो भन्थेँ म
कहिलेकाहीँ मेरो आवाज नक्कल गर्नु भन्थ्यौ तिमी
जसरी
दिन बित्यो रात बित्यो
एक एक गर्दै बिते छुट्टिएको दिन
म पनि आधा बितेँ
त्यसरी,
बित्यो मेरो आवाज पनि र
तिम्रो भएर जन्मियो

तिमीले भनेदेखि नै
नक्कल गरिरहेको थिएँ तिमीलाई
आज म जब बोल्छु
तिम्रो बोली निस्किन्छ मुखबाट
आज म जब सुन्छु
तिमी सुनिन्छौ मेरो आवाजबाट
धेरै दिनपछि
तिमीलाई सुन्न चाहिरहेका छैनन् कानहरू
तिमीले मेरो आवाज नक्कल गरिनौ होला
मेरो स्वर कतै सुनिएको हो भने
कुनै दिन पठाइदेऊ न, पुरानै ठेगानामा
म आफूलाई अपनाउनु चाहन्छु !
हेर न तिम्रो बोली बोलिरहँदा
मेरो बोलीले जवाफ फर्काउन खोज्दैछ ।

५) अचेल म

रुबन जोशी

म अचेल आफैँ हिँडेको बाटो फर्कंदै छु
अचेल म आफैँले विगतमा गरेको वाचाहरू सुन्दै छु
र हाँस्दै छु
एक एक गरेर तोड्दै छु ठूलो आवाज आउने गरी
हाल म आफ्नो ठेगाना परिवर्तन गर्दै छु
जहाँ म हुनेछैन त्यही मेरो ठेगाना हुनेछ
म आफैँबाट भूमिगत हुँदै छु
अचेल म आत्मद्रोही भएको छु
र तिम्रोतर्फबाट आफैँविरुद्ध युद्ध लड्दै छु
एउटा व्यापार गर्दैछु
म शान्ति बेचेर हतियार किन्दैछु
साथी, म समय बेचेर पैसा किन्दैछु
म भित्रको लाभा अब उल्टो बग्नेछ
मेरो ध्रुव परिवर्तन हुनेछ

एक दिन तिमी मलाई तिम्रो गल्लीमा भेट्ने छौ ।

६) जानेहरूलाई बिदा दिनू

ज्योति जङ्गल

कठिन छ जान्छु भन्नु ।

यताको जुनीले छेकेको उज्यालो कल्पेर
रित्तै भइजाने दृश्यको तिमिरमा रुमलिएर
आत्तिएर
आफूलाई खोज्दै अलि पर
मनलाई हेर्न
कोही शान्तिपूर्ण बिदा लिन्छ भने
बिदा दिनू ।

कर्मको जञ्जाल बुझेपछि
उसले कसैलाई दोष दिने छैन
यात्राको लय देखिएपछि
उसले कसैलाई सम्झिने छैन ।

हो, पछुताउने समय फरक फरक हुन्छ
ब्यूँझने घडी पनि अलग्गै सङ्केत गर्छ
कोही अलि अगाडि जागा भएर
दुःखबाट निःशरण हुन खोज्छ भने
उसलाई बाटो लाग्न दिनू ।

उडी गए पुतली सरि उड्न दिनू
उत्री गए डुङ्गा जसरी बहन दिनू
यादहरूको फूल चढाएर
उसको पाइला मेटाइदिनू

कठिन छ जान्छु भन्नु
जानेहरूलाई बिदा दिनू ।

७ ) म गुलाफको फूल

लक्ष्मी थापा

कसैले भने
तिमी गुलाफको फूल हौ !
के म त्यही
कोमल गुलाफको फूल हुँ त ?
रक्तिम लाली अंगभरि फिँज्दै
पत्रपत्रमा मग्मगाउँदै
निश्छल र स्निग्ध प्रारूप जस्तै
कसैको मनभरि फुल्ने
के म गुलाफ हुँ त ?

सृष्टिको अनुपम कला रे
प्रकृतिको लालित्य छटा रे
भन्नेले त खै केके भनेभने

तर म !
कहिले काँडाहरूसँग पौँठेजोरी खेल्दै
कतै भमराको कामुक वासना छल्दै
घामपानी र असिनाको कठोर नियतिलाई
भोग्दै फूल बनेकी हुँ

मेरो सौन्दर्यलाई सुम्सुमाउँदै
केही सुकोमल हातहरू
केही दरफराउने हातहरू
स्पर्शको लालसाले
बाटोभरि नजर बिछ्याउँछन्
र प्यास मेटाउन खोज्छन्

हो, म त्यही कोमल गुलाफ हुँ
श्रद्धाले हेर्दा म सुन्दर हुन सक्छु
विश्वासले हेर्दा कोमल हुन सक्छु
सुन्दर प्रकृतिलाई बुझ्न खोज्दा
जीवनको सार हुन सक्छु

तर
तर कामुक हेराइमा
वासना देखिन सक्छु
र त, पटकपटक साटिन्छु म
कहिले देवालयमा
कहिले विजयोत्सवमा
कहिले पर्व, कहिले हर्ष
कहिले आश कहिले लाश
सबैतिर म साटिन्छु
शुभकामनामा होस् या प्रणयमा
निःशर्त म साटिइरहन्छु

के थाहा ?
फूल चुँडेर लानेहरूलाई
कोपिलादेखि फूलसम्मको यात्रामा
कतै तापमा छटपटिँदै
कतै ठिहीमा कठाँग्रिदै
तप तप आँशूका शीतहरू
पोखेर हरबिहानी
फुलेको हुन्छ
गुलाफ पनि !