(१)
फूलहरूको आत्महत्या
___________________
उनले पानी लिएर
बेच्न बसिन् मन्दिर अघि
तिमीले हकार्यौ , धपायौ ।
उनले फूल टिपेर
बेच्न बसिन् मन्दिर अघि
तिमीले उनको टोकरी र ऊ
दुबैलाई फ्याँकिदियौ बिच सडकमा ।
भोलिपल्ट देखि जब उनले
जवानी बेच्न बसिन्
अँगाल्नेमा पहिलो नम्बरमा तिमी थियौ ।
त्यसैले आजभोलि पारिजातहरू
सामूहिक आत्महत्याको
आव्हान गरिरहेछन फूलहरूलाई
झिसमिसे नहुदै   ! !
            ° ° °
(२)
बलिदानको मूल्य-
——————————–
देशले  बलिदान खोज्यो
माटोले रगत माग्यो
तिमिले गर्धन चढायौं-
शहिद बन्यौ।
अमर भयौ ।
स्मारक बने-
संग्रहालय बन्यो , शालिक ठडियो ।
प्रकृतीले सृष्टि माग्यो-
धर्तीले गतिशीलता खोज्यो
मैले महिनैपिच्छे मूल्य बगाईरहेँ
अछुत  बनायौं ।
छाउघर पठायौं ।
दोषी बनेँ-
रोगी भएँ , मृत बनेँ , खाडल खनियो ।
                 ° ° °
(३)
दोष
____
धेरै बर्षसम्म
‘बा’ का ‘वाइ’ क्रोमोजोमहरु
 निष्क्रिय रहिरहे
शुक्रकीट र डिम्ब समागम भइरहे
आमा बर्षैपिच्छे  प्रसव पीडाले थलिरहिन
‘बा’ को  x जेठी दिदी जन्मिइन्
‘बा’ को अर्को x माहिली दिदी जन्मिइन्
आमाको कोखबाट सन्तानहरु जन्मिरहे
‘बा’ को रहर अझै जन्मिएको थिएन…,
आमालाई अनेक दोष पछी…
‘बा’ को Y  म जन्मिए । ।
            ° ° °
(४)
आँखाको भाषा
______________
त्यो दिन,
जब तिमीले  केही नबोलीकनै
सबै…,कुरा भनीदियौँ
मैले सुने \ बुझे तिम्रो मौनता
हो त्यही  दिनदेखी नै
तिम्रा आँखाहरु-
मेरो भाषा बन्यो । ।
       ° ° °
(५)
जीवनसाथी
__________
विवाहअघि…,
बादसह  थिएँ आफ्नो जीवनको
उनी पनि
बेगम थिइन् आफ्नो जीवनको
विवाह पश्चात् …,
 हाम्रो
परिवार एक भयो
सपना एक भयो
वर्तमान र भबिष्य एक भयो
सबै~सबै एक भएपछी
आजभोली
जिन्दगीको रथ चलाउन
‘ गुलाफ जुट ‘  भएका छौँ ।
              ° ° °
(६)
हारजीत
_________
एउटा्  धावकले
म्याराथन दौडको ~अन्तिम रेखा
टेकी भ्याउनै…लागिसकेको थियो
त्यसैबेला
पुर्व विश्व किर्तिमानी  धावकले
जिन्दगीलाई-
सिलिङको पंखामा…,
जितेको खबर बाहिरियो
इतिहासको मिलान चिन्हमा
एक जोडियो , एक काटियो  !
मानिसहरु यति द्रुत  —
कहाँ पुग्न दगुरिरहेछन हँ?
            ° ° °
(७)
शौख
_______
रहर उसको –
स्वतन्त्र बन्ने छ
सपना उसको –
हवाई जहाज उडाउने छ
उदेश्य उसको-
स्वावलम्बी हुने छ
शौख उसको….,
पिँजडामा सुगा पाल्ने छ ।
           ° ° °
(८)
मेसिन भर्सेज मान्छे
_________________
सबेरै-
मेसिन बनेर
पेटका निमित्त इन्धन जोहो गर्छु
रातमा-
कविता लेख्ने गर्छु …
…र मान्छे हुने गर्छु ।
          ° ° °
(९)
सामाजिक दूरी
_____________
तपाईंहरु आजभोलि
महामारीका कारण-
सामाजिक दूरी कायम गर्नुपर्छ भन्नुहुन्छ ।
हाम्रा लोहार काकाले पुस्तौंदेखि-
कुन महामारी फैलाउने अपराध गरेछन हँ?
                  ° ° °
(१०)
ब्याख्या
————
उसले ईश्वर मान्दिन भन्नासाथ
उसलाई-
एउटाले बैज्ञानिक भन्यो,
अर्कोले  बौलाहा भन्यो ।
र केहीले….
उसैलाई ईश्वर भनिदिए ..। ।
            ° ° °
(११)
कविता र प्रेम
_____________
केही  दिनदेखी  म
गहिरो विचार मन्थनमा छुँ
हरेक मध्यरात
बलत्कृत हुन्छ मस्तिष्क
र तिम्रा यादहरु
मेरा अंगहरु स्पर्श गर्दै
स्खलित हुन्छन् आँखाबाट…!
बडो जतनले राखेको थिएँ
केही कविताका किताबहरु
तिमिलाई उपहार दिन
हाम्रो मिलनको रात…!
त्यही नालायक रातहरु मध्यको
एक रात,
जो लायकै छैन उज्यालोको
ठूलामा ठूला ताराहरु देखि देखि
सानामा साना जूनकिरीसम्म
असक्षम छन्
यो रातलाई विधुवा बनाउन
डायरीको श्वेत कागजमा
वर्णमालाहरु सँग खेल्दै
मस्तिष्कहरुको सम्भोग गर्दैछु
कतै, चेतनाको स्खलनपछी
भावनाहरु गर्भवती हुन्छन् र…
कविताहरुको जन्म हुन्छ कि भनेर !
म समयसँग सम्भोग गरेर
कविता जन्माउन खोज्दैछु
उल्टो समयले नै मलाई
निर्मम बलात्कार गरिरहेछ ~
यो कस्तो प्रेम ! ?
अदृश्य भएर पनि..,
सबथोक देखिने प्रेम  ! ?
अँ साँच्ची  !
प्रेम कविता जस्तो हुन्छ कि…,
 ईश्वरजस्तो रहस्यमयी हुन्छ ?
              ° ° °
(१२)
मुटुभित्र
________
दिन बित्यो,
हप्ता बित्यो,
महिना बित्यो,
साल बित्यो,
बर्षौबर्ष बित्यो…..
बन्नुपर्ने थियो घर-
….नबन्नु पर्ने थियो खण्डहर ।
              ° ° °
(१३)
स्पर्श
______
उसले मलाई-
सबतिर छोएर गयो…
तर छोएन,
 मेरो एक्लोपनलाई…।
         ° ° °
(१४)
अन्धकार
___________
मलाई
ती…हरेक साँझहरु सँग गुनासो छ
जस्ले कुनैबेला मलाइ
तिमिसँग नजिक बनाए …
र अन्तरालपछी–
त्यो आत्मीयतालाई
अपरिचित बनाएर…,
…रातमा छोडिडिए । । ।
       ° ° °
(१५)
दुर्घटना
________
प्रिय अपरिचित
मध्यरातमा –
सुटुक्क च्याटबक्स भित्र छिर्न
वर्जित छ …
मन हिउँ हुनसक्छ ,
मस्तिष्क तातेको हुनसक्छ
मसँगै-
मेरो कलम पनि मातेको  हुनसक्छ
रातहरु अक्सर…,  बेइमानी हुन्छन
तिमिले… सोच्दै नसोचेको
….दुर्घटना  पर्न सक्छ ।
               ° ° °
(१६)
अनागरिक
__________
बनाइदेउ
बिश्व एक देश
र…
घोषणा गरिदेउ
हामीलाई बिश्व नागरिक ।
         ° ° °
(१७)
कर्कश
______
सरकार !
बहिरो छ-
अन्धो छ-
ठुंडो छ –
लङ्गडो छ-
तर ऊसँग–
हज्जारौं जिब्रो छन्  ! !
        ° ° °
(१८)
बेरोजगार
_________
देशमा चुनाव  आउँदै थियो
सात आठ कक्षा पास
सडकमा ढुङ्गा हानेर
सदनमा पुगेका प्रौढहरु
उम्मेदवार घोषित भइरहेका थिए
उता डिग्री पास युवाहरुको
एउटा् लाइन थियो
उनीहरू धमाधम
म्यादी प्रहरीको लागी
फाराम भर्दै थिए ।
(१९)
द्रष्टव्य
___________
म जोखिरहेछुँ विचारको तराजुमा
एकापट्टी हाम्रा नेताहरू लाई राखेर
अर्कोपट्टी भारत , चीन  र अमेरिकालाई
एकैठाँउ  राखेर
बिक्रेता भर्सेज खरिदकर्ता ।
बिदेशीका डिनर र
महँगा मदिराले मातेको कलमले
हाम्रा पत्रकारहरुले के लेखिरहेछन कुन्नि !
एउटा् कवि
दर्शन , मनोबिज्ञान लेख्न छोडेर
बिद्रोह , यथार्थ लेखिरहेछ ।
दर्शन मेरो व्यबहार मा फेल खान्छ
यथार्थ देशको आकारमा मेल खान्छ !
‘झन जति खन्यो ,झन उति देखिन्छ ~कम’
– खाल्डो  ,नेपाल ।
                    ° ° °
(२०)
चङ्गा
_______
मेरो हात समाएर सँगै हिँडेको ऊ
निकै पर पुगेपछि
हात छुट्टाएर विलीन भयो
कसैले त नापेर फर्किदियोस न !
आमाको वेदनाको पहाड र…
बुवाको जिम्मेवारीको उचाई
असमानताको पर्खाल र जिन्दगीको गहिराई
अँह सक्दैनन् कोही
कहाँ पुग्ने – कतिसम्म पुग्ने
सिमित धागोको बन्धनमा छन् सबै
वायुको दिशामा बहकिँदा बहकिँदै
आँधी र बर्षाबाट जोगिदाँ जोगिदैँ
घुम खाएर खोल्सामा झर्यो आखिर !
केहिबेर अघिसम्म मात्रै –
हवाईजहाज या कुनै चराको उडानको उचाईमा
 नाच्दै थियो खुल्ला आकाशमुनि ।।
                  ° ° °
(२१)
पिङ
______
‘बा’ को टुप्पीमा झुन्डिएर
उनको कमाईमा मच्चिदा मच्चिदै
एकदिन..,
‘बा’को टुप्पी चुँडियो
नराम्ररी पछारिएपछी
स्तब्धता साँचेर
कोलाहल बाँचिरहेछ ऊ
मनैभरी कानै फाट्ने  चचहुईँ गर्दै । ।
                ° ° °
(२२)
रुचि भर्सेज रुचि
__________________
सानो छँदा –
छोरीले पुतली माग्थिन्
छोराले बन्दुक माग्थ्यो
ठूलो भए पश्चात् आज,
छोरीले-
बन्दुक खोज्दै छिन …,अस्तित्व जोगाउन
छोराले –
पुतली खोज्दै छ…,अस्तित्व मेटाउन । ।
                      ° ° °
(२३)
शान्ति र अशान्ति
_______________
यो दुनियाँको-
सबैभन्दा शान्त मानिस बुद्ध थिए  ।
र यो दुनियाँको…
सबैभन्दा अशान्त मानिस पनि बुद्ध नै थिए। ।
                     ° ° °
(२४)
वर्ग
________
तिम्री दिदी
हेलिकप्टरमा गगन चुम्दै गइन्
रुमानी यात्रा भयो
दुर्भाग्यवश-
मेरी दिदीको डोलीले…,
तुईन पार गर्नै सकेन्  । ।
           ° ° °
(२५)
अक्षरखेती
__________
बर्षौपछी
बार्‍हखरी पढाउने गुरुसँग भेट भयो
” बाबू के गर्दैछौ आजकाल ? “
मैले भनेँ-
“कलम चलाउछुँ गुरुजी
म अक्षरखेती गर्दैछु “…
उनले भने-
आगोमा गुलाफ
ऎनामा ईश्वर
पेटमा आन्दोलन
जीवनमा अभाव
मृत्युमा आवश्यकता
प्रेममा भ्रम , भ्रममा प्रेम
शुन्यमा अन्त्य , अन्त्यमा सुरु
चल्ला पहिले कि अन्डा ? जस्ता
सनातन चलिरहने प्रश्नहरु
वा  अक्षरखेती?
तिमिले ‘कलम चलाउँदै आएका’होइनौँ।
तिमिले ‘कि-बोर्ड चलाउँदै आएको’ हौ ।
विचार गर्नु बाबू-
धन नहुँदा ‘ईश्वर’ पनि ‘इश्वरे’ हुन्छन् …
त्यो सन्नाटा पछी अचेल…
कि- बोर्डको घाँटी थिचेर
उब्जेका अक्षरहरुलाई
1८०० °  फरेनहाइटको
किमोटोरियम पठाइरहेछुँ ।
              ° ° °
काठमाडौँ